स्वरोजगार सबै नागरिकलाई पेन्सन

काठमाडौं । जेठ १५ नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम कदम चाल्ने साथै मिटर व्याज पीडितका गुनासो पनि उचित रुपमा सम्बोधन गरिने उनले बताएका छन् ।

कामिरिताले तोडे २७औँ पटक सगरमाथा चढेर आफ्नै विश्व रेकर्ड

काठमाडौं । कामिरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै विश्व रेकर्ड तोडेका छन्। उनले बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका हुन्। सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए। सन् १९७० मा जन्मिएका शेर्पा सेभेन समिट ट्रेकका सिनियर गाइड हुन्। उनी सन् १९९२ मा सहयोगीका रुपमा सगरमाथा आरोहणमा जोडिएका थिए। उनले केटु, चोयु, लोत्से र मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन्।

सरकारको निर्देशनपछि टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

काठमाडौं । सरकारको निर्देशनपछि नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन। सो निर्देशपछि झण्डै लामो गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ । यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो । त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट एक सय ३५ रुपैयाँ लाग्ने गरेको थियो । त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ । त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।

४ वर्षदेखि मिटरब्याजीले कब्जा गरेको घरमा ताला फोडेर पसे पीडित

सर्लाही । सर्लाहीको हरिपुरमा मिटरब्याजी सुदखोरले चार वर्षदेखि कब्जा गरेको घरमा ताला फोडेर पीडित परिवार प्रवेश गरेका छन्। सदरमुकाम मलंगवाका सुदखोर रामस्वरुप रायले कब्जा गरेर अर्कै व्यक्तिलाई बिक्री गरेको घरमा ताला फोडेर सोमबार दिउँसो पीडित परिवार घरभित्र प्रवेश गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीको पहलमा पीडित परिवारलाई घरभित्र प्रवेश गराइएको हो । ऋण नतिरेको भन्दै सुदखोर रायले हरिपुर ५ मजुरवाकी जमिला खातुनको घर चार वर्षअघि नै कब्जा गरेका थिए। खातुनसँग कब्जा गरेको घर रायले स्थानीय कलिम अन्सारीलाई २० लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ। मिश्रका अनुसार केही वर्षअघि खातुनले घरायसी प्रयोजनका लागि रायसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्।दुई लाख रुपैयाँ ऋण दिँदा रायले ८ लाखको कागज बनाएका थिए। खातुन परिवारले त्यतिबेलै रायलाई ५० हजार रुपैयाँ बुझाइसकेका थिए। तर, रायले ८ लाख ऋण लिएको फर्जी कागजको बलमा खातुनको चारकोठे पक्की घर र ११ धुर जमिन कब्जा गरेर अर्कै व्यक्तिलाई २० लाख रुपैयाँमा बेचेपछि संघर्ष समितिले पीडितलाई न्याय दिन पहल गरेको मिश्रको भनाइ छ। सोमबार दिउँसो ठूलो समूहमा गएका महिलाहरुले घरको ताला फोडेर खातुन परिवारलाई आफ्नो घरमा प्रवेश गराएका हुन्। घरको ताला फोडेर मिटरब्याज पीडित खातुन परिवारलाई घरभित्र प्रवेश गराउने क्रममा सामान्य झडपसमेत भएको थियो। त्यस क्रममा अन्सारी परिवारलाई घरबाट निकालेर खातुन परिवारले आफ्ना सामान घरभित्र राखेको छ। आफ्ना सामान राखेपछि खातुन परिवारले घरको मूल ढोकामा ताला लगाएका छन्। प्रहरीका अनुसार अहिले पीडित पक्ष र घर किन्ने दुवै परिवारका सामान एउटै घरमा रहेको छ । मिटरब्याजी राय, घरधनी पीडित परिवार र घर किन्ने तीनै पक्षलाई एकठाउँमा राखेर हामी छलफल गर्ने र पीडितलाई न्याय दिन सहयोग गर्ने प्रहरीले जनाएको छ । सरकारले यसअघि नै मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिएर अध्यादेश जारी गरिसकेको छ । यससँगै मिटरब्याजीलाई कानुनी कारबाही गर्ने बाटो खुलिसकेको छ ।

अन्तर्वार्ता : राष्ट्रिय ललितकला प्रदर्शनी उत्सवका रुपमा लिएका छौं -उपकुलपति लामा

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का कार्यकारी संयोजक लालकाजी लामा हुनुहुन्छ । उहाँसँग नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गर्न लागेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सेरोफेरोमा रहेर गरिएको संक्षिप्त कुराकानीः हरेक वर्ष वैशाख २ गते राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै आएको थियो ? यस वर्ष तपाईंहरुले जेठ १५ गते गर्दै हुनुहुन्छ । यस वर्ष केही फरक हुँदैछ की ? प्रश्नको लागि धन्यवाद ! यस वर्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले समयतालिका फेरबदलका साथसाथै नयाँ कार्य गर्न गइरहेको छ । जसमा मुख्य गरी यस पटकको काठमाडांैं उपत्यकाका दुई स्थानमा कालकृतिहरुलाई प्रदर्शनीमा राखिने छ । ‘म, मेरो देश र मेरो सिर्जना’ थिम दिएर कलाकृतिलाई प्राज्ञिक र व्यवसायिक ढंगले क्युरेटिङ गर्ने योजना रहेको छ । जसको जिम्मेवारी प्राज्ञ कलाकार प्रदीप शाक्यले लिनुभएको छ । यो प्रदर्शनी प्रतियोगितात्मक भएको हुँदा विधागत रुपले राष्ट्रिय पुरस्कार बिजेता कलाकारलाई पुरस्कारका अलवा थप (ग्राण्ड) पनि उपलब्ध गराइने छ । त्यसैगरी प्रदर्शनीका बारेमा विषयमा केन्द्रित रहेर प्रकाशित लेखहरुमध्ये उत्कृष्ट पाँच लेखलाई पुरस्कृत गरिने योजना रहेको छ । यस्तै, कला विद्यार्थीलाई प्रदर्शनीका बारेमा प्रतियोगितात्मक समीक्षा लेखनसमेत गरिने तयारी छ । यसैगरी, कलाका विभिन्न पक्ष र सरोकारका विषयमा बहस हुने छ । जसले नेपाली कलाका विभिन्न आयामलाई बुझ्न अझ सघाउ पुग्ने आशा लिन सक्छौ । राष्ट्रिय ललितकला प्रदर्शनी कलाकारका लागि किन र कतिको महत्वपूर्ण छ ? राष्ट्रिय ललितकला प्रदर्शनी कलाकारको लागि मात्र नभइ राष्ट्रकै गौरवको कार्यक्रम हो । जसले नेपाली ललितकला क्षेत्रको विविध विधालाई समेटेर देशभरिबाट संकलन भएका कलाकृतिलाइ एकै स्थानबाट प्रदर्शनी र प्रवर्धन गर्ने कार्य गर्छ । यसबाट नेपाली कलाक्षेत्र र कलाकारलाई प्रत्यक्ष वा परोक्ष रुपले फाइदा पु¥याएको हुन्छ । एउटा कलाकारलाई आफ्नो कलाकुति राष्ट्रिय कला प्रदर्शनीमा प्रदर्शित हुने अवसर पाउनु वा पुरस्कृत हुन पाउने अवसर पक्कै पनि गर्वको विषय हो । यसरी नेपाली कलालाई समाजमा पु¥याउँदै कला र कलाकारलाई स्थापित गराउने कार्य अत्यन्तै महत्वपूर्ण छ । साथै नेपाली ललितकलाको अवस्था र विकासको स्थिति बुझ्न र यस क्षेत्रलाई जीवन्त बनाइराख्नसमेत प्रदर्शनीले अहम् भूमिका खेल्दछ । कला देशको समृद्धिको मापन गर्ने पक्ष पनि भएकाले यसको महत्व स्वभाविक रुपमा रहिआएको छ । प्रदर्शनी विधागत रुपमा कलाकारका लागि किन र कतिको महत्वपूर्ण छ ? मुख्यतः नयाँ तथा पुराना पुस्ताका कलाकारको सहभागिता कस्तो छ ? यस वर्ष नेपाली ललितकला प्रदर्शनीमा इतिहासकै सर्वाधिक कलाकार र कलाकृतिको विधागत सहभागिता रहेको छ । साथै अग्रज र युवापुस्ता दुवैको उल्लेख्य सहभागिता रहेको छ । युवापुस्तामा कलाप्रतिको जागरण र स्वभाविक रुपको प्रतिस्पर्धी भावनाको थप आकर्षण भएको पाएको छु । विशेषगरी समसामयिक विधामा युवा सहभागिता उल्लेख्य छ । नेपाली कलाका विभिन्न शैली र चिन्तनको एकै स्थलमा प्रदर्शनी हुने भएकाले यसको विधागत महत्व विशिष्ट रहेको छ । नेपालमा प्रचलित समसामयिक चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, परम्परागत चित्र तथा मूर्तिकला कला प्रदर्शनीमा रहने भएकाले पनि यसको महत्व सबै विधाका कलाकारमा रहेको छ । यसले एकै स्थानमा कलाका विभिन्न शैली र चिन्तनलाई बुझ्ने अवसर पनि प्रदान गर्दछ । नेपाली कला क्षेत्रमा संरक्षण, विकास र प्रवद्र्घनका लागि यस्ता प्रदर्शनीले कतिको महत्व राख्छ ? नेपाल ललितकला प्रदर्शनी भन्नेबित्तिकै यो ललितकलाकर्मीहरुको लागि पवित्र महोत्सव नै हो । जसले एउटै थलोमा विविध विधाका कलाकृति देखाउने, हेर्ने बुझने÷बुझाउने अवसर प्रदान गर्दछ । साथै कलाकृति संकलन गरी नेपाली कलालाई संरक्षण, प्रवद्र्घन र विकासमा हातेमालो गर्न एउटा सुअवसर पनि आम कलाप्रेमी, शुभचिन्तक, कलापाराखी, कला व्यवसायी आदिलाई एकै थलोमा लामबद्घ गर्ने यस्तो कार्यक्रमको महत्व अत्यन्तै गौरवपूर्ण छ । साथै नेपाली कलाकारको शैलीगत चिन्तन, सामाजिक दृष्टिकोण र कलागत गन्तव्यको अवस्थालाई नियाल्न र बुझ्नका लागि पनि यो प्रदर्शनी महत्व स्वभाविक रुपले रहेको छ । राष्ट्रिय रुपमा गर्ने प्रदर्शनीबाहेक प्रतिष्ठानले प्रदेश तथा स्थानीय तह स्तरीय केही कामहरु गर्ने योजना बनाएको छ की ? हो हामीले प्रदेश र स्थानीय तहसम्म केही नयाँ कार्य गर्ने अवधारणा पनि बनाएका छौँ । जसमा कला संग्रहालय, कलाग्राम, कला हव, कला पार्क लगायत प्रादेशिक कला प्रदर्शनी छन् । हुनत यस प्रतिष्ठानले गदै आएको राष्ट्रिय ललितकला प्रदर्शनीमा पनि प्रादेशिक प्रतिस्पर्धा र पुरस्कारको व्यवस्था निरन्तर चलिरहेकै छ । आगामी वर्षबाट भने प्रादेशिक रुपमै प्रदर्शनी र प्रतियोगिता गराइने योजना रहेको छ । अन्त्यमा, प्रदर्शनीको तयारी कस्तो भइरहेको छ ? राष्ट्रिय ललितकला प्रदर्शनीको महत्वपूर्ण कामहरु सकिसकेका छौं । हामीले बनाएको कार्यतालिका अनुसार नै काम अघि बढिरहेको छ । यही २०८० जेठ १५ गते उद्घाटन हुने ललितकला प्रदर्शनी जेठ ३० गतेसम्म चल्ने छ । उक्त प्रदर्शनी हेर्नका लागि हृदयदेखि नै सम्पूर्णमा स्वागत गर्न चाहन्छु । साथै आफ्ना साना नानीबाबुलाई समेत साथमा लिएर प्रदर्शनीको अवलोकन गरिदिनुहुन अनुरोध गर्दछु । प्रवेश निःशुल्क छ । धन्यवाद !

नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक आज सुरु हुने भएको छ। बंगलादेशको ढाकामा आज सह–सचिवस्तरीय बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर पनि छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ। भोलि सचिवस्तरीय बैठक बस्नेछ। परराष्ट्रमन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रकाबीच पनि विद्युत व्यापारको विषयमा छलफल भएको थियो । मन्त्री साउदले प्रधानमन्त्री शेख हसिनासँग नै विद्युत व्यापारका बारेमा छलफल गरेका थिए।

विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने

काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो। विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए । उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन्। “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ”, जारी सूचनामा भनिएको छ, “अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन।” यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो। यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ। उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ। यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० लागू गर्ने तयारी गरेको थियो। प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम रोकिएको थियो।

न्यायाधीश बिदामा बसेपछि सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ। आजका लागि इजलास नं १३ मा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेशी तोकिएको थियो। तर न्यायाधीश ढकाल बिदामा बसेका कारण सुनुवाइ नहुने भएको हो। मुद्दाको सुनुवाइ स्थगित गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए। यसअघि वैशाख ११ गते अढाई घण्टा बहस भएर पनि मुद्दाको फैसला हुन सकेको थिएन। जाहेरवालाका ५ कानुन व्यवसायीले बहस गरेपनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराख्ने भनेपछि फेरि सुरुबाटै सुनुवाइ हुने भएको हो।

मन्त्री बन्दै कांग्रेस नेता आचार्य, आजै शपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्दै छन् । उनलाई वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो । उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । उनको पद तथा गोपनीयताको शपथ पनि आजै दिउँसो साढे १२ बजेका लागि निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सरकार ढल्छ भन्नू भ्रम हो : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिले सरकार विघटन नहुने स्पष्ट पारे । उनले रास्वपाले सरकार माथिको समर्थन फिर्ता नलिने बताउँदै उहाँहरूलाई सरकारमा ल्याउने तयारी भैरहेको बताए । रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलवाट सहमतिमा पुग्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

पाँचथरमा पिकअप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

फिदिम । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आइतबार बिहान ८ बजे फालेलुङ–८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा चालक छवि अधिकारीसहित पाँच जना घाइते भएका छन् । पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । घाइते तीन जनालाई झापातर्फ रेफर उजले बताए । बाँकी दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । चालक छवि अधिकारी फालेलुङ गाउँपालिकाका– ८का वडा सदस्य पनि हुन्। प्रहरी प्रमुख खतिवडाले दुर्घटनाको कारण खुल्न नसकेको बताए ।

सुडान द्वन्द्व : ८५ जनाले ज्यान गुमाए, नेपाली सुरक्षाकर्मी सकुशल

काठमाडौं। सुडानमा जारी द्धन्द्धमा परि ८५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ द्धन्द्ध फैलदा शान्ति कार्यमा रहेका नेपालीको सुरक्षबारे चिन्ता थपिएको छ । अहिलेसम्मका विवरण अनुसार अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन्। त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । केही समयदेखि त्यहाँ फैलिएको हिसात्मक घटनामा परि हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका छन्। यसबीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरेका छन् । द्धन्द्धरत एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविराम गर्न भने मानिराखेका छैनन् । एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित राखेको जनाएको छ। सुडानमा अफ्रिका र अरब इस्लामिक संस्कृति, धर्म र जातिहरूको टकरावले ५० वर्षको देखि गृहयुद्ध भैरहेको छ ।

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । “मिति २०८०-०१-०८ देखि मिति २०८०-०१-१० सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त तीन दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने,” निर्णयमा उल्लेख छ । त्यस्तै, उपनिर्वाचन हुने जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको छ । वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदै छ ।

फोहोरबारे बालेनविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्कीले हेर्दै

काठमाडौं । देशका प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारलाई समेत विपक्षी बनाइ सोमबार हालेको रिटको पेशी आठौँ नम्बरमा छ। महानगरले चैत २६ गतेदेखि सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर उठाएको छैन। चैत २४ गते महानगरपालिकाले गौरिगाउँको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको थियो। बल प्रयोग गरेर बस्ती खाली गर्ने उद्देश्यले महानगरले गृह मन्त्रालयलाई अनुरोध गरे पनि गृहले बस्ती खाली गर्न सहयोग गरेको थिएन। त्यसको भोलिपल्ट मेयर बालेनले सामाजिक सञ्जालमार्फत केन्द्रले आफूहरूलाई असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। महानगरलाई केन्द्रले असहयोग गरेका १४ कारण दिँदै उनले फोहोर नउठाउने बताएका थिए।

होसमा आएनन् रविका गाडी चालक

काठमाडौं । शंकास्पद रूपमा तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको छ। अहिले पनि थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा.सुदीपराज केसीले जानकारी दिए। थापाले आज बिहान पिसाब फेरेपछि स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको डा. केसीले बताए। उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक दिलबहादुर थापा ‘शम्भु’ उनीसँगै सुतेका थिए। चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका रवि चुनावी अभियानमा रहेका बेला उक्त घटना भएको हो।

आजको मौसम : यस्तो छ देशभरको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।