खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता जारि

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा छलफल शुरु भएको छ ।

यसअघि बालकोट पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अढाई घण्टा छलफल गरेका कोइराला अहिले बिहान खुमलटार पुगेका हुन ।

खुमलटारमा केही बेर अघिबाट दुबै नेताबीच छलफल भइरहेको छ ।

आसन्न स्थानीय निकायको निर्वाचन तथा एमसिसी सम्झौता र गठबन्धनलगायतका विषयमा दुबै नेताबीच छलफल हुने आँकलन गरिएको छ ।

एमसिसीका बारेमा सत्तारुढ गठबन्धनबीच नै विवाद कायम भएको र गठबन्धन भत्काउन नेकपा एमालेले कसरत गरिरहेको बेला नेता कोइरालाले नेताहरुसँगको भेट तीब्र पारेका हुन ।

ज्योती विकासद्वारा महावीर पुनको आविस्कार केन्द्रलाई १० लाख सहयोग

ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई दश लाख बीस हजार रुपैयाँ सहयाेग गरेकाे छ । शनिबार स्थापनाको १३ औं वार्षिकोत्सवका अवसरमा बै‌कले केन्द्रको “न्यानो नानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको हाे ​। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो। मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको थियाे । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले समारोहको अध्यक्षता गरेका थिए। साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती र संस्थापक शेयरधनी तथा भूतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराईको उपस्थिति रहेको थियो। वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत​ आयोजना गरेको छ । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको छ​। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो। बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपाली​ले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि रु १० लाख २० हजार प्रदान गरेका थिए । कार्यक्रममा अध्यक्ष हरि प्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे। १३ औं वार्षिकोत्सवको अवसरमा बैंकले “ज्योति परिवर्तनकारी कर्जा” नामक कर्जा योजना पनि सार्वजनिक गरेको छ। उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो। वार्षिकोत्सवकै अवसरमा बैंकले शुन्य मौज्दातमा बचत, डिम्याट र मेरो शेयर एउटै खातामा ३ सुविधा भएको ज्योति Smart Savings खाता तथा ज्योति Contanctless Card पनि सार्वजनिक गरेको छ। सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ​। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट​ले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय​ र मुल्य मान्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ​, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

एम्बुलेन्समाथि पहिरो खस्दा एकको मृत्यु, एकजना घाइते

पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

राष्ट्रिय सभामा सरकारले १२ अध्यादेश पेश गर्दै, विपक्षी दलहरुले विवादित अध्यादेशको बिरोध गर्ने

काठमाडौं । राष्ट्रिय सभाको आजदेखि सुरु हुने बैठकमा सरकारले बिभिन्न विषयसँग सम्बन्धित १२ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ । यीमध्ये कतिपय अध्यादेश विवादित रहेका छन् । ् विपक्षी दलहरुले अदालतमा प्रवेश गरेका र अन्य विवादित अध्याधेशहरुको बिरोध गर्ने रणनीति बनाएका छन् । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एमालेका ३२ सांसद छन् । माओवादी केन्द्रका १५ जना सांसद छन् । यस्तै कांग्रेसबाट ७ जना छन् भने जसपाबाट ५ सांसद छन् । एमालेका ३२ सांसदमध्ये २४ सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने ८ सांसद माधव नेपाल पक्षका छन् । सरकारले सभामा प्रस्तुत गर्न लागेका अध्यादेश –संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ –शपथ सम्बन्धी अध्यादेश, २०७८ –नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ –बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ –नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८ –सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ –तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ –फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ –यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ –स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ –कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ –औषधि तेस्रो संशोधन अध्यादेश, २०७८

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, सबै नेतामाथि कार्वाही फुकुवासहित जेठ २ मैं फर्किने निर्णय हुने

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । आगामी शुक्रबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ । नेकपा एकतापछि एमालेमा फर्किएका माओवादी केन्द्रका नेताहरूसमेत नेकपामा हुँदा जुन जिम्मेवारीमा थिए, त्यही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष केपी शर्मा ओली सहमत हुनुभएको हो । गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र उठिरहेको थियो ।

नेपालमा फेरी देखियो कोरोनाको नयाँ भेरिएन्ट

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको हाे । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । जसमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेशन भेटिएको हो ।

यति ग्रुपलाई फाइदा पुग्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज, निकुञ्जभित्र आयोजना निर्माण गर्न रोक

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीपरिषदको अर्को निर्णय पनि खारेज गरेको छ । गत जेठ १३ गते सरकारले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन गर्न दिने गरी कार्यनीति ल्याएकोमा उक्त नीति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । यसै साता सरकारले आगामी बजेटमा व्यवस्था गरिएको ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने निर्णय खारेज गरेको थियो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालासले संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति, २०६५ को दफा ५ संशोधन गर्ने र दफा १५ थप गर्ने मन्त्रिपरिषद्को जेठ १३ को निर्णय कार्यान्वयन नगर्न, नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । उक्त निर्णय खारेज माग गर्दै अधिवक्ता विज्ञानसिंह विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आदेशमा निकुञ्ज, आरक्षभित्र त्यसरी विद्युत् उत्पादन गर्न दिँदा निकुञ्ज ऐन विपरीत हुने र वन्यजन्तु संरक्षणको संवेदनशीलतालाई असर पर्ने भनिएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले यति वर्ल्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिलाई लामटाङ निकुञ्जको भित्रि भागमा विद्युत् उत्पादनको अनुमति दिन मन्त्रिपरिषदबाट कार्यनीति नै संशोधन गराएका थिए । निकुञ्ज र आरक्षको भित्रि भागभित्र पनि ठूला जलविद्युत् आयोजना बनाउन पाउने र त्यसरी विद्युत् उत्पादन गर्न नदी, खोला थुन्दा प्राकृतिक प्रवाहमा १० प्रतिशत पानी छाडे हुने गरी कार्यनीति संशोधन गरिएको थियो । यतिले लामटाङ निकुञ्जको भित्रिभागमा पर्ने स्याफ्रु, बृद्धिम, टिमुरे र लामटाङबाट ३१० मेगावाट क्षमताको (लामटाङखोला रिजर्भवायर) विद्युत् उत्पादन गर्न प्रक्रिया अघि बढाएको थियो । उसले प्रस्ताव गरेको ठाउँ जैविक विविधता र वन्यजन्तुका लागि उपयुक्त भएको स्थान हो ।

भट्टी पसलमा मदिरा सेवन गरेका एकै गाउँका ८ जनाको मृत्यु

सर्लाही । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छत् । यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का गरेका छन् । नेपाल–भारत सीमा दशगजाबाट करिव दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाहरुको मृत्यु भएको हो । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् । अन्य पाँच जना भने पडरिया गाउँका स्थानीयवासी रहेका बुझिएको छ । तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार बिहान मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले जानकारी दिए । मदिरा सेवन गरेका थप तीन जना स्थानीय बिरामी परेका छन् । दुई जना बिरामीको जिल्ला अस्पताल मलङ्गवा र एक जनाको श्रीराम अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । मदिरा पसलका संचालक देवराज कापर आफै पनि बिरामी परेका छन् । चार दिनमा ८ जनाको मृत्यु भएपछि सोमबार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बास्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले मदिरा पसल संचालनमा रहेको गाउँको निरीक्षण गरेको छ । जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाउने तयारी गरिएको बताए । ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त मदिरा सेवन गरेको पाइएको जानकारी दिए । आफूहरुले पटक–पटक मदिरा पसल हटाउन खोजेपनि असफल भएको र अहिले ठूलो मानवीय क्षति हुन पुगेको गाउँपालिका अध्यक्ष साहको भनाई छ ।

कूलदेवताको विषयमा विवादः भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ

महोत्तरी । आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र भतिज उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा लक्ष्मण घाइते भएका थिए । उपचारका लागि काठमाडौँ पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज विवाद र झडपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ । मृतकको शव काठमाडौँमै पोष्टमार्टम (शव परीक्षण) गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

१२ लाखको दाइजो तर ग्यास, चुल्हो र सिलिन्डर नल्याएको भन्दै नवदुलहीमाथि कुटपिट

सर्लाही । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका—६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका—२ का २४ वर्षीय जोगनारायण साहसँग विवाह भएको थियो । विवाह गरेको पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा अनुसार उनलाई खाना पकाउन पठाइएको र खाना बनाउने क्रममा भान्सामा सामग्री माग गरेपछि विवाद भएको स्थानीयवासीले बताएका छन् । घरफर्किएपछि त्यही विषयमा पुनः विवाद शुरु भएपछि श्रीमानसहित परिवारका अन्य सदस्यले आफूलाई निर्घात कुटपिट गरेको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । कुटपिटमा संग्लन अमृताका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य सदस्य भागेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडले बताए । माइतीपक्षले विवाहमा नगद तीन लाख ७५ हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिएको बताएको छ ।

इजलासमा नेकपा एकता भंगको फैसला गर्ने न्यायाधीस श्रेष्ठको सहभागिताबारे उठ्यो प्रश्न

काठमाडौं । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठेको छ । आजको इजलासमा कानुनविद् गोबिन्द बन्दीले र श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका हुन् । श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भंग गर्ने फैसला सुनाएका थिए । त्यसकारण उनको सहभागितालाई लिएर प्रश्न उठेको हो । ‘नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?’,बन्दीको प्रश्न थियो, ‘त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए । विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गरेका हुन् । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकेका थिए । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध ३० रिट दायर भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिटलाई समेत बिहिबार संवैधानिक इजलासमा पठाइएको थियो । पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

काठमाडौं उपत्यकाका २,८२१ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २,८२१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १,७६१ जना, ललितपुरमा ६९४ जना र भक्तपुरमा ३६६ गरी कुल २,८२१ जना कोरोना पुष्टि भएको हो । आज देशभर ७९१४ संक्रमित थपिएका छन् भने १९३ जनाको मृत्युको मृत्यु भएको छ ।

मर्स्याङ्दीमा ट्रक खस्दा दाजुभाईको मृत्यु

बाग्लुङ । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतक दुबैजना दाजुभाई हुन् । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

टेकुमा पीसीआर परीक्षण बन्द

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ । अस्पतालले सूचना निकालेर अर्काे व्यवस्था नभएसम्मको लागि पीसीआर परीक्षण बन्द गरेको जनाएको छ ।

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, प्रस्तावका पक्षमा ९३ मत मात्रै

काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत जुटाउन सकेनन् । प्रतिनिधि सभाको आज बसेको विशेष अधिवेशनको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ मात्रै परेपछि उनी सदनमा अल्पमतमा परेका हुन । प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा १२४ सांसदले हस्ताक्षर गरे । यसैगरी उपस्थित सांसदहरुमध्ये प्रधानमन्त्रीेका प्रस्तावमा भएको मतदानका क्रममा १५ जना सांसद तटस्थ बसेका थिए । आजको मतदानमा २३२ मत खसेको थियो । प्रधानमन्त्री ओलीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आजको मतदानको क्रममा नेकपा एमालेभित्र माधव नेपाल पक्षीय सांसदहरु भने अनुपस्थित भएका थिए । समाजवादी जनता पार्टीले भने मतदानमा ह्विप जारी नगर्ने बताएको थियो । उक्त पार्टीभित्र महन्थ ठाकुर पक्षधर तटस्थ बसेका थिए भने उपेन्द्र यादव पक्षले विपक्षमा मतदान गरेको थियो । सदनमा विश्वासको मत हासिल गर्न असफल भएपछि प्रधानमन्त्री ओली कामचलाउ प्रधानमन्त्री बन्न पुगेका छन् । संविधानको धारा ७६ (२) अनुसार बहुमत प्राप्त गर्न नसकेपछि राष्टपतिले ३० दिनभित्र नयाँ सरकार गठनका लागि पुनः ७६ (२) अनुसार नै दलहरुलाई आव्हान गर्नुपर्ने छ । संसदको अर्को बैठक वैशाख ३० गते बस्नेछ ।

अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

काबुल । अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् । अफगान वायुसेनाको मद्दत समेत लिएर गरिएको त्यस कारबाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ । सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए । तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाई छ । उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै लाग्दा युद्धग्रस्त अफगानिस्तानमा हिंसाका घटनामा लगातार वृद्धि भएका छन् । आगामी सेप्टेम्बर ११ भित्रै अफगास्तिानमा तैनाथ करिब तीन हजार ५०० अमेरिकी सेना र करिब ७ हजार नेटो फौज स्वदेश फिर्ता हुँदैछन् ।