आईपीएल : पाँचौ म्याचमा पनि सन्दीपले पाएनन् मौका

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् ।

स्पिनर अमित मिश्रा घाइते भएकाले आज सन्दीपले मौका पाउने अनुमान गरिए पनि दिल्लीले उनलाई प्लेइङ-११ मा समेटेन ।

योसहित जारी सिजनमा सन्दीपले लगातार पाँचौ पटक प्लेइङ-११ मा मौका नपाएका हुन् ।

आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडा र एनरिक नोर्कियाले मौका दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले आज एक खेलाडी परिवर्तन गरेको छ । उसले अमित मिश्राको स्थानमा अक्क्षर पटेललाई मौका दिएको छ ।

आरसीबीले आज २ खेलाडी परिवर्तन गरेको छ । उसले एडम जम्पा, गुरकीरत सिंहलाई विश्राम दिँदै मोइन अलि र मोहम्मद सिराजलाई मौका दिएको छ ।

आरसीबीको प्लेइङ-११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिविलियर्स (विकेटकीपर), मोहम्मद सिराज, शिवम दुबे, ईसुरु उडाना, वाशिङटन सुन्दर, नवदीप सैनी, मोइन अलि र युजवेन्द्र चहल ।

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, श्रेयस अय्यर (कप्तान) ऋषभ पन्त (विकेटकीपर), शिमरोन हेटमायर, मार्कस स्टोइनिस, हर्षल पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा, अक्क्षर पटेल र अनरिक नोर्किया ।

उपत्यकामा ह्वात्तै बढ्याे कोरोना, स्वास्थ्य मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्थिति अप्ठ्यारो रहेको भन्दै कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्न आग्रह गरेका छन् । उनले छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गरे । काठमाडौंमा पनि कोरोना संक्रमण वृद्धि भइरहेको भन्दै उनले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको बताए । ‘औषधि र भेन्टिलेटरले उपचारमा सहयोग मात्र गर्ने हो, संक्रमण बढ्दै गएमा हाम्रो अस्पतालले धान्न सक्दैन’ उनले भने, ‘त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ लागु गर्नुपर्यो ।’ मन्त्रालयले भारतीय सीमासँग जोडिएका जिल्लाहरूमा संक्रमण बढेको भन्दै ती ठाउँहरुमा सम्बन्धित निकायलाई सावधानी अपनाउन अपिल गरेको छ । लकडाउन खुकुलो भएसंगै देशभरलगायत उपत्यकामा ह्वात्तै बढेको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या ८७५ पुगेको छ । उपत्यकामा झन् भयावह बन्दै कोरोना, कहाँ कति पुगे संक्रमित ?

सरिता गिरीबारे अन्सारीले दिएको अभिव्यक्तिप्रति आयोगद्वारा खेद प्रकट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले यही असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकामा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् । आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ, दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ, आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो, तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक छ, तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’ संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गर्न लागिएको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनेको प्रति आयोगले खेद प्रकट गरेको हो ।

अष्ट्रेलियाको मेलबर्नमा ६ हप्ते लकडाउन सुरू

मेलबर्न : कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुने गरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा संक्रमण देखिएको थियो । यस राज्यमा अरु राज्यबाट हुने आवातजावतमा पूर्ण रुपमा प्रतिबन्ध समेत लगाइएको छ । लकडाउनको सम्भावना रहेसँगै छिमेकी राज्य न्यू साउथ वेल्सबाट मानिसहरु बुधबार ठूलो संख्यामा भिक्टोरिया प्रवेश गरेका छन् । प्रहरीका अनुसार ३६ घण्टाभन्दा कम अवधिमा ३० हजारभन्दा बढी कार भिक्टोरिया प्रवेश गरेका छन् । यसबाट भिक्टोरियाका अरु क्षेत्रमा पनि कोरोनाभाइरसको संक्रमण अरु बढ्ने खतरा औंल्याइएको छ । न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज बेरेजीक्लियानले सीमावर्ती शहर अल्बरीमा दुई जना नयाँ संक्रमित भेटिएको जनाउँदै अन्य राज्यको भ्रमण गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिए । क्विन्सल्यान्ड राज्यले पनि बिहीबार भिक्टोरियाबाट हुने आवागमनलाई निषेध गरिएको घोषणा गरेको छ । क्विन्सल्यान्डले यसअघि अन्य राज्यबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने नियम पनि हाल स्थगित गरेको जनाएको छ । मेलबोर्नमा लकडाउनका कारण उत्पन्न हुनसक्ने आर्थिक तथा मानसिक स्वास्थ्यमाथिको असरका बारेमा चासो र चिन्ता व्यक्त हुन थालेको छ । अधिकारीहरुका अनुसार यस लकडाउनबाट राज्यमा करिब ४ अर्ब २० करोड डलर बराबरको आर्थिक क्षति हुनेछ । मेलबोर्नमा रेस्टुराँ र क्याफेहरु आंशिक खुल्न दिइने छ, तर जिम, सौन्दर्य सैलुन र चलचित्र प्रदर्शनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । आम मानिसलाई घरभित्रै बस्न भनिएको छ, तर कार्यलयका काम, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा अत्यावश्यक सामान खरिद गर्नेगरी काममा निस्कन दिइने छ । सरकारले कडा नियम घोषणा गरे पनि धेरैजसो मानिसले प्रतिबन्धहरुको स्वागत गरेका छन् । मेलबोर्नमा सरकारी स्वास्थ्य अधिकारीहरु मानिसको स्वास्थ्य परीक्षणका लागि अहिले घरघरमा पुगेका छन् । अस्ट्रेलियामा हालसम्म कोविड-१९ बाट करिब ९ हजार व्यक्तिमात्र संक्रमित भएका र १०६ जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यबाहेक अस्ट्रेलियामा ज्यादै न्यून संख्यामा संक्रमित भेटिएका छन् । अधिकांश संक्रमित व्यक्तिहरु विदेशबाट फर्किएका र होटलमा क्वारेन्टिनमा बसेकाहरू रहेका छन् ।

सिन्धुपाल्चोक पहिरोः राजमार्ग अवरुद्द हुँदा उद्धारमा समस्या, हेलिकप्टर पनि जान सकेन

मेलम्चीः अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । मृत्यु हुनेमा जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी रहेकी छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ । घाइतेलाई बोकेरै अस्पताल लगिँदैछ । भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउँन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । हेलिकप्टर फिर्ता बाढी पीडित र घाइतेको उद्दारका लागि सिन्धुपाल्चोक आउँदै गरेका सभामुख अग्निप्रसाद सापकोटा धुलिखेलको आकाशबाटै फर्किएका छन् । मौसम प्रतिकुलताका कारण सभामुख सवार हेलिकप्टर धुलिखेलबाट फर्कनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । सडक सम्पर्क टुटेपछि सभामुख सापकोटासहितको टोली हेलिकप्टरमा घटनास्थल आउँदै थियो । उद्धारमा समस्या बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति पुगेको छ । उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु बजार बाढीले अरनिको राजमार्ग अवरुद्द भएपछि उद्धारमा समस्या भएको छ । सडक पुरै बगाएर लगेको छ । गएराति आएको बाढीले सडक सञ्जाल टुटेपछि उद्धारमा समस्या परेको हो । सम्बन्धित समाचारः सिन्धुपाल्चोकमा बाढीको बितण्डाः अहिलेसम्म के–कति भयो क्षति ?

ओली–प्रचण्डबीचको छलफल सकियो, के भयो कुराकानी ?

काठमाडौंः पार्टी विवाद समाधानबारे नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफल सकिएको छ । पार्टीमा देखिएको विवाद समाधनका लागि ओली–प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । वार्तामा पार्टीमा देखिएको विवाद, पार्टी एकता कायम राख्नेबारेमा छलफल भएको बताइएको छ । तर, सहमति के भयो भन्ने खुलेको छैन । ओली–प्रचण्डबीच सोमबार पनि ‘वान टु वान’ वार्ता भएको थियो । पार्टीभित्र उत्पन्‍न संकट समाधानका लागि भएको वान टु वान छलफल सकारात्मक भएको प्रधानमन्‍त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए। ‘दुई अध्यक्षबीच छलफल सकिएको छ। उहाँहरूबीच छलफल जारी रहन्छ’, उनले भने, ‘बुधबार पनि छलफल गर्ने र स्थायी कमिटी बैठक पनि बस्ने भएको छ।’ गत मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद देखिएको छ । विवाद समाधानका लागि लगातार वार्ता भइरहेका छन् । तर, हालसम्म कुनै सहमति हुन सकेको छैन । सहमित खोज्ने भन्दै सोमबारका लागि बोलाइएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारसम्ममा सहमति गर्ने गरि नेकपामा छलफल शुरू भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन

सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा निधन भएको हो । उनी एक महिनाअघि उपचारका लागि काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा भर्ना भएका थिए । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई गाउँ फर्काइएको थियो । शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

यस वर्ष विवाह साइत १८ दिन मात्रै, युवायुवती प्रभावित हुने !

काठमाडौंः वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा पनि उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा यी सबै लग्न सकिनेछन् । गत चैत ११ गतेदेखि कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेको छ । वैशाख २५ गतेपछि पनि बन्दाबन्दी बढ्ने सम्भावना हुनसक्छ । पहिलो महिनामा दिइएको वर्षकै सबैभन्दा बढी विवाहको लग्न बन्दाबन्दीमै सकिने भएपछि यो वर्ष लगनगाँठो कस्ने योजना बनाइरहेका युवायुवती प्रभावित हुने भएका छन् । यसैगरी जेठको ४, ५, १० र ३१ गते गरी चारवटा लग्न छ । असारमा ११, १३ र १४ गते तीनवटा मात्र लग्न छ । मङ्सिरको १६, २१, २२ र २६ गते गरी चारवटा मात्र लग्न निस्किएको समितिले जनाएको छ । यस वर्ष मङ्सिरपछि विवाहको लग्न छैन । माघ र फागुनमा बृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लग्न ननिस्किएको अध्यक्ष गौतमले सुनाए । यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ । यसैगरी माघ ४ गते आइतबार बृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउने छ । माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि विसं २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत ननिस्किएको समितिले जनाएको छ । यसैकारण चैतमा व्रतबन्धको साइत पनि छैन । बृहस्पति (गुरु), शुक्र अस्त भएका बेला गृहप्रवेश, घर निर्माण आरम्भ (गृहआरम्भ), सप्ताह श्रवण, यज्ञयागादिलगायत शुभकर्म पनि गर्नुहुँदैन । ‘गुरु, शुक्र अस्तका बेला नित्यरूपमा गरिने पूजा, पाठ, जप आदि गर्नुहुन्छ, यसैगरी नैमित्तिक रूपमा गरिने श्राद्ध, काजक्रिया, बालक जन्मँदा जातकर्म गर्नुहुन्छ, कुनै फलको कामना राखेर गरिने काम्य कर्म गर्नु हुँदैन, यसैले विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहारम्भको साइत नदिइएको हो’, उनले भने । विगत वर्षमा माघ र फागुनमा समेत विवाहको मुहूर्त हुन्थ्यो । महिनाका हिसाबले माघ र फागुन विवाह गर्न हुने नै महिना हुन् । गत वर्ष विसं २०७६ मा भने विवाहका ६६ लग्न थिए । व्रतबन्धका चार मुहूर्त यसैगरी यस वर्ष व्रतबन्धको मुहूर्त पनि चार वटा मात्र छ । वैशाख २१ र २२ गते, जेठ १२ एवं असार ११ गतेमा मात्र व्रतबन्धको लग्न जुरेको समितिका सदस्य सचिव एवं पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । गत वर्ष भने व्रतबन्धका साइत १२ वटा थिए । गत वर्षहरुमा माघ, फागुन र चैतमा पनि व्रतबन्धका मुहूर्त दिइएको हुन्थ्यो । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, आश्विन शुक्ल पक्षको नवरात्र, मार्गशीर्ष पञ्चमी अर्थात् विवाह पञ्चमी र माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिन साइत नभए पनि विवाह गर्न हुने भन्ने धारणा शास्त्रीय नरहेको पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताए । यी दिनमा पनि विवाह, व्रतबन्धजस्ता शुभकर्मको साइत जुर्ने भए पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिने गरेको जानकारी पनि उनले जानकारी दिए । रासस

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य आरोपी १५ वर्षपछि पक्राउ

काठमाडौंः पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकजनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमवहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलवार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधिस दण्डपाणी लामिछानेको ईजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी फरार रहेका थिए । जिल्ला अदालतका सुचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाइ जिल्ला अदालतमा उपस्थिती गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्धा जगाई मंगलवार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिए । हत्या आरोपित खड्कालाई कैलाली जिल्लावाट पक्राउ गरि अड्डासार गर्दै दैलेख ल्याईएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले बताए । जिल्ला अदालत दैलेखले २०७१ मंसीर २१ गते फरार भनिएका खड्कासहित ४ जनालाई हाजिर भएका वा पक्रिएका वखत वा अवधी पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए । लामो खोजीपछि बल्ल २०६५ को वर्षायाममा नौमुले गाउपालिकामा पर्ने साविकको द्धारी गाविस–१ स्थित नेरा निमावि नजिकको जंगलवाट पत्रकार थापाको कंकाल फेला परेको थियो ।

एकैपटक मुम्बईका ५ खेलाडीले पाए राष्ट्रिय टिममा माैका

काठमाडौंः न्यूजिल्याण्ड ‘टूर’मा भारतीय टीममा ५ मुम्बईका खेलाडी छनोट भएका छन् । मंगलबार राति भारतीय कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जारी गरेको १६ सदस्यीय टीममा मुम्बईमा बस्ने ५ खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा टीमका उपकप्तान रोहित शर्मा, पृथ्वी शा, श्रेयस अय्यर, शिवम दुबे र शार्दुल ठाकुर रहेका छन् । यी ५ खेलाडीले घरेलु क्रिकेटमा मुम्बईका लागि खेल्ने गर्छन् । यद्यपी उनीहरु इन्डियन प्रिमियर लिग (आइपीएल) मा भने अलग–अलग टीमबाट खेल्ने गर्दछन् । रोहित मुम्बई इन्डियन्स, पृथ्वी, अय्यर दिल्ली क्यापिटल्स, शिवम रोयल च्यालेन्जर्स बैंग्लोर र शार्दुलले चेन्नई सुपर किंग्सबाट आइपीएल खेल्ने गरेका छन् । राष्ट्रिय टीममा मुम्बईका ५ खेलाडी अटाएको भन्दै मुम्बई क्रिकेट एसोसियशनले खुसी व्यक्त गरेको छ । मुम्बईका अलवा न्यूजिल्याण्डसँगको वानडे सिरिजमा दिल्लीका ३ खेलाडी पनि अटाएका छन् । दिल्लीबाट टीममा विराट कोहली, ऋषभ पन्त र नवदीप सैनी रहेका छन् । न्यूजिल्याण्ड र भारतबीचको तीन खेलको एकविदसीय सिरिज ५ फेब्रुअरीदेखि सुरु हुनेछ । न्यूजिल्याण्डविरुद्ध वानडे सिरिज खेल्ने भारतीय पूरा टीमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), पृथ्वी शा, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे,  ऋषभ पन्त (विकेटकीपर), केदार जाधव, शिवम दुबे, कुलदीप यादव, युवेन्द्रद्र चहल, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर ।

१४ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौंः बालिका बलात्कारको आरोपमा सिरहाबाट एक युवक पक्राउ परेका छन्। धनगढीमाई नगरपालिका-१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार यादवले गएको मंगलबार राति ८ बजे स्थानीय १४ वर्षीया एक बालिकालाई बलात्कार गरेका थिए। ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट पुगेको प्रहरी टोलीले आरोपी यादवलाई पक्राउ गरेको हो। यादवलाई ईलाका प्रहरी कार्यालयमा लहानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुलेमानीकी छोरीले भनिन्, ‘तिम्रा दुःखका दिन आए ट्रम’

अमेरिकाद्वारा इराकमा मारिएका इरानी जर्नेल कासिम सुलेमानीकी छोरीले अमेरिकाले छिट्टै ‘कालो दिन’ भोग्नुपर्ने बताएकी छन् । तेहरानमा सुरू भएको शवयात्रालाई सम्बोधन गर्दै जेनव सुलेमानीले अमेरिकाको दुःखका दिन आएको बताएकी हुन् । पिताको शवको सामुन्‍ने उभिएर उनले भनिन्,‘बहुलठ्ठक ट्रम्प १ मेरो बुबाको शाहदतसँगै सबै कुरा सकियो भन्‍ने कदापि नठान ।’ इरानले हत्याको बदला लिने चेतावनी दिइसकेको छ। ठूलो संख्यामा शोकसन्तप्त इरानीहरू भेला भएका कारण तेहरानको सडक भरिएको छ। मानिसहरू रोइरहेको दृष्य देखिएको छ। सुलेमानीको तस्वीर बोकेका उनीहरूले अमेरिकालाई सत्तोसराप गरेका छन्। इरानका सर्वोच्च नेता अयोतोल्लाह खमेनीले सुलेमानीको चीरशान्तिको कामना गरेपछि शोकसभामा सुरू भएको थियो। शोकसभापछि सोमबारै शवलाई सिया इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कोम लगिनेछ। मंगलबार गृहनगर कर्मानमा उनको अन्त्येष्टी गरिने एजेन्सीहरूले जनाएका छन्। इरानले सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासका ५२ जनालाई ४४४ दिनसम्म बन्धक बनाएको थियो। त्यसैको संकेतका रुपमा ट्रम्पले ५२ स्थानुलाई निशाना बनाउने चेतावनी दिएका हुन्।

पीपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै चितवन, करन केसी ओपनिङमा!

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्ग चितवन राइनोजविरुद्ध काठमाडौं गोल्डेन्स वारियर्सले टस जितेर बलिङ रोजेको छ । काठमाडौं–चितवनबीचको खेल पोखरा रंगशालामा भइरहेको छ । चितवनमा पारस खड्का र काठमाडौंमा ज्ञानेन्द्र मल्ल कप्तान छन् । आजको खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘प्ले अफ’मा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं ‘प्ले अफ’मा पुग्ने छ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्ने छ ।

भारतलाई दोस्रो झड्का, पन्त शून्यमै आउट!

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतीय टिमले दोस्रो विकेट गुमाएको छ । भारतले दोस्रो विकेटका रुपमा ऋषभ पन्तलाई गुमाएको हो । उनी १२.२ ओभरमा शून्य रनमा किरण पोलार्डको बलमा क्याच आउट भए । अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका पन्तले आज भने २ बलमा खाता नखोल्दै मैदान बाहिरिए । यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर रोहित शर्मालाई ७१ रनमा गुमाउन पुग्यो । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म १३ ओभरमा २ विकेट गुमाएर १ सय ४२ रन बनाएको छ । तीन खेलको सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् । पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो । सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८।३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

माल्दिभ्सविरुद्ध नेपालाई पहिलो झड्का, पारस सस्तैमा आउट

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पारस खड्कालाई ११ रनमा गुमाएको हो । उनी १.६ ओभरमा ‘क्याच आउट’ हुने पुगे । आज नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ । नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

सरकार र मेडिकल कलेजको सहमतिप्रति विद्यार्थी असहमत

काठमाडौंः चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले सरकार र मेडिकल कलेजबीच भएको सहमतिप्रति असहमति जनाएका छन् । सरकार र मेडिकल कलेजबीचको सहमति विद्यार्थी हितविपरीत भएको भन्दै विद्यार्थीले असहमति जनाएका हुन् । मेडिकल शिक्षामा झन्डै ५ हजार विद्यार्थी अध्ययनरत छन् । उनीहरू अबको आन्दोलन राजधानी केन्द्रित हुने भन्दै त्यसका लागि छलफलमा समेत जुटेका छन् । चिकित्सा शिक्षा संघर्ष समिति प्रवक्ता सुजन कडरियाले सरकार र मेडिकल कलेजबीचको सहमति विद्यार्थी हितविपरीत भएको आरोप लगाए । चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थी, सरकार र निजी मेडिकल कलेजबीचको दुईबुँदे सहमतिले एमबीबीएस र बिडिएस अध्ययनरत विद्यार्थीको आंशिक माग सम्बोधन भए पनि सबै पूरा हुन नसक्ने बताएका छन् । सरकार–मेडिकल कलेज सम्झौतापत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने उल्लेख छ । सरकारले विद्यार्थीसँग छलफलै नगरी मेडिकल कलेजलाई फाइदा हुनेगरी सहमति गरेको संघर्ष समिति प्रवक्ता सुजन कडरियाको आरोप छ । शुल्क विरोधमा आन्दोलन थालेको २०७३/७४ ब्याचलाई सरकारले नसमेटेको विद्यार्थीको दाबी छ । एमबीबीएस र बीडीएस तह पहिलो र दोस्रो वर्षको शुल्क समायोजन सहमति अपरिपक्व भएको संघर्ष समितिले जनाएको छ । निर्णयमा नर्सिङ, फार्मेसी, बीपीएच, बीएमआईटीलगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषय नसमेटिएको विद्यार्थीले बताउँदै आएका छन् । सहमतिमा ‘आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको’ छ भने ‘२०७२/७३ र २०७३/७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने’ उल्लेख छ । यसैबीच, नेसनल मेडिकल कलेजका १८औं ब्याच प्रथम वर्षका विद्यार्थीले आन्दोलनक्रममा हातपात गर्नेलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गरेका छन् । विद्यार्थीले अझै कलेज प्रशासननिकट नातेदार (सिनियर) विद्यार्थीले प्रशासनकै गेटमा हातपात गरिरहेको आरोप लगाएका छन् । त्यस्तै, १८औं ब्याचका छात्रामाथि पनि हातपात गरेको र ज्यान मार्ने, जिउँदै जलाउने र गाड्नेजस्ता डरधम्की दिएको निवदेनमा उल्लेख छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।