वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घट्याे

काठमाडौं । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो ।

असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा २७ साउनसम्ममा ४४ खर्ब २१ अर्ब मात्र बाँकी छ । निक्षेपमा सवा खर्ब बेपत्ता हुँदा कर्जामा भने असार मसान्तजतिकै रहेको छ । असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा साउन अन्तिम सातासम्ममा पनि ४१ खर्ब ७५ अर्ब नै निक्षेप रहेको छ ।

नेपाल बैंकर्स संघका अनुसार पछिल्ला दिन बैंकिङ सिस्टमबाट निक्षेप घटिरहेको छ । निक्षेप घटे पनि कर्जा प्रवाह भने बढेको छ । एक सातालाई मात्र हिसाब गर्ने हो भने वाणिज्य बैंकमा अघिल्लो साता निक्षेप २५ अर्ब ५९ करोड रुपैयाँ घटेको छ । २० साउनसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ४६ अर्ब निक्षेप रहेकोमा २७ साउनमा घटेर ४४ खर्ब २१ अर्ब कायम भएको छ ।

एक महिनामा ठूलो मात्रामा निक्षेप रकम बाहिरिएकाले यसले बैंकहरूमा तरलता समस्या निम्तिने जोखिम बढ्न थालेको छ । साउन पहिलो साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौथो साता २५ अर्ब निक्षेप घटेको देखिएको छ । यो चार साताको अवधिमा बैंकहरूको कर्जा प्रवाह भने स्थिर छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

नागरिकता विधेयकबारे राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्‍ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने समयसीमा मंगलबार सम्म रहेको हो । कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्‍ने लागेमा राष्ट्रपतिले विधेयक आएको १५ दिनभित्र संसदमा नै पठाउन सक्ने संवैधानिक प्रावधानका कारण मंगलबारसम्मको समयसीमा राष्ट्रपति भण्डारीलाई छ । संविधानको धारा ११३ (३) मा, ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देशसहित उत्पति भएको विधेयक सदनमा फिर्ता पठाउने छ’ भन्ने कारण पनि राष्ट्रपति भण्डारी मंगलबारभन्दा पछि विधेयक रोक्न सक्ने संवैधानिक वा कानुनी अधिकार देखिदैन । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सो विधेयकका बारेमा अध्ययन भइरहेको जनाएका छन् । ‘नागरिकता विधेयकका बारेमा राष्ट्रपतिले अध्ययन गरिरहनु भएको छ, कुनै पनि निर्णय भइसकेको छैन,’ ढकालले भने । प्रतिनिधिसभाबाट हालै पारित भएको नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समय सीमाको कुनै बन्देज नलगाई वैवाहिक अंगीकृत नागरिकता पाउन सक्ने खुकुलो प्रावधान राखिएको भन्दै विरोध भइरहेको छ । मुख्यतः सो प्रावधानप्रति आपत्ति जनाउँदै विधेयक प्रमाणीकरण नगर्न विभिन्‍न राजनीतिक दल र संघ संस्थाले राष्ट्रपति भण्डारीमाथि चौतर्फी दबाब दिइरहेका बेलामा नागरिकता विधेयक प्रमाणीकरणमा थप अन्योलमा परेको हो । सभामुख सापकोटाले १५ साउनमा सो विधेयक प्रमाणीकरण गरेपछि संघीय संसदको विधेयक शाखाले १६ साउनमा राष्ट्रपति कार्यालय शितल निवासलाई जानकारी गराएको संसद सचिवालयका एक अधिकृतले बताए । जसअनुसार पनि मंगलबारसम्म राष्ट्रपति भण्डारीले सो विधेयकका बारेमा निर्णय लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणीकरण नगरी संसदमा पुनः फिर्ता गरेमा संसदले संशोधनसहित पारित गर्न सक्ने वा ठाउँ भने अझै विद्यमान छ । सोही धाराको (४) मा, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रुपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिन भित्रमा राष्ट्रपतिले प्रमाणीकरण गर्ने’ उल्लेख भएकाले सदनलाई पुनर्विचार गर्ने अधिकार संविधानले दिएको छ ।

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेलमार्फत २५३, वेबसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौडामा ८५, इटहरीमा ९४ र आयोगको मुख्य कार्यालय टङ्गालमा ७९४ उजुरी परेको थियो । आयोगले चालु आर्थिक वर्षको २० दिनमा घुस मागेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक उप–सचिव र दुई अधिकृत छन् । यही साउन १ देखि साउन २० गतेसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गाल तथा त्यस मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साउन १८ गते आन्तरिक राजस्व कार्यालय, महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई आयोगको टोलीले घुससहित पक्राउ गरेको हो । प्रधानले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग रु तीस हजार घुस मागेको उजुरी परेपछि आयोग टोलीले रकमसहित उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । यस्तै साउन १८ गते सेवाग्राहीबाट घुस बापत लिएको रु ६ लाखसहित र स्रोत नखुलेको रु १६ लाख ५० हजारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पक्राउ परे । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटलबाट घुसबापतको रकमसहित नियन्त्रणमा लिएको थियो । त्यससम्बन्धी अनुसन्धान अघि बढेको प्रवक्ता भण्डारीले बताए । त्यस्तै चालु आवकै पहिलो दिन साउन १ गते कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई कञ्चनपुरस्थित आयोगको टोलीले रु ३० हजार घुससहित पक्राउ गर्यो । घोडाघोडी नगरपालिका–१ स्थित नवरत्न होटलबाट सेवाग्राहीको ३० हजार घुसबापतको रकमसहित उनी पक्राउ परेका थिए । सेवाग्राहीको रकम भुक्तानी दिने क्रममा रु ३० हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । आयोगले आव २०७८÷७९ मा भ्रष्टाचार भएको भन्दै १३१ आरोपपत्र विषेश अदालतमा दायर गरेको थियो । सार्वजनिक निकायमा हुने भ्रष्टाचारको उजुरीको आधारमा आयोगले अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो । चालु आर्थिक वर्षको साउन २० गते भित्रमा आयोगले छ आरोपपत्र दायर गरेको छ ।- रासस

सभामुख सापकोटा र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको थियो । सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे। नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं बर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे। उनले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे। सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्याएको र नयाँ अध्यायको सुरुवात गरेको बताए। दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाई थियो । भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यस विरुद्ध जुधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राखे। ‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नु पर्छ’ सभामुख सापकोटाले भने । उनले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको बताउँदै दुबै देशका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने धारणा राखे । सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान निकै चिन्तित रहेको बताउँदै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गर्न चाहेको बताए । सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे। लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राखे। जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्नेमा जोड दिए ।

कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ पदाधिकारीले आज दिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा शीर्ष नेता एवं पदाधिकारीहरूले जवाफ दिने कार्यतालिका रहेको जनाइएको छ । यसअघि बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीकै नेतामाथि प्रश्न उठाएर जवाफ माग गरेका थिए । उनीहरुले समसामयिक राजनीतिक विषयमा आफ्नो मत राख् राखेका थिए । पार्टीभित्रै केही नेता लोकप्रिय हुनका लागि पार्टी नेतृत्वकै आलोचना गर्ने गरेको र गुटको भेलामा सहभागी भएको केन्द्रीय सदस्यहरुले अलोचना गरेका थिए । खासगरी पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका अभिव्यक्तिहरु सरकारमा सहभागी कांग्रेस मन्त्रीहरुको भूमिका तथा काम–कारबाहीबारे प्रश्न उठाएका थिए । अघिल्लो बैठकमा उठेका प्रश्नको जवाफसहित आजको बैठकमा पदाधिकारीहरुले आफ्ना धारणा राख्नेछन् ।

टिचिङमा राष्ट्रपतिको भ्रमण: आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न उर्दी

काठमाडौँ, राष्ट्र्रपति विद्यादेवी भण्डारी सार्वजनिक कार्यक्रममा जाने बेला सर्वसाधारणले दु:ख पाउने विषय बेलाबखत चर्चामा आइरहने बेला यसपटक भने अस्पतालकै सेवा प्रभावित हुनेगरी भ्रमणकाे तयारी भएकाे छ । यसपटक उनी शिक्षण अस्पताल जाने कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न उर्दी जारी गरेको छ । यससम्बन्धमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा आईओएमकी डिन दिव्या सिंह शाहले शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई पत्र काट्दै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको एक प्राध्यापकले बताएकाे उल्लेख छ । समाचार अनुसार आईओएमको ५० औं वार्षिकोत्सव समारोह आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुँदै छ । राष्ट्रपति आउने कार्यक्रमका कारण सेवा बन्द गर्ने निर्णयलाई लिएर अस्पतालकै चिकित्सकले नै असन्तुष्टि जनाएका छन् । दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा लिने अस्पताल वार्षिकोत्सवको बहानामा बन्द गर्न नहुने उनीहरूको भनाइ छ । ‘वार्षिकोत्सव सार्वजनिक बिदा होइन, अस्पतालको सेवा किन बन्द गर्ने ?,’ एक कर्मचारीले भने । त्रिवि शिक्षण अस्पतालको ४० औं वार्षिकोत्सव भने शुक्रबार त्रिवि उपकुलपतिसहित पदाधिकारीको उपस्थितिमा मनाइएको छ । आईओएमको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रपतिको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो । अस्पतालजस्तो संवेदनशील संस्था बन्द गर्न डिन शाहले आफूखुसी निर्णय लिएको प्राध्यापकहरू बताउँछन् । ‘मेची–महाकालीदेखि आउने बिरामी अस्पताल बन्द हुँदा मर्कामा पर्छन्, यसमा ध्यान पुग्न सकेन,’ एक चिकित्सकले भने । अस्पतालमा सातामा ६ दिन ओपीडी सेवा सञ्चालन हुन्छ । सार्वजनिक बिदाको दिनमा समेत बिहान ओपीडी चल्दै आएको छ । बिहान र दिउँसो दुई सिफ्टमा सेवा दिने गरिएको छ । कान्तिपुर दैनिककाे समाचारमा अगाडि उल्लेख गरिएकाे छ: त्रिविका पूर्वउपकुपति केदारभक्त माथेमाले कुनै पनि बहानामा शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत संवेदनशील क्षेत्रका सेवा बन्द गर्न नहुने बताए । ‘बिरामी छाडेर डाक्टर औपचारिक कार्यक्रममा जानु हुँदैन,’ उनले भने, ‘प्रशासनिक पदका मान्छे गए हुन्छ, सेवा बन्द गर्ने कुरा ठीक होइन ।’ सेवा बन्द गर्ने आईओएमको निर्णय अनुचित भएको माथेमाले बताए । ‘नेपाल वायु सेवा निगमको कार्यक्रम भयो भने पाइलटलाई उडान बन्द गरेर आउनु भन्न मिल्छ ?’ उनले भने, ‘पाइलटहरूको मुख्य काम यात्रुलाई गन्तव्यमा पुर्‍याउनु हो । कसैलाई पनि आफ्नो प्रमुख ड्युटी छाडेर, सभा/समारोहमा जानु पदीय जिम्मेवारीले दिँदैन ।’ आईओएमका पूर्वप्राध्यापक डा. गोविन्द केसीले वार्षिकोत्सव मनाउने नाममा उपचार सेवा नै बन्द गर्नु गलत गरेको टिप्पणी गरे । ‘यो त राष्ट्रपतिले पनि बुझ्नुपर्ने हो, अस्पताल बन्द भए बिरामीले दुःख पाउँछन्,’ उनले भने, ‘निर्णय सच्याउन त्रिवि पदाधिकारीलाई म आग्रह गर्छु ।’ २/३ घण्टा हुने कार्यक्रमका लागि सेवा नै बन्द गर्नु उचित नभएको उनले बताए । शिक्षण अस्पतालकै एक वरिष्ठ चिकित्सकले राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अस्पताल, शिक्षण संस्था बन्द गर्ने गलत संस्कार परिवर्तन हुन नसक्दा पटकपटक बिदा दिने घोषणा दोहोरिने गरेको बताए । ‘लोकतान्त्रिक गणतन्त्र आए पनि संस्कार परिवर्तन हुन सकेन, पहिले राष्ट्रपति सडकमा निस्कनासाथ गाडी बन्द गरिन्थ्यो, अहिले यो हट्दै गएको छ,’ उनले थपे, ‘नागरिकले पाउने सेवा अवरुद्ध हुनुलाई सकारात्मक रूपमा लिन सकिन्न, यस्तो मानसिकता रूपान्तरण हुन आवश्यक छ ।’ आकस्मिक सेवामा आएका बिरामीलाई कतिपय अवस्थामा ओपीडीमा लैजानुपर्ने हुन सक्ने उनले सुनाए । डिन शाहले भने उक्त दिन बिहानको सिफ्टमा सेवा सञ्चालन गर्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिइसकेको बताइन् । ‘पत्र तयार पार्दा राष्ट्रपतिको समय कुन बेला भन्ने मिलिसकेको थिएन, अब दिउँसोमा कार्यक्रम हुने भयो, बिहान ओपीडी चल्छ, दिउँसो मात्रै बन्द हुन्छ,’ उनले भनिन् । अस्पतालका प्रशासकीय प्रमुख वैकुण्ठ थपलियाले आधा सेवा मात्रै बन्द हुने दाबी गरे । ‘सबै सेवा बन्द हुँदैन, पत्र बनाउँदा अलिकति गल्ती भएछ, साढे १२ बजेसम्म सेवा सञ्चालन हुन्छ, त्यसपछि बन्द गरिन्छ,’ उनले भने, ‘बिरामीलाई डाक्टरले भेट्ने समय दिएको हुन्छ, जाँच गर्न समय लिएर बसेका बिरामी हुन्छन्, एक्कासि सबै सेवा बन्द गर्न हुँदैन भनेर निर्णय पुनर्विचार गरिएको हो ।’

भरतपुर महानगरद्धारा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति वितरण

चितवन । भरतपुर महानगरपालिकाले वार्षिक कार्यक्रम अनुसार प्राविधिक उच्च शिक्षा स्नातक र स्नाकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ । शुक्रबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा चेक विद्यार्थी एवम् अभिभावकलाई हस्तान्तरण गरेका हुन्। छात्रवृति कार्यक्रममा छनोट भएका छात्रछात्राहरुले एक वर्षको लागि १० हजार रुपैयाँ पाएका छन् । महानगरले छात्रवृति पाउन पाँच वटा सीमा निर्धारण गरेको थियो । छात्रवृत्ति पाउन अपाङगता, लोपोन्मुख, अतिसिमान्तकृत, दलित तथा सहिद परिवारका विद्यार्थी हुनुपर्ने प्रवाधान थियो । यस अन्तरगत नगर विकास योजनाको आर्थिक वर्ष ०७८÷०७९ स्वीकृत वार्षिक कार्यक्रममा भरतपुर महानगरपालिकाभित्र स्थाई बसोबास गर्ने ८ जना विद्यार्थी छनोट भई छात्रवृति पाएका छन् । महानगरले प्रमाणपत्र तहमा ६ सय ९२ जना विद्यार्थीहरुलाई छात्रवृति दिदै आइरहेको भएपनि यस वर्षदेखि उच्च शिक्षा अध्धयन गर्ने विद्यार्थीलाई लक्ष्ति गरी यो कार्यक्रम लागू गरिएको महानगर प्रमुख रेनु दाहालले बताए । भरतपुरको शिक्षा विकासलाई थप अगाडि बढाउन उच्च शिक्षा पढ्ने विद्यार्थीलाई प्रोत्सहान गर्न यो कार्यक्रम लागू गरिएको मेयर दाहालको भनाई छ । यो कार्यक्रम आगमी वर्ष पनि निरन्तरता पाउने मेयर दाहालले जानकारी दिए । महानगरपालिकाले यो छात्रवृति ५० जनालाई दिने व्यवस्था गरेपनि ८ जनाले मात्रै छनोट भएका छन् । यो पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई छात्रवृतिबारे जानकारी नभएको हुन सक्ने भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए । यस वर्ष छनोट भएकाले वर्षेनी नियमति क्याम्पसमा अध्ययन गरी रहेको कागजात बुझाएर छात्रवृति नविकरण गर्नु पर्ने प्रमुख पौडेलले जानकारी दिनुभयो । महानगरले आगामी वर्ष ५० जनालाई छात्रवृति दिने गरी कार्यविधि संशोधन गर्ने पनि जनाएको छ ।

पार्टी फुटाउन खोजेको भन्द बाबुराममाथि यादवको कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका ९ जना नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताए । बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा। भट्टराईसहित, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाह लगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उनले जानकारी दिए । कारबाहीमा पर्ने नेताहरुले पार्टीको हित विपरित काम गरेको, पार्टीको सिद्धान्त विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उनले आरोप लगाए । उनले भने, ‘अर्को पार्टी बन्ने निर्णय भइसकेपछि डा। बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी, भक्त बहादुर शाह लगायत ९ जना प्रमुख भुमिका खेल्नेहरुलाई पार्टीको हित विपरित, पार्टीको एकतालाई तोड्ने प्रयास गरेको र पार्टीको जुन घोषित लक्ष्य छ, उद्देश्य छ, सिद्धान्तका विपरित अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय समेत, नयाँ पार्टी स्थापना गर्ने भन्ने निर्णय समेत गरिसकेको अवस्थामा उहाँहरुलाई पार्टीमा सम्हालेका पद र सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । पदमुक्ति सँगै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’ अध्यक्ष यादवले सरकारले संसदमा पेश गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताए । उनले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पारे । जसपामा विवाद बढेपछि संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाडौंमा सम्पन्न गरेका थिए । यादव पक्षको यो निर्णय सँगै जसपा औपचारिक विभाजनको नजिक पुगेको छ ।

आज थप ५० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा संत्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ जना संक्रमित संक्रमणमुक्त हुँदा १ लाख ७८ हजार ७८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा संक्रमणबा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

संसदीय समितिले प्रधानमन्त्रीलाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने भएको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिको बैठकमा बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताउनुभएको थियो भने कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण आउन नसकेको भन्दै बचाउ गरेका थिए । लामो छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरेपछि कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाउँदै प्रधानमन्त्रीलाई फेरि बोलाउन सकिने, तर एक पटक नआउँदैमा लोकतन्त्र प्रतिकुल भन्न नहुने तर्क तर्क गरेका थिए । कांग्रेस सचेतक पुष्पा भुसाल, दिव्यराज भण्डारी लगायतले प्रधानमन्त्री अनुपस्थित हुनुलाई समितिकै अपमान भएको अर्थमा लिन नमिल्ने भन्दै प्रधानमन्त्री देउवाको बचाउ गरे। एमाले सांसद भीम रावलले प्रधानमन्त्री अनुपस्थित भएकोप्रति खेद प्रस्ताव नै पारित गर्न माग गरे । उनले आफूहरुले एसपीपीबारे प्रधानमन्त्रीकै जवाफ माग गरेका बेला अनुपस्थित हुँदा आशंका उब्जिएको बताए। एमालेकै सांसद ईश्वर पोखरेलले एसपीपीलाई राजनीतिक शक्तिबीच जीतहारको विषय नबनाई तथ्यको खोजी गरी अब यसमा सामेल नहुने जानकारी अमेरिकालाई दिँदा हुने बताए । अमेरिकाको आईपीएस रिपोर्ट २०१९ प्रकाशित भएपछि नेपालमा सबै सजग भएको भन्दै उनले सरकारले अब एसपीपी अगाडि नबढाउने भनेर अमेरिकालाई प्रस्ट भनेमा समस्या समाधान हुने बताए।  

बलात्कार पीडितसँगै अनसन बसेका दुई जनाले ताेडे अनसन

काठमाडौंको बसन्तपुर डबलीमा बलात्कार पीडितसँगै अनसन बसेका दुई जनाले अनसन तोडेका छन्। अनसनकाे पाँचौं दिनमा पीडित युवतीका समर्थक जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन्। महोत्तरीको जलेश्वर नगरपालिका–८ की ती युवतीले आफूमाथि बलात्कार भएकाे तर पीडकलाइ अदालतले उन्मुक्ति दिएकाे भन्दै पाँचदिनदेखि अनसनमा बसेकी छिन । माइतीघरमा अनसन बसेका उनीहरुलाइ प्रहरीले बसन्तपुर लगेकाे थियाे । मंगलबार भेट्न पुगेका मानव अधिकारकर्मी मोहना अन्सारी तथा अनेरास्ववियुका नेताहरुसँग छलफलपछि आफूहरूले अनसन तोडेको उनीहरुले बताएका छन् । लामो समयदेखि आफ्नो न्यायको माग गर्दै विभिन्न निकायमा धाउँदा पनि नपाएपछि उनीहरु पाँच वटा माग राखेर अनसनमा बसेका हुन्। ‘महिला आयोग, मोहना अन्सारीलगायत आज भेट्न आउनुभएको थियो। अनेरास्ववियुको सदस्य पनि हुँ। इन्चार्ज माधव ढुंगेल, नविना लामा लगायत पनि आउनुभएको थियो। उहाँहरूले भोलि संसदमा कुरा उठाउँछौं। तर तिमी यहाँ बसेर भएन। वार्तामा जाँदा हामीलाई अप्ठ्यारो हुने भयो, असहज भयो,’ उनले भनिन्,‘आफैं संयोजक भएर आउँछौ भने वार्ता गर्न जान तयार हुन्छौं नत्र गर्दैनौं भनेको हुँदा तोडेको हुँ।’ २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा पीडित युवतीमाथि धनुषाको क्षिरेश्वर नगरपालिका-३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनको भनाइ छ। आफ्ना २१ महिने बच्चाको डिएनए जाँच हुनुपर्ने उनको माग छ। त्यस्तै चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने उनले माग गरेकी छन्। जिल्ला अदालत धनुषाले उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो। सो फैसलाविरूद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ। त्यस्तै, उनले शिवराजलाई पक्राउ गर्नुपर्ने, आफ्नो मुद्दालाई कमजोर बनाउने वकिल, प्रहरी र न्यायाधीशलाई कारबाही गर्नुपर्ने र आफ्नो बालकको हेरचाह, शिक्षा लगायतको जिम्मा सरकारले लिनुपर्ने माग राखेकी छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाेलायाे प्रधानमन्त्री देउवालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने अडान राखेका छन्– ‘विदेश भ्रमणमा कुनै पनि अनुचित कामहरू हुनुहुँदैन।’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेकोले प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताए । परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताउँदै उनले परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा उपस्थिति भएर वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनुपर्ने बताए। अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

अर्थमन्त्रीको राजीनामा मागेको भन्ने ‘नियोजित र षडयन्त्रपूर्ण’ हल्ला : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पारे ।   केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका’ समाचारहरू सार्वजनिक भएका थिए । तर, अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको राजीनामासँग जोडेर आएका कुनै पनि समाचार बदनाम गराउन फैलाएको अफवाह र षडयन्त्रबाहेक अरू केही नभएको भन्दै शर्मासँगको आइतबारको भेटमा पार्टी संगठनका बारेमा कुराकानी भएको प्रस्ट पारे । ‘अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षडयन्त्रबाहेक केही होइन’, बर्दियामा रहेका अध्यक्ष प्रचण्डले रातोपाटीको टेलिफोन कुराकानीमा भने,‘ अर्थमन्त्रीले पार्टीको नीति निर्देशनमै काम गरिरहनुभएको छ । अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति छैन ।’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टी र सरकारमा गएका मन्त्रीहरू बदनाम गर्न षड्यन्त्रपूर्वक ढङ्गले यस्ता हल्लाहरू चलाइएको हुनसक्ने बताए । ‘आइतबार म र अर्थमन्त्रीबीच पार्टी संगठन कसरी मजबुत बनाउने भन्ने विषयमा कुराकानी भएको हो । अर्थमन्त्रीले अहिले पार्टीको नीति अनुसार नै काम गरिरहनुभएको छ । पार्टीको नीति निर्देशनमै काम गरिरहेको मन्त्रीलाई हटाउनुपर्ने कुनै कारण पनि छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको भनाइ छ । उनले षडयन्त्रकारीहरूले फैलाएको हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । यसैबीच माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि अर्थमन्त्री हटाउनेबारे पार्टीभित्र कुनै छलफल नभएको बताए । ‘अर्थमन्त्री वा अरू कुनै मन्त्रीहरू फिर्ता बोलाउने भन्ने पार्टीमा छलफल नै भएको छैन, छलफल नै नभई कसरी यस्तो कुरा आयो रु’, नेता पुनले रातोपाटीसँग भने । माओवादी केन्द्रका अर्का नेता शक्ति बस्नेतले पनि अर्थमन्त्री फिर्ता बोलाउने भनेर आएको समाचारप्रति आश्चर्य व्यक्त गरे । उनले भने, ‘पार्टीमा यसबारे केही कुरा भएको छैन, एक्कासि कहाँबाट हल्ला आयो, मलाई पनि थाहा भएन’, बस्नेतको भनाइ छ । अर्का नेता गिरिराजमणि पोखरेलले पनि आफूलाई यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘म ५ दिनदेखि रेष्टमा छु, तर पार्टीमा यसबारे छलफल भएजस्तो मलाई लागेको छैन’, पोखरेलको भनाइ छ ।

ओलीसँग स्पष्टिकरण सोध्ने नैतिक आधार छैन, अनुशासनको डण्डा त केपीलाई लाग्नुपर्ने हो- घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गर्ने अनुशासन आयोगको निर्णयप्रति असन्तुष्टी जनाएका छन् । आयाेगकाे सिफारिसप्रति टिप्पणी गर्दै भुसालले पार्टीले पराजय भोगेको नैतिक जिम्मेवारी अध्यक्ष, सचिवालयमा रहेका सबै नेताले लिनुपर्ने भन्दै आफूलाई कारबाहीका लागि प्रस्टीकरण सोध्ने नैतिक धरातल नै नभएको बताएका छन् । ‘त्यो कारबाहीको सिफारिसको निर्णय विनाशकाले विपरीत बुद्धि हो भन्ने लाग्छ । त्यो स्पष्टीकरण सोध्ने नैतिक साहस र ग्राउन्ड ओलीसँग छ भन्ने मलाई लाग्दैन । किनभने स्पष्टीकरण त तिनीहरूलाई नै सोध्नुपर्ने हो । पार्टी यो तहमा पुग्दा अनुशासन त माथिबाट लाग्नुपर्ने हो । माथिको अध्यक्ष केपी ओली र उनको सचिवालयलाई लाग्छ, तर मलाई मात्र देखेको हो भने बेग्लै कुरा भयो । तर, यसबारे मैले अहिलेसम्म कुनै औपचारिक जानकारी पाएको छैन, जानकारी पाएँ भने बाँकी सबै कुरा बुझेपछि मात्रै प्रतिक्रिया जनाउँछु,’ भुसालले भनेका छन् ।  

रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु, २३ घाइते

भैरहवा । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरि अस्पताल पुर्याउने काम भएको बताए । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघिपनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुन सक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष ठाकुरको भेट

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटेका छन् । शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।   दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रीत हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाउनुभएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको झाले बताए । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारे बैठक बोलाइएको हो ।