‘हस्तक्षेप भए काम गर्न सकिँदैन’ : प्रधानमन्त्री

काठमाडौं, फागुन २५ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै शक्ति पृथकीकरणमा हस्तक्षेप भए संविधान र कानुनबमोजिमको कर्तव्य पालना गर्न नसक्ने विडम्बनापूर्ण स्थिति आउने बताएका छन् । निर्णय हुनुभन्दा अघि नै कार्यकारी (सरकार) ले गर्न लागेको काममा अविश्वास र आशंका उठाएर अदालतमा विवाद सिर्जना गर्ने र प्रभावित पार्ने कार्य रोक्नसमेत दाहालले माग गरेका छन् ।

कार्यकारिणी अधिकार प्राप्त नेपाल सरकार (मन्त्रिपरिषद्) ले मुलुकको  शान्ति र सुव्यवस्था कायम गर्ने आफ्नो जिम्मेवारी र कर्तव्यलाई प्रभावकारी रूपमा सम्पादन गर्न उपयुक्त र सक्षम व्यक्तिलाई आईजीपीमा बढुवा गर्न पाउनुपर्ने जबाफमा उल्लेख छ । सर्वोच्चले मागेअनुरूप मंगलबार पाँच पृष्ठ लामो जबाफ पठाउँदै प्रधानमन्त्री दाहालले यस्तो चिन्ता जनाएका हुन् । कार्यकारीको काममा न्यायपालिकाबाट हस्तक्षेप भए शान्ति, सुरक्षाजस्तो संवेदनशील विषयमा असर पुग्ने भएकाले रिट खारेज गर्नसमेत माग गरिएको छ ।

प्रधानमन्त्रीले संविधानको धारा ७५ अनुरूप मुलुकको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहेकोतर्फ ध्यानाकर्षण पनि गराएका छन् । जबाफमा सर्वोच्चबाटै स्थापित नजिर, अन्तर्राष्ट्रिय मान्यता र विगत अभ्यासबाट आईजीपी नियुक्ति गर्ने विषय कार्यकारी (सरकार) को अधिकार रहेको दाबी प्रधानमन्त्रीको छ।
प्रहरीको महानिरीक्षक पदमा नियुक्ति वा बढुवाको विषय विशुद्ध ‘प्रशासनिक’ रहेको र सर्वोच्चमा दायर रिटलाई सार्वजनिक सरोकारको मान्न नमिल्ने दाबीसमेत उनको छ ।आईजीपीमा जयबहादुर चन्दको नियुक्ति गर्ने मन्त्रिपरिषद्को फागुन १ को निर्णयपछि त्यसलाई रोक्न माग राखेर दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाउँदै प्रधानमन्त्रीसँग लिखित कारण माग गरेको थियो ।

‘कार्यकारिणी निकायले कानुनले दिएको अधिकार प्रयोग गरी नियुक्ति वा बढुवा गर्न लागेको विषयमा त्यसरी नियुक्ति वा बढुवा गर्नुअघि नै कार्यकारिणी निकायप्रति अविश्वास एवं आशंका गरी वा कार्यकारिणी निकायबाट कुनै व्यक्तिलाई नियुक्ति वा बढुवा गराउने वा नगराउने, बढुवामा प्रभाव पार्ने आशयले सार्वजनिक सरोकारका नाममा अदालतमा रिट निवेदन दिई विवाद सिर्जना गर्नेगराउने हो भने कार्यकारिणीले संविधान वा कानुनबमोजिम आफ्नो कर्तव्य पालना नै गर्न नसक्ने विडम्बनापूर्ण स्थिति आउने हुन्छ’, स्पष्ट शब्दमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘शक्ति पृथकीकरण तथा सन्तुलनको सिद्धान्त समेतबाट कार्यकारिणीको क्षेत्राधिकारभित्र पर्ने विषयमा कार्यकारिणीले निर्णय गर्नुअघि नै निर्णयका बारेमा जनमानसमा शंका र अविश्वास पैदा गरी यो यस्तो निर्णय हुनुपर्ने वा होस् भन्ने मनोगत अर्थ गरी निर्णय गर्नबाट रोक्ने वा निर्णयकर्तालाई प्रभावित गर्ने गरी सम्मानित अदालतमा रिट दिने र सम्मानित अदालतबाट त्यस्तो रिट निवेदकको मागबमोजिम आदेश जारी गर्न मिल्ने विषय होइन ।’

प्रहरी महानिरीक्षकमा बढुवाका लागि प्रहरी नियमावलीबमोजिम योग्यता पुगेका प्रहरी नायब महानिरीक्षकमध्येबाट उपयुक्त देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने गरी कानुनले सरकारलाई अधिकार दिएको दाबी प्रधानमन्त्रीको छ । प्रहरी नियमावलीको नियम ४१ मा उल्लिखित आधारहरूको समष्टिगत मूल्यांकन गरी मन्त्रिपरिषद्ले सामूहिक विवेक प्रयोगमार्फत मूल्यांकन गरेको अन्तरवस्तुभित्र प्रवेश गरी अदालतले निरूपण गर्ने विषय वा न्याय निरूपणको मापदण्डभित्र नपर्ने कारण जबाफमा दिइएको छ।

नियमको उक्त व्यवस्थाअनुसार बढुवाका ६ वटा आधार रहेको, ती आधारमध्ये प्रत्येक आधारको समान मूल्य र महत्वव रहेकाले ज्येष्ठतालाई मात्र पूर्ण र अन्तिम आधार मान्न नमिल्ने जिकिर दाहालको छ ।
‘प्रहरी महानिरीक्षकमा हुने बढुवालाई प्रहरी नियमावलीको नियम ४१ मा विशेष व्यवस्था गरी अन्य प्रहरी अधिकारीको बढुवा गर्दा लिइने आधार र पद्धतिभन्दा प्रहरी महानिरीक्षकको बढुवा गर्दा लिइने आधार र पद्धति फरक गरेको पाइन्छ’, जबाफमा भनिएको छ, ‘ज्येष्ठताका आधारमा मात्र प्रहरी महानिरीक्षक पदमा बढुवा हुने भए नियम ४१ मा अन्य आधार उल्लेख नगरी केवल ज्येष्ठता मात्र उल्लेख गरिने थियो ।’
डीआईजी रहेका चन्दलाई महानिरीक्षकमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको तथ्यभित्र प्रवेश गरी आदेश जारी हुनसक्ने अवस्था नरहेको भन्दै रिट खारेज गर्न सर्वोच्चसँग विनम्र अनुरोध गरिएको छ ।

रिट निवेदक अधिवक्ता कपिलदेव ढकालले मन्त्रिपरिषद्को निर्णयमा संवैधानिक वा कानुनी त्रुटि रहेको भनेर स्पष्ट आधार र कारण देखाउन नसकेको तथा बढुवा गरिएका चन्दको हकमा कानुनबमोजिम योग्यता नपुगेको भनेर दाबीसमेत नलिएको अवस्थामा उक्त निर्णय बदर हुन नसक्ने जबाफमा उल्लेख छ ।
सरकारको निर्णय ढकालको सरोकारको विषयसमेत नरहेको दाहालले उल्लेख गरेका छन् ।

रिट दायर गर्न कसैलाई ‘हकदैया’ हुने वा नहुने विषयमा आईजीपीमा कुवेरसिंह रानालाई नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद्को निर्णयविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले दिएको रिटमा २०६९ सालमा स्थापित नजिर, बढुवाका विषयमा मन्त्रिपरिषद्विरुद्ध रविप्रताव राणाद्वारा दायर रिटमा २०७० सालमा स्थापित नजिर र अधिवक्ता राधेश्याम अधिकारीविरुद्ध तत्कालीन श्री ५ को सरकार भएको रिटमा स्थापित नजिरको दृष्टान्त प्रधानमन्त्रीले पेस गरेका छन् । ती रिटमा निवेदकले उठान गरेका विषयसँग रिट दिने व्यक्तिको ‘मिनिङफुल रिलेसन’ र ‘सब्स्टान्टिएल इन्ट्रेस्ट’ हुनुपर्ने सिद्धान्त प्रतिपादन भएको छ ।

यस्तै गजबहादुर बमविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुद्दामा शक्ति पृथकीकरणका विषयमा २०६४ सालमा स्थापित नजिर तथा बेकर भर्सेज केरीको मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले सन् १९६२ मा स्थापित गरेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तलगायतको समेत स्मरण गराइएको छ ।

बमको रिटमा सर्वोच्च अदालतले राज्यका तीनै अंगहरूको आआफ्नो काम, अधिकार र कर्तव्य लिखित संविधानमा एकअर्कोले हस्तक्षेप नहुने गरी व्यवस्था गरिएको र नीति निर्माण गर्ने तथा देशको प्रशासन सञ्चालन गर्ने काम कार्यपालिकाको ‘डोमेन’ भित्र पर्ने व्याख्या गरेको छ । ‘बेकर भर्सेज केरी’ को मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले सरकारको एउटा अंगको अधिकार क्षेत्रभित्रका विषयमा संवैधानिक र कानुनी प्रश्नबेगर अदालतले हस्तक्षेप नगर्ने सिद्धान्त स्थापित गरेको थियो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

अर्जेन्टिनामा फुटबलरहरु हड्तालमा उत्रिए

काठमाडौं, फागुन २१ । अर्जेन्टिनामा फुटबलरहरु हड्तालमा उत्रिएका छन् । उनीहरु हड्तालमा उत्रिएपछि माथिल्लो डिभिजनका खेलहरु स्थगित गर्नु परेको छ । धेरै क्लबले आर्थिक संकट ब्यहोर्नु परेका बेला फुटबलरहरु पनि आन्दोलनमा उत्रिएका हुन् । थुप्रै महिनाको तलब नपाएपछि खेलाडीहरु हड्तालमा उत्रिएका हुन् । फुटबलरहरुको युनियनले तलब नपाउँदासम्म नखेल्ने बताएको छ । हड्तालमा दुई सयभन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् । अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको बताइएको छ । संकट समाधान गर्न भन्दै सरकारले बिहीबार फुटबल एशोसिएसनलाई २२ मिलियन डलर दिएको थियो । तर, खेलाडी संघले यो रकम अपर्याप्त भएको जनाएको छ ।

छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, फागुन १९ । सिरहाको छुट्टाछुटै स्थानमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका– ७ स्थित सडकमा गएराति मोटरसाइकलको ठक्करबाट लहान नगरपालिका– १३ गोविन्दपुर निवासी २१ वर्षीय सन्दिपकुमार महतोको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका– ११ निवासी १७ वर्षीया सञ्जीप महराको आफ्नै घरको पङ्खा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर भएका महरालाई उपचारका लागि मिर्चैयास्थित नर्सिङ होम ल्याउँदै गर्दा उहाँको पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी सिरहाको लहान नगरपालिका– १२ बाट गएराति प्रहरीले लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । बिआर ३३ जी २०६९ नम्बरको भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको २० बोतल कोरेक्स सहित सिरहाको कचनारी– ९ निवासी अविनाशकुमार यादव र सरोजकुमार यादवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका– १२ फूलबारी मन्दिर अगाडि सवारी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको डिकीमा लुकाइ राखेको अवस्थामा कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । रासस

एम्बुलेन्सबाट सातबोरा गाँजा बरामद

इनरुवा, फागुन १८ । बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ । मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङ्घको एम्बुलेन्सबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, सीमा प्रहरी चौकी, भान्टाबारी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट, भान्टाबारी समेतको संयुक्त टोलीले पच्छ्याउँदै एम्बुलेन्सलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सात बोरा ९जम्मा १८८ केजी० गाँजासहित पक्राउ गरेको हो । उक्त एम्बुलेन्स र सोही एम्बुलेन्समा सवार एकजना व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सिन्धुपाल्चोकमा महेश श्रेष्ठ विजयी

मेलम्ची, फागुन १८ गते । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको दशौँ अधिवेशन हिजो राति अबेर सम्पन्न भएको छ । अधिवेशनमा भएको निर्वाचनमा सभापति पदमा महेश श्रेष्ठ ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले सभापतिका प्रतिस्पर्धी युवराज पुरीलाई एक मत अन्तरले मात्र पराजित गर्नुभएको थियो । त्यसैगरी, खुला उपाध्यक्षमा ज्ञानेन्द्र तिमल्सिना ७१ मत, महिला उपाध्यक्षमा दुर्गा आचार्य ६५, सचिवमा दिनेश थापा ६५, खुला सहसचिवमा किशोर बुढाथोकी ७२, समावेशी सहसचिवमा केदार माझी ६८, खुला कोषाध्यक्षमा विदुर गिरी ६१ मतसहित निर्वाचित हुनु भएको छ । यस्तै, खुला सदस्यतर्फ आदित्य दाहाल ६०, सुरेश बुढाथोकी ६८, सुन्दर शिरिष ६१ तथा समावेशी सदस्यतर्फ सिर्जना बराल निर्विरोध, जनजातितर्फ नेत्र तामाङ ५७, महिला सदस्यतर्फ कमला तामाङ ५४ मतसहित निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकृत अमित घिमिरेले जानकारी दिनुभयो । रासस

शान्तिपूर्ण निर्वाचनको लागि चारवटै सुरक्षा निकायसँग गृहको छलफल सुरु

काठमाडौं, फागुन १८ । स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन गृह मन्त्रालयले निर्वाचनकेन्द्रित सुरक्षा योजनाको गृहकार्य थालेको छ । सरकारले ३१ वैशाखमा गर्ने घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न मन्त्रालयले सुरक्षा योजनाको गृहकार्य थालेको छ । गृह मन्त्रालयले दोस्रो संविधानसभा निर्वाचनकै समयमा अख्तियार गरेजस्तै सुरक्षा घेरा लागू गर्ने भएको छ । अघिल्लो पंक्तिमा नेपाल प्रहरी परिचालित हुनेछ । संवेदनशील क्षेत्रमा कुनै घटना भएमा सशस्त्र प्रहरीलाई अगाडि सारिने र स्थिति अति संवेदनशील भएमा सेनालाई परिचालन गरिनेछ । अति संवेदनशील क्षेत्र मानिएका बुथनजिकै सेनालाई पिकेटिङ गरेर राखिने र आवश्यकताअनुसार खटाउन सकिने गृहको तयारी छ । गृह मन्त्रालयले केही दिनयता चारवटै सुरक्षा निकायका उच्च प्रतिनिधिहरूसँग छलफल जारी राखेको छ । गृहप्रवक्ता बालकृष्ण पन्थीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका उच्चस्तरका प्रतिनिधिहरूसँग सघन रूपमा छलफल थालिएको जानकारी दिए । ‘निर्वाचनकेन्द्रित सुरक्षा योजना बनाउन चारवटै सुरक्षा निकायसँगको छलफललाई जारी राख्दै आएका छौँ, अब छिटै अन्तिम टुंगोमा पुग्नेछौँ,’ पन्थीले भने । गृह मन्त्रालयले निर्वाचनकेन्द्रित सुुरक्षा योजना बनाउने क्रममा नेपाली सेनासँग नियमित छलफल थालेकाले स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने करिबकरिब निश्चित छ । सेना परिचालन भए पनि त्यसको समन्वय भने गृह मन्त्रालयले नै गर्ने पन्थीले बताए । राजनीतिक सहमति–असहमतिले ‘सुरक्षा थ्रेट’लाई प्रभाव पार्ने निष्कर्ष गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा आइपर्न सक्ने सुरक्षा चुनौती (सेक्युरिटी थ्रेट)बारे सूक्ष्म किसिमले विश्लेषण गर्ने भएको छ । यद्यपि राजनीतिक तहमा हुने सहमति र असहमतिले सुरक्षा थ्रेटलाई प्रभाव पार्ने निष्कर्ष गृहको छ । निर्वाचन घोषणा भएपछि असन्तुष्ट पक्षले पनि निर्वाचनको प्रतिकार गर्ने र बहिष्कार गर्छौँ भनेर औपचारिक रूपमा नभनेकाले अहिलेसम्म निर्वाचन कार्य सहज नै हुने देखिएको गृहप्रवक्ता पन्थीले बताए । ‘हालसम्म कुनै पनि शक्ति निर्वाचनलाई प्रतिरोध गर्छौँ भनेर सशक्त रूपमा देखापरेका छैनन्, त्यसैले अहिलेसम्मको स्थिति हेर्दा निर्वाचन गराउन कठिन हुने खालका सुरक्षा थ्रेटहरू देखापरेका छैनन्,’ गृहप्रवक्ता पन्थीले नयाँ पत्रिकासँग भने । गृहप्रवक्ता पन्थीले निर्वाचनको प्रतिरोध गर्छौँ भनेर कुनै शक्ति अगाडि आए भने त्यतिवेला सुरक्षा थ्रेट बढी रूपमा देखापर्न सक्ने भएकाले गृह मन्त्रालयले सोहीअनुसार आवश्यक रणनीति तय गर्ने जानकारी दिए । निर्वाचन कार्य अति जटिल : गृह मन्त्रालयले संसदीय निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन बढी जटिल हुने विश्लेषण गरेको छ । ‘स्थानीय तहको निर्वाचन सुरक्षाको हिसाबले पनि निकै टफ (कठिन) कार्य हो,’ गृहप्रवक्ता पन्थीले भने, ‘त्यसकारण चुनाव सफल बनाउन सुरक्षाको कुशल व्यवस्थापन जरुरी छ ।’ उनका अनुसार स्थानीय तहको निर्वाचनमा वडा, गाउँ र नगरपालिकामा धेरै संख्यामा उम्मेदवार हुने र विशेषखालको प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धा बढी हुन्छ । ‘प्रतिस्पर्धाको अवस्था जति कडा हुन्छ, त्यति नै सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्छ, सुरक्षा योजनाले यसका लागि गाइडलाइन दिनेछ,’ पन्थीले भने । सबै जिल्लामा सर्कुलर : गृह मन्त्रालयले ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्दै निर्वाचनकेन्द्रित रहेर जिल्लामा आवश्यक तयारी गर्न निर्देशन दिएको छ । ‘हामीले सबै जिल्लाका सिडिओलाई निर्वाचनलाई स्वच्छ र विश्वसनीय ढंगले सम्पन्न गर्न सबैखाले सुरक्षा व्यवस्थाको आवश्यक गृहकार्य थाल्न निर्देशन दिइसकेका छौँ,’ गृहप्रवक्ता पन्थीले भने । जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा जिल्ला सुरक्षा समिति रहेको हुन्छ । गृह मन्त्रालयले निर्वाचन सम्पन्न नहुँदासम्म सो सुरक्षा समितिलाई नियमित रूपमा सक्रिय राख्न पनि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

चिनीयाँ सेनासँग हुने सैन्य अभ्यासको लागि नेपाली सेनाको उच्च टोली चीन प्रस्थान

काठमाडौं, फागुन १८ । आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनीयाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ । सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम रुप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेन्ट महासेनानी मदन केसी पनि सहभागी छन् । विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चीनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । सैन्य अभ्यास मार्च महिनाभित्र गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

निर्वाचन आचारसंहिता आजदेखि लागु हुने

काठमाडौं, फागुन १८  । निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आचारसंहिताबारे बुधबार प्रधानमन्त्रीसँग छलफल हुँदै छ । स्थानीय तहमा उम्मेदवारी दिएका व्यक्तिलाई पनि निर्वाचन आचारसंहिता लाग्नेछ । आयोगका अनुसार उम्मेदवारका लागि मनोनयन दर्ता गरेको दिनबाट आचारसंहिता लागू हुनेछ । १६ वैशाख ०७४ मा उम्मेदवारी मनोनयन हुने छ । बैठकमा गृह मन्त्रालयले तयार गरेको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे प्रारम्भिक छलफल भएको थियो । सुरक्षा योजना प्रस्तुत गर्दै गृहसचिव लोकदर्शन रेग्मीले केन्द्र, क्षेत्र, जिल्ला (स्थानीय तह)मा सुरक्षा निकायको भूमिका प्रस्ट पारी समन्वय गराउने जानकारी गराएका थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन–स्रोत सम्पन्न बनाउन, निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बढ्ने भएकाले त्यसैअनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए । कुन–कुन सवारी चलाउन पाइने ? महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल चलाउन पाउनेछन् । वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने गरी आयोगले आचारसंहिता बनाएको छ । त्यसैगरी, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा एउटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् । तर, त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सकिनेछ । एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । कसलाई लाग्छ आचारसंहिता ? -नेपाल सरकार र सरकारका मन्त्री -स्थानीय निकाय/तह -स्थानीय निकाय/तहका कर्मचारी -सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी -सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी -नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा ती निकायमा कार्यरत सुरक्षाकर्मी -निर्वाचनको काममा संलग्न कर्मचारी -राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन -उम्मेदवार तथा सम्बन्धित व्यक्ति -सार्वजनिक पद धारण गरेको व्यक्ति -पर्यवेक्षक -सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम -निजी तथा गैरसरकारी संस्था -आयोगले तोकेका अन्य निकाय वा व्यक्ति -नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी, सार्वजनिक पदधारण गरेको व्यक्ति निर्वाचनको जिम्मा सिडिओबाट न्यायाधीशलाई : सरकारले यसअघिका स्थानीय निर्वाचन गराउन प्रमुख निर्वाचन अधिकृतका रूपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई अधिकार दिँदै आएको थियो । तर, आगामी स्थानीय तहको निर्वाचनमा भने प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हुने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले प्रमुख मतदान अधिकृत सिडिओलाई बनाउन माग गरे पनि आयोगले ऐनमै संशोधन गरी प्रमुख निर्वाचन अधिकृत न्यायाधीश रहने व्यवस्था गरेको छ । गृहप्रवक्ता बालकृष्ण पन्थीले स्थानीय तहको निर्वाचनमा न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाइएकाले सिडिओलाई सुरक्षा व्यवस्था मजबुत बनाउन सहज हुने बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

बसको ठक्करबाट एकजनाको घट्नास्थलमै मृत्यु

लमजुङ, फागुन १७ । लमजुङको राइननास नगरपालिका वडा ६ स्थित तिनपिप्लेमा बसले किच्दा एक जनाको आज घट्नास्थलमै मृत्यु भएको छ । नारायणगढबाट लमजुङ बोराङखोला तर्फ जादैँ गरेको ना ४ ख ९६ नम्बरको बसले किच्दा राइनास नगरपालिका ११ वस्ने वर्ष ६९ का गंगाबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । नारायणगढबाट सोही बसमा आएका गुरुङ बसबाट झरेर बाटोक्रस गर्ने क्रममा सोहि बसले चेपिएर दिउँसो करिब २ बजे गुरुङको मृत्यु भएको तिनपिप्ले प्रहरी चौकीका असई दिपक रानाले बताउनुभयो । बस र बसचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

रविन्द्र मिश्र बीबीसी छाड्दै, राजनीतिमा आउने तयारी !

काठमाडौं, फागुन  १७ । चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् । मिश्र नयाँ स्थापना गर्न लागेका हुन । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत् समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेक हुन् । २ वर्ष पहिलेदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो । डा. बावुराम भट्टाराईसँग मिलेर नयाँ पार्टी गठन गर्ने चर्चा चलेको थियो । तर मिश्रलगाएत केही ब्यक्ति उक्त पार्टीमा लागेनन् । मिश्र, पूर्वमुख्यसचिव लिलामणि पौडेल तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लगाएत मिलेर नयाँ पार्टी गठनको तयारी गरेका थिए । तर, पौडेल चीनको राजदुत भएपछि उनीहरुको योजनामा धक्का लागेको थियो । अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मिश्रले पार्टी गठन गर्न लागेको स्रोत बताउँछ । जसका लागि डा. गोविन्द केसीदेखि नायक राजेश हमाल समेत उनले छलफल गरेका छन् । पूर्वप्रशासक तथा साहित्यकारहरुलाई समेटेर मिश्रले पार्टी घोषणा गरी राजनीतिमा लाग्न लागेका हुन् । सुशासन र देश विकासको भिजनसहितको घोषणापत्रहरु समेत तयार भइसकेको बातइन्छ । यो खबर दृष्टि साप्ताहिकमा छ ।

लमजुङको घेर्मुमा सेनाले चलायो स्वास्थ्य शिविर, ६ सय बढि लाभान्वित

लमजुङ (बेसीसहर),  फागुन १७। नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन् । नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनका लागि नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा हाडजोर्नी, स्त्रीरोग, छाला, नाक, कान, दाँत एवम् आँखासम्बन्धी जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो । शिविरमा विशेषज्ञ डाक्टरसहित नौ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए र आवश्यकताअनुसार औषधि पनि प्रदान गरिएको थियो । नियमित स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम गाउँका बासिन्दा आफ्नै गाउँमा नेपाली सेनाको टोली आएर सेवा दिएपछि निकै खुसी भएका थिए । “सेनाले बन्दुक मात्रै बोक्छ भन्ने लागेको थियो, हामी जस्ता विकट गाउँमा सेवा पनि गर्दो रहेछ ।” सेवा लिन आउनुभएकी ५० वर्षीया दुर्गादेवी गुरुङले भन्नुभयो । जिल्लाका दुर्गम भेगका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने तथा नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेको नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति सुभाङ्गद कटुवालले बताउनुभयो । घेर्मु स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा घेर्मुसहित बाहुनडाँडा र ताघ्रिङका सर्वसाधारणले सेवा लिएका थिए । शिविरका लागि रोटरी क्लब अफ नारायणी मिड टाउन, चितवनस्थित मौलाकालिका अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले सहयोग गरेका थिए । रासस

महिलामा हुने क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

काठमाडौं, फागुन १७ ।  महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार नि:शुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले महिलाको प्रमुख समस्या क्यान्सर उपचारमा सघाउँदा सानो सहयोगले ज्यानै बच्ने अवस्था देखेर यस्तो योजना ल्याएको बताए । मन्त्री खड्काले प्रत्येक बर्ष करिब ४२ करोड हाराहारी भार बेहोर्दा ५ हजार भन्दा बढी महिलाको ज्यान जोगिने बताए । यो खबर आजको नागरिकमा छ ।

मापसे गरेर विद्यालय आउने शिक्षकलाई यस्तो सजाय

खोटाङ, फागुन १७ । खोटाङमा पटक – पटक मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको छ । सुध्रिन पटक – पटक चेतावनी दिँदा पनि मापसे गरेर विद्यालय आउन नछाडेपछि सदरमुकार दिक्तेलस्थित सरस्वाती आधारभुत प्रावि पोखरीका शिक्षक मीन बहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाई गर्ने सजाय दिइएको हो । खत्री निमावि तहका अस्थायी शिक्षक हुन् । मापसे गरेर विद्यालय आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय ल्याएर सरसफाइ गर्ने जिम्मा दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

‘मुनलाइट’ लाई अस्करको सर्वाेत्कृष्ट फिल्म अवार्ड, क –कसले पाए अवार्ड !

फागुन १६ । यस वर्षको अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधी ‘मुनलाइट’ले प्राप्त गरेको छ । अमेरिकामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ट अभिनेताको उपाधि ‘म्यान्चेस्टर बाइ द सी’ बाट अभिनेता क्येसी याफ्लेले जितेका छन् भने ‘ला ला ल्याण्ड’बाट एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी छन् । ‘ला ला ल्याण्ड’ फिल्मका लागि डेमियन स्येजल उत्कृष्ट निर्देशकमा पुरस्कृत भए । त्यस्तै वर्षको उत्कृष्ट फिल्म अस्करका लागि पनि ‘ला ला ल्याण्ड’ चुनिएको थियो, तर त्यो भने गलत भएकाले तत्कालै सच्चाइएको थियो । उत्कृष्ट एनिमेटेड चलचित्र जुटोपिया रहेको छ भने एनिमेटेड सर्ट फिल्मको उपाधी पाइपरले जितेको छ । बेष्ट सपोर्टिङ एक्टरको उपाधि पहिलो पटक मुस्लिम समुदायका नायक महेरशालाले ‘मुनलाईट’बाट जितेका छन् । त्यस्तै सपोर्टिङ रोल महिलातर्फ फिल्म ‘फेसेज’ बाट कविओला डेबिसले जितेकी छिन् । चलचित्र जंगल बुकले बेष्ट भिजुएल इफेक्ट्सको उपाधी पाएको छ ।

लमजुङको कृषि क्याम्पसमा नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच झडप, बिद्यार्थी र प्रहरी घाइते

लमजुङ (बेसीसहर), फागुन १६ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते हुनुभएको छ । घाइते हुनेमा नेविसङ्घ समर्थित तीनजना छात्र रहेका छन् । घाइतेमध्ये छात्र दीपेन्द्र रेग्मीलाई गम्भीर चोट लागेको बताइएको छ । झडपका क्रममा क्याम्पस प्रमुख लालप्रसाद अमगाईंलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । स्ववियु निर्वाचनका सिलसिलामा असन्तुष्टि जनाउँदै एमाले निकट अखिल विद्यार्थीले क्याम्पसमा आइतवार ताला लगाएका थिए । ताला खोल्नको लागि आज बिहानै वार्ताको क्रममा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ । झडप भएपछि बेसीसहरबाट थप प्रहरी टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । रासस

आरआर क्याम्पसमा झडप

काठमाडौं, फागुन १४ । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । शनिवार मनोनयनको विवादलाई लिएर नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरुबीच झडप भएको हो । झडपमा दुवै पक्षका केही विद्यार्थीहरु घाइते भएता पनि कति विद्यार्थी घाइते भएभन्ने बारे खुलाइएको छैन । क्याम्पस प्रांगनमा करिव १५ मिनेट जति दोहोरो ढुंगा हानाहान भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । नेविसंघले प्रदर्शनीमार्गमा सडक कब्जा गरी नाराबाजी र प्रदर्शन गरिरहेको अखिल ((क्रान्तिकारी)का केन्द्रीय सदस्य इन्द्र लामाले जानकारी दिए । उनका अनुसार विवाद समाधानका लागि भन्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामा र महासचिव ऐन महर आरआर पुगेका छन् । यही फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम थियो । तर, बिहानै नेविसंघसहित संघीय समाजवादी फोरम, नेत्रविक्रम चन्द विप्लव माओवादी निकट विद्यार्थी संगठनले आरआरको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । तर, निर्वाचन हुनै पर्ने पक्षमा रहेका अखिल र क्रान्तिकारीका सभापतिले निर्वाचन कार्यालय अर्को ठाउँ स्थापना गरेर मनोनयन दर्ता गरेका थिए । अन्ततः उम्मेदवारी मनोनयन गरिएको भन्दै आक्रोसित नेविसंघ र समाजवादी विद्यार्थी फोरम लगायतका विद्यार्थीहरु विरोधमा उत्रिएका थिए । अनेरास्ववियु आरआरका पूर्वसभापति राजकुमार राईले आक्रमण गरेको अखिल क्रान्तिकारीले आरोप लगाएको छ ।