‘लकडाउन’ सँगै मिर्गौलाका चार हजार ६ सय बिरामी समस्यामा

काठमाडौंः राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रित छ । देश लकडाउन छ, सर्वसाधारण घरघरमा ‘सेल्फ क्वारेन्टाइन’मा छन् । यो विषम परिस्थितिमा चार हजार ६ सय मिर्गौलाका बिरामी भने उपचार नपाएर छटपटाउन थालेका छन् ।

मिर्गौला डायलाइसिस गरेर बाँचिरहेका बिरामीको नियमित उपचार देश लकडाउनसँगै रोकिएको छ । सातामा दुईपटक डायलाइसिस गराउनुपर्ने उनीहरूको जीवन नै जोखिममा परेको छ । सार्वजनिक गाडी नचल्दा घरदेखि टाढा अस्पताल पुग्न सकेका छैनन् ।

पैसा खर्च गरेर एम्बुलेन्समा जान विपन्न रोगी असमर्थ छन् । कतै अस्पतालमै पर्याप्त उपकरण अभाव हुँदा डायलाइसिसमा समस्या छ । तर, प्रधानमन्त्री नै मिर्गौलारोगी भएको सरकारले यो संकटमा तमाम मिर्गौलारोगीको समस्यामाथि नजर पुर्‍याएको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शनिबारसम्म हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना

काठमाडौंः आज पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको छ । मौसमविदका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको छ । मध्य र पूर्वमा भने एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न सक्ने मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आउँदो शनिबारसम्म नै केही ठाउँमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको उनले बताए । प्रि–मनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि बदली भएर बेलुकाको समयमा हुरीबतास, चट्याङ र असिना पानी पर्नु स्वभाविक भएको मौसमविद्ले बताएका छन् ।

प्रहरी नायब निरीक्षककै प्रमाणपत्र नक्कली

काठमाडौंः नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र फेला परेको छ । उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बी.कम. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्र प्रमाणीकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएपछि सई कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । शान्ति विद्यागृह मावि लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) दिपकबाबु अर्यालविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी स्थायी शिक्षक सेवामा रहेको भन्दै मुद्दा दायर गरेको हो । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

मध्यपुरथिमीको राधेराधे छेउमा मानव कङ्काल भेटियो

भक्तपुरः मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा आज मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो भन्ने पहिचान हुन नसकेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागि कङ्काल साँझ ६ः३० बजे शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

हुम्लामा कोरोनाको आशंका, चिकित्सक टोली खटाइयोे

खलङ्गाः कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए । हुम्लामा चीनको सिमा नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्ने सूचना पाएपछि चिकित्सकीय टोली खटाईएको निर्देशक रावलले बताए । उनका अनुसार प्रतिष्ठानका डा. अशोक गौतम सहितको तीन जनाको टोली खटाईएको छ । चीनमा रहेका एक नेपाली कोरोनाको डरको त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट गाउँपालिका ३ लिमाटाङ्का एक लामा थरका व्यक्तिलाई कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरि राखिएको भन्ने खबर पछि प्रतिष्ठानले त्यहाँ चिकित्सक टोली खटाएको हो । यसैगरी कर्णाली प्रदेश सरकारले भिन्नै कोरोना रोगथाम डेक्स राख्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको अवस्था के छ ? अस्पतालले जारी गर्‍यो विज्ञप्ति

काठमाडौंः मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्काले विज्ञप्ति जारी गर्दै प्रत्यारोपण गरिएको मिगौलाले समेत काम गन लागेको जानकारी दिएका छन् । सम्बन्धित समाचारः प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो प्रधानमन्त्रीको होस खुल्यो, आईसियूमा राखियो  

कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न सांसदको माग

काठमाडौं: प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनीहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए । सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले यस विषयले संसदमा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताइन् । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए । उनले त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराए । सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गरे । सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गरे ।

फेरि नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली, कस्तो रहला आजको मौसम?

काठमाडौंः आज बिहानै नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली गराएको महाशाखका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कमजोर खालको प्रणाली भएकाले मौमस बदली देशभर नै गराए पनि पानी भने पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा मात्र पर्ने सम्भावना छ । ‘यो कमजोर खालको प्रणाली हो र यो आज एकदिन मात्र रहनेछ,’ मौमसविद् श्रेष्ठले भने, यसले पश्चिम र मध्य क्षेत्रका केही स्थानमा दिउँसो हल्का वर्षा गराउने देखिन्छ। पश्चिमका एक÷दुई स्थानमा भने राति पनि हल्का वर्षा हुने सम्भावना छ।’ साथै पश्चिम र मध्ये क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको उनले जानकारी दिए।  

यौन दुर्व्यवहार आरोप लागेका एसएसपी राणा निलम्बित

काठमाडौंः गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । साथै पीडित महिलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव प्रेमकुमार राईलगायतलाई भेटेर राणालाई कारवाही गर्न माग गरेकी थिइन् । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले एसएसपी राणालाई निलम्बन गरिएको पृष्टि गरे । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ । राणाले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छः मन्त्री अर्याल

काठमाडौंः भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको बताएकी छन् । मन्त्रालयले करिब दुई वर्षको अवधिमा हासिल गरेका मुख्यमुख्य उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सो जानकारी दिइन् । उनले भनिन्, “सरकारले विधि पुर्‍याएर राम्रो नियतले कार्यसम्पादन गरेको छ, आगामी दिनमा अदालतमा कुनै समस्या नआओस् भनेर सूक्ष्मरुपमा प्रमाण जुटाइरहेको छ ।” उक्त प्रकरणमा मन्त्रालयका अतिरिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेको छ । सरकारले व्यक्तिको नाममा रहेको दुई हजार ८२९ वर्गमिटर जग्गा आफ्नो नाममा फिर्ता ल्याएको छ । देशका विभिन्न स्थानमा फरकफरक समयमा व्यक्तिका नाममा दर्ता भएका सरकारी, सार्वजनिक र गुठी जग्गा तथा जमिन मन्त्रालयले फिर्ता ल्याएको हो । सरकारले ऐतिहासिक सम्पदास्थल, विभिन्न मन्दिर तथा धार्मिक गतिविधि सञ्चालनका लागि गठन गरिएका गुठीअन्तर्गत रही हराएका तथा अन्य अतिक्रमित जग्गाको पनि खोजी गरिरहेको छ । मन्त्री अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदनमा सरकारको नाममा जग्गा कायम गर्ने तथा गुठी कायम गर्नेसम्बन्धी काम अगाडि बढाइएको जानकारी दिइन् । सरकारले भूमिहीन, सुकुम्बासी अव्यवस्थित बसोबासीका समस्या सधैँका लागि समाधान गर्ने गरी तर्जुमा गरेको भूमिसम्बन्धी ऐन (आठौँ संशोधन) राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि तयारी गरिएको जानकारी दिएको छ । भूमिहीनलाई भूमिमा पहुँच स्थापना गरी सामाजिक न्याय कायम गर्ने गरी निर्माण गरिएको उक्त ऐन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेको छ । एकीकृत भूमि ऐनको तर्जुमा कार्य प्रारम्भ भएको, भूमिसम्बन्धी नियमावली (अठारौँ संशोधन)को मस्यौदा तयार भएको, भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी नियमावली संशोधन भएको जानकारी दिइएको छ । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन निर्देशिकाको मस्यौदा तयार गरिएको छ । भूमिको व्यवस्थित र वैज्ञानिक उपयोग सुनिश्चित गर्ने, व्यवस्थित भू–उपयोग कार्यक्रम लागू गर्ने, कृषियोग्य जग्गाको संरक्षण र व्यवस्थित आवास सुनिश्चित गर्ने गरी भू–उपयोग ऐन, २०७६ स्वीकृत भएको बताइएको छ । राष्ट्रिय भूमि नीति, २०७५ जारी भएको कार्यलाई उपलब्धिका रुपमा लिइएको छ । मन्त्रालयले सहकारी नियमावली, २०७५ जारी गरी सहकारी संस्थाको सघन अनुगमन कार्यविधि, साधारणसभा सञ्चालन कार्यविधि, स्थिरीकरण कोषसम्बन्धी कार्यविधि स्वीकृत, सहकारी संस्था एकीकरण कार्यविधि, सहकारी प्रवद्र्धन कोषसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ । सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका २०७५ लागू गरिएको छ । सहकारी संस्थाको वचत तथा ऋण परिचालनसम्बन्धी ऐन तर्जुमा कार्य प्रारम्भ भएको मस्यौदा तयार गरिएको छ । अन्तर सहकारी कारोवारसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको छ । सहकारी क्षेत्रमा ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था रहेकामा करिब २९ हजार सहकारी संस्था र व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ । कृषकका उत्पादित वस्तुलाई सुरक्षितरुपमा भण्डारण गर्न २४ वटा सङ्कलन केन्द्र निर्माण गरिएको छ भने २४ वटा केन्द्र निर्माणाधीन छन् । भूमि व्यवस्थापनतर्फ करिब ३० लाख जग्गा धनीको करिब दुई करोड ५० लाख कित्ता जग्गाको अभिलेख डिजिटल प्रणालीमा आधारित अनलाइन सेवामा सुरक्षित हुने र कारोवारमा शुद्धता वृद्धि हुने गरी हालसम्म १०८ वटा मालपोत कार्यालयमा आधुनिक प्रविधिबाट सेवा उपलब्ध गराइएको छ । जग्गासम्बन्धी सेवा प्रवाहमा नागरिकको प्रत्यक्ष पहुँच वृद्धि हुने गरी ११ कार्यालयका सेवा प्रवाहमा सरलीकरण गरिएको छ । कार्यालयको काम कारवाहीको प्रत्यक्ष निगरानी गर्न सकिने गरी २० वटा मालपोत कार्यालयमा क्यामरा जडान गरिएको छ । त्यसैगरी ११ वटा मालपोत कार्यालयलाई आधुनिक प्रविधियुक्त कार्यालय (नमूना कार्यालय) का रुपमा विकसित गरिएको छ भने साविकमा मालपोत कार्यालयबाट प्रचलनमा ल्याएका ठूला आकारको लिखत फारमलाई सरलीकरण गरी ‘ए फोर’ साइजको बनाइएको छ । गाउँब्लक र विशेष नापी गरी करिब २६ हजार १७७ हेक्टर पुनःनापी सम्पन्न गरिएको छ भने ५३२ स्थानीय तहको भू–उपयोग नक्सा डाटा तयार गरिएको छ । त्यस्तै ३६९ स्थानीय तहको नक्सा डाटा हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपाल तथा चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर गरी आगामी पाँच वर्षका लागि निःशुल्क भू–उपग्रह चित्र (स्याटलाइट इमेज) प्राप्त हुने व्यवस्था मिलाइएको छ । रासस

सामूहिक राजीना दिए वायुसेवा निगमका २५ पाइलटले

काठमाडौंः नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धरासयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन् । स्वीकृत भए अन्तर्राष्ट्रिय उडान ठप्प हुने छ । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुने भने १० जना को–पाइलट हुन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

टिप्परको ठक्करबाट महेन्द्रनगरमा महिलाको मृत्यु

कञ्चनपुरः भिमदत्त नगरपालिका ४ मा बिहीबार अपरान्ह टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१६ गोबरीयाकी रमिता भट्ट रहेकी छन् । पूर्वपश्चिम राजमार्गमा तीब्र गतिमा आएको से १ क ८८७ नम्बरको टिप्परको पैदल हिँडेकी भट्टलाई ठक्कर दिएको थियो । ठक्करपछि महिलाको घटनास्थलमै ज्यान गएको थियो । चालक फरार छन् ।

शुद्ध पानी वितरणका लागि सरकार गम्भीरः मन्त्री मगर

झापाः खानेपानी मन्त्री बिना मगरले स्वच्छ वातावरण निर्माण र जनतालाई स्वच्छ पिउने पानी वितरणका लागि सरकार गम्भीर रहेको बताएकी छन् । झापामा आयोजित एक समारोहका बीच मन्त्री मगरले त्यसका लागि सरकारले दीर्घकालीन योजनाका कार्यक्रम सञ्चालन गरिरहेको बताए । मन्त्री मगरले जनताले खानेपानीमा ठूलो समस्या भोग्नुपरेको र सरकारले सीमित स्रोत र साधनबाट बृहत् खानेपानी योजना निर्माण कार्यलाई तीव्रता दिँदै आएको स्पष्ट पारिन् । उनले अझै पनि पानीमा शुद्धता र पर्याप्तताको खाँचो रहेको औंल्याइन् । खानेपानीको क्षेत्रमा सरकारले अगाडि बढाइरहेका कामहरुका बारे जानकारी दिँदै मन्त्री मगरले साना सहरी खानेपानीमार्फत तराईमा तीन वटा ठूला आयोजनाहरुको डिपिआर भइरहेको र सात वटा साना योजनाको सम्भाव्यता अध्ययन भएको उल्लेख गरिन् । उनले ती आयोजनाको निर्माण कार्य पूरा भएपछि १ नं प्रदेशमा स्वच्छ खानेपानी पुग्ने र खानेपानीको समस्या समाधान हुने बताए । मन्त्री मगरले डीप बोरिङबाट दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान नहुने भन्दै ठूला नदीबाट पानी ल्याएर प्रशोधन गरी वितरण गर्ने योजनामा सरकार लागिपरेको बताइन् । सरकारले पाइलट प्रोजेक्टका रुपमा मानव मलमूत्रीय फोहोर प्रशोधन केन्द्र गरेको र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिइन् ।

नेपाल–भारत सीमा समस्या, जवाफसँगै वार्ताको तयारी

काठमाडौंः भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ । पहिलो पत्रको जवाफमा वार्तामा बस्न तयार छौँ भनेका थियौँ, वार्ताको मिति तय गरेर जवाफ पठाउने कुरा भएको छ । नेपालसँग जोडिएको सीमा समस्या समाधान गर्न नेपालले पठाएको कूटनीतिक नोटको पहिलो जवाफ भारतले दियो । भारत सरकारले सीमा समस्या कूटनीतिक वार्ताबाटै समाधान गर्न तत्परता देखाउँदै जवाफ दिएको थियो । सचिव स्तरमा हुने त्यस वार्ताका लागि नेपालले प्रस्ताव गरेको हो । त्यसका लागि मिति तय गरेर जवाफ दिने बताएको भारतले पछिल्लो जवाफ दिइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको जवाफ आउनासाथै नेपालले वार्तामा बस्ने तयारी गरेको पटक पटक बताए । उनले संसदीय समितिका बैठक तथा परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सीमा समस्या समाधान गर्न सरकार संवेदनशील रहेको प्रस्ट्याउँदै आएका छन् । उनले वार्ताका लागि नयाँ मितिको गृहकार्य सरकारका तर्फबाट भइरहेको जानकारी दिए । परराष्ट्र मन्त्रालयका अनुसार गएको नोभेम्बर २ मा भारतले नयाँ नक्सा सार्वजनिक गर्दा लिम्पियाधुरा सम्मको भूभाग आफ्नो नक्सामा पारेको थियो । जवाफमा नेपाल सरकारले नोभेम्बर ६ मा लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको भएको प्रस्ट्याउँदै भारतको एकतर्फी निर्णय मान्य नहुने जनाएको थियो । यसैगरी नोभेम्बर १० मा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा बसेको सर्वपक्षीय बैठकले सीमा समस्या समाधान गर्न राष्ट्रिय सहमति गरेको थियो । त्यसपछि सीमा क्षेत्रको यथार्थ स्थिति पत्ता लगाउन अनुगमन समिति गठन गर्ने निर्णय अनुसार सरोकारवाला निकायसहित परराष्ट्र मन्त्रालयको नेतृत्वमा नोभेम्बर १५ मा समिति गठन भएको थियो । नोभेम्बर २० मा भारतले वार्तामा बस्न सकारात्मक रहेको कूटनीतिक नोट मार्फत जवाफ पठाएको थियो । त्यसको दुई दिनपछि नोभेम्बर २३ मा नेपालले सचिव स्तरीय वार्ताको प्रस्ताव गर्यो । त्यसको जवाफ पनि भारतले दियो तर नयाँ मिति घोषणा गर्ने विषयमा भने भारतको जवाफ नआएको मन्त्रालयको भनाइ छ । सरकारका तर्फबाट सीमा अनुगमन गर्न बनेको समितिले भने आफ्नो काम थालेको प्रवक्ता पौडेलले जानकारी दिए सीमा अतिक्रमण संसद्को परराष्ट्र र राज्य व्यवस्था समतिले सरकारलाई लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइसकेको छ । लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गर्ने विषयमा भने परराष्ट्र मन्त्रालयले त्यो काम नापी विभागको हुने जनाएको छ । विभागमा भने त्यस्तो निर्देशन नआएको सरकारी अधिकारी बताउँछन् । त्यो निर्देशन अनुसार लिम्पियाधुरा, लिपुलेक सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । शनिबार बौद्धिक वृत्त नेपालले राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपस्थित विज्ञले नक्सा मार्फत अतिक्रमण गर्नेक्रम पनि आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेर नेपालले रोक्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । अन्तक्र्रियामा पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्यायले आफ्नो सीमानाप्रति आफै नै संवेदनशील हुनुपर्ने औँल्याए । उनले त्यही भएर नै यी कुरा भएका हुन् । हाम्रो सीमा रेकर्डबिना खुला राख्नु र नक्सामा नराख्ने काम गर्नुहुन्न भने । यस्ता कार्यले देशकै अस्तित्वमा खतरा उत्पन्न हुने उनी बताउँछन् । नेकपाका नेता लीलामणि पोखरेलले संसद्का विभिन्न समितिले निर्देशन दिइसकेको अवस्थामा तत्काल सरकारले नयाँ नक्सा सार्वजनिक गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले देशका विभिन्न स्थानमा गरी ८१ स्थानमा रहेको सीमा समस्या समाधानमा ध्यान दिनुपर्ने औँल्याए । नागरिक समाजका विज्ञ ऋषिराज लम्सालीले घरघरमा आन्दोलन चर्काउनु आवश्यक रहेको औँल्याए । उनले पहिले नक्सा फेर्यो, त्यसपछि खोलाको नामै फेर्यो । अब त्यहाँको जनताको बानी फेर्न लागेका छन् सतर्क हुनुपर्छ भने । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले आफूहरूले प्रमाणसहित सरकारलाई नयाँ नक्सासमेत सिफारिस गरेको बताए । उनले त्यो बेला नदी सीमा भए नदी समातेर बस्नुपथ्र्यो, पिलर भए पिलर समातेर बस्नुपथ्र्यो । पछिल्लो समय दुवै तर्फको आपसी समझदारी भएका ठाउँमा समेत भारतले आवादी निर्माण गरी पटक पटक सिमाना मिचेको कुरा बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

घरमै झ्यालबाट छिरेर किशोरीको बलात्कार

काठमाडौंः पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।” गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् । रासस

फेरि ट्रोलको सिकार बनिन् सोनाक्षी

काठमाडौंः अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरमा ट्रोलको सिकार बनेकी छन् । केही समयअघि मात्रै अभिनेत्री सोनाक्षीले ट्वीटरमा आफ्नो तस्वीर सेयर गरेकी छन्, जहाँ उनले क्याप्सनमा ‘नोथिङ टु हाइड, नोथिङ टु फियर, नोथिङ टु स्टप’ लेखेकी थिइन् । त्यस्तै सोनाक्षीले सेयर गरेकी टि–शर्टमा पनि कालो अक्षरमा ‘लुकाउनका लागि केही छैन’ लेखिएको छ । यसै ट्वीटका कारण सोनाक्षी ट्रोलको सिकार बनेकी हुन् । फ्यानहरुले यस्तो ट्वीर गरेर के साबित गर्न चाहेकी ? भन्दै प्रश्न गर्न सुरु गरिसकेका छन् । यसैबीच एक युजरले लेखेका छन्, ‘नोथिङ टु शो’ भनेर अर्को एक लाइन पनि थपिदिनुस् ।’ Nothing to hide, nothing to fear, nothing to stop me. pic.twitter.com/QVlFQ13pho — Sonakshi Sinha (@sonakshisinha) January 8, 2020 त्यस्तै अर्को एक युजरले अशिलता फैलाएकी भन्दै सोनाक्षीको उक्त ट्वीटमाथि आपत्ति नै जनाएका छन् । उनले भनेका छन्, ‘तपाई जस्तो ठूलो मान्छेहरुले ट्वीट गर्नुपूर्व किन सोच्नुहुन्न, यसको प्रभाव कस्तो पर्छ भनेर ?’ यस अगाडि पनि सोनाक्षी केबीसीमा एक प्रश्नको उत्तर दिन नसक्दा ट्रोलको सिकार बनेकी थिइन् ।