सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ।

आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।

बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

लगातारको वर्षाले देशभर सडक अवरुद्ध, तराई क्षेत्र डुबानमा

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।    सिद्धार्थ राजमार्ग  : वालिङ (स्याङ्जा) अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ। वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ। सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ। सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन्। यात्रु बीच बाटोमै रोकिएका छन्।  बीपी राजमार्ग  : बीपी राजमार्गमा यातायात ठप्प कमलामाई (सिन्धुली) पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । यसैबीच मध्यमहाडी राजमार्गअन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।  हेटौँडा–काठमाडौँ सडकखण्ड: हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो मकवानपुर बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ । यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको वाग्मती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक)मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।  बेँसीसहर–चामे सडक: बेँसीसहर–चामे सडक अवरुद्ध लमजुङ स् पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मंगलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।  घोराही–तुलसीपुर सडक: घोराही–तुलसीपुर सडक सडक अवरुद्ध तुलसीपुर ९दाङ० स् दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।  वीरगन्जको विभिन्न ठाउँ डुबानमा :   बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा पर्सा  गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् । पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ । वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ । नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह  बेलबारी (मोरङ)  : यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे । साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ, उनले भने । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।  कर्णाली राजमार्ग : कर्णाली राजमार्ग अवरुद्व काँक्रेविहार (सुर्खेत) शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए । 

डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएकोभन्दै मन्त्रालयले सचेत गराएको छ ।   मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने डा.बुढाथोकीले विज्ञप्तिमा उल्लेख गरे। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।   पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउन उनको सुझाव छ ।  उनले डेंगु सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएकाले यस अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैले आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता जनाउन अनुरोध गरे। डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सात प्रदेश तथा सबै स्थानीय तहहरूमा बर्षातको समयमा हुन सक्ने  डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको उनले जानकारी दिए।  मन्त्रालयले सङ्घ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन गर्नुका साथै रोगलाई नियन्त्रण गर्न योजना बनाएको उल्लेख गरे। उनका अनुसार डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ।  उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन्। एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वास प्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्न उनको सुझाव छ।

डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ । डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।  डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।

संसद्सामु गरिएका प्रतिबद्धता कार्यान्वयन भइरहेको छ :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताएका छन्।राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताएका हुन्।  “सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्प अनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीहरूबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन लेटर लगायतका सेवा लिन सहज भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “संसद्मा व्यक्त प्रतिबद्धता अनुरूप रसायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ ।” गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने कार्य प्रारम्भ भइसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र  दुग्ध किसानको बाँकी रकम भुक्तानी दिने कार्य सुरु भइसकेको बताए।  सेवा प्रवाहमा नागरिकको गुनासालाई प्रभावकारीरूपमा सम्बोधन गर्न हेलो सरकारलाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूतिका लागि सरकारी सेवामा ‘टाइम कार्ड’ अभ्यासमा ल्याइएको र यसलाई सबै जिल्लामा क्रमशः विस्तार गरिँदै लगिएको बताए। विकास आयोजनाहरूलाई समयमा नै सम्पन गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने कार्य भइरहेको बताए। “नागरिकलाई ६ महिनाभित्रै नागरिकताको सुनिश्चितता गर्ने प्रतिबद्धता कार्यान्वयन भएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाका लागि मस्यौदा तर्जुमा भएको छ ।” सुधार आफैबाट सुरु गर्नुपर्दछ भन्ने मान्यताका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उत्कृष्ट निकायकारूपमा विकास गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तदनुरूप सङ्गठन पुनःसंरचना गरी दरबन्दी कटौति गरिएको बताए।  सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पारे। उनले भने, “यो अवधिमा भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, बाँसबारी जग्गा प्रकरण लगायतका विषयहरूमा सरकारले गम्भीर अनुसन्धान अगाडि बढाएको र नतिजा समेत देखिने क्रममा छ ।” भूमिहीन, सुकुम्बासी, स्ववासी लगायतका समस्या समाधानका लागि निवेदन सङ्कलन र तथ्याङ्क प्रविष्टिलगायत क्षेत्रगत तयारी करिब सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमिसम्बन्धी तथा वनसम्बन्धी ऐनमा केही संशोधन आवश्यक देखिएकोले यी कानुनमा सुधारका लागि संशोधन भइ संसदमा पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताए।  “सामाजिक न्यायका क्षेत्रमा माननीय सांसदहरूले सङ्घीय संसद्मा उठाएका कतिपय विषयको निरुपण गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मिटरब्याज पीडित जनताले न्याय पाएका छन् ।”   शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने विषयमा सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक सम्मानित संसदमा दर्ता भएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा रहेको उल्लेख गरे।  “खासगरी डेंगी, लम्की स्किन, बर्ड फ्लूलगायतका महामारीजन्य प्रकोपको कुशलतापूर्वक व्यवस्थापन गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “बझाङ र जाजरकोटको भूकम्पमा सरकारले उद्धार, राहत र पुनःस्थापनाको कार्यमा उदाहरणीय पहल गरेको विदितै छ । पुनःनिर्माणका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने सुनिश्चित गरिएको छ ।”

युवा नेतृत्वले जनयुद्ध हाँकेको पार्टीमा युवालाई नै आरक्षण दिनुपर्ने अवस्था किन आयो?

विश्वमा ठुल्ठुला इतिहास र विरासत बोकेका संस्कृति र सभ्यता बोकेका राज्य र शासनहरु भत्केका कैयन देख्दै पढ्दै र सुन्दै आएका छौँ। कुनैपनि व्यवस्था सभ्यता र संस्कृति तब ढल्न अनिवार्य हुन्छ जब समय र समाजको गतिभन्दा कैयौं गुणा पछाडि छुट्छ। त्यस्तो अवस्थामा व्यवस्था, सभ्यता र संस्कृति एकातिर हुन्छ भने समय, समाज र सामाजिक मनोविज्ञान अर्कोतिर हुनजान्छ। ती दुईको संघर्षबाट नयाँ व्यवस्था सभ्यता र संस्कृतिको जन्म हुन्छ। यसलाई मार्क्सवादीहरु प्राकृतिक नियम मान्छन्। तर सबैभन्दा वैज्ञानिक र साम्यवादी विचार बोकेका कम्युनिस्टहरु छिटै पतन र धारासयी किन हुन्छन? मार्क्सवादले अवलम्बन गरेका समाज विकास, अर्थतन्त्रको अवधारणा र समाजभित्रको वर्गीय अवस्था र मुक्तिबारे सबैभन्दा उत्कृष्ट ढंगले ब्याख्या गरेको छ। फेरिपनि कम्युनिस्ट आन्दोलन सबैभन्दा बढी विभाजन र पतनमा किन पुग्छ? कम्युनिस्ट पार्टीहरु केन्द्रियता र जनवादका कुरा गर्छन ब्याख्या विष्लेशण गर्छन। तर, व्यवहारमा किन लागु गर्न सक्दैनन्? यी आम रुपमा उठाइने गम्भीर प्रश्न हुन्। मार्क्सवाद र लेनिनवाद सबै कम्युनिस्टहरुको मार्गनिर्देशक सिद्धान्त हो। केही कम्युनिस्ट पार्टीहरुले माओवाद वा विचारधारालाई पनि आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै आएका छन्। तर, मालेमावाद लेखेर टाँसिएका ब्यानर वा बोर्डले मात्र मार्क्सवादको व्यवहारिक कार्यान्वयन भएको मानिँदैन। ती विचारहरुको कार्यान्वयन र समयसापेक्ष विकास अनिवार्य शर्त हो। त्यो गर्न नसक्नुनै कम्युनिस्ट पार्टीहरु कमजोर बन्नुको मुख्य कारण हो। अहिलेको युग डिजटल युग हो। यो डिजिटल युगमा हामीले हुलाकमार्फत वा परेवाको खुट्टामा सन्देश बाँधेर आदानप्रदान गर्न सक्दैनौँ। यो समय सापेक्ष हुँदैन। हिजो मोबाइल आउँदा केवल फोन गर्न र सिमित शब्दको सन्देश पठाउन सकिन्थ्यो। आज सबै काम मोबाइलबाट गर्न सम्भव भएको छ। यो प्रविधिको विकास हो। यदि मोबाइल निर्माताले केवल फोन गर्न र सन्देश पठाउन मात्र सिमित गरेको भए अहिलेको ५जी आउने थिएन होला । त्यसैगरी मार्क्सवाद पनि केवल धर्मग्रन्थ गीता, कुरान वा वाइबल होइन जसमा लेखिएका शब्द अक्षरस पालना गर्नुनै धर्म मानिन्छ। मालेमावाद विज्ञान हो। यसलाई विज्ञान कै रुपमा ग्रहण गर्दै व्यवहारिक कार्यान्वयनमा लैजानु पर्छ। माओवादी नेतृत्वले बुझ्नै पर्ने कुरा के छ भने जनयुद्ध थालनी गर्दा पनि बुढाहरुले होइन युवाले साथ दिएका थिए। तत्कालीन महामन्त्री प्रचण्ड स्वंयम ४१ वर्षका थिए। केन्द्रिय कमिटीमा ९९ प्रतिशत ४० मुनिका थिए। अहिले ४० मुनिकाका लागि आरक्षण दिनुपर्ने अवस्था किन आयो? नेपालमा राजनीतिक परिवर्तनहरु निरन्तर हुँदै आएका छन्। धेरै व्यवस्था ढल्दै आएका छन्। क्रान्ति र आन्दोलनहरु सफल हुँदै आएका छन्। तर तिनै सत्ताप्राप्ति पश्चात ढलेका पनि छन्। नेपालमा पछिल्लो एवं नेपाली इतिहासकै ठुलो र लामो जनयुद्ध (१० वर्ष) भयो। माओवादी शान्ति प्रक्रियामा आए पश्चात् मुलुककै ठुलो र निर्णायक शक्ति पनि बन्यो, तर टिक्न सकेन। त्यसको निर्मम समीक्षा र विष्लेषण गर्न जरुरी छ। कम्युनिस्टहरु ठुल्ठुला क्रान्ति र आन्दोलन गर्न सक्छन्। परिवर्तनको नेतृत्व पनि गर्छन। तर, प्राप्त उपलब्धीलाई संस्थागत गरेर टिकाउन किन सक्दैनन्? यो महत्त्वपूर्ण प्रश्न हो। कम्युनिस्टहरुसँग एजेन्डा हुन्छन्, वर्ग हुन्छ, जनता हुन्छन्। तर, सत्ता प्राप्तिपछि जनतासँग किन टाढिन्छन्? यो अर्को गम्भीर प्रश्न हो। हाम्रै मुलुकमा पनि कम्युनिस्ट आन्दोलन जुन रफ्तारले अगाडि बढ्यो त्योभन्दा द्रुतगतिमा विघटन पनि हुँदै आइरहेको छ। यसको समीक्षा गर्नुपर्ने देखिन्छ। पछिल्लो दुई अढाई दशक यताका घटनाक्रम हेर्ने हो भने जुन गतिमा माओवादी जनयुद्धको विकास भयो र २०५८ - २०६९ सम्म माओवादी जसरी केन्द्रमा रह्यो त्यसपश्चात फेरि ओरालोको यात्रामा लाग्यो। यसको गम्भीर समीक्षा गरेर मात्र माओवादी आन्दोलन अगाडि बढ्न सक्छ। आज मुलुक संस्थागत र संविधानत माओवादीको एजेन्डामा चलिरहेको छ। तर, नेतृत्व माओवादीको छैन। यसै अवस्थामा तत्काल माओवादी फेरि नेतृत्वमा पुग्ने आधार देखिँदैन। त्यसकारण माओवादी आन्दोलनको निर्मम समीक्षा गर्दै बुनियादी ढंगबाट पुनर्गठनको आवश्यकता छ। माओवादीको विचार, राजनीति स्पष्ट छ। तर, समाजवादी कार्यदिशा स्पष्ट छैन। जाने समाजवादमा नै हो। तर, कस्तो समाजवाद? कुन समाजवाद वा हाम्रो समाजवादी मोडेल के हो? यी विषय स्पष्ट पार्न सक्नुपर्छ। परम्परागत ब्याख्याले अब काम गर्दैन। नयाँ ब्याख्या र नयाँ सपनायुक्त समाजवादी मोडेल चाहिन्छ। जसमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकोस्। विगत जनयुद्धको क्रममा युवा, दलित, जनजाति, मधेसी, महिला पिछडिएको समुदाय र समग्र सर्वहारा वर्गले जुन सुनौलो भविष्य देखेका थिए। माओवादी नेतृत्वले उक्त सपना देखाउन सफल भएको थियो। त्यसैको बलमा जनयुद्ध सफल भयो। प्रचण्डले जुन-जुन एजेन्डा भन्नुभयो ति सबै लागु भए। तर, कार्यान्वयन गर्ने तरिका र प्रक्रियामा माओवादी अल्झिदा पार्टीमा टुटफुट सुरु भयो । प्राप्त उपलब्धी संस्थागत हुन् सकेनन्। अब फेरि प्रचण्डले नयाँ समाजवादी कार्यदिशा अगाडि बढाएर अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्दै आर्थिक विकास र आमजनजिविका स्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सार्न सक्नुपर्छ। तबमात्र माओवादी आन्दोलनले फेरि उचाई प्राप्त गर्न सक्छ। माओवादी अब परम्परागत प्रणालीमा होइन, संगठन निर्माणमा नयाँ मोडेल अगाडि सार्न सक्नुपर्छ। अहिलेसम्म माओवादी चुक्दै आएको संगठन निर्माण र सांगठनिक ढाँचामा हो। पछिल्लो वाइसीएलको राष्ट्रिय भेलाबाट पाठ सिक्न जरुरी छ। अहिलेको राजनीतिमा केन्द्रियता वा मेरिटले मात्र काम गर्न सक्दैन। यो प्रतिस्पर्धात्मक राजनीतिमा नयाँ र फ्रेस युवाहरुलाई केन्द्रित गर्दा टिका लगाएर होइन प्रतिस्पर्धा गराएर ल्याउनुपर्छ। तब मात्र समाजवादी यात्रा सहज हुनसक्छ। माओवादी नेतृत्वले बुझ्नै पर्ने कुरा के छ भने जनयुद्ध थालनि गर्दा पनि बुढाहरुले होइन युवाले साथ दिएका थिए। तत्कालीन महामन्त्री प्रचण्ड स्वंयम ४१ वर्षका थिए। केन्द्रिय कमिटीमा ९९ प्रतिशत ४० मुनिका थिए। अहिले ४० मुनिकाका लागि आरक्षण दिनुपर्ने अवस्था किन आयो? यसको समीक्षा गर्ने कि नगर्ने? त्यसकारण बदलिँदो परिस्थितिमा युवा ५० प्रतिशत प्रौढ ३० प्रतिशत र बृद्ध २० प्रतिशतको निति किन लागु नगर्ने? आज कांग्रेसमा १९ वर्षीय युवती वडा सभापति बन्दा मिडियाका प्रमुख समाचार बन्ने अवस्था आउँदा हिजो जनयुद्धमा १२, १३ वर्षका किशोर किशोरीहरु मुक्ति र मृत्यु स्विकार्दै लागेकाहरु के सोचिरहेका होलान? आज कांग्रेसमा १९ वर्षीय युवती वडा सभापति बन्दा मिडियाका प्रमुख समाचार बन्ने अवस्था आउँदा हिजो जनयुद्धमा १२, १३ वर्षका किशोर किशोरीहरु मुक्ति र मृत्यु स्विकार्दै लागेकाहरु के सोचिरहेका होलान? यसको समिक्षा गर्ने कि नगर्ने? माओवादी पार्टी एक नम्बर बन्नैपर्छ। त्यो नबन्दा यो संविधान र व्यवस्था नै टिक्दैन। समाजवाद धेरै परको विषय हो। हामीले एक नम्बर हुन्छौँ भनेर हुँदैन। एक नम्बर हुनलाई एक नम्बरका युवाहरू हामीसँग हुनेकि नहुने? भन्ने प्रश्नले हाम्रो स्थान निर्धारण गर्ने हो। यो कुरा बिर्सनु हुँदैन। पार्टीले पार्टी संरचनामा व्यापक फेरबदल गर्न जरुरी छ। त्यो मेरिट र केन्द्रियताले हुन सक्दैन। त्यसका लागि खुल्ला प्रतिस्पर्धात्मक सांगठनिक प्रणाली अवलम्बन गर्नैपर्छ । यो नोकिया १६०० मोडेलको समय होइन। यो समय एन्ड्रोइड तथा एप्पल ‘५जी’ को हो। अहिले माओवादी आन्दोलन विकास ‘ब्ल्याक एन्ड व्हाइट’ मोडेलले गर्न सक्दैन। यसका लागि ‘५जी’ नै माेडल चाहिन्छ भन्ने कुरा नेतृत्वले बुझ्न जरुरी छ। यदि परम्परागत ढंगले जाने हो भने हामी मशालको भाइ पार्टी हो। हामी पनि मशाल नै बन्ने हो भने जे गर्दा पनि हुन्छ। अध्यक्ष प्रचण्डसँग एक अन्तिम अवसर छ, माओवादी नेपालको मियो बनाउने वा मशालको भाइ। उहाँले गम्भीर रुपले सोच्नुपर्ने बेला आएको छ। अहिले पनि आमनेपाली र युवालाई बिश्वास छ अध्यक्ष प्रचण्डले मशालको भाइ होइन देशको भविष्य र युवाहरुको सपना कोर्न सक्ने पार्टी माओवादीलाई बनाउनु हुनेछ भनेर। त्यसकालागि उहाँले निर्ममतापुर्वक कदम चाल्नु हुनेछ। अब प्रचण्डको एकदशकले नेपालको कम्युनिस्ट आन्दोलनमा दशौंदशकसम्म माओवादी आन्दोलनलाई नेतृत्वमा पुर्‍याउने छ। त्यसका लागि अध्यक्ष प्रचण्डले युवाहरूलाई साथमा लिनुहुनेछ र उहाँ युगौंसम्म नेपाली राजनीतिमा रहिरहनु हुनेछ।

गाजामा इजरायलको निरन्तर आक्रमण, बालबालिकासहित ७३ को मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणहरूले उत्तरी गाजाको बेइत लाहिया शहरमा ७३ जनाको ज्यान गएको छ । जसमा अधिकांश महिला र बालबालिकाहरू रहेको गाजा पट्टीको हमास प्रशासित अधिकारीहरूले बताएका छन् । शनिबार राति भएको बमबारीपछि अरू दर्जनौं घाइते भएका छन् र धेरैजना भग्नावशेषमा थिचिएका छन् । इजरायलले हताहतीको विवरण जाँच गरिरहेको बताइएको छ । शनिबार अबेर इन्डोनेसियन अस्पताल नजिकै इजरायली सेनाको गम्भीर गोलीबारी भएको खबर आएपछि पछिल्ला आक्रमणहरू भएको बिबिसीले जनाएको छ ।  गाजाका स्वास्थ्य अधिकारीहरूले भनेका छन् कि बेइत लाहियामा उद्धार प्रयासहरू सञ्चार र इन्टरनेट सेवाहरू अवरुद्ध भएका कारण अवरुद्ध भएका छन्। हमास प्रशासित सरकारी सञ्चार कार्यालयले बमबारीले भीडभाड भएकाू आवासीय क्षेत्रहरूलाई लक्षित गरेको बताएको छ र ७३ जनाको मृत्यु भएको जनाएको छ । फिलिस्तिनी समाचार एजेन्सी वाफाका अनुसार, यो आक्रमणमा एक पूरा आवासीय कम्प्लेक्स ध्वस्त भएको छ। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

नेपालगञ्ज, १६ भदौ । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो। जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ। बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको रायसुझाव लिने गर्नुभएको छन् । बैठकमा उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् । आइतबार काठमाडौँमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)द्वारा  आयोजित  ३९ औं जगन्नाथ रथयात्रा  महोत्सवको राष्ट्रपति पौडेलले शुभारम्भ गरेका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजा अर्चना र आरती गरेका छन् । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलम्चीमा जलसतहले पार गर्‍यो सतर्कतातह

काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।  जलसतह बढ्दो क्रममा रहेका कारण नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  दाङमा मध्यम वर्षा भएको छ। कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो।  थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने  स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम छ। यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

फेसबुक निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउन मिल्दैन  : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मापसे गर्‍यो यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गरेका छन्।सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनी राज्य कसैको सनकका भरमा नचल्ने बताए। उनले भने, ‘हामीले संविधान निर्माण गर्‍यौँ। सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ।कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ। कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन।’ अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर बिनाकानून राख्ने प्रवृत्ति गलत भएको बताए। उनले भने, ‘मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो।यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ।अहिले कानूनी राज्य भनेको राणा शासन होइन।फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’ गृहमन्त्री लामिछानेको निर्देशनमा मापसे गरेका र सडक नियम मिचेकाहरूलाई कारबाही स्वरूप ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गर्न निर्देशन दिएका थिए।

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताएका छन् । काठमाडौँमा आजदेखि सुरू भएको  ‘अन्तरराष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रमा बासोबास गर्ने मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको भन्दै समस्या न्यूनीकरणमा सहयोगका लागि आग्रहसमेत गरे । “जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ । ती समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्ने छ ।  मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ । यि क्षेत्रलाई समस्याबाट जोगाऔँ”, अधिकारीले भने । मुख्यमन्त्री अधिकारीले जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् तथा अन्य पूर्वाधारमा धेरै क्षति पुगिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिएका छन् । 

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन् २०२४ अप्रिल २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १६७ रुपैयाँ १९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई सोही नगरपालिका ११ सालबारीस्थित होटलमा बुधबार जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

काँग्रेसका कारण संसद् अधिवेशन अन्त्य गर्नुपर्‍यो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद् सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताएका छन्। शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् अधिवेशन अन्त्य र सुरु हुने क्रम जारी रहने बताएका हुन्। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो।“अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” सरकारले विजनेश नै नपाएर अधिवेशन गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “कांग्रेसले चल्न नदिएर ।”  आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २ गते राति १२ बजेबाट संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।