मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउने कार्यदलमा को को छन् ?

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका एक नेताले जानकारी दिए ।

कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

अण्डामा बिचौलियाको जगजगी,अकाशियो मूल्य

काठमाडौं।अन्डाको व्यापारमा विचौलियाको जगजगी चलेका कारण मुल्य अकाशिएको छ। एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका छन् ।  यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ। अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन्। यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन।  केही महिनाअघि अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा निकालेको थियो। फार्म मूल्य ठुलो प्रतिगोटा १६ रुपियाँ ३३ पैसा र मध्यम अन्डाको मूल्य १६ कायम गरेको छ । यो मूल्य लागत मूल्यको नजिक हो तर फाइदा नभएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए। दिनदिनै व्यवसाय घाटामा गएपछि किसान विस्थापित हुँदै गएको उनले बताए।  करिब ७५ प्रतिशत किसान यो व्यवसायबाट विस्थापित भएका छन् । कोही ऋण लिएर व्यवसाय चलाइरहनुभएको छ भने कोही लिएको ऋण तिर्न नसक्दा अन्डा उत्पादन गर्ने व्यवसायबाट नै विस्थापित भएको उनले बताए। अन्डा उत्पादन सङ्घका महासचिव प्रवीण केसीले किसानले लागत मूल्य उठाउन पाएको छ, अझै थोरै मूल्य बढ्यो भने फाइदामा जान सकिने बताए। किसानभन्दा पनि उपभोक्ता निकै मारमा परेको उनले बताए ।उनले भने, “किसानले एउटा अन्डाको लगभग १७ रुपियाँ पाउँछन् तर त्यही अन्डा उपभोक्ताले २० रुपियाँदेखि २२ रुपियाँसम्म तिर्नुपरेको छ बिचौलियाले बिचमा एउटा अन्डामा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म खान्छन् ।” उनले अन्डाको मूल्यका कारण उपभोक्ता मारमा परेको बताए । नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या घटरे दुई हजारमा पुगेको उनले बताए। पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले किसानले उचित मूल्य नपाएका कारण विस्थापित भइरहेको बताए। दानाको कच्चा पदार्थ र औषधीको मूल्यवृद्धि भएको छ, कामदारको ज्याला पनि बढेको छ त्यसले गर्दा लागत खर्च नै धेरै भएको उनले बताए । नेपालमा अहिले अन्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान तथा फार्मको सङ्ख्या १५ रहेका छन् । हाल ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अन्डा दैनिक उत्पादन हुँदै आएको उनले बताए। गोरखापत्रबाट ।

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् । उनले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका छन् ।

जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सिकिएको बताएका छन्।  उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभियक्ति दिन आग्रह गरेका छन्। “जित्न सकिएन, सिक्न सकियो ।त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।  इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए। उनले निर्वाचित भएका नेकपा ९एमाले० का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन्।

६५ जनाको नाममा रहेको ललिता निवासको जग्गा जफत हुने

काठमाडौं । ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए । कार्कीका अनुसार जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन ।

गुप्ताङ्ग वरिपरिका रौँ खौरिनुहुन्छ ? साबधान ! यस्तो समस्या आउन सक्छ

एजेन्सीः तपाई आफ्नो संवेदनशिल अंगहरुको सरसफाईमा कतिको ध्यान दिनुहुन्छ ? सरसफाई गर्ने क्रममा योनी तथा गुप्ताङ्ग वरिपरिका रौँ खौरिनुहुन्छ भने आजै देखि त्यो काम बन्द गर्दिनुस् । गुप्तांग वरिपरिका रौँ खौरिनाले निम्नलिखित समस्या आउनसक्छ : इन्फेक्सन हुने संभावना बढी हुन्छ  धुलोका कण र ब्याक्टेरियाले यौनांगमार्फत शरीरभित्र पसेर शरीरमा इन्फेक्सन निम्त्क्याउन सक्छन् । गुप्तांग वरिपरिका रौँ खौरिनाले यस्ता धुलोका कण र ब्याक्टेरिया सजिलैसँग छिर्ने गर्छन् । मुसा पलाउन सक्छ यौनांग वरिपरिका रौँ खौरिनाले यौनांगमा र वरिपरि मुसा पलाउने जोखिम बढ्छ । यौनांगमा पलाउने मुसाले निम्त्याउने मनोवैज्ञानिक लगायत विभिन्न कारणले यौन जीवनमै असर गर्न सक्छ । चिलाउने, पोल्ने हुन्छ  यौनांग वरिपरिका रौँ खौरिनाले चिलाउने, पोल्ने, रातो डाबर आउनेजस्ता समस्या उत्पन्न हुन्छ । यौनांग वरिपरिको भाग ओसिलो खालको हुन्छ, जहाँ रेजर लगाइरहने गर्नाले घातक ब्याक्टेरियाको संक्रमण हुने जोखिम उच्च रहन्छ । शरीरको तापक्रप नियन्त्रित गर्छ  यौनांग वरिपरिका रौँका जरामा एकखालको ग्रन्थी हुन्छ, जसले रौँमा तैलीय पदार्थ उत्पादन गरिदिन्छ । जब बाहिरको तापक्रम बढ्छ, तब यस्तो तैलीय पदार्थ बाफ बन्न जान्छ र छालाले शीतलता पाउँछ । यो सब क्रियाले शरीरको समग्र तापक्रम नियन्त्रित अवस्थामा राख्छ ।

नाता प्रमाणितमा सर्वोच्चको नयाँ नजिर, डीएनए मात्र प्रमाण होइन

काठमाडौं,  माघ २८ । हाडनाता प्रमाणित गर्ने एक मात्र प्रमाण मानिँदै आएको डीएननए परीक्षण अकाट्य प्रमाण हुन नसक्ने भन्दै सर्वोच्च अदालतले नाता प्रमाणितका लागि अन्य प्रमाण पनि जरुरी हुने फैसला गरेको छ ।नाता र अंश विवाद जोडिएको एउटा मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले डीएनए नमिलेको प्रतिवेदन हुँदाहुँदै बाबु–छोरी प्रमाणित गरी अंश दिलाउने फैसला गरेको छ । जिल्ला हुँदै सर्वोच्चबाट समेत पुनरावलोकन भएको मुद्दामा न्यायाधीशत्रय दीपककुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको पूर्ण इजलासले गत ६ माघमा गरेको फैसलाको पूर्ण पाठ (विवरण) मा अन्य प्रमाणले नाता प्रमाणित भइरहेको अवस्था डीएनए परीक्षण गरिरहन उपयुक्त नहुने भनेको छ । काठमाडौं शान्तिनगरकी लक्ष्मी मिश्र (श्रेष्ठ) ले पति रवि मिश्रलगायतलाई विपक्षी बनाई दायर गरेको अंश र नाता मुद्दामा सर्वोच्च अदालतले दुईबीचको वैवाहिक समारोहका तस्बिर, साक्षी र पत्नी लक्ष्मीको बयान, विद्यालय, नागरिकतालगायतका कागजातमा खुलेको नातालगायतलाई प्रमाणका रूपमा ग्रहण गरी डीएनए परीक्षण नमिलेको अवस्थामा समेत लक्ष्मी र रविबाट जन्मिएको दाबी गरिएकी छोरीलाई ‘छोरी प्रमाणित’ गर्दै लक्ष्मीलाई अंश दिलाइदिने फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतले पनि लक्ष्मी र रविलाई पति–पत्नी प्रमाणित गर्दै उनीहरूबाट जन्मिएकी छोरी प्रमाणित गरी अंश दिलाउने फैसला गरेको थियो । तर, पुनरावेदन अदालतले उनीहरूबाट जन्मिएको दाबी गरिएकी छोरीको डीएनए परीक्षण गराउने आदेश गरेपछि मुद्दाको प्रकृति बदलिएको थियो । अदालतको आदेशानुसार गरिएको परीक्षणले लक्ष्मी र रविबाट जन्मिएकी छोरीको डीएनए टेस्ट रविसँग नमिलेपछि अदालतले अंश दिनुनपर्ने फैसला गरेको थियो । सो फैसलालाई सर्वोच्च अदालतको संयुक्त इजलासले समेत सदर ग¥यो । तर, लक्ष्मीले सो फैसलाविरुद्ध पुनरावलोकन गरेपछि पूर्ण इजलासले व्याख्या गर्दै अन्य प्रमाणले पुष्टि गरिरहेको अवस्थामा डीएनएलाई मात्र अकाट्य प्रमाण मान्न नसकिने फैसला गरेको हो । अदालतको यस आदेशसँगै डीएनए विवादमा न्यायिक टुंगो लागेको छ । यसअघि सर्वोच्च अदालतकै विभिन्न इजलासले डीएनएलाई प्रमाण मान्ने वा नमान्ने विषयमा बेग्लाबेग्लै फैसला गर्दै आएका थिए । यसअघि पनि चितवनकी नीता गुरुङले दायर गरेको नाता कायमसम्बन्धी मुद्दामा नाता कायम गर्दा डीएनएको सट्टा अस्पतालले दिएको जन्मदर्ता प्रमाणमा रहेको बाबुको नाम सर्जिमिन र साक्षीको बयानलाई आधार लिई नाता कायम भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू बलराम श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलासले गरेको सो फैसलालाई आधार मान्दै अदालतको पूर्ण इजलासले यस्तो फैसला गरे पनि सर्वोच्चकै थुप्रै इजलासबाट डीएनए प्रमाणका आधारमा नाता कायम भएका छन् । बाबुआमासँग सन्तानको जैविक सम्बन्ध निर्धारण गर्ने वा मानिसहरूका बीचमा जैविक सम्बन्ध भए नभएको निराकरण गर्ने सबैभन्दा प्रमाणिक, वास्तविक र यथार्थ प्रमाण डीएनए परीक्षणलाई मानिन्छ । तर, अदालतको पूर्ण इजलासले भने नाता प्रमाणित गर्ने क्रममा डीएनए गर्नुपर्ने÷नपर्ने विषय अदालतको तजबिजी अधिकार हुने भन्दै यस्तो परीक्षणअघि अदालतले समाजमा पर्न सक्ने सम्भावित असर र प्रभावलाई नजरअन्दाज गर्न नहुने निष्कर्ष निकालेको छ । ‘मुद्दामा डीएनएको आदेश गर्नुपर्ने हो वा होइन भन्ने कुरा पक्षको अधिकारभन्दा पनि न्याय निरोपण गर्ने प्रयोजनका लागि अदालतको तजबिजी विषय हो,’ फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘यस्तो अधिकारको प्रयोग गर्दा अदालतले समाजमा पर्न सक्ने सम्भावित असर र प्रभावलाई नजरअन्दाज गर्न मिल्दैन ।’ वर्षौंदेखि पालनपोषण गरेको सन्तानलाई अंशबाट वञ्चित गर्न र आफूलाई फाइदा हुन्छ भन्ने उद्देश्यले सन्तानका रूपमा अस्वीकार गरेकै आधारमा अदालतले डीएनए परीक्षणको अनुमति दिन नहुने अदालतको निष्कर्ष छ ।‘अदालतले यथेष्ट औचित्य भएमा मात्र गर्नुपर्ने डीएनए परीक्षणको आदश सहजै गरीदिने हो भने यसले लामो समयदेखि समाज र परिवारमा चलिआएको स्वाभाविक, सामान्य र अपेक्षित व्यवहारमा उथलपुथल र विशृंखलता आई व्यक्तिको सामाजिक पहिचान नै गुम्न सक्ने स्थिति पनि हुन सक्छ,’ फैसलामा भनिएको छ । अदालतले नाता प्रमाणित मुद्दामा औचित्यविना डीएनए परीक्षणको आदेश दिन नमिल्ने समेत फैसलामा उल्लेख छ । ‘‘सानो उमेरदेखि छोरासरह पाली राखी, बढाएको हुर्काएको मानिसलाई निज वयस्क भएपछि आफूले पनि सन्तानका रूपमा नस्विकार्ने र कसको सन्तान हो भनी पहिचान पनि नगरी दिने हो भने यस्ता सन्तान पहिचानविहीन, सहाराविहीन र परित्यक्त पनि हुन जान्छन् । यस्तो अवस्थामा अदालत अग्रसर भई डीएनए परीक्षणको आदेश गर्न मिल्दैन,’ डीएनए परीक्षणलाई कम गराउनुपर्ने तर्क गर्दै फैसलामा भनिएको छ । अदालतका अनुसार अन्य प्रमाणहरूका आधारमा पितृत्वको एकिन गर्न सकिन्छ भने मुद्दाका पक्षले माग गर्दैमा अदालत यस्तो परीक्षण गराउने आदेश दिन बाध्य नहुनेसमेत उल्लेख छ । यो खबर आजको राजधानी दैनिकमा  छ ।

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन्। उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो। केही दिनअघि भीमेश्वरको भीमसेन शिलामा पसिना आएपछि अनिष्ठको चिन्ता गर्दै मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह भएको थियो । भीमसेनलाई पसिना आउनु राष्ट्रप्रमुख वा राष्ट्रमा अनिष्ठ हुने विश्वास रही आएको जानकारी पनि गराइएको थियो । गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो।

भ्रष्टाचारको फाइल खोलेपछि रातारात समीकरण फेरियो, जनताले बुझेका छन् : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् ।  सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको बताएका छन्। उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ? एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’

मुख्यसचिवसहित यी १२ जनालाई बनाइयो प्रतिवादी (पूर्णपाठ)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अख्तियारको निष्कर्ष छ।अख्तियारले अर्यालसहित हाल अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हाल भन्सार विभागका उपनिर्देशक टंक पाण्डेविरुद्ध पनि मुद्दा दायर गरेको छ भने आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाह र आन्तरिक राजस्व विभागका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल अख्तियारले प्रतिवादी बनाएको छ। त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालिन शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतम र सुरक्षण मुद्रण केन्द्रका खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ र प्रिन्ट सेल प्रालिका निर्देशक अर्का एक केशव शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ। अख्तियारद्धारा दायर रिटमा 

एआई नीति ल्याउँदै छौं : मन्त्री शर्मा

काठमाडौं । सरकारले एआई पोलिसी (कृत्रिम बौद्धिकता नीति) ल्याउने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एआई नीति ल्याउने तयारी गरेको बताएकी छन्। संसदमा मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले आगामी आर्थिक वर्षमा एआई नीति ल्याइने बताइन्। त्यसका लागि तीव्ररूपमा काम भइरहेको समेत उनको भनाइ छ।  एआई नीतिको अवधारणा तयारीका लागि स्रोतको व्यवस्थापनदेखि त्यसको प्रयोग र नियमनका विषयमा पनि काम भइरहेको उनले बताइन्।  प्रतिनिधिसभाको मिति २०८१/०२/३२ मा बसेको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्‍न शीर्षकहरू माथिको छलफल अन्तर्गत सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलका क्रममा माननीयहरूले राखेकाे जिज्ञासाको सम्बोधनः  सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक, २०८१ मा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको लागि प्रस्तुत वार्षिक कार्यक्रमहरूका सम्बन्धमा माननीय सदस्यज्यूहरूबाट व्यक्त जिज्ञासा, प्रश्न एवम् छलफलको क्रममा उठाउनु भएका बिषय तथा प्रस्तुत गर्नु भएको रचनात्मक सुझावका लागि म सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा समेत मन्त्रालयले तय गर्ने नीति तथा कार्यक्रमहरूमा यहाँहरूको रचनात्मक सल्लाह र सुझावलाई मार्गदर्शनको रूपमा लिने विश्वास दिलाउँदछु। सम्माननीय सभामुख महोदय, सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रविधिहरूको अधिकतम उपयोग गर्ने, यस क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि उद्योगको विकास गर्ने, सूचना प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गरी विकासको आधार स्तम्भको रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यका साथ आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइएको छ। सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रुपान्तरण एवम् आर्थिक समृद्धि हासिल गर्ने सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको दीर्घकालीन सो‌च रहेको छ। मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट मूलतः आमसञ्‍चार, दूरसञ्‍चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र  मुद्रण गरी ६ वटा क्षेत्रमा आधारित रहेकोछ। आर्थिक वर्ष २०८१/८२ मा यस मन्त्रालय र अन्तर्गतका निकाय समेतको लागि रू. ७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको छ, जुन कुल राष्ट्रिय विनियोजनको ०.३९५ प्रतिशत मात्र हो। जसमध्ये ७७ प्रतिशत चालुतर्फको अनिवार्य दायित्वको रकम हो भने बाँकी रकम पूँजीगत खर्चतर्फ विनियोजन भएको छ। यसको साथै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा नेपाल दूरसञ्‍चार प्राधिकरण, नेपाल दूरसञ्‍चार कम्पनी लिमिटेड, प्रेस काउन्सिल नेपाल, नेपाल टेलिभिजन, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति एवम् चलचित्र विकास वोर्डले नेपाल सरकार र आफ्नै आन्तरिक स्रोत समेत परिचालन गर्दै आएका छन्। सुशासन र विद्युतीय शासन प्रवर्द्धन एवम् सदाचारको परिपालनामा मन्त्रालय प्रतिबद्ध छ। नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका मन्त्रालयसम्बद्ध बिषयहरूको कार्यान्वयन र तोकिएका सूचकहरूको लक्ष्य प्राप्तिको लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरूको एकीकृत कार्ययोजना तयार गरी वि.सं. २०८१ श्रावणदेखि कार्यान्वयनमा ल्याउने तथा नियमित समीक्षा एवम् अनुगमन मूल्याङ्‍कन गरिने व्यहोरा माननीय सदस्यज्यूहरूलाई अवगत गराउँछु। सम्माननीय सभामुख महोदय, अब म माननीय सदस्यज्यूहरूले मन्त्रालयसँग सम्बन्धित बजेट तथा कार्यक्रम माथिको छलफलका क्रममा राख्‍नुभएका जिज्ञासा एवम् उठाउनुभएका विषय सन्दर्भहरूलाई क्षेत्रगत रूपमा सम्बोधन गर्न चाहन्छु। आमसञ्‍चार १.    विचार तथा अभिब्यक्ति स्वतन्त्रता एवम् पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छ। आमसञ्‍चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि विद्यमान ऐन कानुनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्ने कार्य भईरहेको छ। आवश्यकता अनुसार थप नयाँ नीति, ऐन तर्जुमा एवम् संशोधन लगायतका कार्यलाई निरन्तरता दिइनेछ। २.    सञ्‍चार माध्यमलाई स्वतन्त्र, तटस्थ, निष्पक्ष र विश्वसनीय बनाउनको लागि प्रेस काउन्सिल नेपालको पुनर्संरचना गर्ने गरी मिडिया काउन्सिल विधयेक र सार्वजनिक सेवा प्रसारण विधेयक सम्मानित संसदमा छलफलको क्रममा रहेका छन्। राष्ट्रिय आम सञ्चार विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको छ ।     ३.    विज्ञापन ऐन तथा नियमावली अनुसार विज्ञापनको नियमन गर्नुका साथै जनस्वास्थ्य सेवा ऐन, 2075 बमोजिम मदिरा, चुरोट, सूर्ती तथा सूर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि वस्तुको विज्ञापन सामग्री उत्पादन, वितरण तथा प्रचार प्रसार नगर्न नगराउन विज्ञापन बोर्ड क्रियाशील छ। विज्ञापन बजारलाई नियमित र व्यवस्थित गरी व्यावसायिक वातावरण प्रवर्द्धन गर्ने र आम उपभोक्ताको हक हितलाई सुनिश्चित गर्न प्रदेश सरकार र स्थानीय तह तथा सम्वद्ध पक्षसँग समन्वय गरिनेछ।  ४.    लोक कल्याणकारी विज्ञापनको प्रकाशन प्रसारणलाई व्यवस्थित र पारदर्शी वनाउदै लगिनेछ। लोककल्याणकारी विज्ञापन पत्रपत्रिका वर्गीकरण तथा प्रसारण माध्यमको क्षमताको आधारमा विज्ञापन ऐन अनुसार समानुपातिक रूपमा वितरण गरिँदै आइएको छ।  ५.    पत्रकार र पत्रकारिता क्षेत्रसँग सम्बद्ध संस्थाहरूको विकासमा सहयोग पुर्‍याउन सरकारले उपलब्ध गराउने अनुदान तथा आर्थिक सहायताको बाँडफाँट र खर्च प्रक्रिया पारदर्शी बनाउन पत्रकारितासँग सम्बन्धित संघ संस्थाहरूलाई अनुदान तथा आर्थिक सहयोग वितरण सम्बन्धी कार्यविधि, २०८० जारी गरी यसैको आधारमा  मन्त्रालयबाट अनुदान वितरण र अनुगमन गर्ने गरिएको छ।  ६.    नेपालको संविधानले समावेशी समाजको लागि गरेको दिशानिर्देश बमोजिम मन्त्रालयका कार्यक्रम पनि सामाजिक विविधतालाई सम्बोधन गर्ने गरी प्रस्ताव गरिएको छ। आगामी आ.व.मा पत्रकार महिलाको क्षमता अभिवृद्धि र सूचना प्रविधिमा महिला सहभागिता सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएकोछ। आम सञ्‍चार माध्यममा सवै नागरिकको पहुँच स्थापित गर्न गोरखापत्रबाट ४१, रेडियो नेपालबाट २२ र नेपाल टेलिभिजनबाट १४ भाषामा कार्यक्रम प्रकाशन तथा प्रसारण हुँदै आएका छन्।आगामी आ.व.मा थप भाषाहरूमा समेत समाचार सामग्री प्रकाशन र प्रसारण गरिनेछ। सार्वजनिक प्रसारण संस्थाबाट प्रकाशन प्रसारण हुने समग्र कन्टेन्टको गुणस्तर वृद्धि गरी दर्शक तथा श्रोता मैत्री बनाउँदै लगिनेछ। ७.    समाज रूपान्तरणको इतिहास बोकेका पुराना सामग्रीहरू भावी पुस्ताको लागि समेत सुरक्षित गर्नका लागि गोरखापत्र दैनिकको ६८ वर्ष, दि राईजिङ नेपालको ३८ वर्ष, मधुपर्कको ४७ वर्षका सामग्रीहरू डिजिटल अर्काइभ गरी सुरक्षित गरिएको छ। रेडियो नेपालका ५२ हजार ५ सय २१ अडियो कन्टेन्टको अर्काइभिङ गरिसकिएको छ। पुराना श्रव्य दृश्य सामग्रीको डिजिटल अर्काइभ गर्ने कार्यलाई आगामी वर्षमा समेत निरन्तरता दिइनेछ।  ८.    माननीय सदस्यज्यूले रेडियो नेपालका सिर्जना अनधिकृत रूपमा प्रयोग भएको विषय उठान गर्नुभएको सन्दर्भमा यस्ता सिर्जनाको अनधिकृत रूपमा प्रयोग नगर्न नगराउन रेडियो नेपालबाट सार्वजनिक अनुरोध गरिएको छ।बौद्धिक सम्पत्तिको संरक्षण गरी स्रष्टाको सिर्जनाको संरक्षण गर्ने कार्यमा रेडियो नेपाल क्रियाशील रहेको छ। ९.    प्राकृतिक विपदबाट हुन सक्ने क्षतिको न्यूनीकरणको लागि रेडियो नेपालमार्फत विपद पूर्वसूचना प्रणाली र दूरसञ्‍चार सेवा प्रदायक मार्फत एस.एम.एस. द्वारा विपद पूर्वसूचना दिने व्यवस्था मिलाइएको छ।निजी तथा सामुदायिक क्षेत्रका रेडियो, टेलिभिजन र इन्टरनेट सेवा प्रदायकलाई पनि यस प्रकारको पूर्व सूचना दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ।  १०.    विभिन्‍न सञ्‍चार माध्यमहरूलाई तथ्यमा आधारित र आधिकारिक सूचना सामग्री उपलब्ध गराई पत्रकारिता क्षेत्रको विश्वसनीयता वृद्धि गर्न राष्ट्रिय समाचार समितिवाट हाल १८ घण्टा समाचार सेवा प्रवाह भइरहेकोमा आगामी आ.व. देखि चौविसै घण्टा सेवा प्रवाह गरिनेछ। यसवाट सञ्‍चार माध्यम र आम नागरिकमा समयमै तथ्यपरक समाचार संप्रेषण हुनेछ। राष्ट्रिय समाचार समितिबाट भिडियो समाचार सेवाका अतिरिक्त आगामी आ.व.देखि तीन राष्ट्रभाषा (अवधी, मैथिली र नेवारी) मा समाचार सेवा सञ्‍चालन गरिनेछ।  ११.    गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट तथ्यमा आधारित समाचार प्रकाशन प्रशारण एवम् गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू सञ्‍चालन गरिनेछ। १२.    पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालबाट अनुगमन हुने गरेको छ। न्यूनतम पारिश्रमिकको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूचना तथा प्रसारण विभागबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्दा सम्बन्धित सञ्‍चार प्रतिष्ठानले पत्रकारलाई भुक्तानी गरेको मासिक पारिश्रमिकको पे-रोल समेत बुझाउनु पर्ने व्यवस्था रहेको छ।  १३.    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लगिनेछ।सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ। थप व्यवस्थित गर्न विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको छ। नेपालको प्रचलित कानून र सामाजिक सद्भाव एवं सामाजिक वातावरणमाथि प्रतिकूल असर नपार्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मप्रति सरकारको कुनै आग्रह पूर्वाग्रह छैन ।  १४.    सामाजिक सञ्जाल यूट्‍युवको व्यवस्थित अभिलेख, सूचीकरण र नियमित अनुगमन गर्ने कार्य प्रेस काउन्सिल नेपालबाट भैरहेको छ। आमसञ्चार क्षेत्रलाई थप जिम्मेवार र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपाल मार्फत पत्रकार आचार संहिता कार्यान्वयनमा जोड दिइएको छ। आफ्नो बारे मिडियामा प्रकाशित, प्रसारित सामग्री गलत हो भन्ने लागेमा सम्बन्धित व्यक्तिले प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने व्यवस्था रहेको माननीय सदस्यज्यूहरूलाई विदितै छ।  १५.    नागरिकले सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने सूचनाको हकको सुनिश्चितताको लागि सरकार प्रतिवद्ध छ। सूचनाको हक कार्यान्वयन गरी सार्वजनिक निकायहरूलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोग क्रियाशील रहेको छ। दूरसञ्‍चार १६.    माननीय सदस्यज्यूहरूले मोबाइल सेवा र इन्टरनेटको गुणस्तरको सम्बन्धमा उठान गर्नुभएको विषयमा आम नागरिकमा गुणस्तरीय र सुलभ सेवा पुर्‍याउनको लागि कार्य भैरहेको छ। हाल २ वटा मोबाइल सेवा प्रदायक र ११५ वटा इन्टरनेट सेवा प्रदायकले अनुमति लिई सेवा दिईरहेका छन्। बजार प्रतिस्पर्धा र उपभोक्ताको छनौटको आधारमा उपभोक्ताले सेवा लिने गरेका छन्। दूरसञ्चार सेवाको नियमन नेपाल दूरसञ्‍चार प्राधिकरणले गरिरहेको छ ।  १७.    देशभर गुणस्तरीय दूरसञ्‍चार सेवा पुर्‍याउन आवश्यकता अनुसार BTS, eNodeB, मोबाइल टावर, फाइबर टू द होम(FTTH) को विस्तार लगायतका पूर्वाधारहरू थप गर्ने कार्य अघि बढाइएको छ।उच्च गतिको ईन्टरनेट सेवा विस्तारको लागि विगत एक बर्षको अवधिमा ९ जिल्ला थप गरी हालसम्म ७६ जिल्लामा विस्तार भएको FTTH सेवा आगामी आ.व.मा सबै जिल्ला सदरमुकामसम्म पुर्‍याउने र सबै नगरपालिका तथा गाउँपालिकासम्म क्रमशः विस्तार गरिदै लगिनेछ। सेवा नपुगेका, सिग्नल कम देखिएका तथा माग भएका स्थानहरूमा सेवा विस्तार तथा गुणस्तर सुधार गरिनेछ। नेपाल दूरसञ्‍चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्‍चार विकास कोष-RTDF र नेपाल टेलिकमका बार्षिक कार्यक्रम मार्फत दूरसञ्‍चारको पूर्वाधार विकास र सेवाको गुणस्तर वृद्धि गरिनेछ।  १८.    मध्य पहाडी लोकमार्ग र अन्य लोकमार्गहरूमा अप्टिकल फाइबर बिछ्याई सेवाको गुणस्तर वृद्धि गरिनेछ। गण्डकी र लुम्बिनि प्रदेशमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार कार्यको सम्बन्धमा दूरसञ्चार सेवा प्रदायकद्वारा अदालतमा दायर गरिएको मुद्दा खारेज भएको हुँदा ती प्रदेशमा रोकिएको कार्य शीघ्र अगाडि बढाइनेछ।    १९.    दूरसञ्‍चार सेवाको गुणस्तर र पहुँच विस्तारको लागि भूकम्प प्रभावित २ जिल्ला र प्रत्येक प्रदेशका कम्तिमा २ जिल्ला रहनेगरी १९ जिल्लालाई नमूना जिल्ला घोषणा गरी गुणस्तरीय दूरसञ्‍चार सेवा विस्तार गर्ने कार्य भईरहेको छ।  २०.    सूचना तथा सञ्‍चारको पहुँच वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको ब्रोडव्याण्ड इन्टरनेट सेवा सवै स्थानीय तहका सवै वडा केन्द्रमा पुगेको छ। त्यसैगरी ४ हजार ७ सय ४9 स्वास्थ्य केन्द्र र १० हजार ७ सय ८४ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडव्याण्ड इन्टरनेट जडान कार्य सम्पन्‍न भएको छ। नेपाल दूरसञ्‍चार  प्राधिकरणमार्फत आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गरिने छ।विद्यालयमा अनलाइनमार्फत शिक्षण सिकाई हुन सक्नेगरी दूरसञ्‍चार पूर्वाधारको विस्तार गरिनेछ। २१.    नवीनतम प्रविधिको उच्चतम प्रयोग गर्दै देशभर गुणस्तरीय दूरसञ्‍चार सेवा प्रदान गर्न सेवा प्रदायकहरूलाई प्रोत्साहन गरिएको छ। सेवा प्रदायक कम्पनीलाई व्यवसायिक वातावरणको सिर्जना गर्न र स्वच्छ व्यवसाय मार्फत सरकारलाई प्राप्त हुनुपर्ने कर राजस्व, रोयल्टी, दस्तुर समयमै सरकारलाई प्राप्त हुनुपर्ने विषयमा मन्त्रालय स्पष्ट छ। सो को लागि Revenue Assurance System-RAS लागु गराउनका साथै सेवा प्रदायकको नियमन र सुशासन प्रवर्द्धनमा मन्त्रालय क्रियाशील रहेको छ।  २२.    मोवाईल सेवा प्रदायक एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा नेपाल सरकारबाट जाँचबुझ गर्न गठित उच्चस्तरीय समितिको सुझावका आधारमा मन्त्रालयलाई प्राप्त मन्त्रिपरिषद्‍को निर्णयको निर्देशन नेपाल दूरसञ्‍चार प्राधिकरण मार्फत कार्यान्वयन भईरहेको विषय सम्माननीय सभामुखज्यू मार्फत माननीयज्यूहरूलाई अवगत गराउन चाहन्छु।   २३.    सेवा प्रदायकसँगको समन्वयमा दूरसञ्‍चार पूर्वाधारको सहप्रयोगलाई बढाई समग्र सेवाको लागत न्यूनीकरण गर्दै दूरसञ्‍चार सेवाको विकास र विस्तार गरिनेछ।  २४.    २०८१ साउन १ गते देखि लागु हुने गरी रेडियो फ्रिक्वेन्सीको सम्बन्धमा मोबाइल सेवामा पूर्ण रूपमा प्रविधि तटस्थता नीति अवलम्वन गरिएको छ। “दूरसञ्‍चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८०” मा गरिएको यस व्यवस्थाले मोबाइल सेवा प्रदायकहरूबाट नेपाल सरकारलाई वार्षिक रूपमा प्राप्त भैरहेको रेडियो फ्रिक्वेन्सी बापतको शुल्कमा वृद्धि भई हरेक वर्ष थप रू.४० करोड प्राप्त हुन सक्नेछ।  २५.    मन्त्रालयले सुशासन कायम गर्न गरेका प्रयासबाट राज्यकोषमा अर्बौँ राजस्व प्राप्त हुने सुनिश्चितता भएको छ। केही इन्टरनेट सेवा प्रदायकहरूले तिर्नुपर्ने राजस्वको सन्दर्भमा दायर गरेको मुद्दा सम्मानित सर्वोच्च अदालतबाट खारेज भएको हुँदा लामो समयदेखिको राजस्व सम्बन्धी विवाद समाधान भएको छ। मन्त्रालयको कार्यक्षेत्रमा स्वच्छ व्यवसायिक वातावरण सिर्जना गरी यस क्षेत्रमा सुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध छ। यसबाट राजस्व संकलनमा विगत वर्षभन्दा उत्साहजनक वृद्धि भएको छ। २६.    आगामी आर्थिक वर्षमा सबै स्थानीय तहसम्म 4G सेवा विस्तार गरिनेछ। दूरसञ्चार सेवाको गुणस्तर वृद्धिको लागि उपलब्ध साधन स्रोतको प्रभावकारी परिचालन गरिने व्यहोरा सम्माननीय सभामुखज्यूमार्फत अनुरोध गर्न चाहन्छु।  २७.    5G तथा Fixed Wireless Access जस्तो नविनतम प्रविधिहरूको लागि आवश्यक पर्ने फ्रिक्वेन्सी व्याण्ड तथा व्याण्डविथ समेत निर्धारण गरी रेडियो फ्रिक्वेन्सीलाई प्रतिष्पर्धाको आधारमा वितरण गर्ने व्यवस्था गरिएको छ।5G को प्राविधिक परिक्षण सम्पन्‍न भई व्यवसायिक संचालनको लागि अध्ययन भैरहेको छ।  २८.    दूरसञ्‍चार सम्बद्ध कानूनहरू दूरसञ्‍चार ऐन, नियमावली, सूचना प्रविधि नीति आदिलाई समसामयिक एवम् लगानी मैत्री बनाई सूचना प्रविधि दशकको लागि पूर्वाधार तयार गरिनेछ। सूचना प्रविधि २९.    नेपाललाई सूचना प्रविधिको हवको रूपमा विकास गर्ने र आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउन आगामी आ.व.लाई प्रारम्भ बर्षको रूपमा लिई तद् अनुरूपको तयारीको थालनी गरिने छ। सोह्रौँ योजनाले पनि सूचना प्रविधिको क्षेत्रलाई रुपान्तरणकारी क्षेत्रको रूपमा उच्च महत्व दिएकोले सरकारले निजी क्षेत्रसँग साझेदारी गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्दै सेवा निर्यात गर्ने वातावरण निर्माण गर्नेछ। सूचना प्रविधि दशकलाई राष्ट्रिय प्राथमिकता र अभियानका साथ अगाडि बढाउन तीनै तहका सरकार, निजी क्षेत्र र सम्बद्ध व्यवसायी समेतको वृहत सहभागितामा दश वर्षे मार्ग चित्र तयार गरी कार्यान्वयन गरिनेछ। मलाई विश्वास छ, यस अभियानमा सबै निकाय संस्था र क्षेत्रबाट अपनत्वका साथ पूर्ण सहयोग प्राप्त हुनेछ। ३०.    सूचना प्रविधि क्षेत्रबाट अर्वौँ रूपैयाको निर्यात गर्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन्।निजी क्षेत्रसँगको छलफल समेतका आधारमा आगामी दश वर्षमा ३० खर्वको निर्यात र १० लाखको रोजगारी सिर्जना हुनेमा विश्वस्त छौँ।सरकारले अगाडि बढाएको सूचना प्रविधि दशक अभियानबाट निजी क्षेत्र उत्साहित भएको छ। सरकारले उपयुक्त व्यवसायिक वातावरण सिर्जना गरी निजी क्षेत्र एवम् विश्वविद्यालय लगायतका प्राज्ञिक क्षेत्रसँगको सहकार्यमा सूचना प्रविधि सम्बन्धी सेवाको उत्पादन र निर्यातको कार्य प्राथमिकताका साथ सञ्‍चालन गर्नेछ।  ३१.    नीति तथा कार्यक्रम र विनियोजित बजेट विचको तादम्यता नहुँदा नीतिमा लिएका लक्ष्य प्राप्ती हुन सक्दैन कि भनी माननीयज्यूवाट ब्यक्त भएको धारणाको सम्वन्धमा नीति तथा कार्यक्रमले लिएका लक्ष्य प्राप्तीको लागि मन्त्रालयले विनियोजित बजेटको दक्षतापूर्ण उपयोग, मातहतका संस्थाहरूमा रहेको आन्तरिक स्रोतको परिचालन, निजी एवम् व्यवसायिक क्षेत्रसँग साझेदारीमार्फत कार्यक्रम कार्यान्वयन गरी अधिकतम लक्ष्य हासिलको प्रयास गरिनेछ। ३२.    "सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल"को दूरदृष्टि सहित २०७६ सालबाट सुरू भएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको सिलसिलामा ८ क्षेत्रहरू डिजिटल फाउन्डेसन, कृषि, शिक्षा, स्वास्थ्य, उर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार तथा उक्त क्षेत्र अन्तर्गतका ८० वटा पहलहरूमार्फत कार्य भैरहेको छ। यस मन्त्रालयको कार्यक्षेत्र भित्र परेको डिजिटल फाउन्डेसन तयार गर्न डिजिटल नेपाल एक्सलरेशन प्रोजेक्ट समेत सञ्चालनमा रहेको छ। यो नेपाल सरकारको साझा फ्रेमवर्क भएकोले सबै निकायबाट सूचना प्रविधिका क्षेत्रमा भएका पहल र प्रयासलाई यसैमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा फरक फरक निकायबाट कार्यक्रम सञ्चालन गर्दा समन्वयमा कठिनाई उत्पन्न हुन गयो। आगामी वर्ष अन्तरनिकाय समन्वय गरी फ्रेमवर्कको परिमार्जन सहित कार्यान्वयन गरिनेछ।   ३३.    सबै सरकारी निकायको वेबसाइटमा एकरूपता ल्याई सूचनाको पहुँचमा सहजता ल्याउनका साथै वेबसाइट निर्माण तथा सञ्‍चालनको लागत घटाउन एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाई विस्तार गरिनेछ। वेबसाइटमा हुन सक्ने साइबरजन्य सुरक्षा जोखिम न्यूनीकरणको लागि वेब मोनिटरिङ प्रणाली अवलम्वन गरिएको छ।  ३४.    सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, सहज र पारदर्शी बनाई प्रभावकारी सेवा प्रवाहको लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा सबै संघीय मन्त्रालय र लुम्बिनी प्रदेशका सबै मन्त्रालयहरू आबद्ध भएका छन्। आगामी आ.व.मा यस प्रणालीको विस्तार गरी सबै प्रदेश र स्थानीय तहहरू समेत आबद्ध गर्दै लगिनेछ।   ३५.    महत्वपूर्ण संवेदनशील पूर्वाधार निर्माणका लागि नेपाल सरकारले सरकारी जग्गाको उच्चतम उपयोग गर्दै ललितपुरको खुमलटारस्थित नेपाल सरकारको स्वामित्वमा रहेको र रेडियो नेपालले उपयोग गरिरहेको जग्गा प्रचलित कानून अनुसार संरक्षण र सदुपयोग गर्दै  इन्टरनेट एक्सचेन्ज सेन्टर, सूचना प्रविधि ज्ञानपार्क, नेपाल दूरसञ्चार प्राधिकरणको प्रशासनिक भवन र अनुसन्धान केन्द्र निर्माण गरी सेवा प्रवाहलाई व्यवस्थित गर्न खोजिएको हो।इन्टरनेट एक्सचेन्ज सेन्टर स्थापना गरी एकमुष्ट रूपमा ब्याण्ड बिथ आयात गर्दा सस्तो दरमा इन्टरनेट सेवा उपलब्ध हुने र ज्ञान पार्क निर्माण गरी सूचना प्रविधि हबको आधार तयार भई थप रोजगारी सिर्जना हुनेछ। उक्त स्थानमा पूर्ण रूपमा भौतिक संरचना मात्र स्थापना हुने नभई पर्याप्त मात्रामा खुला स्थान समेत रहने व्यहोरा माननीय सदस्यज्यूहरूलाई अवगत गराउँदछु।  ३६.    साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेश तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको छ। चौबीसै घण्टा/सातै दिन साइबर सुरक्षा केन्द्रलाई क्रियाशील बनाउँदै साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाइनेछ। साइबर सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भैरहेको छ। ३७.    विद्युतीय तथ्याङ्कहरूको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षाको सुनिश्चितता गरिनेछ।स्वदेशमा निर्मित सफ्टवेयरको प्रयोगलाई प्रवर्धन गर्ने नीति अबलम्बन गरिएको छ। गुणस्तर सुनिश्चित भएका र सेवा सञ्चालनको लागि सक्षम स्वदेशी सफ्टवेयरहरूको उपयोगको लागि मापदण्ड निर्धारण लगायतका कार्य गरिनेछ। ३८.    हाल चौबीसै घण्टा सञ्‍चालनमा रहेको सरकारी डाटा सेन्टरको पुनःसंरचना गरी एकीकृत डाटा ब्यवस्थापन केन्द्र स्थापना गरिएको छ। डाटा मिररिङ्ग सहितको डिजास्टर रिकभरी सेन्टर सञ्‍चालनमा ल्याइनेछ। नीजि क्षेत्रद्वारा सञ्‍चालित डाटा सेन्टरको मापदण्ड निर्धारण गरी स्तरीकरण र नियमन गरिनेछ।  ३९.    सञ्‍चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका लागि सूचना प्रविधि विषयमा स्नातक, स्नातकोत्तर, एम.फिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने र सार्वजनिक सेवा क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू अघि बढाइने छ। ४०.    सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिको उपयोग गर्न आगामी आ.व.मा कृत्रिम बौद्धिकता नीति AI Policy को अवधारणा तयारीको कार्य भइरहेको छ। साथै नीति तर्जुमाको कार्यलाई तिब्रता दिन आवश्यक स्रोतको व्यवस्था गरिएको छ।AI को प्रयोग, प्रवर्द्धन र नियमनको लागि इकोसिस्टम निर्माण गरिनेछ। तीब्र गतिमा रूपान्तरण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समयसापेक्ष बनाउँदै लैजाने विषय मन्त्रालयको प्राथमिकतामा रहेको छ।  ४१.    आगामी आ.व. मा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्‍चालन गरी सूचना प्रविधिको सुरक्षित प्रयोगको आधार तयार गरिनेछ। सूचना प्रविधिको क्षेत्रमा विद्यमान डिजिटल डिभाईडलाई न्यूनिकरण गर्न विपन्न वर्गसम्म पहुँच वृद्धि गरी यस क्षेत्रलाई सामाजिक-आर्थिक रुपान्तरणको क्षेत्रको रूपमा विकास गरिनेछ। यसका लागि नीतिगत, कानूनी संरचनागत सुधार गरिनेछ। सूचना प्रविधिलाई दैनिक जीवनको आधारको रूपमा विकास गरी सुरक्षित र व्यवस्थित प्रयोग गर्न यस क्षेत्रमा थुप्रै काम गर्नुपर्ने छ। मन्त्रालय यस क्षेत्रमा क्रियाशील रहेको छ र माननीयज्यूहरूको समेत यस कार्यमा सहयोगको अपेक्षा राखेको छु।  हुलाक सेवा ४२.    माननीय सदस्यज्यूहरूले हुलाकको पुनर्संरचना र यसको औचित्यको सम्बन्धमा जिज्ञासा राख्‍नुभएको छ। सञ्‍चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरूमा कटौती आएको छ। सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउनको लागि स्थापित हुलाक संरचना नेपाल सरकारका आधारभूत तहसम्मका सेवा प्रवाहका विन्दुहरूको रूपमा रहेका छन्।  ४३.    नेपाल विश्व हुलाक सङ्गठन र एसिया प्रशान्त हुलाक सङ्गठनको सदस्य रहेकाले नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न समेत हुलाक संरचनाहरूको निरन्तरता आवश्यक छ। हुलाकको संरचनालाई संघीय संरचनासँग तादाम्यता मिलाउन अतिरिक्त हुलाकका संरचना खारेज गरी एक स्थानीय तह एक हुलाक संरचना मार्फत सेवा प्रवाह गर्ने कार्यका लागि नीतिगत निर्णय भै सकेको छ। आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लगिनेछ।  ४४.    सरकारी एवम् कानुनी महत्वका निर्णय, आदेश, दस्तावेज सम्बन्धित व्यक्ति/संस्था समक्ष पुर्‍याउने काम समेत हुलाक सेवाबाट हुँदै आएको छ। नागरिकता, राहदानी, इम्बोस्ड नम्बर प्लेट, राष्ट्रिय परिचयपत्रको ढुवानी हुलाक संरचना मार्फत हुँदै आएको छ। नेपालभित्र हवाई सेवा पुगेका जिल्लामा द्रुत डाँक सेवा (Express Mail Service -EMS) विस्तार भएको छ भने विभिन्‍न ३९ देशसँग वैदेशिक द्रुत डाँक सेवा (EMS) सेवा सञ्‍चालनमा छ।  ४५.    हुलाक सेवाको पुनःसंरचनामार्फत मौजुदा साधनस्रोतको पूर्ण क्षमतामा परिचालन गर्दै नयाँ व्यवसायिक ढाँचामा लैजाने तयारी गरिएको छ। हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा हुलाक सेवा विभाग र Online Shopping Site दराजसँग फिर्ता हुने सामानको ढुवानी सम्बन्धी सम्झौता भएको छ। नेपाल व्यापार एकीकृत रणनीति, २०८० ले समेत हुलाक सेवालाई ई-कमर्शको लागि विकास गर्ने उद्देश्य लिएको तथा प्रस्तुत बजेट वक्तव्यमा पनि हुलाक सेवालाई पुनर्संरचना गरी विद्युतीय व्यापारको हबको रूपमा विकास गर्ने लक्ष्य लिएकोले यसै अनुरूप हुलाक सेवाको पुनर्संरचना एवम् पूर्वाधार विकास गर्दै लगिनेछ। चलचित्र ४६.    समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रोत्साहन र प्रवर्द्धन गर्न बजेट व्यवस्था गरिएको छ। स्टोरी बैंक सम्बन्धी कार्यविधि, २०८१ को व्यवस्था बमोजिम मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गरिँदै आएकोछ। ४७.    नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय चलचित्र बजारका नवीनतम प्रविधि र असल अभ्यास अनुसरण तथा स्वदेशी चलचित्रको अन्तर्राष्ट्रियस्तरमा गैर व्यवसायिक प्रदर्शनहरू चलचित्र महोत्सव, अवार्ड, कार्यशाला, स्क्रिप्ट विकास कार्यशालाको लागि कान्स, बर्लिन, भेनिस, बुसान, सार्क लगायतक प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिताको लागि प्रोत्साहन गरिँदै आएको छ। ४८.    काभ्रेको बनेपामा अत्याधुनिक प्रविधियुक्त छायाङ्कन स्टुडियो निर्माणको कार्य प्रारम्भ भएको छ। नेपालका अन्य सम्भावित छायांकनस्थलको रोष्टर तयार गरिएको छ। यस क्षेत्रमा लगानी गर्न इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीको लागि सहजीकरण गरिएकोछ। दोलखामा चलचित्र नगरी निर्माणको लागि लगानी आकर्षण गर्न लगानी सम्मेलनमा सोकेशिङ गरिएको छ। ४९.चलचित्र क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी मौलिक, गुणस्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणको लागि चलचित्र विकास बोर्डमा पोस्ट प्रोडक्सन ल्याब स्थापनाको कार्य प्रारम्भ भएको छ। बक्स अफिस प्रणालीलाई स्तरोन्नति गर्दै लगिएको छ। मुद्रण ५०.सुरक्षण मुद्रण सम्बन्धी विधेयक दुवै सदनबाट स्वीकृति भैसकेको व्यहोरा माननीय सदस्यज्यूहरूलाई विदितै छ। जसबाट संवेदनशील छपाईको लागि संरचनागत र कानुनी आधार तयार भएको छ। संवेदनशील प्रकृतिका मुद्रणलाई देशभित्रै छपाई हुनेगरी सुरक्षण मुद्रण सम्बन्धी पूर्वाधार निर्माण भईरहेको छ। नागरिकता, हुलाक टिकट, अन्तशुल्क स्टिकर, सवारी धनी प्रमाण पत्र नेपालमै छपाई भईरहेका छन्।  ५१.नेपाल सरकारबाट प्रकाशन हुँदै आएको नेपाल राजपत्र प्रकाशनको संस्थागत ज्ञान प्रदेश सरकार तथा स्थानीय तहमा समेत हस्तान्तरणको लागि सहजीकरण गरिएको छ।  सम्माननीय सभामुख महोदय,  सञ्‍चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा प्रभाव पारेको छ। विश्वमा विकसित नवीनतम प्रविधिको प्रयोग गर्दै समृद्धिको लक्ष्य प्राप्ति गर्नुपर्नेछ। आगामी आर्थिक वर्षमा मन्त्रालयले सञ्‍चालन गर्ने कार्यक्रमहरूमा गुणस्तरको सुनिश्चितता सहित समयमै सम्पन्‍न गरी लक्षित उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। विगतमा जस्तै कार्यक्रम कार्यान्वयनको क्रममा समेत माननीय सदस्यज्यूहरूको साथ र सहयोगको अपेक्षा गरेको छु। यहाँहरूको रचनात्मक सल्लाह र सुझावलाई मन्त्रालयले कार्यसम्पादनको मार्गदर्शनको रूपमा लिने विश्वास दिलाउँदछु।  धन्यवाद।      

पिएनजीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा

काठमाडौं । जारी आईसीसी टी २० विश्वकपमा पपुवा न्यु गिनीलाई सजिलै हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ।  शुक्रबार बिहान वेस्ट इन्डिजमा भएको खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा पुगेको हो ।  अफगानिस्तानले १५ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय १  रन बनाउँदै लक्ष्य पार गरेको हो।  टस हरेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले १९ ओभर ५ बलमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सकेको थियो । जितसँगै अफगानिस्तान समूह ‘सी’बाट सुपर आठमा  पुगेको छ । यसअघि सो समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगिसकेको छ । समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अंकसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा रहेका छन् । 

तनहुँमा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२, बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ। बन्दीपुर–६ का २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हिरा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ६ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये डुबेर उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए। अरू चारजना सकुशल छन्। मृतक दुवैको शव परीक्षणका निम्ति दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए। रासस

चाइना हस्पिटलद्धारा भरतपुरका स्वास्थ्य स्वमसेविकालाई अभिमुखीकरण

भरतपुर । चाइना हस्पिटल प्रालिद्धारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वमसेविकाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ। स्वमसेवीकालाई परम्पारागत चाइनिज उपचार पद्धतिको बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच तथा उपचार पनि गरिएको छ। भरतपुर महानगरको सम्वन्यमा चाइना अस्पतालको १८ जनाको चिकित्सक ६० जना स्वास्थ्यकर्मीले चेकजाच गरेका थिए। स्वास्थ्यकर्मीहरुको टाउको, खुट्टा, ढाड दुखाईको चाइनिज पद्धतिबाट उपचार गरिएको थियो। यो उपचार पद्धतिमा आवश्यक पर्ने आयुर्वेदिक जरीबुटी नेपालमा पनि पाइने भएकाले सहज तरिकाबाट उपचार गर्न सकिने कार्यक्रम संयोजक सजना रिमालले जानकारी दिए। पहिलो चरणमा ६० जनाको स्वास्थ्य परिक्षण गरिएको भएपनि क्रमसँगै २०७ जनालाई समेट्न लागेको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए। विषश गरी शरिरमा हुने हरेक किसिमको दुखाईलाई यो पद्धति उपचार गर्न सकिन्छ। हस्पिटलबाट आएको टोलीले भरतपुर महानगर प्रमुख रेनु दाहालसँग भेट गरेपछि आकस्मिक रुपमा शिविर आयोजना गरेको संयोजक रिमालले जानकारी दिए। भरतपुर महागरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई स्वास्थ्य पर्यटनसँग जोड पनि यो कार्यक्रम गरिएको उनले बताए।  आगामी दिनमा पनि भ्रमण वर्षसँग जोडेर यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उनले बताए।

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी साझेदारी ९पीपीपी० प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप)बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद(अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।  समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक(निजी साझेदारी ९पिपिपी०सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।  नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् । यस सहकार्यले नेपालमा पीपीपीसम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पिपिपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुपकुमार उपाध्यायले बताए ।  “यस समझदारीले पिपिपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यवहारिक ज्ञान हासिल गरेको र विशिष्टीकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ”, उपाध्यायले भने ।  वापका अध्यक्ष जियाद(अलेक्जेण्डर हायकले पीपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पीपीपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए । स्वीजरल्याण्डको जेनेभामा मुख्यालय रहेको वाप पीपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पीपीपी अभ्यासकर्ताहरूको संस्था हो । आजै, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी १० करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । रासस

भिक्षुमाथि लात्ती हान्ने प्रहरीलाई विभागीय कारबाही हुने

काठमाडौं । शनिबार काठमाडौंको भद्रकालीमा राजेन्द्र महतोको नेतृत्वमा भएको प्रदर्शनका क्रममा बौद्ध भिक्षुहरूमाथि लात्ती(मुक्का हान्ने प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। महतो नेतृत्वको समूहले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा भए पछि भिड नियन्त्रणमा खटिएको प्रहरीले प्रदर्शनकारीलाई लखेटेका थिए। लखेट्ने क्रममा भिक्षुको भेषमा रहेका केही व्यक्तिमाथि लात्ती(मुक्का हानिएको थियो।  भिक्षुको भेषमा रहेकाहरूलाई दुर्व्यवहार र कुटपिटमा संलग्न प्रहरीमाथि विभागीय कारबाहीमा गरिने प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।  भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको नक्सालले आज सोमबार जनाएको हो।  प्रहरी प्रधान कार्यालयले त्यस प्रकरणबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता घटना पुनरावृत्ति हुन नदिन गम्भीर रहेको पनि जनाएको छ । शनिबार दिउँसो राजेन्द्र महतो र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले निषेधित क्षेत्र भद्रकालीमा प्रदर्शन गरेको थियो। निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा प्रहरीमाथि प्रदर्शनकारी जाइ लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा एकजना भिक्षुलाई प्रहरीले लात्ती र मुक्का बर्साएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।