संसोधनको बिषयमा थप छलफल गर्ने भन्दै एमालेले बोलायो पोलिटब्युरो बैठक
काठमाडौं, माघ १९ । नेकपा एमालेले यही माघ २४ र २५ गते पोलिटब्युरो बैठक बोलाएको छ । संसदमा पेश भएको संविधान संसोधन विषयमा छलफल गर्न एमालेले दुइ दिने बैठक बोलाएको हो ।
बैठकमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम संविधान संसोधनका विषयमा थप छलफल गर्ने बताइएको छ । एमालेले संसदमा पेश भएको संबिधान संसोधनको बिरोध गर्दै आएको छ ।
एमालेले संविधान संसोधन प्रस्ताव राष्ट्रघाति भएको भन्दै मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ ।
यसैक्रममा फागुन २१ गते झापामा एमाले अध्यक्ष केपी ओलीले सो अभियानको उद्घाटन गर्दै ५ गते कन्चनपुरमा पुगेर समापन हुनेछ ।
ट्रम्प सचिवालयले बेलाइती प्रधानमन्त्रीको नाम अश्लील चलचित्रकी नायिका लेखेपछि हंगामा
वाशिंगटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोप्रेस सचिवालयले ब्रिटिश प्रधानमन्त्रिको नाम बिगारेर प्रचार गरेपछि यसले ठुलो चर्चा पाएको छ । ब्रिटिश प्रधानमन्त्रि थेरेसा मे र राष्ट्रपति ट्रम्पबीच आज शुक्रवार हुने भेटघाटको मेमों सार्वजनिक गर्दा यो गल्ती भएको हो । सचिवालयले प्रधानमन्त्री थेरेसाको हिज्जे लेख्दा Teresa may लेखेको थियो । Teresa may ब्रिटेनकी चर्चित पोर्न नायिका थिईन । उनले कैयन वयस्क चलचित्र खेलेकि छिन । यो गल्ती पछि सुधार गरिएको थियो ।
निर्वाचन आयोगमा तीन आयुक्तको नाम सिफारिस
काठमाडौं, माघ १४ । निर्वाचन आयोगमा रिक्त तीन आयुक्तको नाम सिफारिस भएको छ । शुक्रबार संवैधानिक परिषदको बैठकले इश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको हो । पौडेल र दाहाल पूर्व सचिव हुन भने शाह पूर्व सहसचिव हुन् । अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्त र इला शर्माले आयुक्तको रुपमा काम गर्दै आएका छन् । सिफारिसमा परेकाहरुको नियुक्ती पछि निर्वाचन आयोगले पूर्णता पाउने छ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाई पछि मात्र नियुक्ती हुने गरिने छ । सरकारले चुनाव मिति घोषणा गर्ने तयारी गरेपछि रिक्त पदमा नियुक्ति गरिन लागेको हो ।
अाज देशका सबै ठाउँमा दिनभर वर्षा हुने
काठमाडौं, माघ १४ । शुक्रबार काठमाडौंको मौसममा बदली भएको छ । यतिबेला काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ । अहिले पानी परिरहेको छ । मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविदले बताए । जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार धनगढीमा ७ मिलिमिटर, डडेल्धुरामा ६ मिलिमिटर, दिपायलमा ५ मिलिमिटर, वीरेन्द्रनगर र जुम्लामा २२ मिलिमिटर, नेपालगञ्जमा १ मिलिमिटर, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ । पोखरा लगायत आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । पश्चिमी वायू नेपालबाट फर्किने क्रममा रहेकाले भोलिदेखि मौसम सफा हुने महाशाखाले जनाएको छ । पानी परेसँगै एक दुईदिन चिसो केही बढ्ने बताइएको छ ।
स्ववियु निर्वाचन नजिकियो, विद्यार्थी सङ्गठन सक्रिय
काठमाडौँ, १४ माघ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना गर्ने, विद्यार्थी भर्ना, भेला बैठकजस्ता चुनाव केन्द्रित गरिरहेका छन् । विद्यार्थी सङगठनबीच निर्वाचनका लागि उम्मेदवारको उमेरको हदबन्दी २८ वर्ष र मिश्रित निर्वाचनमा प्रणालीका बारेमा सहमति भएपछि निर्वाचन हुने निश्चित भएपछि क्याम्पसमा सरगर्मी बढेको हो । त्रिभुवन विश्वविद्यालयमा आठ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा आफ्नो पक्षमा नतिजा पार्नका लागि विद्यार्थी सङ्गठन प्रचारात्मक कार्यमा समेत जुटिसकेका छन् । उनीहरुले क्याम्पसका भित्तामा निर्वाचन लक्षित भित्तेलेखन पनि सुरु गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पस, आरआर क्याम्पसलगायत राजधानीका मुख्य क्याम्पस अगाडि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत सङ्गठनले भित्तेलेखन गरेका छन् । दुईपटक स्ववियु निर्वाचन घोषणा भएपनि हुन नसकेपछि अहिले हुन थालेको निर्वाचनमा विद्यार्थी उत्साहित भएका छन् । नेपाल विद्यार्थी सङ्घका महामन्त्री सरोज थापाले सबै क्याम्पसमा आफ्नो सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनले उमेरको हदबन्दीका बारेमा पुनःविचार गर्न माग गरेपनि चुनावमा होमिएको बताउनुभयो । उहाँले क्याम्पसमा भर्ना, भित्तेलेखन र बैठकजस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययरत अनेरास्ववियु शैक्षिक विभाग प्रमुख माधव पन्तले विद्यार्थी सङ्गठनबीच यसपटक जसरी पनि स्ववियु निर्वाचन गर्ने भनेपछि त्रिवि क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी तातेको बताउनुहुन्छ । उहाँले अहिले मुख्य तीन सङ्गठन चुनावी प्रचारात्मक कार्यक्रममा गर्न थालेका जानकारी गराउनुभयो । उहाँले आठ वर्षपछि हुन थालेको निर्वाचन हुने निश्चित भइसकेपछि देशको ठूलो क्याम्पस त्रिविमा पनि विद्यार्थी सङ्गठनले चुनाव लक्षित विभिन्न कार्यक्रम गरिरहेको बताउनुहुन्छ । अखिल क्रान्तिकारीका आरआर क्याम्पसका इन्चार्ज धु्रव वाग्लेले निर्वाचन हुने सुनिश्चित भएपछि आफूहरु निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले निर्वाचन आफ्नो पक्षमा पार्नका लागि सङ्गठन गतिविधि बढाएको बताउनुभयो । “क्याम्पसमा हामीले आफ्ना साथीलाई विद्यार्थी भर्ना र भित्तेलेखन जस्ता कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो–“निर्वाचनमा सफलता पाउने तरिकाले लागेका छौँ ।” दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन आगामी फागुन १४ गते हुने विद्यार्थी सङ्गठनबीच प्रणालीका विषयमा सहमति हुन नसक्दा २०६५ सालयता हुन सकेको थिएन ।
आफूविरुद्ध भएको प्रदर्शनको ट्रम्पद्वारा आलोचना
वासिङटन, माघ १०। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गरेका छन् । उनले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गरेका हुन् । “मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा निर्वाचन भएको थियो र ?” ट्रम्पले ट्वीट गरेका छन् । उनले निर्वाचन नै नभई आफूले सपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गरेका हुन् । शनिबार अमेरिकाका विभिन्न ठाउँमा महिलाहरुको सक्रियतामा लाखौँ प्रदशर्नकारीले प्रदर्शन गरेका थिए । रासस
अलपत्र नेपाली कामदारलाई खाना खुवाउन सरकारले दियो १६ लाख, मुद्दा लड्न वकिल उपलब्ध गराउन समेत पहल गरिने
काठमाडौं, माघ ५ । विदेशमा रोजगारीका क्रममा समस्यामा परेका र दूतावासको शरणमा आइपुग्ने नेपालीलाई खाना खुवाउन सरकारले १६ लाख नेपाली रुपैयाँ पठाउने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले खाडी र मलेसियामा रहेका नेपाली दूतावासहरुलाई १६ लाख रुपैयाँ पठाउने निर्णय गरेको हो। बोर्डका अध्यक्ष श्रममन्त्री सूर्यमान गुरुङको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । बैठले साउदी अरब र मलेसियालाई ५र५ लाख रुपैयाँ र युएई, कतार र कुवेतलाई दुई लाखको दरले १६ लाख दिने निर्णय गरेको हो । विदेशमा काम गर्ने क्रममा कम्पनी छोड्नुपर्ने बाध्यता हुँदा कतिपय कामदारले दूतावासको शरण लिनुपरेको अवस्था रहेको छ । कामदारले दूतावासमा शरण लिँदा उनीहरुलाई खाना खुवाउन यो सहयोग दिइएको हो । यसअघि दूतवासले बिभिन्न श्रोतबाट यो खर्च जुटाउँदै आएको थियो । बोर्डले विभिन्न अभियोग लागेर जेलमा रहेका नेपालीलाई वकिल उपलब्ध गराउन लाग्ने खर्चको विषयमा एउटा मापदण्ड बनाउने निर्णय गरेको छ । दूतावासले वकिल उपलब्ध गराउन बोर्डलाई अनुरोध गरेको हुनाले कल्याणकारी कोषको रकम परिचालन गर्ने विषयमा मापदण्ड बनाउन लागेको हो । खाडी तथा मलेसियाका जेलमा निर्दोष नेपाली परे पनि वकिलको अभावमा मुद्दा लड्न नसक्दा वर्षौसम्म बिनाअपराध सजाय भोग्न बाध्य हुने गरेका छन् । बोर्डले अन्तर्राष्ट्रिय श्रम बजारको खोजी तथा अध्ययनको लागि श्रम राज्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय लिएको छ । सो समितिमा रहने पदाधिकारी, समितिको कार्यविवरण लगायत विषयमा बोर्डका अध्यक्षले तोक्ने निर्णय गरेको छ । बोर्डले कल्याणकारी कोषमा जम्मा गर्ने रकम बढाउन कार्यकारी निर्देशक रघुराज काफ्लेको संयोजकत्वमा समिति बनाएको छ । यसलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
विकासका लागि दलहरु मिलेर अघि बढ्नुपर्छः मन्त्री भण्डारी
तनहुँ, माघ ३। वन तथ भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले सबै राजनीतिक दल मिलेर विकास निर्माणको कार्यमा अघि बढ्नुपर्ने बताएका छन् । छैठौं तनहुँ महोत्सवको आइतबार समापन गर्दै उनले ४ नं प्रदेशअन्र्तगत तनहुँलाई नमूना जिल्लाका रुपमा स्थापित गर्न उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलको सहकार्य हुनुपर्ने बताए । पृथ्वीराजमार्गअन्र्तगत दमौलीको भोर्लेटार चोकमा आकाशे पुल निर्माणका लागि जिल्ला विकास समितिसँग सहकार्य गरेर अघि बढ्न लागिएको उनको भनाइ थियो । महोत्सवको अन्तिम दिन रु ५५ लाखको आर्थिक कारोबार हुनुका साथै ४५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता ईश्वर विष्टले जानकारी दिए । रासस
उपराष्ट्रपतिले भने-‘जनआन्दोलन होस् वा जनयुद्ध’हरेक आन्दोलनमा मगर समुदाय अगाडि
दमौली, माघ १ । उपराष्ट्रपति नन्दबहादुर पुनले असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गरेका छन् । माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको शनिबार उद्घाटन गर्दै उनले आपसी असमझदारी हटाएर दलहरु संविधान कार्यान्वयनमा जुट्ने विश्वास पनि व्यक्त गरे । उपराष्ट्रपति पुनले २०७४ माघ ७ गतेभित्रै तीनवटै तहको निर्वाचन गर्न दलहरु अघि बढनुपर्ने बताउँदै ‘जनआन्दोलन होस् वा जनयुद्ध होस्’ हरेक आन्दोलनमा मगर समुदायले पुर्याएको योगदान राष्ट्रले कहिल्यै बिर्सन नसकिने बताए । नेपाल बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषाभाषी एकआपसमा मिलेर बस्नु यहाँको उच्चतम विशेषता हो भन्दै उनले निर्वाचनपछि संविधान कार्यान्वयनमा सहयोग पुग्ने र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्ने बताए । नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष सिद्धान्त थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । यसैगरी उपराष्ट्रपति पुनले शनिबार नै महर्षि बेद व्यासको जन्मस्थलमा पुगी व्यास गुफाको समेत अवलोकन गरे । रासस
कत्ति भीड !
दाङको बाह्रकुने दहमा शनिबार लागेको माघी मेलामा स्थानीयवासीको भीड । तस्वीर : बालाराम खड्का, दाङ
‘छक्का पञ्जा’ पाइरेसी गरेका आरोपितले गरे आत्महत्या
काठमाडौं, पुस २९। चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका एक युवकले हिजो साँझ आत्महत्या गरेका छन् । नवलपरासी घर भई हाल काठमाडौं–९ भिमसेनगोला बस्दै आएका २५ वर्षीया कृष्ण सुवेदीले बिहीबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आफ्नो डेरामा सिलिङमा रहेको फ्यानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । मर्नुअघि उनले कागजमा आफ्नो मृत्युको दोष कसैलाई नदिन र आफ्नो बैंक खातामा रहेको एक लाख रुपैयाँ आफ्नी बहिनीलाई दिनु भनिएको छ । सुवेदीको शवलाई उनका परिवारले बुझेका छन् । नवलपरासीबाट परिवार आएपछि मात्रै शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । केही समयअघि मात्रै चलचित्र पाइरेसीबारे उनीसहित चार जनालाई अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । समान्य सोधपुछपछि उनी पाइरेसीमा संलग्न नभएको प्रमाणित भएपछि उनी रिहाई भएका थिए ।
विद्यार्थी राजनीति गतिरोधको अन्त्य गर्न स्ववियू निर्वाचन आवश्यकः प्रधानमन्त्री
काठमाडौं, पुष २९ । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोंचको विकासका लागि पनि स्ववियू निर्वाचन गर्न आवश्यक भएको बताउनुभयाे । उनले भने, ‘हामी स्थानीय निर्वाचनको दिशामा जाँदैछौं, स्थानीय निर्वाचनपूर्व हुने स्ववियू निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर हो, त्यही सोंच र जिम्मेवारीबोध सहित निर्वाचनको तयारी गर्नुस् ।’ स्ववियू निर्वाचनमा क्रान्तिकारीको एजेण्डाले जितेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद तपाईहरुको एजेण्डा हो, त्यही उमेर हदको व्यवस्थासहित निर्वाचन हुँदैछ । एजेण्डामा तपाईहरुले जित्नुभएको छ । अब जनमतमा जित्न अझै मेहेनत गर्नुस्, तपाईहरुको मेहेनतको प्रतिफल सुखद् नै हुन्छ भन्ने मलाई विश्वास छ ।’ बैठकमा क्रान्तिकारीका नेताहरु नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, मदन अर्याल, रञ्जित तामाङ, बीरेन्द्र बस्नेत लगायतका नेताहरुले विद्यार्थी राजनीतिको अवस्था र स्ववियू निर्वाचनबारे रिपोर्ट राखेका थिए ।
डाँकाहरु बच्न सकेनन् सिसी क्यामेराबाट
सिन्धुली, पुस २७ । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन्। डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एक नम्बर बजारमा रहेको सिकन्दर शाहको शाह आयरनको पसलको सटर फुटाएर डकैती गरेका छन् । प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । शेखलाई काठमाडौँबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको छ । यस्तै, सो डकैती गर्ने घटनामा संलग्न भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ४० वर्षीय उजिर अन्सारी, ३५ वर्षीय रामनाथ शाहा, भारतकै सुनौल बस्ने ३८ वर्षीय शेख सकिल, भारतको समस्तीपुर बस्ने ४० वर्षीय मोहम्मद दुलार, सीतामढी बस्ने ३५ वर्षीय मोहमद एलिहास र भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ३६ वर्षीय पुष सिंहको खोजी जारी रहेको बोहोराले जानकारी दिए । सिन्धुलीमा उनीहरु पहिलोपटक डकैती गर्न आएको र सिसी क्यामेराको सहायताले उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीको दाबी रहेको छ । सिन्धुलीमा डकैती गर्न सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफ पुस २० गते सिन्धुली आएको र शेखले सिन्धुलीका बजारका पसलको निगरानीसँगै बढी कारोबार हुने पसल, सहजता हेर्दै पसलको छनौट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यस्तै, डकैती गर्न शेखलाई रामनाथ शाहाले पनि सघाएका थिए। गत पुस २१ गते सिन्धुली आएका शेखले पुस २२ गते सिन्धुलीको स्टलबजारमा रहेको डाँफे होटल सातजनाका लागि बुक गरेको र शेखले खबर गरेपछि विहारबाट विआरओ ४४३१ नम्बरको टाटासुमोमा उनीहरु सिन्धुली आएका थिए । होटल सञ्चालकलाई टाढा जानुपर्ने भएकाले भोलि बिहान चाँडै निक्लने भन्ने जानकारी गराई बिहान ३ बजे होटलबाट डाँकाको समूह निक्लिएको थियो । होटलबाट निक्लिएका डाँकाले ९ मिनेटको समयमा शाह आयरनको सटर फोरी डकैती गरी फरार भएका थिए । सिसी क्यामेराले कैद गरेको दृश्यअनुसार सिन्धुलीको २ नं बजार हुँदै उनीहरु ट्राफिक पोस्ट हुँदै सिन्धुलीमाढीबाट बाहिरिएका थिए । डकैती गर्न सफल डाँका सर्लाहीको त्रिभुवननगरमा पुगेपछि भागबन्डा गर्ने क्रममा विवाद भएको र छोरालाई विदेश पठाउने क्रममा शेख काठमाडौं गएकाले विशेष सूचनाका आधारमा शेखलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । शेख सिन्धुली आउँदा सेतो लामो दारी पालेको र डकैती गरिसकेपछि दारी छोटो बनाई कलर गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बर्ताए । प्रहरीलाई नै चिन्न अप्ठेरो पर्ने गरी कलर गरेका शेखलाई पक्राउ गरिएपछि अरू फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिएको छ । डाँका समूहले भारतको विहारदेखि आएर शाह आयरनको सटर फोरी नगद र समान डकैती गरी लगेका थिए । सिन्धुलीबजार क्षेत्रमा भर्खरै जडान गरिएको सिसी क्यामेराले प्रहरीको अनुसन्धानको कार्यलाई निकै सहज र लक्ष्यनजिक बनाइदिएको छ । सिन्धुलीमा भारतदेखि आएर डाँकाले डकैती गरेको यो पहिलो घटना हो । रासस
अवैध यौन गतिविधिमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ
बनियानी (झापा),पुस २५ । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए । अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरीका कार्यालय अनारमनीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । रासस
पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन आवश्यकः राष्ट्रपति भण्डारी
काठमाडौँ, पुस २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन माग गरेको छ । पार्टीले उक्त दिन आयोजना गर्न लागेको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज निमन्त्रणा गर्न शीतलनिवास गएका पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीको नेतृत्वको समूहले बिदाको माग गरेको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरी देशको पहिचान बनाएको बताउँदै राष्ट्रिय एकताका प्रतीकका रुपमा पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन खाँचो रहेको विचार व्यक्त गरेको प्रमुख सचेतक गिरीले जानकारी दिए । राष्ट्रपति भण्डारीले उक्त दिन सहभागी हुनका लागि छलफल गरी समयमा पार्टीलाई सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । पार्टीले प्रमुख सचेतक दीलनाथ गिरीलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा संवैधानिक निकाय, राजनीतिक दल, कूटनीतिक निकाय लगायतलाई निमन्त्रणाको जिम्मेवारी दिएको थियो । प्रत्येक वर्ष पृथ्वी जयन्तीका अवसरमा पार्टीले औपचारिक रुपमा एकता दिवस तथा चियापान गर्दै आएको छ । रासस
छिट्टै स्थानीय तह कार्यान्वयनमा आउने मन्त्री पाण्डेको दावी
काठमाडौँ, पुस २३। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब छिट्टै स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन ग्रहण गरेपछि रासससँगको संक्षिप्त कुराकानीमा उनले प्रतिवेदन कार्यान्वयनका लागि आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए । उनले भने, “प्रतिवेदन कार्यान्वयनका लागि सबै तयारी गरिएको छ, स्थानीय तह कार्यान्वयनमा आइसकेपछि कर्मचारी र कार्यालयको व्यवस्थापन तथा नयाँ संरचनाअनुसार आवश्यक विषयवस्तुसहितको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छौ । मन्त्रिपरिषद्बाट पारित भएपछि प्रतिवेदन कार्यान्वयनमा आउँछ ।” मन्त्री पाण्डेले स्थानीय तह कार्यान्वयन गर्न सहज होस् भनेर मन्त्रालयका सहसचिवको नेतृत्वमा विभिन्न कार्यदल बनाएर आवश्यक गृहकार्य गरिएको बताए । स्थानीय निकाय भङ्ग भएर स्थानीय तह क्रियाशील भए पनि सङ्क्रमणकालीन व्यवस्थाअनुसार गाउँ तथा नगर परिषद्बाट पारित विभिन्न कार्यक्रम, आयोजना र बजेट अर्को निर्वाचन नहुन्जेलसम्म यथावत रहने उनको भनाइ थियो । रासस