विप्लव नेकपाका तत्कालीन सैन्य कमाण्डरसहित ८८ जना जसपामा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्डका तत्कालिन सैन्य कमाण्डर जीवन लामा (जिमी) सहितका ८८ जना नेताकार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जसपामा प्रवेश गर्नेमा कमाण्डर लामासहित ब्यूरो सदस्य प्रह्‍लाद फुयाल (जीवन), रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेता रहेका छन् ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिका अनुसार उनीहरू विप्वलको पार्टीमा रहँदा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लाका विभिन्‍न तहगत जिम्मेवारीमा रहेका नेताहरू हुन् ।

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्रोतका घिमिरेलाई मंगलबार कोरोना पोजिटिभ देखिएको हो । केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काेराेना उपचार सफलतामा नेपाल विश्वमै अगाडि !

काठमाडौं: राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन् । सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्। मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। संक्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ। केहीअघिसम्म निको हुनेभन्दा संक्रमित बढी थिए। असार १ गते १ हजार ४१ संक्रमित निको भई डिस्चार्ज भएका थिए। त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो। असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना संक्रमणपछि डिस्चार्ज भएका थिए। जब कि त्यस दिनसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ८९ थियो। कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना संक्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। ‘रोग प्रतिरोधात्मक क्षमता अति न्यून भएकाको मात्र कोरोनाका कारण ज्यान जाने सम्भावना देखिएको छ’, डा. राजभण्डारीले भने। साउन पहिलो साता पुग्दा भने कोरोना संक्रमणभन्दा डिस्चार्ज हुनेकै संख्या धेरै भइसकेको थियो। साउन १ गतेको विवरणअनुसार ६ हजार ५६ जना सक्रिय संख्या छ। त्यस अवधिमा ११ हजार २ सय ४९ जना निको भएका थिए। साउन १५ गते निको हुनेको संख्या १२ हजार ६ सय ८४ थियो। स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीका अनुसार असार २८ देखि सक्रिय संक्रमितभन्दा निको हुने दर बढेको हो। पीसीआर जाँचमा पोजेटिभ देखिएको र पोजिटिभ नै रहेको (निको नभइसको) अवस्थालाई सक्रिय केस भनिन्छ। डा. तिवारी भन्छन्, ‘सक्रिय केस पनि बढिरहेका छन्। कसरी घटाउने भन्ने सरकारको चुनौती हो।’ १६ हजार डिस्चार्ज प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ९ सय ४२ छ। प्रदेश २ बाट तीन हजार ३ सय २६ र बाग्मती प्रदेशबाट ६ सय। यसैगरी गण्डकी १ हजार ४ सय ४१ र प्रदेश ५ बाट चार हजार १ सय ७९ डिस्चार्ज छन्। कर्णाली प्रदेशमा १ हजार ८ सय ७ र सुदूरपश्चिममा ३ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन्। सातैवटा प्रदेशबाट १६ हजार ३ सय १३ जना निको भइसककेका छन्। मुलुकमा चार लाख ३५ हजार २ सय ८९ पीसीआर परीक्षण भएको छ। क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना छन्। शनिबार मुलुकभर उपचारका क्रममा रहेका संक्रमितको संख्या ६ हजार २ सय ६ छ। आजको अन्नपूर्ण पोष्टबाट

आज अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै

काठमाडौंः आज शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदैछ । प्रत्येक वर्ष अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस प्रायः मनाएको पाइँदैन तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ यो दिवस मनाउने गरेको पाइन्छ । अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । साथीभाइसँग जमघट र बियरको स्वाद लिने, बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने रबियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने उद्देश्यका कारण अन्तर्राष्ट्रिय बियर दिवस मनाइन्छ ।

सिरहामा कोरोना भाइरसको संक्रमणबाट एक युवकको मृत्यु

सिराहाः बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको छ । गत तीन वर्षदेखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो । ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले जानकारी दिए ।

पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलितको दुस्प्रचारमा नलाग्नुस्ः शर्मा

काठमाडौंः नेकपा नेता जनार्दन शर्माले पार्टी एकताको दुस्प्रचार गरिरहेको कुराप्रति भ्रममा नपर्न आग्रह गरेका छन् । साथै उनले पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपील गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर केहीले दुस्प्रचार गरिरहेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु ।’

खुल्यो सार्वजनिक यातायात, पालना गर्नुपर्नेछ यी ६ नियम

काठमाडौंः लकडाउनका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । कोरोनाबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने सरकारले निर्णय गरेको हो । सरकारको निर्णयअनुसार अब काठमाडौं उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीलाई खुला गरिएको छैन । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा यात्रु चढाउनुपर्ने छ । सिटको एउटा पङ्क्तिमा एक जना मात्र बस्न पाउने छन् । दुवै सिटमा यात्रु राख्न पाइने छैन । यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने ढोकामा सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ । चालक र सहचालकले मास्क र पन्जा लगाउनुपर्ने छ । दिनको एकपटक सवारीसाधनलाई निसङ्क्रमण गर्नुपर्ने छ । कोरोना भाइरसको बन्दाबन्दीको अवधि वा सवारीसाधनमा आधा यात्रु चढाउन्जेल ५० प्रतिशत भाडा वृद्धि गरेर लिन पाउने निर्णय भएको छ । सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गरेको छ । ट्याक्सीमा चालकसहित तीन जना यात्रु सवार गर्न पाइने र एकै परिवारका सदस्य भए पाँच जना यात्रा गर्न पाइनेछ ।

काठमाडौंमा सटर फोडेर सुनचाँदी चोर्ने गिरोह पक्राउ

काठमाडौं : काठमाडौंका विभिन्न सुनचाँदी पसलको सटर फोडेर चोरी गर्ने गिरोह पक्राउ परेको छ । मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरी काठमाण्डौ ल्याइएको छ । त्यस्तै, विक्रम भन्ने जङ्गबहादुर माझी दरबारमार्गबाट पक्राउ परेका छन् । उनीहरूले कागज, बोतल उठाउने हुलिया बनाएर पसलको निगरानी गर्ने अनि रातको समयमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । काठमाण्डौको लाजिम्पाटमा दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पसलबाट एक किलो १ सय ५० ग्राम बराबरका सुनका गरगहना, ८ किलो ५ सय ६० ग्राम बराबरका चाँदीका गरगहना र नगदसमेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अपराध महाशाखाले जनाएको छ ।

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

सप्तरीः श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट १ युवक आइतबार पक्राउ परेका छन् तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । आरोपित मण्डल र विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५-४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । विद्यालय प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदूरी गर्ने बालिकालाई आरोपितले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेका थिए । रात परेपछि नास्ता खान जोर जबर्जस्ती गरी सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितले बताएका छन् । रासस

प्रचण्डद्वारा ईदुल फित्रको शुभकामना व्यक्त

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा शुभकामना दिएका छन् । प्रचण्डद्वारा शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक रहेको र विविधता भित्रको एकता नै मौलिक विशेषता र पहिचान रहेको उल्लेख गरिएको छ । बहुधर्म र संस्कृतिले नै समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने प्रचण्डले बताएका छन् । सबैलाई कोरोनाविरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै प्रचण्डले ईदुल फित्र चाडको अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले ५० हजार सहयोग गर्ने

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए । त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिन्छः मुख्यमन्त्री भट्ट

डोटीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को सङ्क्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताएका छन् । रासससँग फोन संवाद गर्दै मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताएका हुन् । सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, ‘हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ ।’ फोन संवादकै क्रममा उनले अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गरे । मुख्यमन्त्री भट्टले थप भने, ‘लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।’ मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको उनले जानकारी गराए । मुख्यमन्त्री भट्टले घर आउन नपाएर भारतीय सीमा क्षेत्रमा रोकिएका नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा पहल भइरहेको जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीलाई आम नागरिकले सहयोग गर्न र पूर्ण पालना गर्नसमेत मुख्यमन्त्री भट्टले सबैमा आग्रह गरे ।

आरडिटी पोजेटिभ देखिएका ७ जनाको पीसीआर रिपोर्ट आयो

बझाङः आरडिटी पोजेटिभ देखिएका ७ जनाको पीसीआर रिर्पोट आएको छ । धनगढी प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा उनीहरूको रिर्पोट नेगेटिभ आएको हो । भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका बित्थडचिर गाउँपालिकाका ७ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले बताए । र्‍यापिड टेस्टमा पोजेटिभ देखाएका १३ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ ।

सप्तरीमा हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु

सप्तरीः सप्तरीमा हात्ती आक्रमणबाट १ जना महिलाको ज्यान गएको छ । आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ की ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । घरमा हात्ती प्रवेश गरेपछि जानकी श्रीमान् पेशलसँगै भोगेकी थिइन् । भाग्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको श्रीमान् पेशलले बताए । हात्ती आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि यसै अस्पतालमा राखिएको छ । हात्तीले २ जनाको घरसमेत भत्काइदिएको छ । लक्ष्मण मण्डल र बलराम ईसरको घर भत्काइदिएको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले मृतकको परिवारलाई तत्कालै किरिया खर्चवापत ५० हजार उपलब्ध गराउने र क्षतिपूर्तिवापत सरकारी पक्षबाट दिइने १० लाखका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा अबिलम्ब प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

‘लकडाउन’मा चैतली मेला सञ्‍चालन गरेको आरोपमा ४ वडाध्यक्षसहित ९ जना प्रक्राउ

चैनपुरः ‘लकडाउन’को उल्लंघन गर्दै बान्नीकी चैतली मेला सञ्‍चालन गरेको आरोपमा बझाङको छबिसपाथीभेरा गाउँपालिकाका ४ वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको छ । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा छबिसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराका अनुसार पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी रहेका छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराले बताए । पक्राउ परेका वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वतः स्फूर्त भेला भएको बताएका छन् । मेलामा स्थानीयहरुको भीड रोक्नका लागि प्रशासनले समेत सहयोग नगरेको उनीहरुको आरोप छ । यता लकडाउन उल्लंघनको अभियोगमा छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला लगायत केही व्यक्तिको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

के बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवक संक्रमित थिए ?

काठमाडौंः रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण थियो कि थिएन भन्ने कुरा आज (सोमबार) पुष्टि हुने भएको छ । उनको स्वाब (र्याल) परीक्षण गरिरहेको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले ती युवकको नुमना परीक्षणको क्रममा रहेको र आज नतिजा निस्किने बताइन् । चैत १३ देखि अस्पतालको आइसोलेसनमा उपचाररत ती ३४ वर्षीय युवकको आइतबार दिउँसो मृत्यु भएको हो । उनी दुबईबाट चैत ६ गते नेपाल आएका थिए । उनका अनुसार उनलाई अत्यधिक ज्वरो र खोकी थियो ।