एघार महिनामा ४४ प्रतिशत पुँजीगत खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आवका लागि सरकारले कूल रु.१७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रु.११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा रु.आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर खर्च भएको छ।

पुँजीगत शीर्षकमा सरकारले रु.तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबरको बजेट विनियोजन गरेकामा जेठ मसान्तसम्ममा रु.एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख बराबर मात्रै खर्च भएको छ। पुँजीगत शीर्षकमा हालसम्म खर्च भएको यो रकम सुरुआती लक्ष्यको ४४ दशमलव ६८ प्रतिशत बराबर मात्रै हो।

वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि रु. तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकामा ७२ दशमलव सात प्रतिशत अर्थात् रु दुई खर्ब २३ अर्ब ५० करोड ८८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको बजेट सरकारी ऋणको साँवाब्याज तिर्नमा खर्च हुने गरेको छ।

यो अवधिसम्मको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४ दशमलव १५ प्रतिशत बराबर मात्रै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ। चालु आर्थिक वर्षका लागि सरकारले रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु.नौ खर्ब ४४ अर्ब ५८ करोड ९४ लाख बराबर खर्च भएको छ। सोमध्ये, कर राजस्व शीर्षकमा रु. १३ खर्ब पाँच अर्ब ४९ करोड ९६ लाख बराबर असुली गर्ने सरकारी लक्ष्य रहेकामा हालसम्म ६३ दशमलव पाँच प्रतिशत अर्थात् रु.आठ खर्ब २९ अर्ब तीन करोड ९२ लाख बराबर सङ्कलन भएको छ। 

गैरकर राजस्वतर्फ सरकारले रु एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर उठाउने लक्ष्य राखेकामा हालसम्म वार्षिक लक्ष्यको ७७ प्रतिशत अर्थात् रु। ९० अर्ब एक करोड बराबर मात्रै सङ्कलन भएको देखिन्छ।

चालु आर्थिक वर्षका लागि सरकारले रु. ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेको थियो। हालसम्म उठेको वैदेशिक अनुदानको अवस्था हेर्दा वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु.दुई अर्ब ७५ करोड ८० लाख बराबर मात्रै सङ्कलन भएको देखिन्छ।

मुलुकको अर्थतन्त्रमा सुधार हुन नसक्नुमा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र कमजोर रहेको भन्दै आलोचना भइरहँदा पुँजीगत खर्चको अवस्था कमजोर देखिनु, चालु र वित्तीय व्यवस्था शीर्षकको खर्च बढ्दै जानु, लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्नु तथा वैदेशिक अनुदान उठाउन नसक्नु प्रमुख समस्याका रूपमा देखिएका छन्।

नीति तथा कार्यक्रम आशा जगाउन सक्ने आएको छ : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रतिक्रिया दिएका हुन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष ढकालले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताए । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताए । उनले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको बताए। उनले बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने उल्लेख गर्नुभयो ।

बागमती सरकारमा एमालेको इन्ट्री, अर्थको जिम्मेवारीमा थपलिया

मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा एमालेको इन्ट्री भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश पाएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका छन्।मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन्। 

परराष्ट्रमन्त्री राणा स्वदेश र्फिता

काठमाडौं । भारतको पाँच दिनको भ्रमणमा सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार स्वदेश फिर्ता भएकि छिन् । उपचारका लागि पारिवारि रुपको भ्रमणका रुपमा आइतबार भारतको नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री राणालाई भारत सरकार र प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भन्दा विशेष महत्व दिएको चर्चाकाबीच उनी आज स्वदेश फर्किएकी हुन् । परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी थिइन् ।  भेटका क्रममा नेपाल–भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ।

गण्डकीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

  काठमाडौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आज सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३९ मा हुनेछ ।  

संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन

काठमाडौं ।आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् । अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरु आन्दोलनमा छन् । यसअघि उनीहरुले ब्ल्याक आउट गर्दा संसद बैठक नै प्रभावित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा.वैकुण्ठ अर्याल र संघीय संसदका महासचिप पद्मप्रसाद पाण्डेलाई बोलाएर छलफल गरेका हुन्। सोही बैठकले कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको हो।

१.२७ अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य बढेको छ । आज नेप्से १.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको छ ।  आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।  आज कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले, फ्लोट इन्डेक्स ०.१६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ ।  १३ वटा समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेको छ भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी फाइनन्सको ५८.८७ अंकले बढेको छ भने सबैभन्दा बढी ट्रेडिङ समूह ३८.७८ अंकले घटेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का २५ वटा निर्णय

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । बिहिबार बसेको बैठकले गरेका निर्णय आज शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २५ वटा निर्णय

हङकङद्धारा नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस हारेर व्याटिङ गरेको हङकङले नेपालका लागि ११५ रनको सामान्य चुनौति पेश गरेको छ ।  १७.५ ओभरमा अल आउट हुँदै हङकङले ११४ रन बनाउन सक्यो । अन्तिम ओभरको चौथो र पाँचौ बलमा नेपालका लागि दिपेन्द्रसिंह ऐरिले लगातार दुई विकेट लिए ।  त्यसअघि नेपालका लागि अभिनाश बोहोराले तीन र ललित राजबंशीले २ तथा करण केसीले एक विकेट लिएका थिए ।  खेलको १६.३ ओभरमा अविनाश बोहोराले आफ्नो तेस्रो विकेट लिने क्रममा हङकङका जिसान अलिलाई व्यक्तिगत १४ रनमा दिपेन्द्रसिंह ऐरि मार्फत क्याच गराए । यसअघि खेलको १४.५ ओभरमा अविनाश बोहोराले नै व्यक्तिगत ६ रन बनाएका हङकङका नास्रुल्ला रानालाई ललित राजबंशि मार्फत क्याच गराएका छन् । त्यसअघि खेलको १२.१ ओभरमा नेपालका अविनाश बोहोराले नै यसिम मुर्ताजालाई व्यक्तिगत २ रनमा आउट गराएका थिए ।  खेलको ११.२ ओभरमा ललित राजबंशीले हङकङका आइजज खानलाई एलविडब्लु धरापमा पारेका थिए । निकै किफायती बलिङ गरिरहेका उनले यो ओभरमा मेडन पनि गरेका थिए ।  त्यस्तै खेलको ९.२ ओभरमा ललित राजबंशीले नै आफै क्याच गर्दै बाबर हायतलाई व्यक्तिगत ६ रनमा पेभिलियन फर्काएका थिए ।  यसअघि खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका थिए ।  त्यस्तै दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८/१८ ओभरको हुनेछ । 

तेस्रो त्रैमासकसम्म पुँजीगत खर्च ३२ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासक अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँबराबर खर्च भएको छ । चालु आवका निम्ति सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१।९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँबराबर रहेको छ । चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन भएकामा हालसम्म ५६.४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख रुपैयाँबराबर खर्च भएको छ । यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबर विनियोजन भएकामा ५४.६४ अर्थात् एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ । चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख रुपैयाँबराबर संकलन भएको छ । चालु आवका निम्ति सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँबराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँबराबर अनुदान लिइएको छ । रासस

ललिता निवासको सबै जग्गा सरकारको (फैसला सहित)

२ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ

माओवादी केन्द्रको केन्द्रीय परामर्श बैठक आज र भोलि सुदूरपश्चिममा

काठमाडौं । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु हुँदैछ ।  भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ। परामर्श बैठक कहाँ कहिले ? * बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते । * उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते । * गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते । *सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते । * कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते । * लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते । * तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते । * मधेश प्रदेशका के.स. हरूको बैठक भदौ २२ र २३ गते । * १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते । * ज.व.स. मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भदौ २७ र २८ गते ।  * प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते । * जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

बरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बडाल यसअघि पनि ओली सरकारकै पालामा महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना  बडाल महान्यायाधिवक्ता थिए । सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् । बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध थिए । उनी महान्यायाधिवक्ता नियुक्त हुनुअघि एमालेको कानून विभागका प्रमुख हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई एकजुट गराउन उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेलेका थिए । उनी दुई शीर्ष नेताको सहमति भएको दिन असार १७ गते मध्यरातमा पनि सँगै रहेको बताइएको छ ।  

ताप्लेजुङमा बाढी : बगायो पुल र बाटो, यातायात अवरुद्ध

ताप्लेजुङ। बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षा भइरहेको छ। वर्षातका कारण ताप्लेजुङसहितका पहाडी जिल्लामा बाढी आउन थालेको छ।ताप्जेजुङको फक्ताङ्लुङ-५ तापेथोकस्थित सिसावाखोलामा बाढी आउँदा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ। यो खोलामा आएको बाढीका कारण केही काठे पुल र बाटो पनि बगाएको छ। बाढीका कारण मानवीय क्षति भने भएको छैन। सिसावा खोलामा आएको बाढी तमोर नदीमा मिसिएपछि करिडोरसमेत ढाकिने गरी ड्यामको आकारमा पानी जम्मा भएको छ। तर तमोर नदीबाट पानीको निकास नरोकिएकाले ड्यामको जोखिम भने कम रहेको स्थानीयले बताएका छन्। सिसावा खोलाको बाढीले बनेको ड्यामका कारण तापेथोक बगरस्थित प्रहरी चौकी, स्वास्थ्य चौकी र सर्वसाधारणका घर डुब्ने जोखिम भने छ। बाढीकाा कारण तमोर करिडोर अन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधनको आवतजावत बन्द भएको छ। गएरातिको बाढीले हाइड्रोले निर्माण गर्दै गरेको मोटरेबल पुलको जगसमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

नेपालको उपलब्धिबाट विश्वले सिक्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताएका छन् । महिला भेलालाई बुधवार काठमाडौँमा सम्बोधन गर्दै उनले छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको बताएका हुन् । व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोखे । ‘अवस्था जहाँको त्यही भएको गलत शब्दावलीको प्रयोग भइरहेको छ । व्यवस्था परिवर्तन भयो अवस्था जहाँको त्यही छ भनेका छन् । भर्खर जन्मेका केटाकेटीले के देख्नु । अवस्था कहाँ थियो, कहाँ आइपुग्यो भनेर । कति सङ्घर्ष र अवस्था पार गरेर यहाँ आइपुगेको छ । कुन बलिदानले यहाँ आइपुगेको छ । त्यो देखेको छैन अवस्था उस्ताउस्तै भनेका छन् । कहाँ उस्ताउस्तै छ रु नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्छ । प्रजातन्त्रको लामो इतिहास पार गरेकाले पनि उपलब्धि गरेका छैनन् । उनीहरू सङ्घर्षरत छन्’, ओलीले भने ।  उनले महिलाको प्रतिनिधित्वलाई संविधानमै ३३ प्रतिशत कायम राखिएको बताए । समानताको हकमा नेपालभन्दा विश्वका अन्य मुलुक धेरै पछि रहेको ओलीले जिकिर गरे ।

यस्ता छन् आजको मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आजको बैठकले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस्तै, बैठकले दुई सचिवको बढुवा पनि गरेको छ । बैठकले सचिवमा केदारनाथ शर्मा र बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो । संवत् २०८१ साल वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्द बहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने । २. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने । ३. नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री बैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने । ४. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री केदारनाथ शर्मालाई बढुवा गर्ने । ५. राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने ।