माई खोलामा एक व्यक्ति मृत फेला

भद्रपुर । झापाको माई खोला एक व्यक्ति बुधबार बिहान मृत अवस्थामा फेला परेको छन्। प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका १० स्थित माईखोलाको पुलदेखि एक सय मिटर दक्षिण खोलामै सोही नगरपालिका माइधार बस्ने ५५ वर्षीय सपन चौधरी मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

माइखोलामा मान्छे मृत फेला परेको भनी स्थानीयले देखेर अस्थायी प्रहरी चौकी माइधारमा खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

अब त्रिविका महँगा कोर्समा पनि छात्रवृत्ति पाइने

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले त्रिविअन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू हुने भएको छ। यस अघि त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा १० प्रतिशत विद्यार्थीलाई मात्र अनिवार्य रुपमा निशुल्क छात्रवृत्ति दिदै आएको थियाे। नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसँग आइतबार भएको वार्तापश्चात अब डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्याक्रम सञ्चालन गर्ने कलेजहरूमा पनि लागू हुने निश्चित भएको हो। साउन १३ गते काफ्लेकै नेतृत्वको समूहले त्रिवि उपकुलपति डा.तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाई छात्रवृत्ति प्रभावकारी बनाउन दवाव दिएको थियो। नेविसंघले अघि सारेका माग पूरा गर्न त्रिविले गठन गरेको वार्ता समितिले नेविसंघसँग वार्ता गरेको थियो। वार्तामा दुवै पक्षबीच ५ बुँदे सहमति भएको छ। जसअनुसार अब डिन कार्यालयबाट सम्बन्धन लिने कलेजले सञ्चालन गरेका महँगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिइनेछ। नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्रिविसँगको सम्झौता ऐतिहासिक भएको बताए। ‘छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नै भइरहेको थिएन। यो सहमतिले सबैतिर निशुल्क छात्रवृत्ति लागु गर्न र महँगा कोर्समा पनि १० प्रतिशत छात्रवृत्ति दिलाउन बाटो खुलेको छ’, काफ्लेले भने। उनले सहमति कार्यान्वयन भएमा आर्थिक अभावका कारण महँगो कोर्स पढ्न नसक्ने जेहन्दार विद्यार्थी लाभान्वित हुने बताए। सहमतिमा त्रिविका तर्फबाट वार्ता समिति संयोजक गंगाबहादुर थापा र सदस्यहरूले हस्ताक्षर गरेका छन्। यस्तै नेविसंघका तर्फबाट निमा गिरी, हरि आचार्य, दीपक ओझा, योगेन्द्र रावल, विष्णुहरि खड्का र सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन्। नेविसंघ नेता दिपक ओझाले सहमतिका कारण बिबिए, बिएचमए, बिएसडब्लु, एमबिए, बीआइएम, बिबिएम जस्ता तुलनात्मक रुपमा बढी शुल्क लाग्ने कोर्स पढाई हुने कलेजमा पनि १० प्रतिशत विद्यार्थीले निशुल्क पढ्न पाउने बताए। ५ बुँदे सहमतिपत्रमा त्रिविअन्तर्गत दिइने छात्रवृत्तिको संख्या बढाउने, छात्रवृत्ति कार्यान्वयन गर्न प्रभावकारी अनुगमन गर्ने तथा निशुल्क छात्रवृत्ति पाउने विद्यार्थीलाई रजिष्ट्रेसन, लाइब्रेरी, ल्याब लगायतको शीर्षकमा कुल शुल्कको ५ प्रतिशतभन्दा बढी रकम लिन नपाइने लगायतका विषय समेटिएका छन्।

सपिङ कम्प्लेक्सको निर्माण शुरु, ६८ ओटा व्यावसायिक सटर निर्माण गरिने

बुटवल । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ (बहुद्देश्यीय भवन) निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आइतवार शिलान्यास गरे । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह गरे । बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दिगो आयस्रोतको आधार बनाउने गरी उक्त भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो । सो कार्यका लागि उपमहानगरपालिका र कोषबीच गत फागुनमा सम्झौता भएको थियो । भवनका लागि रू. १० करोड ८४ लाख खर्च हुने अनुमान छ । वि.सं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ अत्याधुनिक मापदण्ड बमोजिमका व्यावसायिक सटर निर्माण गरिने भएकामा भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७र २७ सटर निर्माण गरिने बताइएको छ । रासस

४४ महिनापछि श्रील‌ंकाद्वारा सिरिज ‘क्लिन स्विप’

काठमाडौं, साउन १५ । श्रीलंकाले ४४ महिनापछि घरेलु मैदानमा एकदिवसीय सिरिज जितेको छ । बंगलादेश विरुद्धको तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्दै श्रीलंकाले ३ वर्ष ८ महिनापछि घरेलु मैदानमा सिरिज जितको हो । पछिल्लो पटक श्रीलंकाले घरेलु मैदानमा सन् २०१५ को नोभेम्बरमा एकदिवसीय सिरिज जितेको थियो। श्रीलंकाले त्यतिबेला वेस्ट इन्डिजलाई ३–० ले हराएर सिरिज जितेको थियो। आज सिरिजको अन्तिम खेलमा श्रीलंकाले बंगलादेशलाई १२२ रनको फराकिलो अन्तरले हरायो । श्रीलंकाले दिएको २९५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ३६ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । उसका लागि साैम्य सरकारले ६९, तजिउल इश्लामले नटआउट ३९, अनुमल हकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा श्रीलंकाका दसुन शनाकाले ३, कसुन रजिथा, लाहिरु कुमाराले २–२, अकिला धनन्जय र वनिन्दु हसरंगाले एक–एक विकेट लिए । यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो । उसका लागि एन्जेलो म्याथ्यूजले उत्कृष्ट प्रदर्शन गरे । उनले ८ चौका र १ छक्काको मद्दतमा ९० बलमा ८७ रन बनाए । सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । म्याथ्यूजले पहिलो खेलमा ४८ रनको योगदान दिएका थिए । यस्तै कुसल मेन्डिसले ५४, कप्तान दिमुथ करुणारत्नले ४६, कुसल परेराले ४२, दसुन शानकाले ३०, अभिश्का फर्नान्डोले ६ रन बनाए । बलिङमा बंगलादेशका सौम्य सरकार, शाफिउल इश्लामले ३–३, रुबेल हुसैन र तजीउल इश्लामले एक–एक विकेट लिए । तीन खेलको सिरिज श्रीलंकाले एक खेल अघिनै जितीसकेको छ ।

नेपाल भर्सेस सिंगापुर, कुन टिम बलियो? (हेड टु हेड)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुँदैछ । ग्लोबल छनोट हुन दुवै टिमलाई आइतबारको खेल जित्नैपर्ने हुन्छ । नेपालले ३ खेल एकमा हार र २ खेलमा जीत हासिल गरेको छ । यता सिंगापुरले तीन खेलमा २ मा जीत र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । अंक तालिकामा सिंगापुर शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपालले आज कुवेतलाई ७ विकेटले हरायो । आजको खेलमा नेपालको प्लेइङ ११ मा एक खेलाडी मात्र परिवर्तन गरिएको थियो । मलेसियविरुद्ध ढाडको समस्याको कारण विश्राममा रहेका कप्तान पारस खड्काले आज टिमको नेतृत्व गरेका थिए । मलेसियासँग उनको स्थानमा प्रदीप ऐरीले मौका पाएका थिए । सिंगापुरविरुद्ध हुने निकै महत्वपूर्ण खेलमा नेपालको प्लेइङ ११ मा कोकोले पाउन सक्छन् मौका? नेपालको सम्भावित प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, बसन्त रेग्मी र पवन सराफ । सिंगापुर र नेपालको विगत कस्तो? नेपाल र सिंगापुरको विगत हेर्ने हो भने यी दुई टिमबीच अहिलेसम्म ३ वटा टि-२० खेल भएको छ । जसमा २ वटा नेपालले जितेको छ भने एउटा खेल वर्षाले नतिजाविहिन बनेको थियो । सिनियर स्तरमा हालसम्म टि-२० र एकदिवसीयमा सिंगापुरले नेपाललाई हराउन सकेको छैन ।

वृद्धभत्ता जम्मा गरेर धर्मशाला

मुगु, साउन ११ । सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुमा कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा जुटेका हुन्। वृद्धभत्ताबापत उनले मासिक दुई हजार रुपैयाँ बुझ्दै आएका छन्। ऐडीले रकम जम्मा गरेर सार्वजनिक जग्गामा धर्मशाला बनाउन थालेको बताए। धर्मशाला बनाउन उनले ५० हजार रुपैयाँ जम्मा गरेका छन्। धर्मशालाका लागि दुई बन्डल जस्तापाता, काठ र ढुंगा जम्मा गरिसकेको ऐडीले बताए। लगातारको वर्षात्का कारण निर्माण भने सुरु हुन सकेको छैन। उनी वर्षात् रोकिएलगत्तै धर्मशाला बनाएर हस्तान्तरण गर्ने हतारमा छन्। जयखर भन्छन्, ‘सरकारले मेरा लागि बुढेसकालमा भत्ता दियो, मैले सरकारलाई के दिएँ र रु यो भत्ता सामाजिक काममा खर्च गर्छु, भोलि मेरो मृत्युपछि पनि काम लागोस्।’ उनका परिवारले भत्ताबापतको रकम खर्च गर्न बारम्बार आग्रह गरे। परिवारका सदस्यले धर्मशाला बनाइदिने वचन पनि दिए। तर जयखरले मानेनन्। आफैं कस्सिएर सामान जुटाउन थालेको नाति उत्तम रोकायाले बताए। आफ्ना छोरा नभएका कारण उनी छोरी र ज्वाइँसँग बस्दै आएका छन्। वृद्धभत्ता जोगाएर जयखर अगाडि सरेपछि बाँकी निर्माण कार्यमा सहयोग गर्ने वचन गाउँलेले दिएका छन्। तर जयखरले कसैको सहयोग नलिने बरु रकम अभाव भएमा आउने भत्ताबाट तिर्ने बताए। मुगुम कार्मारोङ गाँउपालिका–९ का वडाध्यक्ष बिर्खबहादुर बुढाले धर्मशाला निर्माणमा वडाले पनि सहयोग गर्ने बताए। हिमपात परेका बेला गाउँमा सार्वजनिक काम गर्ने स्थानको अभाव छ। गाउँलेको मृत्युमा पनि कर्मकाण्ड गर्दा समस्या भएको देखेपछि आफूले धर्मशाला बनाउने योजना बनाएको जयखरले सुनाए। अझ केही वर्ष बाँचेमा थप सार्वजनिक काममा लगानी गर्ने योजना पनि उनले सुनाए। गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले अन्य निकाय तथा समुदायको सहयोग नलिने अडान गरेकाले जयखरलाई चाहेर पनि गाउँपालिकाले सहयोग गर्न नसकिएको बताए। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

हदबन्दीभन्दा बढी जग्गा जफत हुने

काठमाडौं, साउन ११ । सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो। भित्री मधेससमेत तराईमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी, उपत्यकाबाहेक पहाडी क्षेत्रमा ७० रोपनी हदबन्दी तोकिएको छ। यसबाहेक व्यक्ति वा निजको परिवारले घरबारी निम्ति तराईमा १ बिघा, काठमाडौं उपत्यकामा ५ रोपनी र उपत्यकाबाहेक पहाडी क्षेत्रमा २० रोपनी थप राख्न पाउने व्यवस्था साबिककै ऐनमा छ। यो हदबन्दी २०५८ भदौ ३१ मा लागू भएको थियो। उक्त व्यवस्था अझै पूर्ण कार्यान्वयन भएको छैन। तराईमा अझै हदबन्दीभन्दा बढी जग्गा प्रयोग भइरहेको छ। उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना र शिक्षण संस्थाका नाममा सरकारले छुटसमेत दिएको थियो। उनीहरूले त्यो जग्गा मनपरी प्रयोग गर्दै आएको पाइएको छ। जुन कामका लागि लिएको हो त्यसमा मात्रै प्रयोग गर्न पाइने व्यवस्था विधेयकले गरेको छ। त्यस्तो जग्गा बिक्रीवितरण, हक हस्तान्तरण वा सट्टापट्टा गर्न नपाइने व्यवस्था प्रस्तावित ऐनमा छ। लिज वा भाडामा पनि लिन पाइनेछैन। आफ्नो उद्देश्यअनुरूप कार्यसम्पादन गरे÷नगरेको अनुगमन गर्न अनुगमन तथा निरीक्षण समिति गठनको प्रस्ताव सरकारले गरेको छ। यो समितिले आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र प्रतिवेदन भूमिव्यवस्थापन तथा अभिलेख विभागसमक्ष पेस गर्नुपर्नेछ। विभागले अध्ययन गरी एक महिनाभित्र रायसहित भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेस गर्नुपर्नेछ। जग्गा उद्देश्यअनुरूप प्रयोग भएको नपाइए मन्त्रालयले जफत गरी नेपाल सरकारको नाम कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृति स्रोत समिति बैठकमा छलफलका क्रममा हदबन्दी घटाउनुपर्ने मागसमेत उठेको छ। यसको असर भने तराई–मधेसमा देखिएको छ। मधेसमा भूमिसुधार होइन, भूमि व्यवस्थापन गरिनुपर्ने तराई मामिलाका जानकार चन्द्रकिशोर झाले बताए। ‘मधेसको शक्तिका रूपमा रहेको भूमि खोस्न खोजिँदै छ’, उनले भने, ‘यसले मधेसमा द्वन्द्व निम्त्याउनेछ।’ राजा महेन्द्रले ल्याएको भूमिसुधारले तराई समस्या समाधान नगरेको दाबी उनले गरे। ‘आयोग बने, पुनर्वास गरियो तर तराईका दलितले त्यसको हिस्सा पाएनन्’, उनले भने, ‘भूमिहीन बढेका बढ्यै छन्।’ उद्योग, कम्पनी र ट्रस्टका नाममा तराईमा जग्गा मालिक अरू नै हुन थालेकामा उनले चिन्ता व्यक्त गरे। मोहीको हदबन्दी हटाइँदै प्रस्तावित ऐनमा मोहीको हदबन्दी हटाउने व्यवस्था छ। ऐनको सातौं संशोधनको दफा ८ मा मोहीको हैसियतमा कमाउन पाउने जग्गाको हदबन्दी तोकिएको थियो। भित्री मधेससमेत तराई क्षेत्रमा ४ बिघा, काठमाडौं उपत्यकामा १० रोपनी, उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा २० रोपनी हदबन्दी कायम थियो। आठौं संशोधनमा यो व्यवस्था हटाइएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले मोहीको हैसियतले छुट्टै हदबन्दी व्यवस्था नहुने बताए। ‘अब सबैलाई एउटै व्यवस्था लागू हुन्छ। मोही हक मात्रै छुट्टै व्यवस्था लागू हुनेछैन’, उनले भने। जग्गावाल र मोहीको आधा–आधा हिस्सा गणना हुनेछ। यो व्यवस्था मोहीलाई फाइदा हुने भएको छ भने जग्गावाललाई घाटा। मोहीको हक छुट्टयाउँदा जग्गा जोतभोग नगरेको भन्ने प्रमाणित हुन आए लगतकट्टा गरी त्यस्तो जग्गा नेपाल सरकारको नाम कायम गरिनेछ। हटाइएका मोही पुनःस्थापित गराइनुपर्ने उच्चस्तरीय भूमिसुधार आयोगका पूर्वअध्यक्ष केशव बडालले बताए। विधेयकले बेदर्ता मोहीलाई सम्बोधन नगरेको उनको टिप्पणी छ। ‘मोहीलाई जबर्जस्ती हटाइएको छ। मोहियानी हक उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘बेदर्ता मोहीलाई सम्बोधन गर्नुपर्छ। ५ सय वर्षदेखि जग्गा जोतभोग गरिरहेका छन् तर जग्गाको पुर्जा छैन।’ उनका अनुसार काठमाडौंमा मोही बलिया छन् तर तराईमा भने बिजोग। नागरिकताको समस्याले पनि उनीहरूले जग्गा दर्ता गर्न पाएका छैनन्। संविधानको मर्मअनुसार कोही पनि भूमिहीन हुन नहुने उनको भनाइ छ। उनका अनुसार मूल ऐनको दफा १५ को क ‘२’ हटाएर २०५३ साल पुस २४ गतेभन्दा पहिलादेखि लगातार जोतभोग गर्दै आएकालाई मोहियानी हक दिई जमिन बाँडफाँट गरिनेछ भन्ने थप्नुपर्छ। मूल ऐनको दफा ५२ को ख ९४० सबै हटाइनुपर्ने उनले बताए। यो दफा हटाएर प्रचलित कानुन जुनसुकै लेखिएको भए पनि कम्तीमा १५ वर्षदेखि बसोबास तथा जोतभोग गर्दै आएको÷नापी छुट भएको जमिनको हकमा स्थानीय तहको सिफारिसलाई आधार मानी जग्गा धनीपुर्जा दिइने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

ग्लोबल टि–२० लिगः उद्घाटन खेलमै सन्दीपआवद्ध टोरोन्टोको लज्जास्पद हार

काठमाडौं, साउन १० । बिहीबारबाट सुरु भएको ग्लोबल टि–२० क्यानडा लिगको उद्घाटन खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसनल्सविरुद्ध क्रिस गेल कप्तान रहेको भांकुभर नाइट्स ८ विकेटले विजयी भएको छ । टोरोन्टोले दिएको १६० रनको लक्ष्य नाइट्सले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि रस्सी भान ड्युसनले नटआउट ६५, चाडविके वाल्टनले अविजित ५९, टोबिअस बीसीले २० र क्रिस गेलले १२ रन बनाए । बलिङमा टोरोन्टोका जेर्मी गोर्डोन र मार्क मोन्टोर्फोटले एकएक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको टोरोन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुर्मार १५९ रन बनायो । उसका लागि हेनरिक क्लासेन, रोड्रिगो थोमसले ४१–४१, कलुम म्याक्लीउडले १७, कप्तान युवराज सिंहले २७ बलमा १४ रन बनाए । यस्तै किरण पोलार्डले नटआउट ३० र ब्रेण्डम म्याक्लमले ४ रनको योगदान दिए । बलिङमा भांकुभरका रिजवान सीमा, सादबिन जफर, मिचवियल रिप्पोन, अलि खान र एन्डीले फेहलक्वायोले एकएक विकेट लिए ।

यू–१९ एसिया कप सर्‍यो, प्रतियोगितामा कुन–कुन टिम?

काठमाडौं, साउन ६ । आगामी २८ अगस्टबाट ८ सेप्टेम्बरसम्म हुने भनिएको एसीसी यू-१९ एसिया कप क्रिकेट एकसाता पछि सरेको छ। नेपाल सहभागि प्रतियोगितामा युवा उमेर समूहमा एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको थियो। श्रीलंकाले आयोजना गर्ने भनिएको प्रतियोगिता एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नै एकसाता पछि सारेको जनाएको छ। प्रतियोगिताको नयाँ मिति पनि तय भएको छ। ३ सेप्टेम्बर देखि १५ सम्म हुने तय भएको छ। यद्धपि आधिकारीक रुपमा भने खेल तालिका सार्वजानिक गरिएको छैन। स्रोतका अनुसार एसीसीले बेलुका सम्ममा औपचारिक रुपमा खेल तालिका सार्वजानिक गर्ने छ। प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन्। यस्तै कुवेत र युएई पनि सहभागी हुँदै छन्। कुल ८ टिमको सहभागिता रहने छ। दुई साता अघि मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो।

टि–२० विश्वकप छनोटः पहिलो खेलमा सिंगापुर विजयी

काठमाडौं, साउन ६ । आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट २०१९ को पहिलो खेलमा सिंगापुर विजयी भएको छ । कतारलाई ३४ रनले हराउँदै पहिलो खेलमा सिंगापुर विजयी भएको हो । सिंगापुरले दिएको १८७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनायो । उसका लागि मोहम्मद रिजलनले अविजित ३३, कप्तान तमूर सजादले ३८, मोहम्मद तनबीरले २६, फैसल जाभिदले २९ र इनमउल हकले ११ रन बनाउनुबोहक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सिंगापुरका जनक प्रकाश, अम्जाद महबुबले ३–३, सेलादोरे विजयकुमार, चेतन शूर्यवंशी र विनोथ भास्करले एकएक विकेट लिए । यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७, टिम डभिडले ३८, मनप्रीत सिंहले ३४, रोहन रंगर्जानले ३२, अनिस प्रणामले १० रन बनाए । बलिङमा कतारका इकबाल हुसैनले ४, नुवाव सरवारले २ र तमूर सजादले एक विकेट लिए । राउण्ड रोविनका बधारमा हुने यस क्वालिफायरमा सबै टिमले एक आपसमा खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ । सोही टिमले यो ट्रफी जित्नेछ र अक्टोबर–नोभेम्बरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। यूएईमा हुने क्वालिफायर सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि अन्तिम चरणको क्वालिफायर समेत हो। विश्वकप छनोट अन्तर्गत एसिया फाइनल अन्तर्गत नेपालले पहिलो खेल कतारविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको खेल २३ जूलाईमा हुँदैछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियाविरुद्ध २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जूलाईमा सिंगापुरसँग खेल्ने छ । एसिया फाइनलमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत पनि छन् । एसिया फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त पाए देश हो । अन्य टिमभन्दा नेपाललाई बलियो मानिएकाले उपाधि जित्दै ग्लोबल छनोटमा पुग्ने आकलन पनि गरिएको छ । आईसीसी वरियतामा नेपाल ११ औं स्थानमा छ । नेपालपछि वरियतामा कतार २१ औं स्थानमा छ । यस्तै आयोजक सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा रहेका छ । एसिया फाइनलको शीर्ष स्थानमा रहने टिमले आउँदो नोभेम्बरमा यूएईमा हुने आईसीसी टि–२० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्रसंगै गत संस्करणको टि–२० विश्वकप खेलेका राष्ट्र हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुने छन् । विश्वकप छनोटमा शीर्ष ६ स्थान सम्मका राष्ट्रले आगामी बर्ष अस्ट्रेलियामा हुने आईसीसी टि–२० विश्वकपमा सहभागिता जनाउने मौका पाउने छन् ।

श्रीमतीको मृत्यु भएको एक घण्टामै श्रीमानको पनि मृत्यु

सुनसरी, साउन १ । इटहरीमा श्रीमान् र श्रीमतीको एकै दिन मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो। इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईको मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको हो ।

मलेसियाविरुद्ध पहिलो ओभरमै सोमपालले लिए विकेट

काठमाडौं, असार २८ । मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएकाे नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । नेपाललाई पहिलो सफलता दिलाने क्रममा सोमपाल कामीले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिन सफल भएका हुन् । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।  

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौं, असार २३ । नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३१ र भिम सार्कीले नट आउट ३३ रन बनाए । यस्तै पवन सराफ १८, रित गौतम ३ र खडक बोहरा शून्य रनमा आउट भए । बलिङमा मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले ४०.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनायो । उसका लागि मोहम्मद आमिरले सर्बाधिक २४ रन बनाए । बलिङमा नेपालका सागर ढकालले ३, कुशल मल्लले २, कमलसिंह ऐरी, तिलक भण्डारी र राशिद खानले एकएक विकेट लिए । नेपालले उपाधिको लागि मंगलबार सिंगापुर वा हङकङ मध्य एकसँग खेल्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ ।

मलेसियाविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता (LIVE)

काठमाडौं, असार २२ । एसीसी यू– १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै मलेसियाको विकेट लिन सफल भएको छ । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ओभरको चौथो बलमै विकेट लिन सफल भएको हो । नेपालले पहिलो विकेट कमलसिंह ऐरीले दिलाएका हुन् । नेपाली टोली लिग चरणको खेलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो। यसैगरी समूहको दोस्रो खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा नेपालका ओपनर ब्याट्सम्यान रीत गौतमले अविजित एक सय १५ र खड्कबहादुर बोहराले ९० रन बनाएका थिए। कुशल मल्लले पनि अविजित ५१ रनको योगदान गरेका थिए। समूह ‘ए’ बाट नेपाल विजेता र सिंगापुर उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए। सिंगापुरले भने सोमबार नै हङकङसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ। दोस्रो सेमिफाइनल खेल एसटीसी ओभलमा खेलिनेछ। हङकङ समूह ‘बी’ को विजेता र मलेसिया उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्। हङकङले समूहगत चरणमा आफूले खेलेका तीनवटै खेलमा जित हात पारेको थियो। मलेसियाले भने समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो। प्रतियोगिताको फाइनल खेल मंगलबार खेलिनेछ। https://www.youtube.com/watch?v=A7PuYm8OdEM

१५ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै दलित पत्रकारको राष्ट्रिय सम्मेलन सम्पन्न (पूर्ण पाठसहित)

पाल्पा, असार १६ । तीन दिनसम्म पाल्पामा चलेको दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणा–पत्र जारी गर्दै सकिएको छ। नेपाल पत्रकार केन्द्रीय समितिको आयोजना तथा पाल्पा शाखाको आतिथ्यतामा १३, १४ र १५ गते तानसेनमा सम्मेलन चलेको थियो। सम्मेलनले नेपाल सकारले संसदमा प्रस्तुत गरेको नेपाल मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रसारणलगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयक दलितमैत्री बनाउनुपर्ने माग गर्दै सरकारले दलित समुदायका सञ्चारकर्मी र सरोकारवालासँग छलफल गरेर मात्रै विधेयकलाई अगाडि बढाउन माग गरेको छ। यस्तै नेपालको संविधान २०७२ ले संवैधानिकरूपमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ। संवैधानिक भावनाअनुरुप नेपालका सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमको संरचनागत स्वरुप र विषयवस्तु (प्रकाशन तथा प्रसारण)को समावेशीकरण सुनिश्चित हुने नीतिगत व्यवस्था गर्नुपर्ने, सरकारअन्तर्गत रहेका मिडिया संस्थामा नियुक्ति गर्दा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन भनेको छ। यसैगरी, देशभरका विभिन्न सञ्चारगृहमा क्रियाशील दलित समुदायका संचारकर्मी अहिले पनि आशयजनित विभेद भोग्न बाध्य पारिएका ठहर गर्दै जाति, लिंग र समुदायका आधारमा कुनै पनि पत्रकारमाथि विभेद गर्न नपाइने व्यवस्थाको सुनिश्चित गरिनुपर्ने र देशभर छरिएर रहेका दलित समुदायका पत्रकारको भौतिक र पेशागत सुरक्षाको प्रत्याभूतिको सुनिश्चिता गर्न भनिएको छ। जारी घोषणा–पत्रमा दलित समुदायका पत्रकारको व्यावसायिक र प्राविधिक दक्षता तथा क्षमता अभिवृद्धिका लागि सरकारकै पहलमा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। नेपाल पत्रकार महासंघलगायत मिडियासँग सम्बन्धित संघसंस्थाले यस दिशामा स्पष्ट कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्नेमा उल्लेख गरिएको छ। दलित समुदायभित्र पनि दलित महिला पत्रकारको संख्या अत्यन्तै न्यून मात्रामा छ। क्रियाशील दलित महिलालाई व्यावसायिक पत्रकारिता क्षेत्रमा स्थापित गराउन उनीहरूको दक्षता र क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ। यसैगरी दलित महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा निरन्तरता दिन र नेतृत्वतहमा स्थापित गराउन राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिइएको छ। यसैगरी संघीय, प्रादेशिक, स्थानीय सरकारका साथै प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघलगायतले प्रदान गर्ने आमसञ्चार क्षेत्रसँग सम्बन्धित सम्मान, पुरस्कार, छात्रवृत्ति, विद्वतवृत्ति ९फेलोसिप० दलित समुदायका सञ्चारकर्मीलाई प्राथमिकता दिनुपर्ने, सामाजिक रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने दलित समुदायका पत्रकारलाई उत्प्रेरित गर्ने छुट्टै पुरस्कारको व्यवस्था गर्नुपर्ने, सरकार, नेपाल पत्रकार महासंघलगायतका मिडियासँग सम्बन्धित संस्थाबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणमा दलितको अनिवार्य प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्नेलगायतका विषय समेटिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम दलित समितिका संयोजक मधु शाहीले जानकारी दिइन । १५ बुँदे पाल्पा घोषणा पत्र (पूर्ण पाठसहित) १.नेपाल सकारले संसदमा प्रस्तुत गरेको नेपाल मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सार्वजनिक प्रसारणलगायत आमसञ्चारसँग सम्बन्धित सम्पूर्ण विधेयकहरु दलितमैत्री बनाइयोस् । यसका लागि सरकारले दलित समुदाय सञ्चारकर्मी र सरोकारवालाहरुसँग छलफल गरेर मात्रै विधेयकलाई अगाडि बढाइयोस् । २.नेपालको संविधान २०७२ ले संवैधानिकरुपमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ । संवैधानिक भावनाअनुरुप नेपालका सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमको संरचनागत स्वरुप र विषयवस्तु प्रकाशन तथा प्रसारणको समावेशीकरण सुनिश्चित हुने नीतिगत व्यवस्था गरियोस् । यसैगरी सरकारअन्तर्गत रहेका मिडिया संस्थाहरुमा नियुक्ति गर्दा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गरियोस् । ३.देशभरका विभिन्न सञ्चारगृहमा क्रियाशील दलित समुदाय अहिले पनि आशय जनित विभेद भोग्न बाध्य पारिएका छन् । जाति, लिङ्ग र समुदायका आधारमा कुनै पनि पत्रकारमाथि विभेद गर्न नपाइने व्यवस्थाको सुनिश्चित गरियोस् । यसका साथै देशभर छरिएर रहेका दलित समुदायका पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको प्रत्याभुतिको सुनिश्चिता गरियोस् । ४.दलित समुदायका पत्रकारहरुको व्यवसायिक र प्राविधिक दक्षता तथा क्षमता अभिवृद्धिका लागि सरकारकै पहलमा आवश्यक तालिमको व्यवस्था गरियोस् । नेपाल पत्रकार महासंघलगायत मिडियासँग सम्बन्धित संघसंस्थाले यस दिशामा स्पष्ट कार्ययोजना बनाइ कार्यान्वयन गरोस् । ५.दलित समुदायभित्र पनि दलित महिला पत्रकारको संख्या अत्यन्तै न्यून मात्रामा छ । क्रियाशील दलित महिलालाई व्यवसायिक पत्रकारिता क्षेत्रमा स्थापित गराउन उनीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यसैगरी दलित महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा निरन्तरता दिन र नेतृत्व तहमा स्थापित गराउनका राज्यले विशेष पहल गरोस् । ६.संघीय, प्रादेशिक, स्थानीय सरकारका साथै प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघलगायतले प्रदान गर्ने आमसञ्चार क्षेत्रसँग सम्बन्धित सम्मान, पुरस्कार, छात्रवृत्ति, विद्वतवृत्ति ९फेलोसिप० दलित समुदायका सञ्चारकर्मीलाई प्राथमिकता दिइयोस् । सामाजिक रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने दलित समुदायका पत्रकारलाई उत्प्रेरित गर्ने छुट्टै पुरस्कारको व्यवस्था गरियोस् । यसका साथै सरकार, नेपाल पत्रकार महासंघलगायतका मिडियासँग सम्बन्धित संस्थाबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणमा दलितको अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरियोस् । ७.नेपाल पत्रकार महासंघ केन्द्रीय दलित समितिको अगुवाईमा हरेक प्रत्येक वर्ष दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन आयोजना गरियोस । ८.नेपालको संविधान २०७२ मा मौलिक हकको रुपमा रहेको जातीय छुवाछूत विरुद्धको हक, दलितको हक, समानताको हकसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि देशभर छरिएर रहेका दलित समुदायका पत्रकारहरु संगठितरुपमा आफू आबद्ध सञ्चारमाध्यम मार्फत सशक्त भूमिका निर्वाह गरियोस । ९.सामाजिक कलङ्कको रुपमा रहेको जातीय विभेद् तथा छुवाछूत जस्तो जघन्य अपराधलाई मानवअधिकार विरुद्ध हुने विभेद्को अन्त्यका लागि आमसञ्चार माध्यमबाट प्रचार—प्रसारका लागि पहल गरियोस । १०.राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई नेपाल पत्रकार महासंघले सुभेच्छुक संस्थाका रुपमा सहकार्य गरियोस । ११.पत्रकारिता तथा आमसञ्चार विषयमा अध्यापन गराइरहेका विश्वविद्यालय, क्याम्पस, नेपाल प्रेस इन्स्टिच्युटलगायतका संघसंस्थाले दलित समुदायका लागि छात्रवृत्तिसहित सहज रुपमा अध्ययन गर्नसक्ने वातावरण सुनिश्चित गरियोस् । १२.दलित समुदायका पत्रकारको नेतृत्वमा सञ्चालित सञ्चारगृहहरुलाई करछुट तथा अनुदानमा सञ्चार सामाग्रीहरु प्रदान गर्ने व्यवस्था गरियोस । स्थानीय तहमा सञ्चालित ती सञ्चारमाध्यमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि राज्यका सबै तहबाट सहयोग गर्ने व्यवस्था गरियोस् । १३.अहिले पनि दलित समुदायका ४० प्रतिशत पत्रकारहरु पार्टटाइम सञ्चारकर्मीका रुपमा क्रियाशील छन् । यसरी क्रियाशील पत्रकारहरुले न्यूनतम पारिश्रम पनि पाइरहेको अवस्था छैन । त्यसैले दलित समुदायले श्रमबापत न्यूनतम पारिश्रमिक पाउने अवस्थाको ग्यारेन्टी गरियोस् । १४.दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन सफल पार्नका लागि व्यवस्थापकिय भुमिका निर्वाह गरेकोमा आतिथ्यः नेपाल पत्रकार महासंघ पाल्पा शाखालाई धन्यबाद ज्ञापन गर्ने । १५.पाल्पाको रिब्दीकोट गाँउपालिका वडा नं।४ भैरवस्थानस्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा दलित समुदायको प्रतिनिधीत्व हुनुले जातीय विभेद अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह भएको र देशभरबाट आएका दलित समुदायका पत्रकारहरुलाई सामूहिकरुपमा मन्दिरमा पूजाअर्चना गर्ने वातावरण सृजना गरेकामा मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन गरियो ।

ट्याक्सीको नयाँ मापदण्ड ल्याइँदै, अब न्यूनतम् १२ सय सीसी हुनुपर्ने

काठमाडौं, असार ५ । यातायात व्यवस्था विभागले ट्याक्सी सेवालाई गुणस्तरीय बनाउन नयाँ मापदण्ड तयार पारेको छ । प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पुर्याइएको छ । मन्त्रिपरिषद्बाट निर्णय हुन भने बाँकी छ । नयाँ मापदण्डअनुसार ट्याक्सीमा न्यूनतम् १२ सय सीसीको क्षमता तोकिएको छ । हाल ८ सय सीसीसम्मका ट्याक्सीलाई मान्यता दिइएको छ । नयाँ मापदण्डमा साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारले वर्गीकरण गरिएको छ । ट्याक्सी वर्गीकरणले फरकफरक भाडादर कायम गर्ने छ जसले गर्दा सस्तो र महँगो भाडा तिर्न सक्नेहरूले आफ्नो रोजाइमा प्रयोग गर्नसक्ने विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । ट्याक्सीमा सामान राख्न पनि सहज हुनेगरी मापदण्ड तोकिएको छ । साथै, भित्र बढी खुला स्पेस हुनुपर्ने छ । इन्जिन क्षमता र ग्राउन्ड क्लियरेन्स कम हुँदा सामान्य खाल्टाखुल्टीमा वा कच्ची सडकमा ट्याक्सीलाई असहज हुने भएकाले थप मापदण्ड तोकिएको विभागको भनाइ छ । एसीका साथै यात्रुमैत्री सिट हुनुपर्ने छ । ट्याक्सीमा सुरक्षा फिचर्स पनि अनिवार्य गरिने भएको छ । हरेकले स्मार्ट प्रविधि जडान गर्नुपर्ने छ । हाल विभागले नयाँ ट्याक्सी दर्ता रोकेको छ । ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा सट्टा दर्ता भने गरिएको छ । विभागका अनुसार उपत्यकामा दस हजार ट्याक्सी दर्ता छन् तर ट्याक्सी व्यवसायीले भने नयाँ मापदण्डको विरोध गरेका छन् । नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतमले भने, ‘मापदण्डको नाममा उपत्यकामा ट्याक्सी बढाउने र बजार अस्तव्यस्त बनाउने खेल हुनसक्छ, मापदण्डका नाममा कोटा तोक्ने काम हुनसक्छ, उपत्यकामा अहिले ट्याक्सीको अभाव छैन यात्रुको अभाव छ ।’ सीमित संख्यामा ट्याक्सी दर्ता गरेर बढी नाफा आर्जन गर्ने बानी परेका व्यवसायी सरकारका हरेक सुधार योजनाको विरोध जनाउँदै आएका छन् । केही व्यवसायी भने दर्तामा कुनै बन्देज लागाउन नहुने भन्दै सीमित व्यक्तिको स्वार्थले ट्याक्सी व्यवसाय नै बदनाम भएको विचार व्यक्त गर्दछन् । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।