एमालेद्वारा बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन

राजविराज, कात्तिक २० । पार्टी एवं वाम गठबन्धनका निर्णय विपरीत उम्मेदवारी दिएको र उम्मेदवारी दिनेको प्रस्तावक एंव समर्थकमा बसेका तीन जनालाई नेकपा एमाले सप्तरीले कारबाही गरेको छ ।

कारबाही हुनेमा सप्तरी क्षेत्र नं १ प्रदेश सभा सदस्य (क) को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउने कञ्चनरुप नगरपालिका–७ धर्मपुरका प्रकाश खतिवडा एवम् बागी उम्मेदवारको प्रस्तावक एंव समर्थकमा बस्ने कञ्चनरुप नगरपालिका–१२ का अनिल पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मोहम्द मुस्तफा मियाँलाई पार्टीको सदस्यता समाप्त हुने गरी कार्वाही गरिएको एमाले सप्तरीले जनाएको छ ।

पार्टीको हित र प्रतिष्ठामा आँच पु¥याउने तथा पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकाले जिल्ला समिति सचिवालयको बैठकबाट पार्टी विद्यानको धारा ५ को (घ) तथा धारा ४९ बमोजिम पार्टीको सदस्यता समाप्त हुने गरी कार्वाही गरिएको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले सोमबाह जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु अब उप्रान्त पार्टीको कुनै पनि पद र साधारण सदस्यमा समेत नरहेको सो पार्टीले जनाएको छ ।

कांग्रेससँग मिलेर भोट माग्न थाले डा. भट्टराई

गोरखा, कात्तिक १७ । नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली कांग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको सहयोगमा गोरखा–२ का उम्मेदवार भएका डा भट्टराईले बिहीबार गोरखाको बारपाक पुगेर चुनावी घरदैलो र चुनावी सभाका क्रममा अर्थमन्त्री, प्रधानमन्त्री हुँदा आफूले विकास तथा निर्माणको जग राखेको भन्दै सो पूरा गर्न आफ्नो जित आवश्यक रहेको बताए । उनले भने, ‘मेरो उम्मेदवारी कसैको विरुद्ध होइन । शान्ति, संविधान कार्यान्वयन र स्थिरताका लागि हो ।’ आफूले शहीदको सपनालाई घात गरेको प्रतिस्पर्धीले आरोप लगाउने गरेको भन्दै भट्टराईले शहीदका सपना राजतन्त्र अन्त्य गर्दै देशलाई विकास र समृद्धितर्फ लैजाने थियो भन्दै विकास र समृद्धिको नेतृत्व नयाँ शक्तिले गर्दै आएको दाबी गरे । आफूलाई गोरखा–२ मा उम्मेदवार हुन निषेध गरिएको भन्दै भट्टराईले नेता नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै भने, ‘उहाँ माओवादी होइन । उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।’ शान्ति प्रक्रिया आफ्नो पहलमा भएको भट्टराईको भनाइ थियो । यस्तै, भट्टराईले बारपाकीलगायत भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न कम्तीमा रु. पाँच लाखका दरले अनुदान दिनुपर्ने बताए । आफ्नो पालामा बारपाक सडक निर्माण शुरु भएको बताउँदै उनले एक वर्षभित्रमा सडक कालोपत्र गरिने बारपाकीलाई आश्वासन दिएका छन् । चुनावी सभालाई गोरखा–२ प्रदेशसभा (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफूलाई जिताएर विकासको ढोका खोल्न बारपाकवासीलाई आग्रह गरे । यस्तै, उम्मेदवारहरु भट्टराई र दवाडीले बारपाकीका घरघर पुगेर चुनावी घरदैलो र भोट मागेका छन् । चुनावी घरदैलो र सभामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए ।

कार्कीद्वारा झापा १ बाट उम्मेदवारी दर्ता

भद्रपुर, कात्तिक १६ । झापा क्षेत्र नम्बर १ बात प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेताराम कार्की (सुरेन्द्र कार्की) ले उम्मेदवारी गराएका छन । त्यस्तै प्रदेश सभाका लागि (क)बाट श्रीप्रसाद मैनाली र (ख)बाट गोपाल बुढाथोकीले उम्मेदवारी दिए । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका हुन । आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन । सोही क्षेत्रको प्रदेश सभाका लागि काँग्रेसबाट (क)बाट भूमिराज राजवंशी र (ख) बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराउनुभएको छ । लिङ्देनको पनि उम्मेदवारी दर्ता निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको तर्फबाट भएको सो उम्मेदवारीसँगै राप्रपाले झापाको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएको छैन । यसैगरी, सो क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धनबाट (क)बाट वशन्त बानियाँ र (ख) बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दिने भएको छ । साथै निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराए । भने सोही क्षेत्रका लागि प्रदेश सभाका लागि (क) बाट केशव पाण्डे र (ख)बाट अशोक पोखरेलले उम्मेदवारी दिए ।

कांग्रेस कम्युनिष्ट र श्रमजीवी जनता विरोधी: वाम गठबन्धन

काठमाडौं, कात्तिक १६ ।  नेकपा माअाेवादी केन्द्र र नेकपा एमाले वाम गठबन्धनले काङ्ग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको भन्दै अालाेचना गरेकाे छ ।  राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना  काङ्ग्रेससंग नरहेकाे रुपमा चित्रित गरेकाे छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम तराई–मधेसलाई मुख्य कार्यथलो बनाएका राजनीतिक पार्टीहरू मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी भएकाे उल्लेख गरेकाे वाम गठबन्धनले  राप्रपा राजतन्त्रात्मक व्यवस्थाका समर्थक तथा त्यसलाई पुनस्र्थापना गर्न चाहने पूर्व पञ्चहरुले निर्माण गरेको पार्टीका रुपमा व्याख्या गरेकाे छ । वाम गठबन्धन नजरमा  (क) नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएको र विगतमा विर्ता उन्मुलन लगायत स्थापना कालमा कतिपय सामाजिक–आर्थिक सुधारका कदम चालेको भए पनि नेपाली कांग्रेसले सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकारसम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने बिषयमा सकारात्मक भूमिका खेल्न सकेको छैन । यसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशीक एकाधिकारवादी पूँजीपति वर्गसंग सम्झौता र आत्मसमर्पणको रहँदै आएको छ । मुख्य रुपमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका आज नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् । कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको नेपाली काङ्ग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ । यसले कैयन पटक विदेशी हस्तक्षपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयन पटक जनविरोधी काम पनि गरेको छ । यस पार्टीले बहुमत प्राप्त गरेको समयमा नीजिकरणको नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त गरेको छ । नवउदारबादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ । यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसंग छैन । राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन लगायतका कमजोरीहरु हटाएन र जनपक्षीय चरित्र विकास गर्न सकेन भने यसले क्रमशः जनसमर्थन गुमाउँदै जानु अनिवार्य छ । नेपाली कांग्रेस देश, जनता, आन्दोलन र क्रान्तिका पक्षमा उभिएको बेला नेपालका कम्युनिष्टहरुले त्यससँग सहकार्य गरेका छन् । तर जनविरोधी काम र विदेशी हस्तक्षपका अगाडि आत्मसमर्पण गरेको समयमा भने नेपाली कम्युनिष्टहरुले त्यसको आलोचना र विरोध गरेका छन् । भविष्यमा पनि नेपाली कांग्रेससित नेपालका कम्युनिष्टहरुको सम्बन्ध उसले अवलम्बन गर्ने नीति र व्यवहारमा आधारित रहने छ । (ख) तराई– मधेस केन्द्रित पार्टीहरू राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम तराई–मधेसलाई मुख्य कार्यथलो बनाएका राजनीतिक पार्टीहरू हुन् । राजपा मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो । यसले राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्दछ र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक– आर्थिक रुपान्तरणको विरोध गर्दछ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको विरोध गर्दछ । संघीयताको कुरा गरेपनि यो पार्टी स्थानीय तहको स्वशासनको अधिकारको विपक्षममा उभिएको छ । संघीय समाजवादी फोरम राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई–मधेश आधारित पार्टी हो । यसले जातीय र क्षेत्रीय मुद्दालाई रणनीतिका रुपमा अगाडि सारेको छ । यसका नीति, काम र व्यवहार सामाजिक सद्भावलाई कमजोर पार्ने किसिमका छन् । यसको विकासक्रमलाई नजिकबाट हेर्दै यसले अवलम्बन गर्ने नीति र कामको आधारमा यसप्रतिको नीति निर्धारण गर्नु पर्दछ । ग) राप्रपा राप्रपा राजतन्त्रात्मक व्यवस्थाका समर्थक तथा त्यसलाई पुनस्र्थापना गर्न चाहने पूर्व पञ्चहरुले निर्माण गरेको पार्टी हो । आज यो विभिन्न समुहमा विभाजित छ । आफ्ना सामन्तवादी चरित्रमा पर्दा लगाउन राप्रपाका विभिन्न समूहहरुले उदारवाद, लोकतन्त्र र राष्ट्रवादको नारा पनि लगाउने गरेका छन् । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो । राप्रपाका विभिन्न समूहले लिने नीति र गर्ने व्यवहारको आधारमा यी समूहहरूलाई हेर्ने र व्यवहार गरिने छ । (घ) देशमा केही अन्य साना कम्युनिस्ट समूहहरू पनि छन् । उनीहरूको जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्तिको आलोचना गर्दै एकता, धु्रवीकरण र सहकार्यमा ल्याउने प्रयत्न गर्नुपर्दछ । ङ) देशमा विभिन्न नाममा देखापर्ने अतिवादी, दक्षिणपन्थी अवसरवादी चरित्रका समूहहरूका सम्बन्धमा तिनका क्रियाकलापको आधारमा उपयुक्त नीति र व्यवहार निर्धारण गरिने छ ।

कृषि सामग्री कम्पनीमा अख्तियारको छापा

काठमाडौं, कात्तिक १५ ।   कृषि सामग्री कम्पनीको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ‘युरिया मलमा करोडौं घोटाला : ५० हजार बोरामा एक करोडको मल कम’ शीर्षकमा समाचार प्रकाशन गरेपछि यथार्थ जानकारी लिन अख्तियार क्षेत्रीय कार्यालयले कृषि सामग्री कम्पनीमा छापा मारेको हो । आयोगको क्षेत्रीय प्रमुख कालिप्रसाद पराजुलीले कृषि सामग्रीमा छापा मारिएको जानकारी दिए । उनले भने, ‘समाचारका आधारमा हाम्रो टोलीले दिउँसो १ बजे छापा मारेको हो । टोलीले छानबिन गरिरहेको छ ।’ उनका अनुसार प्रारम्भिक चरणको केही बोरा परीक्षण गर्दा दुईदेखि ६ किलोसम्म कम तौल भएको युरिया मलको बोरा फेला पारिएको छ । टोलीले थप बोराको परीक्षण गरिरहेको जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गर्न थप छानबिन र कारबाहीका लागि आयोगको केन्द्रीय कार्यालयलाई पत्राचार गरिने बताए । ‘गोदाममा भएको सबै बोरा अहिले नै हामीले परीक्षण गरेका छैनौं,’ पराजुलीले भने, ‘नमुनाका रूपमा केही बोरामा परीक्षण गर्दा ६ किलोसम्म कम तौल भएको भेटिएको छ । कम तौल भएका केही बोरा छुट्ट्याउन लगाएर छुट्टै राख्न भनेका छौं । थप अनुसन्धान र छानबिन हुँदै छ । अहिले नै सबै भन्न उचित हुँदैन ।’ अख्तियारले छानबिनका क्रममा साँझसम्म ६ सय बोरा कम तौलको अवस्थामा फेला पारेको थियो । कृषि सामग्री कम्पनीले ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जिटुजी) सुविधाअन्तर्गत प्रतिस्पर्धाबेगर भारत आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट खरिद गरी आयात गरेको युरिया मलको अधिकांश बोरा कम तौलको भेटिएको छ । कृषि सामग्री कम्पनीले ५० हजार बोरा युरिया मल भित्र्याएको छ । ५० हजार बोरामै दुईदेखि १० किलोसम्म कम मल रहेको स्रोतको दाबी छ । कृषि सामग्रीले डेढ साताअघि २० हजार मेट्रिक टनमध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन) युरिया मल भित्र्याएको छ । जिटुजीअन्तर्गत कृषि सामग्रीले भारतीय सरकारीको स्वामित्वको एमएमटीसीमार्फत सरकारी स्वामित्वकै ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीसँग उक्त मल खरिद गरेको हो । कृषि सामग्रीको क्षेत्रीय कार्याल प्रमुख गोविन्दप्रसाद पराजुलीले सोमबार तीन हजार बोरा कम तौलको भेटिएको बताएका थिए । तर, स्रोतले ५० हजार बोरामै कम तौलको रहेको दाबी गरेको छ । कम परिमाणका मलका बोरा पाइएपछि क्षतिपूर्ति कसले व्यहोर्ने सम्बन्धमा पनि सम्झौतापत्रमा केही उल्लेख छैन । स्रोत भन्छ, ‘अहिले फेरि भेटिएको कम परिमाणको मलको क्षतिपूर्ति कसले दिने विषयमा कुनै लिखित सम्झौता कृषि सामग्री गरेको छैन । सम्झौतामै गल्ती गर्नेले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख हुनुपर्नेमा त्यस्तो उल्लेख गरिएको छैन । यसले गर्दा सिधै राज्यले आफैं क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिन्छ ।’ अख्तियारको निर्देशकविपरीत खरिद कृषि सामग्री कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत भारतको एक मात्र कम्पनीसँग प्रतिस्पर्धाबेगर युरिया मल खरिद गरेको हो । अघिल्लो वर्ष आयोगले जीटूजीअन्तर्गत प्रतिस्पर्धाबेगर खरिद नगर्न निर्देशन दिएको थियो । आयोगले जीटूजीअन्तर्गत खरिद गर्दा भारतीय सरकारको स्वामित्वमा रहेको चारवटा मल संस्थान कारखानासँग प्रतिस्पर्धा गराएर दररेटका आधारमा कम अंक कवोल गर्ने सरकारी संस्थानसँग मात्रै खरिद गर्न निर्देशन दिएको थियो । तर, कृषि सामग्रीले उक्त निर्देशनविपरीत भारतीय सरकारको स्वामित्वको एक मात्र संस्थानसँग युरिया र डीएपी मल खरिद गर्दै आएको छ । मन्त्रालयद्वारा छानबिन कृषि विकास मन्त्रालयले युरिया मलका बोरामा कम परिमाणमा मल भेटिएको समाचार अन्नपूर्णले प्रकाशन गरेपछि त्यस विषयमा छानबिन गर्न मंगलबार तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सचिव डा.सुरोज पोखरेलले पत्रिकामा समाचार आएपछि वास्तविक जानकारी लिन छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशक हस्तबहादुर बिष्टको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो । समितिलाई स्थलगत अध्ययन गरी पाँच दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । ‘समितिलाई भोलिदेखि नै कार्यक्षेत्रमा काम सुरु गर्न निर्देशन दिएका छौं,’ सचिव पोखरेलले भने । उनका अनुसार ५० किलो तौलको रकम लिएर किसानलाई ४० देखि ४७ किलोको बोरा बिक्री गरी सरकारी संस्थानले ठग्न पाउँदैन । छानबिनका क्रममा कृषि सामग्री संस्थान वा भारतीय कम्पनीको गल्ती भेटिएमा कृषि सामग्रीलाई कारबाहीको दायरामा ल्याइने र भारतीय कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने उनले जानकारी दिए । यसैबीच, सोमबार नै भारतीय राजदूत मञ्जिभसिंह पुरी र कृषि विकासमन्त्री रामकृष्ण यादवबीच मलका विषयमा छलफल भएको छ । नेपालमा गहुँबाली लगाउने समयमा युरिया मल र डीएपी मलको चर्को अभाव भइरहेको विषयमा राजदूत पुरी र कृषिमन्त्री यादबबीच भेटवार्ता भएको हो । गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन सरकारीस्तरमा आवश्यक मल उपलब्ध गराइदिन कृषिमन्त्री यादवले राजदूत पुरीसँग आग्रह गरेका थिए । यो विषयमा बुधबार भारतीय दूतावासमा पुनः थप छलफल गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इलामदेखि कैलालीसम्म फोरमले गर्यो ६२ उम्मेदवारको घोषणा, अध्यक्ष यादव सप्तरी २ बाट लड्ने

काठमाडौं, कात्तिक १४ । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाका लागि ६२ उम्मेदवारको नाम टुंगो लगाएको छ । २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सिट बाँडफाँट गरे लगत्तै फोरमले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको सूची मंगलबार सार्वजनिक गरेको हो । फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । भने वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् । त्यहाँ उनलाई कांग्रेसले समर्थन गर्नेछ । मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ । सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजला यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ । महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ

सबैको चासो गोरखा २, यस्ता छन दलका चुनाबी रणनीति

गोरखा, कात्तिक १३ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाब प्रचार गर्न एवम् कार्यकर्ता परिचालन गर्न राजनीतिक दलले धमाधम निर्वाचन परिचालन कमिटि गठन गर्न थालेका छन । वाम र लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउन संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन भएको हो । वाम गठवन्धन वाम गठवन्धनको उम्मेदवारको प्रचार प्रसारका लागी क्षेत्र नम्वर १ मा कृष्ण धिताल र २ मा हितराज पाण्डे संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरिएको छ । प्रदेश नम्वर १ को क मा लेख बहादुर थापा र ख मा रामशरण बस्नेत रहेको निर्वाचन परिचालन समिति गठन गरिएको छ । त्यस्तै क्षेत्र नम्वर २ को क प्रदेशसभामा कमला नहर्की र हरि काफ्ले, ख मा अमर तमु र विकल श्रेष्ठ रहेको निर्वाचन परिचालन समिति बनाइएको छ । त्यस्तै ८ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय पनि निर्माण गरिएको हितराज पाण्डेले जानकारी दिए । पाण्डेको संयोजकत्वमा चुडामणी खड्का, प्रेम गुरुङ, दिपक देवकोटा, अमर तमु, कमला नहर्की, हरि काफ्ले र विकल श्रेष्ठ रहेको सचिवालय निर्माण गरिएको पाण्डेले जानकारी दिए । त्यस्तै क्षेत्र नम्वर १ को क प्रदेशमा लेख वहादुर थापा र सुरेन्द्र थापा र २ मा रामशरण वस्नेत को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । ‘प्रत्येक वडा÷वडामा वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गर्छौँ,’ पाण्डेले भने । वाम र लोकतान्त्रीक गठवन्धन दुवैले संयुक्त रुपमा निर्वाचन प्रचार प्रसार गर्ने पनि जनाएका छन् । वडा, गाउँपालिका, नगर र जिल्ला स्तरिय निर्वाचन परिचालन समिति र प्रचासप्रसार समिति आवश्यकता अनुसार बढाउने बताइएको छ । लोकतान्त्रिक गठबन्धन कांग्रेसले पार्टी सभापति हरिवहादुर घलेको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको सदस्यहरुमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कमला पन्त, जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, कृष्ण आले, नारायण लामिछाने, किरण श्रेष्ठ, चिरञ्जीवि वाग्ले, रामप्रसाद भण्डारी, रविकला खनाल र चन्दनवावु श्रेष्ठ रहेका छन् । त्यस्तै घलेको संयोजकत्वमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र भातृ संगठनका प्रमुख रहेको ११ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार समिति पनि गठन गरेको छ । क्षेत्र नम्वर १ मा संयोजक नारायण लामिछाने, क्षेत्र नम्वर १ को क प्रदेशमा कृष्ण वहादुर आले, ख प्रदेशमा ठाकुर पुडासैनी संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला सचिव नन्द प्रसाद न्यौपानले जानकारी दिए । निर्वाचन क्षेत्र नम्वर २ मा गोविन्द गुरुङ तथा प्रदेश (क) मा रविकला खनाल र (ख) प्रदेशमा मा सुकदेव दवाडीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको न्यौपानेले जानकारी दिए । ९ गाउँपालिका र २ नगरपालिका स्तरीय समिति पनि गठन गरिएको छ । गोरखा नगरपालिकामा चन्दन बावु खत्री,पालुङटार नगरपालिकामा बलराम खड्का, आरुघाट गाउँपालिकामा टिकाराम गुरुङ, धार्चेमा माला गुरुङ, गण्डकीमा रेशम गुरुङ, शहिद लखनमा खुन प्रसाद रेग्मी, सिरानचोकमा जीवन वानियाँ र अजिरकोटमा रेशम गुरुङ संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । त्यस्तै ९४ वटै वडामा वडा स्तरीय चुनाव प्रचार प्रसार समिति पनि गठन गरिएको छ । ‘तरुण दल, महिला संघ लगायतका भातृ संघहरु पनि परिचालन गर्छौँ,’ न्यौपानेले भने । नयाँ शक्तिले रमेश पोखरलेको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । चुनावी तालमेल गरेका कांग्रेस, नयाँ शक्ति र राप्रपाको प्रचार प्रसार समितिको संयुत्त वैठक वस्ने बताइएको छ ।

अपडेट: सवारी दुर्घटनामा परि १९ जनाको मृत्यु

काठमाडौं, कात्तिक १३ । गुल्मीको बीरवासमा माइक्रो बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । बा ४ ख ५५०१ नम्बरको बस गुल्मीको गुल्मी–दरबार गाउँपालिका ४ मा सडकबाट तल खसेको थियो । उद्धारका लागि प्रहरी घटनास्थल गुल्मीका असई शिवनाथ यादवले जानकारी दिए । घटनास्थल सदरमुकामबाट टाढा रहेको र उद्धारका लागि प्रहरी जाँदै गरेकाले विस्तृत विवरण आउँन बाँकी छ । त्यस्तै, उदयपुरबाट ओखलढुंगा जादै गरेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो कटारी नगरपालिका–११ ठाटी भन्ज्याङमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । १० जना सवार सो टाटासुमो सडकबाट करिब ४ सय फिट तल खसेको प्रहरीले जनाएको छ । जीपमा सवार अन्यको अवस्था थाहा हुन सकेको छैन । उद्धारका लागि प्रहरी टोली घटनास्थल तर्फ गएको सहकर्मी डिल्लीराम खतिवडाले जनाएका छन् ।

वाम गठबन्धन लोकतान्त्रिकभन्दा ७ हजार मतले म्याग्दीमा अगाडि

म्याग्दी, कात्तिक १३ । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरू तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेपछि कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनको तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा छन । प्रदेश सभाको क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी र प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचन उम्मेदवार बनेका छन । प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन । एमालेकी पुन पूर्व राज्यमन्त्री हुनु । तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ । प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका वैकल्पिक केन्द्रीय सदस्य थापा जिविसको पूर्व उपसभापति हुनु । जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए । नेपाली काँग्रेस म्याग्दीका सभापतिसमेत रहेका उम्मेदवार गर्बुजा विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग तीन हजार ४४६ मत अन्तरले पराजित भएका थिए । बेनी नगरपालिका–१ रत्नेचौरका थापा राष्ट्रिय राजनीतिमा पुग्न सफल जिल्लाका सीमित नेता मध्येमा पर्छन भने रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजा बेलायती सैनिकबाट अवकाशपछि राजनीतिमा सक्रिय छन । । गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ । एमाले माओवादी आफ्नो जनमत सुरक्षित गराउन र काँग्रेस र राप्रपाका मतदातालाई आकर्षित गर्ने कसरतमा जुटेका छन् । स्थानीय तह निर्वाचनमा ७१ हजार ४६३ जना मतदाता रहेकामा आसन्न निर्वाचनका लागि चार हजार ७५ मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए । बेनी नगरपालिकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलियो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने उम्मेदवार गर्बुजाले बताए । स्थानीय तह निर्वाचनमा काँग्रेससँग तालमेल गरेको माओवादीसँग यसपालि आफ्नो तालमेल र बलियो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित गरे वाम गठबन्धनको बिरासत जोगिने एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । रासस

विवेकशील साझाका संयोजक रवीन्द्रको मत माग्ने फरक शैली

काठमाडौं, कात्तिक १३ । बिहानको ९ पनि नबज्दै विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र मैतीदेवी चोकमा झुल्किए । उनका पछिपछि दुई दर्जनजति कार्यकर्ताको हूल थियो । मत माग्न हिँड्ने उम्मेदवारहरूको सनातनी शैलीमा मिश्र थिएनन् । न उनको घाँटीमा माला थियो न नारा लगाइरहेका कार्यकर्ताको भीड । न झन्डा, न चर्को भाषण । चोकैको एक किराना पसलमा छिरेका मिश्रले साहुजी राजेन्द्र महर्जनलाई नमस्कार गरे । आफ्नो परिचय दिए र आफ्नै शैलीमा भने, ‘यो बाटोको धूलो खाने तपाईं हामी जनताले हो । तर उपचारमा विदेश जाने त नेताहरू नै हुन् । मिश्रको कुरा सुनेर महर्जनले टाउको हल्लाए र भने, ‘हो नि । सुख पाउने नेताले, दुस्ख पाउने जनताले ।’ बीबीसी नेपाली सेवाबाट लामो समय पत्रकारिता गरेकै कारण मिश्र सडकमा हिँड्ने धेरैका निम्ति परिचित देखिएका थिए । तर नयाँ राजनीतिक दल भएकै कारण मिश्रको दलको तराजु चुनाव चिह्न भने धेरैका निम्ति नयाँ थियो । मिश्र आफू अरू दलभन्दा फरक भएको र इमानसहितको राजनीतिका निम्ति आफूलाई मत दिन आग्रह गरिरहेका थिए । कपडा पसल गरेर बसेका सुमन श्रेष्ठ मिश्रलाई देख्नेबित्तिकै हुर्रिएर आए । ‘तपाईंको सबै कार्यक्रम सुन्ने गर्थें’ भन्दै सुमनले मिश्रलाई खादा लगाइदिए । मिश्रले तुरुन्तै त्यो खादा सुमनकै घाँटीमा लगाइदिन खोजे । उनले भने, ‘मतदाता पो ठूला मान्छे हुन् त । त्यसैले यो खादा म तपार्इंलाई नै लगाइदिन चाहन्छु ।’ तर सुमन तर्किएको तर्कियै गरेपछि मिश्रले खादा हातमा लिए । संक्षिप्त कुराकानीमा सुमनले शुभकामना मात्रै दिएनन्, देश बिग्रिन लागेको चिन्ता पनि व्यक्त गरे । कान्तिपुरसँग सुमनले भने, ‘हामीसँगैका देश कहाँ पुगिसके । हामी जहाँको त्यहीं छौं । राजनीति नसुधारेसम्म केही हुन्न ।’ आफूहरूको दल नयाँ भएको र केही गतिलो काम गर्न खोजेको भन्दै मतदातालाई बुझाउन मिश्रको धेरै समय खर्च भइरहेको थियो । उनले एक जना मतदाताको चित्त बुझाउने गरी भने, ‘सबैले हामीलाई यिनीहरू राम्रा छन् तर साना छन् भन्छन् । यसो भनेर त परिवर्तन हुँदैन नि । मत नदिई त कसरी हुन्छ रु’ मत मागिरहेका मिश्रले कसैसँग पनि विकासका ठूला कुरा र आश्वासनका भारीभरम शब्द खर्चेनन् । उनले सबैसँग एउटै कुरा भने, ‘हामी मान्छे हुनाले गल्ती त गरौंला तर बेइमानी गर्दैनौं ।’ इनु अर्यालले मिश्रका हातमा नरिवलको डल्लो दिँदै भनिन्, ‘यो सगुन भगवानको प्रसाद हो ।’ अर्यालले आफूहरूले पञ्चायतको विरोध गर्न नानीमैया दाहाललाई पनि जिताउन पछि नपरेको इतिहास सुनाउँदै भनिन्, ‘मतदाताहरू विवेक प्रयोग गर्न सक्ने भइसके ।’ बिहान ५ बजे उठेर घरदैलोमा हिँडेका मिश्र राति १० बजेतिर मात्रै घर पुग्छन् । पछिल्ला दस दिनयता बदलिएको दिनचर्याबारे सुनाउँदै मिश्रले भने, ‘मतदातासँग पर्याप्त संवादको खाँचो छ ।’ मतदातालाई नमस्ते गर्दै हिँडिरहेका मिश्रको हात पाका उमेरका शिवराम आचार्यले च्याप्प समातेर भने, ‘विस वि अल दि बेस्ट १’ मिश्रले दुई हात जोडेर नमस्ते गरे र मीठो स्वरमा भने, ‘तपाईंको आशीर्वाद लागोस् । मनैदेखि खुसी लाग्यो ।’ व्यंग्यको भावमा आचार्यले भने, ‘कस्तो खुसी मानसिक कि राजनीतिक रु’ मिश्र मुसुक्क मुस्काए मात्रै । कान्तिपुरबाट

पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिन वाइसीएलका वरिष्ठ उपाध्यक्ष देवकोटा निर्देशन

चितवन, कात्तिक १२। वाईसीएलका वरिष्ठ उपाध्यक्ष सुमन देवकोटाले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन । वाईसीएल चितवनको आयोजनामा पार्वतीपुर बजारमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । साथै क्षेत्र नम्बर ३ (ख) अन्तर्गतका नवनिर्वाचित वडा कमिटीका पदाधिकारीहरुको घोषणा पनि गरिएको थियो ।   सो अवसरमा वाईसीएलका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन देवकोटाले युवाहरु सधैं समाजको विकासमा लाग्नुपर्ने बताए । उनले राष्ट्र निर्माणमा युवाजगत वर्गको महत्वपूर्ण भूमिका हुने भन्दै युवाहरु सिर्जनशील कार्यमा लाग्नुपर्ने बताए । साथै, जनभावना अुनसार कार्य गर्न, जनताको पिरमर्का र समस्याहरु समाधान गर्ने कार्यमा खटिनसमेत आग्रह गरे । देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाईसीएल जिल्ला संयोजक ईश्वर रेग्मी, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुर्य सुवेदी ‘पथिक’, जिल्ला नेता यमबहादुर परियार, वाईसीएल केन्द्रीय सदस्य साजन अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथिले वाईसिएलले जनताको काम गर्नुपर्नेमा जोड दिँदै समग्र पार्टीको जीतमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । वाईसिएलले समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको भन्दै स्थानीय जनताले वाईसिएलको खुलेर प्रसंशा गरेका थिए ।

निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र भइरहेका छ : विष्ट

काठमाडौं कात्तिक १२ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण नहुने बताएका छन । त्यसका लागि सबै कम्युनिष्टहरु एक भएर विकास र सम्बृद्धि लागि जुट्नु पर्ने बताए । उनले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणका लागि बाम एकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई सँधै गरीब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरीबि र बेरोजगारी अन्त्यका लागि स्थीर सरकार चाहिने र त्यसका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए । ‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैन तवसम्म देशको आर्थिक समृद्धि हुँदैन’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने ‘गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण हुँदैन त्यसैले कम्युनिष्टहरु एक भएर जनतालाई सँधै गरीव राख्ने बर्गको विरुद्ध लाग्नुपर्छ ।’ उनले देशमा सँधै सरकार गठन गर्न अरुले कुन संकेत गर्छन भन्ने कुरा अन्त्य भएपछि समृद्धिको दिशामा गति लिने बताए । उनले अहिले नेपाली काँग्रेसले अरु शक्ति केन्द्रलाई प्रयोग गरेर चुनाव भाँड्न लागिरहेको आरोप लगाए । तर त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । ‘निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र गरीरहेको छ’ उनले भने ‘कतिपय संबैधानिक निकायलाई प्रयोग गरेर जनताको जनमत रोक्ने काम ग¥यो भने परीणाम राम्रो हुने छैन ।’

जाडोको लागि जोहो गर्दै

आइतबार काठमाडौंको महाबौद्धमा जाडोको लागि जुत्ता छान्दै सर्वसाधारण। तस्बिरः प्रदीपराज वन्त

तराई झर्न डराउँछन् पहाडिया

इलाम, कात्तिक १२ । पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् । रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा बिर्तामोडमा जान डराउन थालेका तर महत्वपूर्ण काम परेमा मात्र तराई झर्न थालेका देउमाई नगरपालिकाका युवराज आचार्य बताउँछन । व्यापारी, बालबालिका पढाउने अविभावक र सुविधायुक्त अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जानेहरु अहिले चिन्तित छन् । विर्तामोड अहिले डेँगु प्रकोप क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत चिन्तित छन् । लत्ताकपडा, निर्माण सामग्रीदेखि सम्पूर्ण दैनिक उपभोग्य वस्तुको खरिद केन्द्र काँकडभित्ता, दमक र बिर्तामोड महत्वपूर्ण मानिन्छन् । डेँगु प्रकोपदेखि डराएका कारण तराई झर्ने यात्रुको संख्या पनि दिनदिनै घट्दै गएको सवारी साधान सञ्चालकहरू बताउँछन् ।

बाढी प्रभावितलाई घर बनाउन जापानबाट सहयोग

चितवन, कात्तिक १२ । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले शनिबार यहाँ एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरेको हो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा भएको कार्यक्रममा यहाँका १० घर बाढी प्रभावितको घर निर्माणका लागि रु चार लाख सहयोग भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले विदेशमा रगत र पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढी पीडितलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन । रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत यहाँका १० घरलाई जापानबाट आएको सहयोग हस्तान्तरण गरेको बताउँदै अर्को चरणमा अन्य देशबाट संकलित रकम दक्षिण चितवनको माडीका बाढी प्रभावितहरुलाई सहयोग गर्ने जानकारी दिइन । गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३, २३, २७ र २८ मा बढी क्षति पु¥याएको महानगरपालिकाले जनाएको छ । यहाँका बुद्धिराज महत्तो, तारा महत्तो, सीताराम महत्तो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महत्तो, जीवन महत्तो र यमराज महत्तोको घर बाढीले क्षति पु¥याएको थियो । सो रकम उनीहरुकै घर निर्माणमा खर्च गरिने छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङले प्राप्त सहयोगको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे। कार्यक्रममा चितवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

राष्ट्र बैंकले तोकेको आजको बिदेशी मुद्राको बिनिमय दर

 काठमाडौँ, कार्तिक ११ । नेपाल राष्ट्र बैंकले तोकेको आजको बिदेशी मुद्राको बिनिमय दर-