स्रोत सङ्कुचनका बाबजुद वस्तुवादी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिक स्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरे।

“बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ। बजेटमा निकै धेरै अपेक्षा थिए। युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो”, अर्थमन्त्री पुनले भने, “स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन्। निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन्।”

आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको  सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ। विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ।

“समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ”, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भने, “राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन्। हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन्।” निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भङ्ग नगरेको उनले बताए।

गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ। “समग्र राष्ट्रिय अर्थतन्त्रमा केही सङ्कुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो”, उनले, “गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ  र बिस्तारै गतिशील बन्दै गएको छ। हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौँ।”  रासस  

इरानमा हमास प्रमुखको हत्यापछि मध्यपूर्वमा संकट, आफ्ना नागरिकलाई देश फर्किन अमेरिकाको आग्रह

काठमाडौं । गत बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको हत्या पछि मध्यपूर्व क्षेत्रले संकटको सामना गर्नुपर्ने संकेत देखा परेको छ । सो घटनापछि इरानले  इजरायलको विरुद्धमा कठोर बदला लिने चेतावनी दिएपछि मध्यपूर्वमा थप युद्धको खतरा बढेको हो। इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख इस्माइलको हत्या भएको थियो । इरानले उक्त हत्यामा अमेरिकाको हात रहेको आरोप लगाएको छ । सोही कारण अब हुने घटनामा अमेरिकी नागरिक तार्गेटमा पर्ने भयका कारण अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ।  बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा बढ्दो  बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो। त्यसैगरी, जोर्डनले पनि आफ्ना देशका नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन गरेको छ । जोर्डनको विदेश मन्त्रालयले एक सूचना जारी गर्दै आफ्ना नागरिकलाई देश फर्किन र लेबनानको भ्रमणमा नजान भनेको छ । उत्ता क्यानाडाले पनि आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न चेतावनी दिएको छ ।इरानको सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ ।

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले बिदाइ गरेका थिए । राष्ट्रपति पौडेलले जेठ ३१ गते उच्चस्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ ।  उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही गरौँ भन्ने प्रधानमन्त्रीको हुटहुटी नीति तथा कार्यक्रममा सम्बोधन भयो :  सत्तापक्ष

काठमाडौँ । सत्तारुढ दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको टिप्पणी गरेका छन।  सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले० का सांसद ठाकुरप्रसाद गैरे, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहालको केही गरौँ भन्ने हुटहुटी सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रम आएको दावी गरेका हुन्। एमालेका सांसद गैरेले समाजवादमा जाने संविधानको परिकल्पना अनुसार सो नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए।  उनले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भएपछि सञ्चारकर्मीमाझ नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीको केही गरौँ भन्ने हुट्हुटी नीति तथा कार्यक्रममा समावेश भएको बताए।  अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रमले परम्परा पनि धान्नुपर्ने भएकाले यसलाई अन्यथा लिन नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता माधव सापकोटाले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको बताए।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी सबै क्षेत्रलाई समेटेर ल्याएको बताए। 

रामेछापमा पहिरोमा पुरिएर दुईको मृत्यु, आठ जना बेपत्ता

रामेछाप। रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन्।  पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । मृत्यु हुनेमा एक जना बालक रहेका छन्। शनिबार राति भीषण वर्षापछि आएको पहिरामा टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको प्रारम्भिक जानकारी आएको रामेछापका डीएसपी सिंहले बताउनुभयो । पहिरोले गाउँपालिकाको २ र ३ नम्बर वडा जोडने ढाईगाउँ खोलाको पक्की पुल बगाएको छ । पहिरो गएको गाउँ जानेबाटो वर्षाले क्षति गरेकाले उद्धारमा कठिनाइ भएको छ । उद्धारका लागि प्रहरी पहिरो गएको गाउँ पुगिसकेको छ । पहिराले गरेको क्षतिका बारेमा थप विवरण आउन बाँकी छ।

जी ७ बैठक : युक्रेनले रुसकै सम्पत्ति उसका विरुद्ध प्रयोग गर्न पाउने

काठमाडौं । जी ७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन सहमत भएका छन्। यो ५० अर्ब डलर रुसको जफत गरिएको सम्पत्तिबाट मात्रै दिइनेछ।  फ्रान्सेली राष्ट्रपति कार्यालयका अधिकारीहरूले यो जानकारी दिएका छन्। रुसको कब्जामा लिइएको ३२५ अर्ब डलरको सम्पत्तिको ब्याजबाट प्राप्त रकमबाट मात्रै जी ७ देशहरूले युक्रेनलाई सहयोग गर्ने भएका छन्। रुसको सेन्ट्रल बैंकसँग रहेको रुसको ३२५ अर्ब डलर जी ७ देशहरूले जफत गरेको छ । यो रकमबाट किभलाई ५० अर्ब डलर ऋण दिने तयारी भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि जी ७ सम्मेलनमा भाग लिन इटाली जाँदैछन् । जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच इटालीको पुगलियामा भेटवार्ता हुनसक्ने बताइएको छ। यदि कुनै कारणले रुसको पैसा छोड्नु पर्यो भने, सबै सदस्य राष्ट्रहरूले संयुक्त रूपमा युक्रेनलाई सहयोग गर्ने विचार गर्ने रिपोर्टमा बताइएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार नै इटाली प्रस्थान गरेका छन्। मिडिया रिपोर्टका अनुसार बाइडेनले युक्रेनका राष्ट्रपतिसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न सक्नेछन् ।  यो सम्झौताले अमेरिकाले भविष्यमा पनि युक्रेनलाई रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग गरिरहने स्पष्ट पार्नेछ ।

१६औँ योजनाले उत्पादन र रोजगारीलाई जोड दिएको छ :  डा. श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १६औँ आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन्। ‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाई तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने । पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उनले बताए । श्रेष्ठले १६औँ योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए ।१५औँ योजनाभन्दा आकारमा आधा सानो १६औँ योजना रहेको भन्दै उनले मन्त्रालयका सूक्ष्म कार्यक्रम नराखिएका कारण आकार घटेको बताए । अहिलेसम्म महत्त्वाकाङ्क्षी योजना बनेको भन्दै उनले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेर १६औँ योजना तयार गरीएको बताए ।

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय

काठमाडौं । आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक सिंदरबारमा बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेकोे बैठकले विविध निर्णय गरेको छ । सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गर्न भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने निर्णय गरेको हाे ।  बैठकले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  यस्ता छन् २०८० फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने मृतक जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने । २. सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद २०८०/११/१६ बाट लागु हुने गरी फागुन मसान्तसम्म थप गर्ने । ३. सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने । ४. बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८०/११/२० भित्र सिफारिस गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने । ५. भरतपुर महानगरपालिका प्रमुख श्री रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने International Mayor Award ग्रहण गर्न स्वीकृति दिने । ६. २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।

बालुवाटारमा प्रचण्ड र माधवबिच छलफल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। समाजवादीको सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो।  भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बुझिएको छ। सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन्।  त्यसैगरी मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन्। तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन्। यद्यपि मधेस प्रदेश सरकार अल्पमतमा परिसकेको छ। एकीकृत समाजवादीले आज दिउँसो बस्ने सचिवालय बैठकमार्फत निर्णय गरेर मधेस सरकारबाट फिर्ता हुने निर्णय गर्ने तयारी गरेको छ। त्यसअघि अध्यक्ष नेपाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गरिने

काठमाडौं। सरकारले अब क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो। आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो।

निजामती विधेयक संघीय मन्त्रालयमा

काठमाडौं । निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तिम टुंगो लागएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विधेयकको सिल लगाएको कपी संसद् सचिवालयमा दर्ताको तयारी भइरहेको छ । दर्ताका लागि मन्त्रालयको कानुन शाखाले तयारी गरिरहेको स्रोतले बतायो । २०७५ साल माघमा पहिलो पटक संसद्‍मा दर्ता भएको सो विधेयक २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरिसकेको छ।  मुलुक संघीयतामा गएपछि २०७६ चैतमा कर्मचारी समायोजन गरिएकोमा निजामती ऐनको अभावमा प्रशासनीक संघीयता कार्यान्वयनमा समस्या देखिएको  भन्दै प्रधानमन्त्री प्रचण्डले निजामती ऐन छिट्टै पास गर्ने बताएका थिए । संघीय सरकारले ऐन नबनाएका कारण प्रदेशले निजामती ऐन बनाएर लागू गरेका छन् । स्थानीय तहमा पठाउने प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सचिवलगायतका विषयमा कुरा मिल्न नसक्दा विधेयक अघि बढ्न सकेको थिएन । हाल कायम ५८ वर्ष उमेरलाई भने ६० वर्ष बनाउने सहमति बनेकाे छ ।

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षमा पुग्न बाँकि

काठमाडौं । लगातार तीन दिनसम्म वार्ता जारी रहेपनि मिटरब्याज पीडित र सरकारबीचको वार्ता टुंग्गोमा पुग्न सकेको छैन् । बुधबार गृह मन्त्रालयमा भएको मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता सकारात्मक भएपनि समस्या समाधानका लागि ठोस निष्कर्षमा पुग्न नसकेको हो । वार्ता पछि सञ्चारकर्मीहरूमाझ मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको, वार्ता सकारात्मक भएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको जानकारी दिए ।  उनले वार्तासँगसगै आफूहरूको आन्दोलन जारी रहने पनि बताए ।उनीहरुले फर्जी लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका छन् ।  साथै, साहुहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि उनीहरुको रहेको  छ ।

सहरसँग मानिसका सपना जोडिन्छन, नहर हैन सहर बनाऔं

युवा पुस्तामा आशलाग्दा नेता हुन जीवन आचार्य । राजनीतिक कर्मथलो मोरङ रहेका आचार्य गत आम निर्वाचनमा थोरै मतले पराजित भए । यद्यपी यो जीत र हारले उनको जिम्मेवारीमा भने कुनै फरक पारेन । जनताका स–साना समस्यादेखि विकास निर्माणका काममा उनी निरन्तर सक्रिय देखिन्छन् । युवा पुस्ताले नयाँ र फरक किसिमले विकास र समृद्धिको दृष्टिकोण निर्माण गर्नुपर्ने आचार्यको मत छ । कोरा भौतिक निर्माण मात्रै विकास नहुने बरु मानिसका सपना र जीवन झल्किने विकास नै वास्तविक समृद्धि भएको उनको तर्क छ । अहिले सुन्दर सहर, स्मार्ट सिटी आदिको बहस चलेको बेला नेता आचार्य भने मानिसका सपना सहरसँग जोडिएको सहरको बारेमा मौलिक विचार राख्छन् । आचार्यसँग यही सेरोफेरोमा रहेर नागरिक दैनिकमा शिवहरी घिमिरेले लिएको अन्तर्वार्ता सान्दर्भिक ठानेर यहाँ साभार गरेका छौं । *** तपाईँको विचारमा सहर भनेको के हो ? मानिसका रहर, आकांक्षा र हरेक आवश्यकता परिपूर्ति गर्न सक्ने व्यवस्थित र सुरक्षित ठाउँ नै सहर हो। सहरको जनघनत्व बढी हुन्छ। त्यहाँ असीमित सम्भावना लुकेका हुन्छन्। सहरकोे प्रशासनले त्यसै अनुरूपको दक्षता र पूर्वतयारी गरेको हुनुपर्छ, ताकि सहरमा कुनै विनास र आपत्तिको सामना गर्न सजिलो होस्। अर्को कुरा, कस्तोलाई सहर मान्ने भन्ने कुरामा पनि भर पर्छ। मेरो बुझाईमा सहर र व्यवस्थित सहरमा धेरै फरक छ। व्यवस्थित सहर त्यो हो, जहाँ सन्तुष्टि मिल्छ र आवश्यकताहरू सहजै पूरा हुन सक्छन्। त्यो मुलुक कति सम्पन्न, व्यवस्थित, शिक्षित र सुरक्षित छ भन्ने कुरा पनि सहरको रूपले निर्धारण गर्छ। घुमेकामध्ये मनपर्ने सहर कुन हो ? जापानमा केही सहर मलाई मनपर्‍यो। त्यहाँका सहर बखान गर्न लायक छन्। हामीले पनि तदारुकता देखाएर काम गर्ने हो भने केही वर्षमै नेपालका सहरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं। नहर होइन, सहर बनाऊ, तार तल, सेवा माथि, नथाक्ने र नसुत्ने सहर, सुरक्षित सार्वजनिक यातायातलगायत हुन्। सहर दिनरात जाग्राम हुनुपर्छ। पछिल्लो समय सबैतिर ‘स्मार्ट सिटी’को चर्चा सुनिन्छ। जनप्रतिनिधिले पनि त्यसैलाई आफ्नो मूल अजेन्डा बनाएका थिए। तर, स्मार्ट सिटीको यथेष्ट योजना छैन, तपाईँको बुझाईमा स्मार्ट सिटी के हो ? सहर ‘कि त हरियो कि त भरियो’ हुनुपर्छ। मैले चुनाव ताका उठाएको नारा पनि यही हो। सहरलाई व्यवस्थित, स्मार्ट सिटी वा स्याट लाइट सिटीका रूपमा अघि बढाउन धेरै पक्षको आवश्यकता पर्छ। सहर विकासको पहिलो सर्त भनेको बाटोघाटो र पुल–पुलेसा हो। हामीले संसारका सर्वोत्कृष्ट सहर हेर्‍यौं भने पनि त्यहाँ सडक र वातावरणलाई पहिलो नम्बरमा राखिएको हुन्छ। हाम्रो देशका मुख्य सहर काठमाडौं, विराटनगरलगायत सहरको समस्या भनेको धुलो, धुवाँ र प्रदूषण नै हो। सहरभित्र सडक बनाउँदा हाम्रो ध्यान खासै गएन। त्यसकारण सबैभन्दा पहिले सडक भर्ने र त्यसमा हरियो बनाउन जरुरी देखिन्छ। ‘कि त हरियो कि त भरियो’ भन्ने नारा लिएर अघि बढियो भने सहरको विकास हुनसक्छ। विकासको नाममा सहरवासी अनावश्यक सास्ती खेपिरहेका छन्। सरकारले समय र विकास गर्दा हुने असुविधालाई मिलाएर तीव्र गतिमा काम गर्न जरुरी छ। अहिले भइरहेको सहरलाई कसरी व्यवस्थापन गर्न सकिएला ? काठमाडौं समस्याग्रस्त सहर भएको छ। यहाँ अनेक समस्या छन्। ती सबै मानवीय समस्या हुन् अर्थात् हाम्रै कारणले उब्जिएका समस्या हुन्। गुजुल्टिएका तार, धराप खाल्डाखुल्डी, अव्यवस्थित यातायात, बढी भीड, अस्तव्यस्तता लगायतले सहर दिक्कलाग्दो बनिसकेको छ। त्यसकारण यो सहरलाई अलि व्यवस्थित बनाउन यहाँ भएका सेवा सुविधा अन्य सहरमा विकेन्द्रीकरण गर्न जरुरी छ। काठमाडौंकै कुरा गर्दा, सहरभित्रका पनि विभिन्न ठाउँलाई छुट्याएर विकास गर्न आवश्यक ठानिन्छ। मैले सहरलाई कसरी सपार्न सकिन्छ भनेर केही अध्ययन पनि गरेको थिएँ। त्यसमा केही यसप्रकार छन्। नहर होइन, सहर बनाऊ, तार तल, सेवा माथि, नथाक्ने र नसुत्ने सहर, सुरक्षित सार्वजनिक यातायातलगायत हुन्। सहर दिनरात जाग्राम हुनुपर्छ। चहलपहल बढ्यो भने आर्थिक क्रियाकलाप पनि बढ्छ। त्यसले देशलाई नै फाइदा गर्छ। अर्को कुरा, काठमाडौं कुरूपको अर्को नमुना तारलाई हामीले व्यवस्थित पार्न जरुरी छ। यसलाई सहरलाई नै असुरक्षित र भद्रगोल बनाएको छ। यसलाई भूमिगत बनाउन जरुरी छ। त्यस्तै, सहर नहरजस्तै बनेका छन्। जिम्मेवार निकायबीच समन्वय नहुँदा विकास निर्माणको काम छिद्र भइरहेको छ। विकासको नाममा सहरवासी अनावश्यक सास्ती खेपिरहेका छन्। सरकारले समय र विकास गर्दा हुने असुविधालाई मिलाएर तीव्र गतिमा काम गर्न जरुरी छ। यसलाई सबै निकायले आत्मसाथ गर्दै यो हाम्रै जिम्मेवारी हो भनेर अघि बढाउन जरुरी छ सहरको विकासको लागि कस्तो राजनीतिक नेतृत्व चाहिएला ? कुशल नेतृत्व चाहिन्छ, जसले म होइन हामी भन्ने सोचोस्। सबै निकाय र राजनीतिक नेतृत्वले शुसासन र नीति नियमको परिपालना गर्ने। एउटा सरकारले सुरु गरेको योजना अर्को सरकार आएपछि अलपत्र नपारोस्। सरकारैपिच्छे विकास निर्माणको फरक फरक ‘मोडल’ र योजना नल्याइयोस्। सहर विकासका हरेक साझा योजनालाई कार्यान्वयनमा ल्याइयोस्। थालेको योजनालाई निरन्तरता दिइयोस्। यद्यपि अहिलेको सरकारले सबै पक्षलाई समेटेर विकास गरिरहेको छ। जति प्रगति गरिसक्नुपर्ने हो त्यो भने देखिएको छैन। यसको लागि यी काम गर्न जरुरी देखिन्छ। सहरसँग हरेक व्यक्तिको सपना र भविष्य जोडिएको हुन्छ। सुन्दरताभित्र पनि र सुरक्षित हुनु सहरको अर्को विषेशता हो। म पनि यस्तै सहरको परिकल्पना गर्छु। वैदेसिक लगानी (एफडिआइ)लाई आकर्षण गर्ने नीति बनाउने, सहरको नेतृत्व परेको बेला लचिलो र कठोर हुने, सुरक्षा र सुशासन बसाउने, पूर्वाधारको मर्मत सम्भार गर्ने, विकास निर्माणको सही अनुगमन गर्ने, गुरुयोजना बनाएर भावी पुस्तालाई फाइदा पुग्ने गरी सहरको विकास थाल्ने, हरेक पक्षलाई व्यवस्थित गरी समन्वयकारी रूपमा विकास गर्ने, सहरको विकासमा सबैको सहभागिता गराउने, राजनीतिक पदमा भएका मन्त्री वा सो सरहको नेताले सही सल्लाकार राख्ने। यति गरियो भने सहरको विकासले अलि तीव्रता लिन्छ जस्तो लाग्छ। यसबाहेक हामीले आफूलाई कुन–कुन कुरामा चिनाउन सकिन्छ भन्ने पक्षलाई पनि हेक्का राख्न जरुरी देखिन्छ। कला, संस्कृति, गौतम बुद्ध, सगरमाथा, हरियाली वन, पाखा पखेरा, रगडिएका आकर्षक पडाडलगायत अनेक सम्पत्ति हामीसँग छन्। यिनको सदुपयोग र जर्गेना गर्न जरुरी छ। काठमाडौंलाई व्यवस्थित र खुकुलो पार्न के गर्नुपर्ला ? प्रचण्ड प्रधानमन्त्री हुँदा काठमाडौंलाई अलि खुकुलो पारौं भन्ने हिसाबबाट केही अवधारणा बनेका थिए। जसअन्तर्गत भक्तपुरको मनोहरा क्षेत्रमा एक लाख रोपनी जग्गामा स्मार्ट सिटी बनाउने निर्णय पनि भएको थियो। यसले काठमाडौंको अस्तव्यस्त अलि कम गर्नेछ भन्ने सोचका साथ यो कामको थालनी भएको हो। त्यहाँ बन्ने नेपाली मौलिकता झल्काउने घर बनाउने योजना थियो। मानिसले आवश्यकता अनुसार फ्ल्याट पनि भाडामा लिएर बस्न सकुन् भन्ने तवरले योजना सुरु भएको थियो। सरकार परिवर्तनपछि उक्त काम ओझेलमा परेकै हो। यसबारे सोच्न जरुरी छ। अर्को कुरा सहर निर्माण गर्दा हरेक क्षेत्र छुट्याइनुपर्छ।  रेसिडेन्सियल क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, वन क्षेत्र, पार्किङ र खुला क्षेत्रलगायत पक्षलाई ध्यानमा राख्दै ठाउँ छुट्टयाएर सहर व्यवस्थित पार्न सकिन्छ । तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ? सहरसँग हरेक व्यक्तिको सपना र भविष्य जोडिएको हुन्छ। सुन्दरताभित्र पनि र सुरक्षित हुनु सहरको अर्को विषेशता हो। म पनि यस्तै सहरको परिकल्पना गर्छु। हरेक व्यक्तिले सहजता महसुस गरुन्। कोही पनि सरकारी सेवा र पहुँचबाट वञ्चित नहोस्। सडक र यातायात शान्त र सुरक्षित होस्। सबै मिलेर बसेको देख्न पाइयोस्। सहरवासी सबैमा हाम्रो भन्ने भावना होस्। विकास निर्माणका काममा सबैको एकनासे सहभागिता रहोस्। सहरको नियमले सबैलाई समान घेरामा बाँधोस्। सहरी इलाका प्रवेश गर्नासाथ आहा ! भन्ने खालको होस्। म यस्तो सहरको परिकल्पना गर्छु। सहरको नीति नियमको अभ्यास नै राम्ररी भएन। त्यसकारण पनि सहर बिग्रियो भन्ने लाग्छ।  उपत्यकाको मनपर्ने पक्ष के हो ? उपत्यका मौलिकता बोकेको एक जीवन्त सहर हो। यहाँ हाम्रा पुर्खाका कलात्मक सांस्कृतिक सिर्जनाहरू छन्। ती सिर्जनाले पनि हाम्रो मौलिकता झल्काएको छ। अझ आज भन्दा केही वर्षपछाडि फर्केर हेर्दा उपत्यका अहिलेभन्दा निकै व्यवस्थित थियो। जनघनत्व बढेसँग सहर अस्तव्यस्त भएको छ। यसलाई व्यवस्थापन गर्न जरुरी छ। यहाँको मौसम पनि विश्वलाई लोभ्याउने किसिमको छ। यहाँको मौसम र कला संस्कृति हेर्न विदेशीहरू तानिएका छन्। यहाँको मन नपर्ने पक्ष ? काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो। जनघनत्व बढी भएकै कारण काठमाडौं अस्तव्यस्त बनेको छ। प्रदेश सरकार बने पनि यहाँको भीडभाडमा कमी देखिएको छैन। यसबारे सबैले सोच्न जरुरी देखिन्छ। यहाँको सेवा सुविधा अन्त विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं सहज बन्ला। नेपाल बाहिर कहाँ पुग्नुभएको छ ? केही देशका सहर घुमेँ। जापान, चाइनालगायत देशका सहरलाई बुझ्न र अनुभव गर्न पाएँ। विदेशका सहर व्यवस्थित छन्। नीति नियम र योजनाले चलेका छन्। सहरको सुरक्षाले सबैलाई एउटै घेराभित्र राखेको छ। हाम्रोमा त्यसको विपरित छ। सहरको नीति नियमको अभ्यास नै राम्ररी भएन। त्यसकारण पनि सहर बिग्रियो भन्ने लाग्छ। नेपालभित्र मनपर्ने सहर ? पोखरा र इलाम अन्य सहरभन्दा फरक छन्। यी सहरमा प्राकृतिक छनक भेटिन्छ। अरु सहरमा भीडभाड बढी छ। सहरको मनपर्ने खानेकुरा के हो ? म सामान्य दाल, भात र तरकारी नै रुचाउँछु। मैले जाँड रक्सी खान त परै जाओस्, छोएको पनि छैन। आफ्नो स्वास्थ्यप्रति सधैं सचेत रहन्छु।

आज नेपाललगायत अरू कुन कुन देशमा मनाइदैछ नयाँ वर्ष ?

नेपालको साँस्कृतिक र राजकीय नयाँ वर्ष आज अर्थात् वैशाख १ गते धुमधामका साथ मनाइंदैछ। देशका विभिन्न भागमा यसलाई फरक फरक सांस्कृतिक महत्वका साथ मनाइने गरिन्छ । सुदूरपश्चिम नेपालमा आजको दिनलाई बिसु पर्वको रुपमा मनाइने गरिन्छ । यसका अतिरिक्त नेपालमा विभिन्न समुदायहरूले फरक फरक तरिकाले फरक फरक दिनमा नयाँ वर्ष मनाउने गर्दछन्। वैशाख १ का अतिरिक्त नेपालमा राई, लिम्बू र तामाङहरूले मनाउने भिन्नाभिन्नै ल्होसार, नेवारहरूको नेपाल संवत, थारुहरूको माघी या मुस्लिम नयाँवर्ष पनि नयाँ वर्षका उदाहरणहरू हुन्। यी मध्ये वैशाख १ गतेलाई नेपालको सरकारी नयाँ वर्षका रूपमा पनि मान्यता प्राप्त रहेको छ। यस दिन सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले ज्योतिषीय दृष्टिले समेत यस दिनलाई महत्वपूर्ण मानिन्छ। यस दिनलाई मेष सङ्क्रान्ति समेत भनिन्छ। आजका दिन एक आपसमा शुभकामना आदान–प्रदान गरेर तथा जीवनमा केही नौलो काम गर्ने संकल्प गरेर मनाउने चलन रहेको छ। वैशाख १ गते नेपालको मात्र नयाँ वर्ष भने होइन। यस दिन नेपालका अतिरिक्त एनी धेरै देशहरूमा समेत नयाँ वर्षको रुपमा मनाइने गरिन्छ। बंगलादेश  आज नेपाल  नेपालका अतिरिक्त बंगलादेशमा समेत आज नयाँ वर्ष मनाइने गरिन्छ । ‘पोहेला बोइसाख’ भनिने यस दिनलाई बंगलादेशमा पारम्परिक नयाँ वर्षको रूपमा मनाइन्छ। यस दिन मानिसहरू ‘एसो बोइसाख एसो एसो..’ अर्थात ‘आऊ बैसाख आऊ आऊ..’ भन्ने गीत गाउँदै उत्सव मनाउने गर्दछन् । बंगलादेशमा जस्तै भारतको पश्चिम बङ्गाल राज्यमा यसलाई ‘पोहेला बोइसाख’ भन्ने गरिन्छ । बंगालीहरू यस दिन आफ्नो मन पर्नेखाना माछा-भात खाएर रमाइलो गर्ने गर्दछन्। भारत  भारतका विभिन्न ठाउँमा बैसाख महिनाको पहिलो दिनलाई स्वागत गर्ने फरक फरक तरिका रहेको छ । उत्तर-पश्चिमी राज्य पन्जाब तथा हरियाणामा बसोबास गर्ने सिख समुदायको लागि यो सबै भन्दा ठुलो चाड हो। उनीहरूले यसलाई वैशाखी भन्ने गर्दछन्। सिखहरूका धर्मगुरु गुरु गोविन्द सिंहले खालसा मतको सुरुवात गरेको स्मृतिमा यो दिन मनाइने गरिन्छ। उनीहरू आजको दिन रमाइलो गर्ने, भाँगडा नृत्य नाच्ने र मिठो मिठो परिकार खाने गर्दछन्। आज पन्जाब र हरियाणाका धेरै जसो भागमा ठुलो मेला लाग्ने गर्दछ। त्यस्तै भारतकै हिमांचल प्रदेश तथा उत्तराखण्डका धेरै जसो ठाउँहरूमा आजका दिन बिशुको मेला लाग्ने गर्दछ। यस दिनलाई दक्षिण भारतको तेलगु एवं तमिल संस्कृति मान्नेहरूले पनि बिशुको रूपमा मनाउने गर्दछन्। त्यस्तै भारतको आसाम राज्यमा आजको दिन बिहु पर्व मनाइने गरिन्छ भने अरुणाञ्चल प्रदेशमा सान्गकेन पर्वका रूपमा नयाँ वर्ष मनाइन्छ। श्रीलंका  त्यस्तै श्रीलंकाका तमिल र सिंहलहरूले पनि आजको दिनाई धुमधामका साथ नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। ‘आलुथ अवरुधु’ भनिने यस पर्वमा श्रीलंकालीहरू मिठो खाना खाने र मान्यजनको आशिर्वाद लिने गर्दछन् । त्यस्तै उनीहरू राबना भनिने ढोलक जस्तो बाजा बजाएर उत्सव मनाउने गर्दछन् । पाकिस्तान  उता पाकिस्तानमा यस दिन त्यहाँका अल्पसंख्यक हिन्दुहरूले पनि वैशाख १ गतेलाई पर्वका रूपमा मनाउने गर्दछन्। विशेष गरेर पन्जाब प्रान्तमा बैसाखीको रौनक रहन्छ भने सिन्ध र बलुचिस्तानमा बसोबास गर्ने हिन्दूहरुले समेत यस दिन उत्सव मनाउंने गर्दछन् । दक्षिण पूर्व  दक्षिण एसियाका अतिरिक्त म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस, चीन, भियतनाम र इन्डोनेसियाको बाली द्वीपमा समेत वैशाख १ लाई साँस्कृतिक नयाँ वर्षका रूपमा मनाइने गरिन्छ। थाईल्याण्डमा बैसाख एक गतेको दिन सरकारी विदा दिइने गरिन्छ । सोंक्रण भनिने यस दिनलाई सन् १८८८ सम्म आधिकारिक नयाँ वर्षको रूपमा मनाइने गरिन्थ्यो । त्यसपछि ग्रेगोरियन क्यालेन्डर अनुसार सरकारी नयाँ वर्ष मनाइने गरेको भए पनि यस दिनको महत्व घटेको छैन । सोंक्रण संस्कृत शब्द ‘संक्रान्ति’को स्थानीकृत रुप हो । बौद्धमार्गीहरूको मुलुक म्यान्मारमा बैसाख १ गते थिन्ज्ञान पर्व मनाइन्छ । यसलाई त्यहाँ संग्करण पनि भन्ने गरिन्छ । यो त्यहाँको संस्क्रित्तिक नयाँ वर्षको दिन हो । त्यस्तै लाओसमा पनि नयाँ वर्षको उत्सव सुरु भइसकेको छ । मानिसहरू आजको दिनलाई ‘पि माई’ या ‘सोंक्रण’ मनाउने गर्छ्न् । कम्बोडियामा आजदेखि तीन दिनको नयाँ वर्षको उत्सव मनाइंदैछ । त्यहाँ बैसाख १ गतेको दिनलाई ‘महा संक्रण’भन्ने गरिन्छ । भोलि र पर्सि समेत मनाइने यस माहाउत्सवमा विभिन्न पूजा अनुष्ठान गरिने गरेको छ । सिङ्गापुर र मलेसिया लगायत मरिससको तमिल समुदायमा बैसाख एक गतेको दिनलाई नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । यस दिनलाई ‘पुथांदु’ भन्ने गर्दछन् । चीन बैसाख एक गते नै चीनमा जल उत्सव मनाइने गरिन्छ । यस दिनलाई अल्पसंख्यक ‘दाई समुदायको नयाँ वर्षको रुपमा मनाइन्छ ।

बूढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीनजनालाई जेल सजाय

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एकएक महिना कैद सजाय सुनाएको हो। मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको छ । विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानि गरेको अभियोगमा उक्त फैसला सुनाइएको हो ।