गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

जाजरकोट, फागुन ९ । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल ।

यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ । यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले निःशुल्क पढाउन लगाउने गर्दछन् ।

विद्यालय उपस्थित नहुने विद्यार्थीका अभिवावकले विद्यालयमा एक दिन काम गरी सजाय भोग्नुपर्दछ । अहिले यो विद्यालयमा निजी विद्यालयवाट कक्षा छोडेर विद्यार्थी पढ्न आउने गर्दछन् । यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

स्रोत व्यक्ति एक हप्तामा विद्यालय नपुगेमा अध्यक्षले फोन गरी विद्यालयमा आउन हैरान बनाउने गरेको स्रोतव्यक्ति मनिराम पोखरेलले बताए । गयल हुने शिक्षकको तलब काटेर विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्री खरिद गरी विद्यालयमा व्यवस्थापन गर्दै आएको प्रधानाध्यापक शान्तबहादुर रोकायले बताए । विद्यालयमा खानेपानी, शौचालय, वाथरुम लगायतका भौतिक निर्माण गरी पूरै सुविधासमेत पुर्याएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए ।

विद्यालयमा उपस्थित नहुने विद्यार्थीको घरमा पुगेर विद्यालयमा अभिभावकले काम गर्न बाध्य पारेदेखि सबैले आफ्ना छोराछोरी नियमित विद्यालयमा पठाउन लागेको प्रअ रोकायले बताए । योभन्दा अघिका अध्यक्ष हुदा विद्यालयमा लापरबाहीका कारण लथालिङ्ग थियो , अहिले निकै परिवर्तन आएको प्रअ रोकायले बताए ।

स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना

कैलाली, फागुन २ । क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको स्थापना गरेको हो । कैलाली जिल्ला क्रिकेट सङ्घले पनि धनगढीको कभर्डहलमा प्रशिक्षण दिँदै आएको छ । नयाँ नयाँ प्रविधि र सुविधासहित खेलाडीलाई प्रशिक्षण दिनका लागि स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको क्रिकेटर पदम केसीले बताएको छ । क्रिकेट खेलमा जुनियर खेलाडीलाई प्रशिक्षण दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको प्रशिक्षण केन्द्रमा अहिले स्वयम् केसीले प्रशिक्षण दिनेछन् भने केही समयपछि भारतबाट प्रशिक्षण ल्याएर प्रशिक्षण गराइने प्रशिक्षक केसीले जानकारी दिएको छ । क्रिकेटलाई व्यावसायिक बनाउने लक्ष्य लिएको क्रिकेट प्रशिक्षण केन्द्रले युवा खेलाडी जन्माउन प्रशिक्षण केन्द्र स्थापना गरिएको क्रिकेटर केसीको भनाइ छ । लामो समयसम्म सुदूरपश्चिमको क्षेत्र नं ६ र क्षेत्र नं ९ बाट राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएका केसीले तीन वर्ष विदेशमा पनि बिताएको हो । आफूहरुले क्रिकेट खेल्ने समयमा भोगेका समस्या भोग्न नपरोस् भनेर केसीले आफूलाई खड्किएको अभावलाई महसुस गर्दै सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण सञ्चालनमा ल्याएको बताए ।

रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण

बर्दिया, फागुन १ । विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ। जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गर्नुभयो । बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्गत सामग्री प्राप्त भएको रेडक्रस बर्दियाका सभापति गौतमले बताउनुभयो । वितरण गरिएको सामग्रीमा रवड बोट, सामग्री भन्डारण गर्ने कन्टेनर, लाइफ ज्याकेट, मेघा फोन, क्याराबिनर, स्ट्रेचर, फायर एक्स्टिङगुसरलगायतका सामग्री रहेका छन् । बर्दिया जिल्ला बाढीले बर्सेनि प्रभावित हुने भएकाले सहयोग उपयोगी हुने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । रेडक्रस बर्दियाका सभापति गौतमले दैवीप्रकोप उद्वार समितिले खोज तथा उद्वार सामग्रीको अभाव पहिचान गरेबमोजिमको सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । दैवीप्रकोप उद्वार समितिको बैठकले बाढीको जोखिम कम गर्न बबई नदीको माथिल्लो तटीय क्षेत्र सल्यानको घुइँयाबारीमा गेज स्टेसन राख्नका लागि पहल गर्ने निर्णय गरेको छ । जसका लागि जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कर्णाली बेँसिन कार्यालयलाई थारु महिला उत्थान केन्द्रको अनुकुलन परियोजनाका आर्थिक सहयोगमा निमार्ण गर्नेसमेत निर्णय गरेको छ । निमार्णपछि बाढीको सतहको पूर्व–सूचना हाल भएको व्यवस्था भन्दा तीन घन्टा पहिलेनै प्राप्त गर्नेसमेत जानकारी गराइएको थियो । त्यसैगरी रेडक्रस बर्दियाले ‘प्लान’ नेपालको सहयोगमा जिल्लाको राजापुर नगरपालिका, खैरीचन्दनपुर र सूर्यपटुवाको– ६ वटा विद्यालयमा बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी गराएको थियो ।

चौरासी प्रतिशत महिलाको सुरक्षित प्रसूति सेवा

पाल्पा, माघ २९ । सुरक्षितरुपमा शिशु जन्माउन यहाँका ८४ प्रतिशत महिलाले सुविधा सम्पन्न प्रसूति गृहबाट सेवा लिएका छन् । सुरक्षित मातृशिशुका लागि यहाँका महिला स्वास्थ्य संस्था धाउन थालेका हुन् । पाल्पा जिल्ला सरकारी स्वास्थ्य संस्थामा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएपछि गत आवमा ८४ प्रतिशत महिलाले सुरक्षित रुपमा प्रसूति गृहमा आएर शिशु जन्माए । नेपाल सरकारले मातृशिशु मृत्युदर घटाउने लक्ष्य लिई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था गरेपछि यहाँका महिला सुत्केरी हुन स्वास्थ्य संस्था धाउन थालेका हुन् । गत आवमा मात्र छ हजार तीन सय हराहारीका महिलाले स्वास्थ्य संस्थाम आएर प्रसूति गराए । जिल्लाका २५ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ । तानसेनको लुम्बिनी मेडिकल कलेज तथा स्वास्थ्यचौकीबाट महिलालाई निःशुल्क सुत्केरी हुने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीले बताउनुभयो । अस्पताल भवन बन्दै रामपुर– पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिकामा ५० श्ययाको अस्पतालको भवन निर्माण हुँदैछ । पन्ध्र शैय्याको क्षमतामा सञ्चालित अस्पतालले घरदैलामै स्वास्थ्य सेवा प्रदान गर्ने छ । रवीना कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग करिब रु.साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आव २०७२–०७३ को पुसदेखि निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।

उदयपुर गोल्डकपमा ४–१ ले हिमालयन शेर्पा विजयी

माघ २८ । गाईघाटको थरुहट रंगशालामा जारी चौथो उदयपुर गोल्डकप फुटबलमा हिमालयन शेर्पा विजयी भएको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पाले ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो । सिमरा गोल्डकपमा बिहीबार त्रिभुवन आर्मीसँग हारेको हिमालयन शेर्पाले रातारात उदयपुर पुगेर शुक्रबार घरेलु टोलीसँग खेलेको हो । उदयपुर गोल्डकपमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मोरङ फुटबल क्लबबिच खेल हुने छ ।

बैतडीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

बैतडी, माघ २८ । बैतडीमा ट्रक दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले राससलाई जानकारी दिनुभयो । गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । यस्तै, ट्रक चालक बैतडी श्रीकोट–४ का अन्दाजी २४ वर्षीय मोहनराज जोशी र श्रीकोट–४ का २१ वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् । घाइते चालक मोहनको आँखा, निधार र छातीमा तथा सागरको टाउको, आँखा र खुट्टामा चोट रहेको छ । घाइते तीनैजनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ । महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नंको ट्रक बिहीबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । बालुवा बोकेर सतबाँझतर्फ आइरहेको उक्त ट्रक सडकबाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रासस फाइल तस्वीर

विवाहका लागि न्यूनतम उमेर २० बर्ष

काठमाडौं, माघ  २७ । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ । ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो । समितिबाट पारित विधेयक अब संसद्मा प्रतिवेदनसहित पेस हुनेछ । संसद्मा पेस भएको विधेयक छलफलपछि पारित हुनेछ । सरकारले पेस गरेको विधेयकमा सरोकारवाला पक्ष र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर परिमार्जन गरिएको छ । झण्डै एक वर्ष विधेयकमाथि सर्वपक्षीय दफावार छलफलपछि समितिले विधेयक पारित गरेको हो । समिति सचिव ध्रुवप्रसाद घिमिरेले देवानी संहिता समितिले पारित गरेको बताए । अन्य चारवटा विधेयक पनि पारित भएपछि समितिको प्रतिवेदनसहित एकैसाथ संसद्मा पेस हुने घिमिरेले बताए । संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेदलगायत विषयका कानुन समेटेको छ । यस्तै सम्पत्तिमा इच्छापत्रसम्बन्धी नयाँ व्यवस्था कानुन प्रणालीमा थपिएको छ । समितिबाट पारित विधेयकमा मौजुदा पारिवारिक कानुनमा रहेको विवाहका लागि न्यूनतम उमेरको हद बढाइएको छ । विवाहको उमेरलाई २० वर्ष पु¥याइएको छ । संहिताको व्यवस्था पारित भएमा विधेयक प्रमाणीकरणको १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक कायम रहनेछैन । सम्पत्तिको मालिकले आफ्नो सम्पत्ति इच्छा गरेको व्यक्तिलाई दिन सक्नेछ । सम्पत्तिमा इच्छापत्र नेपालको कानुन प्रणालीमा नयाँ व्यवस्था हो । समितिबाट पारित संहिताले सम्बन्धविच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्थाका लागि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । धर्मपुत्र सम्बन्धमा संहिताले विस्तृत व्यवस्था गरेको छ । विवाह भएको १० वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्धविच्छेद गरी बसेका छोरा वा छोरी नहुने महिलाले धर्मपुत्र राख्न पाउने व्यवस्था संहिताले गरेको छ । ४५ वर्ष उमेर पूरा भएको अविवाहित, विदुर वा सम्बन्धविच्छेद गरी बसेको आफ्ना सन्तान नभएको पुरुषले पनि धर्मपुत्र÷धर्मपुत्री राख्न पाउनेछन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सुन चोर्ने एक पक्राउ

धनकुटा, माघ २६ । धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो । गत माघ २२ गते राति करिब २ बजे रेजिन धमलाको सुन पसलको ढिक फोरेर रु तीन लाख ५० हजार बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको खत्रीले स्वीकार गरेको प्रहरीले जनाएको छ । धनकुटाको हिले बजारमा पक्राउ परेका खत्रीले चोरी गरेको सुनचाँदी समेत प्रहरीले नियन्त्रण लिएको जनाएको छ । रासस

दुई सिफ्टको सरकारी सेवा निष्क्रिय

काठमाडौं, माघ २५ । जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन गरिएको सेवा व्यावहारिक हुन नसकेकाले समस्या आएको बताए। उनले यसलाई व्यावहारिक र सरलीकृत कसरी गराउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल थालिएको बताए। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले १ पुस ०७१ देखि यस्तो सेवा सुरु गरेको थियो। जनताको अत्यधिक भीड लाग्ने कार्यालयबाट सेवा सञ्चालन सुरु गरिएको थियो। वर्तमान सरकारले सो निर्णयलाई खारेजीकै अवस्थामा पुर्‍याएको छ। कोइराला सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सक्रियतामा प्रत्यक्ष रूपमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरिएको थियो। यो सेवाको सुरुवात गर्दा तत्कालीन सामान्य प्रशासनमन्त्री पण्डित विभिन्न सरकारी कार्यालयमा आफैँ पुगी कर्मचारीको अनुगमन गरेका थिए। कार्यालयमा बिहान ६ बजेदेखि १२ बजेसम्म एउटा सिफ्ट र १२ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टबाट सेवाहरू प्रदान गरिएको थियो। जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात कार्यालय, राहदानी विभाग, विद्युत् र खानेपानीलगायत कार्यालयमा यो सेवा लागू गरिएको थियो। यी निकायमा अहिले पनि घन्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनविद् काशीराज दाहालको संयोजकत्वमा रहेको प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको पहिलो प्रतिवेदनमा सर्वसाधारणको अत्यधिक भीड लाग्ने निकायको पहिचान गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराई दुई सिफ्टमा सेवा प्रदान गर्ने निर्णय गरिएको थियो। बिहान ६ बजेदेखि नै काममा व्यस्त रहे पनि सरकारले कर्मचारीलाई प्रोत्साहन गर्ने कुनै विशेष व्यवस्था गर्न नसकेकाले उत्प्रेरित हुन नसकेकाले सेवा सञ्चालनमा कठिनाइ आएको सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन्। मन्त्रालयकी सूचना अधिकारी गोमादेवी चेम्जोङले सम्बन्धित सरोकारवाला निकायलाई मन्त्रालयमा बोलाएर छलफल गर्दा सेवा सञ्चालनमा विभिन्न समस्या देखिएको बताइन्। कर्मचारी अभाव, प्रोत्साहनको व्यवस्था नभएको, सेवाग्राही नै बिहान ६ बजे नआउने गरेको र सरकारी सेवा प्रदान गर्दाका सहयोगी निकाय सेवामैत्री हुन नसकेकोलगायतका समस्या आएकाले चेम्जोङको भनाइ छ। यो खबर आजको नयाँ पत्रिकामा छ ।

‘पुल बन्दा पनि हिँड्न पाइएन’

जुम्ला, माघ २२ । जुम्लाको चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित जवा नदीमा पक्की पुल निर्माण भइसकेको भएपनि त्यसमा हिँड्न भने पाइएको छैन । जग्गा मुआब्जा विवादका कारण सो पुल सञ्चालनमा आउन नसकेको हो । पुल नजिकका जग्गाधनीले मुआब्जा नपाएको भन्दै बार हालेर सो पुल संचालनमा ल्याउन दिइएको छैन । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले प्रभावित व्यक्तिको जग्गाको क्षति मूल्याङ्कन गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको संयोजकत्वमा जिल्ला मालपोत, नापी र प्राविधिक कार्यालय रहने गरी गठित समितिको मूल्याङ्कनका आधारमा घरभएकालाई रु. पाँच लाख २३ हजार र जग्गा भएकालाई रु १८ लाख क्षतिपूर्ति दिन बाँकी रहेको बताए । “यो समस्या समधानका लागि सम्बन्धीत निकायले स्थानीय सडक निर्माणमा मुआब्जा दिने प्रावधान छैन भन्ने जवाफ दियो र जिविसबाट दिनलाई पनि स्रोत छैन,” स्थानीय विकास अधिकारी बेल्बासेले भने । केही समयपछि मन्त्रालयको टोली आउने देखिएकाले त्यत्तिबेला नै समस्या समाधान गरेर पुल सञ्चालनमा ल्याउने उनले बताए । चालिस मिटर स्पान भएको पुल निर्माणको जिम्मा ओएसिस पृथ्वी जेभी काठमाडौँले लिएको थियो । २०६९ साल असार १५ गते निर्माण सम्झौता भई कार्य सम्पन्न भएर यही पुसमा जिविसलाई चिठी लेखेर पुल हस्तान्तरण गरिसकेकोे जेभीका प्रतिनिधि तारासिंह कठायतले जानकारी दिए । जिल्ला प्राविधिक कार्यालय जुम्लाका सब–इन्जिनियर चुडामणि भट्टले भ्याटसहित रु चार करोड १९ लाखमा निर्माण कार्य सम्पन्न भएको पुलको पूर्ण भुक्तानी भइसकेको बताए । जग्गाधनीको अवरोधका कारण सञ्चालन प्रक्रियामा जटिलता आएको उनको भनाई छ । सुरुमा क्षतिपूर्ति दिनेसम्मको कुरा गरिए पनि अहिले आलटाल गर्न खोजेपछि बार लगाउन बाध्य भएको पीडितहरुले बताएका छन् । रासस

संविधान संशोधन भए मात्र निर्वाचनः उपेन्द्र यादव

गौशाला,  माघ २२ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान अवस्थामा स्थानीय निकायको चुनाव नहुने जिकिर गर्नुभएको छ । फोरम महोत्तरीको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले ‘स्थानीय तहको संरचना र प्रतिवेदन मधेसकेन्द्रित दललाई मान्य नभएकाले’ स्थानीय तहको निर्वाचन नहुने ठोकुवा गर्नुभयो । संविधान संशोधन भए मात्र निर्वाचन राजविराज– मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन सम्भव हुन नसक्ने बताउनुभएको छ । यहाँ आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधनबिना निर्वाचन गर्न खोजिए मुलुकमा झन् द्वन्द्व बढ्न सक्ने खतरा औँल्याउनुभयो । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने उहाँको भनाइ छ । रासस

चलचित्र ‘कारखाना’ जेठमा चल्ने

काठमाडौं, माघ २० । सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’ को अफिसियल प्रदर्शन मिति तय भएको छ । यसअघि माघे संक्रान्तिको छेकोमा प्रदर्शन गर्ने हल्लाका बीच फिल्मको रिलिज पोष्टपोण्ड भएको थियो । अब फिल्म अर्को वर्षको जेठ ५ मा रिलिज हुनेछ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति लक गरेको हो । शान थापाले तयार गरेको सार्वजनिक पोस्टरमा लिड कलाकार सुशिल र बर्षाको प्रेमभाव झल्किन्छ । फिल्मको यसअघि सार्वजनिक ‘मायाले बोले’ को बोलको गीत दर्शक श्रोतामा लोकप्रिय भइसकेको छ । फिल्मलाइ अमरदिप सापकोटाले निर्देशन गरेका हुन् । गोविन्द शाहीले फिल्मको वितरण जिम्मा लिएका छन् । फिल्मलाइ सुदिप खड्का र अमर बज्राचार्यले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

‘कार्यकाल सकिनु दुई महिना अगाडि निर्वाचन’

काठमाडौं, माघ १९ । स्थानीय तहमा जनप्रतिनिधिको व्यवस्था गर्न अब निर्वाचित कार्यसमितिको कार्यकाल पूरा हुनु दुई महिनाअगावै निर्वाचन हुने भएको छ । कार्यकाल पूरा हुनु दुई महिनाअगाडि नै निर्वाचन गर्ने गरी कानुनमा व्यवस्था हुन लागेको यो पहिलोपटक हो । निर्वाचन कार्यकाल सकिनुअघि नै भए पनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ ।  पाँच वर्षे कार्यकाल पूरा भएपछि मात्र नयाँ निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्नेछ ।   संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकमा सहमति गर्दै यस्तो व्यवस्था गरेको हो ।  उपसमितिले पारित गरेको विधेयक बुधबार समितिमा पेस हुनेछ । समितिले बुधबार नै छलफलपछि पारित गरे सम्भवतः उक्त विधेयक बुधबारको संसद् बैठकमा पेस हुनेछ । उपसमिति सदस्य रेखा शर्माले अविछिन्न रूपमा जनप्रतिनिधिको व्यवस्थाका लागि दुई महिनाअघि निर्वाचन गर्ने व्यवस्थामा सहमति भएको जानकारी दिइन्। ‘जनप्रतिनिधिविहीन अवस्था नहोस् भनेर कानुनमा नै निर्वाचनबारे स्पष्ट व्यवस्था गरिएको हो। उपसमितिले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ,’ उनले भनिन्। संविधानले स्थानीय तहमा आवधिक निर्वाचनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भएको बढीमा छ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।  तर, स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकले भने कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था पारित गरेको हो ।  स्थानीय निकाय विगत १४ वर्षदेखि जनप्रतिनिधिविहीन छन् । यसैगरी स्थानीय निकायमा राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूले दलीय आकारका आधारमा चुनाव चिह्न प्राप्त गर्नेछन् । राष्ट्रिय दलको मान्यता पाउने आवश्यक मत सीमा (थ्रेसहोल्ड)बारे राजनीतिक दलसम्बन्धी कानुनमा व्यवस्था हुनेछ । यो खबर आजको गोरखापत्रमा छ ।

अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा नेपालीहरु आत्तिएर फोन गर्छन्

वासिङ्टन डीसी , माघ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् । मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती बालेर जुलुस निकालेका छन् । राष्ट्रपति निर्वाचनको वहसमा नै पटक पटक आप्रवासी मुस्लीमलाई अमेरिकाबाट लखेट्ने बताउँदै आएका ट्रम्पले पाँच दिन अघि त्यस्तै निर्णय गरे । ट्रम्पको घोषणाले केही क्रिस्चियन र अन्य धर्म भएका मुलुकलाई भने फाइदा हुने देखिएको छ । नेपाल, भारत, रसिया, चीन युरोपेली मुलुकहरुलाई भने सहज हुने वातावरण बनाउनेतर्फ उनी लागेका छन् । नेपालीको फोनको ओइरो नेपाली दुतावासमा पनि राष्ट्रपति ट्रम्पको निर्णयपछि दैनिकजसो नेपालीहरुको फोन आउने गरेको राजदुत डा. अर्जुन कार्कीले बताएका छन् । कागजपत्र भएर बसेका नेपालीहरु र अन्य सबैलाई धैर्य गर्न भन्ने गरेको छु । राजदूत कार्कीले भने ‘विरोध पनि भइरहेको छ । निर्णय पनि हुदै गएका छन् । हामी हेर्ने र सुन्ने हो । अन्य मुलुकको आन्तरिक मामिलामा हाम्रो कुनै धारणा हामीले बोल्नु हुदैन ।’ यो खबर आजको कान्तिपुरमा  छ ।

उपत्यकाको धुलो सफा गर्न ‘ब्रुमर’

काठमाडौँ, माघ १७ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ गर्न यो यन्त्र प्रयोग गर्न लागिएको हो । पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । “सडक विभागमा उपयोग नभई बसेका तीनवटा ब्रुमर रहेछन्, ती ब्रुमर लिएर आयोजनाले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइ गर्न निर्देशन दिइएको छ, केही दिनमै ब्रुमरले सडक सफाइ सुरु गर्नेछ” – उनले भने । पानी वितरणका लागि उपत्यकामा ७६० किमी पाइप बिच्छ्याउने काम अहिले भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी पिच मात्र गर्ने र २०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्र गर्न विभागसँग सम्झौता भएको छ । दिउँसो पाइप ओच्छ्याउँदा सवारी चाप हुने भएकाले निर्देशनालयले धेरै स्थानमा राति काम गरिरहेको छ । सवारी चाप नहुने ठाउँमा मात्र दिउँसो काम भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । दिउँसो पानी हालेर धुलो कम गर्दा पनि सवारी चाप हुने भएकाले यो यन्त्रले सडक सफाइ गर्न लागिएको सचिव उपाध्यायले बताउनुभयो ।

‘कमन म्यान’ मनबीरले जीते बिग बोस सिजन-१०

मुम्बई, चर्चित रियालिटी शो ‘बिग बोस-१०’ को उपाधि मनबीरले जितेका छन । आम दर्शकले निक़ै मन पराएका मनबीर सामान्य मानिस श्रेणीबाट बिग बोसमा प्रवेश गरेका थिए । यसपालि बिग बोस मा कमन म्यान र सेलेब्रेटी गरी दुईवटा श्रेणीबाट प्रतियोगीलाई छानीएको थीयो । अन्तिम चरणमा मनबीरका अतिरिक्त वाणी, लोपा मुद्रा र मन्नु फ़ाईनलिस्ट-४ बनेका थीए ।