आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।

ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए ।

महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डद्धारा लुम्बिनिमा फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको उद्घाटन गरेका छन् । बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र  लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक बुधबारसाँझको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गरेको उनको सचिवालयले जनाएको छ ।

रवि लामिछानेको खुलासा -'कांग्रेसले डेढ वर्षका लागि प्रधानमन्त्रीमा अफर गरेको थियो'

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ। दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०(४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुनेगरी अगाडि बढाइएको विधेयक फिर्ता भएको हो।  सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिनसक्ने कानुनी व्यवस्था छ। संशोधन विधेयक फिर्ताका लागि पत्र आइसकेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।   यो विधेयक संसद्‌मा दर्ता भइसकेको थियो। यसमा छलफल गर्न पटक(पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन।यो विधेयक बिहीबारको कार्यसूचीमा पनि समावेश गरिएको भए पनि कांग्रेसको अवरोधका कारण बैठक चल्न सकेन। 

होली पर्व अथात् फागु महोत्सवको कथा

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा यस दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।भने भोलि तराईका विभिन्न ठाउमा मनाइने छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व फागुन शुक्ल पूर्णिमाका दिन (आइतबार) परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। होली पर्व मनाइरहँदा होलीको परम्परा र होली पर्व कसरी रह्यो ? आजको यस सन्र्दभमा होली पर्व अथात् फागु महोत्सवको कथाबारे जानकारी लिनु उपयुक्त हुन्छ । होली पर्व अथात् फागु महोत्सवको कथा द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ। त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ। आजको दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन्।

पञ्चकोट जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार बागलुङको पञ्चकोट जाने भएका छन् । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड पञ्चकोट जान लागेका हुन् । पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले प्रधानमन्त्रीलाई स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले कुटीमा विशेष भेटघाट, गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित महायज्ञलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । प्रधानमन्त्री आउने खबरले आफुहरुलाई उत्सिाहित बनाएको बताउँदै प्रधानमन्त्रीको अवलोक भ्रमणले आफ्नो क्षेत्रको महत्व र पर्यटन बढ्ने विश्वास आयोजकले व्यक्त गरे । पञ्चकोटमा विश्व शान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मूख्य धार्मिक गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।  विभिन्न समयमा सञ्चालन भएका महायज्ञ, सरकारी निकाय र भक्तजनको सहयोगबाट हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरको लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् । पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसपटकको ब्रह्माण्डीय महायज्ञबाट संकलन भएको रकमबाट निर्माणाधीन विश्व शान्ति गण्डकी कलशलाई पूर्णता दिने आयोजकले जनाएको छ । सो कलश निर्माण गर्न झण्डै एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

चुटकिला : केटा हाँस्यो भने

यदि कक्षामा केटा हाँस्यो भने शिक्षक: किन दाँत देखाइराछस् । बढी हल्ला गर्ने होइन फेरी क्लासबाट निकालि दिन्छु । . . यदि केटी हाँसी भने शिक्षकः -“के हो खुबै हाँसो लागे जस्तो छ नि। हामी पनि हाँसौं न, कुरो के हो ?”

हातखुट्टा मर्किदा यी उपायहरु जानिराखौं

के महिला पुरुष, के युवायुवती वा बालबालिका, सबैले कुनै न कुनै कालखण्डमा यो भोगाइ बेहोरेका हुन्छन् । सबै व्यक्तिको सबैभन्दा बढी चाहिँ खुट्टा नै मर्किने गर्छ । ‘हाम्रो देशमा सबैभन्दा बढी कुर्कुच्चो मर्कने समस्या पाउने गरिन्छ’, हाड जोर्नी विशेषज्ञ डा.चक्रराज पाण्डे भन्छन्, ‘गोलीगाँठोको जोर्नीमा समस्या अर्थात् खुट्टा मर्काइपछि दोस्रो स्थानमा हातको नाडी मर्किने समस्या भएकाहरू बढी हुन्छन् ।’ हाडलाई केही नोक्सान नभई जोर्नीहरूलाई मिलाएर राखेको हाड जोड्ने तन्तु र स्नायु (लिगामेन्ट) सामान्य रूपमा तन्किनुलाई मर्काइ भनिन्छ । सामान्य रूपमा भन्नुपर्दा, लिगामेन्ट तन्किनु र धेरै चुँडिनुभन्दा पहिलेको अवस्था नै मर्कनु हो । शरीरको कुनै अंग विशेषलाई आवश्यकताभन्दा बढी भार दिएर काम गर्ने प्रयास गर्दा वा हामफाल्दा वा खेल्दासमेत यो समस्या निम्तिन सक्छ । शारीरिक गतिविधिमा अलिकति पनि असावधानीले हात वा खुट्टा मर्किन सक्छ । जब जोर्नीलाई अप्राकृतिक अवस्थामा जान बल लगाइन्छ, त्यतिखेर अंग मर्किन सक्छ । लिगामेन्ट अर्थात् हाड जोड्ने तन्तु डोरी जस्तै हुन्छ, तन्तुहरूको एउटा गुजुल्टो । यसले हाडहरूलाई आपसमा जोडेर तिनलाई स्थायित्व दिने गर्छ । यसै कारण जोर्नीहरूले आफ्नो काम गर्ने गर्छन् । ‘जब कुनै अंगलाई आवश्यकताभन्दा बढी कुनै काम गर्न बल दिइन्छ, त्यो अंग मर्किने सम्भावना बढछ’, नेपाल प्रहरी अस्पताल, महाराजगन्जका हाडजोर्नी शल्य चिकित्सक गोपेशकुमार ठाकुर भन्छन्, ‘युवतीहरूमा हाई हिल र प्लेटफार्म सुले गर्दा गोलीगाँठो मर्किने समस्या हालका दिनमा बढी देखिन थालेको छ ।’ विज्ञहरूका अनुसार, बालबालिका, खेलाडी आदि व्यायाम गर्दा वा खेल्दा यस्तो समस्यासँग जुध्नु सामान्य हो । तर कहिलेकाहीँ सानो हाड भाँचियो भने पनि मर्केजस्तो मात्रै लाग्ने गर्छ । यस्तोमा चाहिँ सचेत हुनुपर्छ । डा। ठाकुर भन्छन्, यस्तोमा मर्केको हो कि हाड भाँच्चिएको हो, थाहा पाउनु अति आवश्यक हुन्छ ।’ मांसपेशीमा हुने पीडा कम गर्नतिर लाग्नुअघि जोर्नी मर्केको हो वा हाड भाँच्चिएको हो, पत्ता लगाउनुपर्छ । पीडा बढी भए वा अचानक भए चिकित्सकसँग परामर्श लिएपछि मात्र उपचार प्रक्रिया थाल्नुपर्छ । कहिलेकाहीँ मर्केको जस्तो लाग्छ, तर त्यहाँ हाड भाँच्चिएको वा लिगामेन्ट चुँडिएको हुन सक्छ । मर्केको जोर्नी पहिलाजस्तै चलाउन सकिन्छ वा सकिँदैन, त्यसमा विशेष ख्याल गर्नुपर्छ । मर्केको जोर्नी चलाउन धेरै गाह्रो भए चिकित्सकको सल्लाह लिनैपर्ने डा। पाण्डे सुझाउँछन् । जोर्नी बांगोटिंगो देखिए, खुस्केको भए पनि यथाशीघ्र हाडजोर्नी विशेषज्ञकहाँ जानुपर्छ । मांसपेशीको पीडा निको पार्ने एउटा उपाय हो पर्याप्त आराम । यो पनि उपचारकै एउटा प्रक्रिया हो । डा। पाण्डेका अनुसार, हात वा खुट्टा मर्किए तातोपानीले सेक्नु हुँदैन । मल्हम वा तेल लगाएर मालिस पनि गर्नुहुन्न । अलिअलि मर्केको छ भने हल्कासँग इलास्टिक ब्यान्डेज लगाउँदा पनि आराम पाइन्छ । मर्केको ठाउँमा बरफ राख्नुपर्छ, बरफलाई प्लास्टिकमा राखेर । बिहान, बेलुका र दिउँसो गरी दिनमा तीन पटक १५ र १५ मिनेट बरफ राख्ने गर्दा सुन्निएको कम हुन्छ, पीडा पनि घट्दै जान्छ । हेल्थ टुडेबाट साभार

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र समस्याहरुबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्ने जनाइएको छ । त्यस्तै बैठकमा मन्त्रालयहरुबाट आएका प्रस्तावमाथि छलफल गरी निर्णय हुने बताइएको छ ।

प्रचण्ड र ओलीबीचको सिंहदरबार छलफलमा मिसिए रवि लामिछाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।

प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरे। उनले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए ।  प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे। चीन र नेपाल बीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि उनीहरूबीच छलफल भएको थियो।  सो अवसरमा सिपिपिसिसीका उपाध्यक्ष बार्टरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाए। भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए भने चिनियाँ तर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए। 

देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज, प्रधानमन्त्री हेटौंडा जाँदै

काठमाडौं । हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज हुँदै छ ।सबस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।  आज बिहान ११ः३० बजे ४०० केभी प्रशारण लाइन समुदघाटन समारोहमा सहभागी हुन् प्रधानमन्त्री प्रचण्ड हेटौँडा जाँदैछन्। हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसन चार्जसमेत भइसकेको छ। देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ। यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । मुलुक भित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने छ।

अवैधरुपमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ ।  विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौँको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।  पक्राउपर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् ।  एसपी रेग्मीले पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए। यसअघि पनि यसैगरी शंकास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो।  पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ।

रवि गृहमन्त्री बनेपछि सहकारी ठगीको छानबिन रोकिएको कांग्रेसको आरोप

काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण राखिएको आरोप लगाएको छ।नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने माग राखे। मङ्गलबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले यादवलाई बोल्न समय दिएका थिए। सोही समयमा यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए। अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो । नेपाली कांग्रेसले विगतदेखि नै तथ्य र प्रमाणसहित यस विषयमा कुरा उठाएको स्मरण गराउँदै उनले संसदीय छानबिन समिति गठन आफूहरूको मुख्य माग रहेको बताए। ‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’  तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले आरोप लगाए ।

शाखा अधिकृतको तयारी कसरी गर्ने ?

पाठ्यक्रमको संक्षिप्त परिचय  लोकसेवा आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदका लागि पाठ्यक्रम तय गरेको छ । जसलाई लिखित परीक्षा (प्रथम चरण र द्वितीय चरण) तथा अन्तिम चरण (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता) गरी दुई भागमा विभाजन गरिएको छ । अप्राविधिक (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद) सेवाका सबै समुहको लागि निर्धारण भएको लिखित परीक्षाका अतिरिक्त नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवाको लागि अतिरिक्त पत्रसमेत थप समावेश गरिएको छ । संयुक्त र एकीकृत परीक्षा प्रणालीको आधारमा माथि उल्लिखित सेवाका सबै समुहको लागि प्रथम, द्वितीय र तृतीय पत्र÷विषयको विषयवस्तु एउटै र अनिवार्य गरेको छ । तर चतुर्थ पत्र ऐच्छिक विषय लोक सेवा आयोगको तालिकामा दिइएका १८ वटा विषयहरुमध्ये कुनै एक विषयमात्र छनौट गर्न पाउने व्यवस्था छ । चतुर्थ पत्र ऐच्छिक विषयमा आधारित छ । लिखित परीक्षा अन्तर्गत पहिलो चरण १०० पूर्णांक र दोश्रो चरण ३०० पूर्णाकंको परीक्षा लिने व्यवस्था छ । प्रथम पत्र अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण वस्तुगत आधारमा गरिन्छ । जसमा सामान्य सचेतना, अँग्रेजी भाषा सम्बन्धि ज्ञान जस्ता विषयवस्तु समेटिएका छन् । छनौटका चरणहरु  सबैभन्दा पहिले– लोकसेवा आयोगको विज्ञापन अनुसार दरखास्त फाराम भरेका परीक्षार्थीहरुको पहिलो चरणको परीक्षा लिइन्छ । पहिलो चरण– उत्तीर्ण गरेका प्रशीक्षार्थीले मात्र दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । दोश्रो चरण– शासन प्रणाली, समसामयिक विषय र ऐच्छिक विषय गरी तीनवटा समावेश गरिएको छ । यसरी दोश्रो चरणको तीनवटैमा सफल भएका प्रशीक्षार्थीहरुमध्ये पहिलो चरण र दोश्रो चरणको अंक जोडी अधिकतम अंक प्राप्त गर्ने प्रशीक्षार्थीहरु अन्तिम चरणको लागि हुने गर्दछ । अन्तिम चरण– सूचना प्रविधि सीप परिक्षण, सामूहिक परीक्षण र व्यक्तिगत अन्तर्वार्ता लगायतका विषय समेटेका छन् । कस्तो व्यक्ति छनौट हुन सक्दछ ? पाठयक्रमलाई सरसर्ती हेर्दा यसले समेटेका विषयवस्तु बृहत देखिन्छ । समेटेका विषयवस्तुले घोकेर लोकसेवा आयोगको परीक्षा उतीर्ण गर्न भन्दा पनि भएका व्यक्तिले उतीर्ण गर्न सक्ने अवस्था रहेको छ । पहिलो पत्रमा समावेश गरिएका विषयवस्तुबाट विशेष गरी सिक्न सक्ने क्षमता र अँग्रेजी भाषाको ज्ञान भएका उम्मेदवार छनौट गर्न मदत पुगेको छ । दोश्रो पत्रमा समावेश गरिएका राज्य र शासन, संविधान र कानून, सार्वजनिक सेवा र सार्वजनिक व्यवस्थापन, श्रोत व्यवस्थापन र योजना तथा तेश्रो पत्रमा समावेश गरिएका सामाजिक, आर्थिक, विकास, वातावरणसंग सम्बद्ध मामिला जस्ता विषयवस्तुले सो विषयमा ज्ञान र अध्ययन समेत भएको विकास प्रशासन संचालन गर्न सक्ने दक्ष, सक्षम, प्रतिस्पर्धी उम्मेदवार छनौट गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी पाठ्यक्रमले समावेश गरेका ऐच्छिक विषयले गर्दा विश्वविधालयका उत्कृष्ट उम्मेदवारलाई निजामती सेवामा आकर्षित गर्ने गरेको छ भने सूचना प्रविधि सीप परिक्षण मार्फत बदलिदो परिवेशमा निजामती सेवालाई आवश्यक पर्ने सूचना प्रविधिमैत्री उम्मेदवार छनौट हुने गरेको छ । यसरी नयाँ पाठ्यक्रमले प्रशासनको आधुनीकिकरण गर्न योग्य व्यक्ति छनौट गर्न सहयोग पुर्याएको छ । तयारीको रणनीति कस्तो हुनुपर्ला  निजामती सेवा नेपालको प्रतिष्ठित सेवा हो । देश र जनताको सेवा गर्न निजामती सेवा एउटा उत्तम विकल्प हुनुका साथै यसमा भविष्यको अवसर पनि रहेको छ । त्यसैले निजामती सेवालाई आफ्नो वृत्ति विकासको आधार वनाउन चाहने व्यक्तिहरुले माथि उल्लेखित पाठ्यक्र्रमलाई ध्यानमा राखेर खदिलो तयारी गर्नु जरुरी छ । परीक्षार्थीहरुले खासगरी निम्न कुरामा ध्यान दिन सके राम्रो हुनेछ  ० नियमित रुपमा अध्ययन गर्ने । ०  पाठ्यक्रमका सबै विषयलाई समान महत्व दिएर अध्ययन गर्ने । ० आफ्नो क्षमतामा विश्वास राखी नआत्तिकन अध्ययनलाई जारी राख्ने । ० घोकेर पढ्नुभन्दा बुझेर पढ्ने जसले गर्दा विश्लेषणात्मक क्षमताको विकास गर्न सकिन्छ । ० बुँदाहरु सम्झिनका लागि साना साना सुत्रहरु बनाएर पढ्ने । ० संभव भएसम्म लोक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिसँगबाट क्ष्मभब लिने । ० संभव भएसम्म छोटो समयका लागि ट्यूसन क्लासमा जाँदा राम्रो हुने । ० समूहमा बस्ने र छलफल गर्ने गरेमा अध्ययन थप प्रभावकारी हुने । ० अन्त्यमा, ओपन म्याइन्डेड भएर धैयर्तापूर्वक अध्ययन गर्न सके अवश्य पनि सफलता हासिल हुन्छ ।