गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

काठमाडौं, फागुन १७ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ।

भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ।

रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ ईन्जिनियर आचार्यले जानकारी दिए। टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ ।

रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।

महानगरपालिकाले विगत पाँच वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया सुरु गरेको हो।

यसअघि, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पहलमा वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

महानगरपालिका प्रमुख दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने विश्वास व्यक्त गरिन् ।

संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ ।

संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सो निर्णयमा रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ ।

null

नेप्सेसँगै कारोबार रकम वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.२२ अंकले बढेर बन्द भएको छ । नेप्से सोमबारको तुलनामा आज ०.२९ प्रतिशतले वृद्धि भएको हो । यस दिन कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मंगलबार चार अर्ब आठ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सोमबार १० प्रतिशतले सेयर मूल्य बढेको बुुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज भने ५.५१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज सर्वाधिक घटेको हो। कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर, म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि व्यपार समूहको भएको छ। यो समूहको परिसूचक २.७० प्रतिशतले वृद्धि भएको छ। 

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ।” गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० शैया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैयाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।” संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने विश्वास दिलाए। आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए। 

मुलुकको आवश्यकताअनुसार १६ औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६ औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताएका छन्। लगानी सम्मेलनको दोस्रो दिन आयोजित ‘हार्नेसिङ ग्रीन फाइनान्स फर सस्टेनेबल इन्भेस्टमेन्ट’ सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा उत्तिकै प्राथमिकता दिइएको बताए। लगानीका विभिन्न सम्भाव्य क्षेत्रमध्ये ऊर्जा क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको र सोहीअनुसारको कार्यक्रमसमेत तय गरिएको उनको भनाइ थियो।  लगानी विस्तार गर्नुपर्ने प्रमुख क्षेत्रका रूपमा कृषि रहेको र त्यसलाई आधुनिकीकरण गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले आधुनिक खेती प्रणालीका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध जरुरी रहेको बताए। वन क्षेत्रलाई बहुआयामिकरुपमा संरक्षण गर्ने र आर्थिकोपार्जनका लागि प्रयोग गर्ने सोचका साथ सरकारले कार्यक्रम तय गरेको जानकारी दिँदै उपाध्यक्ष डा.श्रेष्ठले वनलाई समृद्धिको आधार बनाइएको तथ्य पेस गरे।  लगानीको क्षेत्रको चर्चा गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले खानेपानी क्षेत्र पनि उल्लेख गरे। उनले नेपालको कञ्चन पानीमा लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान गरे। हिमनदीको पानी प्रशोधन गरेर बिक्री गर्न सकिने जानकारी दिँदै उहाँले पानी पनि निर्यातयोग्य वस्तुकारुपमा हो भन्दै चर्चा गरे। वातावरण संरक्षणका क्षेत्रमा नेपालले गरेको प्रगतिका आधारमा ग्रीन फाइनान्स तथा कार्बन न्यूनीकरणमा पुर्‍याएको योगदानबापत थप सहुलियत पाउनुपर्ने बताए। दिगो विकासका लागि नेपालले गरेको सार्थक प्रयासको लाभ नेपालले मात्रै प्राप्त गर्ने नभई संसारभरले नै उपभोग गर्न पाउने र समग्र पृथ्वीको हितका लागि नै हुने मर्मलाई आत्मसात् गर्न पनि उपाध्यक्ष श्रेष्ठले आग्रह गरे। सो सत्रमा अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष आशिष् गर्गलगायतले हरित अर्थतन्त्र र त्यसका आयामबारे धारणा राखेका थिए । 

करिब २२ किलो गाँजा बरामद

सिरहा । धनगढीमाई नगरपालिका ८ कसहा चोकबाट ‌अवैध लागूऔषध गाँजा करिब २२ किलो बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।   अस्थायी प्रहरी पोष्ट कसहाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ २ जना पैदलयात्रीहरुले बोकेको झोला फालि फरार भएपश्चात प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।  हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १४ गते बुधबार सन् २०२४ मार्च २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

कुलमानले बक्यौता असुली गरी छाड्छु भनेपछि ऊर्जामन्त्री खड्काको आपत्ति

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता रकम असुली गर्ने अडान राखेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले सरकारले भनेको नटेरेको भन्दै आपत्ति जनाएका छन् ।   सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार निर्णय गरिएको भन्दै उनले प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । शुक्रबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम असुली गर्ने क्रममा प्राधिकरणले ६ वटा उद्योगको विद्युत् आपूर्ति बन्दा गराएको विषयमा छलफल गरिएको थियो । छलफलमा मन्त्री खड्काले प्रधानमन्त्री, सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ भन्दै कुलमानसँग प्रश्न गरे । उनले विद्युत् प्राधिकरणले उद्योगीहरूसँग गरेको व्यवहार दुवै पक्षसँग थप छलफल गरेर सरकारलाई निर्देश गर्न पनि समितिलाई आग्रह गरे । उनले प्राधिकरणले उद्योगको विद्युत् आपूर्ति बन्द गरेर झनै समस्या खडा गरेको उल्लेख गर्दै त्यसको समाधान गर्न पनि विद्युत् आपूर्ति नरोक्ने तर आवश्यक परे सोही उद्योगको सम्पत्ति नै जफत गरेर राज्यले असुली गर्ने बाटो रहेको बताए । मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगबाट पैसा असुली नगर्ने भन्ने कुनैपनि निर्देशन नदिएको पनि दोहोर्‍याए । तिर्नुपर्ने रकम उद्योगीहरूले तिर्नुपर्ने र प्राधिकरणले पनि विद्युत् आपूर्ति रोक्न हुने निर्देशन प्रधानमन्त्री ओलीले दिएको उनको स्पष्टीकरण थियो । मन्त्री खड्काले उद्योगहरूबाट थप नोक्सानी राज्यले बेहोर्न नदिन पनि विद्युत् आपूर्ति बन्द गर्न नहुने धारणा राखे ।   शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा कार्यकारी प्रमुख घिसिङले बिनाबिल सो लाइनको बक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाइ सत्य नभएको बताए। रेकडेट विद्युतमा प्रिमियम जोडेर ती उद्योगहरूमा बिल पठाएकाले त्यसमा थिएन भन्ने कुरा सत्य नभएको प्रबन्ध निर्देशक घिसिङको भनाइ थियो। उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत् १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे आठ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराए । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई प्रिमियम चार्ज मात्रै लगाएको बताउँदै बक्यौता रकम अशुली गरी छाड्ने अडान लिएपछि उर्जा मन्त्री खड्का कुलमानविरुद्ध आगो भएका हुन् ।

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा।लि।ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने जनाएको हो । प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए । सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।

राष्ट्र बैंकका तथ्यांक:  ३.०१ प्रतिशतले घट्यो मूल्यवृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि १० महिनामा ३.०१ प्रतिशतले घटेको दाबी गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार २०८१ वैशाखमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ। घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको .४६ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । २०८१ वैशाखसम्म काठमाडौं उपत्यकाको वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.३०, तराईको ४.३२, पहाडको ४.७० र हिमालको ४.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत रहेको थियो ।

गणेश लामाले अपहरण गरी २० करोड फिरौती मागेको आरोप

अपहरणकारीलाई कारवाही नभएको ज्ञानेन्द्र खड्काको गुनासो

संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए । प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले बताए। घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

असोजमा  १० औँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । आगामी असोज पहिलो साता  ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले एक्स्पो गर्न लागेको हो ।  आगामी असोज २ देखि ५ गतेसम्म तदनुसार सेप्टेम्बर १८ देखि २१ सम्म एक्स्पो आयोजना हुने एक्स्पोमा पहिलो पटक खुला बजार समेत सञ्चालन गर्न लागिएको छ ।  इभेण्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ पनि खुला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रम स्थलमा नै ५० प्रतिशत स्टलहरु बुकिङ भएका छन् ।  हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्राण्डका रुपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उनको भनाई छ ।  एक्स्पोका संयोजक सम्यक मान सिंहले पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन हुने जानकारी दिए । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरुले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्ने बताइएको छ ।

पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेपाल फर्किंदै

काठमाडौं । पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किने भएका छन् ।  उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्यमन्त्री समेत रहेका यादव गएको हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिन उनको कार्यक्रम थियो । उनी अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका थिए । सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौं फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।  अध्यक्ष यादव आज राति ११ बजे पछि काठमाडौं आइपुग्ने बताइएको छ ।  पार्टी विभाजनपछि उपेन्द्र यादव पक्षका नेताहरु आन्तरिक र अनौपचारिक छलफलमा जुटेका छन् । जसपाका प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष यादव काठमाडौं फर्किएपछि औपचारिक बैठक बसेर पार्टी विभाजनबारे छलफल गर्ने बताए ।

लगानी सम्मेलनको तयारी तीव्र, अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल संवाद

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल संवाद गरेका छन् ।  आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरूसँग संवाद गरेका हुन् ।  अर्थमन्त्री पुनले शुक्रबार साँझ परराष्ट्र मन्त्रालयबाट जुम बैठक मार्फत संवाद गरेको उनको सचिवालयले जानकारी दियो।  बैठकमा मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलगायत सहभागी थिए। मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए। ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठुला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन पनि भने ।  लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको उनले बताए। त्यसका लागि एक दर्जन बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे । ‘१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारीहरू गर्ने कुरामा पनि छलफल चलिरहेको छ। लगानीमैत्री कानुन बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई भन्नुस्’, उनले भने । त्यसैगरी मन्त्री पुनले सरकारको मुल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरू मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए। मन्त्री पुनले गैर आवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै सो समुदायमा यो सन्देश प्रवाह गर्न राजदूतहरू र नियोग प्रमुखहरूलाई अनुरोध गरे।  संवादका क्रममा भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरूमा भइरहेका पूर्व तयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिएका थिए।भर्चअल संवादमा संयुक्त राज्य बेलायत, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियाका राजदूत तथा नियोग प्रमुख सहभागी थिए।

बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले उक्त आदेश गरेको हो । ती महिलाले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छिन्। दैलेखकी २७ वर्षीया मानकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग पत्र दायर भएको थियो । फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन् । पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। पूजनको २६ दिनको छोरीलाई उपचारका लागि प्रसूति गृह ल्याउँदा फागुन ११ गते दिउँसो अस्पतालबाट एक महिलाले लगिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो । मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन् ।

तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न

काठमाडौं । रोजवड स्कुलद्वारा आयोजित तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न भएको छ ।  काठमाडौंको बुद्धनगरमा रहेको रोजवड स्कुलले नेपाल आर्ट काउन्सिल बबरमहलमा  आयोजना गरेको रोजवड आर्ट्स एक्जिविशन २०८० भव्यरुपमा सम्पन्न भएको हो ।  फाल्गुन २० देखि २४ गतेसम्म चलेको प्रदर्शनीमा कलाकारहरु , विदेशीहरु  र अभिभावकहरुले अवलोकन गरेका थिए ।  प्रदर्शनीमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएको कलाहरु प्रदर्शनमा राखिएको थियो ।  मण्डला लिप्पन आर्ट , अफ्रिकन आर्ट र हस्तकला सम्बन्धी कला समेटिएको प्रदर्शनी  बिहान १० बजेदेखि साँझ ४ बजे सम्म पाँच दिन चलेको थियो । आर्ट्स शिक्षिका पुष्पान्जली थापा लगायत अन्य दुई शिक्षकले विद्यार्थीहरुलाई लामो समयदेखी रोजवडमा आर्ट सिकाइरहेका छन् ।