राष्ट्रियसभा निर्वाचनको नतिजा आउन कति लाग्छ समय ?

काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजे निर्वाचन सकिएको छ ।
आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाकारी दिएको हो ।

आज रातिसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरि आयोगले तयारी पुरा गरेको छ । मतदान प्रदेश १ मा विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा भएको थियो भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवनमा भएको थियो ।
यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भएको हो । यसैगरी लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान स्थल तय गरिएको थियो ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।

राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी दौडमा थिए। सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सिटमा चुनावी तालमेल भएको थियो भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको थियो । जनकपुरमा सामान्य मुडभेड भएता पनि समग्रमा चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।

महोत्तरीमा दाजु-भाइबीच कुटाकुट हुँदा भाइको मृत्यु

जनकपुरधाम : घरको कुलदेवताको विषयमा दाइ-भाइबीच कुटाकुट हुँदा महोत्तरीमा भाइको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुरामा दाइको कुटाईबाट भाइको मृत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय लक्ष्मण साह रहेका छन्। लक्ष्मणको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अंशवण्डा भएको लामो समयपछि दुवै जनाबीच कुलदेवताको विषयलाई लिएर कुटाकुट हुने गरेको थियो। वडाध्यक्ष गणेश ठाकुरले भने, ‘गत बुधवार रामचन्द्रकी श्रीमतीले लक्ष्मणको घरमा गई कुलदेवतालाई उठाएर आफ्नो घरमा ल्याएपछि दुवै जनाको परिवारबीच झगडा सुरु भएको थियो। उनीहरुबीच दुई दिनसम्म लगातार झगडा जारी नै रह्यो। शुक्रवार ५० वर्षीय दाइ रामचन्द्र साह र उनका छोराहरु मिलेर ४५ वर्षीय भाइ लक्ष्मण साहलाई उनको घरमा गइ तथानाम गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।’ उनले घरको कुलदेवता कान्छो भाइ लक्ष्मणकै फाँटमा रहेपनि दाइ रामचन्द्रले जर्बजस्ती कुलदेवता आफ्नो घरमा लगेपछि विवाद सुरु भएको बताए। मृतककी पत्नीले आफ्नो श्रीमानलाई रामचन्द्रले टाउकोमा चिरपट प्रहार गरी गम्भीर घाइते बनाएको बताइन्। गत जेठ २६ गते घरको कुलदेउताको विषयमा विवाद हुँदा गम्भीर घाइते लक्ष्मणको उपचारको क्रममा काठमाडौंको अस्प्तालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। लक्ष्मणको मृत्यु भएपछि उनका दाइ रामचन्द्रकी पत्नी दुई जना छोरासहित फरार भएका छन्। घटनामा संलग्न रहेको भन्दै रामचन्द्र र उनका एक छोरा शिवरत्नलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। फरार अन्यको खोजी जारी रहेको र घटनामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए।

नरोत्तम वैद्यले माफी माग्दै फिर्ता लिए प्रधानमन्त्री ओलीविरुद्धको अभिव्यक्ति

काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति माफी माग्दै फिर्ता लिएका छन् । आज बसेको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति माफी माग्दै फिर्ता लिएका हुन् । उनले पार्टीको निर्देशन बमोजिम आत्मालोचना गरेको बैठकमा जानकारी दिए । उनले ओलीसँग आफ्नो कुनै व्यक्तिगत रिसिबी नरहेको र आवेगमा आएर आवश्यकता भन्दा बढी बोलेको स्वीकार गरे । उनले शुक्रबार दिएको अभिव्यक्ति संसदको रेकर्डबाट समेत हटाइएको छ । वैद्यले शुक्रबार प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका थिए । वैद्यले भनेका थिए, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका थिए । उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको थियो । वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा कांग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत हुन् ।

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ, तीनै जना नाबालक !

कणाली । प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् । प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा शङ्कर रिजाल, डा यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको र विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने बताए । आयुर्वेद अस्पताल प्रमुख डा रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएका छन् । ‘घटनामा अरु कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ’, जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने ।

विवेकशीलका नेता थापाको उपचार खर्च दुर्गाप्रसाद प्रसाईंले ब्यहोर्ने

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले ब्यहोर्ने जनाएको छ । उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षामा भर्ना गरिएको छ । उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियानसमेत शुरुआत गरेको बताइएको छ । मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसेवी थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंद्वारा जारी विज्ञप्तिमा स्वास्थ्योपचार रकमका अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत भई आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख छ । विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पुर्याएको अथक योगदान उच्च छ भन्दै कार्यकारी निर्देशक प्रसाईँले भनेका छन्, ‘गणतन्त्र स्थापनामा लाग्नु भएका असल सामाजिक अभियन्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने छ । म उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु । रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु । मेरा लागि मानव सेवा नै धर्म हो ।’

राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नुपर्ने बाध्यताः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् । कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् । गणतन्त्रण दिवसको अवसरमा शुभकामना दिदै सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नुपर्ने बताए ‘राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामीले त्यो भोगी रहेका छौं,’ उनले भने ‘अतः गणतन्त्र दिवसमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न समस्त नेपालीमा अपील गर्दछु।’ त्यसैगिर कोभीड १९ को संक्रमणबाट जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पुर्ण रुपमा पालना गदै उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । जनताकाे जीवनरक्षा गर्नप्रति सरकार उदासिन तथा संम्मवेदनहीन देखिएकाले सबैमा सर्तकता अपनाउन अाग्रह गरेका हुन ।

के छ नागरिकतासम्बन्धी अध्यादेशमा?

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला नागरिकतासम्बन्धी अध्यादेश जारी भएको हो । यद्यपि कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले भने संविधान र सर्वोच्च अदालतको आदेशअनुसार नै अध्यादेश आएको दाबी गरे । उनका अनुसार अध्यादेशले नागरिकतासम्बन्धी दुईवटा गाँठो फुकाएको छ । पहिलो, ३ असोज २०७२ भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरूको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने । दोस्रो, नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन सकेको छैन भने वंशजको आधारमा नागरिकता दिने । तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहने छैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गर्ने । मन्त्री श्रेष्ठका अनुसार संविधानको व्यवस्था पनि यही छ । तर नागरिकतासम्बन्धी ऐन संसदबाट पास नभएका कारण करिव ३५ हजार नागरिकताका लागि परेको निवेदनउपर कारबाही हुन सकेको थिएन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरूषसँग विवाह गरी आएकी विदेशी महिलालाई ७ वर्षपछि नेपाली नगारिकता दिने गरी प्रावधान राखेको थियो । त्यसविषय अध्यादेशमा उल्लेख छैन । सरकारले २२ साउन २०७५ मा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । अध्यादेश :

एमालेले स्पष्टिकरण सोधेका ११ सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । स्पष्टिकरण सोधिएका सांसद : १. झलनाथ खनाल २. माधवकुमार नेपाल ३. भीमवहादुर रावल ४. मुकुन्द न्यौपाने ५. रामकुमारी झाँक्री ६. सरला यादव ७. पुष्पाकुमारी कर्ण ८. कलिला खान ९. निरादेवी जैरु १०. लक्ष्मी कुमारी चौधरी ११. कल्याणी खड्का

बादललाई मत नदिने १४ सांसदलाई स्पष्टीकरण

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय सभा चुनावमा राम बहादुर थापा बादललाई मत नदिने एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका छन् । आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधेको बागमती प्रदेशमा एमालेका प्रमुख सचेतक दीपक निरौलाले बताए । उनीहरुले भोलि ५ बजेसम्म स्पष्टीकरण बुझाउनुपर्नेछ । स्पष्टीकरण सोधिएका सांसदहरूमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन् । जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षीय जनप्रतिनिधिले स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई मत दिएका थिए ।

मध्यपूर्वमा रहेका नेपालीले ५५० अक्सिजन सिलिन्डर नेपाल पठाउँदै

काठमाडौं : ओमानबाट ५५० अक्सिजन सिलिन्डर नेपाल आउने भएका छन् । मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ ओमानबाट उक्त सिलिन्डर नेपाल पठाउन थालेका हुन् । ओमानबाट ४० लिटर क्षमताका ५५० सिलिन्डर यथासक्दो छिटो नेपाल पठाउनको लागि अभियान सुरु भएको मध्यपूर्व गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । नेपालमा यस अघिका विपत्तका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत मात्रै शाखा खोल्न पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै आज काठमाडाँैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आज जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ । आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ । काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्नका लागि कम शाखा तथा जनशक्तिका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ । बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण केन्द्रीय बैंक र जिप्रकालाई दिनुपर्नेछ । केन्द्रीय बैंकले यसअघि नै न्यून जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरू गर्न देउवा, प्रचण्ड र यादवको राष्ट्रपतिलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाएपछि विपक्षी दलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार आह्वानका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गरेका हुन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

मकवानपुरमा थपिए एक सय ४७ नयाँ कोरोना संक्रमित

मकवानपुर : मकवानपुरमा शनिबार थप १ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कूल १८२ जनाको कोरोना परीक्षण गर्दा ६३ जना महिला र ८४ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । शनिबार सबैभन्दा धेरै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ र ५ मा २९/२९ जना संक्रमित थपिएका छन् । त्यस्तै वडागत रुपमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर-१ का ६ जना, हेटौंडा-२ को ३ जना, हेटौंडा-३ को ५ जना, हेटौंडा-६ र ७ को १/१ जना, हेटौंडा-८ को ४ जना, हेटौंडा-९ को १३ जना, हेटौंडा-१० को १२ जना, हेटौंडा-११ को ९ जना, हेटौंडा-१२,१४ र १८ को २/२ जना, हेटौंडा-१५ र १९ को ३ जना, हेटौँडाकै वडा खुल्न नसकेको ८ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका ४ जना, भिमफेदी गाउँपालिकाका ५ जना, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएका उपमहानगरपालिकाले जनाएको छ । बाहिरी जिल्लाका ३ जनामा पनि संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।

थप ८४१८ जनामा संक्रमण पुष्टि, ५३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । जसमध्ये ८३ हजार ४९३ सक्रिय संक्रमित छन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ३६३२ जनाको मृत्यु हुनेको भएको छ । शनिबार ३३७० निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । शुक्रबार देशभर हालसम्मकै बढी ९१९६ संक्रमित थपिएका थिए । त्यस्तै, बुधबार एकैदिन सबैभन्दा बढी ५८ जनाको कोरोना कारण मृत्यु भएको थियो ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनः ५ दलले भाग लिने

काठमाडौं । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि एमालेलाई सूर्य र क्रम १, काँग्रेसलाई रुख र क्रम २, नेकपा (माओवादी केन्द्र) लाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राप्रपालाई हलो चिह्न र क्रम ४ तथा नेमकिपालाई मादल चिह्न र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ । आगामी जेठ ६ गते बिहीबार हुने प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ । उपनिर्वाचनका लागि ३४८ मतदाता कायम उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय भएको छ । आयोगका अनुसार, स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ । मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिनसकिने छ । उपनिर्वाचनका लागि तयार भएको नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

शैक्षिक संस्था बन्द गर्नुपर्नेमा काठमाडौं उपत्यकाका सिडिओको जोड

काठमाडौं : काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले कोरोना रोकथामका लागि यहाँका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले भने, हिजो सीसीएमसीले विभिन्न निर्णय गरेर मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । उक्त प्रस्तावबारे मन्त्रिपरिषदले निर्णय लिए त्यसको कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।’ उनका अनुसार भीडभाड हुने अन्य क्षेत्र र होटल-रेस्टुरेटलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि तीन जिल्लाका सिडिओ सुझाव थियो । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न र मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै डान्सबार र दोहोरी साँझ अहिले बन्द गर्न सिफारिस गरेको थियो । रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।