उपत्यका प्रवेश गर्ने नाका अवरुद्ध, यातायात ठप्प

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् । प्रहरीका अनुसार उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पनि पहिरो खसेको छ ।

ढुक्क छैनन् देउवा, भने- 'सहमतिप्रति एमाले दृढ रहने विश्वास लिएको छु'

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नयाँ समिकरण निर्माणको बेला कांग्रेस र एमालेबीचको सहमति कार्यान्वयन हुनेमा ढुक्क देखिएका छैनन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि समर्थन जनाउँदै सम्बोधन गर्दा देउवाले ओली अध्यनशिल र मिहनेती नेता भएको भन्दै प्रशंसा गरे तर सहमति कार्यानव्यन हुनेमा एमाले इमान्दार बन्नेमा संका व्यक्त गरे ।  गत असार १७ गते काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति काँग्रेस दृढ रहेको र दृढ रहिरहने अवगत गराउँदै सभापति देउवाले एमाले पनि यस कुरामा दृढ रहने विश्वास व्यक्त गरेको बताए।   ‘असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति नेपाली काँग्रेस दृढ छ, दृढ रहिरहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘साथै, नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा पूर्ण रूपले विश्वास छु। उनले नेपाली जनताको अपेक्षाअनुसार स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक संरचनाको शीघ्र निर्माण गर्न वर्तमान सरकार गठन भएको उल्लेख गरे। सभापति देउवाले संविधान संशोधन लोकतन्त्रको स्वाभाविक अभ्यास रहेको उल्लेख गर्दै संविधान संशोधन गर्दा सबै दलको सहमति खोजिने स्पष्ट पारे। ‘संविधान कार्यान्वयनको आठ वर्ष पूरा भएको छ। यसको सबल र दुर्बल पक्ष एवम् जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ उनले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। नेपालमा क्रियाशील सबै राजनीतिक दलबीच संवाद र सहमतिबाट संविधान संशोधन गर्न उचित हुन्छ भन्नेमा हामी स्पष्ट छौं।’ सभापति देउवाले संसद्का दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थिरता, तीव्र आर्थिक विकास र समृद्धिका लागि काम गर्ने अपेक्षा गरे। ‘देश विकासका लागि सबैभन्दा पहिलो आवश्यकता स्थिर र मजबुत सरकार निर्माण गर्नु हो। आजको संसद्को संरचनालाई दृष्टिगत गरी स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण भएको छ,’ उनले भने। नयाँ सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो शान्ति कायम गरी गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने सभापति देउवाले विश्वास व्यक्त गरे। यसबाट राजस्व संकलनमा थप वृद्धि भई विकास निर्माणका जनआकांक्षा पूरा गर्न सकिने उनको भनाइ थियो। भ्रष्ट्राचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले विधिको शासन र संविधानको पूर्ण कार्यान्वयनका लागि कानुनको निर्माण, लगानीको वातावरण बनाएर अहिले देखिएको आर्थिक शिथिलता चिरेर आन्तरिक उत्पादन बढाउने तथा रोजगारीका अवसर सिर्जना गरिने बताए। ‘प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरू पनि योग्य र सक्षम हुनुहुन्छ,’ सभापति देउवाले भने, ‘ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु। राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउन गठन भएको वर्तमान सरकार सफल हुने विश्वास लिएको छु।’ सात बुँदे सहमतिमा आगामी दुई वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने उल्लेख छ। काँग्रेसले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने उल्लेख गर्दै उनले अन्य दललाई पनि प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा मतदान गर्न अपिल गरे।  

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे। उनले संसद्मा विचाराधिन रहेको सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए।  सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पर्‍याउन प्रधानमन्त्री प्रचण्डले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो।  बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ।  हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।  पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ । 

गुल्मी बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा  उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेर दुर्घटना भएको हो ।

नेपाललाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने लुम्बिनी स‌ङ्कल्पमा हस्ताक्षर

काठमाडौं । नेपाललाई नेपाललाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने लुम्बिनी स‌ङ्कल्प गरीएको छ ।विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रममा सो संकल्प गरीएको हो ।संकल्पमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष सद्‌‌गुरुदेव देवी शर्मा लगायतले हस्ताक्षर गरेका छन्।  संकल्पमा भनिएको छ  १. हामी योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म, लिङ्ग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रुपमा रुपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र (World Peace Center) को रूपमा विकास गर्ने सङ्‌कल्प गर्दछौं । २. सम्वत् २०८१ को प्रवेशसँगै हामी हावौ भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रर्वद्धन गर्ने सङ्कल्प गर्दछौं । साथै पूर्वीय संस्कृतिको प्रयोग, सम्वर्द्धन, तथा अभिवर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयसम्बद्ध उपयुक्त पाठ्यक्रम एवं तालिमका लागि उपयुक्त जनशक्ति तयार गर्ने स‌ङ्कल्प गर्दछौं । ३. नेपाल राष्ट्र‌मा रहेको ज्ञान, ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्वशान्ति एवं सह-अस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेश स्थित नियोग, दुतावास एवं कुटनीतिक सञ्जाल मार्फत विश्वभर फैलाउने स‌ङ्कल्प गर्दछौं । ४. ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्र (PeaceTourism Center) को रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु-याउने स‌ङ्कल्प गर्दछौं । ५. देशभर ध्यान र योग प्रर्वद्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियन्ताहरुसँग परामर्श तथा सहकार्य गरी सबै सरकारी एवं पर्यटकीय स्थल  तथा कार्यलयहरुमा ध्यान तथा योग पद्धतिकोप्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने सङ्कल्प गर्दछौं ।

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने भएको छ । आयोगको आइतबार बसेको बैठकले इलाम–३ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।  आयोगले सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा पनि त्यही दिन उपचुनाव गराउने निर्णय गरेको छ । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचिन भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचिन भएका थिए ।  सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै,नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।  “निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्नेगरी निर्वाचनको मिति तोकेको छ,” निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ ।  नेपालको संविधानको धारा ४९७० तथा धारा १७६० बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने व्यवस्था छ ।  आयोगले प्रदेशसभा सदस्य तथा तत्कालीन मन्त्री सिंहको निधन असार ५ मै भए पनि असार २५ गतेदेखि मात्र प्रदेशसभा सदस्य पद खाली भएको उल्लेख गरेको छ । 

ओलीलाई प्रधानमन्त्री प्रचण्डले दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ । प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीले ओलीलाई जन्मदिनको शुभकामना दिन फोन गरेका हुन् । उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।’ ओली आज ७२ वर्ष पुगेका छन् ।

को बन्ला त्रिविको उपकुलपति ?, सिफारिस भए बराल, धमला र बुढाथोकी

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आइतबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।  समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम रिक्त रहेको विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिको लागि विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्राध्यापकत्रय बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरेको हो । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा सम्बोधनका क्रममा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब योग्यताको आधारमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुसार उपकुलपतिका लागि सिफारिस समितिले खुल्ला आवेदन माग गरेकोमा ४३ जनाको आवेदन परेको थियो । तीमध्ये पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनामध्येबाट अन्तरवार्तापछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो । अब विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन् ।

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीको सम्बोधन असोज १० गते

न्युयोर्क- ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलीदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा भोलीदेखि सुरु हुनेभए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नुहुने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ । विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् । यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ । नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ । नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए÷गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।

माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ।  बैठकले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकको एजेन्डा तय गर्नेछ । पदाधिकारीको बैठकपछि माओवादीको स्थायी कमिटी बैठक बस्ने तयारी छ। ४ बजे बस्ने बैठकमा माओवादीले,जनतासँगको सम्बन्ध, संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा तयारी गरेको छ ।

माओवादी केन्द्रको बैठक, शनिबार के भयो छलफल ?

काठमाडौं । सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आउँदो कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक शनिबार पनि बस्यो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको स्थिति र नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल गरिएको थियो। १६ देखि २५ वर्षको जनसंख्या झन्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रमा राखेर संगठन निर्माण र जनपरिचालन गर्ने विषयमा बैठकमा छलफल गरियो । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, शनिबार बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए । उनीहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, संगठन र जनपरिचालनलगायत विषयमा आफ्नो धारणा राखेका थिए । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रमा राखेर संगठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिएका थिए । पदाधिकारीको पछि पार्टीको स्थायी कमिटी बस्ने र लगत्तै केन्द्रीय कमिटीको बैठक समेत तय गरेर आउँदो दिनका कार्यक्रम निर्धारण गरिने प्रवक्ता सापकोटाको भनाइ छ ।  शुक्रबारदेखि माओवादी केन्द्रको पदाधिकारीको बैठक सुरु भएको हो । पदाधिकारीमा रहेका ६ नेताले शुक्रबार आफ्नो धारणा राखेका थिए । बैठक आइतबार पुनः बस्ने बताइएको छ । रासस

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री केन्द्रीय समिति बैठकमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा बसिरहेको छ। बैठकमा महामन्त्री डा.मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन्। ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे पनि त्यसो नगरिएकोमा विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन्। बैठकमा महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए।बैठका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको छ।

गृहमन्त्रीको निलम्बन माग गरिएको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ। सहकारीको बचत अपचलनमा लामिछानेलाई ‘क्लिन चिट’ दिइएको महान्यायाधिवक्ता कार्यालयको पत्र असंवैधानिक र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । रिटमा उनले सहकारीको बचत अपचलनबारे अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पर्ने भन्दै गृहमन्त्रीबाट लामिछानेलाई निलम्बन गर्न प्रधानमन्त्रीका नाममा अन्तरिम आदेश पनि माग गरेका छन्। महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइएको रिट यही जेठ १६ र १७ गते लगातार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी चढेको थियो। न्यायाधीश पोखरेलले अधिवक्ता हुँदा लामिछानेविरुद्ध कायम नै नरहेको नागरिकता प्रयोग गरी सांसद बनेको भन्दै दायर रिटमा उनका तर्फबाट बहस गरेका थिए। लामिछानेले अमेरिकाको राहदानी साथमै राखेर नेपाली राहदानी समेत बनाएको रिटमा पनि पोखरेलले नै बहस गरेका थिए। त्यही कारण निवेदकले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। सदन र सडकमा समेत सहकारीको बचत अपचलनमा लामिछाने संलग्न रहेको आरोप लाग्न थालेपछि उनले महान्यायाधिवक्ता कार्यालयसँग आफूमाथि कतै उजुरी वा अनुसन्धान छ? भन्दै सूचना मागेका थिए। त्यही सूचना माग गरेका आधारमा महान्यायाधिवक्ता कार्यालयले ‘कतै पनि उजुरी र अभियोजन नरहेको’ भनेर उनलाई पत्र दिएको थियो। रिटमा उक्त पत्र रद्द गरी छानबिनको माग गरिएको छ। छानबिनमा शक्तिको दुरुपयोगबाट प्रभावित पार्न सक्ने हुँदा निलम्बनका निम्ति प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अन्तरिम आदेश पनि माग गरिएको छ। यसअघि, लामिछानेविरुद्ध अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो।दरपिठविरुद्धको निवेदनमा सुनुवाइ गर्दै जेठ १० गते न्यायाधीश टेकप्रसाद ढुंगानाका इजलासले दरपिठ आदेश खारेज गरेपछि १४ जेठमा रिट दर्ता गरिएको थियो।

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन्। चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए।  “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए।  “प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने। उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए। देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।”  विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गए।  व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे। “म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “बृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।” 

बजेट निर्माणबारे अर्थमन्त्री पुनले लिए पूर्वअर्थमन्त्रीहरूसँग सुझाव

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा.युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सल्लाह दिएका छन् । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरुले राष्ट्रिय गौरबका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् । पूर्वअर्थमन्त्री डा.महतले जे पनि गर्छु भन्ने प्रकृतिका ठूलो आकारको बजेट नल्याउन सुझाव दिए । उनले भने, ‘पपुलिज्मको पछाडि लाग्नु हुँदैन । कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम गर्नुहुँदैन ।’ पूर्वअर्थमन्त्री डा खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझा दिए । उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रुपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे । अर्का पूर्वअर्थमन्त्री डा.लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने बताए। त्यसका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो। उनले राजनीतिक स्थायित्वको ग्यारेन्टी नभएसम्म आर्थिक विकास नहुने भन्दै उनले असुरक्षाको वातावरण निर्माण हुनुमा अस्थिरता बाधक रहेको औंल्याए। यस्तै, पूर्वअर्थमन्त्री शंकर कोइरालाले विगतमा जलश्रोतमा लगानी गर्दा श्रोत नखोज्ने र १५ वर्षसम्म थप आयकर नलाग्ने नीतिका कारण अहिले विद्युत निर्यात हुने अवस्था आएको चर्चा गर्दै आर्थिक स्थायित्वका लागि कम्तिमा यस्तै एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अख्तियार सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धा र सिआईबीजस्ता निकायले जथाभावी अधिकारको दुरुपयोग गरेका कारण कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे । उनले भने, नियामक संस्थाहरुका कारण निजी क्षेत्र आतंकित भएको छ, सचिवदेखि कर्मचारीहरुलाई हुँदै नभएको मुद्धा लगाइदिने प्रवृत्तिका कारण कोही पनि फाइल सदर गर्ने अवस्थामा छैन ।’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए । पाण्डेले गलत नियतका साथ सामाजमा राजनीतिज्ञ र कर्मचारीतन्त्र सबै खत्तम भन्ने मनोविज्ञान फैलाइएकाले त्यसलाई नचिरेसम्म काम गर्ने वातावरण नबन्ने औंल्याए । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन फुकाएर बजेट बनाउने अवस्था नभएकाले प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्य र सरकारमा संलग्न दलका नेताहरुलाई अहिलेको यथार्थ अवस्था, बाध्यता र सीमाबारे बुझाउन अर्थमन्त्री पुनलाई आग्रह गरे । उपलब्ध श्रोतबाट अवस्था सुधार्न कठिन भएकाले नीतिमार्फत सुधार गर्न उनले सुझाव दिए । मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरुका सुझावलाई मनन गरी बजेट निर्माण गर्ने बताए । विकास र सुशासनलाई सँगै लैजाने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने खालको बजेट ल्याउने उनको भनाइ थियो । उनले अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै सुझावलाई गाइडलाइनका रुपमा ग्रहण गर्ने प्रतिबद्धता जनाए ।