प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृति निस्तेज पार्छौः प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृतिलाई निस्तेज पार्ने बताएका छन् । गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरुलाई एकतावद्ध गर्नमा केन्द्रित छ ।’
नेपाली काँग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ ।’ उनले चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्ने, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशा तिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीति दलहरुका बीचमा सहमति बनाउने प्रयत्न भएको स्पष्ट गरे । उनले अन्तर्राष्ट्रिय रुपमा पनि सरकारबाट लिइएका कुटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघको महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको बताए । प्रधानमन्त्रीले यी भ्रमणहरु सरकारले लिएको कुटनीतिक सफलताको परिणाम भएको बताए।
अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म शिक्षकका माग सम्बोधन हुन्छ : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूसँग भएको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म मात्र सम्बोधन हुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । “माननीयज्यूहरुले शिक्षकहरुको सहमतिको विषय यहाँ कसरी सम्बोधन हुन्छ भनेर उठाउनुभयो,” उनले भने, “उपयुक्त र जायज मागहरु जसले शिक्षालाई मद्दत गर्छ, शिक्षकहरूलाई सुयोग्य बनाउन सम्मानीत बनाउन र सही ढंगले क्रियाशील बनाउन मागमा हामी सकारात्मक रहन्छौँ । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकहरुको सबै कुरा मान्छौँ । त्यसमा हामी प्रतिवद्ध रहेका छौँ ।” मन्त्री राईले विधेयक बनाउने र दर्ता गराउने विषयमा सरोकारवालासँगको छलफलमा कहीँ कतै खाली ठाउँ देखा परेको स्वीकार गरे । “हामीले पनि पूर्वछलफल र तयारी गर्न बाँकी थियो । महासंघको नेताहरु असन्तुष्ट हुनुहुन्थ्यो, आन्दोलन भयो, आन्दोलन फिर्ता भयो । फेरि राहत शिक्षकहरुको आन्दोलन भयो । यसमा ज्ञाप भयो । सबैले बुझ्नुपर्छ,” उनले भने । उनले विधेयक पास भए ‘बेस्ट एन्ड ब्राइट’ शिक्षक आउने जानकारी गराए ।
कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बिहिवार बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्दैछ । विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते बिहिवारका लागि बैठक बोलाएका हुन् । बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज मंगलबार आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । वैठकमा १४औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ । गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापाको पक्षमा खुलेका थिए ।
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । एमाले सांसद ठाकुर गैरेले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक मध्याह्न १२ बजे बस्नेछ । आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ । संसद्मा १०० किलो सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ ।
उच्चस्तरिय प्रशासन सुधार आयोग गठन हुने
सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाश शरण महतले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गरी सो आयोगको सुझावलाई कार्यान्वयन गरिने बताएका छन् । त्यस्तै नतिजामा आधारित कार्यसम्पादन प्रणाली विकास गरी सार्वजनिक प्रशासनलाई जवाफदेही र परिणाममुखी बनाइनेछ ।
डेंगुको सङ्क्रमणबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ”, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले भने । उनले अहिले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गरे । “दैनिक पानी परिरहेको छ । पानी जम्मा भई लामखुट्टेले फुल पार्दछ”, उनले भने “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ । डेंगुको सङ्क्रमणबाट बच्न सरसफाइ गर्न आवश्यक छ ।” रोग नियन्त्रण शाखाका प्रमुख डा. दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेंगु देखिएकामा ८८ जनाको मृत्यु भएको थियो । गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेंगुको सङ्क्रमण देखिएको छ । मन्त्रालयले हरेक शुक्रबार डेंगी विरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरिपरि सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेको हो । सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको सङ्क्रमण देखिँदै आएको छ । मन्त्रालयका अनुसार सन् २००६ मा ३२, सन् २०१० मा नौ सय १७, सन् २०१३ मा छ सय ८६, सन् २०१६ मा एक हजार पाँच सय २७, सन् २०१७ मा दुई हजार एक सय ११, सन् २०१८ मा आठ सय ११ र सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२० मा पाँच सय ३० र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणसँग आज पनि बयान
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ । गत बिहीवार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमवारबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ । सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिएपछि खाँण सो प्रकरणमा तानिएका हुन । साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।
नक्कली नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ
काठमाडौं । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिए । उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता दिएको बताए। भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको उनले बताए। उनले पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको बताए। बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेको एसएसपी मनोज केसीले बताए। एसएसपी केसीले उनीहरूलाई शनिवार काठमाडौंको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताए। नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको उनले जानकारी दिएका छन्। भारतीयहरूले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको बताए। उनले प्रहरीले एउटै प्याटनमा सबै जिल्लाका एकैसाथ अनुसन्धान गरेर सार्वजनिक गरिएको बताए।
मेन्छियामले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
काठमाडौं । वैदेशिक रोजगारीमा रहेको नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँट गरिसकेको मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले सर्वसाधरणका लागि आगामी वैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । अब २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ विक्री बन्द छिटोमा वैशाख ७ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने विक्री अवधि ढिलोमा वैशाख १९ गतेसम्म लम्बिनेछ ।
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
काठमाडौं । अतिकम विकसित राष्ट्रहरू(एलडीसी)को पाँचौं अन्तराष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् । मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’को अध्यक्षको जिम्मेवारी दिएको छ। एकमहिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ। सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारहरूले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज उठाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । सम्मेलनमा अतिकम विकसित, अल्पविकसित र भुपरिवेष्टित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्थाले पैदा गरेका चुनौतीको सामना गर्न र अन्तराष्ट्रिय ब्यापारीक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा जोड दिएका छन्। सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सनले पनि यिनै मुद्दाहरूको कार्यान्वयनमा विशेष जोड दिएको छ। संयुक्त राष्ट्रसंघद्वारा जारी दिगो विकासका लक्ष्य लाई सन् २०३० सम्ममा हासिल गर्ने छलफल समेत सम्मेलनमा भएको छ। सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याएको छ। संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज नेपालले उठाएको छ। सम्मेलनका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवम पदाधिकारीसँग उपप्रधानमन्त्री श्रेष्ठ र नेपाली प्रतिनिधि मण्डलको द्विपक्षीय, बहुपक्षीय छलफल भएको छ। त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
वर्ष प्रशिक्षकको अवार्ड अल्मुताइरीलाई
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष प्रशिक्षकको अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितेका छन् । मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष प्रशिक्षकको घोषणामा राष्ट्रिय टिमका पूर्वप्रशिक्षक अल्मुताइरीले बाँकी चार मनोनीतलाई पछि पारे । वर्ष प्रशिक्षक बनेका अल्मुताइरीले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । वर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अल्मुताइरीसँगै क्रिकेट टिमका पूर्वप्रशिक्षक डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनीत भएका थिए । तेस्तै वर्ष पुरुष खेलाडीको घोषणामा राष्ट्रिय टिमका फरवार्ड अञ्जनले बाँकी चार मनोनीतलाई पछि पारेका छन् । वर्ष खेलाडी बनेका अञ्जनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । वर्ष पुरुषतर्फ अञ्जनसँगै क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, किरण चेम्जोङ र ब्याड्मिन्टनका प्रिन्स दाहाल परेका थिए ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः ४५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । यस्तो छ अर्धवार्षिक समीक्षाको पूर्ण पाठ
ताङ सूडो प्रतियोगितमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान
काठमाडौं । ताङ सूडो प्रतियोगितामा सहभागी हुन आज नेपाली ताङ सूडो टिमका खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनीहरु यही पुष २० गते देखि हुने भारतको नयाँ दिल्लीमा हुने नेपाल–भार ताङ सूडो प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा भाग लिन नेपालका तर्फवाट पाँच जना ताङ सूडो खेलाडीहरु आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रतियोगितामा तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना सहभागी हुनेछन् । प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए । भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए । जि आर फिटनेस सेन्टरले नेपाल पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।
बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु
बैतडी । बैतडीको पाटन १० मा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राती १० बजे पाटन १० डैसीली भन्ने स्थानमा से १ ज ८१६ नं को जीप दुर्घटना भएको हो। दुर्घटनामा जीपका चालक डडेल्धुराका नवदुर्गा गाउँपालिका ५ उकल्लीका ३६ वर्षीय तेजबहादुर साउदको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
१६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलको कति सिट ?
काठमाडौं । प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा छ । अहिलेसम्म नतिजा आएका १ सय ६४ क्षेत्रमध्ये नेपाली कांग्रेसले ५७ क्षेत्रमा जित हासिल गरेको छ । त्यसैगरी, नेकपा (एमाले)ले ४४ सिटमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा १७ सिट प्राप्त गरेर नेकपा (माओवादी केन्द्र)ले तेस्रो स्थान सुरक्षित गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले १० क्षेत्रमा विजय प्राप्त गरी चौथौमा बस्न सफल भएको छ । त्यसैगरी, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात–सात क्षेत्रमा विजयी भएका छन् । त्यसैगरी, लोकतन्त्र समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा एक, नेमकिपा एक, जनमत पार्टी एक र पाँच स्वतन्त्र गरी हालसम्म १ सय ६४ जना उम्मेदवार निर्वाचित भएका छन् । दोलखामा भने मतगणना जारी छ ।
२४ घण्टामा ८४३ नमुना परीक्षण : तीनजनामा संक्रमण, २१ निको
काठमाडौं । नेपालमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोरोना देखिएन ।यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।