तरकारी र फलफूलका थोक बजार थपिँदै

ललितपुर, फागुन २० । काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् ।

थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो ।

यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक बजार शुरु गरिरहेका छन् । ठूला थोक बजार किसान र उपभोक्ता दुवैका लागि फाइदाजनक हुने उहाँको भनाइ छ । वाग्लेले भन्नुभयो, “एकातिर किसानले उत्पादनको राम्रो मूल्य पाउँछन् भने अर्कातिर उपभोक्ताले पनि ताजा र कम मूल्यमा तरकारी र फलफूल किन्न पाउँछन् ।”

देशका विभिन्न शहरमा सरकारको सहयोगमा २७ वटा थोक बजार सञ्चालनमा छन् । यीमात्रै पर्याप्त नभएपछि निजी क्षेत्रले पनि थोक बजार सञ्चालन गर्न थालेका हुन् । काठमाडौँ उपत्यकाको मनोहरामा केही समय पहिलेबाट निजी क्षेत्रले थोक बजार शुरु गरेको छ । उपत्यका बाहिर पनि यस्ता बजार धेरै छन् ।

उहाँ भन्नुहुन्छ, “शहरी क्षेत्रमा जनसंख्या बढ्दै छ, त्यहाँ ठूला थोक बजारको खाँचो छ ।” साना खुद्रा बजार जिल्ला कृषि विकास कार्यालयमा र अरु विभागमा दर्ता भएर सञ्चालनमा छन् । कालीमाटी तरकारी तथा फलफूल बजारको भने नियमन मन्त्रालय आफैँले गर्दै आएको छ ।

नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द

चितवन, फागुन १९ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ । होली पर्वका लागि बिहीबार र शुक्रबार २४ सैं घण्टा खुला गरिएको सडक फेरि बन्द गर्न लागिएको हो । सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न गाडी चलाउन रोक लगाइएको हो । सडक विस्तारको काम भइरहेकाले आजदेखि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाले जनाएको छ । नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

स्वेच्छिक अवकाशमा जान पाँच हजारको निवेदन

काठमाडौं, फागुन १८ । सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ । जिल्ला कार्यालय र आफू मातहतका निकायमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालिएको मन्त्रालयको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिनुभयो । सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि गत पुस २९ देखि फागुन १३ गतेसम्म निवेदन दिएका थिए । “हामीले स्वेच्छिक अवकाशमा जाने कर्मचारीले निवेदनलाई संकलन गरिरहेका छौँ”, उपसचिव रोकायाले भन्नुभयो, “अहिले मन्त्रालय, निकाय र जिल्ला तहका कार्यालयबाट विवरण संकलन गरिरहेका छौँ ।” उहाँका अनुसार आइतबारसम्म जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित कार्यालयका अवकाशका निवेदनलाई पठाउन निर्देशन दिइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका निवेदनलाई यही फागुन २६ गतेसम्म स्वेच्छिक अवकाश एकाइ शाखामा पठाउन भनिएको छ । उहाँले दर्खास्त दिइएका निवेदनलाई आवश्यक छानविन गरी समायोजन गरिने बताउनुभयो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षीय सेवावधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो । तीन सचिवसहित करीव पाँच हजार जनाले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा व्यवस्थापिका–संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्कीले स्वेच्छिक अवकाशका लागि निवेदन दिनुभएको छ । स्वेच्छिक अवकाशमा जाने कर्मचारीले एकमुष्ट सात वर्षको निवृत्तिभरण भत्ता पाउने व्यवस्था गरिएको छ । मुलुकभरी करीव ८३ हजार निजामती कर्मचारी छन् ।

सरकारले भोलिसम्म पूर्णता पाउँछ : प्रचण्ड

सुर्खेत, फागुन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ । सुर्खेतको विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताउनुभयो ।

पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

काठमाडौं, फागुन १८ । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासी समकक्षी केपी शर्मा ओलीलाई बधाइ दिन सोमबार नेपाल आउन लागेका हुन् । नेपाल बसाईका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

कञ्चनपुरमा छाउपडी प्रथा अझै हट्न सकेन

कञ्चनपुर । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘क’ु प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन् । महिनाबारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्दछन् । त्यहाँ महिला पूरैभित्र सुत्न नसक्ने, ढोका नभएको छाप्रो हुने शुक्लाफाँटा महिला तथा बालबालिका विषयगत शाखाका प्रमुख राधिका पन्तले बताउनुभयो । छाउपडी भएका बेला घरभित्र नपस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ उहाँले भन्नुभयो, “आराम गर्नुपर्ने बेला गह्रुंगो भारी बोक्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गरिन्छ ।” यहाँको समाजमा छाउपडी प्रथा ठूलो समस्याका रुपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्नका लागि सहकार्यको आवश्यकता रहेको उहाँले बताउनुभयो । युवतीहरु एक निश्चित उमेर पुगिसकेपछि महिनाबारी हुनु भनेको प्राकृतिक प्रक्रियाको स्वाभाविक नियम भएपनि महिनाबारी हुनुलाई धर्म र धार्मिक ग्रन्थसँग जोडी पाप तथा अभिशापका रुपमा परिभाषित गर्दा यसले समाजमा प्रश्रय पाउँदै आएको छ । महिलालाई धार्मिक स्थलमा जान र पूजापाठ गर्नबाट समेत यसबेला वञ्चित गरिँदै आएको छ । परम्परागत सामाजिक मूल्य र मान्यता, रुढीबादी सोच, धार्मिक अन्धविश्वास, जनचेतनाको कमी, लैंगिक विभेद्, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएको शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख तुलसी हमालले बताउनु्भयो । छाउपडी प्रथा हाम्रै घरबाट शुरु भएको छ, उहाँले भन्नुभयो, “पहिले आफैँबाट यसलाई हटाऔं ।” पहिला घरका बुढापाकाले घरनजिकै आउँदा नाइनास्ती गर्थे, चार दिनसम्म त घरको दैलोमै छिर्न पाइँदैनथ्यो उहाँले भन्नुभयो, “हाल घरको कोठामा बस्दै आएका छौँ, बेडमा सुत्छौँ, घरमा सम्झाउँदा बुझाउँदा बुढापाकाले पनि यतिसम्म मानेका छन् ।” छाउपडी भएका महिलाले मोबाइल छँुदासमेत छोइछिटो हाल्नुपर्ने र आगनमा हिँड्नका लागिसमेत सिमाना निर्धारण गरिने अवस्था रहेको स्थानीयवासी मनकला सुनारले बताउनुभयो । “सिमानाभन्दा पर आँगनमै भुलेर गइहाले अनेकन प्रकारका गाली सुन्नुपर्ने हुन्छ, पानी धारा छुन नपाइने भएकाले कठ्याङ्ग्रिदो जाडोमा नदीमा नुहाउनुपर्ने त बाध्यता नै हो” उहाँले भन्नुभयो । टाढाको छाउगोठमा सुत्नुपर्ने हँुदा बाह्य जनावर र मानिसको आक्रमणमा पर्ने डर त हुन्छ नै, प्रयाप्त ओछ्याउने बिछ्याउने कपडाको अभावमा समेत जाग्राम बसेर रात काट्नुपर्ने अर्को बाध्यता रहेको जवादेवी कामीले बताउनुभयो । ससुरा, श्रीमान, जेठाजुभन्दा घरका सासु, जेठानीलगायतबाट बुहारीले छाउपडीको पीडा खेप्नुपरेको छ । स्कूल जाने बालिकाहरु स्कूल जानबाट वञ्चित पुरानो मान्यताअनुसार तीन दिनसम्म त नुहाउन, कपाल कोर्न र सिन्दुर टीकासमेत लगाउन नहुने धार्मिक कार्य, सामाजिक कार्य गर्न सरिक हुन नहुने, मन्दिर र सो वरपरको बाटोसमेत जान नहुने मानिसलाई छुन नहुने मान्यता छ । महिलाका आश्रित बालबालिकाहरुलाई जस्तोसुकै बिरामी वा चिसो भएपनि बिहान शुद्ध पार्ने नाममा नुहाउनुपर्ने र गहँुत तथा सुनपानी छर्नुपर्नेलगायतका कुरीति छाउपडीका नाममा चल्दै आएको शुक्लाफाँटाका नगरपालिका–११ का वडा अध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो । गाउँमा सामाजिक क्षेत्रका अगुवा महिलाले छाउगोठ भत्काए पनि पुनः पुरानै तरिकाले निर्माण गरेर बुहारीमाथि प्रताडना दिने कार्य जारी रहेको उहाँले बताउनुभयो । छाउपडी प्रथा विस्तारै शहरी क्षेत्रमा कम हुँदै गए पनि ग्रामीण क्षेत्रमा यसले अझै जरा गाडेको अबस्था छ नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बुढाले भन्नुभयो, “समाजमा सकारात्मक सोचको विकास गर्न सके यस प्रथालाई हटाउन बल पुग्नेछ ।” छाउपडी प्रथा हटाउनका लागि शिक्षा र स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । छाउपडीका कारण दोश्रो दर्जाका रुपमा बाच्न विवश महिलालाई न्याय दिनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । जनचेतनासँगै छाउकुडी भत्काउने कार्यलाई सँगसँगै लैजाने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । छाउपडी, मासिकश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई छाउपडी प्रथा कानुनीरूपमा अपराधका रूपमा परिभाषित गरी कैद र जरिवाना हुने ऐन प्रस्ताव गरिए पनि जारी भने भएको छैन् । मुलुकी ऐन प्रतिस्थापनका लागि बनाइएको ऐनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, तीन हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ले पनि कुनै पनि व्यक्तिलाई घरेलु सम्बन्ध भएका कुनै पनि व्यक्तिले शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिसा गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था गरेपनि त्यसअन्र्तगत हालसम्म कारवाही भने कसैलाई पनि हुन सकेको छैन् । छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ को उद्देश्यमै छाउपडी कुप्रथा उन्मुलन गरी समतामूलक समाज निर्माण स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

भारतीदेखि दिव्यंकासम्म, यी ८ अभिनेत्रीका अन्तिम ब्याचलर पार्टी यस्तो थियो (हेर्नुहोस् तस्वीरहरु)

मुम्बई । हिन्दी टेलिसिरियलदेखि लिएर बलिउड क्षेत्रसम्म विवाह माहौल देखिरहेको छ । जहाँ टिभी सेलेब्समा दिपिका कक्कड, शोएब इम्ब्राहिम र गौरव चोपडा विवाह विवाहको बन्धन बाँधिसकेका छन् भने त्यस्तै, सोनम कपुरको कजन भाई मोहित मारवाह पनि विवाह बन्धनमा बाँधिएको छ । विवाहअघि खासगरी आजसम्म ब्याचलर पार्टी गर्ने चलन छ । यस्तैमा विवाहको सिजनमा हामी तपाईंको यस प्याकेजमा देखाइरहेका छौं । यी हुन् अाठ अभिनेत्रीहरुका विवाहअघि अन्तिम ब्याचलर पार्टी । भारती सिंह विवाहः ३ डिसेम्बर २०१७ शोः ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’, ‘कमेडी सर्कस’, ‘कहानी कमेडी सर्कस की’, ‘झलक दिखला जा’ । दिव्यंका त्रिपाीठी विवाहः ८ जुलाई २०१६ शोः ‘बनूँ मे तेरी दुल्हन’, ‘कसम से’, ‘इन्तेजार’, ‘अदालत’, ‘हमारी बहू रजनीकान्त’, ‘ये है मोहब्बतें’ । यी हुन अभिनेत्रीका अन्तिम ब्याचलर लुक्समा केही तस्विरहरु-    

नेत्री धनकुमारीद्वारा एमाले परित्याग

काठमाडौं, फागुन ११ । नेकपा एमाले केन्द्रीय विभागकी सदस्य धनकुमारी सुनारले पार्टी परित्याग गरेको बताएकी छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै नेत्री सुनारले पार्टीले दलाल, पूँजीपति र भ्रष्टलाई संरक्षण गरेको आरोप लगाउँदै एमाले पार्टीसँग सम्बन्ध बिच्छेदको घोषणा गरेकी हुन् । नेत्री सुनारले पार्टीमा गैरकम्युनिष्ट चरित्र हावी भएको भन्दै चर्को असन्तुष्टीसमेत व्यक्त गरेकी छन् । विज्ञप्तीमा भनिएको छ, ‘अब सर्वहारा श्रमिक जनता र उत्पीडित समुदायको मुक्ति यस पार्टीबाट सम्भव छैन भन्ने मेरो निष्कर्ष रहेकाले आजैबाट नेकपा एमालेसँग सम्बन्ध बिच्छेद गरेको जानकारी गराउँछु ।’ हेर्नुहोस सुनारले जारी गरेको विज्ञप्ति :

अमेरिकामा बन्दुक बहस, राष्ट्रपति ट्रम्प बन्दुक नियंत्रणको विपक्षमा

अमेरिकाको फ्लोरिडा राज्यको  एउटा विद्यालयमा गत हप्ता भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएपछि त्यहाँ बन्दुक नियन्त्रणमा व्यापक बहस सुरु भएको छ । त्यहाँस्थित बन्दुकको वकालत गर्दैआएको शक्तिशाली संस्था राष्ट्रीय राइफल संघ (एनआरए)ले बन्दुक विरोधीहरूले घटनाको निहुँ पारेर बन्दुक नियंत्रण गराउन खोजेको आरोप लगाएको छ । एनआरएका प्रमुख वेइन लापेरले १४ फेब्रुअरीको घटनालाई प्रयोग गरेर केही ‘अवसरवादी’हरूले अमेरिकी नागरिकहरूको बन्दुक राख्न पाउने अधिकार खोस्न चाहेको आरोप लगाए । उता राष्ट्रपति ट्रम्पले विद्यालयका शिक्षकहरूलाई बन्दुक खरिद गर्न अतिरिक्त पैसा दिनुपर्ने बताएका छन् । एनआरए प्रमुख वेइन लापेरेले भने, “केही अवसरवादीहरूले आफ्नो राजनीतिक फाइदाको लागि घटनाको प्रयोग गर्न एक सेकेंड पनि बिराएनन् ।” उनले थपे, “तिनीहरू राइफल संघलाई घृणा गर्छन् । उनीहरू संविधानमा भएको दोस्रो संशोधनको विरोध गर्दछन् र वैयक्तिक स्वतंत्रताको विरोध गर्दछन् । अमेरिकी संविधानमा गरिएको दोस्रो संशोधनमा आम जनतालाई बन्दुक राख्ने अधिकार दिइएको छ । लापेरेले विद्यालयमा भएको घटनामा एफबीआइ चुकेको बताए । उनले अमेरिकामा “युरोपेली शैलीको समाजवाद”को आलोचना गर्दै भने, “उनीहरू कानुन बनाएर जनतालाई नियंत्रण गर्न चाहन्छन् । उनीहरुलाई कानुन काम कसरी गर्छ भएर वास्ता छैन । तर राइफल संघ यस कुरामा गम्भीर छ ।” उता यस घटनाका पीडितहरू बन्दुक राख्न पाउने कुरामा कडा कानुन बनाउने माग गर्दैछन् । यसका लागि राष्ट्रव्यापी अभियान नेभर अगेन चलाउँदै हेका छन् । लापेरेले डेमेक्रेटहरूमाथि राष्ट्रिय राइफल संघलाई बदनाम गाडेको आरोप लगाए । उनले संघले कुनै पनि विद्यालयको सुरक्षाका लागि निःशुल्क मद्दत गर्ने बताए । उता अमेरिकी शिक्षक एकता महासंघकी अध्यक्ष ऱ्याण्डी वाइनगर्टनले राइफल संघको कुरामा असहमति जनाएकी छन् । उनी भन्छिन् “विद्यालय भित्र बन्दुक लग्न दिएको अवस्थामा स्थिति कस्तो होला भन्ने कल्पनासम्म उनीहरूले गराएका छैनन् । अवस्था झन् भयावह हुन सक्छ ।” राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयका शिक्षकहरूसँग पनि बन्दुक हुनु पर्ने बताएका छन् । मंगलवार घटनाका पीडितहरूसँगको साक्षात्कारमा उनले यस्तो भनेका थिए । अधिकारीहरूसँग विद्यालय सुरक्षाबारे चर्चा गर्दै उनले भने, “यदि विद्यालय भित्र २० प्रतिशत मान्छेहरूसँग पनि बन्दुक भयो भने हमलाकारी भित्र पस्ने आँट गर्न सक्दैन ।” उनले अगाडि भने,”यदि उनीहरूले बन्दुक राख्न चाहेको खण्डमा हामी उनीहरुलाई अतिरिक्त पैसा दिनेछौं । राष्ट्रपतिले बन्दुक किन्न पाउने उम्र १८ वर्षबाट बढाएर २१ वर्ष गर्ने कुरामा भने आफू सकारात्मक रहेको बताए । उनले राइफल संघलाई पनि यस कुराको समर्थन गर्न आग्रह गरे । बन्दुकको वकालत गर्ने राइफल संघलाई ‘राम्रा मान्छे’ रहेको भन्दै ट्रम्पले आफू उनीहरू विरुद्ध नजाने बताएका छन् ।

शुक्रबारदेखि बसन्तपुरमा चिर ठड्याई फागुपर्वको प्रारम्भ

काठमाडौँ । फागुन शुक्ल अष्टमीका दिनदेखि फागु पर्व विधिवत रुपमा प्रारम्भ भएको छ। वसन्तपुर अगाडि विधिवत् रुपमा शुक्रबार चिर उठाएपछि फागु शुरु भएको मानिन्छ।बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो। यही फागुन १७ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ। प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ। अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागू पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ।

विवाहमा प्रेमले अञ्जलीलाई ‘आँशु झार्न दिन्न’ भनेपछि ! (भिडियोसहित)

नेपालीहरुको मौलिक भाकाहरुलाई गीत संगीतमा ल्याएर आफ्ना श्रोता तथा शुभचिन्तकहरु माझमा पुर्याएर नेपाली कला र संस्कृतिको विकासमा टेवा पुर्याउने क्रम जारी रहेको छ । विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा ‘आँशु झार्न दिन्न’ बजारमा आएको छ। ‘आँशु झार्न दिन्न’ गित लोक लयमा आधारित रहेर तयार परिएको छ । विष्णु परियारको शब्द र संगीतमा रहेको गीतमा विवाह पछि सुखका साथ जिन्दगी भर साथ दिने कुरालाई रोमाञ्चक तरिकाले समेटिएको छ । चर्चित मोडल अञ्जली अधिकारी र प्रेम रेग्मीको निकै उत्कृष्ट अभिनय रहेको गीतमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ । अजय रेग्मीको छायाँकन तथा रमीत वलीले सम्पादन गरेका छन । भिडियो हेर्न तल क्लिक गर्नुहोला

छुरा प्रहार गर्ने दुई हत्यारा पक्राउ

झापा । अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना होटल अगाडि आपसी विवादमा संग्रौलामाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट संग्रौलाको दाहिने छातीमा गम्भीर चोट लागेकाले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार पछि फरार रहेका उनीहरूलाई आज बिहान पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।

माओवादीले आज सरकारमा मन्त्री पठाउने

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रले आज एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउने तयारी गरेको छ । माओवादी उच्च श्रोतका अनुसार पार्टीका वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा ओली सरकारमा माओवादीका केही मन्त्री आजै सरकारमा सहभागी हुने छन् । मंगलबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘म काठमाडौं फर्किएर आजै पार्टीका तर्फबाट केही मन्त्री सरकारमा सहभागी हुन्छन् ।’ पार्टीका तर्फबाट ओली नेतृत्वको सरकारमा कसको नेतृत्वमा जाने भन्ने कुरामा विभिन्न नेताहरुको नाम चर्चामा आएपनि अन्ततः माओवादीले पार्टीका वरिष्ठ नेता बादलको नेतृत्वमा मंगलबार केही मन्त्री सरकारमा जाने बताइएको छ । सरकारमा वादलको नेतृत्वमा माओवादी केन्द्र सहभागी हुने निर्णय भए पनि पार्टीका तर्फबाट को को सहभागी हुँदैछ भन्ने बारे नाम अहिलेसम्म खुलाइएको छैन । तर यस विषयमा पार्टीमा सहमति भइसकेको बताइएको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित पार्टी एकता गर्ने घोषणसहित निर्वाचनमा सहभागी भएका थिए । निर्वाचनमा मतदाताले दुई ठूला वामपन्थी पार्टी मिलेमा देशले स्थिर सरकार पाउने र त्यसले विकास र समृद्धिका लागि काम गर्ने विश्वाससहित करीब दुई तिहाई मतले विजयी गराएका थिए । तर पार्टी एकतामा केही समस्या आएपछि पहिलेकै सहमति अनुसार माओवादी केन्द्र एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन त तयार भयो तर सरकारमा तत्काल मन्त्री पठाएन । सोमबार पार्टी एकताका लागि सात बुँदें प्रारम्भिक आधारपत्रमा पार्टी एकता स्ंयोजन समितिमा हस्ताक्षर भएपछि माओवादीले आजै पार्टीका तर्फबाट सरकारमा केही मन्त्री पठाउने तयारी गरेको हो । गएको फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली दोस्रो पटक देशको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सैद्धान्तिक र व्यवहारिक किसिमले दुबै पार्टी एक भइसक्यौं : प्रचण्ड

चितवन, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्र सैद्धान्तिक र व्यावहारिक रुपले एक भइसकेको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए । कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने छ । ‘हामीले हिजो दुईवटा कार्यदल बनाएको छौं । यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउँछौं ।’ नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिकरुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए। अध्यक्षले भने, ‘सैद्धान्तिक र व्यवहारिक किसिमले हामी एउटै कम्युनिष्ट पार्टी भइसक्यौं । तर, कानूनी रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै हामी नयाँ पार्टी हुन्छौं ।’ अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रियरुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुबै पार्टीका अध्यक्ष ‘सह–अध्यक्ष’का रुपमा रहने बताए । बैठकको अध्यक्षता आलोपालो गरिने गरी नयाँ पार्टीमा दुबै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर समेत रहने उनले जानकारी दिए । पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउँदै अध्यक्ष प्रचण्डले देशमा स्थायित्व, समृद्धि र सुशासनका लागि एकताले ठूलो धरातल तयार पारेको बताए । उनले भने, ‘हामीले निर्वाचनअघि जनतासँग चुनावपछि पार्टी एकता हुनेछ, देशमा राजनीतिक स्थायित्वका लागि सम्पूर्ण तागत लगाइनेछ र आर्थिक विकास र समृद्धिमा ध्यान केन्द्रीत गरिने छ भनेर प्रतिबद्धता र संकल्प गरेका थियौं । आज तपाईहरुसँग एकता हुने निर्णय भएपछि भेट भएको छ । यो ऐतिहासिक परिघटना र नेपाल राष्ट्रका लागि दूरगामी परिघटना हो । यसले २०१९ सालदेखि टुटफूट हुँदै आएको कम्युनिष्ट आन्दोलनमा गुणात्मक फड्को मारेको छ ।’ पार्टी एकताले नेपालमा मात्र नभएर दक्षिण एसिया र विश्वका न्यायपूर्ण तथा प्रगतिशील आन्दोलनमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने उनले बताए । नेपालको समृद्धि, विकासको चासो र चिन्ता पार्टी एकतामा केन्द्रित रहेको बताउँदै अध्यक्षले एकता साधारण र सामान्यरुपमा सम्पन्न नभएको बताए । ‘नेपाली आम जनताको मनमा निकै ठूलो कौतुहल र जिज्ञासा निर्वाचनपछि सबैको ध्यान, वामपन्थीको बलियो सरकार बन्छ कि बन्दैन ? स्थायित्व र समृद्धितर्फ देश जान्छ कि जाँदैन ? पार्टी एकता भएन भने समृद्धि पनि हुन्न, अरु कुरा पनि धरापमा पर्छ भन्ने ठूलो चिन्ता थियो ।’ अध्यक्ष प्रचण्डले भने, ‘दुबै पार्टी नेतृत्वका सबै कमरेडहरुले यो परिस्थितिको धेरै कोणबाट आकलन, मूल्यांकन र समीक्षा गरेर कुनै पनि मूल्यमा यसलाई टुंगोमा पुर्याउनुपर्छ भनेर लाग्यौं र हिजो सफलता पायौं ।’ विचारमा फरक मत राख्ने कांग्रेसलगायतका साथीहरुलाई पनि सुशासन, समृद्धि र विकासका हितमा यो कदम सबैका निम्ति गर्व गर्न लायक रहेको सन्देश अध्यक्षले दिए । पार्टी एकतालाई लिएर दुबै पार्टीभित्रका सबै असन्तुष्टि समेत समझदारीसँगै अन्त्य भएको उनको भनाई थियो ।

एमाले–माओवादी केन्द्रको एकतालाई चीनले गर्यो स्वागत, झन् ठूलो सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री र नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान भएका भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो । भेटका अवसरमा वहाँले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताउनुभयो । चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्नुहुँदै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताउनुभयो । चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउनुहुँदै वहाँले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत वहाँले बताउनुभयो । भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेख्नुभएको पुस्तक ‘द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गर्नुभएको थियो ।

त्रिविमा सेमेस्टर सिस्टम कि फि उठाउने सिस्टम ?

काठमाडौं, फागुन ७ । त्रिभुवन विश्वविद्यालय ले एउटै सेमेस्टरमा फरक फरक शुल्क लिएको पाइएको छ । स्नातरकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० शजार रुपैयाँ तोकिएको छ । सो रकम एकमुष्ठ भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ । नेपाल समाचारपत्रमा खबर छ । विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० शुल्क तोकिएको छ । तर, अन्य क्याम्पसमा १० हजार ९ सय लिएको खुल्न आएको छ । यस बर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेको छ । सेमेस्टर प्रणाली लागू हुँदा पैसा तिर्न नसक्ने विद्यार्थी पढ्ने कि नपढ्ने भनेर अन्योल भएको एक विद्यार्थीले बताए ।