डडेल्धुरामा बस दुर्घटनाः सुत्केरी र नाबालकसहित चारको मृत्यु

डडेल्धुरा । बुधबार मध्यरातमा डडेलधुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा दुई दिनकी सुत्केरी २१ वर्षीया कमला बोरोरा र उनका नाबालक छोरासहित ४ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति १२ बजेर ३० मिनेटमा खस्रेखानमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ३ की कमला र उनका दुई दिनका नाबालक छोराको मृत्यु भएको हो। बैतडी जिल्लाको पुर्चौडी नगरापालिका ३ का चार जनाको मृत्यु भएकाले मृतक सबै एउटै परिवारको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।


दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका ३ कै ४५ वर्षीया जैमती बोहोरा र अन्दाजी २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ।

दुर्घटनास्थलबाट उपचारको लागि डडेलधुरा अस्पतालमा पुर्याउँदा चिकित्सकले चार जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक बमको भनाइ छ। उनका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको हो।
जैमती, सहदेव र कमलाको सम्बन्ध भने खुलिसकेको छैन। एउटै थर र गाउँ मिलेकाले सबै एउटै परिवारको हुनसक्ने अनुमान प्रहरीले गरेको हो।


प्रहरी निरीक्षक बमका अनुसार १२ घाइतेमध्ये दुई जनालाई डडेलधुरा अस्पतालबाट धनगढी रेफर गरिएको छ। पुर्चौडी ३ कै २४ वर्षीय वीरेन्द्र बोहरा र २१ वर्षीय मुकुन्द बोहरालाई उपचारका लागि धनगढी पठाइएको हो। उनीहरुको आँखा, मुख र कम्मरमा गम्भीर चोट लागेको छ। अन्य १० जना घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइराखेको छ।

दुर्घटना लगत्तै उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको टोली परिचालित भएको थियो।

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सकुशल छन् ।

सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ। शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिइन्। उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको हो। लामो समयसम्म मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन।

उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट, २ जेठमा सुनुवाइ हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र  यादवले सर्वोच्च अदालतमा रिट दिएका छन्। उनले आफ्नो पार्टी जसपा नेपाल विभाजन भएपछि नयाँ पार्टी दर्ता  गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन्।  आयोगले दल विभाजन सम्बन्धी कानून निष्क्रिय भएको बेला दल फुटाएर दर्ता गराएको उपेन्द्रको तर्क छ। उनको रिटमा नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाइएको बताइएको छ।  रिटमा भनिएको छ, ‘म निवेदक अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिमा कुल ४०६ सदस्य रही रहेको र विपक्षी आयोगले नै सो सङ्ख्यालाई मान्यता दिएको अवस्थासमेत रहिरहेको अवस्थामा ४०६ सदस्यको ४० प्रतिशतले हुन आउने सदस्य सङ्ख्या अर्थात् १६३ जना केन्द्रीय समितिको अनिवार्य संलग्नता हुनुपर्दछ। जुन नभएको कारणबाट पनि गैर कानुनी रहेको छ।’ सर्वोच्च अदालतमा यो मुद्दा २ जेठमा सुनुवाइ गर्ने बताइएको छ। यसबारे यादवले भने ‘मलाई न्याय मिलेन अदालत गएको छु। अब न्याय पाउँछु भन्ने लागेको छ।’ उनले अदालतको फैसला मान्ने बताए।

यस्ता छन् मन्त्रिपरिषद्का प्रमुख निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक भर्खरै सम्पन्न भएको छ । आज सिंहदरबारमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। संवत् २०८१ वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र  भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने । २. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने । ३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने । ४. भाषा आयोगको रिक्त सदस्य पदमा  सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

डा. शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई बिहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन् ।   राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  शाक्यलाई मन्त्रिपरिषद् बैठकले मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा २०७५ पुस १६ गते शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन्। मनोनीत कोटामा यसअघि एमालेकै विमला राई पौडेल थिइन् । उनको ६ वर्षे कार्यकाल फागुन २० गते पूरा भएको थियो ।

प्रहरीमा प्राविधिक तर्फ २ डीआईजीको दरबन्दी स्वीकृत

काठमाडौं ।मन्त्रिपरिषद्ले नेपाल प्रहरीको प्राविधिक तर्फ दुई जना डीआईजीको दरबन्दी स्वीकृत गरेको छ। बिहिबारको मन्त्रिपरिषद् बैठकले साइबर ब्यूरो र प्रहरी केनाईन महाशाखामा डीआईजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव स्वीकृत गरेको हो। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआइजी राख्न प्रस्ताव गरेको थियो। नेपाल प्रहरी केनाईन महाशाखा हाल वरिष्ठ उपरीक्षक प्रमुख हुने व्यवस्था छ।

तीन अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेको छ । नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा पुगेको छ ।  ३०५ धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ०३६ रुपैयाँमा किनबेच भएको छ । आज तीन उपसमूहको समूहगत सूचक बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  यसदिन गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपालको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।

देशभरि माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको छः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताउनुभयो। आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिंदै उहाँले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताउनुभयो। ‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ’– उहाँले भन्नुभयो– ‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरुले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्। यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ।’ त्यसका लागि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताउनुभयो। अब केही दिन र महिनाका लागि भन्दा पनि निरन्तर चल्ने अभियान बनाउनुपर्ने आवश्यक देखिएको उल्लेख गर्दै उहाँले सल्लाहकार र अग्रजहरुलाई आफूले देखेका र भोगेका अनुभवसहित परापमर्श दिन आग्रह गर्नुभयो। बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ। माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ। अब प्रवास प्रदेशअन्तर्गतको अमेरिका र यूरोप संगठन समितिको बैठक बाँकी रहेको छ। परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ।

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।  उहाँसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’,  पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती,  स्थायी समिति सदस्य गणेशमान पुन,  रुकुम २ का प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती मगर, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिनुभएको थियो ।  नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उहाँसँगै आमा ६१ बर्सिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष  जसबहादुर सिर्पालीको पनि निधन भएको थियो ।

झोलुंगे पुलमा फसेका २ खच्चड मरे, ९ वटाको उद्धार

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार गर्ने क्रममा २ वटा मरेका छन् । अरु ९ वटा खच्चडको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी छ । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर खच्चडलाई कर्णालीमा खसालेर उद्दार गरिएको थियो । पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको हो । स्थानीयका अनुसार फसेका फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदै गरेको बताइएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ ।  पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेहरु सहित विद्यार्थीहरु समेत प्रभावित भएका छन् ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।  बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।  संघीय संसद्का दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित गर्न पाएन ।  काँग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन् । 

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन्।  रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले आज आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।  मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने बताए।  “भ्रष्टाचारसँग जोडिएका विषयको छानवीन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ ।” उनले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक सबैसँग निरन्तर समन्वय, सहयोग र सहकार्य अपरिहार्य रहेको बताए। “कानुनको सफल कार्यान्वयनबाट मात्र राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “संविधानले अङ्गीकार गरेका मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न कानुनहरू निर्माण भएर कार्यान्वयनमा रहेका छन् । ती सबै कानुन कार्यान्वयन गर्दै देशलाई सुशासन र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक छ ।” मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै नीतिगत र कानुनी क्षेत्रमा समेत ठूलो रूपान्तरण आवश्यक हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सङ्कल्प र आवश्यकताबमोजिम सङ्घीय ऐनहरू जारी गर्न सरकार लागिपरेको स्पष्ट पारे । उनले भने, “संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग सघन संवादका माध्यमबाट आवश्यक कानुनहरूको निर्माण एवं संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले आवश्यक तयारी गरिरहेको छ ।” सुशासनको प्रत्याभूतिका निम्ति दण्ड र पुरस्कारको वैज्ञानिक नीति, मापदण्ड र कार्यान्वयन जरूरी पर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले विकास आयोजनाहरूमा राम्रो गर्नेहरूलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिने प्रक्रियामा अगाडि बढेको जानकारी दिए। उनले भने, “विकास आयोजनाहरूमा हाम्रा उपलब्धीहरू के–कस्ता रहे, समस्या र चुनौतीहरू कहाँ–के रहे, त्यसको समाधानका निम्ति नीतिगत, कानुन, संस्थागत, संरचनागत र कार्यशैलीगत क्षेत्रमा के–कस्तो सुधार आवश्यक छ भन्नेबारे गम्भीर छलफल भइरहेको छ ।” सेवा प्रवाहलाई छिटो, छरितो, प्रविधिमैत्री बनाउने, चालु खर्चमा मितव्ययिता कायम गर्ने, तोकिएको काम तोकिएकै समयसीमा र गुणस्तरमा सम्पन्न गर्नेजस्ता मापदण्डहरू कार्यान्यवन गराउन सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षा, न्याय र विकासका तीनवटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरू जरूरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको स्पष्ट पारे। संरचनागत सुधारका क्षेत्रमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नै केही प्रबन्धसहित सरकार अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विकास आयोजनाहरूको प्राथमिकीकरणसहित पर्याप्त साधनस्रोतको व्यवस्था, निर्धारित समयसीमा र गुणस्तरमा आयोजनाहरूले पूर्णता पाउनुपर्ने बताए ।

आज भरतमोहन अधिकारीको पाँचौं स्मृति दिवस मनाइँदै

काठमाडौं, १८ फागुन । आज वामपन्थी नेता दिबंगत भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस मनाइँदैछ । ‘भरतमोहन अधिकारी स्मृति फाउण्डेशन’ ले आज काठमाडौंको चन्द्रागिरिमा एक कार्यक्रम आयोजना गरेको छ । अधिकारी पुत्री एवं फाउण्डेशनकी सदस्य लीमा अधिकारीका अनुसार स्मृति दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका १३ स्थित कंकाली माविका छात्रछात्रालाई सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ । विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरुबाट अंग्रेजी भाषा सिकाईका साथै आत्मनिर्भर बनाउन इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एक महिने तालिम दिन लागिएको लीमाले बताइन् । नेपालको शिक्षा कामसँग नजोडिएका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो जस्तो बनेकाले विद्यालय उमेरमै सिप सिकाउन सकिए युवा पलायन रोक्न सकिने विश्वास आफूहरुले लिएको उनको भनाइ छ। स्मृति दिवसमा नेता आउने, बुबाको योगदानको र व्यक्तित्वको चर्चा गर्ने र गए पछि बिर्सने जस्तो नहोओस् भन्ने आफूहरुको चाहना रहेको अधिकारीले उल्लेख गरिन् । कार्यक्रमको पहिलो दिन रास्वपा नेता रमेश प्रसाईंले ‘नेपालमै सम्भव छ’ शीर्षकमा विद्यार्थीहरूलाई मोटिभेसनल तालिम दिने पनि प्रतिष्ठानले जनाएको छ । विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते काठमाडौंमा निधन भएको थियो । अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातकसम्मको अध्ययन गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । उनले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सीधै रकम पठाउने कामको सुरुआत गरेका थिए । तत्कालीन अर्थमन्त्रीका रुपमा बजेटमार्फत अधिकारीले मासिक एक सय रुपैयाँ वृद्धभत्ता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका थिए ।

सुपमा गहु उत्पादन ११ प्रतिशतले वृद्धि

कैलाली, वैशाख ३१ । सुदूरपश्चिममा गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादन बढेको छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार करिब ११ दशमलव ६ प्रतिशतले उत्पादन बढेको हो। यस वर्ष क्षेत्रभरी १ लाख ४६ हजार १ सय ८९ हेक्टर क्षेत्रमा गहु खेती गरिएकोमा ३ लाख ४ हजार ६ सय ३४ मेट्रिकटन उत्पादन भएको तथ्यांक क्षेत्रीय कृषि निर्देशनालयले संकलन गरेको छ । खडेरीका कारण कृषि उत्पादनमा उल्लेख्य ह्रास आएको गत वर्ष २ लाख ७२ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । गएको वर्ष १ लाख ४५ हजार ९ सय ३४ हेक्टरमा गहुँ खेती गरिएको थियो । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको देखिए पनि समग्र उत्पादकत्व बढ्न नसकेको कृषि प्राविधिकहरुले बताएका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा प्रतिहेक्टर २ मेट्रिकटन, गत आर्थिक वर्ष १ दशमलव ९ र यस वर्ष २ दशमलव १ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा १ लाख ४७ हजार ७२ हेक्टरमा गहुँ खेती गरिएकोमा २ लाख ९४ हजार १ सय ४४ मेटिकटन गहु“ उत्पादन भएको तथ्यांक निर्देशनालयसंग छ । लामो खडेरीका कारण गएको वर्ष उत्पादन ह्वात्तै घट्नु र यस वर्ष मौसम अनुकुल हुनु उत्पादन बढ्नुको मुख्य कारण मानिएको छ । हिउँदमा बालीका लागि आवश्यक छिटपुट वर्षा हुनु, उन्नत जातको बीउको प्रयोग बढ्नु, गहुँ खेतीको क्षेत्र विस्तार हुनु, बीउ, मलको सहज उपलब्धता हुनुजस्ता कारणले उत्पादकत्व केही बढेको क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक डाक्टर नरहरिप्रसाद घिमिरेले बताए । ‘दार्चुला, बैतडी, डोटीलगायत केही जिल्लामा पाकेको बालीमा असिनाले क्षति नगरेको भए उत्पादन अझ बढ्ने थियो ।’ डाक्टर घिमिरेले भने–‘असिनाले क्षति गरे पनि यस वर्ष उत्पादकत्व राम्रो देखिएको छ ।’ उन्नत जातको बीउ प्रयोग गर्नुपर्छ भन्ने सचेतता कृषकमा बढेको निर्देशक घिमिरेले बतँए । यस्तै गहुँ बालीको उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका लागि कैलालीका चार वटा गाविसमा लागू भएको सुपरजोन कार्यक्रमले लक्षित गाविसबाहेक अन्य ठाउँका किसानमा पनि उन्नत जातको बीउ, मलखाद प्रयोगबारे सचेतता बढाउन मद्दत पुगेको उनले बताए । डब्लुके–१२०४, गौतम, धौलागिरीलगायत उन्नत जातको बीउको प्रयोग बढिरहेको उल्लेख गर्दै निर्देशक घिमिरेले एउटै बीउ धेरै वर्षसम्म लगाउने प्रवृति भने बढी देखिएको बताए । निर्देशक घिमिरेका अनुसार सुदूरपश्चिमको तराईमा करिब ७० प्रतिशत, मध्य पहाडमा ४०–४५ प्रतिशत तथा उच्च पहाडी क्षेत्रमा ३० प्रतिशत उन्तन बीउको प्रयोग हुने गरेको छ । गत वर्षको तुलनामा दार्चुलामा ३९, डोटीमा ११ दशमलव २, बझाङमा १० दशमलव ६, डडेल्धुरामा ३५, अछाममा ११, बैतडीमा ५०, बाजुरामा १९, कञ्चनपुरमा ३ दशमलव ५ र कैलालीमा ५ प्रतिशतले उत्पादन बढेको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक सरिता पन्तले जानकारी दिईन । यस वर्ष दार्चुलामा ८ हजार ४ सय ६९ मेट्रिकटन, डोटीमा २२ हजार ६ सय ८७, बझाङमा १४ हजार ८ सय ३६, डडेल्धुरामा २३ हजार ५ सय ५४ तथा अछाममा २३ हजार ३ सय २१ मेट्रिकटन गहुँ उत्पादन भएको प्राविधिक सहायक पन्तले बताइन । यस्तै बैतडीमा ३६ हजार ३ सय ३४ मेट्रिकटन, बाजुरामा ५ हजार ४ सय ७३, कञ्चनपुरमा ७८ हजार १ सय ८ तथा कैलालीमा १ लाख १८ हजार ६३ मेट्रिकटन गहुँ यस वर्ष उत्पादन भएको निर्देशनालयले जनाएको छ । कृषि बाली उत्पादनका दृष्टिले उर्बर मानिने कैलाली सबै भन्दा बढी ३४ हजार ५ सय ३० हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । यस्तै कञ्चनपुरमा ५१ हजार २ सय ५३ हेक्टर, दार्चुलामा ५ हजार ९ सय ६५, डोटीमा १४ हजार २ सय ८०, बझाङमा १० हजार ९ सय ८२ र डडेल्धुरामा ८ हजार ७ सय २४ हेक्टरमा यो वर्ष गहुँ खेती गरिएको थियो । यसैगरी अछाममा १४ हजार ५ सय ८० हेक्टर, बैतडीमा ३० हजार ९ सय र बाजुरामा सबै भन्दा कम ४ हजार ९ सय ७५ हेक्टरमा गहुँ खेती भएको निर्देशनालयले जनाएको छ । अधिकांश भूभागमा सिंचाई सुविधा नपुगेकाले सिंचाईका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको छ । गत वर्ष लामो खडेरीका कारण बाली सुकेको थियो भने खडेरीले खोलानालामा पानी सुकेपछि सिंचाई सुविधा भएका कतिपय क्षेत्रमा पनि किसानले सिंचाई गर्न पाएका थिएनन् । सिंचाई सुविधा विस्तार हुनसके उत्पादकत्व बढ्ने कृषि प्राविधिकहरुको भनाई छ । क्षेत्रीय कृषि निर्देशक डाक्टर घिमिरेले उत्पादकत्व बढाउनका लागि उन्नत जातको बीउ प्रयोग बढाउन कषक पाठशाला, विभिन्न कार्यक्रम आदिमार्फत किसानलाई सचेत गराउने गरिएको बताए । यस्तै कृषि सेवा केन्द्रहरुमार्फत उचित समयमा मलखाद, सिंचाई आदि प्राविधिक ज्ञान, सहयोग पनि प्रदान गर्ने गरिएको बताए । कृषिलाई आधुनिक र व्यवसायिक बनाएर उत्पादकत्व बढाउन सके यस क्षेत्रका लागि गहुँको आयात गर्नु नपर्ने कतिपयको भनाई छ । सुदूरपश्चिममा वर्षेनी लाखौं रुपैया मूल्य बराबरको अन्न आयात हुने गरेको छ ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।