हुँदैन बालश्रमको अन्त्य

गोरखाको उत्तरी भेगमा रहेको रिप्चेत गाउँमा भाँडा माझ्दै बालक । पढ्ने उमेरमा यहाँका बालबालिका श्रम गर्न बाध्य छन् ।

तस्बिर : सुर्यचन्द्र बस्नेत, गोरखा

निर्वाचन विथोल्ने गतिविधिमा लागेका विप्लवका सेक्रेटरीसहित २५ नेता कार्यकर्ता पक्राउ

रुकुम, वैशाख १९। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढासहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिबिष्णु ओली सहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । २४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । विभिन्न पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारी नदिन तथा मतदाताहरुलाई भोट नहाल्न धम्कि दिने, चन्दा असुल्ने, धम्किपुर्ण भाषामा पर्चा पम्प्लेटहरु निकाल्ने जस्ता गतिविधिहरु गरिरहेकाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय तहको चुनावमा भाग लिने मतदाताहरुलार्इ निर्धारित समयमै परिचयपत्र लिन आह्वान

रसुवा, वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते बिहान ७ बजेदेखि ३० गते साँझ ७ः३० बजेसम्म वितरण गरिने भएकाले आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण रसुवाली मतदातालाई आह्वान गरिएको हो । मतदाता परिचयपत्र आ-आफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिने निर्वाचन अधिकारी खालिङले बताउनुभयो । उहाँका अनुसार मतदान हुने दिन परिचयपत्र वितरण हुने छैन । मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

हिनुस् नयाँ चाँवी, गाडी पनि नयाँ नै हो !

स्थानीय तहको निर्वाचनको लागि भारत सरकारले सहयोग स्वरुप उपलब्ध गराएको सवारी साधनको साँचो प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरी । तस्बिर : नारायण न्यौपाने, काठमाडाैं

क्यान्सरको उपचारका लागि बेग्लै राष्ट्रिय नीति बन्ने

काठमाडौं, वैशाख १७ । महामारी जस्तै फैलिएको क्यान्सर रोगको उपचारलाई थप प्रभावकारी र बिरामी मैत्री बनाउन राष्ट्रिय नीति बन्ने भएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाले यस्तो नीति बनाउन विज्ञहरुसँग छलफल गरेको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले छिट्टै क्यान्सरको उपचार सम्बन्धी राष्ट्रिय नीति ल्याइने जानकारी दिए । नेपालमा क्यान्सर रोगका बिरामीहरुको यकिन तथ्यांक थाहा पाउने विधिसमेत नभएको भन्दै उनले राष्ट्रिय नीतिले सबै समस्या समाधानको बाटो खोल्ने बताए। क्यान्सरको उपचार गराउन नसकेका गरीब जनताका लागि दिईरहेको १ लाख रुपैयाँलाई बढाउनेबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्री थापाले जानकारी दिए । कार्यक्रममा चिकित्सकहरुले क्यान्सर सम्बन्धि नीति बनेपछि क्यान्सरका बिरामीलाई कुन औषधी दिने, कुन किमो चढाउने, रेडियसन कुन समयमा दिने भन्ने स्पष्ट हुने बताएका थिए ।

खानेपानीको चुहावट

सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानी गोकर्णेश्वर नगरपालिका वडा नं २, नयाँपाटीमा हिजो शुक्रबारदेखि पाइपबाट फोहराका रुपमा पानी खेर गएपनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ध्यान जान सकेको छैन । तस्बिर : पूर्णप्रसाद मिश्र, काठमाडाै

बाग्मती सफाई

शनिबार काठमाडौँको थापाथलीमा बाग्मती सफाई गरिँदै । तस्बिर : रोशन सापकोटा, काठमाडाै

औलो रोगका बिरामी घट्दै

कञ्चनपुर, वैशाख १६ । लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रतिवर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् । औलोका बिरामीको सङ्ख्या प्रतिवर्ष घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका किटजन्य रोग अधिकृत हेमराज जोशीले भन्नुभयो, “सरकारी लक्ष्य अगावै कञ्चनपुरलाई औलो निवारण जिल्ला घोषणा गर्छौ ।” उहाँका अनुसार यहाँ सन् २०१६ देखि सन २०१७ को हालसम्म रगतको नमुना लिइएका १३ हजार ८७५ जनामध्ये ६५ जना औलोका बिरामी फेला परेका छन् । औलो रोगको पुष्टि भएका ६५ जनामध्ये ४८ जना जिल्ला बाहिरका र जिल्लाका १७ जनामा मात्रै औलो रोग देखापरेको अधिकृत जोशीले बताउनुभयो । कञ्चनपुर औलो प्रभावित २५ जिल्ला मध्ये औलोको दोश्रो उच्च जोखिममा पर्दछ । यहाँ बसोवास गर्ने बासिन्दामा औलोको बढी जोखिम नरहेपनि भारतमा लामो समय काम गरेर फर्कने अधिकांसमा औलोको जोखिम बढ्दो रुपमा रहेको पाईएको छ । जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कञ्चनपुरमा सन् २०११ मा २६०, सन् २०१२ मा ७१ ,सन् २०१३ मा ७२, सन् २०१४ मा ८१ र सन २०१५ मा ७५ जना औलोका बिरामी फेला परेका थिए । कञ्चनपुरमा सन् १९९५ देखि औलो निवारणका लागि कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुदै आएका छन । कञ्चनपुरलाई सन् २०२६ भित्र औलो निवारण घोषणा गर्ने कार्यक्रम रहेको छ । ‘सदाका लागि औलो अन्त्य गरौं’ भन्ने नारा सहित जनचेतनामूलक कार्यक्रमका साथ आज कञ्चनपुरमा विश्व औलो दिवश मनाइएको छ ।

१५ महिनादेखि रोकिएको क्रिकेट खेलाडीले तलव पाउने

काठमाडौं, वैशाख १४ । नेपाल क्रिकेट संघको बिवादले निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको तलव उपलब्ध गराउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बोर्ड बैठकले रोकिएको १५ महिनाको तलव दिने निर्णय गरेको हो । १५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले एक बर्षअघि अर्थात ०७३ वैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो ।

कुकुरले टोकेका बिरामीको सङ्ख्यामा वृद्धि

गौशाला, वैशाख १४ । बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामीको सङ्ख्यामा अप्रत्याशितरुपमा वृद्धि भएको छ । पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक-दुईजना कुकुरले टोकेको बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ÷दस जना कुकुरले टोकेको बिरामी आउने गरेको चिकित्सकले जनाएका छन् । अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेको कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढ्ने गरेको वरिष्ठ मेडिकल अधिकृत डा द्वारिकाप्रसाद साहले बताउनुभयो । तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ मेडिकल अधिकृत डा साहले बताउनुभयो । उहाँले कुकुरले टोकेका बिरामीका लागि दैनिकरुपमा छुट्टै चिकित्सक टोलीको व्यवस्था गरेर बिरामीलाई सेवा दिइने गरिएको बताउनुभयो । कुकुरले टोकेका प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीन देखि पाँच भाइल ९डोज० सम्म भ्याक्सिन दिनुपरेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

होला त सहमति ?

काठमाडौँ, वैशाख १३ । संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे सहमती खोज्न मुख्य दलका शीर्ष नेताहरू छलफलमा । संसद बैठक अघि संसद भवन बानेश्वरमा चार दलका शीर्ष नेताबीच वार्ता भईरहेको छ । तस्वीर: प्रधानमन्त्री सचिवालय

विश्व औलो दिवसः झापा औलो उन्मूलन उन्मुख

झापा, वैशाख १२ । सन् २००३ देखि २००५ सम्म महारामारीका रुपमा रहेको औलो रोग झापामा उन्मूलन उन्मुख बन्दै गएको छ। जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेका अनुसार चालु आवमा झापामा आठ जनामा मात्र औलो रोग फेला परेको छ । यस वर्ष बनियानी, पाठामारी, बुधबारे, बिर्तामोड, भद्रपुर र पृथ्वीनगरमा एक÷एक जना तथा सतासीधाममा दुईजना औलो रोगी भेटिएको उहाँले बताउनुभयो । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको देखिन्छ । आव २०७०-७१ मा ८९ जना, ०७१-७२ मा ५८ जना, ०७२-७३ मा ४२ जना र चालु आव आठ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट (झुल) वितरण गरिएको थियो । गाउँ तथा सहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताउनुभयो । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट पीताम्बर ठाकुरले १२-१३ वर्षअघि झापामा औलो भयावह अवस्थामा रहेको बताउनुभयो । “मैले यहाँ काम गरेको १४ वर्ष भयो, पहिले औलोको जोखिम उच्च थियो” उहाँले भन्नुभयो, “अहिले हामी शङ्का लागेका बिरामीलाई जाँच गराउँछौँ तर औलोका केस कम्ती भेटिन्छन् ।” “पहिले सीमावर्ती भारतीय क्षेत्रमा औलो महामारीका रुपमा थियो, हाट बजार गर्न जाँदा औलो जोखिम बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त्यहाँ पनि औलो घट्दै गएको छ ।” सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ । तराई र भित्री मधेसका ३१ जिल्लालाई उच्च प्रभावित जिल्लाका रुपमा सरकारले राखेको छ । औलोको लक्षण ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सिफोरम परजीवीका कारण हुने औलोमा इन्सेफलाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ । रोकथाम यसका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, विषादीयुक्त झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउने गर्नुपर्छ ।

फुटवल खेलाडीको परिवारलाई सहयोग

लोकेश धामी/धनगढी, वैशाख ११ कैलालीको फुलवारीकी फुटवल खेलाडी ममता सिकेको परिवारलाई सहयोग प्रदान गरिएको छ । केही महिना अघि निधन भएकी ममताको परिवारलाई अखिल नेपाल फुटवल संघ एन्फाले उपलव्ध गराएको नगद ५० हजार हस्तान्तरण गरिएको हो । एन्फका सुदुरपश्चिमवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य गणेश चन्दको पहलमा दिईएको राहत उनकी आमा वसुन्धरीलाई कैलाली जिल्ला फुटवल संघका अध्यक्ष प्रकाश विष्ट नेतृत्वको टोलीले चेक हस्तान्तरण गरेको हो । लामो समय कैलाली र सुदुरपश्चिमको महिला फुटवलमा ममताले देखाएको प्रदर्शनका कारण उनलाई सहयोग गरिएको एन्फाले जनाएको छ । एन्फाले सहानुभुती स्वरुप मरोपरान्त दिएको सहयोग हस्तान्तरण कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष प्रकाश विष्टका अलावा कैलाली जिल्ला फुटवल संघका महासतिव अनिल मल्ल, सदस्य रामदत्त भट्ट र धनगढी युवा क्लव अध्यक्ष राजेश गिरीको सहभागीता रहेको थियो ।

निर्वाचनका लागि सरकारले छलफल गरीरहेकाे छ, टुंगोमा लाग्छ : उपप्रम थापा

विराटनगर, वैशाख ९ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आगामी ३१ गते हुने स्थानीय निर्वाचनका लागि सरकार सबैको सहमति र सहभागिता बटुलिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री थापाले सो वातावरण मिलाउनका लागि मधेसी मोर्चासँग निरन्तर छलफल जारी रहेको जानकारी दिएका छन् । मधेसी मोर्चासँग सहमति भए स्थानीय तहको निर्वाचन दुई चरणमा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाले स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग राखेको जानकारी गराए । मधेसी मोर्चासँग सहमति भए वैशाख ३१ गते नै सबै क्षेत्रमा निर्वाचन हुने स्थिति नरहेको भन्दै मन्त्री थापाले केही जिल्लामा जेठभित्र दोस्रो चरणमा निर्वाचन गराउने विषयमा पनि सहमति हुनसक्ने स्पष्ट पारे । उनले मधेसी मोर्चासँग सहमति हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सहमति लिनुपर्ने पनि बताए । पत्रकारको जिज्ञासामा उनले स्थानीय तहलाई प्राप्त अधिकारलाई खोस्न नहुने स्पष्ट पार्दै राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा व्यक्त गरेका छन् । उपप्रधानमन्त्री थापाले नेपाल सरकारको सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने र प्रदेशमा अन्य भाषा राख्न सकिने पनि स्पष्ट पारे ।

बाढीले लघु जलविद्युत् आयोजना ठप्प

तेह्रथुम, वैशाख ९ । वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध भएको छ । बुधबार साँझ परेको पानीले यहाँको २२ किलोवाट क्षमताको अमलेबेँसी लघु जलविद्युत् आयोजनाको १०० मि कुलो बगाएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताउनुभयो । यस्तै १७ किलोवाट क्षमताको फलामसाँघु लघु जलविद्युत् र २९ किलोवाट क्षमताको कोया खोला तेस्रो लघु जलविद्युत् आयोजनाको समेत कुलो बगाएपछि विद्युत् उत्पादन ठप्प भएको छ । केन्द्रीय प्रसारण लाइन नपुगेको र जलविद्युत् आयोजनाको समेत उत्पादन ठप्प भएपछि खाम्लालुङ र सम्दुका बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादन बन्द भएपछि यहाँ सञ्चालित करिब एक दर्जन मिलसमेत ठप्प बनेका छन् । यस पटक वैशाखको पहिलो साता नै आएको बाढीले २०६५ सालपछिकै सबैभन्दा ठूलो क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । बाढीले खुङ्ग्रिङ खोलाको आसपास सडक क्षति गरेपछि सडक अवरुद्ध बनेको हो । स्थानीय उपभोक्ताले आफ्नै अगुवाइ र लगानी समेतमा बनाएका आयोजना मर्मत गर्नका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

निर्वाचनमा जान मधेसी मोर्चा तयार, सहमतिमै राजनीतिक निकास खोज्ने निर्णय

काठमाडौं, बैशाख ९ । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउन बसेको सत्तारुढ दल र मधेशी मोर्चा बीचको बैठकले सहमतिमै राजनीतिक निकास खोज्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र बैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो । सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर शनिबार दिउँसो २ बजे बस्ने बैठकमा सहमति जुटाउने सत्तारुढ दल र मोर्चाका नेताहरुले बताउनु भएको छ । बैठकमा सत्तारुढ दलका नेताहरु संविधान संशोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकारात्मक भएको र मोर्चाका नेताहरु सकारात्मक वातावरण बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकारात्मक हुनुभएको छ । बैठक निकै सकारात्मक र उत्साहवद्र्धक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।