निर्मला पन्तको हत्या प्रकरणः अझैसम्म प्रहरी अनुसन्धान शून्य छ

काठमाडौं, कार्तिक १३ ।

कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पुग्न लाग्दा समेत प्रहरी अनुसन्धान अझै शुन्य नै रहेको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले आवश्यक प्रमाण समेत जुटाउन सकेको छैन ।

घटना भएको ९८ औँ दिनसम्ममा अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्पेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गर्नुबाहेक अन्य कुनै उपलिब्ध हासिल हुन सकेको छैन ।

मेसीको दाहिने हात भाँच्चियो, तीन साता आराम गर्नुपर्ने

बार्सिलोना । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् ।   बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभिया बिरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो ।   तीन साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।   बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेसीको अनुपस्थितिले टीमलाई नोक्सान गर्ने भएपनि बार्सिलोना टीममा राम्रा खेलाडी अरु पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताए । -रासस

सलमान खानलेसमेत किन्न नसकेको घोडा !

एजेन्सी । बलिउडका स्टार सलमान खान २ करोडको घोडा किन्न असफल भएका छन्। सलमानसँग विश्वका महँगा गाडीहरूको कलेक्सन छ। तर, उनले खरिद गर्न खोजेको घोडा भने किन्न सकिरहेका छैनन्।   पछिल्लो समय सलमानलाई सेतो रङको एउटा घोडा खुब मन परेको थियो। यसका लागि उनले २ करोडको बोली पनि लगाएका थिए। उनले घोडा खरिद गर्न आफ्नो एजेन्टलाई अगाडि पनि सारेका थिए। तर, ओलोपाडमा बसोबास गर्ने घोडा मालिक सिराज खानले बेच्न मानेनन्।   यसको कारण सिराज एकछिन पनि आफ्नो घोडालाई छोड्न नसक्ने बताइएको छ। गत वर्ष मात्र यही घोडाका लागि पञ्जाबको राजनीतिक बादल परिवारले १ करोड ११ लाख रुपैयाँ बोली लगाएका थिए।   यतिबेला पनि सिराजले आफ्नो घोडा सकबलाई बेच्न अस्विकार गरेका थिए। सिराज आफ्नो घोडा अमूल्य भएको बताउँछन्। उनले यो घोडा २०१५ मा जेसलमेरबाट १४ लाख रुपैयाँमा खरिद गरेका थिए।   यो घोडा महँगो हुनुको कारण हो यसको प्रजाति। सकब प्रजातिको घोडा दुर्लभ मानिन्छ। यसको आयु ६ वर्ष मात्र हुन्छ। तर, यसले विभिन्न हर्कत गर्नेगर्छ। सकब ४५ किलोमिटर प्रतिघन्टाको बेगमा दौडिन सक्छ।   यो भारतको सबैभन्दा तीव्र गतिमा दौडिने घोडा पनि हो। सकबले अहिलेसम्म ३ वटा राष्ट्रिय अवार्ड जितिसकेको छ। ३१ जनवरीमा राजस्थानमा भएको जेसलमेर मरुभूमि महोत्सवमा पनि यसले अरु घोडालाई धेरै पछाडि छोडेको थियो।   विश्वमा यो प्रजातिको घोडा अन्य दुई वटा देशमा मात्र छ। यो घोडासँग मिल्दोजुल्दो प्रजाति अमेरिका र क्यानडामा पाइन्छ। सलमान र बादल परिवार मात्र होइन, यसलाई किन्न अरु थुप्रै करोडपतिहरूले बोली लगाइसकेका छन्।

रोजगारमूलक काममा लाग्नेलाई प्रोत्साहन गर्छौँ : कृषिमन्त्री

चितवन, असोज २६ । प्रदेश नं.३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्वेदशमा रोजगारमूलक काममा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् । देश सरकारले यस वर्षमात्रै एक हजार चार सय ५० जनालाई सीपमूलक तालिम दिने तयारी गरेको मन्त्री लामाले बताऐ । शुक्रबार चितवनको भरतपुरमा सिनर्जी मिट मार्टको उद्घाटन गर्दै मन्त्री लामाले प्रदेश ३ मा प्रशस्त सम्भावनाहरु भएको ठाउँ भएकाले यहाँ नहुने भन्ने केही पनि नभएको बताए । युवाहरु बेरोजगार नहोस् र विदेश पलायन नहुन् भन्ने उद्देश्यले युवाहरुले रोजेकै विषयमा उनीहरु त्यस विषयमा दक्ष हुने गरी स्थानीय सरोकारवालासँगको सहकार्यमा तालिम प्रदान गरिने लामाले बताए । बाइट… दावादोर्जे लामा, मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी (प्रदेश ३) भरतपुर १० मा सुधनराज जोशीले करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याउनुभएको मिट मार्टमा ८ जना व्यक्तिले प्रत्यक्षरुपमा रोजगार पाएका छन् । मानव स्वास्थ्यलाई ख्याल गर्दै अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको मासु बिक्री गर्ने जोशीले बताए । आफ्नै भवनबाट सञ्चालनमा आएको सिनर्जी मिट मार्टले हाँस, स्थानीय तथा ब्रोइलर जातका कुखुरा, खसीको मासु तथा कुखुराको अण्डाको साथै ससेज, सी फुडलगायतका खाद्य सामग्री बिक्री वितरण गर्ने जोशीको भनाइ छ । मार्टमा कुखुराको मासु २ सय ६० रुपैयाँ प्रतिकिलो, खसीको मासु ८ सय रुपैयाँ तथा बोसोरहित खसीको मासु आठ ५० रुपैयाँ प्रति किलोमा बिक्री वितरण गरिने जोशीले बताए ।

नवलपरासीकाे दाउन्नेमा सडक अवरुद्द, दसैँमा घर हिडेका यात्रु २२ घण्टादेखि अलपत्र !

काठमाडौं, असोज २६ । पूर्व–पश्चिम महेन्द्रअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्द हुँदा २२ घण्टादेखि  यात्रुहरु अलपत्र परेका छन् । बिहीबार दिउँसो ३ बजे दाउन्नेको घिउखोलामा भुस बोकेको ट्रक राजमार्गमा पल्टिएर सडक अवरुद्द हुँदा जामका कारण यात्रुहरु अलपत्र परेका हुन् । हिजाेदेिख अवरुद्द भएकाे राजमार्ग अहिलेसम्म खुल्न सकेकाे छैन । दसैँकाे समयमा काठमाडाैँलगायत अन्य ठाउँबाट घर जान हिडेका यात्रु बाटाेमै अपलत्र पर्दा अाेक्राेसित बनेका छन् ।

मोटरसाइकलले ठक्कर दिदा ७ जना घाइते !

कञ्चनपुर, असोज २६ । जिल्लाको कृष्णपुर-५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व-पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् ।   से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर-२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए ।   घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मोटरसाइकल चालक राजेन्द्र पालको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।   सरसफाइ अभियान कृष्णपुर नगरपालिकाले नगर सरसफाइ अभियान थालेको छ । ‘नगर सफा राखौँ, जीवन स्वस्थ रहौं, कृष्णपुर नगरवासीको ऐक्यवद्धता, सरसफाइमा हामी सबैको प्रतिबद्धता’ नाराका साथ नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो ।     नगरपालिकाका प्रमुख कर्णबहादुर हमाल, उपप्रमुख रमिता वडायक, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाललगायतको टोली गुलरिया बजार सफाइमा जुटेको छ । -रासस

खानेपानी मन्त्रीद्धारा २ रुपैँयामै पानी पिउन पाइने ‘वाटर एटीएम’ को निरीक्षण 

२५ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गर्नुभएको थियो । एटीएमबाट पानी झारेर उहाँले पानी पिउनुभएको थियो । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिनुभयो । ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गरिएको हो । उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । उक्त एटीएममा दुई रुपैंयाको क्वाईन हाले पछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ । यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटीएम राख्दै लगिने जानकारी दिनुभयो । यो वर्षभित्र २० वटा वाटर एटीएम राखिने बोर्डको भनाई छ ।

सरकारविरुद्ध क्रान्तिकारी माओवादीको ‘मार्चपास’

काठमाडौं, असोज २३ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारविरुद्ध काठमाडौंमा मार्चपास गरेको छ। नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी कर वृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयकलगायतकाे विराेधमा ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीले जनाएका छ। मार्चपासको नेतृत्व पार्टीको बैधानिक मोर्चा जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गरेका थिए। रत्नपार्क शान्तिबाटिकादेखि भृकुटीमण्डपसम्म मार्चपास गरिएको थियाे ।

काङ्ग्रेस केन्द्रीय समितिद्वारा सुदूरपश्चिमको राजधानी पुनःविचार गर्न माग

काठमाडौँ, २२ असोज (रासस)  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू तथा वन माफियाको चलखेलबाट प्रभावित भएको आरोप लगाएको छ । केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले उक्त निर्णयले सो स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अर्बाै लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने निष्कर्ष निकालेको छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयमार्फत आज सो सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको हो । वातावरणीय दृष्टिकोणलेसमेत वनक्षेत्र नाश हुने, वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने, चुरेको फेदीमा अवस्थित सो क्षेत्रमा शहर निर्माण गर्दा प्राकृतिक प्रकोप बढ्ने र तल्लो तटीय क्षेत्रमा बाढी, भू–क्षयलगायत मरुभूमीकरणको समस्या बढ्ने जोखिम रहेको भन्दै काङ्ग्रेसले चिन्ता व्यक्त गरेको छ । तसर्थ बैठकले राजधानी गोदावरी नपा– २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले चाडपर्वका बेला आमनागरिकको मुख्य चासो हुने शान्ति सुरक्षा र उपभोग्य वस्तुको सुपथ मूल्य कायम गर्न सरकारले नसकेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाइ महीना पुगिसक्दा पनि कारवाहीको दायरामा ल्याउन नसक्नु दुःखद् भन्दै शान्ति सुरक्षा कायम गर्न र आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न सरकारलाई सचेत गराएको छ । काङ्ग्रेसले नेपाल विद्यार्थी सङ्घको सदस्य बन्ने उमेरको हदबारे सङ्घको ११औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत् राख्ने निर्णय गरेको छ । नेविसङ्घको विधानमा रहेको अन्य व्यवस्थाका सन्दर्भमा आगामी असोज २५ गते विहान ११ बजे बस्ने बैठकले निर्णय गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नाफा खोज्ने एयरलाइन्सलाई उडानमा रोक

हुम्ला, असोज १९ । नेपालगञ्ज-सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।     एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँ, तिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ ।     निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँ सभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ ।     हुम्लीहरू अहिले नेपालगञ्ज-सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने यो हुम्लीको समस्या नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सञ्चाकर्मीलगायतको सो निर्णय गरेको हो । -रासस

चन्दा असुल्दै हिड्ने विप्लवका २ कार्यकर्ता पक्राउ

धनुषा । जनकपुरबाट चन्दा उठाउँदै हिड्ने विप्लव समूहका दुइजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका–२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका–१, भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की छन् ।     केहि व्यक्तिहरुले चन्दा उठाइरहेको जानकारी गराएपछि दुवैजनालाई बिहीबार दिउँसो साढे एक बजे जनकपुर उपमहानगरपालिका–७, बाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिए ।     उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकलसहित चन्दा रसिदलगायतका सामान बरामद गरिएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

नेपाल भित्रिदैं गरेको २ करोड रुपैयाँको चिनियाँ मदिरा नष्ट

हुम्ला, असोज १४ । चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको रु एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ ।   जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।   गएको भदौ १ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए । -रासस 

मेस्सीलाई ७०० औँ म्याचमा यस्तो झड्का

काठमाडौँ, असोज १२ । स्पेनिस फुटबल लीग ‘ला लिगा’मा हालको च्याम्पियन टीम बार्सिलोनालाई पुछारको वरियतामा रहेको टीम लेगानेसले २-१ ले पराजित गरेको छ । यो खेल दुई कारणले महत्वपूर्ण रहेको थियो । एउटा त यो बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीको ७०० औँ म्याच थियो भने, अर्को लेगानेसले पहिलो चोटी बार्सिलोनालाई हराएको हो । लेगानेसका लागि त फर्स्ट डिभिजन फुटबलमा यो तेस्रो मात्र सिजन हो । झन् यस सिजनका छ म्याचमा भने यो लेगानेसको पहिलो जीत हो । १४ वर्ष अगाडी बार्सिलोनाको लागि खेल्न थालेका मेस्सी बार्सिलोनाको तर्फबाट सात सय म्याच खेल्ने तेस्रो खेलाडी हुन् । यस अघि जाभी हर्नान्देज ले आठ सय ६९ खेल र आन्द्रेस इनिएस्ताले सात सय ५८ खेल खेलिसकेका छन् । बार्सिलोनामा अनुबन्ध भए यता मेस्सीले अरु क्लबबाट खेलेका छैनन् । लेगानेसको एस्टाडियो बुतारक्यु रंगशालामा बार्सिलोनाका फिलिप कुटिन्होले १२ औं मिनेटमा एक गोल गरेर टीमलाई अग्रता दिलाए पनि उनको यो गोल बार्सिलोनाको एक मात्र गोल हुन् पुग्यो । पहिलो हाफमा १-० को अग्रतामा रहेको बार्सिलोनालाई दोस्रो हाफमा ६८ सेकेन्डमै दुई गोल हिर्काएर लेगानेसले फर्किन दिएन । उसका लागि नेबिल अल जहारले ५२ औँ मिनेटमा र अस्कर रोड्रिगेजले ५३ औँ मिनेटमा गोल गरेका हुन् । यस जीतसँगै लेगानेस अंक तालिकामा २० बाट उक्लिएर १८ औं नम्बरमा पुगेको  छ । उता लीगको दोस्रो वरियताको टोली रियल म्याड्रिडले पनि सेभिल्लाको हातबाट ३-० को पराजय भोग्नु परेको छ । गत ४४ महिना यता बार्सिलोना र रियल म्याड्रिडले एकै दिन हार ब्यहोरेको पहिलो पल्ट हो । यस अघि यो संयोग ४ जनवरी २०१५ मा जुरेको थियो । सेभिल्लाले भने चार महिनाको अवधिमा दोस्रो पल्ट रियललाई हराएको हो । तर यस हारले यी दुवै टीमको वरियतामा भने कुनै फरक परेको छैन । अहिले पनि बार्सिलोना लीगको शीर्षमा र रियल दोस्रो नम्बरमा रहेको छ ।  

पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतीय मन्त्री आइपुगे काठमाडौंमा

काठमाडौं, असोज १२ । भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधान शुक्रबार पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न काठमाडौं आइपुगेका छन् । पेट्रोलियम पाइपलाइनबारे नेपाल र भारतका उच्च अधिकारीबीच बुधबारका लागि तय भएको वार्र्ता स्थगित भएको तेस्रो दिन उनी काठमाडौं आइपुगेका हुन् । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मन्त्री प्रधान सहित भारतीय टोली शुक्रबार ९ बजे नेपाल आइपुगेको हो । भारतीय मन्त्रीले शुक्रबारै ग्यास, पेट्रोलियमसम्बन्धी विषयमा नेपाली पक्षसँग भेटवार्ता गर्नेछन् । उनी अमलेखन्ज जाने कार्यक्रम पनि छ। अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे उनले नेपाली पक्षसँग छलफल गर्नेछन्। ग्यास र पेट्रोलियम आपूर्तिको विषय पनि उनको छलफल एजेन्डामा राखिएको छ । बुधबारका लागि तय भएको पेट्रोलियम पाइपलाइनसम्बन्धी नेपाल–भारत उच्च स्तरीय वार्ता भारतले अन्तिम समयमा अकस्मात रोकेको थियो । भारतीय टोली काठमाडौं आइसकेपछि मन्त्रिपरिषदबाट स्वीकृत नलिएको भन्दै भारतीय पक्ष वार्तामा बस्न अस्वीकार गरेको थियो। नेपालखबरबाट

नेइमार खेल नभएको मौका छोपी प्रेमिकासँग मस्तीमा !

एजेन्सी । ब्राजिलका स्टार स्ट्राइकर नेइमार प्रेमिका ब्रना मार्कोजीनासँग खेल नभएको मौका छोपी अहिले मस्तीमा छन् । एकदुई दिनअघि मात्रै उनी आफ्नी प्रसमकासँग फेसन विकमा पुगेका थिए । पेरीस फेसन विक हेर्न पुगेका नेइमार सबैका आँखाको तारा बने । प्रेमिका मोडल ब्रुनासँग फेसन विकमा पुगेका नेइमारले पुरै फेसन कार्यक्रम हेरेर फर्किएका थिए । लिग वनमा रिम्स विरुद्धको खेलमा जित दिलाउन गोल पनि गरेका नेइमारसँगै डेनी एल्भेसपनि संगै पुगेका थिए । प्रेमीकाका कारण चर्चामा रहेका नेइमारसँग आयोजकले फोटो खिच्नका लागि अफर गरे पनि अन्तिममा मात्र उनले अवसर दिएका थिए ।

‘६० दिनभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्छ’

–कालिका खड्का काठमाडौँ, असोज ११ । काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् । दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ । ‘मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हुँदैछ’, आयोजनका प्रमुख कँडेलले भने, ‘पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।’ सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले सो कुरा बताएका हुन् । बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान कहिले पाउँछन् भन्ने प्रश्न सोधेका थिए । समितिका सभापति दिलकुमारी रावल थापाले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहजरुपमा पाउन भन्ने उद्देश्यले सो बैठक राखिएको जानकारी दिइन् । सो समितिले यही असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ । दशैँभित्र मेचम्चीको खानेपानी आउने आशामा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ । रासस