उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताउनुभएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै उहाँले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताउनुभयो । सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उहाँले त्यो सम्भव नभएको बताउनुभयो । 

‘‘प्रथम दृष्टिमै विचार गर्दाखेरी त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटी भएको बुझिँदैन। उहाँहरूको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्‌मा निर्णय गर्नका लागि सहज बनाउनका लागि यो एजेण्डालाई अगाडी ल्याएको हो। सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ। त्यसो भएको हुनाले यो सम्भव पनि छैन’– उहाँले भन्नुभयो ।
सरकार संवैधानिक परिषद्‌मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने तयारी गरेको छ । उहाँले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने पनि बताउनुभयो ।

देशमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गरौँ : प्रधानमन्त्री

“निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।”

बहराइनसँग नेपाल ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।  बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै अल हुमाइदानको गोलमा बहराइनले अग्रता बनाए । नवौँ मिनेटमा नै सायद बाकरले गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर पारे। यस्तै, पहिलो हाफको इन्जुरी समयमा अली मादानले गोल गरेपछि बहराइनले अग्रतालाई ३–० को अग्रता लियो । पहिलो हाफमा तीन गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप दुई गोल बहोर्‍यो । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा इब्राहिम अल खतलले गोल गरेपछि बहराइनले ४–० को अग्रता बनाएको थियो। यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई इस्माइल अब्दुल्लातिफले सदुपयोग गरेपछि बहाइनले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो । सुरुआतदेखि नै बहराइनको आक्रमण झेलेको नेपालले १६औँ मिनेटमा चोटका कारण फरवार्ड अञ्जन विष्टलाई परिवर्तन गरेको थियो । अञ्जनको स्थानमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए । जितसँगै तीन खेलबाट ६ अंक जोडेको बहराइन समूह ‘एच’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । यस समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार बेहोरेको थियो । यता, बहराइनले यसअघि यूएईसँग २–० को हार बेहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो । यी दुई टिमबीचको दोस्रो लेग बहराइनमै मार्च २७ मा हुनेछ ।

कविता : तीज र बेपत्ता सपना

महेश क्षितिज फेरि आयो हरितालिका तीज अर्थात् शङ्कास्पद व्यक्तिको आरोपमा मेरो खसमलाई गोलीले उडाउँदा मेरो पोते चुडिएको अनि मेरो छोरो सेताम्मै भएको कालो दिन । पन्ध्र वटा वर्ष अगाडि फलामको छातीमा मुटु राखेर पत्थरको सुरक्षाको नाउमा असुरक्षा बाँड्नेहरूबाट रजस्वलै नभएकी बलात्कृत मेरी बाह्र वर्षकी छोरी मारेर बाँसघारीमा फालिएको कालो तिथि । अहिले पाकेर मेरो कपाल भएको छ सेताम्मै चाहुरिएर गालाहरू परेका छन् दश मुजा सिलिभरे भाँडोजस्तेै कुचिनु र थिचिनुको सँस्कृतिमा हेजेमोनाइज्ड भएकी छु वसन्तमै शिशिर सहने मौन रुखजस्तै । छिमेकीका घरमा पाक्दा मिठो मसिनो उडेर आएको बासनाले गला लाग्छ मलाई अनि उघारेर मूल ढोका हेर्छु सबैतिर यी आँखाहरू मोती विन्दुको सिकार भएछन् देख्दिनँ केही बरु सुन्छु गाउँमा गुञ्जिरहेछ तीजको लहर आयो बरिलै । गाँउमा सबैका छोरीहरू बुहारीहरू छड्के तिलहरी लगाएर मस्त नाचिरहेको अनुभूतिले मेरो खाटा बसेको घाउ कोटिन्छ अनि अगेनाको डिलमा बसेर सल्काउँदै पाते बिँडी सम्झन्छु तिथि यही हरितालिकाको दिन हो मेरो छोरालाई बिद्रोहीको आरोपमा मान्छे भन्न नमिल्ने मान्छेहरूले मेरै पोल्टोबाट खोसेर जबर्जस्ती लगेका र मैलै पनि बलात्कार सहनु परेको कालो दिन । उसमा थियो विचार नदीको चाहन्थ्यो ऊ बगाउन विसङ्गतको दुर्गन्ध उसमा थियो भावना चराको चाहन्थ्यो ऊ पुग्न खुला आकाशमा र चाहन्थ्यो ल्याउन मखमली स्वर्गीय खुसी चाहना थियो उसको मेट्ने टुप्पाबाट लेखिएको सम्भ्रान्तीय इतिहास र चाहन्थ्यो लेख्न फेदबाट सीमान्तकृत इतिहास । ढुक्क थिएँ म केही थान उसका सपना पूरा हुन्छन् भन्ने कुरामा विश्वस्त थिएँ म मेरो देशको सरकारले मेरो छोरालाई विद्रोही देख्दैन भन्ने कुरामा काला कुराको समर्थन नगर्दा मेरो छोरालाई मेरो देशको सरकारले ठान्यो विद्रोही र पड्कायो गोली अरुणको बगरमा त्यतिबेला बलात्कृत शरीर सम्हाल्दै मैले सोधेकी थिएँ आफैसँग प्रश्न त्यो गोलीले कुन चाहिँ निर्दोषको जिजीविषा भुटिदियो हँ? फाटेको फरिया दश खाप टालेको चोलो दुलै दुला परेको मजेत्रो फेरिने आशाभन्दा पनि मैले कन्तुरमा राखेको गीता र रामायणलाई छोएर भनेकी थिएँ म सरकार विहीन देशकी मान्छे हुँ भगवान मेरो प्रमिथसलाई बचाऊ ऊ बाच्यो भने ल्याउने छ सन्तोषको दुई मुठी सास बगाउनेछ उसले कालो कानुनको लेदो र झुल्क्याउनेछ सीमान्त छिँडीमा प्रजातन्त्रको चन्द्रमा अनि म बूढी पनि नाच्छु तीजमा । कयौ ऋतु फेरिए कुप्रेर शरीर मेरो नुँघेको बाँस भो मैले सुनेको कथामा चोरेर स्वर्गको आगो प्रमिथस आएको थियो तर आएन लिएर मेरो प्रमिथस क्रान्ति गीत उसले किनेको रेडियोले श्री ५ को सरकारको सट्टा नेपाल सरकार भन्न थालेको छ श्रीमान गम्भीर नेपाली गाउन छाडेर सयौँ थुङ्गा गाउन थालेको छ तर मसँग छ पुरानै मुटु पुरानै घाउ पुरानै आँसुको टाटो पुरानै चीरहरणको मेरो कथा सरकार म केही देख्दिनँ नयाँ त्यो बेला अरुण घाटमा पड्किएको तिम्रो बन्दुकले अब मलाई बिद्रोही देखोस् र मारोस् एउटी आमा होइन भने तिमीले फिर्ता दिन सक्नुपर्छ मेरो सतित्व जुन तिमीले नै लुटेकाछौ र फिर्ता दिन सक्नुपर्छ बिद्रोहीको नाममा तिमीले यही तीजमा दर बनाएर खाएका मेरा खसम र छोराछोरीहरू ।

घुस दिएँ भन्ने पूर्वमन्त्री महतोलाई कारबाही गर्न राज्य व्यवस्था समितिमा उजुरी

काठमाडौं ।छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् पाँच हजार रुपैयाँ घुस दिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।  नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले महतोलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन्। यस्तो छ निवेदन हेर्नुहोस्

सकियो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको ३ घण्टा लामो छलफल सम्पन्न भएको छ ।  भेटमा सरकारका कामलाई थप प्रभावकारी बनाउने, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारका कामलाई गतिशील व्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भएको बताइएको छ ।

नयाँ दलमा अशोक राई अध्यक्ष, यस्तो छ कार्यसमिति

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।  पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् । प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा.वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।पार्टी निर्वाचन आयोगमा दर्ता पछि अध्यक्ष अशोक राईले आफुहरु अस्थिरताको कारक बन्ने बताउँदै सरकारलाई समर्थन गरेर अघि बढ्ने बताएका छन् ।यससँगै कांग्रेसले माधव नेपाल नेतृत्वको नेकपा(ऐस) र उपेन्द्र नेतृत्वको समाजवादीसहितको नयाँ गठबन्धन बनाउन खोजेको प्रयास कमजोर बनेको राजनीतिक विश्लेषण हुन थालेको छ ।

सहकारी समस्या समाधानकाे ठोस योजना ल्याउँछौं : प्रधानमन्त्री

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको विषय गम्भीर रहेको बताउँदै अर्को मन्त्रीपरिषद् बैठकले यसबारे ठोस योजना ल्याउने बताएका छन्।   शनिबार काठमाडौँमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै अध्यक्ष प्रचण्डले सहकारीको विषयमा उत्पन्न समस्या हल गर्न लागिरहेको बताएका छन्। बैठकमा सहभागी एक सदस्यका अनुसार  यसबारेमा विपक्षी दलसँग पनि संवाद जारी राखेको तर निचोड ननिस्किएको प्रचण्डको भनाई छ।   बैठकमा उनले भने–‘सहकारीको जटिलता गम्भीर बनेको छ, अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु। विपक्षी दलसँग संवाद जारी छ, निचोड निक्लिएको छैन।केही दिनमा सर्वदलीय बैठक बोलाएर निकास खोज्न लागेको छु।’ सरकारले महत्त्वपूर्ण विधेयक संसद्मा पेस गरेको बताउँदै सबै सक्रिय भएर छिटो पास गर्नका लागि पनि प्रचण्डले आग्रह गरेका छन् ।   टिआरसी विधेयकबारे संसद्मा गम्भीर बहसमा भाग लिन र संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्नका लागि सांसदहरूलाई निर्देशन समेत दिएका छन्।संसद्को चौथो अधिवेशनलाई प्रभावकारी बनाउन सबै संसदहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै नीति तथा कार्यक्रम र बजेट रचनात्मक र प्रभावकारी बनाउन सुझाव दिन प्रचण्डले आग्रह गरेका छन्।

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौँ। संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।  प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 

संसदीय समितिको प्रतिवेदन : जीबी राईसँगै रविलाई पनि कारबाही गर्न सिफारिस (पूर्णपाठ)

काठमाडौं । सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले सहकारी ठगीमा जीबी राईसहित रवि लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।  प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारी ठगीबाट फरार रहेका राईसँगै रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरिएको छ। प्रतिवेदनमा भनिएको छ -'कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन। खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण गर्नु पर्दछ ।सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।' उक्त प्रतिवेनदन एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिले आज संसदमा पेस गरेको छ । भने कारबाहीका लागि संसदले सरकारलाई पठाएको छ । समितिको सुझाव र सिफारिस

दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री नेपालमा, मृतकका शव पनि लिएर जाने

काठमाडौं । शुक्रबार भएको तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आउनुभएको हो । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल जानुभएको थियो ।  नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उपचार भइहरेको छ।

‘टीआरसी विधेयक’ संसदमा पेश,बुधबार पारित गरिने

काठमाडौं ।संक्रमणकालिन न्यायको विषय टुंग्गो लगाउनका लागि गठन गरिने सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८१ प्रतिनिधि सभामा पेस गरिएको छ ।  आज (मंगलबार)को प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन् ।  बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताइन् । सबै राजनीतिक दलहरू एक ठाउँमा उभिए आगामी दिनमा आइपर्ने जस्तोसुकै चुनौती पनि सामना गर्न सकिने उनले बताएकी छन् । विधेयक सदनबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्दै उनले यसबाट नेपालको शान्ति प्रक्रिया सफल बनाउन राम्रो कानुन बन्ने सदनमा बताइन् । विधेयक सदनबाट सर्वसम्मतिले पारित भए देशमा द्वन्द्वको अवस्था नआउने उनको भनाइ थियो ।   लामो समयको छलफल पश्चात दलहरूबीच टिआरसी विधेयकका प्रावधानमा सहमति जुटेको छ। दलहरूबीचको सहमतिसँगै विधेयक समितिबाट सर्वसम्मत पारित भइसकेको छ ।  अब बुधबार संसद्मा छलफल गरेर टिआरसी विधेयक पारित गर्ने तयारी छ । बुधबार शीर्ष नेताहरुले संसदमा सम्बोधन गरेर विधयेक पारित गर्ने तयारी छ । ​टिआरसीमा छलफल गर्न समितिले उपसमिति पनि बनाएको थियो । प्रतिवेदन तयार गर्दा समितिका ६ वटा र उपसमितिका १९ वटा बैठक बसेको, ३३ जनाको संशोधनकर्तामध्ये २१ जनासँग छलफल गरेको पनि सभापति सुवेदीले जानकारी दिइन् । आयोगका पूर्वपदाधिकारी तथा द्वन्द्वपीडितहरू गरी ३९ जनासँग छलफल गरेर विधेयक प्रतिवेदनलाई अन्तिम रुप दिइएको उनले बताइन्। 

जसपाका मन्त्रीले लिए शपथ

काठमाडौँ । जनता समाजवादी पार्टी -जसपा_बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । 

वैवाहिक बलात्कारको आरोप : गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनी बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए। नेपाल आइडल सिजन– २ का विजेता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन्। श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।

एमालेबाट इलाम २ मा सुहाङ नेम्वाङ उम्मेदवार

काठमाडौं । इलामको क्षेत्र नम्बर २ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो । सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि २०८१ बैशाख १५ गते त्यहाँ उपनिर्वाचन हुन लागेको छ । सुहाङ, ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुहाङ एमाले कानुन विभाग सदस्य छन्। एमाले इलामले कोशी प्रदेश कमिटीमा उम्मेदवारका ६ जना आकांक्षीको नाम पठाएको थियो। ती नाम केन्द्रमा आएपछि सुहाङलाई उम्मेदवार बनाइएको हो।   पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ। बझाङ १ को १ मा भने एमालेबाट ३ जना आकांक्षी थिए। बझाङ क्षेत्र नम्बर १ को (१) मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। दुर्घटनामा उनको निधन भएपछि यो क्षेत्र रिक्त छ।  यस्तै सचिवालय बैठकले ऐन महरलाई पुन: केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको छ।

मिटरब्याजपीडितलाई वार्तामा आउन सरकारको आह्वान, वार्ता संयोजक सहसचिव पण्डित

काठमाडौं । सरकारले मिटरब्याजपीडितलाई वार्ताका निम्ति पत्र पठाएको छ । आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाललाई पत्र पठाउँदै बढीमा पाँचजनाको टोलीलाई गृह मन्त्रालयमा वार्ताका लागि बोलाइएको हो । मिटरब्याज समस्या समाधानका निम्ति मन्त्रालयबाट सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको भन्दै छलफलमा बोलाइएको छ । यसअघि पनि मिटरब्याजपीडितले पटक–पटक यस्ता आन्दोलन गरेका र वार्तापछि सहमतिअनुसार आयोग गठन गरेर काम गरिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ । मिटरब्याजपीडितका तर्फबाट को–को वार्तामा जाने भन्ने नाम तय नभएको बताइएको छ । आजै बेलुका ५ बजेसम्म नाम टुंगो लगाइने मिटरब्याजपीडितको भनाइ छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको नेतृत्व अवधेश कुशवाहले गरेका छन् । निर्ग नवीनलाई समितिको प्रवक्ता तोकिएको छ ।