लिक भयो हाउसफुल–४ को कथा

एजेन्सी । हाउसफुल फ्रेन्चाइजीको चौथो फिल्म हाउसफुल–४ को कथा लिक भएको छ । भारतीय सञ्चारमाध्यममा आएको खबरअनुसार हाउसफुल–४ पुनर्जन्ममा आधारित छ । फिल्ममा अक्षय कुमार र बबी देओलको दुई जन्म देखाइएको छ । 

फिल्मको मध्यान्तरभन्दा पहिलेको कथा १६औँ शताब्दीको छ, जहाँ अक्षय त्यो समयमा राजा हुन्छन् । उनी फरक–फरक अनुहारमा देखिनेछन् । बबीलाई दरबारको भारदारको भूमिकामा देख्न सकिने बताइएको छ । त्यस्तै, नवाजुद्दिन सिद्दिकी बाबाको भूमिकामा छन् ।

नवाजको भूमिकाकै कारण फिल्म हाउसफुल–४ को कथामा ट्विस्ट आउनेछ । ‘मिटु अभियान’का क्रममा निर्देशक साजिद खान र अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लागेका कारण उनीहरूलाई यो फिल्मबाट‘ ‘आउट’ गरियो । फिल्ममा नानालाई भनिएको भूमिकामा राणा दाग्गुबतीलाई अभिनय गराइएको छ । नयाँ पत्रिकाबाट

विप्लवका बडिगार्ड भुजेललाई रिहा गर्न सर्वोच्चकाे अादेश

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता सुर्य बहादुर भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार बन्दिप्रत्यक्षिकरण आदेश जारी गरेको हो । भूजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो । भुजेलका तर्फबाट पितकुमारी भुजेलले बन्दिप्रत्यक्षिकरणको मुद्धा दर्ता गराएकी थिइन् । महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो । भुजेलले नेकपाको उपत्यका कमाण्ड सम्हालिरहेका थिए

चलचित्र ‘यात्रा’ का दर्शकले जिते एकलाख

काठमाडौं, वैशाख ६ । चलचित्र ‘यात्रा’ युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै प्रस्तुत गरेको प्रतियोगितामा विजयी बनी मिलन श्रेष्ठले एक लाख पुरस्कार जितेका छन् । शुक्रबार काठमाडौंमा मकैं एप्सले चलचित्र यात्राका कलाकारहरु सलिनमान बनियाँ, मलिका महत, रेयर राई लगायतका कलाकारहरुले लक्की ड्रमार्फत् मिलन श्रेष्ठलाई भाग्यशाली विजयी घोषणा गरेका हुन् । गत चैत २९ गते प्रदर्शन भएको चलचित्र ‘यात्रा’को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । प्रतियोगितामा झण्डै ३ हजार जनाले सहभागिता जनाएपनि ६१६ जनाले मात्र सही उत्तर रोजेको मकै एप्सका चीजकुमार श्रेष्ठले जानकारी दिए । ‘लक्की ड्र’ कार्यक्रममा उपस्थित चलचित्रका निर्देशक सम्राट शाक्यले भने, फिल्मले प्राप्त गरेको प्रतिक्रियाले निकै उत्साहित छौं । यात्राले नेपाली चलचित्र हेर्न दर्शकलाई हलसम्म ल्याउने क्रमलाई उत्साहजनक ढंगले बढाएको छ ।’ चलचित्रमा सलिनले भ्लगमार्फत् समाजमा ल्याउन सकिने परिवर्तनलाई प्रस्तुत गरेका छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेकोछ । यही चलचित्रमार्फत् डेब्यू गरेकी मलिका महतको अभिनयले प्रसंशा पाइरहेको छ । चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।

पोखराको लेकसाइडस्थित एक होटल जबर्जस्ती करणीको अभियोगमा ४ पक्राउ

पोखरा, वैशाख ३ । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । रासस

रोकिराखेको ट्रकमा कार ठोक्किँदा ६ घाइते

चितवन, वैशाख ३ । भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो । यसैबीच पूर्वी चितवनमा गुडिरहको गाडीमा आफैँ आगलागी भएको छ । सोमबार साँझ ८।३० बजे पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० सिँचाइ गेट नजिकै भरतपुरबाट मर्मत गरी टाँडीतर्फ जाँदै गरेको ना५ख ३८६८ नंको बस गुडिरहेको अवस्थामा आफँै आगलागी भएको प्रहरी जनाएको छ । बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ । रासस

बाफलमा युवकको हत्यामा संलग्न एक युवक पक्राउ

काठमाडौं, चैत २५ । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको हालसम्म सनाखत भएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार तराई मुलको जस्तो देखिने मृतक युवकसँग बस्ने व्यक्ति पक्राउ परेका हुन् । दुवै जना बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । दुवैको घर परिवारबारे प्रहरी कुनै खबर पाउन सकेको छैन। घटनास्थल आसपास बस्ने व्यक्तिलाई पनि उनीहरुको हुलियामा थाहा थियो । घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगिएको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको थियो । प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको थियो । हाल शवको पोष्टमार्टमपछि रिपोर्ट आउने प्रक्रियामा छ । अभियुक्त भन्छन्– उसैले हानेको हो पक्राउ परेका युवकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छन् । ‘उसले आफैंले सिसाले हानेको हो’, अभियुक्तको बयानलाई उदृत गर्दै अनुसन्धान अधिकारी भन्छन्, ‘मैले पनि त्यो देखेको हुँ ।’ तर, मानसिकरुपमा ठीक नभएकाले प्रहरी उनको बयानलाई आधार मान्न सक्दैन । ‘मानसिक सन्तुलन गुमेको व्यक्तिको बयान अदालतले पनि मान्दैन’, अनुसन्धान अधिकारी भन्छन्, ‘के गर्ने अन्यौलमा छौं । विज्ञसँग परामर्श गर्छौं ।’ स्थानीयले भने उनीहरु दुईबीच वेलावेला झगडा हुने गरेको प्रहरीलाई बताएका थिए । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए । कुकुरको संकेत अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेको थिएन । स्रोतका अनुसार घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेको थिएन । त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो । यद्यपि, प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान जारी राखेको प्रहरीको भनाइ थियो । अनलाइनखबरबाट

इंग्लिस प्रिमियर लिगः फुलहामलाई हराउँदै सिटी फेरि शीर्ष स्थानमा

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको खेलमा रेलिगेसनको चपेटामा रहेको फुलहामलाई २–० गोलले हराउँदै सिटी शीर्ष स्थान उक्लिएको हो । उसको जीतमा बर्नाल्डो सिल्भा र सर्जियो अग्युरोले गोल गरे । शिल्भाले पाँचौ मिनेटमा गोलगर्दै टोलीका अग्रता दिलाएका थिए । अग्युरोले २७औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । जितसँगै सिटीले ३१ खेलमा ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । फुलह्याम १७ अंक सहित रेलिगेसनका छ ।

स्थानीय र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै, रिक्त पद खोज्न टोली परिचालन

काठमाडौं, चैत १७ । सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा स्थानीय तह र प्रदेशका लागि संघीय लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया थाल्ने गरी गृहकार्य अघि बढाइएको छ। दुवै तहमा गरेर झन्डै ३२ हजार पद रिक्त छन् तर तत्काल १५ हजारदेखि २० हजारसम्ममा रिक्त रदबन्दीमा पदपूर्ति गर्ने सरकारी तयारी रहेको छ। हाल अवरुद्ध रहेको लोकसेवाका परीक्षा खुलाउने उद्देश्यका साथ सरकारले रिक्त पदको खोी थालको हो। यसअघि कर्मचारी समायोाजन हुन नसक्दा र रिक्त दरबन्दीको पहिचान हुन नसक्दा लोकसेवाको परीक्षा अवरुद्ध हुँदै आएको थियो। यो समाचार समाचार राजधानी दैनिकमा छापिएको छ ।

आइपीएलः सन्दीपको उत्कृष्ट प्रदर्शन, पहिलो खेलमै लिए विकेट

काठमाडौं, चैत १६ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा विकेट लिँदै शानदार शुरुवात गरेका छन् । उनले आफ्नो दोस्रो ओभरको चौथो बलमा निखील नायकको विकेट लिए ।  सन्दीपले दुई ओभरमा १ विकेट लिँदै मात्र ७ रन दिए । आज दिल्लीले टस जितेर बलिङ गरिरहेको छ ।  कोलकाता २ खेलमै जित निकालेर शीर्ष स्थानमा रहँदा दिल्ली २ मा एक खेलमा मात्र जित हासिल गर्दै अंक तालिकाको तेस्रो स्थानमा छ । कोलकातामा दिनेश कार्तिक र दिल्लीमा श्रेयस अय्यर कप्तान छन् ।

आइपीएलः राजस्थानको लगातार दोस्रो हार, हैदरावाद ५ विकेटले विजयी

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराउँदै पहिलो जीत निकालेको छ । घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै पहिलो जीत निकालेकाे हाे । १ सय ९९ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि डेभिड वार्नर र जेनी बेरिस्टोले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे । वार्नरले ३७ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाउँदा २८ बल खेलेका बेरिस्टोले ६ चौका र १ छक्काको साथमा ४५ रन प्रहार गरे । विजय शंकर १५ बलमा १ चौका र ३ छक्कासहित ३५, कप्तान केन विलियम्सले १४ रन बनाए । युसुफ पठानले १६ र रशिद खानले १५ अविजित रन बनाएपछि हैदराबादले एक ओभरअघि नै खेल जितेको हो । रशिदले छक्का प्रहार गरी खेल जिताएका हुन् । बलिङतर्फ राजस्थानका श्रेयश गोपालले ३, बेन स्टोक्स र जयदेव उनदकटले एकएक विकेट लिए । यसअघि, टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनायो । उसका लागि सन्जु स्यामसुनले ५५ बलमा शतकीय पारी खेले । त्यसक्रममा उनले ४ छक्का र १० चौकाका साथ १०२ रनमा नट आउट रहे । यस्तै कप्तान अजिंक्य रहाणेले ४९ बलमा ७०, बेन स्टोक्सले नट आउट १६ र जोस बटलरले ५ रन बनाए । बलिङमा रशिद खान र शाहवाज नदिमले एक–एक विकेट लिए । राजस्थानका लागि यो लगातार दोस्रो हार हो । यसअघि राजस्थानले किंग्स इलाभेन पञ्जाबसँग पराजय ब्यहोरेको थियो । हैदराबाद भने पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो ।

आइपीएलः घेरलु टोली हैदराबादलाई बलिङको निम्तो

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदराबाद विरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि हैदाराबादमा शुरु हुँदैछ । राजस्थानमा आजिंक्य रहाणे र हैदाराबादमा केन विलियम्सन कप्तान छन् । पहिलो खेलमा पराजित यी दुई टिम पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिदैं छन् । चोटका कारण पहिलो खेल गुमाएका कप्तान विलियमसन आजदेखि खेल फर्किएका छन् । उनी अघिल्लो संस्करणमा पनि कप्तानी सम्हालेका थिए । उनकै नेतृत्वमा हैदराबाद फाइनल पुग्नसमेत सफल भएको थियो ।

प्रियंका र आयुष्मान रियलमा इन्गेजमेन्ट, रिलमा विवाहको मण्डपमा देखिँदै

काठमाडौं, चैत १४ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले विवाह गरेका छन् । केही समअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन्। रियल विवाहको मिति भने उनीहरुको अहिले फिक्स भएको छैन । रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ गीतको भिडियोका लागि गरेका हुन् । औपचारिक विवाहको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको विवाह अहिले पर्दामा उतारिएको छ । भिडियोमा वैवाहिक कार्यका विविध दृश्यहरु समेटिएको छ । मेहन्दी, हल्दीदेखि विवाह मण्डपसम्म प्रियंकालाई डोलीमा चढाएर लगिएका दृष्यसमेत म्यूजिक भिडियोमा समेटिएका छन् । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् । चलचित्रमा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेष्ट हाउसलगायतका स्थानका आकर्षक लोकेसनमा भिडियो छायाँकन गरिएको छ ।

इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

काठमाडौं, चैत १३ । नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोही अनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । बजारमा इन्धनको खपत बढ्दै गएपनि निगमसँग इन्धन भण्डारण गर्ने क्षमता कम हुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा इन्धन अभाव हुने अवस्थाको अन्त्यका लागि पूर्वाधार विकास अत्यावश्यक भइसकेको छ । यथास्थितिमा निगम चल्न नसक्ने भएकाले ९० दिनलाई पुग्ने इन्धन भन्डारणस्थल निर्माणका लागि संस्थाले प्रक्रिया अगाडि बढाएको छ । विभिन्न चार ठाउँमा जग्गा खरीद गरे पनि यसको निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । निगमले पोखरा र विराटनगरमा रहेका डिपोको स्तरोन्नति गर्ने कार्ययोजना बनाएको पनि पौडेलले बताए । निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता छ । तर, वार्षिक इन्धन खपत १५ देखि २० प्रतिशतले बढ्दै गएको छ । निगमसँग काठमाडौं, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपायलका भण्डारणगृह गरेर ७१ हजार ६२२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । यी स्थलमा पेट्रोल पाँच हजार १८४ किलोलिटर, डिजेल ४२ हजार ४०० र हवाई इन्धन आठ हजार ४०० किलोलिटर भण्डारण क्षमता छ । रासस

१४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती !

राजविराज, चैत १३ । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन्। पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टरकहाँ पुर्‍याएकी थिइन्। भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ। मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन्। बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो। गर्भ बसेको ३४ साता पुगेको चिकित्सकले बताएका छन्। ‘बालिकाले आफूसँग के भयो र परिणाम के हुन्छ भन्ने थाहा पाइनन्’, अस्पतालमा सञ्चालित ओसीएमसीकी फोकल पर्सन मनीषा सिंखडाले भनिन्, ‘गर्भवती भएको कुरा धेरै पछि मात्र थाहा भयो।’ हनुमाननगर कंकालिनी–४ स्थित ठूलीआमाको घरमा बसेका बेला सोही गाउँमा पाहुना गएका छिन्नमस्ता गाउँपालिका–६ कुपहीका २१ वर्षीय प्रदीपकुमार मण्डलले यौनसम्पर्क राखेको पीडितको भनाइ छ। उनका अनुसार पछि घरमा ठूला व्यक्ति नभएको मौका पारी ती युवा आउन थाले। उनले भाइबहिनीलाई चकलेट खान पैसा दिई बाहिर पठाएर बालिकासँग यौनसम्पर्क गर्दै आएका थिए। मानसिक र शारीरिक स्वास्थ्यका दृष्टिले कम उमेरमा बच्चा जन्माउनु राम्रो होइन। ३४ सातामा गर्भपतन गराउन सकिँदैन। अनिच्छित गर्भ १२ साताको र जबर्जस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसे १८ सातासम्म गर्भपतन गराउन कानुनले स्विीकृति दिएको छ। डा. विकासकुमार साहका अनुसार प्रजनन् क्षमताको उमेर नभएको यो चरणमा गर्भपतन गराउन जोखिमपूर्ण हुन्छ। उनले बालिकाको स्वास्थ्य परीक्षण गरेका थिए। बालिकाले बच्चा जन्माए पनि वा गर्भपतन गराए पनि जोखिम रहेकाले बाबुआमा तनावमा छन्। बालिकाको तत्कालको स्वास्थ्य अवस्था सामान्य देखिए पनि कलिलो उमेरमा आमा बन्न लागेकाले खतरा उत्तिकै रहेको उपचारमा संलग्न डाक्टर बताउँछन्। फकाउँदा मान्ने बालिका वा घरबाहिर जाँदा–आउँदा एक्लै हुने बालिकाको पछि त्यस्ता व्यक्ति लाग्ने र सामाजिक विकृतिले यस्ता घटनालाई बढावा दिइरहेको प्रहरीको बुझाइ छ। पीडितकी आमाले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ। तर, आरोपित भारत चण्डिगढमा अध्ययनरत रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। आरोपित पक्राउ नपरेको मुद्दा एक वर्षभित्र अदालतमा बुझाउनुपर्ने प्रावधान छ। आरोपित पक्राउ नपरे एक वर्ष नजिकिएपछि मात्र मुद्दाको फाइल बुझाइने एसपी राजेन्द्र विष्टले बताए। कलिलै उमेरमा गर्भवती भएकी बालिकाको स्वास्थ्य जोखिमका विषयमा चासो र चिन्ता देखिएको छ। त्यसमाथि नियमित कानुनी प्रक्रियाले हुने ढिलाइका कारण न्याय पाउन पनि लामो समय प्रतीक्षा गर्नुपर्ने अधिकारकर्मी बताउँछन्। ‘बालिका गर्भवती भएकाले उनको स्वास्थ्यमा पर्ने असरबारे चिन्ता र चासो छ’, अधिवक्ता मीना देवले भनिन्, ‘सुत्केरी र शिशुको पालनपोषणको जिम्मेवारी पनि गरिब परिवारको टाउकोमा थोपरिनेछ।’ पीडितका आमाबुवा पोषिलो खाना खुवाउन नसकेर चिन्तित छन्। उनीहरूलाई शिशुको भविष्यको चिन्ताले पनि सताएको छ। राज्यले यस्ता बालिकालाई राम्रो स्वास्थ्य सुविधा तथा उचित राहतको व्यवस्था गर्नुपर्ने अधिवक्ता देवको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौं, चैत १३ । दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैत्रदेखि तीन महिना दैनिक १० घण्टा बनद हुने भएको छ। धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीति हुने विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए । मर्मत गरिने अवधिभर विमास्थल विहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी रहेको छ। अहिले विहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ। यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

उपप्रधानमन्त्री पोखरेल अमेरिका प्रस्थान

काठमाडौं, चैत १२ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्दै शान्ति स्थापना कार्यलाई आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो तर्फबाट पु¥याउन सक्ने योगदानबारे नेपाल सरकारको धारणा प्रस्तुत गर्न उनी त्यसतर्फ गएका हुन् । उपप्रधानमन्त्री पोखरेलले यही चैत १५ गते राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । हाल विश्वका विभिन्न ११ देशका १२ वटा मिसनमा नेपाली सैनिकहरु शान्ति स्थापनार्थ कार्यरत छन् । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा वरिष्ठ अमेरिकी रक्षा अधिकारीहरुसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । अमेरिकामा रहेका आप्रवासी नेपाली समुदाय, उद्यमी व्यवसायी तथा लगानीकर्तासँग समेत अन्तक्र्रिया गरी उपप्रधानमन्त्री पोखरेल यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।