२ सय बढी लगानीकर्ताले घेराउ गरे शेयर बजार
काठमाडौं, पौष १४ । शेयर बजारसँग सम्बन्धित बिभिन्न माग राख्दै दुईसय भन्दा बढी शेयर लगानीकर्ताहरुले बिहिबार स्टक एक्जचेन्जको कार्यालय घेराउ गरेका छन् । शेयर बजारलाई व्यवस्थित पार्न काठमाडौं बाहिर ७० वटा शाखा खोल्नुपर्ने मुख्य माग सहित विगत केही दिनदेखि शेयर दलालहरु आन्दोलनमा रहेका छन् । शेयर बजारलाई अनलाइन सिष्ष्टम तत्काल लैजानुपर्ने, शेयर कारोबारलाई पारदर्शी र सजिलो पार्न अनलाईन सिष्टमको विकास गरिनुपर्ने, काठमाडौं बाहिर आर्थिक कारोबारको सम्भावना भएका देशका बिभिन्न शहरमा शेयरको कारोबार गर्न संयन्त्र निर्माण गरिनुपर्ने लगायतका माग उनीहरुले राखेका छन । राजधानीको पुतलीसडकमा स्थित नेप्सेको कार्यालयमा ब्रोकरहरुलाई यथाशीघ्र उपत्यकाबाहिर शाखा खोल्न दिइयोस, गैर आवासीय नेपालीलाई पूँजि बजारमा ल्याउन पहल गरियोस्, अनलाईन सिष्टम यथाशीघ्र कार्यान्वयन गरियोस लगायतका प्लेकार्डसहित धर्ना दिएका हुन । धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’ भनी निवेदन दिएपनि त्यसको सुनवाई नभएको उनीहरुको आरोप छ । ब्रोकरहरुको एउटै कम्पनीले आठ स्थानसम्म शाखा बिस्तारको प्रस्ताव गरेको छ । प्रस्ताव गरिएका स्थानमा भक्तपुर, विराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवललगायत स्थान रहेका छन् । त्यसरी माग गर्नेमा एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच, मल्ल एन्ड मल्ल, नाशा, त्रिशक्ति, अक्सफोर्ड, श्वेता र एसियनले चार स्थानमा शाखा खोल्ने अनुमति मागेको महाप्रबन्धक थपलियाको भनाइ छ । यस्तै तीन स्थानमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको सङ्ख्या चार रहेको छ । सेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पु¥याउन ब्रोकरको शाखा विस्तार गर्नेबारे लामो समयदेखि चर्चा चल्दै आएको भए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । स्टकका अनुसार हालसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक÷एक वटा शाखा विस्तार गरेका छन् । ४१ ब्रोकर कम्पनीले भने हालसम्म शाखा विस्तार गरेका थिएनन् । धितोपत्र बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेको छ । सोही आधारमा स्टकले नेपाल धितोपत्र बोर्डमा अनुरोधसमेत गरिसकेको छ ।
बेलीब्रिज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन
गाईघाट (उदयपुर), १४ पुस । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ । बर्खायाम लागेर सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको बेलीब्रिज मङ्सिर १३ गतेबाट पुनः जडान सुरु गरी सोमबार जडान कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको गाईघाट दिक्तेल सडक कार्यालयका प्राविधिक प्रमुख राजेन्द्र जोशीले बताएका छन् । मङ्गलबारदेखि गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाट केही यातायातका साधन सञ्चालन हुन थालेको छ । गत जेठमा बेलीब्रिज फुकालिएपछि गाईघाट दिक्तेलसम्म सिधा यातायात सञ्चालन हुन सकेको थिएन । यता बेलीब्रिज जडानसँगै अब नियमित रुपमा गाईघाट दिक्तेल सडकमा ठूला सवारीका साधन बससमेत औपचारिक रुपमा सञ्चालन गर्न लागिएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताए । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा औपचारिक उद््घाटन गरेका गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अझैसम्म पनि स्थायी पुल निर्माण हुन सकेको छैन । स्थायी पुल हुन नसक्दा हिउँदमा बेलीब्रिज जडान गर्ने र बर्खायाममा निकाल्ने कार्य हुँदै आएको छ । रासस फाइल तस्वीर
२० दिन कैद सजाय पाएका तीन जना १८ वर्षपछि पक्राउ
लहान, पुस १२ । कुटपिट मुद्दामा अदालतबाट कैद सजाय पाएर १८ वर्षदेखि फरार तीन जनालाई सिरहा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । कुटपिट मुद्दामा सिरहा जिल्ला अदालतबाट २० दिन कैद सजाय पाएर फरार सिरहाको विष्णुपुर प्रम गाविस–५ निवासी रामआशिष यादव, सोही ठाउँका राम दयाल यादव र जगदीश यादवलाई पक्राउ गरिएको हो । सिरहा जिल्ला अदालतले गत २०५५ मङ्सिर १६ गते कुटपिट मुद्दामा कैद सजायको फैसलालगत्तै फरार भएका तीनै जनालाई खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। रासस
ज्यान जाला तर उपलब्धी खोस्न दिँदैनौं
काठमाडौं, पुस ११ । प्रधानमन्त्री प्रचण्डले माओ जयन्तीको अवसरमा आफूहरु नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा रहेको भन्दै सो उपलब्धीका लागि नेपाली जनताले निकै दुःख कष्ट भोग्नु परेको भन्दै अब पाएको उपलब्धीलाई कुनै पनि हालतमा फुत्किन नदिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा छौं । जनतालार्इ परिवर्तन दिन माओको भूमिका रहेकाले रक्षा प्रयोगबाटै बिकास गर्ने र देश संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकास गर्ने प्रेरणा उनै माओ हुन् ।’ प्रतिपक्षीहरुलाई इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले थपे, ‘अहिलेको राजनीतिलाई विकसित र प्रयोग र रक्षा गर्ने दलालहरुलार्इ परिवर्तन मन परेको छैन ।’ उनले थपे ‘राजा त पद्च्युत भए । उनका वरिपरि घुम्नेलार्इ पनि मन परेको छैन । उनीहरु यो परिवर्तन र उपलब्धी उल्ट्याउने र भाच्नेतिर उन्मुख भएका छन् । तर हामीले त्यसो हुन दिनुहुन्न ।’ माओ दिवसका असरमा उनले आफूहरुले औपचारिक रुपमा यो दिवस मनाउनुमा विशिष्ट अर्थ रहेको बताए । उने भने, ‘देशलार्इ एकताबद्ध गर्नु । जातजाती मधेस पहाड बिचमा विभाजन नभई मधेस पहाड जोड्नु छ र एकता ल्याउनु छ ।’ उनले थपे, ‘कम्युनिस्टले नै एकता गरेका छन् ।’ साम्राज्यवाद र सर्वहारावाद उत्पिडितहरुको बिचमा एकता कायम गर्न कम्युनिष्टहरुले नै अहम भूमिका खेल्ने उनले बताए । उत्पिडनको बिरुद्व समानताको नारा हाइज्याग गर्ने काम गर्ने साम्राज्यवादहरुले गरेको उनले बताए । उनलेउ नेपालमा आत्मानिर्णय, पहिचान समानुपातिक समावेशी नारा माओवादीले ल्याएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो नारा आफ्नो बनाउन खोज्ने ति हिजो पञ्चाएको बेला सरकारमा बस्ने राजासँग मिल्ने काम गरे र आज उनीहरुले नै माओवादीको नारा हाइज्याक गराउन खोजेका छन् ।’ उनले थपे, ‘साम्प्रदायिक दंगा हुनुको कारण पनि त्यही हो ।’ आज दिवस मनाउनुको कारण उत्पीडितको पक्षमा लाग्नु रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब सङ्कल्प गर्ने दिन आएको बताए । देशमा संविधान संशोधनभित्र उत्पीडित समुदायलार्इ अधिकार नदिन प्रयास भएको भन्दै शान्ति प्रक्रियामा आएपछी माओवादीलाई जालीझेली भनिएको स्मरण गरे । दस वर्षपछि फेरि पार्टी एकतामा जोडिएको भन्दै प्रचण्ड र बाबुराम मिल्नुपर्ने उनको चाहना भएको बताए । चीनमा माओको नेतृत्व सम्झिँदै उनले भने, ‘फुट्ने माओवादी हुँदैन । चीनमा माओले पार्टी फुट्न दिएनन् ।’ फुट्नेतिर होइन जुट्नेतिर लाग्नुपर्छ भन्दै अब समाजवाद र साम्यवादमा जान सकिने उनले बताए । उनले भने, ‘हाम्रो जितलार्इ कसैले रोक्न सक्तैन । हामी सबै माओबादीलार्इ एकतावद्ध गर्नु छ ।’
सशस्त्र जनविद्रोहमार्फत सत्ता कब्जा गर्नुपर्ने माओवादी नेता देव गुरुङको धारणा
काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार चलिरहेको बेला पार्टीका प्रभावशाली नेता देव गुरुङले भने नेपाली क्रान्ति सम्पन्न गर्न सशस्त्र जनविद्रोह आवश्यक भएको बताएका छन् । स्याङ्जाको वालिङमा आइतबार नेकपा माओवादी केन्द्र स्याङ्जाको आयोजनामा जिल्ला वैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपाली क्रान्तिको चरित्रबारे बोल्दै नेता गुरुङले अबको समयमा नयाँ जनवादी क्रान्ति असान्दर्भिक भएको टिप्पणी समेत गरे । “१० बर्षे जनयुद्धको ढाँचाबाट अवको क्रान्ति सम्पन्न हुन नसक्ने दावी गर्दै यहिलेको संक्रमणकालिन अवस्थामा ससत्र जन विद्रोहको प्रक्रियावाट शान्ति प्रक्रिया पार गर्दै क्रान्ति सम्पन्न गर्नुपर्ने अवस्था आएको छ ।” उनले भने । गुरुङले साम्राज्यवादीहरुले र विस्तारवादीहरुले जहाँ जहाँ घेरावन्दी गर्दै जान्छन त्यहाँ त्यहाँ माओवादी सक्तिले मोर्चा वन्दी गर्दै संघर्स द्धारा त्यस्ता अप्रगतिशिल तत्वहरुलाइ हराउदै आफ्नो साम्राज्य विस्तार गर्नुपर्ने पनि बताएका छन् । देशमा देखा परेको राजनितिक अस्थिरताका कारण नेपालमा विदेशी सक्तिको हालीमुहाली वढ्दै गएको बताउदै गुङ्ले सवै जात, वर्ग, धर्म र सम्प्रदाय एकताका साथ मिलेर अगाडि वढ्दै समानुपातिक स्वत्तताको आधारमा संघिय व्यवस्था लागु गर्न सके मात्र नेपाललाइ बचाउन सकिने गुरुङको दावी छ । जनवादको जगमा एकता पैदा गर्न, पूर्व मेची देखी पश्चिम महाकाली र हिमाल, पहाड र तराइका सम्पुर्ण नागरिकमा एकता पैदा गर्न तथा अशली राष्ट्रियताको भावना सवैमा विकास गर्न नेपाल संघियता, स्वत्तता र धर्म निरपक्षतामा जानुपरेको उनको जिकिर छ । अहिलेको क्रान्ति प्रतिरक्षात्मक प्रणालीको भएकाले शान्ति प्रक्रियालाइ छिचोल्दै प्रत्यक्रमण गर्नुपर्ने र अन्तराष्ट्रिय परिस्थीतीको पनि मुल्याङ्कन गरेर क्रान्ति सम्पन्न गर्नुपर्ने गुरुङको ठहर छ । गुरुङले देशमा राष्ट्रिय संकट पैदा भएको यो वेलामा सवै कम्युनिष्ट सक्ति एक भएर लाग्नुपर्ने बताउदै माओवादीलाइ एक ठाउँमा कठ्ठा गर्नु बर्तमान आवस्यकता भएको औँल्याएका हुन् । गुरुङ्ले नेपाललाइ विदेशी सक्तिहरुबाट जोगाउन संविधान संसोधन अति आवस्यकता रहेको उल्लेख गर्दै एमालेले देशलाइ विदेशीको हातमा सुम्पन खोजेको आरोप लगाए । संविधा समयमै संसोधन हुन नसकेमा सिके राउत जस्ता विदेशीको इसारामा चल्ने नक्कली राष्ट्रवादीहरु फेरी पनि चलवलाउने गुरुङको दावी छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नम्मर चारका सह इन्चार्ज हरि अधिकारीले अवको चुनाव माओवादीले जित्ने प्रसस्त सम्भावना भएकाले सवै माओवादी सक्ति संगठन विस्तार लगाएतका पार्टिका काममा एकताका साथ लाग्न निर्देशन दिएका थिए । उनले अवको माओवादीको एजेण्डा चुनावमा जसरी पनि वहुमत द्धारा पहिलो पार्टि हुने रहेको उल्लेख गर्दै जति सक्दो चुनावी गतिविधिलाइ द्रुत्ततर गतिमा लैजानुपर्ने बताए । नेकपा माओवादी केन्द्र स्याङ्जाका इनचार्ज रामराज रेग्मीले पार्टिको संगठनात्मक गतिविधि उल्लेख गर्दै पार्टिले गरेका कामहरुको बारेमा स्पष्ट पारेका थिए । रेग्मीले माओवादीमा जस्तो विज्ञ र वौद्धिक नेता तथा प्रभावशाली नेता स्याङ्जाका कुनै पनि राजनितिक दलमा नरहेको बताउदै भएका नेता तथा कार्यकर्ताहरु मन वचन र कर्मले क्रियशिल भएर लाग्न सकेमा पार्टि सवै भन्दा अगाडि आउने ठोकुवा गरे ।
पाँच सयको निःशुल्क मुटु परीक्षण
फलेवास (पर्वत), ११ पुस । पर्वतको सदरमुकाम कुश्माबजारमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ५०० भन्दा बढी अभिभावक र विद्यार्थीको मुटु परीक्षण गरिएको छ । कुश्मामा रहेको आदर्श माविमा विशेषज्ञ डाक्टरसहितको मुटुरोग शिविर सम्पन्न भएको हो । सो अवसरमा ५१५ जनाको मुटु परीक्षण गरिएको हो । निःशुल्क कार्डियो शिविरमा परीक्षण गरिएका मध्ये मधुमेहको १५० जना, इसिजी १४० जना, इको ११५ जना रहेको र जसमा कार्डियो रोगसँंग सम्बन्धित विशेष १०० जनाभन्दा बढी बिरामी परीक्षण गरिएको चिकित्सकले बताएका छन् । धेरै जना बिरामी सुगर, उच्च रक्तचाप भएका भेटिएको कार्डियोलोजिस्ट प्राडा श्यामराज रेग्मीले बताए । भिगा फर्मास्युटिकल्स अनामनगर काठमाडौँद्वारा बिरामीलाई करिब रु दुई लाख बराबरको औषधिसमेत निशुल्क वितरण गरिएको थियो । शिविरमा मुटुको औषधि खाइरहेका, उच्च रक्तचाप भएकालगायत मुटुरोगसँंग सम्बन्धित बिरामीको उपचार भएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। सो अवसरमा डाक्टर सुवी रेग्मीले व्यक्तिगत रुपमा गुप्तेश्वर संस्कृत पाठशालाका विद्यार्थीलाई शैक्षिक सामग्री, आदर्श माविका विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्नुभयो । विद्यालयले पूर्व विद्यार्थी सञ्चारकर्मी रामकृष्ण लामिछानेलाई नगद पाँच हजार ५५५ र सम्मान पत्रद्वारा सम्मान गरेको थियो । रासस
यौन व्यवसाय गरेको आरोपमा भक्तपुरको एक रेस्टुराँबाट १० पक्राउ
भक्तपुर, पुस ९ । महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई शुक्रबार पक्राउ गरेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, गेस्ट हाउस र क्याफेमा व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्ट हाउसमा साँझ छापा मारेको थियो । जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेन होम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सञ्चालकसहित छ पुरुष र चार महिलालाई पक्राउ गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । रासस फाइल तस्वीर
एमालेलाई देउवाको प्रश्न–‘कसको इशारामा संसद अवरुद्ध गर्नुभयो ?’
स्याङ्जा, पुस ९ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको कारण देश संकटमा फस्ने अवस्थामा आएको बताएका छन् । शनिबार स्याङ्जाकोमा प्रथम भीरकोट महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले राजनीतिक गतिरोध लम्ब्याएर एमालेले अलकोतान्त्रिक चरित्र देखाएको आरोप लगाए । उनले भने– “संविधान संशोधनको प्रस्ताव माथि छलफल गर्नै नदिएर एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरिरहेको छ ।” संसद् अबरुद्ध नभएको भए हालसम्म मधेसको समस्याले निकास पाई सक्ने देउवाको भनाई थियो । कांग्रेस–माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावलाई एमालेले छलफल गर्न नदिएकोमा उनले आपत्ति जनाए । “प्रस्तावउपर छलफल गरौँ, पास भए हुन्छ फेल भए हुन्छ कम्तीमा निकास त निस्कन्छ,” उनले भने । संशोधनको बारेमा एमालेले मधेसी जनताको बारेमा अनावश्यक रुपमा भ्रम छरेकोमा असन्तुष्टि जनाए । उनले भने–“प्रस्तावित संविधान संशोधनको प्रस्तावमा एमालेले आम नागरिकलाई भ्रम छरेको छ”, पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, “मधेसीहरु बिखण्डनकारी होइनन्, बरु उनीहरूको समस्या हामीले सम्बोधन गर्न सकिरहेका छैनौँ ।” देउवाले केहीदिनभित्रै संसद सुचारु हुने बताए । वर्तमान सरकारबारेमा अनावश्यक टिप्पणी गर्नेहरुनै विदेशीको इशारामा संसद अवरुद्ध गर्न उद्यत रहेको देउवाले बताए । “सरकारलाई विदेशीको सल्लाह र उक्साहटमा चल्यो भन्नेहरु नै अयन्त्रैबाट चलेका छन्, ‘नारामा राष्ट्रवादी हुँ’भन्नेहरु केही समयभित्र नाङ्गिने छन् ।” “राजनीतिक रूपमा प्राप्त अधिकार सुनिश्चित हुनका लागि निर्वाचन अनिवार्य छ”, सभापति देउवाले भने, “संविधानमा तोकिएको समय सीमाभित्र निर्वाचन हुन नसके देशले धेरै अप्ठ्यारो व्यर्होन पर्छ ।” निकासका लागि सबै दललाई जिम्मेवार बन्न उनले आग्रह गरे । महोत्सव ११ दिनसम्म चल्ने बताइएको छ । महोत्सवमा ३ लाख पर्यटकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेका छन् । यस अवधिमा ३ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले दाबी गरेको छ ।
बिराटनगर र हृटौडा महानगरपालिका नबन्ने, आयोगले बुझायो अन्तिम रिपोर्ट
काठमाडौं, पुस ८ । महानगरपालिका बनााउन दौडधुप गरेपनि बिराटनगर महानगरपालिका नबन्ने भएको छ । स्थानीय तह पुनसंरचना आयोगले देशभरिमा दुईवटा मात्रै महानगरपालिका बनाउने प्रस्ताव गरेपछि नेपालको दोस्रो ठूलो शहरको रुपमा रहेको बिराटनगर महानगरन नबनने भएको हो । यसैगरी महानगरको सूचिमा रहेका वीरगञ्ज र हेटौंडापनि महानगर बनाउन नसकिने आयोगले प्रतिवेदन बुझाएको छ । आयोगले बुझाएको प्रतिवेदनमा काठमाडौंपछि पोखरालाई महानगरपालिका बनाउन सुझाव दिएको छ ।
गाेदावरीमा कसले फाले ८० बढी मरेका गाई ?
कैलाली, पुस ६ । हिन्दूहरुको प्रख्यात तीर्थस्थल कैलाली गोदावरीमा ८० वटा भन्दा बढी मरेका गाई भेटिएका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट टीप्परमा ल्याएर सो स्थानमा फालिएको स्थानीयवासीले बताएका छन् । ‘राति १२ बजेपछि टिप्परले बोक्दै गाई फालिएको हो,’ गोदावरीका स्थानीय धर्मसिंह साउदले भने, ‘अधिकांश मरेका र केही मर्न लागेका गाई गरी झण्डै ८० भन्दा बढी गाई मारेर फालिएको छ ।’ मंगलबार अपरान्ह ५ बजे एउटा टिप्परले केही ज्यूँदै गाई छोडेर गएको थियो । ति गाई भकाभक मर्न थालेका थिए । राति मध्यरातमा फेरि अन्य गाईहरुमा पनि फालिएको स्थानीयले बताएका छन् । प्रशासनले सडक विभागका डोजर प्रयोग गरी बिहानैदेखि गाई पुर्ने काम सुरु गरेको छ । गाईलाई कस्तो विष खुवाइएको हो भन्ने अहिले नै यकिन भइनसकेको प्रहरीले बताएको छ । यस विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्राररम्भिक चरणमा भिमदत्त नगरपालिकाका टिप्परले गाई फालेको जानकारी आएको बताए । प्रजिअ रिजालले भने, ‘यो विषयमा छानबीन शुरु भएको छ ।’
‘माओवादी पार्टीमात्र होइन, आन्दोलन पनि हो’– प्रचण्ड
धनगढी पौष ६। प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टीमात्र नभएर आन्दोलन पनि भएको बताएको छ । माओवादी केन्द्रले आयोजना गरेको ७ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएको छ । ७ नं. प्रदेशका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने– ‘माओवादी कुनै पार्टीमात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो । कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला । तर, युगान्तकारी परिवर्तनका मुद्दा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ, हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टीमात्रै होइन, नेपालमा उथल–पुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो ।’ माओवादी एकतामा जोड दिँदै प्रचण्डले थपे– ‘माओवादी एकता आजको आवश्यकता हो । आजको आवश्यकता माओवादी धाराको एकता नै हो । क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ । मैले सबै माओवादी धाराका नेताहरुसँग कुरा गरिरहेको छु । माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु । माओवादीको एकताबिना राष्ट्रिय एकता र परिवर्तनका एजेण्डा संस्थागत गर्न सकिँँदैन । परिवर्तनका एजेण्डा कमजोर भए स्वाधिनता खतरामा पर्ने र आन्तरिक एकतामाथि नै चुनौति आउन सक्छ ।’ राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै प्रचण्डले भन्नुभयो, ‘सरकार संविधान कार्यान्वयनमा प्रतिबद्ध छ । हिमाल, पहाड र तराईलाई एक–अर्कामा लडाएर होइन, एकतावद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । सरकार राष्ट्रिय एकता हासिल गरेर निर्वाचनमा जाने तयारीमा छ । संविधान संशोधन प्रस्ताव संविधान कार्यान्वयनका लागि जरुरी थियो । निर्वाचनको वातावरण नबनाई संविधानको कुरा गर्नु आदर्श त हुन सक्ला । तर, वास्तविक समाधान हुन सक्दैन ।’ प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले संगठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेता लेखराज भट्ट, कृषिमन्त्री गौरीशंकर चौधरी, नेताहरु खगराज भट्ट, जोखबहादुर महरा, लक्ष्मणदत्त जोशी लगायत सबै उपस्थित रहेका थिए । प्रशिक्षणमा ७ नं. प्रदेश अन्तर्गतका सबै जिल्लाका संयोजकहरुले जिल्लाको राजनीतिक र संगठनात्मक अवस्थाका बारेमा रिपोर्टिङ गरेको थियो ।
उर्जामन्त्रीको घोषणाः दश वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन !
काठमाडौं, मंसिर ३० । सरकारले १० वर्षभित्रमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको बताएको छ । काठमाडौंमा सुरु दुईदिने उर्जा सम्मेलनमा उर्जा मन्त्री जनार्दन शर्माले सरकारकातर्फबाट ८ हजार मेगावाट, निजी क्षेत्रले ८ हजार र वैदेशिक लगानीबाट ४ हजार मेगावाट सहित बीसहजार मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेको बताए । मन्त्री शर्माले उर्जा क्षेत्रमा सुरक्षित लगानीको वातावरण बनाउने दाबी गरेका छन् । स्वदेशीसँगै विदेशी लगानीकर्तालाई पनि उर्जा क्षेत्रमा आकर्षित गराउने खालका कार्यक्रम ल्याउने उनको भनाइ छ । भारतले भर्खरै ल्याएको सीमापार विद्युत व्यापार निर्देशिकाले नेपालमा कुनै असर नपर्ने बताए । भारतसँगको विद्युत व्यापार सम्झौतामा भारत सिमा पार विद्युत व्यापार गर्न कुनै अवरोध नहुने उल्लेख गरिएकाले ढुक्क हुन उनले आग्रह गरे । निजी क्षेत्रका विद्युत उत्पादकहरुको छाता संगठन स्वतन्त्र उर्जा उत्पादक संघ (इप्यान)ले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । इप्यानका अध्यक्ष खड्क विष्टले स्पष्ट नीति ल्याएर सुरक्षित लगानीको वातावरण बनाए उत्पादन बढाउन सकिने बताए । शुक्रबार सकिने उर्जा सम्मेलनमा उर्जा सुरक्षाको अवधारणा, विद्युत माग एवं आपूर्तिको विश्लेषण जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा नेपाल लगायत भारत, चीन, कोरिया, जापान, नर्वे, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशबाट सरकारी प्रतिनिधि लगायत झण्डै ५ सय जनाको सहभागिता रहेको छ ।
विकास बजेट आठ प्रतिशत !
बैतडी, मंसिर ३० । बैतडीमा प्रथम चौमासिकमा करिब आठ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । जिल्लाको विकास बजेटको नामले चिनिने पुँजीगत खर्च ७.९५ प्रतिशत मात्रै भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, बैतडीले जनाएको छ । कार्यालयलाई चालु आवका लागि रु एक अरब १० करोड ८० लाख ७२ हजार अख्तियारी आएको र विभिन्न कार्यालयमार्फत प्रथम चौमासिकमा रु आठ करोड ८१ लाख २१ हजार मात्र खर्च भएको कोष नियन्त्रक दिलीप शाहीले जानकारी दिएका छन् । यस्तै, चालु खर्चका लागि रु दुई अर्ब ६७ करोड ९२ लाख २४ हजारको अख्तियारी आएको र रु ९५ करोड आठ लाख ७४ हजार खर्च भएको शाहीले जानकारी दिए । चालुतर्फ भने ३५.४९ प्रतिशत खर्च भएको बताइएको छ । पुँजीगत बजेटमा विकास बजेट र चालु खर्चमा कर्मचारीको तलब र केही अन्य कार्यक्रमको बजेट रहेको र पहिलो चौमासिकमा विकास बजेट अथवा पुँजीगत खर्च भने निकै कम हो ।
कैलालीमा बसाइँ सराइ हुनेक्रम बढ्दो
धनगढी, मङ्सिर ३० । कैलाली जिल्लामा पछिल्लो केही वर्षदेखि विभिन्न ठाउँबाट बसाइँ सरी आउनेको जनसङ्ख्या बढ्दै गएको छ । जिल्ला विकास समितिको कार्यालय, पञ्जीकरण फाँटमा दर्ता भएको तथ्याङ्कअनुसार, पछिल्लो नौ वर्षको अवधिमा कैलाली जिल्लामा अन्यत्रबाट बसाइँ सरी आउनेको जनसङ्ख्या एकलाख ६० हजार पाँचसय ६० पुगेको छ । यो अवधिमा बसाइँ सरी आउनेको ५४ हजार एकसय ६९ वटा नयाँ घर दर्ता भएको छ । जिल्लाबाट अन्यत्र बसाइँ सरी जानेको सङ्ख्या भने ६५ हजार सातसय ४७ रहेको छ । पञ्जीकरण फाँटका प्रमुख नित्यानन्द जोशीले देशकै सबैभन्दा बढी मानिसको बसाइँ सराइ हुने जिल्लाका रुपमा सम्भवतः कैलाली पर्नसक्ने बताए । “कैलाली जिल्लामा नेपालका ७५ जिल्लाका अलावा आसाम र बर्माबाट समेत नेपाली आएर बसेका छन्”, जोशीले भने—“गाविस वा नगरपालिका कार्यालयमा दर्ताको प्रक्रिया पूरा नगरी बसाइँ सराइ गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्छ ।” पहाडी क्षेत्रमा हुने बाढीपहिरोको समस्या, बाह्रै महिना पुग्ने गरी खाद्यान्नको अभाव हुने लगायतका कारण सहजजीवन निर्वाहका लागि विभिन्न अवसरको खोजी गर्दै तराईका जिल्लामा बसाइँ सराइ गर्नेहरु बढ्दै गएको जनाइएको छ । जिल्लामा सबैभन्दा बढी दुई वर्षअघि ३३ हजार नौजना बसाइँ सरी आएको तथ्याङ्कमा उल्लेख छ । विसं २०६४ मा जिल्लामा बसाइँ सरी ११ हजार नौसय १७ जना आएकामा २०७२ सालमा आएर यो सङ्ख्या बढेर १६ हजार ६ सय ६ जना बसाइँ सरी आएका छन् । बसाइँ सरी जानेको सङ्ख्याभन्दा बसाइँ सरी आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएका कारण जिल्लाको जनसङ्ख्या पनि त्यही अनुपातमा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्याका कारण बन क्षेत्रको जग्गा अतिक्रमण हुने समस्या रहेको मात्र नभई जिल्लाको खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री गर्नेक्रम पनि बढ्दो छ । यसरी बसाइँ सरी आउनेले खासगरी पूर्व—पश्चिम राजमार्गको आसपास, सहरबजार क्षेत्र र सुविधायुक्त ठाउँमा घरघडेरी जोड्ने गरेको देखिन्छ । विसं २०६८ सालको जनगणनाअनुसार कैलालीको जनसङ्ख्या सातलाख ७५ हजार सातसय नौ रहेको छ । रासस
बर्दियामा बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि
बर्दिया, मङ्सिर २७ । बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ । यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो । महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजा समेतको सुरुवात गरिने जानकारी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा अध्यक्ष हेमन्त आचार्यले बताए । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको ठाकुरद्वाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृति, झाँकी र विभिन्न स्थानीय नाच समेत गरिने र आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय थारु परिकारको आनन्द लिन सक्ने छन् । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढेर ८५ पुगे पछि यस निकुञ्ज क्षेत्रमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक सङ्ख्या पनि अत्यधिक रहेकाले यस महोत्सवमा पर्यटकको सङ्ख्या अझ बृद्धि हुने विश्वास गरिएको छ । रासस