संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख हटाउने तयारी, प्रतिपक्षी दलहरुको चर्को बिरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गर्नुभएको हो ।

उहाँले यथार्थ विषय के हो भनेर स्पष्ट पार्न अनुरोध गर्नुयभो । ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो । यो सत्य हो भने माओवादी यसको प्रतिवाद र विरोध गर्दछ’– उहाँले भन्नुभयो । यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गर्नुयभो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताउनुभयो । ‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’– उहाँले भन्नुभयो– ‘संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन सक्दैन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाए पनि लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लडिरहेने उहाँले बताउनुभयो । 

उपत्यका नछाड्न एमाले सांसदहरुलाई निर्देशन
नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देश गरेको छ। पार्टीका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूलाई मोबाइलमा फोन र सन्देशमार्फत उपत्यका नछाड्न आग्रह गर्नुभएको हो । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्‌मा दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो। 

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन्। जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए।  “संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भने, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।” जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए। उनले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए। “पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।” उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए। “असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसङ्गीत, नृत्य, बास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस दिशामा जनसांस्कृतिक महासङ्घ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।” आन्दोलनमा सांस्कृतिक आन्दोलनलाई दृष्टिकोण निर्माणको प्रश्नसँग नजोडी कलासँग मात्र जोड्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले श्रम संस्कृतिलाई उपेक्षा गर्ने मनोविज्ञान र संस्कृति क्रमशः बलशाली हुँदै गएकाले राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई सहायक विषय ठान्ने प्रवृत्तिलाई पराजित गर्न गम्भीर समीक्षा र उपर्युक्त पहल लिन जरूरी रहेको बताए। प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठान लगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत् परिवर्तनका उपलब्धीहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयमिक उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याउने जिम्मेवारी महासङ्घले लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताए। सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गरे। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने बताए।  कीर्तिपुर, बन्दीपुर, बुङ्‍मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्‍चालन गरिने विषय बजेटमा उल्लेख भएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने र राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण गर्ने लगायतका महत्त्वपूर्ण कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश छन् ।   

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना।५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै, बाँकेको खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र  २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् ।इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २९ गते शनिबार सन् २०२४ मे ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आज सोमबार : यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २४ गते सोमबार सन् २०२४ मे ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिइन् । सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरिन् ।उनले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिइन् । सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धि हुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताइन् । ‘डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छु’, मन्त्री शर्माले भनिन् । मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन् । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उनले निजी क्षेत्र पनि उत्साहित भएर अघि आउनुपर्ने बताइन्। ‘सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छु’, मन्त्री शर्माले भनिन्।

देउवा मन्त्री मण्डल इतिहासकै ठूलो, आज चार मन्त्रीको शपथग्रहण

काठमाडौं, भदौ २६ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डल इतिहासकै ठूलो हुने भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएको तीन वितिसक्दा पनि प्रधानमन्त्री देवाले मन्त्री मण्डल विस्तार गर्ने क्रम जारी छ । आज पनि चार सदस्य थप गर्दै देउवाले पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । आज शपथ लिनेमन्त्रीहरु एक राज्यमन्त्रीसहित चार मन्त्रीहरु राप्रपा प्रजातान्त्रिकका तर्फबाट हुन् । अब मन्त्रिपरिषद्मा ५४ मन्त्री हुनेछन् जुन इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद हो । राप्रपा प्रजातान्त्रिकका तर्फबाट संसदीय दलका नेता दीपक बोहोरा, दलका उपनेता बिक्रम पाण्डे र सुनील बहादुर थापाले मन्त्रीको शपथ लिँदैछन् भने रेशम लामाले राज्यमन्त्रीको शपथग्रहण लिँदैछन् । यसअघि २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा उनले ५२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड बनाएका थिए । २२ वर्षपछि सर्वाधिक ठूलो मन्त्रिपरिषदको रेकर्ड देउवा आफैले तोड्न लागेका हुन् । यसभन्दा अघिल्लो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा ५० सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । ०६८ मा डा. बावुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।

एआई बन्नसक्छ शैक्षिक क्रान्तिको सारथी

जिन डिङ विश्व अहिले "चौथो औद्योगिक क्रान्ति" को बीचमा छ र चाँडै "पाँचौं औद्योगिक क्रान्ति" मा प्रवेश गर्न सक्नेछ। यसैबीच, कृत्रिम बुद्धिमत्ताजस्ता उदाउँदो प्रविधिको द्रुत विकासले प्रारम्भिक, माध्यमिकदेखि उच्च शिक्षासम्मको हरेक तहमा शिक्षालाई असर गरिरहेको छ। विश्वभरका देशहरू शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको लचिलो प्रयोग गर्ने तरिका खोज्ने प्रयास गर्दैछन्, ताकि टाढा रहेका क्षेत्रमा रहेका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न र २१औं शताब्दीमा सफल करियर बनाउन आवश्यक सीपहरू सिकाउन सकियोस्। चीनले स्मार्ट लर्निङ प्रणालीहरू विकास गरी र कृत्रिम बुद्धिमत्तामा अनुसन्धान तीव्र पार्दै शिक्षा र तालिममा एआईको प्रयोगमा नेतृत्व लिएको छ। चीनले शिक्षा क्षेत्रमा एआईको वैश्विक प्रयोगलाई अगाडि बढाउन अन्य देशहरूसँग पनि सहकार्य गरिरहेको छ। संयुक्त राष्ट्रसंघको चौथो दिगो विकास लक्ष्य (एसडीजी ४) भनेको "समावेशी र न्यायोचित गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाइको अवसर प्रवर्द्धन गर्ने" हो। यस परिप्रेक्ष्यमा, युनेस्कोजस्ता संस्थाहरूले एआईको प्रयोग गरी एसडीजी ४ हासिल गर्ने तरिकाहरू खोजिरहेका छन्। एआईले व्यक्तिगत विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न र विद्यार्थीहरूलाई एक-एक गरेर ट्युटोरिङ प्रदान गर्न, साथै आजीवन सिकाइलाई सहज बनाउन सक्दछ। एसडीजी ४ प्राप्त गर्नको लागि, एआई प्रयोग गरेर विभिन्न भागमा रहेका विद्यार्थीहरूको लागि अनलाइन कक्षाहरू आयोजना गर्न सकिन्छ, पाठ्यक्रमको सामग्रीलाई विद्यार्थीको इच्छित भाषामा अनुवाद गर्न सकिन्छ, र विद्यार्थीलाई ट्युटरसँग अन्तरक्रिया गर्न अनुमति दिन सकिन्छ। यो टाढा रहेका, विद्यालयदेखि धेरै किलोमिटर टाढा बसोबास गर्ने विद्यार्थीहरूको लागि महत्त्वपूर्ण छ। साथै, शिक्षकहरूले पनि विद्यार्थीहरूका लागि अध्ययन सामग्री तयार गर्न र उनीहरूलाई कुनै पाठ्यक्रम पूरा गर्न मद्दत गर्न एआईको प्रयोग गर्न सक्छन्। एआईले शिक्षकहरूलाई विद्यार्थीहरूका लागि स्रोतहरू अनुकूलन गर्न मद्दत गर्न सक्छ, जसले उनीहरूको प्रदर्शनमा सुधार गर्न सक्छ। बेइजिङ एडभान्स्ड इनोभेसन सेन्टर फर फ्युचर एजुकेसन र बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले "लर्निङ सेल मोडेल" नामक स्वचालित स्रोत उत्पादन संयन्त्र विकास गरेका छन्, जसले विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न अध्ययन सामग्रीहरू र अन्य स्रोतहरू अनुकूलन गर्दछ। अध्ययनहरूले देखाउँछन् कि लर्निङ सेल मोडेलले व्यक्तिगत विद्यार्थीहरूको आवश्यकताहरू अनुरूप स्रोतहरू उत्पादन गर्न सक्छ र तिनीहरूको बौद्धिक बोझ नबढाई विद्यार्थीहरूको प्रदर्शन सुधार गर्न सक्छ। महत्त्वपूर्ण अनुसन्धान क्षेत्रहरूमध्ये एक भनेको भाषा सिकाइलाई सहज बनाउन एआईको सम्भावित प्रयोग हो। भविष्य शिक्षा र बेइजिङ नर्मल युनिभर्सिटीका एडभान्स्ड इनोभेसन सेन्टरका अनुसन्धानकर्ताहरूले विद्यालयहरूमा दोस्रो भाषा रूपमा चिनियाँ भाषा सिकाउनमा "स्वचालित स्रोत उत्पादन प्रणाली" कसरी सहयोगी हुन सक्छ भनेर अध्ययन गरेका छन्। अनुसन्धानकर्ताहरूले विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न एआईको प्रयोग सुनिश्चित गर्न एक मोडेल विकास गरेका छन्, जसले देखाउँछ कि यो शिक्षण सिकाइ मोडेलको प्रयोगले विद्यार्थीहरूको प्रदर्शनमा सुधार ल्याएको छ र उनीहरूको शिक्षण प्रति सकारात्मक धारणा बनाएको छ। यो मोडेल प्रयोग गरेर पढाइएका विद्यार्थीहरूले पाठ्यक्रममा बढी सक्रिय रूपमा भाग लिएका छन्। भाषा शिक्षण मात्र होइन, एआईलाई सबै उमेरका विद्यार्थीहरू र विभिन्न देशहरूका विद्यार्थीहरूलाई विभिन्न संस्कृतिबारे सिकाउन पनि प्रयोग गर्न सकिन्छ। बेइजिङ फरेन स्टडिज युनिभर्सिटी, अथाबास्का युनिभर्सिटी (क्यानाडा), र केही साउदी अरेबियन विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरूले एआई प्रयोग गरेर विद्यार्थीहरूले घरमै बसेर एकअर्काको संस्कृतिबारे सिक्न सक्ने तरिकाहरूको खोजी गर्दै आएका छन्। एआई अनुप्रयोगहरू विद्यार्थी र शिक्षकहरूलाई लाभ हुने गरी डिजाइन गरिनु पर्छ, जसका लागि विद्यार्थीहरू, शिक्षकहरू, र शैक्षिक संस्थाहरूका अन्य कर्मचारीहरूको लागि नीति तयार गर्न आवश्यक छ। उदाहरणका लागि, डाटा गोपनीयता र सुरक्षा, प्रतिलिपि अधिकार, शैक्षिक इमानदारी, पारदर्शिता, र वातावरणीय चिन्ताहरू जस्ता कारकहरूमा नीतिहरू हुनु पर्छ। अथाबास्का विश्वविद्यालय र कमनवेल्थ अफ लर्निङका विशेषज्ञहरूले तयार पारेको हालैको प्रतिवेदनले उच्च शिक्षण संस्थाहरूका विभिन्न तहका कर्मचारीहरूले पालना गर्नुपर्ने १४ एआई नीतिहरूको पहिचान गरेको छ। यद्यपि केही शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई एआई प्रयोग गर्न अनुमति दिन हिचकिचाइरहेका छन् किनभने उनीहरूले एआईले तिनीहरूलाई फाइदा गर्दैन वा यो नैतिक होइन भनेर सोच्छन्। तर एआई यहाँ रहिरहनेछ, र शैक्षिक संस्थाहरूले यसलाई अर्को लाभदायक उपकरणको रूपमा स्वीकार गर्नुपर्नेछ। जब हामी "पाँचौं औद्योगिक क्रान्ति" तर्फ बढ्दैछौं, एआईले स्वतन्त्र रूपमा सोच्न सक्षम हुन सक्छ र मानिसजत्तिकै रचनात्मक बन्न सक्छ, र जेनेरेटिभ एआई अझ बौद्धिक र मानिसजस्तै बौद्धिक कार्यहरू पूरा गर्न सक्षम बन्न सक्छ। मेसिन लर्निङको प्रगतिको साथ, एआई प्रणालीहरूले मौलिक विचारहरू विकास गर्न सुरु गर्न सक्छन्, जसलाई जटिल परिस्थितिहरूमा र सन्दर्भहरूमा लागू गर्न सकिन्छ। एआईले शिक्षामा क्रान्ति ल्याउने सम्भावना राख्दछ यदि यसलाई सही रूपमा डिजाइन र लागू गरियो भने। उच्च शिक्षण संस्थाहरूको चुनौती भनेको एआईको द्रुत विकाससँग कसरी समायोजन गर्ने हो, विशेष गरी भविष्यका पुस्ताहरूलाई शिक्षा प्रदान गर्न उपयुक्त नीतिहरू निर्माण गर्दा। अनुवादः एआई स्रोतः https://www.chinadaily.com.cn/a/202410/19/WS671319a0a310f1265a1c875d.html

आजदेखि लगातार चारदिन वर्षा हुने, यी हुन् उच्च जोखिमका क्षेत्र

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । आज दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि धेरै ठूलो वर्षासम्म हुनसक्ने भएकाले ५६ जिल्ला यसको असर पर्नसक्ने भन्दै सचेत गराएको छ ।

देशभर डेंगीको संक्रमण, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।   जसमध्ये जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।     वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।  झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ ।  यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ। 

संसदका चार समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, पूर्वाधार विकास समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृह मन्त्री रमेश लेखकलाई बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची छ । त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा सिंहदरवार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा छलफल हुने बताइएको छ । पूर्वाधार विकास समितिको बैठक पनि सोही समय ११ बजे सभापतिको सभाकक्षमा सुरु हुनेछ । बैठकमा नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्ड लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

काँग्रेस-एमालेबीचको सहमति कार्यान्वयनमा अविश्वास छ : महामन्त्री थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसएमालेबीच भएको सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्। विगतमा दलहरुबीच सहमति हुने तर कार्यान्वयन नहुने अवस्था रहेको उल्लेख गर्दै उनले अहिले पनि हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा सहमति कार्यान्वयनको विषयमा अविश्वास रहेको बताएका हुन्। ४२ औँ बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहमतिको एउटा बुँदामा स्थिरता दिने भनिए पनि ढुक्क हुने अवस्था चाहिँ नरहेको बताए। नेपालमा सरकारहरू धेरै बदलिएको प्रसङ्ग उल्लेख गर्दै उनले एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार र अर्को चरणमा काँग्रेस सभापतिको नेतृत्वमा सरकार बनाउने सहमति भएपनि त्यसअनुरूप सरकार बन्छ कि बन्दैनन् भन्ने विषयमा सबैको मनमा आशंका रहेको बताए। उनले भने, ‘मनमा सबैको आशंका छ, यहाँ भाषण एउटा कुरा भनेपनि बाहिर निस्केपछि भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै हुन्छ त भन्ने सबैको मनमा छ। सदनमा ताली ठोक्नेको मनमा पनि त्यही छ। किनकि एकले अर्कालाई यति पटक ढाँटिसकेको छ। उसले उसलाई छक्क्याएको छ, अहिले हस्ताक्षर गर्नेहरूको पनि सदनमा बसेर हेर्दा ढाटेको १५र१६ पटक पुग्ने रहेछ। त्यहाँ कसले कसलाई ढाटेको भनेरै झुक्किने रहेछ। यो स्थितिमा हामी मिलेको छौं। यो तहको अविश्वास छ, हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा अविश्वास छ।’ महामन्त्री थापाले एमालेसँग भएको समझदारी काँग्रेसको कारणले तलमाथि नहुने पनि प्रष्ट पारे। काँग्रेसले विगत देखि त्यस कुराको पुष्टि गर्दै आएको उनको भनाई थियो। ‘अहिले एमालेसँग भएको लिखित समझदारी हाम्रो कारणले कहीँ पनि तलमाथि हुँदैन,’ उनले भने, ‘दुई वर्ष ओली नेतृत्वको सरकार चलाउने भनिएको छ, हाम्रो चकचकले कहीँ तलमाथि हुँदैन। यो कुरा हामीले प्रमाणित गर्दै आइरहेका छौं।’ सहमतिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको महामन्त्री थापाको टिप्पणी छ। उनले काँग्रेसएमालेबीच भएको सहमतिका बुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग पनि गरे। उनले भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले उक्त सहमति संसदमा पढेर सुनाउनुपर्ने जिकिर गरे। ‘हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा यति बुँदामा नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ,’ उनले भने, ‘नेपाली काँग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ। ७ बुँदामा सहमति भयो भनेको छ। ७ बुँदा के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु। किनभने हामीले त पढ्यौं त्यसलाई। पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं। पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तीमा त्यसको एउटा मर्यादा राखौं भनेर हामीले सोच्यौं।’

एकीकृत समाजजादीका मन्त्रीले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीहरुले राजीनामा नदिने भएका हुन् ।  नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीलाई आफ्नो पार्टीको विश्वासको मत रहेको भन्दै पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए । एकीकृत समाजवादी सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन सहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि बिहीबार राजीनामा बुझाउने तयारी गरेका छन् । 

कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद : एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवाद भनेर टिप्पणी गरेको छ।समाजवादीका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका हुन्।  सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन् ।  नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेको छ। महाधिवेशनस्थल कमलादीमा नेता खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो।’ खतिवडाले अगाडि भने, ‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्ने छैन। यो अधिकार अमुक दललाई छैन।’

देवघाटमा बाँध बाँधेर पूर्वी चितवन र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन सांसद् पाण्डेको प्रस्ताव

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन प्रस्ताव गरेका छन्। आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उनले तराई तथा पहाडका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिने बताएका हुन्। “बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गरौँ, त्यससँगै देवघाटमा बाँध बाँधेर चितवन हुँदै पूर्वतर्फ र नवलपुर हुँदै पश्चिमतर्फ नहरमार्फत तराई–मधेसका सिँचाइ समस्या हल गर्न सबैको ध्यान जानुपर्छ”, मुख्य सचेतक पाण्डेले भने, “तराई–मधेसका सम्म फाँट, पहाडका टारमा सिँचाइ सुविधा पुर्‍याउनुपर्छ, यसबाट कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धिका साथ रोजगारी सिर्जना हुन्छ।” आगामी आवको बजेटमा सिँचाइतर्फ बजेट वृद्धि भएकामा खुसी व्यक्त गर्दै उहाँले सिँचाइ प्रणालीलाई ‘डिजिटलाइजेसन’ गर्न आग्रह गरे। “खेतीयोग्य भूभागमा बाह्रै महिना सिँचाइको सुविधा पु¥याउनुपर्छ, स्थानीय साधनस्रोतको प्रयोग गरी पानीको पुनर्भरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ”, मुख्य सचेतक पाण्डेले भने। जलवायु परितर्वनका असरलाई ख्याल गरी जलस्रोतका सबै आयोजनाको डिजाइनलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले यसका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन। उनले आयोजनाको डिजाइन स्थान, मौसमअनुसार हुनुपर्ने बताए। पूँजीगत खर्च वृद्धिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले हाइड्रोजन ऊर्जा, पोड–वेलगायत ऊर्जा र यातायातका नयाँ प्रविधिको प्रयोगमा विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

‘श्रमाधान रोजगार मेला’आयोजना गर्दै सरकार

काठमाडौँ ।सरकारले ‘श्रमाधान रोजगार मेला’ सञ्चालन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाईमा देशैभरि आगामी जेठ १७ देखि जेठ ३० गतेदेखि ‘श्रमाधान रोजगार मेला’ सञ्चालन गर्न लागिएको हो । देशका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ । जसबाट नेपाली नागरिकको रोजगारी प्राप्त हुने, श्रमको आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने लक्ष्य राखेको छ।  नेपालका सात वटै प्रदेशमा गर्न लागिएको यो कार्यक्रम प्रत्येक प्रदेशमा दुई दुई दिनको हुनेछ। जेठ १७ र १८ गते विराटनगरबाट सुरु हुने श्रम रोजगार मेला १९ र २० मा जनकपुरमा, २१ र २२ मा पोखरामा, २३ र २४ मा बुटवलमा, २५ र २६ मा सुर्खेतमा, २७ र २८ मा धनगढीमा हुँदै २९ र ३० गते ललितपुरमा आएर सम्पन्न हुनेछ। उक्त कार्यक्रममा विभिन्न बुथहरू राखिनेछन्, जहाँ रोजगारी खोज्ने र रोजगारदाताबिच भेटदेखि श्रम बजारसँग सम्बन्धित विविध छलफल हुनेछ। उक्त कार्यक्रमस्थलमा रोजगारका नयाँ अवसरसँग जोडिन सरकारी र निजी  रोजगार बुथहरू हुनेछन् भने वैदेशिक रोजगारका विभिन्न पक्षहरूबारे थाहा पाउन वैदेशिक रोजगार बोर्ड बुथ हुनेछ।  त्यस्तै श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक बारे जानकारी दिन सामाजिक सुरक्षा कोष बुथ, विभिन्न व्यावसायिक सीपहरू बारे थाहा पाउन व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुथ, सुरक्षित आप्रवासनबारे थाहा पाउन सामी बुथ, विदेशबाट फर्किएका कामदारहरूलाई समाजमा पुनर्स्थापित गर्ने बारे थाहा पाउन रेमी बुथ, उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित लगायत बहुआयामिक कुराहरू थाहा पाउन नेपाल उद्योग वाणिज्य महासङ्घ बुथ, नेपाल उद्योग परिसंघ बुथ, नेपाल च्याम्बर अफ कमर्स बुथ, तालिम तथा रोजगारबीचको अन्तर्य लगायत अन्य विभिन्न कुरा थाहा पाउन नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ बुथ, होटल व्यवसाय सँग सम्बन्धित रोजगारका विभिन्न पक्षहरूबारे थाहा पाउन होटल व्यवसायी महासंघ बुथ, श्रम सम्बन्धी कानुन सजिलो सँग जान्न ल बुथ हुनेछ।  त्यस्तै भविष्यको श्रम बजारका लागि आजैदेखि तयारी गर्न कनेक्ट बुथ, वैदेशिक रोजगारबाट फर्केका नागरिकका सीप र दक्षतालाई उद्यमशीलतासँग जोड्न सेकेन्ड इनिङ्स बुथ, श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्या तत्काल सम्बोधन गर्न कल सेन्टर बुथ, श्रमका बहुआयामिक विषयहरूमा विज्ञहरू सहितको नीति मन्थन, नेटवर्किङ सत्र र अन्य धेरै साइडलाइन इभेन्ट समेत हुने मन्त्रालयले जनाएको छ।  श्रमाधान रोजगार मेलाबारे जानकारी दिँदै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए। आगामी दिनमा मेलालाई जिल्ला, पालिका र वडासम्म पनि पुर्याउने उनको भनाई छ।   ‘श्रमाधान रोजगार मेला’मा के गरिन्छ ? १.रोजगार खोज्नेहरूलाई विभिन्न क्षेत्रका रोजगारदाताहरूसँग भेट गराउँछ र रोजगारीका अवसर सृजना गर्छ।  २.जागिर खोज्नेहरूको सीप अभिवृद्धि र रोजगारी बढाउन कार्यशालाहरू र नेटवर्किङ सत्रहरू सञ्चालन गर्नेछ। ३.उद्यमशीलता र स्वरोजगारको लागि अवसरहरू देखाउने छ। ४.रोजगारी खोज्नेहरूका बिच नवप्रवर्तन र व्यवसाय विकासलाई प्रोत्साहन गर्नेछ। ५.रोजगारी सृजना, उद्योगहरूको प्रवर्द्धन र गतिशील रोजगार बजारलाई बढवा दिएर नेपालको समग्र आर्थिक वृद्धिमा योगदान दिने छ। ६.अन्तरक्रिया, नेटवर्किङ, र सहयोगको लागि प्लेटफर्म सिर्जना गरेर जागिर खोज्नेहरू र रोजगारदाताहरू बिचको खाडललाई कम गर्नेछ।  ८.युवाहरूलाई विभिन्न रोजगारीका अवसरहरू सृजना गरेर व्यावसायिक विकासका लागि स्रोतहरूमा पहुँच प्रदान गरेर सशक्त बनाउने छ। ९.रोजगारीका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका रोजगारदाताहरू र नागरिक समाजका संस्थाहरू बिच साझेदारी र सहकार्यलाई बढवा दिने छ।