अत्तरियामा युवकको हत्या गर्ने मुख्य अभियुक्तसहित ४ जना पक्राउ
धनगढी, माघ ७ । कैलालीको अत्तरियामा गत शनिवार युवक हत्याको मुख्य अभियुक्तसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
शनिवार साँझ अत्तरियामा आयोजित भैरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट फर्किने क्रममा गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टको धारिलो हतियार प्रहार गरी हत्या गर्ने र सघाउनेलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो।
पक्राउ पर्नेका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षीय विनोद ऐरले भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बताए।
डेबिट ऐरले मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखेर भगाएको, मन्जु चौधरी र लोकेश खत्रीले आफ्नो डेरामा लुकाएको आरोपमा पक्राउ गरिएको तिम्सिनाले जानकारी दिए।
उनीहरु चारै जनालाई आइतवार राती धनगढीमा रहेको मन्जु चौधरी र लोकेश खत्रीको डेरामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।
पुरानो रिसइबीका कारण भट्टको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । देशसंचारबाट
कांग्रेस नेता जोशी पार्टीबाट निष्कासित
काठमाडौं, पुष २५ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई पार्टीबाट निष्कासित गरिएको छ । उनलाई पार्टी केन्द्रीय कार्यालयले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो। नेता जोशीले सदरमुकाम दमौलीमा कार्यालयसमेत खोलेर ८ माघमा पार्टीको विशेष जिल्ला अधिवेशन गराउने घोषणा गरेका छन्। पार्टी केन्द्रीय कार्यालयका महासचिव कृष्णप्रसाद पौडेलले तनहुँ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै जोशीको नाम नलिई गत प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका नेताहरू २१ वैशाख २०७५ देखि पार्टीमा नरहेको उल्लेख गरेका छन्। “आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको सदस्यता २१ वैशाख २०७५ देखि नै स्वतः नरहेको जानकारी गराइन्छ,” पार्टीको तनहुँ जिल्ला कार्यसमितिलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ। जोशीले २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका थिए। जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतबाट सजाय पाएको देखिन आएको उल्लेख गर्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो। जोशीकै गतिविधिका कारण कांग्रेस वरिष्ठ नेता पौडेल ६ हजार ४१४ मतान्तरले तत्कालीन एमालेका उम्मेदवार किसनकुमार श्रेष्ठसँग पराजित भएका थिए।
प्रमोदको गीतमा कविता र दिव्यको रोमान्स (भिडियोसहित)
चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्रकुमार पुराजुलीले निर्माण गरेका हुन् । वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् । निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए । हेर्नुहोस् भिडियो-
गायिका पुर्णकला र गायक विरबहादुरको ‘पासपोर्ट’ गीत सार्वजनिक
हजारौ मनभित्रको आशालाई आफनो जन्मभुमिमा छोड्दै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘पासर्पोट’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौं परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ । डम्वरचन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ । जीवनको वास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वरचन्द मगरले बताए । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।
त्यानमेन चोकमा घुमघामः माओको अगाडि घोक्रेठ्याक
कृष्ण बजगाई । बेइजिङको मुटुमा रहेको मिन्जु होटेलबाट बाहिर निस्कियौं । कोलाहालयुक्त सडक हाम्रो अगाडि थियो । गाडीभन्दा साइकलको भिड, साइकलभन्दा मान्छेको भिडले निसासिएको थियो सडक । सैनिक जवान जस्ता अनुसाशित साइकल चालकहरू थिए सडकमा । मानौं ती कुनै साइकल दौड प्रतियोगितामा भाग लिइरहेका छन् । न त गाडीका चर्का हर्न न त साइकलको टिङ टिङ घन्टी ! शान्त नदी जस्तै सलल बगिरहेका गाडी र साइकलको ताँतीलाई एक छिनसम्म हेरिरहेँ । सडकका पेटीमा हामीले पाइला राख्यौं । दुवै पट्टिका पेटीमा मानिसहरूको भिड पनि उस्तै थियो । हामी पनि त्यही हुलमा मिसिएर अगाडि बढ्यौं । ‘हामो गन्तव्य त्यानमेन चोक । अध्यक्ष माओको स्मृति भवन र वरपरका अरु ऐतिहासिक भवन हेर्ने कार्यक्रम ।’ यु फुङ दाइले अघिल्लो दिन नै कार्यक्रमको रूपरेखा सुनाउनु भएको थियो । यु फुङ दाइ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागका पूर्व निर्देशक हुनु हुन्थ्यो । चिन यात्रामा उहाँ मेरो दोभासेका रूपमा हुनु हुन्थ्यो । उहाँ विद्वान् पत्रकार, रेडियोमा मिठो भाषामा नेपाली कार्यक्रम चलाउने प्रस्तोता, समाचार वाचक र सम्पादक । बहुआयामिक व्यक्तित्वलाई दोभासेको रूपमा पाउँदा म गौरवान्वित भएँ । उहाँ मेरो दोभासे भन्ने कुरा बुझेपछि हामी बेइजिङबाट छन्दु जाने जहाजमा बस्यौं अनि मैले उमेरमा मभन्दा निकै जेठा हुनुको फाइदा समेत उठाएँ । त्यसपछि यात्राभर हाम्रो सम्बन्ध दाजुभाइकै रूपमा रह्यो । ‘त्यानमेन चोक हामी बसेको होटेलबाट कति पनि टाढा छैन । पैदलै हिँडेर जाने हो भने करिब पन्ध–बिस मिनेट जति लाग्छ । के गरौं ?’ उहाँले प्रश्न गर्दा मेरो मनकै कुरो सोधे जस्तो लाग्यो । गाडीमा गए मिलिक्कै पुगिन्थ्यो । हिँड्दै गए बाटामा चिनका वास्तविक तस्बिरहरू देख्न पाइन्छ र रमाइलो पनि हुन्छ । त्यसैले पैदलै जाने कुरामा मैले सहमति जनाएको थिएँ । पारिलो घाम लागेको थियो । सडकका दुवै किनाराका हरियालीहरूखुसीयाली मनाइरहेका थिए । फक्रेर हाँसिरहेका फूलहरूले बाटामा सुन्दरता थपेका थिए । सडक पेटीमा हिँडिरहेकी चिनियाँ सुन्दरीहरूलाई त्यही फूल टिपेर दिऊँ दिऊँ लाग्ने मादक वातावरण थियो । अत्यन्त सफा थिए सडक । यस्तो लाग्दथ्यो कि ती फूल र सुन्दरीहरूलाई मैल्याउँछ भनेरै सफा राखिएको होला सडक । त्यत्रा मानव सागरको चलायमान भिड ! कसरी सुरक्षित रहेका होलान् ती कुमारी फूलहरू सडकमा ? पूmलले सिँगारिएको सडक पेटीबाट हिडिरहँदा यु फुङ दाइलाई जिस्क्याउँदै भनेँ– ‘पूmलहरूबाट वासना त आएको छैन नि ! यी फूलहरू प्लास्टिकका हुन् कि साँच्चैका ?’ ‘प्रकृतिको निरन्तरता बेइजिङको सडकमा सधैँ देख्न पाइन्छ ।’ उहाँले कूटनैतिक जवाफ दिनु भयो । ‘यत्राविधि यी फूलहरू मेरै स्वागतका लागि त होलान् नि ?’ पन्ध–बिस मिनेटको यात्रालाई रमाइलो बनाउने मुडमा थिएँ । दाइलाई फेरि जिस्क्याएँ । उहाँले लामै हाँसो छाडनु भयो र भन्नु भयो– ‘यो सबै अक्टोबरमा पर्ने चिनको राष्ट्रिय दिवशको तयारी हो ।’ म सन् १९९४ सेप्टम्बरको अन्तिम सातामा बेइिजिङमा थिएँ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको दुई साताको निमन्त्रणा भ्रमणमध्येको तिब्बतको एक साताको भ्रमण भर्खरै सकेर बेइजिङको सडकमा पाइला चाल्दै थिएँ ।अन्ततः मेरा हरेक जिज्ञासालाई शान्त पार्दै यु फुङ दाइले विशाल ठुलो चोकमा ल्याइपुर्याउनु भयो । चारैतिर चिनयाँ र विदेशी पर्यटकको भिड थियो । ‘अब हामी त्यानमेन चोक आइपुग्यौं’ –यु फुङ दाइले भन्नु भयो । म संसारको सबैभन्दाठुलो तथा फराकिलो चोकमा पाइला टेक्दै थिएँ । त्यस चोकमा एकै पटकमा एक करोड मान्छे अटाउन सक्छन् रे । अहो ! कत्रो फराकिलो चोक ! आजभन्दा तिन सय पचास वर्ष अगाडि बनाइएको रहेछ त्यो चोक । उतिखेरै यति धेरै मानिसहरू अटाउने हिसाबले यत्रो ठुलो चोक बनाएछन् ? भविष्यमा हुने जनसङ्ख्या वृद्धिका बारेमा चिनियाँहरू पहिलेदेखि नै सचेत रहेको कुरा अनुमान गरेँ । उसो त त्यहाँका हरेक चोक, सडक, भवन, ट्रेन स्टेसन लगायत सबै ‘एक्स्ट्रा एक्स्ट्रा लार्ज’ साइजका देखिन्थे । यस्ता निर्माण कार्यलाई सरकारको दूरदर्शी योजनाको रूपमा बुझेँ । त्यानमेन चोकलाई चिनियाँहरूतीर्थस्थल नै मान्दा रहेछन् । गरिबी, शोषण र अत्याचारबाट चिनियाँ जनतालाई मुक्ति दिलाएर आधुनिक चिनको जग बसाल्ने प्रण त्यही चोकबाट भएको हो । त्यानमेन चोकमा उभिएर अध्यक्ष माओले सन् १९४९ अक्टोबरमा जनगणतन्त्र चिनको घोषणा गर्नुभएको थियो । त्यस चोकमा पाइला राख्न चिनियाँहरू लालायित हुँदा रहेछन् । ऐतिहासिक भवन र राज्यसत्ता सञ्चालनको मुख्यालय पनि वरिपरि भएकाले राजनैतिक रूपमा त्यस चोकको विशेष महत्त्व रहेको ठानेँ मैले । ‘त्यानमेन’ शब्दको नेपाली अनुवाद हुँदो रहेछ स्वर्गीय शान्तिको प्रवेश द्वार । चोकको पूर्वपट्टि अवस्थित एउटा प्रवेश द्वारको नामले नै यस चोकको नामाकरण भएको रहेछ । सो प्रवेश द्वारबाट चिनका पुराना सम्राट््को दरबार ‘फरविडन सिटी’ पुगिँदो रहेछ । प्रवेश द्वारमाथि माओको बडेमानको रङ्गीन तस्बिर राखिएको देखेँ । मलाई लाग्दछ माओको सबैभन्दा बढी छापिएको तथा वितरित तस्बिर त्यही होला । माओको ब्याच, रेड बुक र माओका पुस्तक आदिमा सोही फोटो नेपालमै प्रशस्त देखेको थिएँ । त्यसलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने साम्यवाद विरोधी पश्चिमाहरूको झुन्ड देख्दा छक्क परेँ । मलाई लाग्यो कम्युनिस्ट सिद्धान्त मन नपरे पनि माओको लोकप्रियता पश्चिमा मुलुकमा अझै पनि कायमै छ । मैले पनि त्यहाँ केही फोटा खिचेँ । त्यहाँबाट प्रवेश द्वारको दक्षिणतिर लाग्यौं । ढकमक्क फुलेका फूलले चोकको सौन्दर्यमा वृद्धि गरेको थियो । कहिल्यै नदेखिएका विभिन्न जातका फूलहरूले आकर्षित गर्यो मलाई । फूलको नजिकै पुगेँ । फूलमा सुन्दरता थियो तर वासना थिएन । फूलका सुवास गाडीको धुँवामा मिसिएर हराइरहेको थियो । अग्ला अग्ला पोलमा टाँगेका चिनको पाँचतारा अङ्कित राता झन्डाहरू फरफराइरहेका थिए । झन्डाकै छेउमा लस्करै राखिएका पानीका फोहराहरूका जलनृत्यमा एक छिन आँखा रमाए । अक्कासिँदै जाने पानीका फोहराले ती राता झन्डालाई स्पर्श गर्न खोज्ने असफल प्रयास केही बेर हेरेँ । त्यहाँको सुन्दरताले निक्कै बेर अलमल्यायो मलाई । यु फुङ दाइले भन्नु भए अनुसार हरेक बिहान सूर्य उदाउनुभन्दा अगि त्यहाँ विशेष कार्यक्रम हुन्छ । त्यो कार्यक्रम पर्यटकहरूको प्रमुख आकर्षण हुँदो रहेछ । सैनिक टुकडीको सलामी सहित हरेक बिहान सूर्योदयभन्दा अगाडि राष्ट्रिय झन्डा माथि उठाइँदो रहेछ । हरेक ठाउँमा चिनियाँहरूको देशभक्ति र राष्ट्रप्रेम जगाउने कार्यक्रम देख्दा चिन राष्ट्रवादीहरूको देश रहेछ भन्ने लाग्यो । त्यही चोकमा उभिएरै सम्झिएँ पनि–‘हामो देशका विदेशी भक्त केही दलाल नेताहरू र बिकाउ कर्मचारी तन्त्र । अनि कहाँबाट बन्छ त देश?’ पराया मुलुकबाट आफनो देशबारे नराम्रो देख्नु र सोच्नुपर्दा अमिलो मन भयो । त्यहाँबाट निस्केर हामी चोकको दक्षिणपट्टि पुग्यौं । ‘ग्रेट हल अफ द पिपुल्स’ हाम्रो नजिक थियो । त्यहाँ दस हजार मानिस अटाउने क्षमता भएको एउटा विशाल हल रहेछ । अर्को हलमा त पाँच हजारवटा सिट नै रहेछन् । चिनयाँ जन कङ्ग्रेसको भेला त्यहीँ हुँदोरहेछ । चिनको राजनैतिक तथा कूटनैतिक गतिविधि सञ्चालन त्यहीँबाट गरिँदो रहेछ । विश्व राजनीतिको ध्यान तान्ने उक्त भवन हेरिसकेपछि हामी फेरि त्यानमेन चोकमा आयौं । त्यानमेन चोकमा जति वेला पनि चिनियाँ तथा विदेशी पर्यटकको भिड हुँदो रहेछ । थकाइ मार्न त्यस चोकमा एक छिन बसेर हामीले चिनको संस्कृतिका बारेमा कुराकानी गर्यौं । गफ सँगसँगै मेरा नयन चलायमान थिए । झलक्क हेर्दा हामीले उस्तै देख्ने चिनियाँहरूको विविध भेषभूषा, अनुहार र जीवन शैलीको भिन्नता त्यहाँ देखेँ । चिनका विभिन्न प्रान्तका विविध जातिका मानिसहरू र तिनका पहिरनको विविधता देख्दा थाहा लाग्यो नेपाल जस्तै विशाल चिन पनि विभिन्न जातजातिको सुन्दर फूलबारी रहेछ । जुँगा पालेको एक युवा मलाई देखेर मुस्कुरायो । नेपाली नै होला भनेर मैले पनि मुस्कानबाटै जबाफ फर्काएँ । उसले चिनियाँ भाषामा कुरा गरेपछि म अक्क न बक्क भएँ । अङ्ग्रेजी भाषामा के भन्नु भएको हो भनेर सोधेँ । फेरि चिनियाँ भाषामै केही भन्यो । त्यसपछि हाँस्दै यु फुङ दाइले दोभासे भएर संवाद गराइदिनु भयो । त्यो मान्छे त चिनियाँ पो रहेछ ! उसले मेरो जुँगा देखेर उसैको प्रान्तको चिनियाँ ठानेको रहेछ । म पनि झुक्किएर नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने आर्य मूलको मानिस सम्झेको थिएँ । चिनको भ्रमणमा पहिलो पटक हो जुँगा पालेको चिनियाँ भेटेको । उसो त चिनियाँहरूको दाह«ी जुँगा हुँदैन त भन्न मिल्दैन तर हुनेमा पनि साह्रै कमले मात्र दाह्री जुँगा पाल्दछन् । समय लिएर सुरु गर्ने हो भने तिनका दाह्रीजुँगा गन्न पनि सकिन्छ । तर, त्यो मानिसको चेहराको बनौट तथा जुँगा दाह्री हाम्रै जस्तो थियो । मैले यु फुङ दाइसँग ठट्टा गर्दै भनेँ –‘पक्कै पनि त्यो चिनियाँ नेपाली कलाकार अरनिको अर्थात् बलवाहुको सन्तान हुनु पर्दछ ।’ त्यसपछि उहाँ खुब हास्नु भयो । चोकमा आएदेखिनै चारैतिर स्पिकरबाट गीत बजेको सुनिरहेको थिएँ । पहिलेदेखि नै मलाई खुलदुली भइरहेको थियो । यु फुङ दाइलाई सोधँे ‘मधुर आवाजमा यो कुन खालको गीत बजिरहेको छ दाइ ?’ ‘यो देशभक्ति गीत हो’ –उहाँले जवाफ दिनु भयो । चिनियाँहरूको देशभक्ति जतातै पोखिएको र गुन्जिएको थाहा पाएर खुसी लाग्यो । तर मेरो मन एकै छिन नेपाल पुगेर दुःखी भयो । उता नेपालमा सरकारी टेलिभिजन र रेडियोले हिन्दी र अङ्ग्रेजी गीत बजाएर सरकारको पैसा नास गरिरहेको सबैलाई थाहा छ । सरकार हाँक्नेले देश कता लैजादै छन्? सरकारको चाला सम्झेर एक छिन मुरमुरिएँ पनि । हामी बिस्तारै चोकको मध्यभागमा आइसकेका थियौं । त्यानमेन चोकमा सन् १९८९ भएको राजनैतिक प्रदर्शन तथा त्यहाँ भएको घटनाका बारेमा अलिकति कुरा कोट्याएँ । त्यो घटना भएलगत्तै नेपालबाट तत्कालीन नेपाल पत्रकार महासङ्घका सभापति मञ्जुरत्न शाक्य आउनु भएको रहेछ । यु फुङ दाइ नै उहाँको पनि दोभासे हुनुहुँदो रहेछ । त्यस घटनाका बारेमा उहाँले निकै सोधीखोजी गर्नुभएको थियो रे । घटना भर्खरै घटेको, त्यो पनि विदेशी पत्रकारलाई एउटा सरकारी पत्रकारले भन्नुपर्दा डराउनु भयो रे । ‘अफ दि रेकर्ड’ भन्दै उहाँले मसँग चाहिँ खुलेर कुरा गर्नुभयो । उहाँलाई मेरो दोभासेभन्दा पनि नजिकको दाइकारूपमा मानिसकेको थिएँ । हामी दुवै जना ल्हासा, सिगात्से, छन्दु र बेइजिङको भ्रमणमा सँगसँगै घुमेका र सँगै बसेका थियौं । त्योभन्दा पनि पहिले नेपालमै उहाँसँग चिनजान थियो । दोभासे भएर बताउन नमिल्ने कतिपय कुरा दाइको नाताले भन्नु भयो । मैले त्यस घटनाका बारेमा प्रकाशमा नआएका धेरै कुरा थाहा पाएँ । त्यानमेन चोकमा निकै अगिदेखि परैबाट एउटा अग्लो स्तम्भ देखिरहको थिएँ । बल्ल त्यसको हेर्ने पालो आयो । करिब चालिस मिटर अग्लो जननायकहरूको स्मारक सगौरव त्यानमेन चोकमा उभिएको थियो । त्यस स्तम्भमा राखिएको शिलामा अध्यक्ष माओले आफैले कुँदेका हरफहरू रहेछन् । ‘जननायकहरू अमर रहन्छन् ।’ माओले कुँदेका वाक्य यु फुङ दाइले अनुवाद गरेर सुनाउनु भयो । त्यो अनुवाद सुनेपछि मनमा एकखालको तरङ्ग पैदा भयो । माओले आफैं लेख्नु भएको सो वाक्य धेरै शक्तिशाली र मन छुने खालको थियो । चिनियाँ क्रान्तिका योद्धाहरूरुलाई क्रान्ति नायकबाट कति धेरै उच्च सम्मान मिलेको रहेछ त भन्ने कुरा प्रस्ट रूपमा देखेँ । क्रान्ति नायक हुनु त यस्ता ! त्यसको छेउमा एउटा अग्लो भवन थियो । ‘अध्यक्ष माओ स्मृति भवन’ यही हो भनेर यु फुङ दाइले जानकारी दिनु भयो । त्यानमेन चोकमा पर्यटकका लागि सबैभन्दा आकर्षणको केन्द्र भनेको नै माओ स्मृति भवन लाग्यो मलाई । त्यस भवनभित्र चिनियाँकम्युनिस्ट पार्टीको अध्यक्ष माओको पार्थिव शरीर सुरक्षित तवरले राखिएको थियो । त्यो हेर्नलाई सयौं मिटर लामो लाइन लाग्नु पर्ने रहेछ । हामी पनि लाइनमा बस्यौं । क्यामरा लैजान नपाइने, ठुलो स्वरले बोल्न नपाइने आदि कडा नियम बाहिरै सुनाइएको थियो । सम्पूर्ण शरीरको जाँच गरेपछि मात्र भित्र पस्न पाइयो । जिउँदो मान्छेको भन्दा पनि बढी कडा सुरक्षा व्यवस्था देखेर अचम्म लाग्यो । उनको पार्थिव शरीरलाई सेनाले चारैतिरबाट चौबिसै घण्टा पहरा दिएको हुँदो रहेछ । एउटा जिउँदो राष्ट्र प्रमुखलाई भन्दा पनि बढी सुरक्षा ! कस्तो कडा पहरा भने सिधा आँखाले टक्क अडिएर पार्थिव शरीर हेर्नैं नदिने; हिँड्दै हेर्नुपर्ने । मृत शरीरलाई हेर्न पनि के यस्तो कडा नियम ?चिनियाँ जनताका प्रिय नायकलाई उनको जीवन कालमा भेट्न चाहँदा पनि यति कडा सुरक्षा थिएन । त्यस्तो कडा नियम मलाई चित्त बुझेन । नबुझेर के गर्नू ? चुपचाप यु फुङ दाइसँगै लाइनमा बसिरहेँ । लाइनमा बसेका मानिसहरू कछुवाको गतिमा अगाडि सरिरहेका थिए । करिब एक घण्टा जतिमा बल्ल पालो आयो । बिस्तारै हामी माओको पार्थिवशरीर राखेको कोठा भित्र पुग्यौं । नजिकैबाट माओको पार्थिवशरीर देखियो । उनको पार्थिव शरीरलाई एउटा सिसाको बाकसभित्र राखिएको थियो । सिसा जस्तो देखिए पनि त्यो वास्तवमा त्यो सिसा नभएर क्रिस्टल रहेछ । उनको पार्थिव शरीरमाथि कम्युनिस्ट पार्टीको हँसिया हथौडा अङ्कित झन्डा ओढाइएको थियो । झट्ट हेर्दा चिर निद्रामा सुतेका कुनैवेला उठी पो हाल्छन् कि जस्तो लाग्यो । उनको मुखाकृतिमा खुसीको लहर दौडिरहेको देखँे । सायद मरणको समयमा उनलाई कुनै असन्तोष वा पीडा भएन होला । र त, त्यस्तो हँसिलो अनुहार छ । मलाई यस्तै अनुभूति भयो । हामीभन्दा अगाडिका एक जना चिनियाँ युवा माओको पार्थिवशरीरअगाडि पुगेपछि बडो भावविह्वल भए । सुँक्कसुँक्क गर्दै उनको आँखाबाट आँसुका धारा चुहिन थाल्यो र माओलाई एकटक लगाएर हेर्न थाले । मलाई लाग्दछ उनले त्यहाँको नियम बिर्से । पहरा दिइरहेको सैनिकले ठुलो स्वरमा चिनियाँ भाषामा केही भन्यो र तुरुन्तै उनलाई घोक्र्याएर निकाल्यो । माओको ठिक सामुन्ने पुगेर उनलाई धित मरुन्जेल हेर्ने मेरो इच्छा थियो तर त्यहाँको कडा नियम प्रत्यक्ष रूपमा देखेर डराएँ । मेरा हात खुट्टा लुला भए । आँखीभौँ तल दोब्रिए । घोक्र्याइमा परिने पो हो कि भन्ने डर भयो । हतार हतारमा अध्यक्ष माओलाई श्रद्धासुमन अर्पण गरेर फुत्त बाहिर निस्किहालेँ । समकालीन साहित्यबाट साभार
८२ वर्षको उमेरमा बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन
मुम्बइ, पुस १६ । बलिउड क्षेत्रका चर्चित अभिनेता एवं हाँस्य कलाकार कादर खानको निधन भएको छ । कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । केही समय अघिदेखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको हो । ८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए ।कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए । ‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।
नेपालमा पनि अब औषधिको गुणस्तर मानवमा परीक्षण गरिने
काठमाडौं, पुष १३ । नेपालमा पनि औषधिको गुणस्तर मानवमा परीक्षण गरिने भएको छ । यसअघि औषधिको गुणस्तर क्लिनिकल प्रविधि (बायोएस्से) बाट हुने गर्दथ्यो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानले पहिलो पटक बायोइक्युभ्यालेन्स सेन्टर स्थापना गर्नेछ । मानवमा औषधिको गुणस्तर परीक्षणका लागि सोही केन्द्रले आवश्यक तालीम, पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्ने सहमति जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र संस्थानका डिन प्राडा जगदीश अग्रवालबीच सो सहमतिसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर सम्पन्न भयो । केन्द्र स्थापना गर्न विभागले चिकित्सा अध्ययन संस्थानलाई रु पाँच करोड सहयोग प्रदान गर्ने जनाइएको छ । चिकित्सा अध्ययन संस्थानका सहप्राध्यापक एवम् डिपार्टमेन्ट अफ फर्माकोलोजीका प्रमुख डा प्रदीप ज्ञवालीले औषधिको गुणस्तर मानवमा परीक्षण गरिने तयारी भएको जानकारी दिँदै जेनरिक औषधि परीक्षण हुनेछ भन्नुभयो । उनले यसबाट औषधिको गुणस्तर र प्रभावकारिता पत्ता लगाइने जानकारी दिए । रासस
ओली वंश समाजको सुप सम्मेलन सम्पन्न
धनगढी, पुष १० । ओली वंश समाजको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आज मंगलबार कैलालीकाे धनगढीमा सम्पन्न भएको छ । सम्मेलनबाट गणेशराज ओलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित समितिको अपाध्यक्षमा नरबहादुर ओली, महासचिवमा सोमान ओली चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा डम्मरबहादुर ओली, सुनिलकुमार ओली, कृष्ण ओली, पदम ओली र भुपेन्द्र ओली चयन भएको नवनिर्वाचित अध्यक्ष गणेशराज ओलीले बताए । ओली बंश समाजका केन्द्रीय अध्यक्ष हरी ओलीको सभापतित्वमा भएको सम्मेलनको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कमला ओली रहेकी थिइन् । सो सम्मेलनमा प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य उत्तमकुमार ओली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले मन्तव्य राखेका थिए । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा रहेका ओली बन्धुहरू सहभागी रहेको सो सम्मेलनले ओली वंशको प्रचारप्रसार तथा नौ वटै जिल्लामा ओली वंशको समिति गठन गर्ने लगायतका निर्णय गरेको अध्यक्ष गणेशराजले जानकारी दिए ।
तीन कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौँ, पुस १० । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सोमबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ। स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् । स्टकका अनुसार एनएमबी बैंकले दश प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेअनुसार नै प्रतिकित्ता रु ३५१ मा शेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधारमूल्य रु ३७२ रहेको छ । यस्तै स्वावलम्बन विकास बैंकको २५ प्रतिशत शेयर लाभांशपश्चात् प्रतिकित्ता रु ८८६ मा शेयर मूल्य समायोजन भएको छ । स्टकले सो बैंकको औसत आधार मूल्य रु एक हजार ८० कायम गरेको छ । मिर्मिरे लघुवित्तले पनि २४ प्रतिशत शेयर लाभांश दिने निर्णयसँगै आज शेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता रु ९६९ मा रहने गरी शेयर मूल्य समायोजन गरेको हो । सो लघुवित्तको औसत आधार मूल्य रु एक हजार ४४४ रहेको छ । नेपाल हाइड्रोडेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४÷७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ । सो आवमा कम्पनीले रु एक करोड ९७ लाख ७७ हजार नाफा गरेको थियो । रासस
प्रचण्ड भन्छन्, ‘राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन’
चितवन, पुस १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी चितवनले मंगलबार यहाँ आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताए । राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने भन्दै उनले भने, “कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका बिपीको उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लागेका छन् ।” जनताको आस्थालाई अपमान गर्ने कसैको पनि मान्यता नभएको भन्दै अध्यक्ष दाहालले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बताए । उनले भने, “तर राज्य ती विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ, राज्यले भेदभाव गर्नु हुँदैन भन्ने लोकतन्त्रको आधारभूत कुरा हो ।” शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा परिभाषित भएको भन्दै उनले भने, “तर पनि हामीले विकट ठाउँमा उपचारको अभावमा सामान्य भन्दा सामान्य उपचार पनि नपाएर मृत्युवरण गर्नुपर्ने परिघटना अहिले पनि छ ।” कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समाजमा बुढेसकालका मानिसको व्यवस्थापन चुनौती बन्दै गएको बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता पथिक, ईश्वरी भट्टराई र कृष्ण खनाल लगायतले बोलेका थिए । धनकुमारी सुवेदीको श्रीमान्, दुई छोरा र तीन छोरी रहेका छन् । उनको १२औँं दिनको पुण्य तिथिमा कार्यक्रम आयोजना गरिएको हो । रासस
७ वर्षअघि भएकाे थियाे छाेरीकाे बलात्कारपछि हत्या, अझै मरेकाे छैन दाेषी पक्राउ पर्ने अास
कपिलवस्तु — प्रत्येक वर्ष असोज लाग्यो कि आँशु बग्न थाल्छन् । वाणगंगा नगरपालिका ६, बैदौलीकी पहिया थारूको मनमा छोरीको सम्झना गाढा हुन्छ । एकोहोरो बर्बराउँछिन् । भक्कानो फुटेको सुन्ने र देख्ने कोही हुन्न । जाडो बढेपछि छोरीको सम्झना मधुरो हुँदै जान्छ । बल्लतल्ल टाढिन्छिन् । घाउ पुरिंदैन । अर्को साल असोज आउँछ, परिवारमा पीडा बल्झाएर जान्छ । पहियाकी १४ वर्षीया छोरी शिवरानी गाउँ नजिकै आयोजित साँस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् । तर, रातिसम्म उनी फर्किनन् । परिवारले बिहानसम्म बाटो हेरे । दोस्रो दिन छोरीको शव फेला पर्यो । परिवारमाथि बज्रपात खस्यो । उनको ०६८ असोज १३ गते राति हत्या भएको खुल्यो । अर्को दिन बिहान वाणगंगा सिंचाइ आयोजनाको नहरमा शव फेला परेको थियो । ‘राति नआएपछि साथीकोमा बसी होला भन्ने लाग्यो,’ बाबु फुल्चन्दले भने, ‘बिहान शव देखेपछि छाँगाबाट खसेँ, हातखुट्टा लुला भए, सबै गुम्यो ।’ शिवरानी स्थानीय महेन्द्र उमावि कोपवामा ७ कक्षामा पढ्थिन् । प्रहरीले अनुसन्धान क्रममा बलात्कारपछि हत्या भएको ठहर्यायो । इलाका प्रहरी गोरुसिंगेका तत्कालीन निरीक्षक शिशु शर्माले बलात्कारपछि हत्या भएको परिवारलाई जानकारी गराएका थिए । घटनालगत्तै शर्माको सरुवा भएपछि थप अनुसन्धान अलपत्र पर्यो । त्यसपछि घटना अनुसन्धानका लागि प्रहरीले विभिन्न समिति बनाए पनि प्रभावकारी बन्न सकेको छैन । ‘प्रत्यक्ष/अप्रत्यक्ष दबाबका कारण घटनाको राम्रो अनुसन्धान हुन सकेन,’ एक स्थानीयले भने, ‘प्रहरीले निष्पक्ष भएर काम गरे तत्काल दोषी पक्राउ पर्छन् ।’ बाबु फुल्चन्दका अनुसार नहरमा शव घोप्टो पारेर फालिएको थियो । घाँटीमा डोरीको स्पष्ट डाम थियो । हत्याको प्रमाण हुँदाहुँदै पनि संलग्नलाई पक्राउ नगरेको परिवारको दुखेसो छ । गाउँमा अहिले पनि त्रासको माहोल छ । घटनाबारे खुलेआम कुरा गर्न पीडित डराउँछन् । घरभित्र बसेर मात्र कुरा गर्छन् । कारबाही नै भएन : परिवार शिवरानीको परिवार विपन्न छ । उनीहरू कसैविरुद्ध केही बोल्न सक्दैनन् । प्रशासनमा पहुँच छैन । २/३ पटक घटनाका विषयमा छलफल हुँदा गाउँका कोही संलग्न छैनन् भनेर टारियो । उनीहरूको पक्षमा कोही चुइक्कसम्म बोल्दैनन् । ‘हामी एक्लो हुन्छौं,’ शिवरानीका ८० वर्षीय हजुरबुबा पोगेले भने, ‘त्यही भएर सबै चुप छन् ।’ यति ठूलो पीडामा पनि कसैले पक्षमा नबोलेको उनले बताए । ‘यहाँबाट सर्न सकिंदैन,’ उनले भने, ‘त्यसैले चुप लागेर पीडा सहँदै बसेका छौं ।’ यसबारे पटक(पटक कुरा उठ्छ । फेरि सेलाउँछ । ‘हत्यारालाई कारबाही भएको हेर्न मन छ,’ पोगेले भने, ‘त्यसपछि मात्र मर्ने इच्छा छ ।’ उनका अनुसार घटनापछि गाउँका ३/४ जनालाई प्रहरीले पक्राउ गरेर त्यसै दिन छाडेको थियो । त्यसपछि कसैलाई पक्राउ गरेको छैन । कारबाहीको माग गर्दै धेरै निकाय धाए तर जति हारगुहार गर्दा पनि कसैले नसुनेको उनले बताए । अब कारबाही : प्रहरी उक्त घटनापछि कर्तव्य ज्यानको मुद्दा अदालतमा दर्ता गरिएको थियो । प्रतिवादी फेला नपरेको जनाउँदै थप प्रक्रिया अघि नबढाइएको प्रहरी प्रमुख उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताए । ‘म पनि नयाँ आएको हुँ,’ उनले भने, ‘घटना मेरो नोटिसमा परेको छ ।’ इलाका प्रहरी गोरुसिंगेबाट मिसिल मगाएको उनले बताए । ‘गहन रूपले अध्ययन गरी अपराधीलाई कठघरामा पुर्याउँछु,’ उनले भने, ‘पीडितलाई न्याय दिन्छु ।’ पीडितले न्याय नपाउँदा न्याय मरेजस्तो भएको वाणगंगा ६ का वडाध्यक्ष शुकदेव थारूले बताए । जसरी पनि आरोपीलाई पक्राउ गरी मुद्दा अघि बढाउनुपर्ने उनले बताए । कारबाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नुपर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईले बताए । Source: kanripurdaily/Manoj Paudel
नेपाली विद्यार्थी नेपाली विषयमै सबैभन्दा कमजोर !
काठमाडौं, कार्तिक २५ । नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर देखिएको छ । निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि गरिएको एक अनुसन्धानले उनीहरू नेपाली विषयमा औसतभन्दा कमजोर देखिएका हुन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले यो वर्ष गरेको अध्ययनअनुसार नेपाली विषयमा अधिकांश प्रदेशका विद्यार्थीले औसत अंक पनि प्राप्त गरेनन् । चारवटा प्रदेशका विद्यार्थी औसतभन्दा कमजोर देखिएका छन् भने तीनवटा प्रदेशले औसत अंक बल्लतल्ल कटाएका छन् । अध्ययनअनुसार गणितभन्दा पनि नेपालीमा विद्याथी कमजोर छन् । गणितमा तीनवटा प्रदेशले औसत अंक ल्याउन सकेकोमा नेपालीमा चारवटा प्रदेश असफल भएका छन् । विज्ञानमा भने पाँचवटा प्रदेशले औसत अंक ल्याउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकबाट
दक्षिण कोरियाकी महारानी जसका माइती थिए राम
अयोध्यालाई हिन्दूहरूले भगवान् रामको जन्मस्थल मानेर तीर्थस्थलको रूपमा सम्मान गर्दछन् । तर कोरियालीहरूका लागि समेत अयोध्याप्रतिको सम्मान कम छैन भन्दा अचम्म लाग्न सक्छ । धेरै जसो कोरियालीहरूले अयोध्यालाई आफ्ना पुर्खाहरूको मावली ठान्ने गर्दछन् । हाल मात्रै दक्षिण कोरियाकी प्रथम महिला किम जङ-सूकले उत्तर भारतस्थित प्राचीन नगर अयोध्याको भ्रमण गरेकी छन्। केही दक्षिण कोरियालीहरू भगवान् रामको जन्मस्थलका रूपमा परिचित अयोध्यासँग आफ्नो विशेष सम्बन्ध भएको मान्छन्। उनीहरू अयोध्या आफ्ना पुर्खाको मावली भएको विश्वास गर्छन्। सुरिरत्ना नाम गरेकी एउटी भारतीय राजकुमारीको कोरियाका एक राजासँग विवाह भएको किम्वदन्तीहरू कोरियामा सुन्न पाइन्छ। किम्वदन्तीले के भन्छ? राजकुमारी सुरिरत्नाको अर्को नाम हु ह्वाङ-ओक थियो। किम्वदन्तीअनुसार उनी दुई हजार वर्षअघि अर्थात् इस्वी सम्वत् ४८ मा कोरिया गएकी थिइन् र त्यहाँ उनको एकजना राजासँग विवाह भएको थियो। उनीहरूबाटै कारक राजवंश सुरु भएको मानिन्छ। चिनियाँ भाषाका केही ग्रन्थका अनुसार अयोध्याका तत्कालीन राजाले सपनामा भगवान्बाट आफ्नी १६ वर्षीया छोरीलाई कोरिया पठाएर राजा किम सुरोसँग विवाह गराइदिन आदेश पाएका थिए। दक्षिण कोरियाका लोककथाको लोकप्रिय पुस्तक ‘साम्गुङ युसा’ (तीन राज्यका चिनोहरू) मा रानी ह्वाङ-ओक ‘अयुता’की राजकुमारी भएको उल्लेख छ। ती राजा र रानीको ऐश्वर्य फैलियो र उनीहरूका १० छोरा जन्मिए। उनीहरू दुवै जना १५० वर्षभन्दा बढी बाँचे। मानवशास्त्री किम ब्युङ-मोले कोरियाली कथाको ‘अयुता’ उत्तर भारतको अयोध्या नै भएको दाबी गर्छन्। तर ती राजकुमारी साँच्चै अस्तित्वमा थिइन् भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन। बीबीसी कोरियाली सेवाका डेभिड क्यान भन्छन्, “उनको कथा मिथक हो र प्राज्ञहरू त्यसलाई इतिहास मान्दैनन्।” क्यानका अनुसार भारतीय मूलकी कोरियाली रानीबारे विभिन्न कथाहरू र तिनमा कल्पनाशीलताको पर्याप्त प्रयोग भएको छ। कारक राजवंश कोरियामा किम थर सामान्य मानिन्छ। राजा किम सुरो नै किम्हे क्षेत्रमा बसोबास गर्ने किमवंशका पहिलो व्यक्ति हुन् भनिन्छ। बीबीसी कोरियाली सेवाकी मिन्जी ली भन्छिन्, “कोरियामा परम्परागत रूपमा पिताको थर नै सन्तानले राख्छन्। उनको थर आफ्ना सन्तानले प्रयोग गर्न नपाउने देखेर ती रानी दु:खित भएकी थिइन् भन्ने छ।” “किम्वदन्तीअनुसार त्यसैले राजा सुरोले आफ्ना दुई छोरालाई रानीको नाम (हु) थरका रूपमा प्रयोग गर्ने अनुमति दिए। त्यो थर अहिले पनि चलेको छ।” ती राजदम्पतीका वंशजको सङ्ख्या अहिले ६० लाखभन्दा बढी अर्थात् दक्षिण कोरियाको जनसङ्ख्याको झन्डै १० प्रतिशत पुगेको इतिहासकारहरू बताउँछन्। कारकवंशीहरूले आफ्नी कुलमाताले कोरिया आउने क्रममा समुद्रको यात्रा गर्दा डुङ्गा स्थिर राख्न प्रयोग गरेको भनिएका ढुङ्गाहरू संरक्षण गरेर राखेका छन्। दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम-डेई जङ र पूर्वप्रधानमन्त्री किम जोङ-पिल आफूहरू पनि कारकवंशी नै भएको मान्छन्। कति प्रख्यात छ किम्वदन्ती? बीबीसी कोरियाली सेवाका केही सहकर्मीले यस्तो किम्वदन्ती आफूले पनि सुनेको तर धेरै पहिलाको विषयवस्तु भएकाले यसको मान्यता व्यापक भएजस्तो आफूलाई नलागेको बताउँछन्। ली भन्छिन्, “विद्यालयमै छँदा मैले पनि यसबारे सुनेकी थिएँ। म र मेरा साथीहरू आफ्नो पुर्ख्यौली त्यति परसम्म भएको सुन्दा दङ्ग पर्थ्यौँ।” तर केही व्यक्ति भने ती राजकुमारी थाईल्यान्डबाट आएकी र उनको जन्मस्थल थाईल्यान्डको अयुत्तया भएको हुनसक्ने बताउँछन्। इन्टर्नेटमा उपलब्ध केही सामग्रीले केही किम्हेवासीले कालो छाला भएका मानिसको पुर्ख्यौली भारतमार रहेको भन्ने किम्वदन्तीलाई एउटा ठट्यौली मान्ने गरेको सङ्केत गर्छन्। किम्वदन्तीको प्रभाव कस्तो छ? किम्हे र अयोध्याबीच भगिनीसम्बन्ध स्थापित गर्न सन् २००० मा एउटा सहमति भएको थियो। त्यसको एक वर्षपछि सयजनाभन्दा बढी इतिहासकार एवम् भारतका लागि उत्तर कोरियाली राजदूतसमेत सरकारी प्रतिनिधिहरूले संयुक्त रूपमा अयोध्यास्थित सरयू नदीको पश्चिमी तटमा रानी ह्वाङ-ओकको स्मारक अनावरण गरे। आफूलाई उनका वंशज मान्नेहरू ती रानीलाई उनकै मातृभूमिमा श्रद्धाञ्जलि व्यक्त गर्न भनेर प्रत्येक वर्ष अयोध्या जान्छन्। सन् २०१६ मा एउटा कोरियाली टोलीले सो स्मारकस्थलको थप विकास गर्न भनेर उत्तर प्रदेशको राज्यसरकारलाई एउटा प्रस्ताव पठायो। प्रथम महिलाको हैसियतमा नोभेम्बर ४ देखि ७ सम्म भारत भ्रमणमा आएकी दक्षिण कोरियाली राष्ट्रपतिकी पत्नी दुई देशले संयुक्त रूपमा गर्न लागेको सो स्मारकको स्तरोन्नतिको कार्यारम्भ समारोहमा सहभागी हुने कार्यक्रम छ। जे होस् रानी ह्वाङ-ओकको कथा दक्षिण कोरिया र भारतबीच सम्बन्ध राम्रो बनाउने आधार बनेको देखिन्छ। दिल्लीमा कार्यरत प्राध्यापक किम डो-युङ भन्छन् – प्रथम महिलाको यो भ्रमण त्यसमै थप अर्को कदम हो। बीबीसीबाट
ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु
डडेल्धुरा, कार्तिक १७ । ट्रयाक्टर दुर्घटनामा डडेल्धुरामा वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका-२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो । से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं, कार्तिक १३ । बुधबार र बिहीबार देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खवाउन लैजान आग्रह गरेको छ । यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह !
एजेन्सी । झट्ट हेर्दा सामान्य लाग्छ । यो उल्लासपूर्ण विवाहको फोटो संग्रह लाग्छ, बुवाआमा रोइरहेका, साथीहरुले बेहुलीलाई सिंगारी रहेका, केही नर्भस भएकी बेहुली अनि होहल्ला गर्दै रमाइरहेका बालबालिकाहरु । तर नजिकबाट हेर्यो भने केही छुटेको स्पष्ट हुन्छ । जुन विवाहको फोटो संग्रह हेरिएको छ, त्यो विवाहका बेहुला केन्डल मुर्फीको ९ महिनाअघि दुर्घटनामा निधन भयो । बेलुही जेसिका प्याडगेट आफ्नो विवाह पहिरनमा एक्लै उभिएकी छन् केन्डलको समाधि स्थल नजिकै । यो घटना हो अमेरिकाको इन्डियाना राज्यको । केन्डल र जेसिकाको घर सात माइल पर थियो । उनीहरु कलेजमा पहिलो पटक भेटिएका हुन् । दुवै अमेरिकी फुटबलका ठूला फ्यान । केन्डलले नोट्री रंगशालाको सोलो टुरको बेला जेसिकालाई सरप्राइज दिए । उनले जेसिकालाई रंगशालामै विवाहका लागि प्रस्ताव गरे । अग्निनियन्त्रक केन्डलको गएको नोभेम्बरमा रक्सीले मातेका ड्राइभरले चलाएको गाडीले ठक्कर दिँदा निधन भयो । २५ वर्षकी जेसिका स्वभाविक रुपले टुटिन् । उनले केन्डललाई सम्झिँदै भनिन्, ‘उ निकै उत्कृष्ट व्यक्ति थियो । निकै माया गर्ने, अति दयालु थियो ।’ तर जेसिकाले केन्डलको निधन भए पनि पूर्व निर्धारित विवाहको मितिलाई निरश नबनाउने निर्णय गरिन् । गएको सेप्टेम्बर २९ मा विवाहको मिति थियो । जेसिका विवाहको सेतो ड्रेसमा सजिइन् । साथी तथा परिवारका सदस्य जम्मा भए । विवाहको तस्बिर खिच्नका लागि जेसिका र केन्डलले फोटोग्राफर बुक गरेका थिए । तिनै फोटोग्राफरले फोटो खिचे । जेसिकाले विवाह बारे भनिन्, ‘म हाम्रो विवाहको दिनलाई मनाउन चाहन्थेँ, हामी भौतिक रुपमा साथमा नरहे पनि । मलाई यो दिनका सम्झनाहरु संगाल्नु थियो ।’विवाह र फोटो सुटको आइडिया जेसिकालाई तत्काल आएको थिएन । तर केन्डलको निधन भएको केही दिनपछि नै विवाहको ड्रेस बनाउन दिएको बुटिकबाट जेसिकालाई ड्रेस तयार भएको जानकारी गराउन फोन आयो । उनले भनिन्, ‘पहिलो कुरा त ड्रेसको आवश्यकता नै थिएन अब, आफ्नो मिल्ने साथीसँग विवाह गर्ने सपना टुटिसकेको थियो । तर बुवाआमाले ड्रेसका लागि पैसा तिरेकाले लिने निर्णय गरियो । त्यसपछि मात्रै यो आइडिया आएको हो ।’ जेसिकाले मात्रै होइन उनलाई थाहा नदिइ केन्डलकी आमाले पनि फोटोग्राफरसँग यो असहज विवाहको फोटो खिच्नका लागि आग्रह गरेकी थिइन् । त्यसपछि फोटोग्राफर तयार भइन् । त्यसपछिको तस्बिर एक वयश्क महिलाले आफन्त गुमाउँदाको पीडाको प्रमाण बनेको छ । जेसिकाले विवाहको फोटो सुटको दिन सम्झिइन्, ‘म रेलमा थिएँ कि मष्तिस्कमा म एक्लै उभिनेछु, बेहुला हुने छैन मसँग भन्ने विचार आइरहेका थिए । मैले बुवालाई देखेँ मन थाम्नै सकिन ।’ तर त्यहाँ शोकसँगै हाँसो पनि आयो । जेसिकाले आफूलाई सम्हालिन् र फोटो सुट गरिन् । विवाहको दिन जेसिका र उनको परिवारका लागि थेरापी जस्तै बन्यो । यो विवाह समारोहमा परिवारका सदस्य, साथीहरु र केन्डलले काम गर्ने अग्निनियन्त्रण विभागका साथी कर्मचारीहरु थिए । जेसिकाको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिरले आफूलाई केन्डलसँग थप नजिक बनाएको जेसिकालाई महसुस भएको छ । उनी भन्छिन्, ‘म अहिले उसलाई देख्न सक्छु, साँच्चै भन्दा उ मेरो मुटुमा छ ।’ जेसिकाका तस्बिर म्याण्डी केनिपले खिचेकी हुन् । देशसञ्चारबाट