चाेरविरुद्ध अाक्रामक प्रहरी, काठमाडौंमा १२४ पक्राउ

काठमाडौं, माघ १८ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ ।

परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सन्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत् उनीहरुलाई पक्राउ गरी कारबाही गरिएको हो ।

परिसर र महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी विशेष अभियान सन्चालन गरी चोरी गर्नेलाई रंगेहात पक्राउ गरी कारबाही गरेको जानकारी दिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिए ।

‘अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ’–उनले भने ।

साथीभाइको संगत, विगतको घरमा बसेर विगतको घरबेटीकाबारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्यक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताए ।

‘प्रहरीले सुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ’–उनले भने ।

परिसर र महाशाखाको टोलीले बिहीबार र शुक्रबारमात्र बानेश्वरबाट १७, महाराजगन्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट ९ जनालाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ ।

दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन् । यस्तै, तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । रासस

सन्दीपले लिए लगातार विकेट, यूएईको चौथो विकेट पतन

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले शानदार शुरुवात गरेको छ । ६ ओभर सकिदा यूएईले ४ विकेट गुमाएको छ । सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका हुन् । उनले आफ्नो पहिलो ओभरको पाँचौ र छैटौं बलमा विकेट लिन सफल भए । यसअघि, सोमपाल कामीले २ विकेट लिइसकेका छन् । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुँदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

नेविसंघ अधिवेशनमा कांग्रेस नेताबीच कुटाकुट

ओखलढुंगा, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा विवाद भएपछि पार्टी काग्रेस नेताबीच कुटाकुट भएको छ । अन्नपूर्ण पाेष्ट दैनिकका अनुसार, सोमबार साँझ उद्घाटन सत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ । उनले कुटपिटका क्रममा आँखामा चोट लागेको बताएका छन् ।  सामुदायिक अस्पता स्रोब्रुमा आँखा परीक्षण गरेको पनि उनले बताए । त्यस्तै पूर्व सभापति गोमा केसी पनि कुटिएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् ।  केसीले पत्रकार सम्मेलनमा आफुमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेको आरोप लगाएकी छिन् ।  अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको थियो ।  कार्यक्रम सुरु हुँदा जिल्ला सभापति प्रदिप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको नेविसंघका कार्यकर्ता सुजन दाहालले बताए । प्रतिनिधि एकपक्षीय बनाएर आफु अनुकूल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसीले मञ्चमै पुगेर कार्यक्रम रोक्न माग गर्दा झडपको अवस्था भएको हो ।  मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्लभ दाहाल काका र पूर्व सभापति गोमा केसीबीच हात हालाहाल भएको प्रत्यक्षदर्शी नेता विनोद केसीले बताए । उनले सभापति सुनुवार र उपसभापति खनालले आक्रमण गरेको पनि आरोप लगाए । झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कुटाकुटपछि अधिवेशनमा आएका विद्यार्थीसमेत दुईपक्षमा विभाजित भएका छन् । वर्तमान पदाधिकारी र प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने जारी छ ।  केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगनको  विज्ञप्ती निकालेका थिए । त्यसपछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएर अधिवेशनको बन्दसत्र चलिरहेको छ ।  सभापतिको राजीनामा माग  संस्थापन (शेरबहादुर देउवा) पक्षले विधि मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरी जल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको रामजीनामा मागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता टेकराज भट्टराईले महिना नेतृमाथि दुव्र्यवहार गर्ने सभापतिलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे । उनले केन्द्रीय सभापति देउवासमक्ष सुनुवारलाई बर्खास्त गर्न माग गरिने बताए ।  पत्रकार सम्मेलनमा नेतृ गोमा केसीले सभापतिले आफुमाथि दुव्र्यबहार गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् । उनले बर्तमान पदाधिकारी बर्खास्त गर्न केन्द्रसँग मागसमेत गरेकी छन् । माहिलमाथि हिंसा गर्ने सभापतिलाई पदमा बस्न अधिकार नभएको भन्दै उनीहरुलाई अस्वीकार गर्ने केसी लगायतका नेताहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।  जिल्ला सभापति प्रदिप सुनुवारले भने मादक पदार्थ पिएका केही व्यक्ति घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरुले आफुमाथि आक्रमण प्रयास गरेको उद्घाटन सत्रमा सम्बोधन गर्दै बताएका थिए ।  उनले आफुमाथि आक्रमण प्रयास गर्नेहरुलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिए ।  लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ । संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको सभापति सुनुवारले बताए । गुण्डागर्दीको शैलीमा कार्यक्रम विथोल्न खोजे पनि असफल पारिएको सुनुवारले बताए । 

सुरु भयो स्वस्थानी व्रत, उपत्यकाका विभिन्नस्थानमा भक्तजनको घुइंचो

काठमाडौं, माघ ७ । पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीहरूले स्वस्थानी व्रत प्रारम्भ गरेका छन्का  । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेको र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ । यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन् । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो । श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ ।  काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहीं बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन् । हिन्दूहरूको व्रत भएपनि नेपालबाहिर भने स्वस्थानी व्रतको प्रचलन रहेको पाइंदैन । यस व्रतकथामा वर्णित  अधिकांश स्थानहरू काठमाडौँ उपत्या नजिकै रहेकाले नेपाली हिन्दू परम्परामा यसलाई विशेष महत्वका साथ हेरिने गरिन्छ ।

फागुन ३ गतेभित्र समायोजनकाे काम पूरा हुने

काठमाडौं – सरकारले एक महिनाभित्र सक्ने लक्ष्यसहित कर्मचारी समायोजको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गतेभित्र सक्ने गरी समायोजनको तयारी अघि बढाएको हो । सरकारले समायोजन फारम भर्न दिएको समयवधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाइएको बताइएको हो । एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरु गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती कितावखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए । याे समाचार आजकाे नेपाल समाचार पत्रबाट  लिएकाे हाे ।

काे हुन डा. केसीविरुद्ध अनसन बसेका युवा विजय थापा ?

प्रा.डा. गोविन्द केसीले इलाममा १६ औँ अनशन सुरु गरेकाे तेस्रो दिन फरक माग लिएर एकजना यवविा जय थापाले पनि अनशन सुरु गरे । ‘नि:शुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त सङ्घर्ष समिति’ नाम दिएर अनसन बसेका थापा काे हुन त ? के छन उनका माग ? थापाबारे कान्तिपुर दैनिकमा प्रकाशित अालेख यहाँ साभार गरेका छाैं । पुस २७ गते इलाम चोक बजारस्थित लाँकुरी चौतारामा उनी अनशन बसेका थिए । संसदीय समितिमार्फत पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेसहित नौ बुँदे माग राखेर थापाले अनशन थालेका हुन् । थापाले अनशन थाल्दा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी हुने बताएका थिए । राजधानीबाहिर निजी मेडिकल कलेज खोल्न पाउनुपर्नेलगायत उनका माग छन् । उनका मागमा एमडी तथा पीजी कक्षाको कोटा कम्तीमा १ हजार ५ सय पुर्‍याउनुपर्ने, सरकारी तलब खाएर राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेलगायत छन् । त्यस्तै प्लस टु माथिको उच्च शिक्षा नेपालमै नि:शुल्क अध्ययन गर्ने वातावरण बनाई शिक्षा र स्वास्थ्य अध्ययनका नाममा बर्सेनि ७० अर्ब रुपैयाँ बिदेसिने गरेकाले यसलाई रोक्ने वातावरण निर्माण गर्नुपर्ने, बङ्गलादेशबाट फर्कने क्रममा जहाज दुर्घटनामा निधन भएका १८ डाक्टरका परिवारलाई तुरुन्त क्षतिपूर्ति दिइनुपर्ने, बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजाय व्यवस्था गर्न उनले माग गरेका छन् । अनशन सुरु हुनुअघि जारी विज्ञप्तिमा गत वर्षको वैशाख १३ देखि काठमाडौँको खुलामञ्चमा थापाले ५३ दिन सत्याग्रह गरेको उल्लेख छ । डा. केसीका पक्षमा बजारमा दिनहुँ प्रदर्शन हुँदा थापाका समर्थकले पनि प्रदर्शन गरे । प्रदर्शनका क्रममा भएको कोणसभामा नेकपा सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थानीय नेताले थापाका माग जायज भएको भन्दै मन्तव्य दिएका थिए । केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि हेलिप्टरबाट बिहीबार राति काठमाडौँ लगिएको थियो । इलामबाट उनलाई एम्बुलेन्समा झापाको भद्रपुर लगिएको थियो । त्यसको आधा घण्टामा थापालाई पनि एम्बुलेन्सबाटै झापा लगियो । थापालाई झापाबाट शुक्रवार हेलिकप्टरबाटै काठमाडौँ लगिएको थियो । दुवैको काठमाडौँमा उपचार भइरहेको छ । अनशन पनि नारी छ । को हुन विजय थापा ? डा. केसीविरुद्ध अनशन बसेर चर्चामा आएका विजयको पुरानो ठेगाना सुनकोशी गाउँपालिका ३, ओखलढुङ्गाको सिस्नेरीस्थित डाँडागाउँ हो । तेजबहादुर थापाका जेठा छोरा विजय डाँडागाउँमै जन्मिएका हुन् । उनका बुबा नेपाली सेनाका पूर्वजमदार हुन् । उनीहरू २०५८ सालतिर उदयपुरको कटारी बसाइँ सरे । विजयले एसएलसीसम्म कटारीमै अध्ययन गरे । स्कुले जीवनमै विभिन्न समूह बनाएर विद्यालयमा आन्दोलन गरेपछि उनी सानै उमेरमा कटारी क्षेत्रमा परिचित थिए । पछि चुरेभावर राष्ट्रिय पार्टीमा आबद्ध भए । चुरे भावरमा आबद्ध हुँदासमेत उनी विभिन्न घटनामा संलग्न भएको आरोप लागेको थियो । उनको परिवार कटारी बजारको घर बेचेर काठमाडौँ बसाइँ सरेपछि तराई केन्द्रित भए । जनकपुर, सर्लाही, सप्तरी, सिराहा र सिन्धुलीसम्म विभिन्न गतिविधि गरिरहने उनी हाल ‘रैथाने एकता परिषद्’ का संयोजक हुन् । तराईका रैथाने समुदायलाई छुट्टै किसिमको पहिचानको मुद्दा स्थापना गर्ने भन्दै गठित एकता परिषद्ले राजनीतिक दलकै जस्तो गतिविधि गर्दै आएको छ । उनी मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चामा समेत आबद्ध थिए । उनका समर्थक धेरैजसो युवा छन् । आफूले गतिविधि गरेका क्षेत्रमा युवालाई आकर्षित गर्ने क्षमता भएका उनको समर्थनमा उदयपुरदेखि तराईका विभिन्न जिल्लाका दर्जनौँ युवा इलाम पुगेका थिए । साभार: विप्लव भट्टराई र कुम्भराज राई/कान्तिपुर दैनिक

याे वर्ष मात्रै २ लाख ३० हजारले राेजगारी पाउने

काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष दुई लाख ३० हजार नयाँ रोजगारी सिर्जना हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आवको असार मसान्तसम्म दुई लाख ३० हजार रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको हो। याे खबर अाजकाे अन्नपुर्ण दैनिकमा प्रकाशित छ । मन्त्रालयका सहसचिव प्रकाश दाहालले दुई लाख ३० हजार जनाले असार मसान्तसम्म परियोजना र विकास निर्माणमा काम पाउनेछन्। कम्तीमा सय दिन रोजगारी पाउने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो। मजदुरले दैनिक पाँच सय १७ रुपैयाँ पाउने गरी वार्षिक करिब ५२ हजार रुपैयाँ आम्दानी गर्न सक्नेछन्। श्रम मन्त्रालयले अन्तरमन्त्रालय समन्वय गरी व्यावसायिक, कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात, पूर्वाधार तथा तीनै तहका सार्वजनिक निर्माणलाई कार्यक्रममा समेट्नेछ। सरकारले सार्वजनिक खर्चमा हुने कुल बजेटको २० प्रतिशत श्रममा खर्च गर्न लागेको हो। मेसिनमा ८० प्रतिशत र श्रममा २० प्रतिशत खर्च गरी स्थानीय तहमै व्यापक रोजगारी सिर्जना गर्ने सरकारको योजना छ। यसअघि विभिन्न विकासे आयोजना तथा परियोजनामा कुल बजेटको १५ प्रतिशत श्रमिकमा खर्च हुँदै आएको थियो। सरकारले यस वर्ष थप ५ प्रतिशत श्रममै खर्च गर्ने रणनीति अबलम्बन गरेको हो। कम्तीमा सय दिन रोजगारी पाउने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले केन्द्रीय सरकार, प्रदेश र स्थानीय तहबाटै व्यापक रोजगारी सिर्जना गर्ने लक्ष्यका अघि सारेको छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउन यसै हप्ता सूचना प्रकाशित गरी सात सय ५३ स्थानीय तहका लागि रोजगार संयोजक नियुक्त गर्ने तयारी गरेको छ। संयोजकले स्थानीय तहका कर्मचारीको सहयोगमा रोजगार सूचना व्यवस्थापन प्रणालीको काम गर्नेछन्। संयोजकले बेरोजगारको लगत संकलन गर्ने, आयोजना÷परियोजनाको लगत राख्ने, रोजगार समन्वय गर्ने र फारम भरेका तर रोजगार नपाएका व्यक्तिको बेरोजगार भत्ताका लागि केन्द्रीय सरकारलाई सिफारिस गर्नेछन्। फागुन १५ गतेसम्म संयोजक छनोट गरी कम्तीमा चैत्र १५ गतेदेखि हरेक स्थानीय तहबाट काम सुरु हुने सहसचिव दाहालले बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमले पाँच वर्षको अवधिमा पाँच लाख नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरेको छ। सरकारले प्रत्येक तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको छ। स्थानीय तहबाटै रोजगारी सिर्जना गर्न मन्त्रालयले प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ। सात सय पाँच स्थानीय तहमा अधिकृतस्तरको र ४८ तहमा नासुस्तरको रोजगार संयोजक छनोट हुनेछन्। इच्छुक उम्मेदवारले अनलाइनबाटसमेत फारम भर्न सक्नेछन्।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुसालले काम र रोजगारीलाई प्राथमिकता दिँदै सरकारले हरेक तहबाटै स्थानीय मानिसलाई रोजगारी दिने तयारी गरेको बताए। सरकारले आउँदो पाँच वर्षभित्र वैदेशिक रोजगारीका लागि बाध्यात्मकरूपमा विदेश जानु नपर्ने गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारेको हो। दैनिक हजारौं युवा वैदेशिक रोजगारीमा जाने गरेकाले स्वदेशमै निर्माणाधीन ठूला आयोजनामा काम गर्ने कामदारको पनि अभाव बढ्दै गएको छ। वैदेशिक रोजगारीमा पनि वार्षिक औसतमा ८४ हजार रुपैयाँ मात्रै कमाइ हुने गरेकाले गाउँघरमै अरु काम गर्दै सय दिनमा ५२ हजारभन्दा बढी कमाउनु राम्रो हुने उपसचिव भुसालले बताए। प्रत्येक वर्ष पाँच लाखभन्दा बढी युवा श्रमबजारमा आउने गरे पनि त्यसमध्ये एक तिहाईले मात्रै स्वदेशमै रोजगारी पाउने गरेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न सरकारले संघीय संसद्बाट रोजगार ऐन र रोजगार नियमावलीसमेत पारित गरिसकेको छ।

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छः मन्त्री विष्ट

पोखरा, पुस पुष २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने बताएका छन् । आज (बिहीबार) गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौं युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरे । उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौं जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए । मन्त्री बिष्टले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए । उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे ।

माघ १ गते सार्वजनिक विदा दिने निर्णय

धनगढी, पुष २६ । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहका अनुसार बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको कानुन मन्त्री शाहले जानकारी दिए । बैठकले विभिन्न विषयसँग सम्बन्धीत पाँच वटा कार्यविधि पनि स्वीकृत गरेको छ। कानुन मन्त्री शाहका अनुसार पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वनका लागि बनेको कार्यविधि, व्यवसायीक सीपमुलक कार्यविधि, वन तथा वातावरण जलाधार व्यवस्थापन कार्यविधि, अनुदान तथा सहायता रकम निकासा सम्बन्धी कार्यविधि र प्रदेश पर्यटन विकास आयोजना कार्यान्वयन इकाई सञ्चालन कार्यविधि बैठकले स्वीकृत गरेको हो। यस्तै प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरिएको छ भने प्रादेशिक वातावरण संरक्षण व्यवस्थापन सम्बन्धीको विद्येयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापन सम्बन्धी विद्येयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृती पनि प्रदान गरिएको सरकार प्रवक्ता शाहले बताए।

एकदिवसीय र टी–२० क्रिकेटः यूएईको टिम घोषणा, को–को छन् टोलीमा ?

काठमाडौं, पुष २६ । नेपालविरुद्धको तीन एकदिवसीयका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को क्रिकेट टोली घोषणा गरिएको छ । मोहम्मद नाभिदको कप्तानीमा यूएईले टोली घोषणा गरेको हो । यूएई क्रिकेट बोर्डले १६ सदस्यीय टोली घोषणा गर्दै नाभिदलाई यो पटक कप्तान चयन गरेको छ । नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपालविरुद्ध कप्तानी गर्ने भएका हुन् । मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई यूएईको बोर्डविरुद्ध बोलेको भन्दै निलम्बन गरिएको हो । जसका कारण तीनै खेलाडीले नेपालविरुद्धको सिरीज गुमाउने भएका छन् । नेपालले २५ जनवरीमा पहिलो, २६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी–२० खेल खेल्ने तय भइसकेको छ । जसका लागि नेपाली क्रिकेट टिमले तयारी सुरू गरिसकेको छ भने यूएईले क्याम्पमा राखिसकेको छ । यूएई टिममा को-को छन् ? हेर्नुस् मोहम्मद नाविद (कप्तान),मोहम्मद उस्मान (उपकप्तान),जहूर खान, कदीर अहमद, फहद नवाज, अब्दुल शकूर, सुल्तान अहमद, सीपीरिजवान, चिराग सुरी, मोहम्मद बुटा, शमन अनवार, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुगल, अमिर हयात

दोषीलाई कारबाही माग गर्दै वीरगञ्जको घण्टारमा जुलुश प्रदर्शन

वीरगञ्ज, पुस २६ । वीरगन्ज महानरपालिका ६ की २६ वर्षीया महिला माधुरी वर्णवालका शंकास्पद मृत्युको विषयमा तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै बरनवाल सेवा समितीले बिहीबार वीरगन्जको घण्टाघरमा जुलुश प्रदर्शन गरेका छन् । मृतक वर्णवालको विवाह भएको एक वर्ष नबित्दिै नेपालगन्जस्थित आफनै घरको कोठामा पंखामा गत १७ पुसमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । दाइजो कम ल्याएको निहुमा पति मनिष वर्णवाल, ससुरा गोपीचन्द्र बर्णवाल र सासू राजकुमारी देवीले हत्या गरेको माधुरीको माईती पक्षले आरोप लगाएका छन्। वर्णवालको हत्यामा उनको श्रीमा, ससुरा र सासूको संलग्नता रहेको माइती पक्षको आरोप छ । भेरी अस्पताल नजिकै औषधीको थोक पसल रहेको माधुरीको ससुराल पक्षले त्यहाँका डाक्टरलाई मिलाएको भनी आशंका जनाउँदैं पोस्टमार्टम रिपोर्ट सही आउने भरोसा नरहेको मृतकका आफन्तको भनाई छ । नेपालगन्जको प्रहरीले पनि दोषीलाई जोगाउने प्रयास गरिरहेको भन्दै उनीहरुले प्रहरीले अत्महत्या भन्दै सुरुमा जाहेरी लिन नमानेको र निकै प्रयास पछि मात्र जाहेरी लिएको आफन्त बताउँछन् । माइतीपक्षले माधुरीको श्रीमान, सासु र ससुराविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएको छ । नयाँपत्रिकादैनिकबाट साभार

सात सय विदेशी निष्कासित, सबैभन्दा बढी चिनियाँ

काठमाडौं, पुष २६ । गृह मन्त्रालयले अध्यागमन कानुन उल्लंघन गर्ने ७ सय १ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। भिसा अवधिभन्दा बढी बसेका र फरकफरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको हो। यो सन २०१८ को तथ्यांक हो। उनीहरूमाथि धर्म परिवर्तनमा संलग्न, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र भिसाबिना बसेको अभियोग छ। निष्कासित हुनेमा चिनियाँ नागरिक सबैभन्दा बढी छन्। गृह मन्त्रालयका अनुसार सन् २०१८ मा ३ सय ७३ जना चिनियाँ नागरिकलाई निस्कासन गरिएको छ। उनीहरू धर्म परिवर्तनमा भने संलग्न छैनन्। एक वर्षको अवधिमा अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ, जसमा दुई जापानी महिला, एक अस्ट्रेलियन युवती र एक फिलिपिन्सका दम्पती थिए। पर्यटक भिसामा नेपाल आई धर्म परिवर्तनमा संलग्न भएको पाइएपछि गृह मन्त्रालयले उनीहरूलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको थियो। अन्य निस्कासित हुनेहरूमा अधिकांश विदेशी भिसाबिना बसेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र कैद भुक्तान गरेका छन्। सरकारले विदेशीहरूको उपस्थितिलाई निगरानी नगर्दा अवैध रूपमा नेपाल बस्ने विदेशीको संख्या बढ्दै गएको छ। यो समाचार अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।

काठमाडौं–टोकियो सिधा हवाई सेवा सञ्चालनका निम्ति मार्ग प्रशस्त

काठमाडौं, पुस २६ । करीब २५ वर्षपहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रबर्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ । नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउने सम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् । परामर्श संयन्त्रले नेपाल–जापान सम्बन्धका सबै पक्ष र आयाममा बृहत् छलफल गर्नुका साथै सहायताका नयाँ क्षेत्र पहिल्याउनेछ । साथै आपसी हित र स्वार्थका साझा मामिला तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका लागि सेतुको भूमिका निर्वाह गर्नेछ । मन्त्रिस्तरीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सहमतिपत्रमा दुवै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षरपछि आदानप्रदान गर्नुभयो भने मन्त्रीद्वयको उपस्थितिमा हवाईसेवा सम्झौता पुनरावलोकन सम्बन्धी सहमतिपत्रमा परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको थियो । बैठकपछि पत्रकारहरूलाई संयुक्तरुपमा सम्बोधन गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासका मेरुदण्ड मानिएका भौतिक पूर्वाधार निर्माणमा जापानी सहायताको निरन्तरता, प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी चैतको अन्त्यमा आयोजना हुने लगानी सम्मेलनमा जापानी लगानीकर्ता र उद्यमीको सक्रिय सहभागितालगायत विषयमा विचारविमर्श भएको जानकारी दिए । जापान सरकारको नयाँ आप्रवासन नीतिअनुरुप त्यहाँको श्रम बजारमा नेपाली कामदार पठाउनेबारेमा पनि आफूहरूबीच छलफल भएको मन्त्रीद्वयले बताए । पर्यटन प्रवद्र्धन तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन जापान र नेपालले साझेदारी गर्नेबारेमा पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । मन्त्री कोनोले काठमाडौं र टोकियो चाँडोभन्दा चाँडो हवाई सम्पर्कबाट जोडिने विश्वास व्यक्त गर्दै त्यसले जापानी पर्यटक नेपाल भित्र्याउन तथा व्यापार–वाणिज्य प्रवरधनमा टेवा पुग्ने बताए । नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रत्यक्ष हवाई सेवाबाट मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । नेपाल सरकारका विकास–निर्माणका प्राथमिकता, आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरू, कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन‚ पूर्वाधार विकास, पर्यटन तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोगबारे पनि बैठकमा छलफल भएको थियो । वर्तमान सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न तथा आर्थिक रुपान्तरणका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न जापानी सहयोगको अपरिहार्यतामा बैठकमा जोड दिइएको थियो भने अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति गर्ने अर्को लक्ष्य साकार पार्न पनि जापानी सहायता अभिवृद्धिमा नेपालले जोड दिएको थियो । सन् २०३० सम्ममा मध्यमआययुक्त देशका रुपमा विश्व मानचित्रमा नेपाललाई चिनाउन जापानले निःशर्त निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेको बैठकमा सहभागी एकजना अधिकारीले राससलाई बताए । बैठकमा भूकम्पपछिको पुनःनिर्माण, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार, प्रविधि हस्तान्तरण, गरीबी निवारण, जलवायु परिवर्तन, सूचना प्रविधि, पर्यटन, विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । रासस

प्रचण्ड भन्छन्, ‘जनतालाई धनी बनाउन सकेन भने कम्युनिस्टको काम छैन’ [भिडियाेसहित]

चितवन, पुष २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतालाई धनी बनाउन नसक्ने कम्युनिस्टको काम नभएको बताएका छन् । आज १२औं चितवन महोत्सवको उद्घाटन गर्दे प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कम्युनिस्ट नेतृत्वको बहुमत सरकार छ, अब जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन ।’ प्रचण्डले अब विकासका लागि गम्भीर भएर लाग्ने समय आएको बताए । उनले भने, ‘गम्भीर भएर विकासमा लाग्नु पर्छ, हामीले देशका लागि केही गर्नुपर्छ भनेर बुझ्नुपर्छ।’ प्रचण्डले आफ्नो सपनासमेत १० वर्षमा देश समृद्ध बनाउने रहेको उल्लेख गरे ।

सन्दीपले क्यामरुन डेलपर्टलाई रन आउट गरे

काठमाडौं, पुष २५ । बंगलादेश प्रिमियर लिगको आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानले फिल्डीङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो ओभरमा विकेट लिन नसके पनि अफिप होसेनले गरेको बलिङमा क्यामरुन डेलपर्टलाई रन आउट गरे । आज सन्दीपको टोली सिल्हेट सिक्सर्सले चिट्टागोंग भिकिङ्ग्स खेलिरहेको छ ।

करोडौं नगद हिनामिना गरी लेखा अधिकृत फरार

चितवन, पुस २५ । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए। मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए । सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोवार रोक्का गरिएको पौडेलले बताए । रासस