देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै
काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाइँदै छ ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर सहिद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिने सहिदहरूको विशेष सम्झना गरिने दिनका रुपमा सहिद दिवसलाई लिइन्छ ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।
माघ १६ गते सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी सहिद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ । यसैबीच नेपालमा पहिलो सहिद लखन थापालाई मानिन्छ । रासस
अनलाइनबाट सामान किन्दा सचेत हुनु : प्रहरी
काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन् । उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेजरअकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।’ प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।
भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको संख्या ९२ पुग्यो
काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् । गाउँगाउँमा ठूलो संख्यामा घाइते भएको हुनसक्ने तर विवरण आउन नसकेको बताइएकाे छ ।
गण्डकीको लोकसेवा आयोगले माग्यो एकैपटक हजार कर्मचारी(विज्ञापन सहित)
पोखरा । सधैँ कर्मचारी अभावका कारण कार्यप्रगति नभएको गुनासो गरिरहने स्थानीय र प्रदेश सरकारलाई केही राहत हुने भएको छ । गण्डकीको लोकसेवा आयोगले एकै पटक १ हजार भन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेका दरबन्दीमा आयोगले कर्मचारी भर्ना गर्न आवेदन मागेको हो । केही तहमा आन्तरिक बढुवा र केही नयाँ कर्मचारी भर्ना गर्ने तयारी आयोगको छ । १ हजार २ कर्मचारीका लागि आवेदन खुला गरिएको आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहका लागि अधिकृत सातौँ र सहायक पाँचौँ तहका कर्मचारी भर्ना गर्न लागिएको सदस्य कल्पना लम्सालले जानकारी दिइन् । उनका अनुसार विज्ञापन गरिएका पदहरूमा प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू–संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आन्तरिक लेखा परीक्षक सहायक लगायत छन् । मंसिर ५ गतेसम्म आवेदन दिने म्याद छ । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन मिल्ने उनले बताइन् । गण्डकी सरकारले यसअघि नै प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन तथा नियमावली ल्याइसकेको छ । प्रतिस्पर्धामा सबै प्रदेशका नागरिक सहभागी हुन पाउने छन् । विज्ञापन हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
राष्ट्रियसभाको रिक्त हुने पदमा माघको दोस्रो सातासम्म निर्वाचन हुने
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिएका हुन् । उनका अनुसार फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने हुन्छ । आयोगले माघको १०, ११ वा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको छ । यसैगरी, रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिए । त्यस्तै, विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरुको पनि मतदाता नामावलीमा नाम सङ्कलन गर्ने गरी काम अगाडि बढेको बताए ।
सर्यो कतारका अमिरको नेपाल भ्रमण
काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण सरेको छ । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण सारिएको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो । परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने छ । स्रोतका अनुसार अमिर शेख बिन हमाद अल थानीले यसअघिको भ्रमण तालिका भन्दा हप्ता दिन पछि नेपाल भ्रमण गर्ने बताएको छ ।
कोशी सरकारको वैधानिकताको विवाद पूर्ण इजलासमा, आजलाई तोकियो पेशी
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको थियो । न्यायाधीशद्वयले आज सुनुवाइ सकिसकेपछि यो रिटलाई पूर्णइजलासबाट टुंग्याउने निर्णय लिएका हुन् । यसअघि भदौ १५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएको थिएन । त्यसअघि भदौ ७ गते पनि मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो । खतिवडाले विश्वासको मत लिएको प्रक्रिया नमिलेको बताउदै कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल झिकाउन निर्देशन दिएका छन्। मुद्दाको अर्को पेशी आजलाई तोकिएको छ ।
परिवर्तनकारी शक्तिहरुबीच वृहत मोर्चा आवश्यक : देव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका छन् । साम्राज्यवादी देशहरुले युद्ध र समाजवादी देशहरुले शान्तिको नीति अख्तियार गरेको बताए । “विश्व एक ध्रुबबाट दुई ध्रुबमा विभाजित हुन पुगेको छ । साम्राज्यवादी शक्ति तथा देशहरुले युद्धको नीति अख्तियार गरेका छन् भने सामाजवादी देशहरु शान्तिको । परिवर्तनकारी शक्तिहरुबीच वृहत मोर्चाबन्दी आवश्यक भएको छ । अहिलेको आवश्यकता कम्युनिस्टहरुबीच एकता हो” गुरुङले भने । नेपाल जुछे विचार प्रतिस्ठानले सोमबार संवाद डबलीमा कोरियाको ७० औं विजय दिवसको वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रजातान्त्रिक जनवादी कोरिया उत्पीडित राष्ट्रको लागि प्रेरणा बनेको बताए । अहिलेको विश्वको प्रमुख अन्तरविरोध उत्पीडित राष्ट्र र साम्राज्यवादबीच भएको बताउँदै गुरुङले जनतालाई सर्वेसर्वा भन्ने किम इल सुङको जुछे विचार वैज्ञानिक भएको बताए । उत्पीडित राष्ट्र र जनताले साम्राज्यवादी शक्तिहरुसँग लड्न जुछे विचार आत्मसात गर्न आवश्यक रहेको गुरुङले बताए । देश स्वाधिन र आत्मनिर्भर हुन कोरियाबाट सिक्नुपर्ने समेत उनले बताए । कार्यक्रममा नेपालको लागि प्रजातन्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले जनताको शक्तिकै आधारमा आफ्नो देश विजयी भएको बताए । मानले आफ्नो देश जनतासँग एकाकार भएर अगाडि बढेको बताउँदै जनताको शक्तिले नै कोरिया विदेशी हस्तक्षेबाट मुक्त भएर प्रगतिमा अगाडि बढेको बताए । माओवादी केन्द्रका युवा नेता रामदीप आचार्यले जनता एकजुट भए ठूला विजय प्राप्त हुने र देश आत्मनिर्भर हुन्छन् भन्ने कुरा कोरियालीबाट सिक्नुपर्ने बताए । उत्पीडित र बाह्य हस्तक्षेपबाट मुक्त हुन कोरियाली जनताको संघर्ष प्रेरणादायी भएको बताए । कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी, किसान नेता दुर्गाप्रसाद जैसी, बलराम बास्कोटालगायतको उपस्थिति रहेको थियो । नेपाल जुछे विचारका अध्यक्ष नहेन्द्र खड्काको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन शिवहरी खनालले संचालन गरेका थिए ।
शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई आज अदालत उपस्थित गराइदै
काठमाडौं । शरणार्थी प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। आज प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने भएको हो । पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिए पनि अनुसन्धान नसकिएका कारण पुनः म्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो। हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ। शेर्पाको बयान पनि आज लिने तयारी रहेको बताइएको छ।
सरकारले घटायो डिजेल र मट्टीतेलको मूल्यमा १० रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि मंगलबार निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत राखेको छ । अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।
सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, नीति तथा कार्यक्रमबारे छलफल हुने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ । प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्तो दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।
इन्डियन प्रिमियर लिग : बेंगलोरसँग राजस्थानको लज्जास्पद हार
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सलाई सहजरुपले पराजित गरि रोयल च्यालेन्जर्स बेंगलोरले प्लेअफको सम्भावना कायमै राखेको छ । राजस्थानको घरेलु मैदान सवाईमान सिंह स्टेडियममा भएको खेलमा बेंगलोर १ सय १२ रनको फराकिलो अन्तरले विजयी भएको हो । बेंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १० दशमलब ३ ओभरमा अलआउट हुदै ५९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि शिमरन हिटमायरले १९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३५ रन बनाए । जोय रुट १० रनमा आउट हुँदा ४ ब्याटर डगआउट भए ।बेंगलोरका लागि वाईनी पार्नेलले ३ तथा कर्ण शर्मा र माईकल व्रेसवेलले समान २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट १ सय ७१ रन बनायो । बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतकीय ईनिङ खेले । कप्तान फाफले ४४ बलमा ३ चौका र ४ छक्काको सहयोग ५५ रन बनाए । फाफ र म्याक्सवेले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छक्काको सहयोग ५४ रन बनाए । राजस्थानका लागि केएम आसिफ र एडम जाम्पाले समान २÷२ तथा सन्दीप शर्माले १ विकेट लिए । बाह्र खेलबाट ६ जित र ६ हारका साथ बेंगलोर पाँचौं स्थानमा उक्लिएको छ । तेह्र खेलबाट ६ जित र ७ हारका साथ राजस्थान छैटौं स्थानमा झरेको छ ।
पूर्वी चीनको कारखानामा आगलागी ११ जनाको मृत्यु
एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो आगलगी भएको हो । आगलागीमा फसेकाहरुको उद्धार गर्ने क्रममा आज बिहान मृत्यु हुनेको पुष्टि भएको हो । दुर्घटनाबारे अनुसन्धान भैरहेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा सरकारको प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिएको बताएका छन् । आज (शुक्रबार) ७५औँ विश्व स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणलाई व्यावहारिक बनाउन प्राथमिक स्वास्थ्य सेवाको विस्तारमा जोड दिइएको बताएका हुन् । उनले नेपालले स्वास्थ्यसम्बन्धी राष्ट्रिय रुपमा तय गरेका लक्ष्य, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय मञ्चमा गरेका विभिन्न प्रतिबद्धताहरु पूरा गर्न आवश्यक नीति, रणनीति तथा कार्यायोजना बनाई प्रभावकारी कार्यान्वयनमा जोड दिइएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, “स्वास्थ्य जीवनशैलीको प्रवर्द्धन, नसर्ने रोगहरुको नियन्त्रण तथा रोकथाम र महामारी तथा प्रकोपको प्रतिकार्यका लागि स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन निरन्तर लागिपरेका छौँ ।” विगत केही दशकयता स्वास्थ्यका क्षेत्रमा नेपालले अनुकरणीय प्रगति हासिल गरेको उनले बताए । “नेपालमा मातृ तथा बालस्वास्थ्यमा सुधार भएको छ, केही सङ्क्रामक रोगको निवारण गर्न सफल भएका छौँ र नेपाली जनताको औसत आयुमा उल्लेख्य वृद्धि भएको छ”, उनको सन्देशमा उल्लेख गरिएको छ । उनले सामाजिक न्यायसहितको समृद्ध हासिल गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र गुणस्तरीय स्वास्थ्यको नारा र संविधानमा व्यवस्था भएको अधिकारलाई कार्यान्वयन गर्न सकिने बताए । प्रधानमन्त्री प्रचण्डले नेपालले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, कार्यक्रम प्रणाली, संरचना, उपकरण र दक्ष स्वास्थ्यकर्मीको परिचालन र व्यवस्थापनमार्फत स्वस्थ र निरोगी नेपालको लक्ष्य लिएको बताए । “यो लक्ष्य पूरा गर्न हाम्रा संरचनाहरु क्रियाशील छन् । यद्यपि स्वास्थ्य क्षेत्रमा कतिपय उपलब्धि हासिल गरे पनि गुणस्तरीय स्वास्थ्य सेवामा आम जनताको पहुँचका लागि अझै धेरै काम गर्न बाँकी छ”, उनले भने, “स्वास्थ्य संरचनाको सुदृढीकरण, जनशक्ति व्यवस्थापन र सामुदायिक स्वास्थ्यको प्रवर्द्धन जरुरी छ ।” उनले स्वास्थ्यका बाँकी काम पूरा गर्नका लागि सरकारका सबै मन्त्रालय र मातहतका कार्यालय, सरोकारवाला सङ्घसंस्था तथा बहुक्षेत्रीय निकायबीच समन्वय र सहकार्यलाई थप बलियो बनाउन आवश्यक रहेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले जनस्वास्थ्यका क्षेत्रमा हासिल गरिएका सफलतालाई स्मरण गर्दै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्ने अवसरका रुपमा मनाउन सबैमा आह्वानसमेत गरे । नेपालमा पनि ‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
श्रीलङ्काको विप्रेषण आयमा वृद्धि, ५६ करोड अमेरिकी डलर प्राप्त
एजेन्सी । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानषा नानायक्काराले बताए । मन्त्री नानायक्काराका अनुसार अघिल्लो वर्षको सोहि महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८ दशमलव ५ प्रतिशतले अधिक हो । गत जनवरीमा ४३ करोड ७५ लाख तथा फ्रेब्रुवरीमा ४० करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्कको वैदेशिक राजस्वको प्रमख स्रोत हो ।
रामेछापमा बलेरो दुर्घटना : ४ जनाको मृत्यु
काठमाडौं । रामेछापको मन्थली नगरपालिकामा बलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । मन्थली नगरपालिका वडा नम्बर ७ कौछिनीस्थित मानेखोपमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मन्थलीबाट भटौलीतर्फ जाँदै गरेको बा ११ च ५०५३ नम्बरको यात्रुबाहक बोलेरो सडकबाट तल खस्दा उनीहरुको घटानास्थमलै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जेन्सन तामाङ, दानी तामाङ र लाक्पा शेर्पा तथा पहिचान नखुलेकी एक वृद्धा रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मन्थलीको विभिन्न अस्पातालमा उपचार भइरहेको छ । उकालो मोड्मा ब्रेक नलागेपछि बोलेरो सडकबाट तल खसेको प्रहरीको अनुमान छ । बोलेरोमा १५ जना यात्रु सवार थिए । बोलेरो सडकबाट करिब १ सय मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।