प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, प्रस्तावका पक्षमा ९३ मत मात्रै
काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत जुटाउन सकेनन् ।
प्रतिनिधि सभाको आज बसेको विशेष अधिवेशनको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ मात्रै परेपछि उनी सदनमा अल्पमतमा परेका हुन । प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा १२४ सांसदले हस्ताक्षर गरे ।
यसैगरी उपस्थित सांसदहरुमध्ये प्रधानमन्त्रीेका प्रस्तावमा भएको मतदानका क्रममा १५ जना सांसद तटस्थ बसेका थिए ।
आजको मतदानमा २३२ मत खसेको थियो ।
प्रधानमन्त्री ओलीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक थियो ।
प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।
विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।
आजको मतदानको क्रममा नेकपा एमालेभित्र माधव नेपाल पक्षीय सांसदहरु भने अनुपस्थित भएका थिए । समाजवादी जनता पार्टीले भने मतदानमा ह्विप जारी नगर्ने बताएको थियो । उक्त पार्टीभित्र महन्थ ठाकुर पक्षधर तटस्थ बसेका थिए भने उपेन्द्र यादव पक्षले विपक्षमा मतदान गरेको थियो ।
सदनमा विश्वासको मत हासिल गर्न असफल भएपछि प्रधानमन्त्री ओली कामचलाउ प्रधानमन्त्री बन्न पुगेका छन् ।
संविधानको धारा ७६ (२) अनुसार बहुमत प्राप्त गर्न नसकेपछि राष्टपतिले ३० दिनभित्र नयाँ सरकार गठनका लागि पुनः ७६ (२) अनुसार नै दलहरुलाई आव्हान गर्नुपर्ने छ ।
संसदको अर्को बैठक वैशाख ३० गते बस्नेछ ।
इङ्ग्ल्याण्डमा लकडाउन खुकुलो पार्ने तयारी
लन्डनः बेलायतमा कोरोना संक्रमणदर घटेसँगै हाल जारी तेस्रो चरणको लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । यसअघि पनि गतवर्ष मार्च २३ देखि ३ महिना र नोभेम्बर ५ देखि ४ हप्ता लकडाउन जारी गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आइरहेको सरकारी तथ्यांकले देखाएको छ । हाल देखिएको निरन्तर सुधारका कारण लकडाउन सहज पार्ने उद्देश्यस्वरूप आउँदो मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु खोल्ने घोषणा यसअघि नै प्रधानमन्त्री बोरिस जोन्सनले गरिसकेका छन् । हाल जारी लकडाउन थप सहज बनाउने सम्बन्धमा प्रधानमन्त्री बोरिस जोन्सनले भोलि सोमबार घोषणा गर्ने तयारी गरेका छन् । प्राप्त जानकारी अनुसार लकडाउनलाई ३ तहमा खुकुलो पार्दै लैजाने योजना छ । जसअनुरुप मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु सञ्चालन, दोस्रो चरणमा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालन र तेस्रो चरण अन्तर्गत पब तथा रेष्टुरेन्टहरु सञ्चालन गरिने छ । यसबारेमा अन्तिम निर्णय आज बस्ने कोभिड ओ’ कमिटीले गर्ने बताइएको छ । प्रधानमन्त्रीले भोलि अपरान्ह क्याबिनेट बैठकको अध्यक्षता गर्नेछन् र साँझ लकडाउन सम्बन्धि भावी योजना घोषणा गर्ने कार्यक्रम छ । आगामी जुलाई अन्तसम्ममा बेलायतका सम्पूर्ण वयस्कहरुलाई कोरोना विरुद्धको खोप दिइसक्ने प्रधानमन्त्रीले आजै उद्घोष गरेका छन् । बेलायतमा जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएसँगै संक्रमणमा पनि कमी आएको छ । कोभिडविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने विश्वकै पहिलो मुलुक बेलायतमा हाल फाइजर र एस्ट्रानजेनेका खोप एक करोड ७० लाख बढी वितरण गरिसकिएको डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोसल केयरले जनाएको छ । शनिबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म बेलायतमा एक लाख २० हजार ३६५ जनाकोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ ।
निर्मला पन्तको हत्यामा संलग्नलाई छिट्टै पक्राउ गर्छौः गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न कानुनको पञ्जा नजिक आइसकेको दाबी गरेका छन् । साथै उनले दोषीलाई छिट्टै पक्राउ गरिने बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’
संसद् विघटनविरुद्धको मुद्दामा एमिकस क्यूरीको बहस शुरू
काठमाडौं । संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि एमिकस क्यूरीको बहस शुरू भएको छ । संवैधानिक इजलासमा क्युरी सदस्य बद्री बहादुर कार्कीले बहस सुरु गरेका छन् । एमिकस क्युरी बहसका लागि समय तोकिएको छैन् । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले समयको ख्याल गर्न आग्रह गरेका छन् । ‘एमिकस क्यूरी’लाई नेपाली भाषामा अदालतका सहयोगी भनेर चिनिन्छ । गम्भीर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका विषयमा सर्वोच्च अदालतले विशेषज्ञता भएका कानुन व्यवसायीहरुको राय लिन बेलाबखत ‘एमिकस क्यूरी’ झिकाउने गर्छ । उनीहरुले दिने रायले न्यायाधीशहरुलाई न्याय निरुपणमा सहज हुन्छ । एमिकस क्यूरीले इजलासमा आफ्नो मत जुनसुकै रुपमा दिन पनि स्वतन्त्र हुन्छन् र उनीहरुले बहसनोट पनि पेस गर्छन् । यसरी बहस गर्दा उनीहरुले पारिश्रमिक भने पाउँदैनन् । प्रतिनिधि सभा विघटनको रिट परेपछि सर्वोच्च अदालतले एमिकस क्युरी बोलाएको थियो । सर्वोच्चको आदेशपछि नेपाल बार एसोसिएसनले तीनजना र सर्वोच्च अदालत बार एसोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई मनोनयन गरेका थिए । नेपाल बार एसोसिएसनले बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको थियो भने सर्वोच्च अदालत बार एसोसिएसनले खगेन्द्र अधिकारी र पूर्णमान शाक्यको नाम चयन गरेको छ । एमिकस क्युरीका पाँच जना सदस्यले बहस गरेपछि इजलासले फैसला सुनाउनेछ । यसअघि हिजो रिट निवेदकका तर्फबाट जवाफी बहस भएको थियो ।
काठमाडौं जिल्ला अदालतमा इजलास अधिकृत र फाँटवालाबीच झगडा
काठमाडौं : काठमाडौं जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएको छ । न्यायाधीशकै सामुन्ने भएका कुटपिटमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन् । नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो । अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको हो । अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको बताए । निरौलाले भने, ‘घटना भएको छ । दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन् । सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ । उहाँले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिनुभएको छ । हामी अनुसन्धानका क्रममा छौँ । अनुसन्धान अनुसार दोषीलाई कारबाही हुन्छ ।’ १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएका छन् । निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ । मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए । नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राखेका थिए ।
सुदूरपश्चिम: डेढ वर्षमा जबरजस्ती करणीका ४३६ घटना, पछिल्लो ७ महिनामा मात्रै १२१ बलात्कार, ७० अपराधी अझै फरार
धनगढी । सुन्दर सुदूरपश्चिम भनेर चिनिने सुदूरपश्चिममा बलात्कारका घटना बढेर गएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि यतामात्रै सयौं थप बलात्कारका घटना सार्वजनिक भएका छन् । कतिपय घटना गाउँमा नै गुपचुप हुने हुँदा यो संख्या बढन सक्छ । नेपाल प्रहरीको तथ्यांकलाई आधार मान्ने हो भने सुदूरपश्चिममा पछिल्लो डेढ वर्षमा जबरजस्ती करणीसम्बन्धी ४ सय ३६ घटना भएको भएका छन् । यीमध्ये तीन जनाको बलात्कारपछि हत्या भएको छ। प्रहरीको जानकारीमा आएका यी घटनाहरुमा संलग्न रहेको आशंकामा हालसम्म ४ सय ४८ जनालाई पक्राउ गरिए पनि ७० जना अझै फरार छन्। यस प्रदेशमा पछिल्लो सात महिनामा मात्र एक सय २१ जनामाथि बलात्कार भएको प्रहरीको तथ्यांक छ। साढे २ वर्षअगाडि कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि विभत्स हत्या भएको थियो। २०७५ साउन ११ कञ्चनपुरको भीमदत्त नगरपालिका(१८ निम्बुखेडास्थित ती बालिकाको शव फेला परेको थियो। पोष्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको पुष्टि भयो। घटनामा देशकै उच्च सुरक्षा निकायको टोली अनुसन्धानमा परिचालित भए पनि अझै अपराधी पत्ता लाग्न सकेको छैन। अहिलेसम्म घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ। निर्मलाको न्यायका लागि देश तथा विदेशबाट आवाज उरिहेका छन्। ठाउँठाउँमा आन्दोलन पनि जारी छन्। छोरी गुमाउनु परेकी निर्मलाकी आमा दुर्गादेवी हत्यारा अझै पत्ता लाग्छ कि भन्ने आशमै छिन्। निर्मलाको बलात्कार र हत्या भएको केही दिनमै कैलालीको गौरीगंगा(११ बरही कटानकी १९ वर्षीया माया विकको पनि सामूहिक बलात्कारपछि हत्या भएको थियो। उनको शव जंगलमा अर्धनग्न क्षत(विक्षत अवस्थामा फेला परेको थियो। प्रहरीले मायाका हत्या गर्ने अपराधीलाई केही दिनमै सार्वजनिक गरेर सजाय दिलाएको थियो। यस वर्ष असोज ९ गते बझाङको मष्टा गाउँपालिका(२ की १२ वर्षीया सम्झना कामीको पनि बलात्कारपछि हत्या भयो। उनको बलात्कारपछि त्रिशुलले हानेर सोही ठाउँका २२ वर्षीय राजेन्द्र बोहराले हत्या गरेको थिए। अपराध प्रमाणित भएपछि राजेन्द्र बोहरा सजाय काटिरहेका छन्। अहिले बैतडीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई लिएर न्याय माग्दै नागरिकहरू सडकमा छन्। दोगडाकेदार गाउँपालिका(७ चडेपानीकी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ। घटनाको ११ दिन बिते पनि भागरथी बलात्कार(हत्यामा संलग्नलाई प्रहरीले अझै फेला पार्न सकेको छैन।
सभा सकिएपछि नारायणकाजीको नेतृत्वमा सडक सफा
काठमाडौं । प्रचण्ड–नेपाल पक्षको नेकपाका कार्यकर्ताले जनसभापछि फोहोर भएको सडक सफा गरेका छन् । राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यकर्ताहरुले नै सडक सफा गरेका हुन् । सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक उनीहरूले नै सफा गरेका हुन् ।
माघीको तयारीमा जुटे थारु समुदाय
कैलालीः थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको धनगढी उपमहानगरपालिका–३ का स्थानीयवासी भगतबहादुर चौधरीेले बताए । ‘माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायतका खानाका पकवानहरू खाने चलन रहिआएकाले दाजुभाइहरू त्यसको खोजीमा जुटेका छन्’, उनले भने । विशेषरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका शहरबजार जान थालेका छन् । रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालेका छन् । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान पकाउन स्थानयवासी व्यस्त देखिन्छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए । ‘माघे सङ्क्रान्तिका दिन विशेषगरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गरिन्छ’, अगुवा चौधरीले भने, ‘आशिर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिजहरू घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।’ पश्चिम नेपालको तराईका थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा मनाइने यो पर्वमा विशेषगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गटोलगायतका स्थानीय खानाका पकवान खाने चलन छ । त्यस्तै माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए पनि यस वर्ष भने कोरोनाको सङक्रमणका कारण खासै मेला महोत्सवको तयारी खासै गरिएको देखिँदैन ।
६ वर्षीया बालिका हत्या प्रकरणः महोत्तरीमा गोली चल्यो
महोत्तरीः बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधका क्रममा गोली चलेको छ । प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते छन् । घाइते हुनेमा बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम रहेका छन् । कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ । उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । हत्याको विरोधमा स्थानीयले प्रदर्शन गरिरहेका छन् । बालिका हत्याको विरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका–१४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका छन् । यसअघि प्रहरीले स्थानीय बासिन्दालाई तिरवितर पार्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताए । बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाबको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । चकलेट किन्न गएको बेला किराना पसले उनको साहले हत्या गरेका थिए । महोत्तरीमा बिहानैदेखि तनाव, बालिका हत्यागर्नेको घरमा आगजनी, प्रहरीद्वारा दर्जनौ राउण्ड अश्रुग्यास प्रहार
पक्राउ परेका ३१ जना भागे, निकुञ्ज भन्छ– कानूनी दायरामा ल्याउँछौं
चितवनः चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका थिए । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए । उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिए । घटनाअनुसार शनिबार राति १२ः१५ बजे निकुञ्जको भित्री इलाका नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रमा गैरकानूनी तारबार निषेधित कार्य गरेका अभियोगमा तिनलाई पक्राउ गरिएको थियो । उनीहरुले माछा मार्न प्रयोग गरिने निषेधित तियारी जाल प्रयोग गरी राति माछा मार्ने तथा झुप्रा बनाई संवेदनशील क्षेत्रमा बसेर शङ्कास्पद गतिविधि गरेको देखिएपछि पक्राउ गरिएको थियो । अवैध क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको र घटनाका विषयमा जाँचबुझ तथा आवश्यक सोधपुछसमेत गर्न नदिइकन हुलहुज्जत गरी भगाउँदा सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ । गैरकानूनी रुपमा माछा मार्न मात्र नभएर चोरी–शिकारीलाई समेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशङ्का गरिएका १३ डुङगा नष्ट गरिएको सूचना अधिकारी अधिकारीले बताए । पक्राउ परेर भागेकामध्ये दुई जना मध्यविन्दु नगरपालिका–३ का र अन्य २९ जना कावासोती नगरपालिका–१५ का बोटे, माझी र मुसहर छन् । तिनलाई यथाशक्य चाँडो खोजी गरी पुनःकानूनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । सोही क्षेत्रमा केही समय अगाडि चोर–शिकारीले दुर्लभ एकसिँगे गैँडा मारेका थिए । पछिल्लो समय गैँडा मारिने क्रम बढेको छ । चालु आर्थिक वर्ष शुरु भएयता चार गैँडा चोर–शिकारीबाट मारिएको अवस्थामा भेटिएका छन् । निकुञ्जले चोरीशिकार र प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि समिति बनाएर अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा
ताप्लेजुङः प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा ६ स्थित घुन्सामा आइपुगेका छन् । प्रधानमन्त्री सोमबार बिहान साढे ११ ११ बजे काठमाडौंबाट सिधै हेलिकोप्टरमा घुन्सामा आइपुगेका हुन् । उनले घुन्साको पर्यटकीय बस्तीको अवलोकन गर्नेछन् । साथै चीनको तिब्बत र नेपालबीच सीमाक्षेत्र निरीक्षणसहितका कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीले ताप्लेजुङ जिल्लाको उत्तरतर्फको नेपाल र तिब्बतको सीमाक्षेत्र निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेपको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टरमार्फत निरीक्षण गर्नेछन् । प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले यहाँको पर्यटन विकासमा टेवा पुर्याउने योजनालगायतका माग राखेर घुन्सा, फले र ग्याब्लावासीका तर्फबाट संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ ।
कोरोनामुक्त भए भट्टराई दम्पती
काठमाडौं : पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पुष्टि भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । ट्वीटरमार्फत् उनले भनेका छन्, ‘एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ। अतः सबैले नियमित सुरक्षा विधि जारी राखौं! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’ बाबुराम र हिसिला गत कात्तिक ८ गते दुवै संक्रमित भएका थिए ।
चितवनमा काेराेनाबाट थप ५ काे मृत्युु
काठमाडौं । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको उपचारको क्रममा गएराति निधन भएको हो । यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् । कात्तिक १३ गते कोभिड पुष्टि भएका ती पुरुषको पनि उपचारका क्रममा गएराति नै निधन भएको हो । यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै भरतपुर अस्पतालमा एक जना धादिङ र एक जना चितवनका गरी दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कप्तान कोहलीले बनाए नयाँ कीर्तिमान
काठमाडौं : रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी-२० क्रिकेटमा ९ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । आज यूएईमा जारी आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध १० रन बनाएसँगै विराटले यो उपलब्धि हासिल गरे । उनी अब भारतका लागि टी-२० मा ९ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । यो रन उनको आईपीएलसहित लिग र अन्तर्राष्ट्रिय म्याचको हो । हालसम्म टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान भने क्रिस गेलको नाममा छ । उनले अहिलेसम्म १३ हजार २ सय ९६ रन बनाएका छन् । त्यस्तै, यो सूचीको दोस्रो स्थानमा किरण पोलार्डको नाम आउँछ । उनले हालसम्म टी-२० मा १० हजार ३७० रन बनाएका छन् । त्यस्तै, सोयब मलिक (९९२६), ब्रेण्डन म्याक्लम (९९२२), डेविड वार्नर (९४५१) र आरोन फिन्च (९१४८) क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौँ स्थानमा छन् । विराटले हालसम्म टी-२० मा ५ शतक र ६५ अर्धशतक बनाएका छन् ।
आईपीएल : पाँचौ म्याचमा पनि सन्दीपले पाएनन् मौका
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । स्पिनर अमित मिश्रा घाइते भएकाले आज सन्दीपले मौका पाउने अनुमान गरिए पनि दिल्लीले उनलाई प्लेइङ-११ मा समेटेन । योसहित जारी सिजनमा सन्दीपले लगातार पाँचौ पटक प्लेइङ-११ मा मौका नपाएका हुन् । आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडा र एनरिक नोर्कियाले मौका दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले आज एक खेलाडी परिवर्तन गरेको छ । उसले अमित मिश्राको स्थानमा अक्क्षर पटेललाई मौका दिएको छ । आरसीबीले आज २ खेलाडी परिवर्तन गरेको छ । उसले एडम जम्पा, गुरकीरत सिंहलाई विश्राम दिँदै मोइन अलि र मोहम्मद सिराजलाई मौका दिएको छ । आरसीबीको प्लेइङ-११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिविलियर्स (विकेटकीपर), मोहम्मद सिराज, शिवम दुबे, ईसुरु उडाना, वाशिङटन सुन्दर, नवदीप सैनी, मोइन अलि र युजवेन्द्र चहल । दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, श्रेयस अय्यर (कप्तान) ऋषभ पन्त (विकेटकीपर), शिमरोन हेटमायर, मार्कस स्टोइनिस, हर्षल पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा, अक्क्षर पटेल र अनरिक नोर्किया ।
अफगानिस्तानमा बम आक्रमण, जिल्ला प्रमुखको मृत्यु
काबुल : अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ । आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो । हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराएका छन् । उनले तालिबानीहरूले गरेका बम आक्रमणमा परी उनको ज्यान गएको जानकारी दिए । रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहनुभएको जानकारी गराइएको छ । प्रान्तीय गभर्नर जवाकले उक्त जिल्लामा रहेका अर्का कानुनी अधिकारी पनि नराम्ररी घाइते भएको जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमलाई दिएका छन् । पछिल्ला केही दिनहरुमा उक्त क्षेत्रमा तालिबानीले बम हमलाका घटना गराइरहेका छन् । अफगान सरकार र तालिबानीकाबीचमा कतारको दोहामा हालै वार्ता सुरु भएको बताइएको थियो । तर, यता अफगानिस्तानमा भने तालिबानीहरुले भने हिंसात्मक हमला जारी नै राखेका छन् । एजेन्सी