राजपाका तीन केन्द्रीय सदस्य सहित पाँच हजार माओवादी केन्द्रमा प्रवेश

सिमरा, भदौ १९। राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

राजपाका केन्द्रीय सदस्य चेतनारायण महतो, राजकुमार साह र सिताराम महतोको नेतृत्वमा ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा ‘बादल’, मातृका यादव र रामेश्वर राय यादवले स्वागत गर्नुभएको थियो ।
आइतबार नै बारा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बारा जिल्लाको कोल्हबीमा २७० र जितपुर सिमरा उपमहानगरमा १५० जना गरी ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आइतबार नै पर्साको बीरगञ्ज महानगरमा आयोजित कार्यक्रममा ३०० जना स्थानीय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पहाडी र मधेशी अतिवादको विरोध गरौं, ‘प्रचण्ड’

सभामा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादका नाममा अतिवादीहरु मौलाएको भन्दै पहाडी र मधेशी अतिवादको विरोध गर्न अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेहरु राष्ट्रवादका नाममा मधेशी जनतालाई भारतीयको आरोप लगाइरहेका छन्, तल्लो स्तरमा गिरेर स्वाभिमानमाथि प्रहार गरिरहेका छन् । अर्कोथरि मान्छेहरु पहाडियाप्रति घृणाको नजरले हेर्छ । नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, एकले अर्काको सम्मान र अधिकार दिएर मात्र देश बलियो हुन्छ । त्यसैले पहाडी र मधेशी अतिवाद र नश्लवादको विरोध गरौं ।’

‘माओवादी मात्रै सच्चा राष्ट्रवादको पक्षमा छ, हामी पहाडसँग मधेश र मधेशसँग पहाड भिडाउने अतिवादको विरुद्धमा छौं’, प्रचण्डले भन्नुभयो, ‘काठमाडौं बन्न मधेशी जनताको रगत र पसिना बगेको छ । मधेश बन्न पहाडको श्रम र पसिना छ, यो यथार्थलाई हामीले झुल्नु हुँदैन । सबैलाई बराबरीको अधिकार दिएर मात्र देश बलियो हुन्छ ।’

मधेशी दलले राजनीतिको ब्यापार गरे, ‘प्रवेशी नेताहरु’

माओवादी केन्द्रमा प्रवेश गर्दै राजपाका नेताहरुले मधेशवादी दल र राजपाले राजनीतिको ब्यापार गरेको बताए । सभामा बोल्दै राजपा नेता चेतनारायण महतोले भन्नुभयो, ‘मधेश आन्दोलनमा त्यत्रो बलिदान भयो । तर, मधेशी नेताहरुले जनताको हित सोचेनन्, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेनन् । देशको एक मात्र क्रान्तिकारी र विकासको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र भएकाले मैले राजपा छोडें । अब मधेशमा राजपाको राजनीतिक औचित्य पनि छैन ।’ कार्यक्रममा बोल्दै नेता रामेश्वर राय यादवले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको बताउँदै माओवादीले मात्रै देश र जनताको हितमा काम गर्न सक्ने बताउनु भयो ।

 

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

डडेल्धुरा, भदौ १६ । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् । कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । उनीहरुमा ज्वरो, टाइफाइड, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएका छन् । दैनिक १५ देखि २० जना त्यस्ता बिरामी स्वास्थ्य चौकीमा आउने गरेको समैजी स्वास्थ्य चौकीका प्रमुख कृष्ण पालले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जानसम्म समस्या भइरहेको हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

बेनजीर भुट्टो हत्याका ५ आरोपित रिहा

भदौं १५ । पाकिस्तानको विशेष अदालतले भूतपूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाइएका पाँचै जना अभियुक्तलाई निर्दोष ठहर गरेको छ। तर झण्डै एक दशकअघि एउटा राजनीतिक र्यालीमा रहेका बेला गोली तथा बम प्रहार गरी भएको उनको हत्यालाई रोक्न हेलचक्र्याइँ गरेको अभियोगमा दुईजना प्रहरी अधिकारीहरुलाई दोषी ठहर्याइएको छ। ती प्रहरी अधिकारीहरुलाई सत्र वर्षको जेल सजाय सुनाइएको छ। सोही अदालतले पाकिस्तानका भूतपूर्व राष्ट्रपति जेनरल परवेज मुशर्रफलाई मुद्दाको सुनुवाईको बेला अदालतमा उपस्थित नभएको भन्दै फरार अभियुक्त घोषणा गरेको छ। उनलाई पनि बेनजीर भुट्टोको हत्याका सम्बन्धमा अभियोग लगाइएको छ। तर उनी गत वर्षदेखि नै स्वनिर्वासनमा छन्। पाकिस्तानको रावलपिण्डी शहरमा भएको हमलामा बेनजीर भुट्टो मारिएकी थिइन्। पाकिस्तानी राजनीतिमा एक प्रभावशाली व्यक्तित्वका रुपमा रहेकी बेनजीर भुट्टो दुई पटक प्रधानमन्त्री बनेकी थिइन्। बिबिसी

म्याग्दीको विकासमा प्रभावकारी बन्दै सञ्चारमाध्यम

म्याग्दी, भदौ १५ । क्षेत्र नं ४ अन्तर्गतको पहाडी जिल्ला म्याग्दीको समग्र विकास र जनचेतना विस्तारमा यहाँ सञ्चालित सञ्चारमाध्यम प्रभावकारी र परिणाममुखी बन्दै गएका छन् । सञ्चारमाध्यमको विकास र विस्तार सँगसँगै जिल्लामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक क्षेत्रका गतिविधिमा जनचासो र निगरानी बढ्दै जान थालेको छ । लैंगिक र जातीय विभेद, घरेलु हिंसा, भ्रष्टाचार, सामाजिक कुरीति र अन्धविश्वासजस्ता कुरा निरुत्साहित हुँदै गएका छन् । ग्रामीण क्षेत्रका कृषकले सञ्चार माध्यमबाट प्राप्त गरेका सूचना र समाचारबाट उत्प्रेरित भई व्यावसायिकरुपमा तरकारी, फलफूलखेती र पशुपालन गर्न थालेका कारण आयआर्जन गर्न पनि सफल भएका छन् । विसं २०६२-७३ सालअघिको तुलनामा म्याग्दीमा अहिले ५० औँ गुणा बढी सञ्चार माध्यम सञ्चालनमा आएका र ग्रामीण क्षेत्रसम्मको पहुँचका कारण अहिले समाजमा परिवर्तनको सकारात्मक संकेत देखिन थालेको छ । सञ्चार अब म्याग्देली जनताको ढुकढुकी नै बनिसकेको छ । सरकारी सञ्चार माध्यमसँगै निजी सञ्चार माध्यमको पनि लोकप्रियता बढ्दो छ । लाहुरेको जिल्ला भनेर चिनिने यहाँ पछिल्लो समयमा विप्रेषण र कारोबारका कुराभन्दा पनि घटना, सरोकार, विकास र वातावरणसम्बन्धी कुराको चर्चा बढी छ । जिल्लामा एफएम रेडियोको सुरुवातसँगै जनतामा समाचार सुन्ने, विश्लेषण गर्ने, आफ्नो गाउँठाउँमा भएका खबर सार्वजनिक गर्ने र सामाजिक कामप्रति अग्रसर हुने प्रवृत्ति बढ्नुमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका अधिकृत हरिकृष्ण आचार्य बताउनुहुन्छ । देशमा भएको राजनीतिक परिवर्तनसँगै म्याग्दी जिल्लामा पनि सञ्चारको विकास भएको हो । म्याग्दीमा विकास भएको सञ्चारजगत्ले समाज परिवर्तनका लागि राम्रै भूमिका निर्वाह गरेको छ । त्यसो त पत्रकारिताको विषयलाई लिएर कहिलेकाहीँ जिल्लामा टीकाटिप्पणी पनि नहुने होइनन् तर ती टीकाटिप्पणीको आशय पनि जिल्लामा स्वतन्त्र पत्रकारिताको विकास र तटस्थ सञ्चारमाध्यमको भूमिकामा नै केन्द्रित हुने गरेको पाइएको सांसद रेशमबहादुर बानियाँको भनाइ छ । म्याग्दीकोे पत्रकारिता एकदमै फस्टाउँदो अवस्थामा छ । अहिले सदरमुकाम बेनीबजारमा दुई दैनिक, चार साप्ताहिक पत्रिका, दुईवटा एफएम रेडियो र पाँचवटा अनलाइन पत्रिका सञ्चालनमा छन् । रुप्से दैनिक, रिखार दैनिक, बेनी साप्ताहिक, समृद्ध साप्ताहिक, म्याग्दी सञ्चार साप्ताहिक, नवविकल्प साप्ताहिक, म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, बेनी अनलाइन, म्याग्दी अनलाइन, नव विकल्प अनलाइन, रुप्से अनलाइन र पश्चिम म्याग्दी अनलाइन सञ्चालन हुँदै आएका हुन् । त्यसैगरी काठमाडौँ, पोखरा, कुश्मा र बागलुङबाट प्रकाशित र प्रसारित हुने पत्रपत्रिका, रेडियो र टेलिभिजनको समेत म्याग्दीमा राम्रो पहुँच छ । धौलागिरिको पहिलो एमएम रेडियो, धौलागिरि एफएम र धौलागिरि टेलिभिजनले पनि म्याग्दीको समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाहा गरेका छन् । म्याग्दीमा रहेका सञ्चार माध्यम विशेष गरी सामाजिक जागरण र आर्थिक समृद्धितर्फ अग्रसर देखिएका नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष तारानाथ शर्मा बतावउनुहुन्छ । समाजमा विद्यमान कुरीतिदेखि लिएर जनजीविका, संस्कार र संस्कृति संरक्षण, लागुपदार्थ सेवन र यसको असरदेखि लिएर जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, राजनीतिलगायतका क्षेत्रमा यहाँका सञ्चारकर्मीले बढी कलम चलाएका कारण पनि अहिले जनतामा चेतनाको विकास हुँदै गइरहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्य उल्लेख गर्नुुहन्छ । दाइजो प्रथा, बहुविवाह र बालविवाह कानूनको हिसाबले दण्डनीय रहेछ भत्रे कुरा सञ्चार माध्यमबाटै यहाँका आमनागरिकले थाहा पाएका हुन् । महिलामाथि हुँदै आइरहेको सामाजिक अपराध र घरेलु हिंसाका समाचारसमेत यहाँका सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेपछि जिल्लामा घरेलु हिंसाका घटनामा कमी आएको छ । यहाँका पत्रकारले परोपकारी पत्रकारिताको अभ्यास गरिरहेका र परोपकारको क्षेत्रमा म्याग्दीका सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको म्याग्दीको परोपकारी संस्था ‘ओमकुमारी शान्ति कोष’ का उपाध्यक्ष एवं जिल्लाका सक्रिय पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो । महिला पीडित भएमा प्रहरीलाई उजुरी दिनुपर्छ भत्रे चेतनाको विकास राम्रैसँग भएको पाइएको र यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको महिला अधिकार रक्षक सञ्जालका अध्यक्ष एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी बताउनुहुन्छ । पत्रपत्रिकाको तुलनामा यहाँका एफएम रेडियो बढी नै आमजिल्लावासीको घर दैलोमा पुग्छन् । तर यहाँका सञ्चार माध्यम खासगरी रेडियोले यस जिल्लाका नागरिकको जति मन जित्नु पर्ने हो त्यति जित्न भने सकेको नपाइएको स्थानीय बुद्धिजीवीले बताएका छन् । देश विदेशमा भइरहेका घटनाक्रमलाई म्याग्दीका ग्रामीण भेगका नागरिकले रेडियो सुनेर नै थाहा पाउने गर्छन् । सदरमुकाम बेनी बजारमा विभित्र टेलिभिजन प्रसारणमा आउने भए पनि ग्रामीण भेगमा नेपाल टेलिभिजनसमेत राम्रोसँग नआउने जिल्लावासीको गुनासो छ । केबलबाट सञ्चालित टिभी गाउँमा नपुग्ने भएकाले पनि र सदरमुकाम बेनीबजारबाट प्रकाशित हुने पत्रपत्रिका समेत गाउँमा नपुग्ने भएपछि म्याग्दीका ग्रामीण भेगका नागरिकका लागि रेडियो नै एकमात्र सञ्चार माध्यम बनेको स्थानीय बासिन्दाले बताएका छन् । यसरी समाज परिवर्तनका लागि विभित्र पत्रपत्रिका र एफएम म्याग्दीमा क्रियाशील भए पनि यहाँका सञ्चारजगत् राज्यबाट प्रदत्त सुविधाबाट भने ठगिएका छन् । यहाँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका र एफएम लोककल्याणकारी विज्ञापन पाउनबाट वञ्चित छन् । सरकारी कार्यालयका सूचना तथा विज्ञापनहरु समानुपातिकरुपमा एकद्वार प्रणालीबाट वितरण नगरिँदा एक दुई सञ्चारमाध्यमले मात्र फाइदा लिइरहेका छन् भने अरु मर्कामा परेका छन् । अर्जुन मावि भकुण्डेचौरका प्रधानाध्यापक शिवकुमार खत्री भन्नुहुन्छ, “रेडियो र पत्रपत्रिकामा नाम आउँछ भनेर पनि कति मानिस सार्वजनिक काममा सरिक हुन थालेका छन् भने सङ्घसंस्थामा नेतृत्व लिन पनि तँछाडमछाड गर्न थालेका छन् ।

हेराैँ सम्भावित प्रदेश राजधानी, प्रदेश मुख्यसचिव नियुक्तिको गृहकार्य सुरु

काठमाडौं, भदौं १५ । सरकारले निर्वाचन आयोगको आग्रहअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक, तर २ चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २१ मंसिरमा दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो । पहिलो चरणको निर्वाचन भने यसअघि नै १० मंसिरमा गर्ने निर्णय सरकारले गरिसकेको छ । चिसोसँगै हिउँ पर्ने भएकाले पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा तथा दोस्रो चरणमा बाँकी क्षेत्रमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगले सुझाब दिएको थियो । आयोगले पहिलो चरणमा ३१ हिमाली र उच्च पहाडी जिल्लामा निर्वाचन गर्ने जनाएको छ । प्रदेश मुख्यसचिव नियुक्तिको गृहकार्य पनि सुरु सामान्य प्रशासन मन्त्रालयले प्रदेश मुख्यसचिव नियुक्तिका लागि आन्तरिक गृहकार्य सुरु गरेको छ । मन्त्री टेकबहादुर बस्नेतले प्रदेश प्रशासकीय अधिकृत नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने प्रस्ताव तयार पार्न सचिव मोहनकृष्ण सापकोटालाई निर्देशन दिएका छन् । ‘गृह मन्त्रालयले प्रहरी प्रशासनअन्तर्गत प्रदेश इन्चार्जका रूपमा एआइजी खटाइसक्यो, सरकारले निर्वाचनको मिति पनि घोषणा गरिसकेको छ,’ कर्मचारीलाई निर्देशन दिँदै बस्नेतले भने, ‘अब प्रदेश प्रशासकीय अधिकृत(प्रदेश मुख्यसचिव)नियुक्ति पनि चाँडै गर्नुपर्छ । त्यसका लागि मन्त्रिपरिषद्मा पेस गर्ने एजेन्डा तयार गर्नुस् ।’ वित्तीय आयोग गठनका लागि परिषद् बैठक सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठनका लागि संवैधानिक समितिबाट सिफारिस गर्ने निर्णय गरेको छ । त्यसका लागि संवैधानिक परिषद्को बैठक राख्ने निर्णय भएको छ । तीन तहका सरकारबीच राजस्व साझेदारी, केन्द्रीय सरकारले स्थानीय र प्रदेश सरकारलाई दिने अनुदानसम्बन्धी सुझाब दिन संविधानले वित्तीय आयोग गठन हुने व्यवस्था गरेको छ । यस्तै स्थानीय तहको राजस्व तथा क्षेत्राधिकार बाँडफाँड गर्ने जिम्मेवारी पनि वित्तीय आयोगलाई दिइएको छ । नौ सचिवको सरुवा  सरकारले आठजना सचिवको जिम्मेवारी हेरफेर र पदस्थापन गरेको छ । सरकारले निर्वाचन आयोगका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । पर्यटन मन्त्रालयका सचिव शंकर अधिकारीलाई निर्वाचन आयोग सरुवा गरेको छ । यस्तै मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा गरेर भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । आपूर्ति मन्त्रालयमा सचिव प्रेमकुमार राईलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सरुवा गरेको छ । सरकारले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बराललाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेको छ । यस्तै, प्रधानमन्त्री कार्यालयमा रहेका गोपीनाथ मैनालीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको छ । सरकारले भर्खरै बढुवा भएका सचिव रेश्मीराज पाण्डेलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासकको जिम्मेवारी तोकेको छ । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा कृष्णराज विसीलाई पदस्थापनसमेत गरेको छ । विसी प्राविधिक समूहतर्फ सचिवमा बढुवा भएर पदस्थापन भएका थिएनन् । प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने मन्त्रिपरिषद् बैठकले प्रदेशको सदरमुकाम र प्रदेश प्रमुख (गभर्नर) यथाशीघ्र तोक्ने निर्णय गरेको छ । तत्कालका लागि प्रदेश सदरमुकाम अस्थायी रूपमा तोकिनेछन् । बैठकले प्रदेश सदरमुकाम तोक्ने जिम्मा मन्त्रिपरिषद्को राजनीतिक समितिलाई दिएको छ । दुई साताभित्रै समितिले निर्णय गर्नेछ । समितिको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् भने केही प्रभावशाली मन्त्रीहरू सदस्य रहनेछन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बस्नेतका अनुसार राजनीतिक समितिले प्रदेश सदरमुकाम तोक्दा सरकारबाहिर रहेका दल र अन्य सरोकारवाला निकायसँग पनि परामर्श गर्नेछ । निर्वाचन आचारसंहिता लागू निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण सम्पन्न गर्न आयोगले बुधबारबाटै आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्था, सबै सुरक्षा निकाय र सार्वजनिक पद धारण गरेका व्यक्तिमा लागू हुनेछ । यी हुन् सम्भावित प्रदेश राजधानी प्रदेश नंं. १ : इटहरी, विराटनगर, धनकुटा प्रदेश नं. १ का लागि इटहरीलाई सम्भावित सदरमुकामको रूपमा हेरिएको छ । प्रदेशको ठूलो सहरमध्येको एक इटहरी उपमहानगरपालिका भौतिक पूर्वाधारका कारण पनि सम्भावित राजधानी मानिएको छ । यस्तै, विराटनगरलाई पनि सम्भावित राजधानीका रूपमा हेरिएको छ । सरकारले प्रदेशअनुसार गठन भएको उच्च अदालत पनि विराटनगरमै स्थापना गरेको छ । यस्तै, भौतिक पूर्वाधारमा पनि विराटनगर अगाडि छ । पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय सदरमुकाम धनकुटाको सम्भावना पनि उत्तिकै छ । पर्यटकीय रूपमा सुन्दर सहर, क्षेत्रीय प्रशासन कार्यालय रहेको र प्रदेशका सबै जिल्लालाई पायक पर्ने भएकाले धनकुटालाई पनि सम्भावित राजधानीको रूपमा हेरिएको छ । प्रदेश नं. २ : जनकपुर र वीरगन्ज यो प्रदेशको राजधानीको रूपमा जनकपुर र वीरगन्ज देखिएका छन् । ऐतिहासिक सहर र उच्च अदालत पनि भएकाले जनकपुरको सम्भावना बढी छ । प्रदेशको ठूलो सहर र महानगरपालिका भएकाले वीरगन्जको सम्भावना पनि उत्तिकै बलियो छ । वीरगन्ज व्यापारिक सहर पनि हो । तर, भारतसँग सीमा जोडिएका कारण वीरगन्जलाई प्रदेश राजधानी तोक्न प्राविधिक कठिनाइ हुन सक्ने बताइन्छ । प्रदेश नं. ३ : हेटौडा, चितवन,  काठमाडौं, बनेपा र ललितपुर यो प्रदेशका लागि सबैभन्दा धेरै सहर दाबेदार देखिएका छन् । हेटौँडा, चितवन, काठमाडौं, ललितपुर र बनेपालाई प्रदेश राजधानी बनाउन माग छ । सरकारले ललितपुरमा उच्च अदालत स्थापना गरेको छ । काठमाडौं केन्द्रीय राजधानी भएकाले ललितपुरलाई प्रदेश राजधानी बनाउने सम्भावना छ । केन्द्रमा र पूर्वाधारको रूपमा पनि ललितपुरको सम्भावना देखिएको हो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा रहेकाले हेटौँडा प्रदेश राजधानी बन्ने सम्भावना पनि उत्तिकै छ । खुला जग्गा भएको र देशकै राजधानीको समेत विकल्पको रूपमा हेरिएकाले चितवनलाई पनि सम्भावित रूपमा हेरिएको छ । उपत्यका देशकै राजधानी भएकाले बनेपालाई प्रदेश राजधानीको रूपमा तोक्ने सम्भावना पनि उत्तिकै रहेको छ । प्रदेश नं. ४ : यो प्रदेशको राजधानीको रूपमा पोखरा निर्विकल्प देखिएको छ । प्रदेश राजधानीका लागि अन्यन्त्रबाट दाबी नआएको र पूर्वाधार पनि अन्यन्त्र नभएकाले पोखरा राजधानी बन्ने निश्चित छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको सदरमुकाम पनि पोखरामा नै रहेको छ । प्रदेश उच्चअदालत पनि पोखरामा नै स्थापना भएको छ । प्रदेश नं. ५ : यो प्रदेशको राजधानीका लागि रूपन्देहीको बुटवल र दाङको तुल्सीपुरको सम्भावना बराबरीजस्तै छ । बुटवल र तुल्सीपुर दुवैलाई प्रदेश राजधानी बनाउन राजनीतिक रूपमा लबिङ भइराखेको छ । प्रदेश उच्च अदालत र अहिले क्षेत्रीय प्रशासन कार्यालय तुल्सीपुरमा रहेको छ । प्रदेश नं. ६ : कर्णालीका जिल्ला समेटेर बनेको यो प्रदेशको राजधानीका लागि सुर्खेत र जुम्लाको दाबेदारी छ । कर्णालीको केन्द्र र कर्णाली अञ्चल सदरमुकामसमेत भएकाले जुम्ला प्रदेश राजधानी हुने सम्भावना रहेको छ । तर, प्रदेशको उच्च अदालत सुर्खेतमा स्थापना गरेको, क्षेत्रीय कार्यालय पनि सुर्खेतको वीरेन्द्रनगरमै रहेकाले वीरेन्द्रनगरलाई प्रदेश राजधानी तोक्ने सम्भावना पनि उत्तिकै छ । पूर्वाधारका आधारमा पनि जुम्लाभन्दा सुर्खेतको अवस्था निकै बलियो छ । प्रदेश नं. ७ : यो प्रदेशको राजधानीको रूपमा धनगढी र दीपालयको उत्तिकै सम्भावना देखिएको छ । धनगढी सुदूरपश्चिमको ठूलो सहरमध्ये एक हो । भौतिक पूर्वाधार र ठूलो सहर भएका कारण पनि धनगढीको सम्भावना रहेको छ । यस्तै दीपायल पनि प्रदेश राजधानीका लागि निकै बलियो सम्भावना बोकेको सहर हो । क्षेत्रीय कार्यालय रहेको र उच्च अदालत पनि स्थापना भएकाले दीपायलको सम्भावना बढी देखिएको छ । –नयाँ पत्रिकाबाट 

राजविराजमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज, १४ भदौ । सप्तरीको राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा मंगलबार साँझ करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका बस्ने ३२ वर्षीय नन्दकिसोर यादव रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ । करेसाबारीमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा यादवलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदा लैजाँदै बीच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । भैँसीले हान्दा बालिकाको मृत्यु  यसैबीच, सप्तरीको बेल्ही चपेनामा मंगलबार भैँसीले हान्दा एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय जगजीवन खंगकी आठ वर्षीया छोरी बुचियाकुमारी खंग रहेको प्रहरीले जनाएको छ । बुचिया आफ्नै भैँसी चराउन गाउँदेखि पर चौरमा गएको बेला भैँसीले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

एक दर्जन नेताहरु जनमोर्चा छाेडी माओवादी केन्द्रमा प्रवेश (नाम सहित)

धनगढी, भदौ १० । राष्ट्रिय जनमोर्चाका सात नम्वर प्रदेशका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार दिउँसो धनगढीमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय जनमोर्चाका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। जनमोर्चाका नेताहरुले आफूहरु संघीयता र गणतन्त्रप्रति आकर्षित भएर माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । जनमोर्चाका नेताहरुलाई पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, लेखराज भट्ट लगायतले पार्टी प्रवेशमा स्वागत गरेका थिए । जनमोर्चाबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुको नामावली १. हरिकृष्ण कडायत, पार्टी जिल्ला सदस्य तथा बुद्धिजीवी केन्द्रीय सदस्य, २. टंक सञ्याल, पार्टी जिल्ला प्रवक्ता, बुद्धिजीवी जिल्ला अध्यक्ष, ३. सुलोचना कडायत, महिला संगठन जिल्ला सदस्य, ४. पवित्रा सञ्ज्याल, संविधान सभा राजपा उम्मेद्वार, ५. पदम मल्ल, बुद्धिजीवी जिल्ला उपाध्यक्ष, सहायक क्याम्पस प्रमूख, ६. प्रकाश पन्त, उपप्राध्यापक, बुद्धिजीवी नेता, ७. अम्वादत्त जोशी, पार्टी नगर सचिव, ८. शंकरदत्त जोशी, शिक्षक जिल्ला सदस्य, ९. गोकर्ण जोशी, अखिल छैटौ राष्ट्रिय परिषद सदस्य, १०. डम्वरदत्त जोशी, जनमोर्चा नगर सदस्य, ११. वीर बहादुर सिंह, पार्टी जिल्ला सदस्य।

बसियो है कुर्सीमा

नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष गोविन्द आचार्य औपचारिकरूपमा पदभार ग्रहण गरेपछि कुर्सीमा बसेको क्षण । आज एक कार्यक्रममा निवर्तमान अध्यक्ष डा महेन्द्र बिष्टले आचार्यलाई पदभार हस्तान्तरण गरेका थिए ।

सर्पले कसरी गर्छन सेक्स, पत्याउनै नसकिने तथ्यहरू

सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो त्यती नै नयाँपन देखिन्छ भने त्यति नै अचम्मित गरिदिने तथ्य सार्वजनिक हुन्छन् । हरेक जीवसँग सेक्सको तरिका, दृष्टिकोण, मिथ परिवर्तन हुने गर्दछ । चाहे त्यो मानिससँग सम्बन्धित होस् वा सर्पसँग । जीजस रिवास अमेरिकाको मेक्सीको हाइल्याण्ड युनिभर्सिटीमा सर्पका विशेषज्ञ हुन् । अंग्रेजीमा यस्ता जानकारलाई हर्पिटोलोजिस्ट भनिन्छ । केही समय अघि जिजसलाई दक्षिण अमेरिकामा पाइने विशालकाय सर्प अर्थात् एनाकोन्डाको यौनजीवनबारे अचम्म जानकारी प्राप्त भयो । एनाकोन्डामा सेक्स पछि पोथीले भालेलाई खाने गर्दछ । योभन्दा अघि वैज्ञानिकले सर्पको सेक्समा पोथी हावी हुने बुझ्दथे । पोथी सर्प भालेको इशारामा नाच्छ भन्ने सोच्ने गरिन्थ्यो । तर एनाकोन्डाबारे यो जानकारीले उनलाई अचम्मित बनाइदिएको छ । जिजसका अनुसार सर्पको मेटिङबारे यो सबैभन्दा ताजा जानकारी हो । सेक्समा हावी हुन्छन् पोथीः अन्य प्रजातीको जनावरमा भाले ठूलो आकारको हुन्छ र शक्तिशाली पनि । तर सर्पको प्रजातीमा ठ्याक्कै उल्टो हुन्छ । त्यसकारण थुप्रै पटक सेक्स पश्चात् पोथीले भालेलाई निल्ने गर्दछ । एनाकोन्डामा पोथी थुप्रै पटक भालेभन्दा पाँच गुणासम्म ठूलो हुन्छ । जसका कारण पोथीलाई सजिलै निल्न सहयोगी हुन्छ । छेपारो, चरा र स्तनधारी जनावरमा भाले साधारणतया पोथीभन्दा ठूलो आकारको हुन्छ । यसको प्राकृतिक कारण यो हो कि पोथीको तुलनामा भाले ठूलो हुँदा उनीहरुलाई यौनसम्बन्ध बनाउनका लागि साथी खोज्न सहूलियत हुन्छ । तर सर्पको प्रजातीमा भाले पाथीभन्दा ठूलो हुनु फाइदाजनक छैन । सेक्सका लागि अन्य भाले ससर्पसँगको तुलनामा धेरैजसो भाले सर्प आफ्नो पुच्छरले अर्कोलाई धकेलेर पोथी सर्पको प्रजननांगसम्म पुग्ने गर्दछ । यसका लागि उनीहरुलाई पोथीभन्दा धेरै ठूलो हुनुपर्ने आवश्यक छैन । सेक्सको रुची पोथीले नै व्यक्त गर्दछः पोथी सर्प विशाल हुनु धेरैभन्दा धेरै अण्डा दिन र बच्चा जन्माउनका लागि सहयोगी हुने गर्दछ । त्यसकारण साना भाले सर्पले सेक्सको साथीको रुपमा विशाल पोथी सर्पको खोजी गर्दछ । तर प्रश्न यो उठ्छ कि सर्पले त राम्रोसँग देखिँदैन, यस्तोमा यौन सम्बन्ध बनाउनका लागि ठूला पोथीको कसरी खोजी गरिन्छ ? अनुसन्धानमा थाहा भयो कि सर्पमा सेक्सको इच्छा पोथी सर्पले जाहिर गर्ने गर्दछ । जब पोथी सर्प जाडो वा गर्मीमा हाइबरनेशनबाट बाहिर आउँछन् तब उनीहरुले काँचुली फेर्छन् । त्यसपछि उनीहरुले फेरोमन नामको हर्मोन उत्पादन गर्ने गर्दछ । यसैको मद्दतले भाले सर्प उनीहरुतर्फ आकर्षित हुन्छन् । यी हर्मोनको मद्दतले भाले सर्प पोथीको आकारबारे पनि जानकारी पाउने गर्दछ । सर्पको ब्रिडिङ सिजनमा पोथी जति ठूलो हुन्छ त्यसको शरिरबाट त्यति नै धेरै केमिकल उत्पादन हुने गर्दछ । त्यसको पिछा गर्दै भाले सर्प उनीहरुसम्म पुग्ने गर्दछ । भाले सर्पले सानो आकारको पोथीलाई लोभ्याउन कोसिस गर्दैन भन्ने होइन । तर यस्तो निकै कम हुन्छ । तर यो क्रममा यदि कुनै ठूलो आकारको पोथी वरिपरि छ भने भाले सर्पले तुरुन्त आफ्नो ध्यान परिवर्तन गर्दछ । सर्पको बारेमा साधारणतया यो बुझिन्छ कि भाले सर्पले एकैपटक थुप्रै पोथीसँग सम्बन्ध राख्ने गर्दछ । तर नयाँ अनुसन्धानले त्यसको ठिक विपरित नतिजा निकालेको छ । कुनै विशेष पोथीको पिछा लाग्ने गर्दछ एनाकोन्डाः ब्रिटेनको यूनिभर्सिटी अफ वोल्वरह्याप्टनका मार्क ओ’शियाले मलेसियामा पाइने प्याराडाइज फ्लाइंग स्नेकले यसको ठिक विपरित व्यवहार गर्दछ । यहाँ थुप्रै भालेले एक पोथीको पिछा गर्ने गर्दछ । यससँगै सम्बन्धित सर्पको अर्को एक प्रजाति किल–बेलिड–व्हिपस्नेकमा पनि देखिएको छ । यो प्रजातीमा पनि थुप्रै भाले मिलेर एक पोथीलाई लोभ्याउने प्रतिस्पर्धा गर्दछन् । जमिनी स्तरमा सर्पबिच ‘ओर्जी’ (अर्थात् एकैसाथ, एकै ठाउँमा थुप्रै जोडीको सेक्स हुनु) निकै धेरै हुने गर्दछ । जस्तै एनाकोन्डामा पोथी एक ठाउँमा बस्ने गर्दछ । यस्तै भाले एनाकोन्डा त्यसको वरिपरि घुम्ने गर्दछ । त्योसँग टाँस्सिएर रिझाउने कोसिस गर्दछन् । वैज्ञानिकका अनुसार थुप्रै पटक यो प्रक्रिया महिनौंसम्म चल्ने गर्दछ । जिजस रिवासका अनुसार उनले एकपटक हरियो भाले एनाकोन्डाले एक पोथीको पछाडि हात धोएर लागीपरेको देखेका थिए । जबकी वरिपरि थुप्रै अन्य पोथी एनाकोन्डा थिए जोसँग उसले सेक्स गर्न सक्थ्यो । तर उसले त्यसो गरेन एउटैलाई सेक्स गर्न फकाइरहेको थियो । जिजसका अनुसार सायद त्यो उनको वास्तविक प्रेम थियो । एक पोथीको पछाडि सय भाले सर्पः क्यानडामा पाइने गार्टर स्नेकबिच त भयंकर प्रतिस्पर्धा हुने गर्दछ । यहाँ एक पोथीको पछाडि सयभन्दा बढि भाले सर्प लाग्ने गर्दछ । उनीहरु पोथीको वरिपरि लट्पटिरहन्छन् । क्यानडाको म्यानिटोबाको जंगलमा सर्पको मेटिङ सिजनमा यो दृश्य निकै साधारण हो । तर सर्पको यही प्रजाती अमेरिकाको अन्य भागमा त्यही प्रकृतिको हुँदैन । अर्थात्, स्थानको हिसाबले सर्पको सेक्स गर्ने व्यवहार पनि परिवर्तन हुने गर्दछ । जस्तो कि न्यू मेक्सीकोमा पाइने गार्टर स्नेकले यस्तो गर्दैन । यहाँ पोथीले नै आफ्नो यौन साथी छान्ने गर्दछ । पोथीले नै आफ्नो यौनाङ्गले सेक्सको पूरा प्रक्रिया नियन्त्रण गर्दछ र यौन साथी छान्नुका साथै सेक्सको प्रक्रिया कति बेरसम्म चल्नेछ त्यो पनि पोथीले निर्धारण गर्नेछ । सन्तुष्ट नभए अन्य साथीको खोजीः यदि पोथीले भोलेसँग सन्तुष्ट पाएन भने उसले तुरुन्त त्यसबाट छुटकार पाउँछ र अर्को साथीको खोजी गर्न थाल्छ । तर अब यो प्रश्न उठ्छ कि पोथीले कसरी तय गर्छ कि कुन भाले सर्प यौनसम्बन्धका लागि ठिक हुन्छ ? यो प्रश्नको सटिक जवाफ अहिलेसम्म वैज्ञानिकले खोज्न सकेको छैन । तर यो भालेको प्रतिभा र त्यसको लगनमा निर्भर हुने गर्दछ । अथवा, पोथीले आफ्नो छुने ताकतले भालेको ताकतको अन्दाज गर्ने सम्भावना छ । हुन त पोथी सर्पले कुनै एक भालेसँगमात्र यौनसम्बन्ध बनाउनुपर्छ भन्ने जरुरी छैन । धेरैजसो एक पोथी सर्पले थुप्रै भाले सर्पसँग सेक्स गरिरहेको देख्न सकिन्छ । यस्तै, भाले सर्प साधारणतया कुनै एक पोथी सेक्सका लागि तयार भएपछि त्यसप्रति इमान्दार हुने गर्दछ । जब पोथी निदाउँछ त्यतिबेला उनी भाले पोथीको वरिपरि नै घुम्ने गर्दछ । पोथीले एकसाथ थुप्रै सेक्स पार्टनर किन छान्ने गर्दछ ? आखिर पोथी सर्पले थुप्रै यौन साथी निक छान्ने गर्दछ ? सायद त्यसभित्र सेक्सको धेरै चाहना हुने भएकाले हुनसक्छ । अथवा, थुप्रै सर्पसँग यौनसम्बन्ध बनाएर पोथी सर्पले यो निर्णय गर्नेछ कि कुन भालेबाट सबैभन्दा शक्तिशाली बच्चा हुनेछन् । किनभने सेक्सको उद्देश्य त अर्को पीढिलाई जन्म दिनु नै हो । पोथी सर्पसँग भालेको शुक्राणुलाई केही दिनसम्म आफूभित्र बचत गरेर राख्ने क्षमता रहेको हुन्छ । सायद यसकारण त्यसले थुप्रै भाले सर्पसँग सेक्स गर्छ र तीमध्ये त्यो साथीको शुक्राणुका साथ बच्चा पैदा गर्ने तय गर्नेछ जसले सबैभन्दा स्वस्थ बच्चा जन्मिने अन्दाज गरिन्छ । प्रकृतिको खेल हेर्नुहोस्, पोथी सर्पले थुप्रै पटक सेक्सपछि विशेष प्रकारको फेरोमोन हर्मोन छोड्ने गर्दछ जसले भाले सर्पलाई यो सन्देश पुर्याउँछ कि अब त्यसले सेक्स गर्दैन । यस्तै अमेरिकाको लाल गार्टर स्नेकमा भालेले यौनसम्बन्ध बनाएपछि जिलेटिनजस्तो पदार्थ पोथकिो यौन अंगमा छोड्ने गर्दछ । पोथीसँग कसैले जबर्जस्ती गर्न सक्दैनः यसलाई वैज्ञानिकले ‘मेटिङ प्लग’ भन्छन् । यसले पोथीको यौनअंगको बाटो बन्द हुने गर्दछ । अर्थात्, त्यसपछि यदि कुनै भाले सर्पले चाहेको खण्डमा पनि पोथीसँग सेक्स गरेर बच्चा जन्माउन सक्दैन किनभने त्यसको शुक्राणु भित्रसम्म पुग्दैन । तर यो ‘मेटिङ प्लग’ शत प्रतिशत प्रभावकारी हुँदैन । धेरैजसो यसमा शुक्राणु खस्ने गर्दछ । थुप्रै सर्पमा यी मेटिङ प्लगमा शुक्राणु भरिएका हुन्छ जुन बिस्तारै बिस्तारै पाथीको शरिरभित्र पुग्ने गर्दछ । अर्थात्, यी ‘मेटिङ प्लग’ मार्फत भाले सर्पले आफ्नो प्रजातीलाई अगाडि बढाउने काम पनि गर्न सक्छ । पोथी सर्पसँग थुप्रै भालेले सेक्स गर्ने गर्दछ । यस्तो अवस्थामा सबैभन्दा अन्तिममा यस्तो गर्ने फाइदामा रहन्छ । त्यसको शुक्राणु सबैभन्दा माथि हुन्छ र सबैभन्दा पहिले अण्डाशयसम्म पुग्ने गर्दछ । तर, सेक्सपछि आफूलाई कसरी बचाउने भन्नेमा केन्द्रित हुन्छ । किनभने पोथी एनाकोन्डाले सेक्सपछि भालेलाई खाने गर्दछ । त्यसकारण पोथी धेरैजसो सेक्सपछि भाग्ने कोसिसमा रहेको हुन्छ । ट्रान्स्लेट- बीबीसी हिन्दी

रोनीले लिए अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास

भदौं ७ । वेलायती फुटबलका लेजण्ड वाइन रोनीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको छन ।३१ वर्षीय रोनीले ११९ अन्तर्राष्ट्रिय खेलबाट ५३ टोलीका लागि गोल गरेका छन । उनले भनेका छन,‘वेलायत खेल्नु मेरा लागि सधै विशेष रह्यो । म जहिले खेलाडी र क्याप्टेनका लागि विशेष रोजाइको रहे । त्यसमा मलाई ज–जसले सहयोग गरे उनीहरुलाई म धन्यवाद दिन्छु ।’ एएफपी

आंशिक प्रध्यापकले थुने त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारलाई

काठमाडौं, भदौं ६ । विभिन्न माग राखि आन्दोलनमा रहेका आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर र रजिष्ट्रारलाई थुनेका छन । करार सेवामा नियुक्त गर्न माग गर्दै गएको वैशाख १ गतेदेखि चरणवद्ध आंशिक प्राध्यापकहरु आन्दोलनमा छन् । उनीहरु त्रिभुवन विश्वविद्यालयको बल्खुमा रहेको जनप्रशासन क्याम्पस भीसी, रेक्टर, र रजिष्ट्रारलाई थुनेका हुन । उनीहरुले आफ्ना माग पूरा नभएसम्म तीन जनालाई कोठामा थुनेर राख्ने बताएका छन ।

मास हिस्टेरियाले विद्यार्थी हैरान, निको पार्न झाँक्री

(फाइल फोटो) धादिङ, भदौं ६ । सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ ।केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाले बताए । प्रधानाध्यापक थापाका अनुसार गत जेठ महिनामा समस्या देखिएपछि विद्यालय बन्द गरी अहिले पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र उचार गराउँदा पनि सम्भब नभएकाले एउटा गैरसरकारी संस्थाले मनोसामाजिक परामर्श पनि सञ्चालन गरेको थियो, त्यसपछि पनि विद्यार्थीमा यस किसिमको समस्या निरन्तर देखिएको थापाको भनाइ छ ।विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि निरन्तर देखिएकाले गाउँपालिका स्वास्थ्य संयोजक विष्णु रिजालले मास हिस्टेरियाको रुपमा देखा परेको समस्या समाधान गर्नका लागि विद्यालय र घरको वातावरण राम्रो हुनुपर्ने बताए । यस किसिमको समस्या देखिएका विद्यार्थीलाई मनोसामाजिक परामर्श आवश्यक हुने उहाँको भनाइ छ । यो समस्या ‘कन्भर्सन डिसअर्डर’ हो । उनले भने ।विद्यार्थीलाई यस्तो समस्याबाट छुटकारा दिन विद्यालयले झाँक्रीसमेत लगाएको र केही दिनपछि पुनःविद्यालयमा झाँक्री लगाइने प्रधानाध्यापक थापाको भनाइ छ । रासस

ह्वीप उल्लंघन गर्ने १८ सांसदलाई राप्रपाद्वारा कारबाही

काठमाडौं, भदौं ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको व्हिप उलंघन गर्ने १८ जना साँसदलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी संसदीय दलको सिंहदरवारस्थित कार्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमिति, संसदीय दल, कार्यसम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले ह्वीप उल्लंघन गर्ने १८ सांसदलाई प्रमुख सचेतकको प्रतिवेदनको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सोमबार व्यवस्थापिका संसदमा भएको संविधान संशोधन प्रस्तावमाथिको मतदानमा राप्रपाका सांसदहरु दिपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, रेशम लामा, वविना मोक्तान लावती, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पाशवान, रामकुमार सुव्वा, आनन्दीदेवी पन्त, इश्तियाक अहमद खान,गिता सिंह, सरोज शर्मा, सिता लुइटेल (ज्ञवाली), कमलादेवी शर्मा, विराज विष्ट, धानोदेवी महरा र सइन्द्र बान्तवा अनुपस्थित भएका थिए । उनीहरु राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठनको प्रक्रिया सुरु गरेका पशुपति शमशेर राणाको पक्षमा लागेकाले ह्वीप उलंघन गरेका हुन ।

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आर्थिक विधेयक, २०७४’ प्रमाणीकरण गरेकी हुन । व्यवस्थापिका–संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा पञ्चायतदेखिकै बेरुजु उठन बाँकी

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्योट नहुँदा आर्थिक वर्ष ०७३-७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकमा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फर्स्योट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ । त्रिविले बेरुजु फर्स्योटलाई प्राथमिकता दिए पनि आव ०७३/७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो । रजिस्ट्रार उप्रेतीका अनुसार त्रिविमा सैद्धान्तिक बेरुजु धेरै रहेको बताए । त्रिविका आंगिक क्याम्पसले पहिले बजेटमा नराखेर पछि खर्च गरेको र पछि केन्द्रबाट अनुमोदनसमेत नगरेकाले बेरुजुको आकार ठूलो भएको हो । आन्तरिक कार्यक्रमलगायतमा सैद्धान्तिक बेरुजु आंगिक क्याम्पसका अधिकांश रहेको छ । पञ्चायतदेखिको बेरुजु त्रिविमा पञ्चायतकालदेखिको बेरुजु रहेको त्रिविका आर्थिक प्रमुख कुमार हुमागाईंले बताए । पञ्चायतकालमा अध्ययन संस्थानहरूले विभिन्न प्रोजेक्ट ल्याएर काम गरेको, तर त्यसको रेकर्डसमेत पाउन कठिन भएको उनले बताए । पञ्चायतकालमा विद्यार्थीलाई खुवाउने गरेको खानाको विषयमा समेत बेरुजु देखिएको छ । हुमागाईंले यो आर्थिक वर्षमा बेरुजु फस्र्योटको वर्षका रूपमा मनाउने बताए । ‘कसरी हुन्छ हामी बेरुजु फर्स्योट गर्ने तयारीमा छौँ,’ उनले भने । अधिकांश बेरुजु सैद्धान्तिक रहेको, केही असुलउपर गर्नुपर्ने र केही पेस्की लगेको रकममा बेरुजु रहेको हुमागाईंको भनाइ छ । त्रिविले इकाइगत बेरुजु फर्स्योटलाई समेत अघि बढाएको छ ।

सौराहामा बाढी पस्यो, अधिकांश होटल डुबानमा

चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए । सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् । विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो । यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए । नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।