जेल बस्दा करोडाैंबाट उन्मुक्ति

काठमाडौं, फागुन १४। प्रतीतपत्र घोटाला (विदेशी विनिमय कसुर) मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रन्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिबाना गर्‍यो । फैसलाको ११ वर्षपछि उनी काठमाडौंको टेकुबाट पक्राउ परिन् । कैद सजाय भोगिसकेपछि पनि उनी जेलमै छिन् ।

केन्द्रीय कारागार सुुन्धारामा रहेकी रन्जित जरिबानाबापतको कैद सजाय भोगिरहेकी छन् । अब बढीमा दुुई वर्षभित्र जेलमुुक्त हुुनेछिन् । काठमाडौंको जैसीदेवलकी रन्जित भक्तपुुरमा खोलिएको बैजन्ती इन्टरप्राइजेजकी सञ्चालक हुन् । विदेशी विनिमय कसुुरमै काठमाडौं जिल्ला अदालतले २०६७ सालमा फैसला गर्दै दोलखाका भीमबहादुर  तामाङलाई एक करोड ११ लाख ६ हजार पाँच सय रुपैयाँ जरिबाना गर्‍यो ।

काठमाडौंको कपनमा जैतुुन इम्पेक्स सञ्चालन गरेका तामाङ अदालतले फैसला गरेको तीन वर्षपछि कपनबाटै पक्राउ परे । उनले जरिबाना तिरेनन् । अहिले केन्द्रीय कारागार सुुन्धारामा छन्। अब बढीमा एक वर्षभित्र उनी जेलमुुक्त हुुनेछन् । उनले राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा कम्प्युुटर पाट्स आयात गर्न खोलेको प्रतीतपत्रमार्फत झूटो विवरण पेस गरी अमेरिकी डलर अपचलन गरेका थिए ।

यसैगरी विदेशी विनिमय, भ्रष्टाचार र सरकारी छाप दस्तखत किर्ते अभियोगमा एक वर्ष कैद र करिब ३१ करोड जरिबाना सजाय पाएका काठमाडौंका बलराम सापकोटा केन्द्रीय कारागारमा जरिबानाबापतको कैद काटिरहेका छन् । अदालतको फैसलापछि २०७१ सालमा पक्राउ परेका बलराम कोइली इम्पोरियमका सञ्चालक थिए ।

अपराधीलाई करोडौं रुपैयाँ जरिबाना सुनाइए पनि कमजोर कानुनी प्रावधानका कारण धेरैले जेलमै बसेर जरिबाना भुक्तान गर्ने गरेका छन् । कैद र जरिबाना दुवै सजाय भएको अवस्थामा जरिबानाबापत बढीमा चार वर्षमात्र कैद बस्नुपर्छ । ‘जरिबाना तिर्न नसके अपराधीले दिनको २५ रुपैयाँका दरले जेलमा बसेर जरिबाना मिनाहा गर्छ । तर बढीमा चार वर्षभन्दा बढी बस्नु पर्दैन । यसले गर्दा करोडौं जरिबाना गरिएका अभियुक्तले रकम तिर्नभन्दा पनि जेलमै बस्न रुचाउने गरेको देखिएको छ’, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत कृष्णशरण लामिछाने भन्छन् ।

‘३५ हजार रुपैयाँ तिर्न नसकेरै चार वर्ष जेल बस्न बाध्य अभियुक्त पनि छन् । उनीहरू वास्तवमै निम्न आयस्तरका हुन् तर करोडौं जरिबाना भएका अपराधी पनि चार वर्ष नै बसिरहेका छन् । आर्थिक अवस्था बलियो नभईकन यस्ता ठूला अपराध हुुन सक्दैनन् । कानुुनले दुुवैखालका अपराधीलाई समान सजाय तोकेको छ’, महानिर्देशक घिमिरे भन्छन् ।

जरिबाना असुल्ने सन्दर्भमा अदालतले अपराधीको सम्पत्ति नखोज्ने प्रचलनले गर्दा पनि करोडौं जरिबाना भएका अपराधी कैदमै रहेर भुक्तानी गर्ने गरेको उनको भनाइ छ । ‘अपराधीले म तिर्छु भन्यो भने तिर्‍यो, नत्र अदालतले उसको सम्पत्ति खोजेर असुल्ने व्यवस्था छैन । यसको फाइदा अपराधीले उठाइरहेका छन्’, लामिछाने भन्छन् ।

अपराध अनुसन्धान विभागका पूर्वप्रमुख विज्ञानराज शर्मा कमजोर कानुनकै कारण अपराधीले पटकपटक अपराध दोहोर्याउने गरेको बताउँछन् । ‘त्यति छोटो समय जेलमा बस्दा करोडौं रुपैयाँ तिर्नु नपर्ने भएपछि अपराधीको मनोबल बढ्छ । अर्कोतर्फ जेलमा बस्दा पनि पूरा समय बस्नु नपर्ने सम्भावना हुन्छ । यसमा राजनीतिक सम्बन्धहरूको पनि प्रभाव रहन्छ’, भर्खरै सेवाबाट अवकाश पाएका शर्मा भन्छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे ३५ हजार रुपैयाँ तिर्न नसक्ने र करोडौं रुपैयाँ नतिर्नेले एउटै सजाय पाउनु अव्यावहारिक रहेको बताउँछन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका अनुसार नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरेका २४ जिल्लाबाट गत आर्थिक वर्ष कुल दुई अर्ब ८३ करोड ७५ लाख ७१ हजार रुपैयाँ जरिबाना असुल भएको थियो । त्यसबाहेक दुई अर्ब ८० लाख ५९ हजार ७६ हजार रुपैयाँ जरिबाना भने कैदबाट असुल भएको थियो । निर्देशनालयका अनुसार हालसम्म ११ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ जरिबाना असुल्नबाँकी छ ।

यसैगरी अपराधीबाट असुल गर्न बाँकी कैद करिब एक लाख नौ हजार तीन सय चार वर्ष छ । बैंकिङ कसुुुरमा ६ वर्ष कैद र १३ करोडभन्दा बढी जरिबाना भएका अरुणकुमार मराठा २०७२ सालयता जेलमा छन् । एक वर्षभन्दा बढी कैद र करोडभन्दा बढी जरिबाना भएका दर्जनौं अपराधी २०७० सालयता जेलमा छन् ।

हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने

बैतडी, फागुन १० । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइनेछ । जिल्लामा गएको पाँच वर्षयता हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालबाट सन् २०२० सम्ममा हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकृत जोशीेले जानकारी दिनुभयो । हात्तीपाइले विरुद्धको औषधि लगातार छ वर्षसम्म वर्षमा एकपटक सेवन गर्नुपर्ने हुन्छ । यो वर्ष बैतडीमा झन्डै दुई लाख ४० हजार जनसङ्ख्यालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ । हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमका लागि जिल्लाभरि ४५० भन्दा बढी स्वास्थ्यकर्मी, ८३१ भन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका र ६४९ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले हात्तीपाइले उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिँदै कार्यक्रममा सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । रासस

८२ दिनमा स्थानीय तहको निर्वाचन

काठमाडौं, फागुन  १० ।  सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । अबको ८२ दिनमा देशभर एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा भएको हो । मन्त्रिपरिषद्को सोमबार तेस्रोपटक बसेको बैठकले स्थानीय तहको निर्वाचन मिति तय गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘अब मुलुक निर्वाचनमा अघि बढेको छ । निर्धारित समयमा नै निर्वाचन सम्पन्न हुन्छ ।’ ०५४ यता स्थानीय निकायको निर्वाचन भएको थिएन । त्यतिवेलाका पदाधिकारीको पदावधि ०५९ मा सकिएको थियो । यसअघि सोमबारै दुईपटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ देशमा राजदूत नियुक्तिको सिफारिस तथा पाँच सचिव र एक सहसचिवको सरुवासमेत गरेको थियो । निर्वाचन घोषणा गरेपछि नियुक्ति, बढुवा तथा सरुवा गर्न नपाउने प्रावधान छ । स्थानीय तहको निर्वाचन मिति घोषणा भए पनि स्थानीय तह कार्यान्वयनमा आइसकेको छैन । स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको स्थानीय तहमा केहि संख्या थपेर छिटै अन्तिम रुप दिने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्ले निर्वाचन गर्न १० अर्व २९ करोड ६३ लाख रुपैयाँ तत्काल निर्वाचन आयोगलाई निकासा दिने निर्णय समेत गरेको छ । निर्वाचन आयोगको आवश्यकता अनुसार थप रकम निकासा गर्दै जाने पनि बैठकको निर्णय छ । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले सुरक्षा खर्च वाहेक तत्कालका लागि माग गरिए अनुसार नै सरकारले रकम निकासा दिने निर्णय गरेको जानकारी दिए । निर्वाचन मिति तय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृह मन्त्री विमलेन्द्र निधि, ऊर्जा मन्त्री जनार्दन शर्मा, मुख्य सचिव डा सोमलाल सुवेदीले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादव, सवै आयूक्त तथा आयोगका सचिव गीपीनाथ मैनालीसँगको छलफलमा ३१ वैशाखमा एकै चरणमा निर्वाचन गर्ने सहमति भएको थियो । यसअघि आयोगले १ वैशाख र २१ वैशाख गरि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको थियो । आयोगले सबै तयारी गर्न कम्तिामा एक सय २० दिन आवश्यक पर्ने जनाएको थियो । तर, ८२ दिनमा निर्वाचन गर्ने सरकारको निर्णयपछि आयोगले चुनौती रहे पनि दिनरात खटिएर भए पनि घोषित दिनमै निर्वाच्न गर्ने जनाएको छ । आयोगका सचिव मैनालीले भने, ‘तोकिएको समयमा निर्वाचन हुन थूप्रै चुनौती छन् । तर, हामी अहोरात्र खटिएर भए पनि सरकारले घोषणा गरेको दिनमै निर्वाचन सम्पन्न गराउने तयारीमा लागेका छौं ।’ यो खबर आजको नयाँ पत्रिकामा  छ ।

पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, तीन गम्भीर घाइते

पर्सा, फागुन ७ । वीरगन्जको आदर्श नगरमा आज बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का रामपुरकार सहनीको मृत्यु भएको हो । सो घटनामा रौतहटकै रमौली–४ निवासी उपेन्द्र दास, वडा नम्बर २ निवासी बालेश्वर सहनी र रौतहट मदनपुर–१ निवासी गणेश साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । एसियाली विकास बैंक एडिबीको अनुदानमा वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाअन्तर्गत वीरगन्जको आर्दशनरमा निर्माण भइरहेको ढल तथा नालाको निर्माण कार्य भइरहेको बेला गुप्ताको घरको पर्खाल भत्किँदा चारै जना मजदुर च्यापिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिए ।

कांग्रेसले राजदूत नछान्दा कूटनीतिक सम्बन्ध प्रभावित

काठमाडौं, फागुन  ७ । लामो समयदेखि रिक्त एक दर्जनभन्दा बढी नेपाली कूटनीतिक नियोग कार्यबाहककै भरमा चल्दा दुईपक्षीय सम्बन्ध प्रभावित भएको छ । सरकारले राजदूत नियुक्तिका लागि गृहकार्य गरे पनि नाममा टुङ्गो लगाउन नसक्दा ढिलाइ हुँदै आएको परराष्ट्र स्रोतले जनाएको छ । विभिन्न देशका लागि राजदूत नियुक्तिको अन्तिम तयारी गरिरहेको बताए पनि हालसम्म १३ देशमा राजदूत नियुक्तिको प्रक्रियाले मूर्तता पाउन सकेको छैन । विगत तीन वर्षदेखि विदेशस्थित केही दूतावास राजदूतविहीन छन् । राजदूत नहुँदा खाडीका देशमा रहेका नेपाली कामदारलाई धेरै समस्या भएको भन्दै संसदीय समितिले राजदूत नियुक्तिका लागि सरकारलाई निर्देशन दिएको थियो । परराष्ट्र सचिव शङ्करदास वैरागीले भने राजदूत रिक्त १३ देशमा नियुक्ति प्रक्रिया छिट्टै हुने बताए । ‘परराष्ट्रमन्त्री बेल्जियम र लक्जम्बर्गमा हुने योगा–ध्यानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएर फागुन ७ गते फर्केपछि मात्र यस विषयमा पुनः छलफल हुने सम्भावना छ’, स्रोतले भन्यो । हालसम्म नेपालले २९ देशमा आवासीय दूतावास स्थापना गरेको छ । नेपाली राजदूत नभएका देशमा साउदी अरेबिया, दक्षिण कोरिया, इजरायल, बहराइन, कतार, ओमन, दुबई, जापान, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, अस्ट्रेलिया र म्यानमार छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७३ वैशाख ७ गते २२ देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले नेकपा (माओवादी केन्द्र) का तर्फबाट यसअघि नै सिफारिस गरेका नामलाई निरन्तरता दिने जानकारी दिँदै काँग्रेसले राजदूत सिफारिसको नाम टुङ्ग्याउनेबित्तिकै छिट्टै राजदूत नियुक्ति हुने बताए । यसअघि माओवादी केन्द्रबाट युवनाथ लम्साललाई डेनमार्क, लकी शेर्पा अस्टे«लिया, महेन्द्र सिंह कतार र पदम सुन्दास बहराइनका लागि सिफारिस गरिएको थियो । छ राजदूत पाएको नेपाली काँग्रेसमा भने नामकै विषयमा किचलो रहेको नेपाली काँग्रेस स्रोतले जनाएको छ । नेपालको परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्टसँग राख्न सक्ने योग्य र दक्ष व्यतिmलाई राजदूत बनाउनुपर्ने आवाज काँग्रेस वृत्तमा उठेको स्रोतले बतायो । सकभर पुरानोलाई निरन्तरता नदिने र नयाँलाई अवसर दिनुपर्ने पक्षमा परराष्ट्रमन्त्री महत छन् । तर, पटकपटक राजनीतिक नियुक्त लिइसकेको व्यक्तिले पनि राजदूतमा मोह देखाएपछि नाममा सहमति जुटाउन कठिन परेको काँग्रेस निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भदौ १६ गते मन्त्रिपरिषद् बैठकबाट भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेल राजदूतमा नियुक्त गरिसकेको छ । यो खबर अाजको गाेरखापत्रमा  छ ।

हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा जोडियो

पाँचथर, फागुन ६ । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको थियो । यो आयोजनाबाट अब जम्मा १४.९ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । विसं २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ साल मङ्सिरमा सम्पन्न भई उत्पादन परीक्षण गरिएको थियो । पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा रु दुई अर्ब ६० करोड खर्च लागेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुवातमा आयोजना सकिँदा रु दुई अर्ब २५ करोड रकम लाग्ने अनुमान गरिएपनि पछि नाकाबन्दी, भूकम्प, बन्द हडतालका कारण लागत बढ्न पुगेको हो ।” यस्तै, उहाँले प्रक्रियामा रहेको हुँदा चाँडै पब्लिक सेयरसमेत निष्कासन हुने जानकारी गराउनुभयो । रासस

आठ महिनादेखि भारतीय जेलमा ४३ नेपाली

बैतडी, फागुन ६ । भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको  छ । उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन् । जलविद्युतको बाँध निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्ड अनुसार सुविधा पाउन आन्दोलन गरेका थिए । तलब, भत्ता, बिदा, ओभरटाइम सुविधालगायत माग राख्दै आन्दोलन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेल्ट्रल ट्रेड युनियन अफ इन्डिया (सीआइटियु) को नेतृत्वमा उनीहरुले गत मार्चदेखि हड्ताल गरेका थिए । हाइड्रोपावरमा काम गर्ने ४८ नेपाली मजदुर जेल चलान भएकोमा पाँच जना धरौटी बुझाएर छुटेका छन् । यो खबर आजको नागरिकमा छ ।

हुम्लावासीलाई बंगलादेशले दिएको खाद्यान्न कसले पार्यो गायब !

हुम्ला, फागुन ५ । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष परेको खडेरीका कारण बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई राहत स्वरुप आएको सो खाद्यान्न कर्णाली अञ्चलका केही जिल्लामा बितरण गरिएपनि ती गाविसका बासिन्दालाई भने वितरण गरिएको छैन । मिमि गाविसका कृषक लक्ष्मीप्रसाद चौलागाईंले गुनासो गर्दै भने- ‘अाफूहरुले विद्युत् बाटोघाटोसमेतको कार्य सम्पन्न गरिसक्दा पनि अहिलेसम्म केही खाद्यान्न पाइएको छैन ।’ नेपाल खाद्य संस्थान हुम्ला शाखाका प्रमुख नारायणसिंह केसीले सो भेगका लागि अहिलेसम्म खाद्यान्न नआएको र आएपछि मात्र वितरण गर्ने जानकारी दिए । जडीबुटीबाट औषधि बनाइ उपचारमा व्यस्त अजवीर शाही हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने मेल्छाम गाविस–७ बस्ने अजवीर शाहीले जडीबुटीबाट औषधि बनाई मानिस र पशु समेतको औषधि तयार गरी उपचार गर्दै आउनुभएको छ । उनले कमलपित्त, दम, खोकी, टाउको दुख्ने, हात खुट्टाको भाँचिए पनि हुम्लामै निःशुल्क उपचार गराउँदै आएको राससलाई बताए । खाद्यान्नका लागि भीड खाद्यान्नका लागि गत मङ्गलबारदेखि कर्मचारी, शिक्षक, विद्यार्थी, सङ्घ संस्था समेतका पदाधिकारीको बिहानदेखि जिल्ला प्रशासन कार्यालयमा खाद्यान्न सिफारिसको लागि घुइँचो लागेको छ । हुम्लामा खाद्यान्न मौज्जात रहे पनि कर्मचारीले बाहिरबाट आएको मैदाका साथै स्थानीय खाद्यान्न जुटाई गुजारा गर्न बाध्य भएका छन् । हिमपात नहुँदा विद्युत् भार कटौती बढ्यो यस वर्ष पर्याप्त मात्रामा हिमपात नहुँदा जिल्लाको सदरमुकाम सिमिकोट हिल्दुम साना जलविद्युत् वितरण केन्द्रको पानीको मुहान सुकेकाले अधिकांश समय विद्युत् भार कटौती हुन थालेको छ । विद्युतभार कटौतिका करण पहिलेकै जस्तो सल्लाको दियालो बाल्न बाध्य स्थनीय पीडित व्यक्तिले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सोही अवसरमा नजिकिदै गरेकोे प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थी पनि प्रभावित भएको निवासी छात्रा विमला सिंहले दुखेसो पोखे ।

मिनी बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन, फागुन ५ । भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख २२७५ नंको लोकल रुटको मिनी बसले बयलकोटीलाई बुधबार साँझ ६ बजेको समयमा ठक्कर दिएको थियो । ठक्कर दिएपछि घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र त्यसका चालक दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

डडेलधुरामा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, ६ जना घाइते

डडेलधुरा, फागुन ४ । डडेलधुरामा आज मध्यान्ह भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ८३३ नम्बरको जीप अमरगढी ३ ठूलोखोलामा दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । दुर्घटनाका मृतकको सनाखत हुन सकेको छैन । तस्वीर सांकेतिक

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी ढुङ्गेल पक्राउ

काठमाडौं, ३ फागुन । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका–१९ डेरा गरी बस्ने नुवाकोट फिकुरी–९ का २९ बर्षीय अशोक ढुंगेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ढुंगेल समेत भएको अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत पाटनको २०६९ माघ २ गतेको फैसलाले ६ बर्ष कैद हुने ठहर भएकोमा फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरोकोको टोलीले काठमाडौं मनमैंजुबाट पक्राउ गरेको हो । काठमाडौं काभ्रेस्थली–६ स्थित ३६ रोपनी जग्गामा नविनकुमार नेपाल समेतले डोजर लगाई जग्गा प्लटिङ्ग गरिरहेको अवस्थामा ढुङ्गेल तथा उनका साथीहरु अमर लामा र सुन्दर श्रेष्ठ समेतले २०६६ चैत ५ गते उक्त प्लटिङ्गको लागि प्रयोग गरिएको डोजरका चालक लोकनाथ ढुङ्गानालाई पेस्तोल देखाई कुटपिट गरी डोजरको साँचो खोसेर अपहरण गरी मारिदिने र डोजरमा आगो लगाईदिने धम्की दिई ५ लाख रुपैयाँ फिरौती रकम माग गरेको र सोही दिन पीडितले ढुंगेललाई फिरौती वापतको पहिलो किस्ता १ लाख रुपैयाँ दिएकोमा प्रहरी कारवाहीको सिलसिलामा लामाको साथबाट काठमाडौं महानगरपालिका–२९ नयाँ बसपार्कमा फिरौती वापतको उक्त १ लाख रुपैयाँ सहित डोजरको चाबी र फिरौती माग्न प्रयोग भएको सीम सहितको मोबाईल सेट प्रहरीले बरामद गरेको थियो । फैसला कार्यान्वयनको लागि ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

छाला जुत्ताको कारोबार ओझेलमा

मोरङ, फागुन ३ । अन्तर्राष्ट्रिय उत्पादनले नेपाली बजार ओगटेपछि नेपालमा उत्पादन भएको छाला जुत्ताको कारोबार ओझेलमा परेको छ । नेपालमा गुणस्तरीय छालाका जुत्ता उत्पादन भए पनि भारत, चीनलगायत देशमा उत्पादित छालाका जुत्ताले बजार पाएको छ । माग अनुसारको मोडलका जुत्ता उत्पादन गर्न नसक्दा नेपाली उत्पादनले बजार पाउन नसकेको हो । नेपालमा पुँजी र दक्ष जनशक्तिको समेत अभाव छ । पुँजी र दक्ष जनशक्ति अभावका कारण उत्पादनमा समेत ह्रास आएको छ । यस व्यवसायलाई आधुनिकीकरण गर्न नसक्दा ओझेलमा विराटनगरका जुत्ता उद्योगी चेतन निरौलाले बताए । “नेपालमै छालाको जुत्ता उत्पादनका लागि चाहिने कच्चा पदार्थ उत्पादन हुन सकेकोे छैन,” उनले भने । नेपाली उत्पादन महँगो भएका कारण समेत कारोबारमा ह्रास आएको हो । यहाँका व्यवसायीले प्रतिस्पर्धा गर्नकै लागि भारत, चीनलगायत देशबाट कच्चा पदार्थ आयात गर्ने गरेका सनराइज शुज कम्पनीका सञ्चालक विशाल श्रेष्ठले बताए । विसं २०५४ बाट उत्पादन सुरु गरेको उक्त कम्पनीले सुरुवातमा मुनाफा आर्जन गरेको थियो । यस कम्पनीले स्थापनाकालमा वार्षिक रु ५० लाखभन्दा बढीको कारोबार गर्ने गरेको थियो । नयाँ प्रविधि र दक्ष जनशक्तिसहित २०६२ सालबाट उत्पादन सुरु गरेको विराटनगर–६ मा रहेको ग्यालेक्सी शुज उद्योगका सञ्चालक चेतन निरौला अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको बताए । ‘मागअनुसारका जुत्ता चप्पल उत्पादन गर्न सके मात्र प्रतिस्पर्धा गर्न सकिन्छ’, उनले भने ।

भीरबाट लडेर दाजुभाईकै ज्यान गयो

बैतडी, फागुन ३ । भीरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे धामी रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ । दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवैजना भिरबाट लडेको विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । रासस

सांसदबाट राजिनामा दिएका बाबुरामको नयाँ शक्ति संसदमा

काठमाडौं, ३ फागुन । व्यवस्थापिका संसदमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालको प्रतिनिधित्व हुने भएको छ । आजको राजधानी दैनिकमा खबर छ– नयाँ शक्ति पार्टी, नेपाल र गंगा चौधरी सत्गौहाले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) बीच सोमबार पार्टी एकता भएसँगै संसदमा सो पार्टीको प्रतिनिधित्व भएको हो । चौधरी सांसद हुन् र उनी व्यवस्थापिका संसदको विधायन समितिकी सभापति छिन् । व्यवस्थापिका संसद सदस्य (सांसद) पद त्यागेर भट्टराईले नयाँ शक्ति पार्टी, नेपाल खोलेका थिए । दुई पार्टीबीच सोमबार भएको एकतासँगै एकीकृत पार्टीको नाम नयाँ शक्ति नेपाल नै राख्न दुवै पार्टी सहमत भएका छन् ।

पाकिस्तानमा ‘जोली एलएलबी २’ रिलिजमा प्रतिबन्ध

फागुन २ । बलिउडका चर्चित सुपरस्टार अभिनेता अक्षय कुमारको अभिनय रहेको ‘एलएलबी २’ को प्रदर्शन गर्न पाकिस्तानमा प्रतिबन्धित लगाइएको छ । चलचित्रमा अक्षय कुमारले काश्मिरको मुद्दालाई गलत तरिकाले उठान गरिएको भन्दै पाकिस्तानी सेन्सर बोर्डको परीक्षण समितिले प्रतिबन्ध लगाएको हाे । सुभाष कपूरको निर्देशनमा बनेको यस चलचित्र ‘एलएलबी २’मा अभिनेता अक्षयले एउटा वकिलको भूमिका निर्वाह गरेका छन् । केही हप्ताअघि मात्रै शाहरुख खानको रईसलाई पनि पाकिस्तानमा प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो भने ऋतिक रोशनको काबिल भने रिलिज गर्न अनुमति दिइएको थियो । यो फिल्म २०१३ मा आएको जोली एलएलबीको सिक्वेल हो ।

छोरीहरुलाई फोटो पोष्ट गर्न दिइनन् श्रीदेवीले

काठमाडौं, माघ २९ । कुनै समयमा बलिउड क्षेत्रमा नं.१ अभिनेत्रीको रुपमा चिनिएकी श्रीदेवी आफ्नी छोरीलाई फिल्ममा डेब्यू गराउन लागिपरेकी छिन् । उनकी जेठी छोरी जान्भीको फिल्म लगभग निश्चित भइसकेको छ । उनी आफ्नो छोरीलाई कडा अनुशासनमा राख्न चाहिन्थिन्, उनको आदेश यो थियो– ‘अबदेखि आफ्नो सेल्फी खिची सामाजिक सन्जालमा पोष्ट गर्न नपाइने ।’ उनकी दुई छोरीहरु सधैंजसो फोटो खिची सामाजिक सन्जालमा पोष्ट गरी धेरैलाई आकर्षित गर्ने गर्दछिन् । अब यो सब ब्रेक हुने अवस्था आएको छ । किनकी श्रीदेवीले अबदेखि आफ्नो सेल्फी खिचेर पोष्ट नगर्ने कडा आदेश दिएकी छिन् । अहिले भने दुई छोरी इष्टाग्राम एकाउन्टमा चेक गर्दा कुनै पनि नयाँ फोटो पोष्ट भएको पाइएन ।