कसरी गर्न सकिन्छ सहि मतदान ? भिडियोमा हेरौँ ।

काठमाडौं, वैशाख ३० । तीन प्रदेशका ३४ जिल्लाका नागरिकहरु आइतबार बिहान ७ बजको प्रतिक्षामा छन् । स्थानीय तहको चुनावको मतपत्र ठूलो र चिन्ह धेरै भएका कारण धेरै मतदाताहरु अझै अलमलमा छन् । कसरी गर्न सकिन्छ सहित मतदान ? भिडियोमा हेरौँ ।

चुनाव आए के गर्नु, काम नगरी खान पाइँदैन

कञ्चनपुरको झलारी बजारमा डोका बेच्न हिँडेका महिलाहरु । परम्परागत सीपको प्रयोग गरी यहाँका दलित महिलाले डोका बनाएर जीविका चलाउँदै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदमा तय भएका उम्मेदवारहरुको नामावली

काठमाडौं, वैशाख १९ । नेपाली काँग्रेस धादिङको तर्फबाट स्थानीय तहको चुनावमा नगरपालिकाका तथा गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु यसप्रकार तय भएका छन्– नीलकण्ठ नगरपालिकाः भीमप्रसाद ढुँगाना धुनिबेशी नगरपालिकाः माधवराज पाण्डे रुविभ्याली गाउँपालिकाः कुलबहादुर गुरुङ गंगाजमुना गाउँपालिकाः अक्कल बहादुर तामाङ त्रिपुरा सुन्दरी गाउँपालिकाः वासुदेव तिमल्सिना नेत्रावती गाउँपालिकाः टेकजंग लामा खनियाँबास गाउँपालिकाः रणबहादुर तामाङ जलमुखी गाउँपालिकाः विनोद तिमल्सिना सिद्धालेख गाउँपालिकाः बद्रि अर्याल बेनिघाट रोराङ गाउँपालिकाः देवी सिलवाल गल्छी गाउँपालिकाः विनोद कार्की गजुरी गाउँपालिकाः परशुराम सुवेदी थाक्रे गाउँपालिकाः श्याम रेग्मी

निष्पक्षतामा प्रश्न उठेकोले महाभियोग: कांग्रेस महामन्त्री

ललितपुर, बैशाख १८ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठेकोले प्रधानन्यायाधीश विरुद्ध महाभियोगको प्रस्ताव ल्याउनु परेको बताएको छ । नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले आज अपरान्ह पार्टी कार्यालय सानेपामा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले सो कुरा बताएको हो । “हामीले चाहेको स्वतन्त्र र निष्पक्ष न्यायपालिका नै हो” महामन्त्री कोइरालाले भने, “यसैका लागि नेतागणले महाभियोगको निर्णय गरेको हो ।” पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकले स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको तयारीका बारेमा प्रकाश पारेको थियो । संसदमा हिजो दर्ताभएको प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोगको प्रस्तावका बारेमा पत्रकारहरुबाट अधिक प्रश्न आएपछि उहाँले नेपाली कांग्रेसले स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल न्यायपालिकाको पक्षमा रहेको र रहीरहने विश्वास व्यक्त गरेको थियो । नेपाली कांग्रेसले लोकतन्त्रका आधारभूत तत्वमा विश्वास गर्ने बताउदै केन्द्रीय सदस्य लेखकले भन्नुभयो,“ स्वतन्त्रता,निष्पक्षता,मर्यादामा आधारित सबल न्यायापालिकाप्रतिको हाम्रो विश्वास अटल छ र हामी शक्ति पृथकीकरणको सिद्धान्तमा पनि उत्तिकै अडिग छौ ।” उहाँले हाल संसदमा दर्ता भएको महाभियोग प्रस्ताव न्यायापालिका विरुद्ध लक्षित नभएर न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल हुन नदिने एक न्यायाधीश विरुद्ध मात्र लक्षित भएको बताए । केन्द्रीय सदस्य लेखकले शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप निर्माण भएको हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको क्षेत्र र सीमा स्पष्ट किटान गरेको बताए । “यी तीन निकाय मध्ये कसैले पनि कसैको अधिकार मिच्न हुँदैन भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ ” केन्द्रीय सदस्य लेखकले भने-  ‘उनी अदालतका केही फैसलामा न्यायपालिकाको मर्यादा र सीमा नाघेर कार्यपालिकाको क्षेत्रमा प्रवेश गरे ।’ उनले संविधानले नै नेपाल सरकारले गर्ने भनी स्पष्ट किटानी गरेको क्षेत्रमा समेत प्रवेश गरेको आरोप लगाए । “नेपालको संविधानको उल्लंघन, पदीय कर्तव्यको पालना नभएको, निर्वाचन आचार संहिताको समेत पालनामा असर पारेको, कार्यक्षमताको अभाव आदिका कारणले महाभियोग ल्याउन परेको हो” केन्द्रीय सदस्य लेखकले भने । उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने काम सरकारको भएको र त्यसलाई कार्यान्वयन गर्न सरकारले गरेका निर्णयमा अदालत अनधिकृत रुपमा प्रवेश गरेको पनि आरोप लगाए । उनले नेपाल प्रहरीको नियम ४१ उल्लेख गर्दै एआईजी वा एआइजी नभएको अवस्थामा बहालवाला डिआईजी मध्येबाट नेपाल सरकारले उपयुक्त देखेको व्यक्तिलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्न सक्ने प्रावधान वाचन गरेर सुनाएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य लेखकले तात्कालिन प्रधानन्यायाधीश कार्कीले प्रहरी महानिरीक्षकको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाईमा पनि न्यायिक परम्परालाई तोड्दै अमूक न्याय मूर्ति सबै सुनुवाईमा रहने गरेको आरोप पनि लगाको थियो । “लोकतन्त्रको आधार नै न्यायापालिका माथिको नागरिकको विश्वास हो” प्रचार प्रसार समन्वय उपसमितिका संयोजक लेखकले भने,“तर उनका काम कारबाहीले गुटबन्दी बढाउने, न्यायालयप्रतिको आस्था घटाउने अवस्था सिर्जना गरेकोले अदालतलाई स्वतन्त्र, निश्पक्ष, मर्यादित र सबल बनाएर जनआस्था अभिबृद्धि गर्न महाभियोग ल्याउन परेको हो ।” उनले न्यायामूर्तिले सत्य, तथ्य, कानूनी आधारलाई छोडेर आवेग, प्रतिशोध र लहडका भरमा न्याय निस्पादन गर्न नहुने पनि प्रष्ट पारेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाभियोग प्रस्ताव संसदमा विचाराधीन भएकोले संसदबाटै टुंगो लगाइने बताएको थियो । नियमित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य दीपक गिरी पनि उपस्थित रहेकाे थियो ।

हकप्रद शेयर जारी गर्ने तयारीमा सनराइज बैंक

काठमाण्डौ, वैशाख १६ । सनराइज बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैङ्कले हकप्रद निष्कासन गर्नको लागि वैशाख १५ गते स्वीकृति पाएको हो । बैंकले १० बराबर ३ अर्थात् १०ः३ अनुपातमा रू. एक सय अङ्कित दरको १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बैङ्कको विक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । अब बैंकले केही दिनमा नै हकप्रदका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको सूचना निकाल्दै हकप्रद निष्काशनको मिति निर्धारण गर्नेछ । गत आर्थिक वर्षमा ३३ दशलमव ३३ प्रतिशत बोनस बितरण गरेको बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । बोर्डबाट स्वीकृत भएको हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब पूँजी पुर्याउन चालु आर्थिक वर्षको कमाईबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने हुन्छ ।

आरिफ शेखको अर्धशतीकिय मद्दतले टिम चौराहको पहिलो जित

धनगढी, वैशाख २ । शनिबार दिउँसो भएको दोस्रो खेलमा पारस खड्काको नेतृत्वमा खेलिरहेको टिम चौराहा धनगढीले पहिलो जित हासिल गरेका छन् । धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले हराएको छ । १ सय ३७ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि बसन्त रेग्मीले ११ रन, सोमपाल कामीले २४ रन, रोहित कुमारले १२ रन, सन्दीप झोराले २८ रन बनाए । धनगढीका आरिफ शेख र सौरभ खनालले तीन तीन साथै रामनरेश गिरीले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट जाँदा १ सय ३६ रन बनाएको थियो । धनगढीका लागि राजु रिजालले ११ रन, अनिल मण्डलले २९ रन, आरिफ शेखले ५८ रन र सुभेन्दु पाण्डेले १६ रन बनाएका थिए । काठमाडौंका सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन तीन साथै बसन्त रेग्मी र सन्तोष भट्टले एक एक विकेट लिएका थिए ।

लगातार तेश्रो जीतसँगै रुपन्देही प्ले–अफमा प्रवेश

लोकेश धामी, धनगढी धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भइ रहेको सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत पाँचौं दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको हो । रुपन्देही च्यालेन्जर्स यो जितसँगै प्ले अफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ । च्यालेन्जर्सले अझै २ खेल खेल्न बाँकी छ भने काठमाडौं गोल्डेन्सको एक खेल खेल्न बाँकी छ । जसमा २ जित र २ हार निकालेको छ । टस जितेर व्याटिङमा गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको काठमाडौं गोल्डेन्सले पुरै ओभर खेली ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । पहिलो इनिङ्समा व्याटिङ गरेको रुपन्देहीका नुरध्वज सेनले सर्वाधिक ३७ रन बनाए भने पुष्प थापाले ३६ रन बनाए । यसैगरी शंकर रानाले १६, प्रकाश केसी १२ र विक्रम सोबले १० रन बनाए । काठमाडौं गोल्डेन्सको तर्फबाट सोमपाल कामीले ४ ओभरमा २१ रन दिँदै ४ विकेट लिए भने १ मेडन ओभर फाले । यस्तै काठमाडौं गोल्डेन्सका मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले १ एक विकेट लिए । काठमाडौं गोल्डेन्सका तर्फबाट सर्वाधिक सुमित महर्जनले २७ रन बनाए । यस्तै काठमाडौं गोल्डेन्सकै सुबेन्दु पाण्डे र रोहित कुमार पौडेलले २०÷२० रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले ३ विकेट लिए भने कृष्ण कार्की र विक्रम सोबले २ विकेट लिए । खेलको म्यान अफ दि म्याचबाट पुष्प थापा पुरष्कृत भए । यस्तै दोस्रो खेल जारी छ । अहिले धनगढीको टिम चौराह र सीवाइसी अत्तरियाविच भइरहेको छ । अत्तरिया अहिले ब्याटिङ गरि रहेको छ ।

बजारमा आए दुई नयाँ नेपाली बियर

काठमाडौं, चैत २९ । बियरप्रेमीहरुका लागि दुई नयाँ बियरको स्वाद लिने अवसर पाइने भएको छ । यति ब्रुअरीले यसै सातादेखि बजारमा नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियर ल्याएको हो । अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पब्हरुमा सर्वत्र उपलब्ध हुने कम्पनीले जनाएको छ । बियरमा क्यालोरी बढी हुने भएकोले मोटाइन्छ या भूँडी बढ्छ भन्ने मान्यता रहेपनि अर्ना लाइट बियर भने नेपालको पहिलो र एकमात्र कम कम क्यालोरी भएको बियर भएको कम्पनीले दावी गरेको छ । स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५% सम्म बढि समयको लागि “ब्रिउ” गरिएको यति बु्रअरीले जनाएको छ । अर्ना लाइटमा क्यालोरी २०% र कार्ब ३४% कम रहेको कप्मनीका जेनेरल म्यानेजर (सेल्स् तथा मार्केटिङ्ग), अरुण के.सी. ले बताए । “चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने उनले जनाए । अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो र यी बियरहरुमा ६५० मि.लि. बोतलमा क्रमशः ४.६% र ६.५% अल्कोहल रहेको छ ।

लौ नाम निकाल्ने गरी दौडिनु है !

धादिङको मलेखुमा म्यादी प्रहरीमा भर्नाका लागि परीक्षा दिँदै महिलाहरू । यहाँ महिलाको उल्लेख्य सहभागिता रहेको छ । तस्बिर : सीताराम अधिकारी, मलेखु (धादिङ)

चितुवाको आक्रमणबाट मोरङमा दुई घाइते

पथरी (मोरङ),  चैत १८ । मोरङको पथरी शनिश्चरे–५ मा बिहीबार बेलुका चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा पथरी शनिश्चरे–५ का ३५ वर्षीय अनिल धिमाल र सोही ठाउँका २२ वर्षीय पवन ऋषिदेव हुनुहुन्छ । साँझ ५ बजेतिर स्थानीयवासी योगेन्द्र थापाले लगाएको टिकको नर्सरी बारीमा काम गर्दै गरेका अनिललाई चितुवाले आक्रमण गरेपछि हेर्न भनी जानुभएका पवनलाई समेत आक्रमण गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीको भनाइ छ । उहाँहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीको भनाइ छ । रासस

एसीसी इमर्जिङ कपः बंगलादेशद्वारा नेपाल ८३ रनले पराजित

ढाका, चैत १५ । एसीसी इमर्जिङ कपमा नेपाल ८३ रनले पराजित भएको छ । मंगलबार कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर बंगलादेशको यू–२३ले बनाएको २५७ रनको चुनौति पछ्याएको नेपाल ४२ दशमलब ३ बलमा अलआउट हुँदै १७४ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्रसिंह एेरीले सर्वाधिक ५६ रन बनाए । बंगलादेशसँग पनि नेपालको ओपनिङ चल्न सकेन । मात्र १६ रन जोड्दा ३ विकेट गुमाएको नेपालको पारी दिलिपनाथ र दिपेन्द्रसिंह ऐरीले उकासेका थिए । तर, ३० औं ओभरमा चौथो विकेटका रुपमा दिलिपनाथ ४१ रनमा आउट भएपछि फेरि नेपालको व्याटिङ धर्मराएको थियो । त्यसपछि नेपालले लगातार विकेट गुमायो । अाक्रामक व्याटिङ गरेका बिनोद भण्डारीले ३३ रन बनाए । उनले २३ बलमा एक छक्का र छ चौका मद्दतमा उक्त योगफल बनाएपनि जीतका लागि प्रयाप्त भएन । आरिफ शेख १२ रन बनाइ पवेलियन फर्के । नेपालका अन्य कुनै पनि ब्याट्सम्यानले १५ रनको आँकडा कटाउन सकेनन् । शरद भेषाकवर २, सुनिल धमला १ रनमा आउट भए भने कप्तान ज्ञानेन्द्र मल्लले १ रन बनाए । बंगलादेशका रहतुल फेर्दश जावेदले सर्वाधिक ४ विकेट लिए । मोहम्मद सैफुदिनले तीन विकेट लिए । नेपालका ६ जना व्याट्स्म्यान क्याच अाउट भएका थिए । टस हारेर व्याटिङ गरेको बंगलादेशले नासिर हुसैनको अविजित १०९ रनको मद्दतले २५७ रन बनाएको थियो । नेपालका बलर अभिनाश कर्णले बंगलादेशका प्रारम्भिक ब्याट्स्म्यानलाई सुरुवाती तीन विकेट लिएपनि त्यसपछि बंगलादेशको इनिङ्स कप्तान मोमिनुल हक र नासिर हुसेनले उकासेका थिए । नारिस सर्वाधिक १०९ रनमा अविजित रहे भने कप्तान हकले ६१ रन बनाए । राष्ट्रिय टोलीका अनुभवी ब्याट्सम्यान नासिर हुसेन र हकले पाँचौ विकेटका लागि ७८ रनको साझेदारी गर्दै बंगलादेशलाई गतिलो आधार तयार पारेका थिए । नवौं विकेटका लागि हुसेनले अबुल हसन राजुसँग ५५ वलमा ७६ रनको साझेदारी गरेका थिए । राजु २९ रनमा आउट भए । नेपाल अाइतबार पनि पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले हङ्कङसँग अर्को खेल खेल्नेछ ।

बंगलादेशविरुद्ध नेपालको कसिलो बलिङ, १० ओभरमा ४ विकेट पतन

 ढाका, चैत १५ । एशियन क्रिकेट काउन्सिल इमर्जिङ कप अन्तर्गत नेपाल र बंगलादेशको खेल शुरु भएको छ । कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको थियो । सोमबार पाकिस्तानसँग हार बेहोरेको नेपाली टोलीले घरेलु टोली बंगलादेशविरुद्ध निकै कसिलो बलिङ गरिरहेको छ । १० ओभर पुरा हुँदासम्म बंगलादेशले ४ विकेटको क्षतिमा जम्मा ३३ रन बटुलेको छ । नेपालका तर्फबाट दोश्रो ओभरमा अभिनास कर्णले ३ विकेट लिएपछि बंगालदेश टीम संकटमा परेको हो । नवौं ओभरमा मोहम्मद आलमले चौथो विकेट लिएका छन् । नेपाल सोमबार सम्पन्न पहिलो खेलमा भने पाकिस्तानको २३ वर्ष मुनिको टोलीसँग ६ विकेटले पराजित भएको थियो । नेपालका लागि दबाबपूर्ण अवस्था रहेपनि टस जितेर बलिङ रोजेका नेपाली टीमको शुरुआती प्रदर्शनले आजको खेल नेपालको पोल्टामा पर्ने संकेत देखिएको छ । सोमबार भने नेपालले सोही कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ्ग गरेर निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४५ ओभर १ बलमा ४ विकेटको क्षतिमा विजय लक्ष्य हासिल गरेको थियो । फाइल तस्वीर

एसिसी इमर्जिङ कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

चैत १४ । बङ्गलादेशमा आयोजित एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ८१ रनको लक्ष्य दिएको थियो । पाकिस्तानको २३ वर्षमुनिको सो टिमले ४५ ओभर १ बलमा ४ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । पाकिस्तानका लागि इमाम उलहकले सतक बनाए । १ सय ३५ बलका खेलेका उनले ९ चौकाको मद्धतमा अभिजित १ सय ४ रन बनाए । नेपालका ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुई दुई विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । नेपालका लागि सुनिल धमलाले १ सय २५ बलमा ४३, शरद भेषवाकरले ५९ बलमा ३८, विनोद भण्डारीले ३२ रनमा २४ तथा आरिफ शेखले ३० बलमा नटआउट १८ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरीले २९ बलमा १४, सागर पुनले चार बलमा चार, सुसन भारीले पाँच बलमा तीन तथा कप्तान ज्ञानेन्द्र मल्लले १८ बलमा दुई रन बनाएका थिए । पाकिस्तानका गुलाम मुदास्सारले पाँच, ओसामा मिरले दुई तथा बिलाल आसिफ र जाफर गोहरले एक एक विकेट लिए । खेल तालिकानुसार नेपाल, आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ समूह ‘बी’ मा रहेका छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् । दोस्रो खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ ।

तस्वीरमा हेर्नुस् प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेट

बेइजिङ, चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । सोमबार अपरान्ह वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्धानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । prachanda-xi jing 5 prachanda-xi ping prachanda-xi jing 4 prachanda-xi jing-2 prachanda-xi jing ping-1 उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका एक जना स्वकीय सचिव रहेका छन् । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए । चीनको हेनानमा भएको बोअाअो फोरममा विशेष बक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री चैत १० गते चीन गएका हुन् । तस्वीरहरु:एभरेष्टदैनिक/ कपीराइट

किन मनाईन्छ घोडेजात्रा?

काठमाडौँ,  चैत १४ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो । चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “विशेषगरी बालबालिकालाई किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्थ्यो, घना बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको छ”– उहाँले भन्नुभयो । पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालिमाटी क्षेत्रका मानिससमेत स्युचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौँवासी बताउँछन् । घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । यो पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आजका दिन सार्वजनिक बिदासमेत दिने गर्छ । रासस

सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिन सुझाव

काठमाडौं, चैत १४ । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई तत्काल पक्राउ पुर्जी जारी गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिएको छ । सशस्त्र प्रहरी नियमावली संशोधनले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिएपछि विवाद उत्पन्न भएको थियो । समितिले डेढ वर्ष लामो अध्ययनपछि तत्काल अधिकार नदिन सुझाव दिएको हो । २०७२ भदौ ५ गते राज्य व्यवस्था उपसमिति बनाएर अध्ययन थालिएको थियो । उपसमितिले आइतवार समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो । त्यस प्रतिवेदनलाई समितिले आइतवार नै पारित गरेको छ । उपसमिति संयोजक सांसद् मानप्रसाद खत्रीले तत्काललाई हालकै व्यवस्थाअनुसार काम गर्न सुझाव दिइएको बताए । ‘पक्राउ पुर्जी प्रहरीभन्दा पनि नागरिकको अधिकार हो, नियमावली संशोधनकै भरमा पक्राउ पुर्जी दिन सकिन्न, अधिकार दिने नै भएमा मन्त्रालयगत समन्वय गरी ऐनको व्यवस्था परिमार्जन गर्न सुझाव हाम्रो छ’, खत्रीले भने, ‘हाललाई भने प्रचलित व्यवस्थाअनुसार अधिकार क्षेत्र उपयोग गर्न सुझाव दिएका छौँ । ’ सशस्त्रलाई कस्तो अधिकार दिने भन्ने विषय नियमावलीमा नभई ऐनमा नै व्यवस्था गर्न समितिले सरकारलाई सुझाव दिएको छ । यस्तै, दुई प्रहरी सङ्गठनबीच समन्वयात्मक भूमिका स्थापना गर्न पनि सुझाव दिएको छ । समितिले सशस्त्र प्रहरी बलको अधिकार सरकारी मुद्दासम्बन्धी ऐनको व्यवस्थामा प्रतिकूल नहुने गरी व्यवस्था गर्न पनि सुझाव दिएको छ । समितिबाट पारित प्रतिवेदनले अधिकार क्षेत्र विवाद हुँदा सार्वजनिक सुरक्षामा नै असर पर्ने भएकाले समन्वयात्मक भूमिका खेल्न सरकारलाई सुझाव दिएको छ । सशस्त्र प्रहरी बलको गठन अनुसारको अधिकार क्षेत्रमा रहन समितिले सरकारलाई सचेत गराएको छ । पारित प्रतिवेदनमा भनिएको छ ‘जुन उद्देश्यका साथ सशस्त्र प्रहरी बल गठन भएको हो, सशस्त्र प्रहरी बलको अधिकार क्षेत्र पनि सोही अनुरूप हुनुपर्दछ । सुरक्षा निकाय अन्तर्गतकै एउटा निकायले गरिआएको काम कारबाही अर्को सङ्गठनको संलग्नताले दुई सुरक्षा निकायबीच मतमतान्तर हुने नै देखिन्छ । जसकारण शान्ति सुरक्षा व्यवस्थापनमा समेत बाधा अवरोध आउने देखिन्छ । ’ सरकारले २०७२ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी अधिकार दिने गरी नियमावलीमा संशोधन गरेको थियो । सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २४ ले आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ गरेमा यथाशक्य चाँडो अन्य प्रहरीलाई सुम्पने व्यवस्था गरेको छ । तर, ऐन संशोधन नगरी सरकारले नियमावलीमा यस्तो व्यवस्था गरेको थियो । नियमावली परिमार्जनले दुई प्रहरी सङ्गठनबीच विवाद भएको थियो । समितिले अध्ययनका क्रममा नेपाल प्रहरी, मानव अधिकार आयोग, महान्यायाधिवक्ता लगायतसँग परामर्श गरेको थियो । छलफलमा नेपाल प्रहरीले अधिकार दिन नमिल्ने सुझाव दिएको थियो । सशस्त्रले भने पक्राउ पूर्जी अभावमा अभियुक्त छुटकारा पाउने भएकाले अधिकार पाउनुपर्ने माग गरेको थियो । विश्वका केही देशमा सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिइएको सशस्त्रको दाबी थियो । यस्तै, मानव अधिकार आयोगले सशस्त्र प्रहरी बल गठन ऐनको व्यवस्था विपरीत भएकाले दिन नमिल्ने राय दिएको थियो । महान्यायाधिवक्ता कार्यालयले पनि सशस्त्रलाई पक्राउ पुर्जी दिने व्यवस्था नगर्न सुझाव दिएको थियो । नेपाल बार एसोसिएसनले भने सशस्त्रलाई पक्राउको अधिकार दिएकाले पुर्जी थमाउने अधिकार दिन मिल्ने सुझाव दिएको थियो । बारले सशस्त्र प्रहरी बलको जाहेरीले नेपाल सरकार बादी रहने गरी मुद्दाको प्रक्रिया अघि बढाउन सकिनेसमेत सुझाव दिएको थियो । यो खबर आजको गोरखापत्रमा छ ।