मन्त्रिपरिषदको बैठक बस्दै, मुख्य सचिव नियुक्तिबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजे सिंहदरवारमा बस्दैछ । आजको बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले जनाएको छ ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो ।

मुख्य सचिव गड्तौला साउन १० गते मुख्य सचिव नियुक्त हुनुभएको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा.वैकुण्ठ अर्यालको ठाउँमा गड्तौला मुख्यसचिव हुनुभएको थियो । 

मुख्य सचिवमा डा.तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायतको दाबेदारी रहेको छ ।

मध्यरातमा बहुमूल्य बुद्धचित्तको रुख काटिदिए, घरमा सकेट बम राखिदिए

काभ्रे । काभ्रेको रोसीमा गएराति एक समूहले बुद्धचित्तको रुख काटेर घरमा बम राखिदिएको छ । बिस्फोटक पदार्थसहित गएका १५/२० जनाको समूहले रोसी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको एउटा बहुमूल्य बुद्धचित्तको रुख काटेको हो। फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङको घरका ढोका र आँगनमा ४ वटा सकेट बम पनि फेला परेको छ। नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट फेला परेको छ । राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुपख काटेका घरमुली तामाङले बताएकी छन्।  खबर पाएपछि राति अढाईबजे इलाका प्रहरी कार्यालय मंगलटारबाट गएको प्रहरी टोली अहिले पनि घटनास्थलमै रहेको छ। रुख काट्नेहरुको पहिचान भएको छैन र अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

फुटको संघारमा पुगेको नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक टीकापुरमा बस्दै

टीकापुर । सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर फुटको संघारमा पुगेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक टीकापुर बस्दैछ ।  नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ब्यूँतिएको नाउपाको संस्थापक केन्द्रीय समितकोे बैठक टिकापुरमा बस्न लागेको हो । सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा संस्थापक केन्द्रीय समितिको बैठक बस्नेछ । अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ।  पतिपत्नीसमेत रहेका रेशम र रञ्जिताको शक्ति संघर्षका कारण नाउपामा विवाद चुलिएको छ। नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएपनि रेशमको निर्देशनमा सुदूरपश्चिमका केही सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन् । समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन दिएपछि नाउपा फुटको संघारमा पुगेको छ।  पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने बताइएको छ। नाउपामा संस्थापक केन्द्रीय कार्यसमित २१ सदस्यीय छ। टीकापुरमै भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै श्रेष्ठलाई अध्यक्षमा पुनःस्थापित गरेको थियो। बैठकका लागि अध्यक्ष रञ्जिता, नेता रेशम लगायत केन्द्रीय सदस्य टीकापुरमा जमघट भइरहेका छन्।

नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसला विरुद्ध ‘भ्याकेट’मा जान्छौं : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताउनुभएको छ । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले अदालतको आदेश व्यहारिक नदेखिएकाले पुनरावलोकनमा जाने बताउनुभएको हो । ओलीले अदालतको आदेशले जनतालाई असर पार्ने धारणा राख्नुभएको हो । अदालतको अहिलेको आदेशपछि जनतालाई मुआब्जासमेत दिन सक्ने अवस्थामा राज्य नरहेको उहाँको तर्क थियो । अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो ।

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।  अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।   परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति  ऋषि भुसालले जानकारी दिए ।  उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।  डेंगुको मुख्य लक्षण  डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका  डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ । 

‘जनसंख्या वृद्धि नगरे १ शताब्दीमा देशको अस्तित्व नरहन सक्छ’

काठमाडौं । नेपाली शासक र राजनीतिक दलहरु सत्ताको दाउपेचमा अल्झिदै गर्दा देशका जनसंख्या घट्दै गएको र यसबाट देशको भविष्यमा गम्भिर संकट बढ्ने विज्ञहरुले आँकलन गरेका छन् ।  शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा वक्ताहरुले स्रोत, साधन र साध्यको मुख्य आधार जनसंख्यामा आईरहेको कमिले नेपालको अस्तित्व धरापमा पर्ने चिन्ता व्यक्त गरेका हुन् । दर्शन चिन्तक प्रा.डा. गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको १ शताब्दी पछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताए । न्यौपानेले अहिले पनि पञ्चायतकालिन जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयाबहउन्मुख रहेको दाबी गरे । न्यौपानेले डेढ–डेढ अरब जनसंख्या भएको उत्तरी बिशाल चिन र दक्षिणतिरको भारतको बीचमा नेपालको जनसंख्यामा त्यति नै मात्रामा अन्तर हुनु र त्यसलाई सन्तुलन गर्नेतिर तत्काल सोच्नु पर्ने धारणा राखे । देश राजनीतिक अस्थिरताको भूमरीमा फस्नु, राजनीतिक दलहरु सत्ता दाउपेचमा रुमलिनुको परिणाम सदियौंदेखि गरिबी र पछौटेपनामा गज्रनु परेका भन्दै उनले भने, “कुनै कुराको अध्ययन–अनुसन्धान नगरी सबै सधैं हावाको भरमा हरेक कुरा चलाउनुको परिणाम हामी ‘सुनको थालमा भिख मागिरहेका छौं’ ।” देशको जनसंख्या बढ्नुपर्ने अनुपातमा नबढेर हरेक दशकमा घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै, त्यसको मुख्य समस्या जनसंख्या नियन्त्रण नीति भएको उनले बताए । काठमाडौं जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको न्यौपानेको तर्क छ । उनले भने, “कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ, अनि कसरी बन्छ देश ।”  “भक्तपुरमा ३,६३१, सिंगापुरमा ८,४३०, ढाकामा १० हजार प्रति वर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौंको ३ सय ९५ मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?” न्यौपानेले प्रश्न गरे । जनसंख्याविद नवराज थापाले देशको जनसंख्या घटि र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्यूदर घट्न गएको र निर्भर भन्दा काम गर्ने(उत्पादनशील) उमेरका जनसंख्याको हिस्सा बढी भएपनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दर्भाग्य भएको थापाले बताए । थापाले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशील जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति चिन्ता व्यक्त गरे । विश्वमा हाल ८ अरब भन्दा बढी जनसंख्याको बसोबास भइरहँदा, विकसित देशहरुमा १६ प्रतिशत र कम विकसित देशहरुमा ८४ प्रतिशत रहेको छ । त्यसैगरी एसियामा विश्व जनसंख्याको करिब ५९ प्रतिशत जनसंख्या रहेको छ । ती मध्ये भारत र चीनमा सर्बाधिक जनसंख्याको बसोबास छ ।  नेपालमा २ करोड ९२ लाख रहँदा भारत र चीनसँग नेपालको डेढ अरबको अन्तर हुँदा नेपालले सन्तुलित जनसंख्या नीति अबलम्बन गर्नु पर्ने थापा सुझाउँछन् । नेपालले बेलैमा जनसंख्यालाई समान वितरण र ठूला मुलुकहरुसँग त्यसको सन्तुलन कायम नगरे नेपाली नश्लको भविष्यमा खडेरी पर्नुका साथै विदेशीको हातमा देश जानेप्रति सोच्नुपर्नेमा थापाको जोड छ ।

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्यांक–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध  आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।

अवरुद्ध संसद् खुलाउने प्रयास : सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे हुने छलफल अवरुद्ध सदन खुलाउने विषयमा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ।  आजै समय व्यवस्थापन भए सभामुख घिमिरेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसको अवरोधका कारण लगातार संसद् बैठक अवरुद्ध भएपछि सभामुख घिमिरेले सदन खुलाउने पहल गर्दै आएका छन् ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ । 

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त, शपथ आजै लिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२)बमोजिम सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।  बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेस गरेका हुन्। गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेशकाठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो । सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि अर्को पेसी तोकिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्‍चहरूमा महिलाको भूमिका विस्तार गरेका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्‍न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले देशका साथै अन्तर्राष्ट्रिय मञ्‍चहरूमा समेत समेत लैङ्गिक समानता र महिलाको सशक्तिकरणलाई विशेष जोड दिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकानमना सन्देशमा भनिएको छ -'नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ। सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ। महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्‍न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको छ। देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्‍न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको छ।' यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट "Invest in Women: Accelerate Progress" भन्‍ने अन्तर्राष्ट्रिय नारा र “महिलामा लगानी : सभ्य र समुन्‍नत समाजको थालनी” भन्‍ने राष्ट्रिय नारा तय  गरिएको छ।  यस्तो छ शुभकामना सन्देश 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा विधान अधिवेसनका निष्कर्ष र समसामयीक राजनीतिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।