सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ, भदौ २९ । दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ । मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारकोे सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गरी प्रसूति जाँच गरेको बच्चालाई बी.सी.जी. खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको बताइएको छ ।

प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता पाँच हजार दुई किस्ता गरी दिइने छ । जसअन्तर्गत चारपटक गर्भ जाँच र सूचीकृत स्वास्थ्य संस्थामा (नेपालभर या बाहिर पनि) प्रसूति सेवा लिएमा रु ९०० प्रसूति सेवा लिएका संस्थाबाट प्राप्त हुनेछ । दोस्रो किस्ता रकम रु चार हजार १०० तुलसीपुर उपमहानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराइनेछ । प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता एकजना महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ ।

पाँच सय ३२ जनाको निःशुुल्क आँखाको शल्यक्रिया सेवा

यहाँको अस्पतालले ५३२ जना आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले सात दिनसम्म सञ्चालन गरेको निःशुल्क मोतियाविन्दुको आँखाको शल्यक्रिया शिविरमा ५३२ जनाको बिरामीको आँखामा मोतियाविन्दु देखिएको र उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालन भएका राप्ती आँखा अस्पताल रक्षाचौरमा १२८, लमही आँखा अस्पताल ९१ र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुमा ३३२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालले बताउनुभयो । यसअघि अस्पतालले आँखा शल्यक्रियाका लागि कम्प्युटर प्रविधि (फेको)बाट रु सात हजार ५०० र हाते प्रविधि (एसआइसिएस) प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया गरेको शुल्क रु दुई हजार ५०० लिँदै आएको थियो ।

खोलामा डुबेर दुई युवतीको मृत्यु

कपिलवस्तु, २५ भदौ । यशोधरा गाउँपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहार रहेको प्रहरीले जनाएको छ । कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावतीको पनि डुबेर मृत्यु भएको थियो । दुबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएकोे प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री महराद्वारा ग्वान्जाओमा महावाणिज्य दूतावासको उद्घाटन

काठमाडौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरेका छन् । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए  । यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताए ।  । उनले आउँदा दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गरे ।  झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन् । उनीहरुका अनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने छन् । कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतको उपस्थिति रहेको प्रेस जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिए ।

राष्ट्रपतिदेखि सभामुखसम्मले लबिङ गरे ‘इच्छापत्र’ रोक्न

काठमाडौं, भदौ २५ ।  कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो सम्पत्ति अर्को व्यक्तिको नाममा हस्तान्तरण हुने गरी ‘इच्छापत्र गरिदिने’ प्रावधानसहित संसद्को विधायन समितिले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख ओनसरी घर्तीमगरको ‘लबिङ’ ले अन्तिम समयमा संसद्मा रोकिएको छ । समितिले इच्छापत्र (बिल सिस्टम) को व्यवस्थासहित पारित गरी संसद्मा पठाएको देवानीसंहिता राष्ट्रपतिदेखि सभामुख र अन्य एनजीओकर्मीको दबाबमा पारित हुनबाट रोकिएको हो । मुलुकी ऐन प्रतिस्थापन गर्ने फौजदारीसंहिता संसद्ले सजिलै पारित गरे पनि देवानीसंहितामा ठूला ठाउँबाटै दबाब आएपछि रोकिएको समितिका सदस्य बताउँछन्  । बिल पद्धतिले सम्पत्तिमा महिलाको हक नहुने भन्दै प्रधानमन्त्री पत्नी डा. आरजु राणालगायत अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामा आबद्धहरूले लबिङ गरेका थिए । बाबुआमाको सम्पत्तिमा महिलाले अंश पाउन लागेका बेला ‘बिल सिस्टम’ ल्याइएको भन्दै प्रधानमन्त्रीपत्नी राणालगायत एनजीओकर्मीले विधेयक रोक्न अभियान नै चलाएका थिए । संसद्मा महिला सांसदहरूको समूह (ककस) गठन गरेर त्यसको संयोजक राणा आफैं बनेकी थिइन् । महिला ककसले राष्ट्रपति भण्डारी, सभामुख घर्तीमगरदेखि तीन दलका शीर्ष नेतासँग भेटेर ‘इच्छापत्र पद्धति’ हटाउनुपर्ने अभियान सुरु गरेका थिए । महिला सांसदले अभियान नै सुरु गरेपछि तीन दलका शीर्ष नेतासमेत पछि हटेको सांसद बताउँछन् । ‘यही गर्नु थियो भने हिजो समितिमा किन संशोधन नहालेको त ? ‘समिति सभापति गंगा चौधरी सत्गौवाले असन्तुष्टि जनाउँदै भनिन्, ‘बाह्य दबाबमा विधेयकमा परिवर्तन गर्न खोजिँदै छ ।’ राष्ट्रपति भण्डारीदेखि सभामुख घर्तीमगरसम्मले इच्छापत्र पद्धति हटाउन दबाब दिएको समितिका सदस्य बताउँछन् । इच्छापत्रको व्यवस्था (बिल सिस्टम) का कारण महिलाले सम्पत्ति नपाउने हुन् कि भन्ने शंका गर्नुको अर्थ नरहेको सभापति सत्गौवाले दाबी गरिन्। ‘इच्छापत्र दिने व्यक्ति पुरुष मात्र हुन्छन् भन्ने छैन, महिला पनि हुन्छन्’, सभापति सत्गौवाले भनिन्, ‘अनावश्यक भ्रम फैलाएर विधेयक रोक्नुको कारण छैन।’ देवानीसंहिता बिहीबार नै संसद्बाट पारित गर्ने तयारी थियो । तर, शक्तिकेन्द्रको दबाब र लबिङले कार्यसूचीबाट हटाइएको थियो। समितिले पारित गरेको विधेयकमा ‘१८ वर्ष उमेर पूरा भई होस ठेगानमा रहेको कुनै पनि व्यक्तिले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति आफ्नो मृत्युपछि अर्को व्यक्तिको हक, भोग र स्वामित्वमा हस्तान्तरण हुने गरी एकतर्फी रूपमा लिखत गरिदिए निजले इच्छापत्र गरेको मानिनेछ’, भन्ने व्यवस्था छ । तर, विदेशी नागरिकलाई भने इच्छापत्र गरी सम्पत्ति दिन नसकिने प्रस्ट उल्लेख छ । ‘कानुन मन्त्रालय, सर्वोच्च अदालत हुँदै संसद्मा व्यापक छलफल गरेर हामीले इच्छापत्र पद्धति ल्याएका हौं’, संविधानविद् एवं सांसद राधेश्याम अधिकारीले भने, ‘१३/१४ वर्षको अध्ययन, छलफल र विश्लेषणपछि यो व्यवस्था गरेका हौं। समितिमा कसैको विरोध नभई सर्वसम्मत रूपमा गरिएको प्रावधानलाई रोक्न खोजियो।’ इच्छापत्र पद्धतिमा महिलाले अंश नपाउने भन्ने तर्क झुटो भएको अधिकारीले दाबी गरे । समितिमा देवानीसंहिता अध्ययन उपसमितिका संयोजकसमेत रहेका उनले भने, ‘सम्पत्तिमा अंशबन्डाको झगडा कम गर्न र बुबाआमाको सम्पत्तिमा छोराछोरी भर नपरुन् र आत्मनिर्भर हुन् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो ।’ विदेशमा छोराछोरी भएका कारण बाबुआमाले नेपालमा आफ्ना नाममा रहेको सम्पत्तिसमेत बेच्न नपाएको र जसको नाममा सम्पत्ति छ उसले आफ्नो सम्पत्तिको निर्णय आफैं गर्न पाओस् भनेर पनि इच्छापत्र पद्धति विधेयकमा राखिएको तर्क उनले गरे । इच्छापत्र पद्धतिले सम्पत्ति पाउने आसले पनि वृद्ध आमाबाबुको सेवा गर्न छोराछोरीलाई बाध्य बनाउने समितिका सदस्य बताउँछन् । दलका नेताले देवानीसंहितालाई तत्काल रोक्न भनेकाले इच्छापत्र पद्धति राख्ने/नराख्ने निर्णय छिटो गर्नुपर्ने अधिकारीको भनाइ छ । ‘यो संसद्को आयु नै अब थोरै छ। संसद्बाट पारित गर्न सकेनौं भने हामीले गरेको सबै मिहिनेत खेर जान्छ’, उनले भने । जन्मदेखि मृत्युसम्मका सम्पूर्ण काम समेटेर जंगबहादुर राणाका पालामा बनेको मुलुकी ऐन प्रतिस्थापन गर्न लागिएको हो । फौजदारीसंहिता पारित भए पनि देवानीसंहिता पारित नभई मुलुकी ऐन पूर्णरूपमा प्रतिस्थापन हुने छैन । –अन्नपूर्णबाट 

साउथ एसियन फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म ‘बिजुली मेसिन’ बाट हुने

भदौ २४ । अमेरिकाको सियाटल सहरमा यही अक्टोबर ६ देखि १५ सम्म हुन गइरहेको तस्बिर साउथ एसियन फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म ‘बिजुली मेसिन’ बाट हुने भएको छ । यस नेपाली चलचित्रका निर्देशक नविन अवाल र निर्माता रिशव आचार्य, विन्दु तिमिल्सिना, सञ्जीव न्यौपाने, दिपेन बस्नेत रहेका छन् भने राजेश हमाल, बुद्धि तामाङ्ग, अभिषेक सुवेदी, रेलिजा श्रेष्ठ, जीवन अधिकारी आदि कलाकारहरुको मूख्य भूमिका रहेका छन् ।

शताब्दीकै शक्तिशाली भूकम्प

भदौ २३ । मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् । भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको मृत्यु भएको छ उनले बताए । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको नियटोले जनाए। युएस जीओलोजिकल सर्भेले भूकम्पको गहिराइ ७० किलोमिटर रहेको जनाएको छ। मेक्सिको सिटीमा भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए भूकम्प लगत्तै मेक्सिकोका साथै छिमेकी देशहरु ग्वाटेमाला, एल साल्भाडोर, कोस्टरिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ। मेक्सिकोमा तीन मिटरसम्मको अग्लो छाल आउन सक्ने बताइएको छ । भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो ।त्यहाँ भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए । भूकम्पको केन्द्रविन्दुभन्दा एकहजार किलोमिटर पर रहेका मेक्सिको सिटीमा एक मिनेटसम्म धक्का महसुस गरिएको थियो ।मेक्सिकोका लगभग ५ लाख नागरिकहरुले कम्पन महसुस गरेको र मृतकको संख्या बढ्न सक्ने नियटोले बताए। भूकम्पका कारण दक्षिणी मेक्सिको र पश्चिमी ग्वाटेमालामा धेरै क्षति भएको बताइएको छ ।आपत्काल घोषणा गरिएको चियापस राज्यको तटीय क्षेत्रहरुबाट मानिसहरुलाई स्थानान्तरण गरिएको थियो । यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए । बिबिसी

निर्वाचनमार्फत नेपाल स्थिर होस् : चीन

काठमाडौं, भदौ २३ । चीनका प्रधानमन्त्री लीले नेपालको स्थायित्व चीनको चासो भएको बताएका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरासँगकाे औपचारिक वार्तामा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री लीले आसन्न निर्वाचनमार्फत नेपालले स्थायित्व हासिल गर्ने विश्वास व्यक्त गरेका हुन् । महराले निर्वाचनमार्फत नेपालले शान्ति, स्थिरता र आर्थिक विकासको बाटो समात्ने विश्वास दिलाएका थिए । महराले चिनियाँ प्रधानमन्त्रीसँग चीनसँगको सम्बन्धबारे नेपालमा सबै पार्टीहरू एकै ठाउँ उभिएको र चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताए । ‘नेपाल–चीन सीमापार रेल्वे परियोजनालाई राष्ट्रिय प्राथमिकता आयोजनाका रूपमा अघि बढाउन नेपालका विपक्षीसहित सबै प्रमुख राजनीतिक दलहरूबीच साझा सहमति रहेको सन्देशसहित म आएको छु,’ नेपाली दूतावासका अनुसार महराले चिनियाँ प्रधानमन्त्रीसँग भने । भेटमा दुवै पक्षबीच सो परियोजनाको प्राविधिक पक्ष चाँडै टुंगो लगाउने सैद्धान्तिक सहमति पनि भएको छ । उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि दुवै पक्ष सहमत भएको छ । ‘अरनिको राजमार्ग शीघ्र सञ्चालनमा ल्याउनुपर्छ भन्ने नेपालको दृष्टिकोण मैले राखेँ । हामी विद्यमान सीमा–नाकाको स्तरोन्नति गर्ने तथा नयाँ नाका खोल्ने विषयमा पनि सहमत भएका छौँ,’ महराले भने ।  

बेइजिङमा महरा द्विपक्षीय छलफलमा व्यस्त, केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवे छिट्टै थाल्ने

काठमाडौं, भदौ २२ । राजनीतिक भ्रमणको क्रममा चीनमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाट शुरु गरेका छन । मन्त्री महराले बिहीबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका हुन । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा महराले अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन नेपालका मुख्य राजनीतिक दलहरु सहमत भएको जानकारी दिएका थिए । यसअघि भएको नेपाल र चीनबीच व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई छिट्टै टुंगाउने सहमति भएको छ । महराले भेटमा आफू र वाङ यीबीच केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको जानकारी दिए । साथै वान बेल्ट वान रेड अवधारणा अन्तर्गत नेपालमा भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रस बोडर कनेक्भिटिभी, व्यापार, पर्यटन र लगानी बृद्धि हुने विश्वास नेपालले लिएको उनले बताए । भेटमा दुई देशबीच उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको उपप्रधानमन्त्री महराले बताए । साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको प्रगतिको पनि समिक्षा भएको छ ।

८८ किजो सुन प्रकरणका दुई जना पक्राउ

रसुवा, भदौ २२। इतिहासकै सबैभन्दा ठूलो परिमाणको ८८ किलो सुन प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरिएको उक्त ठूलो परिमाणको सुन रसुवाबाट भित्र्याएको थियो । उक्त सुन काण्डमा संलग्न दुई जना सवारी चालकहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् । उनीहरुले तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए । रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको छ, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको तीन र नेपाली सेनाको तीनवटा जाँच परीक्षणको पोस्ट रहे पनि नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा वा१७च ६४२७ नंको टाटा सफारीकार दर्ता भएको नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार विहान सो ठूलो परिमाणको सुन काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।

२५ वर्षपछि नाच छमछम

भक्तपुरको मध्यपुरथिमी भूलाखेलमा २५ वर्षपछि महाकाली नाच प्रदर्शनी गरिँदै । नाच येंया पुन्ही (ईन्द्रजात्रा)को भोलिपल्टदेखि चार दिनसम्म विभिन्न ठाउँमा प्रदर्शनी गर्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ, भक्तपुर

जितपुर सिमरा जित्नेमा माओवादीकै चर्चा

जितपुर सिमरा उपमहानगरपालिकामा माओवादीको पक्षमा चुनावी माहोल तातेको छ । २ असोजमा हुन लागेको दुई नम्वर प्रदेशको स्थानिय तह निर्वाचनमा वाराको जितपुरसिमरा उपमहानगरपालिका माओवादी केन्द्रले जित्ने आधार वलियो हुदै जान थालेको छ । काग्रेस–एमाले भित्रको आन्तरिक अन्तरकलह, माओवादीको पक्षमा उर्लिएको लहर र सामाजिक राजनीतिक छवि वनाएका उम्मेदवार चयन लगायतका कारण पन िमाओवादी केन्द्रले जितपुरसिमरा उपमहानगरपालिकाको परिणाम आफनो पोल्टामा पार्ने सम्भावना वलियो वन्दै गएको स्थानिय हरु वताउँछन् । उपमहानगरपालिकाकै सवैभन्दा वृद्द ११५ वर्षिय सरिफ मियाँ अन्सारी लगायतको सुभेच्छाका कारण पनि उपमहानगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेलले जित निकाल्ने अनुमान धेरैले गर्न थालेका छन्। मियाँलाई त्यस क्षेत्रका उनको समुहका मानिसहरुले निकै आदार गर्ने गर्दछन् । मियाँ नै पौडेलको प्क्षमा खुलेपछि मुस्लिम समुदायको मत पौडेलले पाउने देखिएको छ । यो उपमहानगरपालिकामा वुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा १५ जनाले मेयर पदमा उम्मेदवारी दिएका निर्वाच्न अधिकृत भीमप्रसाद भुर्तेलले जनाएका छन् । माओवादी केन्द्रका रमेयर उम्मेदवारराजन पौडेलको अतिरिक्त नेपाली काँग्रेसबाट कृष्णव्रत सिंह, नेकपा एमालेबाट डा. कृष्णप्रसाद पौडेल, राप्रपाबाट सोमराज उप्रेती, राष्ट्रिय जनमोर्चाबाट धर्मानन्द पाध्या, राष्ट्रिय जनता पार्टीबाट अखिलकुमार सिंह, बहुजन शक्ति पार्टीबाट रामदेब महरा, नयाँ शक्तिबाट अमानुल्लाह अंसारी, नेपाल लोकतान्त्रीक फोरमबाट राजकुमार चौधरीले प्रमूख पदमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै मेयर पदमा ६ जनाले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । जितपुर सिमराका लागि यी उम्मेदवार मध्यै माओवादी केन्द्रका उम्मेदवार पौडेल नै जनताका वीचमा वढी भिजेका उम्मेदवार मध्ये पर्दछन् । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्दका क्रममा लामो समय जेलनेल सम्म भोगेको पौडेल शान्ति प्रक्रियायता निरन्तर आफनै क्षेत्रमा कार्यक्षेत्र वनाएर वसेका छन् । यो वीचमा उनले स्थानिय का समस्यासाग आफै प्रत्यक्ष सहभागी भई समाधानका लागि खटेका पनि छन् । यस हिसावले गर्दा पनि उनको सम्भावना वलियो रहेको चर्चा छ । माओवादीले यस क्षेत्रमा पौडेलको उम्मेदवारी असारमै टुंगो लगाएको हो । त्यसयता उनी निरन्तर जनताका घरदैलोमा पुगिरेहका पनि छन् । यस क्षेत्रमा काग्रेस र एमालेभित्र उम्मेदवार छनौटमा सन्तुलन मिल्न नसकेको र एकले अर्काे पक्षलाई अचेटने काम समेत प्रत्यक्ष देखिन थालेपछि पौडेल पल्लाभारी जस्ता देखिएका छन् । एमालेभित्र जीतपुरसिमरा उपमहानगरपालिका २ का एमाले नेता उद्धब गौतम ले प्रष्टै साग पाटीृभित्र असन्तुष्टि देखाईसकेका छन् । यसले पनि देखाउँछ एमालेमा उम्मेदवारी चयनको विषयमा ठूलै रडाको मच्चिएको छ । त्यसोत एमालेका उम्मेदवार समेत माओवादीमा यही क्षेत्रमा प्रवेश गरेका छन् । उपमहानगरपालिका २३ की एमाले उम्मेदवार एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी छिन । एमालेका तर्फवाट वडा नम्वर २३ को दलित महिला सदस्यकी उम्मेदवार रन्जुदेवी मेस्तर माओवादी केन्द्रमा प्रवेश गरेकी हुन । अन्य राजनीतिक दलको अन्तरकलह माओवादीका लागि लाभ देखिएको छ । काग्रेसका मुख्य शीर्ष नेताहरु समेत उक्त उपमहानगरपालिका माओवादीसाग तालमेल गर्न चाहेका थिए । तर स्थानिय काग्रेस नेताहरुले नमानेपछि नेताहरुको तहमा भएके तालमेल त्यहा भत्किएको हो । यद्यपी, काग्रेसकै शीर्ष नेताहरु एमालेलाई रोक्नका लागि माओवादीलाई जिताउन लाग्नु पर्ने तर्क गदै हिडन थालेको देखिन्छ ।

राष्ट्रिय परिचयपत्र मतदाता परिचयपत्र जस्तै

काठमाडौं, भदौ २२ ।  गृह मन्त्रालय आफैँले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक, आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो । तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णय गरेका छन् । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ । निर्वाचन आयोगले संकलन गरेको विवरण प्रयोग गरेर परिचयपत्रमा डिजाइनअनुसारको व्यक्तिगत विवरण, गुणस्तरीय फोटो र सुरक्षा प्रणाली राख्न नसकिने केन्द्रले जनाएको छ । आयोगले संकलन गरेको व्यक्तिगत विवरण अपूर्ण रहेको, व्यक्तिको फोटो स्पष्ट चिनिने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नभएको केन्द्रको भनाई छ । छिमेकीको प्रभाव गृह मन्त्रालय स्रोतले छिमेकी मुलुकको दबाबमा सचिव रेग्मीले राष्ट्रिय परिचयपत्रलाई कमजोर पार्ने गरी निर्णय गरेको आरोप लगाएको छ । ‘राष्ट्रिय परिचयपत्रको फाइल सचिवले ६ महिनादेखि मन्त्रालयमै अल्झाएका थिए । अख्तियारले चासो देखाएपछि राष्ट्रिय परिचयपत्रको उद्देश्यअनुसार नहुने गरी निर्णय गरेर पठाएका छन्’, स्रोतले भन्यो । परिचयपत्र छाप्न भारतले चासो राखेको थियो । स्रोत अभाव थिएन केन्द्रले छुट्टै विवरण संकलनका लागि बजेट अभाव नभएको जनाएको छ । एसियाली विकास बैंकले राष्ट्रिय परिचयपत्रलाई आवश्यक पर्ने विवरण संकलनका लागि थप २६ करोड अनुदान दिने प्रस्ताव गरेकाले राज्यलाई आर्थिक भार नपर्ने केन्द्रको दाबी छ । तर, एडिबीको सहयोगको व्यक्तिगत विवरण संकलन गर्ने प्रस्ताव पनि सचिव रेग्मीकै कारण रोकिएको छ । के पुग्दैन आयोगको विवरणमा ? निर्वाचन आयोगले संकलन गरेको विवरणको फोटो गुणस्तरीय नभएको केन्द्रले जनाएको छ । व्यक्तिको फोटो स्पष्ट नचिनिने, धमिलो र अन्य मापदण्ड पूरा नभएको र औँठाछाप दुईवटा मात्र भएको केन्द्रको दाबी छ । परिचयपत्रको डिजाइनमा व्यक्तिको १० वटै औँठाछाप राख्ने उल्लेख छ । यस्तै आयोगले संकलन गरेको व्यक्तिगत विवरणमा व्यक्तिको तीनपुस्ते विवरण पूर्ण नभएको, नामावली नै त्रुटिपूर्ण भएको र व्यक्तिको शैक्षिक, आर्थिकलगायत विवरण उल्लेख नभएको केन्द्रले जनाएको छ । यस्ता कमजोरीका कारण पुनः विवरण संकलन गर्नुपर्ने केन्द्रको तर्क छ । किन भयो निर्णय ? राष्ट्रिय परिचयपत्रका लागि छुट्टै विवरण संकलनको प्रस्ताव केन्द्रले ६ महिनाअघि गृह मन्त्रालयमा पेस गरेको थियो । तर, सचिव रेग्मीले प्रस्ताव रोकेपछि अख्तियारले चासो राखेको थियो । अख्तियारले बुधबार राष्ट्रिय परिचयपत्र छपाइमा भएको ढिलाइको कारणबारे जानकारी लिन सचिव रेग्मीलाई बोलाएको थियो । अख्तियारको बैठकमा सहभागी हुनुपूर्व नै रेग्मीले निर्वाचन आयोगले संकलन गरेको विवरण नै प्रयोग गरेर राष्ट्रिय परिचयपत्र बनाउने गर्ने निर्णय गरे ।

‘विद्युतको महशुल घटाए पनि प्राधिकरणलाई मुनाफामा हुन्छ’

काठमाडौं , भदौं २१ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई मुनाफामा लान सकिने बताएका छन । मन्त्री शाहीले विद्युतको महशुल बढाएर मात्र प्राधिकारणलाई मुनाफा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण, गुणस्तर बृद्धि, ट्रान्समिसन लाईन र ट्रान्सर्फमरको सही सदुपयोग लगायतका कार्य गरेर प्राधिकरणलाई मुनाफमा हुनसक्ने बताएका हुन । विद्युतको महशुल बृद्धि हुन रोकेर ठुलो सहयोग गरेको भन्दै बधाई तथा धन्यवाद दिन मन्त्रालय पुगेका उद्योग बाणिज्य महासंघका प्रतिनिधिसंग छलफल गर्दै मन्त्री शाहीले चुहावट नियन्त्रणको अभाव, पुरानो प्रबिधि र तारको प्रयोग, ट्रान्सफर्मरको दुरुपयोगले विद्युत प्राधिकरण घाटामा गएको टिप्पणी गरेका हुन । उद्योग बाणिज्य महासंघका प्रतिनिधिले उद्योग धन्दामा नियमित विद्युतको आपुर्तीमा समस्या भएको, विद्युतको गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने, लगातार विद्युत आउने र जाने गर्नाले उद्योग धन्दामा प्रयोग भएका विद्युतीय सामाग्रीमा असर पर्ने गरेको जस्ता समस्याहरु संबोधन गर्न माग गरेका थिए ।

सुरक्षा परिषदको बैठकमा चीन र अमेरिकाबीच भनाभन

वाशिङ्गट्न डिसी, भदाै २० । उत्तर कोरियाले एकपछि अर्को परमाणु हतियारका परीक्षणपछि बोलाइएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आपतकालिन बैठकमा चीन र रुसबीच भनाभन भएको छ । सुरक्षा परिषदको बैठकमा अमेरिकाले उत्तर कोरियाले विश्व समुदायलाई नै जिस्क्याएको भन्दै कडा भन्दा कडा प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव ल्याएको थियो । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलेले अत्ति नै भइसकेको अवस्था भएकोले अब भने कडा कदम चाल्नुपर्ने माग गरेकी थिइन । अमेरिका युद्दको पक्षमा नरहेपनि उत्तर कोरियाको व्यवहार टुलुटुलु हेरेर पनि बस्न नसक्ने उनको प्रतिक्रिया थियो । चीनियाँ प्रतिनिधिले भने उत्तर कोरियाको समाधान युद्दबाट समाधान हुन नसक्ने बताए । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई स्वीकार्दै परमाणु हतियारको विकास र प्रदर्शन रोक्नुपर्ने चिनियाँ पक्षको टिप्पणी थियो । “तर अमेरिकाले पनि दक्षिण कोरियासँग मिलेर कोरियाली प्रायद्विपमा शुरु गरेको सैन्य अभ्यास रोक्नुपर्छ । शान्तिपूर्ण तरिकाले मात्रै कोरियाली समस्या समाधान हुन सक्छ ।” बैठकमा चीनले भन्यो । चीनको यो प्रतिक्रिया पुरा हुन नपाउँदै अमेरिकी राजदूतले भने “इन्स्लटिङ प्रपोजल” अर्थात् अपमानजनक प्रस्ताव भन्दै बिरोध गरिन । त्यसपछि दुबै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो । रुसले भने चीनको कदमको बचाऊ गरेको छ । कोरियाले परमाणु अस्त्र विकास गर्नु गलत भएको र ऊविरुद्द तेल आयातलगायतका अन्य प्रतिबन्ध लगाउन रुस सहमत भएपनि समस्याको समाधान युद्दबाट हुन नसक्ने बैठकमा रुसले प्रष्ट पारेको थियो । अमेरिकाले चीनको प्रस्ताव लज्जाष्पद भन्ने टिप्पणी गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुसका प्रतिनिधिले भने प्रस्तावमा अपमान हुनुपर्ने त्यस्तो कुरा के रहेछ ? भन्दै अचम्म लागेको बताएका थिए । उत्तर कोरियासँग चीनको ठूलो व्यापार रहेकोले अमेरिकाले चीनसँग समेत सम्बन्ध विच्छेद गर्ने धम्की समेत यसअघि नै दिइसकेको छ । चीनले भने समस्याको शान्तिपूर्ण समाधान हुनुपर्ने र दुबै पक्षले उत्तेजना बढाउने हरेक गतिविधि बन्द गर्नुपर्ने माग गर्दै आएको छ ।

राजधानीका ७ स्थानमा आपूर्ति मन्त्रीको अनुगमन : दरबारमार्गका ४ पसल शिलबन्दी

काठमाडौं, भदौ १९ । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा शिलबन्दी गरेको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरीएको आकस्मिक अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि पसलहरु बन्द शिलबन्दी गरीएको हो । दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाइक पसल शिलबन्दी गरीएको हो । ती पसलहरुले बिलबिजक नभएको, ओभर बिलिङ्ग गरेको, वास्तविक मूल्यमा अत्यधिक बृद्धि गरी दशंै छुट गरिएको भेटिएकाले शिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । नाइकले ४ हजार ७ सयको खरीद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा विक्री गरेको, २ हजार ६ सय को सामान २६ हजार रुपैयाँमा विक्री गरेको फेला परेको थियो । नर्थ फेसमा १३ हजारको सामान बेचेर ४ हजारमा बिल काटेको भेटिएको थियो । खरीद र विक्री मूल्यमा धेरै अन्तर राखेको उक्त पसललाई सबै कारोबारको कागजात सहित तीनदिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । उपभोक्ताले महंगो सामान बाध्यत्मक तरीकाले किन्नुपर्ने र जनताका समस्या भन्दा पनि ब्यावासायीको मनपरी भएकोले समाजमा बिकृति ल्याएकोले अनुगमनमा आएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।उनले व्यवसायी र उपभोक्ताको बीचमा समन्वय गरी जनता ठगीने कार्यलाई नियन्त्रण गरीने बताए । ‘नियम र कानुनले भेटेको कानुनसम्मत तरीकाले हुने प्रकारको हदै सम्मको कार्वाही हामी गर्दछौँ’ उनले भने, ‘निर्दोष व्यवसायीलाई हाम्रो अनुगमनको कारणले व्यवसायमा कुनै दखल हुने छैन तर दोषिलाई कुनै पनि प्रकारको क्षमायचना गरीने छैन ।’ दरबारमार्ग संगै कमलादीको सिटी सेण्टर, ठमेलको नर्थ फेस, नक्शालको भाटभनेटीमा पनि आपूर्ति विभागले अुनगमन गरेको छ । कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाईने भएपनि पसलहरुले अत्यधिक नाफा खाने गरेको भेटिएको ले उनीहरुलाई कालोबजारी ऐन अनुसार कार्वाही गरीने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताए ।

राजपाका तीन केन्द्रीय सदस्य सहित पाँच हजार माओवादी केन्द्रमा प्रवेश

सिमरा, भदौ १९। राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका केन्द्रीय सदस्य चेतनारायण महतो, राजकुमार साह र सिताराम महतोको नेतृत्वमा ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा ‘बादल’, मातृका यादव र रामेश्वर राय यादवले स्वागत गर्नुभएको थियो । आइतबार नै बारा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बारा जिल्लाको कोल्हबीमा २७० र जितपुर सिमरा उपमहानगरमा १५० जना गरी ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आइतबार नै पर्साको बीरगञ्ज महानगरमा आयोजित कार्यक्रममा ३०० जना स्थानीय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पहाडी र मधेशी अतिवादको विरोध गरौं, ‘प्रचण्ड’ सभामा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादका नाममा अतिवादीहरु मौलाएको भन्दै पहाडी र मधेशी अतिवादको विरोध गर्न अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेहरु राष्ट्रवादका नाममा मधेशी जनतालाई भारतीयको आरोप लगाइरहेका छन्, तल्लो स्तरमा गिरेर स्वाभिमानमाथि प्रहार गरिरहेका छन् । अर्कोथरि मान्छेहरु पहाडियाप्रति घृणाको नजरले हेर्छ । नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, एकले अर्काको सम्मान र अधिकार दिएर मात्र देश बलियो हुन्छ । त्यसैले पहाडी र मधेशी अतिवाद र नश्लवादको विरोध गरौं ।’ ‘माओवादी मात्रै सच्चा राष्ट्रवादको पक्षमा छ, हामी पहाडसँग मधेश र मधेशसँग पहाड भिडाउने अतिवादको विरुद्धमा छौं’, प्रचण्डले भन्नुभयो, ‘काठमाडौं बन्न मधेशी जनताको रगत र पसिना बगेको छ । मधेश बन्न पहाडको श्रम र पसिना छ, यो यथार्थलाई हामीले झुल्नु हुँदैन । सबैलाई बराबरीको अधिकार दिएर मात्र देश बलियो हुन्छ ।’ मधेशी दलले राजनीतिको ब्यापार गरे, ‘प्रवेशी नेताहरु’ माओवादी केन्द्रमा प्रवेश गर्दै राजपाका नेताहरुले मधेशवादी दल र राजपाले राजनीतिको ब्यापार गरेको बताए । सभामा बोल्दै राजपा नेता चेतनारायण महतोले भन्नुभयो, ‘मधेश आन्दोलनमा त्यत्रो बलिदान भयो । तर, मधेशी नेताहरुले जनताको हित सोचेनन्, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेनन् । देशको एक मात्र क्रान्तिकारी र विकासको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र भएकाले मैले राजपा छोडें । अब मधेशमा राजपाको राजनीतिक औचित्य पनि छैन ।’ कार्यक्रममा बोल्दै नेता रामेश्वर राय यादवले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको बताउँदै माओवादीले मात्रै देश र जनताको हितमा काम गर्न सक्ने बताउनु भयो ।