जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती

अछाम, मंसिर ३०  । अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन्। ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन्। तर, उनीहरू सबै एक/दुई सन्तानका आमा बनिसकेका छन्।

जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ। ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे (विवाह) गर्न वर्षौं कुर्नुपर्छ। तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ।’ केटी नपाउँदा धेरैजसो पुरूषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ। ‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने। पुरूष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा। ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन्।

शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा। ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ। उमेरको कुनै वास्ता हुन्न।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन्। त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा। उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ। तर, पुरुषहरू त्यसो गर्न मान्दैनन्। जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ।

पछिल्लो समयमा आधुनिक जीवनशैली अँगाल्न युवाहरूले पटकपटक प्रयास भने गरेका छन्। तर, युवा पुस्ताको प्रयासमा अघिल्लो पुस्ता बाधक बन्दै आएको छ। युवाहरूको यस प्रयासप्रति अघिल्लो पुस्ता क्रोधितसमेत देखिएका छन्। ‘हाम्रो बस्तीमा यस्तो भन्न हुन्न, जनताहरू बिग्रन्छन्,’ रासकोटी समुदायका मुखिया सूर्यनारायण शाहीले भने, ‘हाम्रो पुर्खाले नमानेसम्म यो परम्परा बदल्न मिल्दैन, यस्तो हुन्न।’ यद्यपि, एकसरो गादो मात्र लगाउने राउटे समुदायमा पुरुष टोपी, जुत्ता, चप्पल, कमिज, टिसर्ट र महिलाहरू गुन्यूचोलो, पटुकी र गलामा पोते लगाउन भने थालेका छन्।

यो खबर आजको राजधानी दैनिकमा छ  ।

किन काठमाडौं आउँदैछन् ५१ देशका प्रहरी प्रमुख?

काठमाडौं, मंसिर २९ ।  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ। करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ देशका प्रहरी प्रमुख नेपाल आउन लागेका हुन्। प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माका अनुसार आगामी १७ जनवरीमा उनीहरू नेपाल आइपुग्नेछन्। सोही दिनबाट काठमाडौंमा सम्मेलन सुरु हुने एआईजी शर्माले जानकारी दिए। तीन दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय आतंकवाद, मानव बेचबिखन, लागूऔषध तथा संगठित अपराध नियन्त्रणजस्ता गम्भीर विषयमा छलफल हुने कार्यसूची रहेको छ। यस्तो सम्मेलन सन् १९८९ मा सम्पन्न भएको थियो। प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागलाई सम्मेलन तयारीको जिम्मा दिएको छ। हरेक दुई÷दुई वर्षमा सदस्य इन्टरपोलमा आबद्ध राष्ट्रहरूमा हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ५० देशका तीन उपक्षेत्रीय कार्यालय प्रतिनिधि सम्मेलनमा भाग लिन आउँनेछन्। अपराध विभागका प्रमुख एआईजी शर्माको नेतृत्वमा सम्मेलन सफल बनाउन सात सदस्यीय मूल समिति गठन गरिएको छ। त्यसैगरी, पूर्वतयारी समिति पनि छुुट्टै बनाइएको छ। जसमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारी, विजयलाल कायस्थ, माधवप्रसाद जोशी, देवेन्द्र सुवेदी, मिङमार लामा, हेमन्तबहादुर पाल, रोमेन्द्रसिंह देउजा, रामकुमार खनाल, शिला कार्की कंशाकार र एसएसपी कृष्णप्रसाद गौतम रहेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलनमा भाग लिन विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत काठमाडौं आउने भएका छन्। विश्व भन्सार संघसँग सम्बन्धित प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागूऔषध नियन्त्रण कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, अन्तर्राष्ट्रिय आप्रावासी संगठनका प्रतिनिधि, आसियान सचिवालय प्रतिनिधि र सार्क सचिवालयका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्। यसैगरी, संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोगका प्रतिनिधि, अरबियन मन्त्रिपरिषद्का सदस्य, गल्फ तथा अरब राष्ट्रका प्रतिनिधि, आर्थीका समन्वय संगठनका प्रतिनिधि, ईक्याप्ट इन्टरनेशनलका प्रतिनिधि, राष्ट्रिय परिधिभित्र रहेको अपराध अनुसन्धान गर्ने अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि, एसियन महाद्वीपका प्रहरी प्रमुख, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधि पनि सहभागी हुनेछन्। सम्मेलनमा एसियन क्षेत्रीय इन्फरमेसन सेन्टरका प्रतिनिधि, विश्व प्रतिआतंकवाद संस्थाका प्रतिनिधिहरूले समेत भाग लिनेछन्। सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डा इन्टरपोलका महासचिवले तय गरी नेपालमा पठाउँनेछन्। आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका लागि पहलकदमी लिने संगठन भएकाले अहिले देखिएको मुख्य समस्यासँग पनि इन्टरपोलले नेपालमा हुने सम्मेलनमा छलफल गर्ने भएको छ। सम्मेलनमा भाग लिन एसिया महादेशबाहेक अमेरिका र फान्सका प्रहरी प्रमुख पनि नेपाल आउने भएका छन्। १ सय ९० देशका प्रहरी संगठन सदस्य रहेको इन्टरपोलको वार्षिक बजेट ७८ लाख डलर रहेको छ। यो खबर आजको राजधानी दैनिकमा छ । फाइल तस्वीर

नेपालको विषयलाई लिएर भारतलाई चीनको चुनौती

काठमाडौँ, मङ्सिर २८ । चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने’ प्रतिक्रिया उल्लेख भएको छ। ग्लोबल टाइम्सलाई वैदेशिक नीतिमा चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने पत्रिकाको रुपमा लिइन्छ । लेखमा चिनियाँ कार्गो रेल सञ्चालन विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन–भारत सम्बन्धमै समस्या ल्याउने चेतावनी दिइएको छ। भारतले चीनबाट नेपाली सामान रेलमा आइरहेको बारे भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्ने अभिव्यक्ति सार्वजनिक गरेको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।

लेबनानमा पीडितलाई सघाउँदा घर फिर्ता !

काठमाडौँ, मंसिर २७ । घरेलु कामदारको हैसियतमा आएर ‘अधिकारकर्मी’ को भूमिका निर्वाह गरेको र हाउसमेडलाई आश्रय दिएको अभियोगमा पक्राउ परेका काठमाडौंकी सुशीला (सुजना) रानालाई लेबनानले शनिबार राति नेपाल फिर्ता पठाएको छ । उस्तै आरोपमा पक्राउ परेकी धरानकी रोजमाया लिम्बूमाथि भने छानबिन जारी छ । राना ओमन हुँदै आइतबार दिउँसो २ बजे नेपाल आइपुगेकी छन् । लेबनानी सरकारले रानालाई डिपोर्ट गरी पठाउँदा त्यहाँका अधिकारवादीले अन्तर्राष्ट्रिय विमानस्थलमा विरोध प्रदर्शन गरेका थिए । लेबनानी अधिकारवादी मारिई डयुनाभले लेबनान सरकारको जनरल सुरक्षा मुख्यालयले गैरकानुनी र जबर्जस्ती रूपमा रानालाई डिपोर्ट गरी पठाएको बताइन् । ‘लेबनानको दासत्वविरुद्ध सुशीलाको प्रतिबद्धतालाई हामी धन्यवाद दिन्छौं,’ डयुनाभले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छन्, ‘उनलाई बिदाइ गर्न मानव अधिकारवादीहरू विमानस्थलमा पुग्यौं ।’ रानाले विरोध बढेपछि फर्काउन खोजिए पनि स्वदेश नै फर्कन चाहेको बताइन् । ‘म थप समस्यामा पर्न चाहिनँ,’ उनले भनिन् । रानाले लेबनानी नागरिक जर्ज अबु जैइद र घरेलु कामदारको तस्करी गर्ने एजेन्टहरूको मिलोमतोमा आफूहरूविरुद्ध उजुरी गरेको बताइन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

नेपालको बिजुली नकिन्ने भारतको नीति सच्याउन नेपाल सरकारको पहल

काठमाडौं,मंसिर २७ ।भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतले ल्याएको निर्देशिका सच्याउन नेपालले पहल सुरु गरेको छ। ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार परराष्ट्रमन्त्री डा. प्रकाशरण महतलाई निर्देशिकाले दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौता (पिटिए)विपरीत भएकाले यसबारेमा भारतीय पक्षसँग छलफल गर्न आग्रह गरेका छन्। भारतले केही दिनअघि ल्याएको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गरेको छ। भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ। विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भुटान र बंगलादेशमा भारतीय कम्पनीले उत्पादन गरेको विद्युत् आयात गर्ने बाटो खुला गरेको छ, तर सम्बन्धित तथा तेस्रो देशका कम्पनीले उत्पादन गरेको बिजुली आयात रोकेको छ। भारतले ल्याएको निर्देशिकाबारे दुई मुलुकबीचका जलस्रोत तथा ऊर्जा सम्बन्धित विभिन्न बैठकमा नेपालले कुरा उठाउने भएको छ। दुई मुलुकबीचको विद्युत् व्यापार पिटिए र ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी को–अपरेसन’को मर्मअनुसार चल्ने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए। ‘निर्देशिका भारतको आन्तरिक व्यवस्था हो, दुई मुलुकबीचको विद्युत् व्यापार पिटिए र सार्क फ्रेमवर्कमा गरिएका व्यवस्थाअनुसार हुने हो,’ उनले भने, ‘अहिले नै यसो बिग्रियो, उसो बिग्रियो भन्नुभन्दा पनि निर्देशिकमा भएका व्यवस्थाबारे दुई मुलुकबीचका विभिन्न फोरममा  कुरा उठाउँछौँ।’ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पिटिए) भएको थियो। सम्झौताले दुई मुलुकबीच विद्युत् व्यापार, सीमापार प्रसारण लाइन संयोजन एवं प्रसारण सञ्जाल संयोजनसम्बन्धी मार्गप्रशस्त गरेको थियो। यो खबर  आजको नयाँ पत्रिकामा छ ।

यसरी बन्दैछ नेपाल

काठमाडौँ – देश विकासको आशा जगाउने राष्ट्रिय गौरवका सहित ठूला आयोजना केही निर्माणाधीन र केही निर्माणको चरणमा छन् । माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, बुढीगण्डकी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, काठमाडौं चक्रपथ विस्तार आयोजनालगायतले विकासको आशा जगाएका हुन्, आज यीमध्ये केही आयोजना एक–दुई वर्षमै सम्पन्न हुने क्रममा छन् । माथिल्लो तामाकोसीको बिजुली ०७५ असारमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन छ । यो आयोजना ०७५ असारमा सकिँदै छ । ‘भूकम्प, नाकाबन्दीलगायतका कारण निर्माण सम्पन्न हुने समय दुई वर्ष धकेलियो,’ अयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने, ‘०७५ असारभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेर तीव्र रूपमा काम भइरहेको छ ।’ माथिल्लो तामाकोसी आयोजनाबाट १० पुस ०७२ मा ३ सय ९ मेगावाट र ३० असार ०७३ मा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य थियो । निर्माण प्रगति समग्रमा करिब ८३ प्रतिशत रहेको श्रेष्ठले बताए । आठ वर्षमा बुढीगण्डकी आन्तरिक उत्पादनमार्फत लोडसेडिङ अन्त्यको एक मात्र विकल्प मानिएको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माण सक्न आठ वर्ष लाग्ने अनुमान छ । आयोजनाको विस्तृत अध्ययन भइसकेको छ । ‘निर्माणपूर्वका काम गर्न डेढ वर्ष र निर्माण सुरु भएको साढे ६ वर्षमा काम सकिन्छ,’ आयोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले भने, ‘आयोजना निर्माण तालिका र लगानीको मोडालिटी भने अझै टुंगो लागिसकेको छैन ।’ ०७४ को दसैँमा काठमाडौंमा मेलम्चीको पानी आयोजना थालनी भएको करिब २० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको काम सकेर आगामी वर्षको दसैँमा काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आर्थिक वर्ष ०५५-५६ देखि निर्माण थालिएको मेलम्ची आयोजना आव ०७४-७५ मा सकिने बताए । सन् २०२१ भित्र नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सञ्चालनमै छ । दुई वर्षभित्र कलंकी–कोटेश्वर सडक विस्तार कलंकीदेखि कोटेश्वरसम्मको १० दशमलव ३९४ किलोमिटर सडक आगामी दुई वर्षभित्र सम्पन्न हुनेछ । सन् ०१३ देखि थालिएको यो आयोजना ०१६ मा सम्पन्न हुनुपर्ने थियो । को नयाँ पत्रिका दैनिकमा खबर छ  ।

आपतकालीन सेवाका लागि एकीकृत प्रणाली विकास गरिने

काठमाडौं। अफ्ठेरोमा परेका व्यक्तिले मोवाईल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी एकीकृत प्रणाली विकास गरिने भएको छ। सो प्रणाली अन्तरगत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ। तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले आपतकालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिन भित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न एक कार्यदल गठन गरेको छ। विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा गठन गरिएको ११ सदस्ययीय कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक-एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधी रहेका छन। सूचना तथा संचार विज्ञ विजय गौतम समेत कार्यदल सदस्य छन्। अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन्। तर नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन्। केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ। आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीहरू समेत प्रयोगमा ल्याइने गृहमन्त्रालयले जनाएको छ ।

नेपालको मौसममा पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । कोसी, मधेस र वाग्मती प्रदेशमा बिहान साधारणतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौला बर्खास्त

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा.दामोदर बसौलालाई पदबाट हटाएको छ । यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो । डा.बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ । उनले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ ।

नेपालगन्जबाट पहिलोपटक श्री एयरलाइन्सले गर्‍यो कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान

काठमाडौं । श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान गरेको छ। नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७०० ९एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो। नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको पर्वतीय उडान सफल भएको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए। कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको नेपाल तर्फबाट पहिलो पटक हो। नेपालगन्जबाट नेपाली, भारतीयसहित विदेशी धार्मिक पर्यटक आकर्षित गर्न सकिने एयरलाइन्सले जनाएको छ। सोमबार भएको उडानमा श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्टिालिटी ग्रुप नेपालगञ्ज र पाथहिल होलिडेज काठमाडौंको सहकार्यमा २७ हजार फिट उचाइबाट उडान गरिएको छ। उक्त उडानमा क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना रहेका थिए। ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिन्छ। श्रीएयरलाइन्सले नेपालगन्जबाट कैला तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपति समेत दर्शन गराउने योजना बनाएको छ।

ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।उनको टाउकोमा चोट देखिएको छ ।मृत्युको कारण खुलिसकेको छैन ।

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हुनेछ हिमपात

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज बिहान ५ः४५ को काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । आइतबार काठमाडौंमा यो वर्षकै हालसम्मको न्यून तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने विभागले जनाएको छ । चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ ।

कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक : मन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक ल्याइएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री शर्माले विकास निर्माणका योजनाको मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, सम्बन्धी मन्त्रालय लगाएतले अनुगमनका लागि कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको बताएकी हुन् । राष्ट्रियसभाबाट संशोधनसहित पारित भइ समितिका आएको विधेयकमा तेश्रो पक्षले पनि अनुगमन गर्न सक्ने व्यवस्था राखिएको उनले बताइन् । मन्त्री शर्माले विधेयकमाथि छलफल हुँदा प्रदेश र स्थानीयका आयोजनाको अनुगमनका लागि संरचना समेत बनाइने जिकिर गरिन् । उनले बिकास आयोजनाको नियमित अनुगमन हुने र मूल्याङ्कनको आधारको मापदण्ड निर्धारण हुने धारणा राखिन् । बैठकमा समिति सदस्यहरुले विकास निर्माणका योजना छनौट प्रक्रिया र कार्यान्वयनलाई बढी पारदर्शी र जबाफदेही बनाउने गरि कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पाकिस्तासँग पराजित

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७।४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि आन वावैस अर्धसतक प्रहार गरे । उनी ६३ रनमा अविजित रहे । शम्याल हसन र शाहजैब खानले ३७/३७ र अहमेद हसनले २९ रनको योगदान दिए ।

न्युरोडमा पार्किङ निषेधको विरोधमा व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरपालिकाले मंगलबारदेखि लागु हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्दै व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका हुन् ।  

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ । रासस