साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा

काठमाडौं। श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलंकलाई ४-१ ले पराजित गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ।

पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० ले पराजित गरेको थियो।

सकियो माओवादी केन्द्र लुम्बिनीको परामर्श बैठक, ७० नेताले दिए सुझाव

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक सम्पन्न भएको छ । नेपालगञ्जमा दुई दिनसम्म चलेको बैठक आज सकिएको हो । बैठकमा यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको छ। पहिलो दिन ५१ र दोस्रो दिन १९ जना गरी ७० जना प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले सुझाव दिनुभएको थियो । नेताहरुले पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको कार्यदिशा सही भएको उल्लेख गर्दै यसलाई थप परिस्कृति गर्दै ठोस कार्ययोजना अघि बढाउन सुझाव दिएका थिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले प्रदेश परामर्श बैठक गरिरहेको छ । अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ भने भोलिदेखि पार्टीका आयोगमा रहेका केन्द्रीय नेताहरुसँग परामर्श लिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

एमालेलाई भाग पुर्याउन गण्डकीमा फुटाइयो मन्त्रालय, ९ वटा बनाइयो

पोखरा । नेकपा एमालेलाई भाग पुर्याउन भन्दै गण्डकी प्रदेशमा मन्त्रालय थपिएको छ । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा फुटाएर ९ मन्त्रालय पुर्याइएको हो । हाल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । उद्योग तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय छुट्टाछुट्टै बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो ।कांग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति भएसँगै एमालेलाई चार मन्त्रालय दिन र कांग्रेसले पाँच मन्त्रालय राख्न नौ वटा मन्त्रालय बनाइएको हो । 

पहिरोमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै चार जना हराइरहेका छन् ।  जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले दिएको जानकारी अनुसार पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् । गएरातिको पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।

एमाले सचिवालय बैठक : सरकार ढलाउने निर्णय, बनाउनेबारे पछि छलफल गर्ने

काठमाडौं। नेकपा(एमाले)को संसदीय दल बैठक सम्पन्न भएको छ । बैठकले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिएर सरकार ढलाउने निर्णय गरेको छ भने बनाउनको लागि पछि बैठक बस्ने बताएको छ ।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए।  प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित भएर सरकार ढलाउने प्रक्रियामा समेल हुन निर्देशन पनि दिएको छ। यद्यपी एमालेले सरकार बनाउने विषयमा भने पछि छलफल गर्ने भएको छ । त्यसैले मन्त्रीहरु क-कसलाई के बनाउने  र सत्ता शक्ति बाडफाडबारे भने बैठकले केही निर्णय लिएको छैन् ।

सहकारीको मुद्दा बोकेर सदनबाट सडकमा कांग्रेस

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ सङ्गठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ। उक्त कार्यक्रममामहामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरू प्रदर्शन स्थलमा पुगेका छन् ।

घरका सदस्यलाई बाँधेर डकैती गर्ने २ जना पक्राउ

काठमाडौं । बाँकेमा घरका सदस्यहरुलाई बाँधेर चोरी डकैती गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी छन्। जानकी गाउँपालिका ४ जानकीनगरस्थित दुर्गा कुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनि अपरिचित ७ ८ जना व्यक्तिहरूले गत चैत २६ गते राति ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाई घरमा रहेका ३ जनालाई बाँधेर सुनका गरगहना, मोबाइल, पसलमा रहेका सामान र नगद समेत लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।  घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले विस्तृत अनुसन्धान गरि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू माथि जिल्ला अदालत बाँकेबाट ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

नेपाल-कतार द्विपक्षीय वार्ता

काठमाडौँ। नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरु भएको छ । वार्ताहोटेल सोल्टीको अतिविशिष्ट कक्षमा जारी छ । सो वर्ता पहिले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको थियो । दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेका छन् । दुई पक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्ड र थानीबाहेक कतारी मन्त्रीका साथै उच्च पदस्थ अधिकारी र नेपालका उपप्रधानमन्त्रीसहित मन्त्रीहरु सहभागी छन् ।  कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबिचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको थियो । द्विपक्षीय वार्तामा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।   नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोग, उच्चशिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको भनाइ छ ।  दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच छलफल भएको छ।आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न खनाल बालुवाटार पुगेका थिए ।उनीहरुबीच आज करिब १ घन्टा भेटघाट भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो ।  वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ । आजको छलफलमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रहेको र सत्ता सहकार्यमा सुदूरपश्चिम प्रदेशमा देखिएको समस्या समाधान गर्ने विषयम सकारात्मक कुराकानी भएको एकीकृत समाजवादीका नेता खनालले बताए। सुदूरपश्चिम प्रदेशमा देखिएको समस्या धेरै ठूलो नभएको बताउँदै उनले सोही कारण गठबन्धनमा समस्या सिर्जना नहुने बताए ।

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छिन्  सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी विमला घिमिरे प्रमुख प्रतिपक्षबाट नेपाली कांग्रेसबाट उम्मेवार बनेकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित भएकी हुन् । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेको पक्षमा ३९ मत पर्यो भने विपक्षमा १६ मत पर्यो । राष्ट्रियसभामा उपस्थित संख्या ५५ थियो । घिमिरे राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट निर्वाचित भएकी हुन् ।

त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो, एक बेपत्ता

काठमाडौं । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए।  मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्। सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ।

विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षका पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् । उनको साथबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार बलिङ, १ सय २१ रनको लक्ष्य प्राप्त

काठमाडौँ । जारी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले शानदार बलिङ गरेको छ ।  नेपालले जीतका लागि १ सय २१ रनको लक्ष्य प्राप्त गरेको छ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान गरे । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए । नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए । त्यस्तै, कुशल मल्ले ४ ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए ।  यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।

नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो । डा.भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको हो । पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान दिनुभएको डा.भण्डारीले जानकारी दिए । बिरामीलाई १६ दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरेको डा.भण्डारीले जानकारी दिए । डा.भण्डारीका अनुसार उनको गत माघ २६ गते कलेजो प्रत्यारोपण भएको थियो । हालसम्म अस्पतालमा १२ वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् । यो नेपाली चिकित्सकको टोलीले गरेको यो दोस्रो सफल कलेजो प्रत्यारोपण हो । यसअघि २७ पुसमा नेपाली चिकित्सकहरूकै संलग्नतामा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको थियो । त्यो भन्दा पहिले नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरूको सहायता लिँदै आइएको थियो । अस्पतालले २०७६ जेठ १७ गते पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । त्यस्तै अस्पतालमा २०७७ फागुन २९ गते ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण भइसकेको छ ।

पुंगी खोलामा पर्ने मापदण्ड विपरितका संरचना घरधनीले आफैले भत्काउन थाले

चितवन । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो ।  दशैसकिए लगतै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन् । कामदारहरुले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरी रहेका छन् । महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो । यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो ।  नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो । भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवन लगायत अन्य भवनहरु क्रमश घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उहाँले बताउनुभयो । घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उहाँको भनाई छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ। ‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफै भत्काइ रहनु भएको छ’,उहाँले भन्नुभयो,‘ यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।’   महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काउने र सँग सँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धि आयोग कस्तो बनाउने, प्रम ओलीसमक्ष बाबुरामको यस्तो छ माग

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले संक्रमकालीन न्याय सम्बन्धि बाँकी कामलाई छिटो सम्पन्न गर्न सरकारसँग मागपत्र पेश गरेको छ । शुक्रबार सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.भट्टराईले दलीय सहमतीको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन  तत्काल गरी सो काम छिटो सम्पन्न गर्नुपर्ने लगायतका विषय समेटेर १९ बुँदे मागपत्र पेश गर्नुभएको हो। आफूहरुले तत्कालीन द्वन्दरत पक्षहरुको सहमतीमा मात्रै ती दुवै आयोग बनाउने र संक्रमणकालीन न्याय सम्बन्धि बाँकि काम छिटो टुंगोमा पु¥याउने आशयका साथ १९ बुँदे माग पत्र सरकारलाई सुझाएको पार्टीका अध्यक्ष डा. भट्टराईले बताउनुभयो । माग पत्रमा ती दुवै आयोगको प्रमुख राजनीतिक र कानून दुवै विषय बुझेको हुनुपर्ने कुरामा पनि जोड दिइएको छ । अध्यक्ष भट्टराइले संक्रमणकालीन न्याय विषयलाई अन्य अपराध कर्मको रुपमा लिने र त्यही अनुसार अदालती प्रक्रियामा जाने हो भने सो कुरा आफूहरुलाई मान्य नहुने अडान पनि स्पष्ट पार्नुभयो । माग पत्रमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले संक्रमकालीन न्यायका सबै मुद्दालाई निरुपण गर्नुपर्नेमा जोड दिइएको छ । अध्यक्ष भट्टराईले संक्रमणकालीन न्याय सम्बन्धि बाँकी काम अदालती प्रक्रियाको विषय नभएको उहाँको जोड छ।