खानेपानी मन्त्रालयको अर्को उपलब्धि, पाँच अर्बको लगानीमा पानी शुद्धीकरण आयोजना निर्माण हुँदै

काठमाडौं, असोज २३ । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाइकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आह्वान गर्ने भएको छ ।

 

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाइकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिएको हो । जाइकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो ।

 

मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गरेको हो । यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

?

त्यसैगरी बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सुरु हुन लागेको जानकारी दिइयो । आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए ।

 

 

निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागिएको हो । यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए ।

 

त्यस्तै बोर्डबाट गठन भएको टास्क फोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिएको छ ।

 

त्यस्तै बैठकमा मन्त्रालयले दुई साता अघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभरि ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गरायो ।

बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय तह तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताइन् । देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिइन् ।

 

 

उनले देशैभरि रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत पूर्ण सरसफाइको अभियानलाई अघि बढाउँदै लैजाने बताइन् । पूर्ण सरसफाइसँगै ढलको व्यवस्थापनलाई समेत अगाडि बढाउने मन्त्री मगरले जानकारी दिइन् ।

मलेशियामा रक्सी पिउँदा चार नेपाली सहित १५ जनाको मृत्यु ३३ जना बिरामी

मलेशिया,असोज २।मलेशियाका विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ। रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन र २ बंगलादेशी नागरिक बिरामी छन्। बिरामी परेका उनिहरुलाइ सुङ्गई बुलो अस्पताल, ब्यान्टिंग अस्पताल र क्वालालम्पुर अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन। यसअघि ज्यान गुमाउने ७ जनामध्ये ४ जना नेपाली थिए। पछिल्लो पटक थपिएकाको बारेमा भने केही खुलाइएको छैन। उनीहरुले तीन वटा रक्सी खाएको पाइएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाए अनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएपछि उनीहरु बिरामी भएका हुन्। घटनाको पूरा बिवरण आउन बाकी रहेको हुदा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ भने यता मलेसिया स्थित नेपाली दूतावासले घटना बारे हाल सम्म कुनै जानकारी दिएको छैन।

मध्यरातमा नौ महिने शिशु चोरी, सात घण्टापछि धान खेतमा फेला !

कञ्चनपुर, भदौ २९ । कञ्चनपुर पुनर्वास नगरपालिका-५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ ।   सोहि नगरपालिका-८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन् ।   शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।   नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उनका आफन्तकोमा जिम्मा लगाइएको उनले बताए ।   शिशुको शरीरमा स-साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए । शिशु चोरी गर्नेको खोजतलास जारी रहेको पनि उनले बताए । -रासस

साउदी जेलमा रहेका कुमारलाई आर्थिक सहयोग जुट्नेक्रम जारी

साउदी । साउदी अरबको जेलमा रहेका कुमार राना मगरलाई रिहाइका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । गोरखाको भिसेन गाउँपालिका-७ घर भएका मगर साउदीमा गाडी चलाएका बेला त्यहिँका नागरिकलाई दुर्घटनामा पारेपछि उनी १ वर्षदेखि साउदी जेलमा छन् । उनले ठक्कर दिएका साउदी नागरिक उपचारका लागि अस्पतालमा छन् । घाइतेको उपचारका लागि साउदी नागरिकले रकम माग गरेपछि रानालाई जेलमुक्तका गर्न रकम संकलन कार्य जुटिरहेको हो । यसैबीच, नेपाली जन प्रगतिशील मञ्च साउदीले पनि रानालाई जेलबाट छुटाउनका लागि आर्थिक सहयोग गरेको छ । मञ्चले नवराज गिरी मार्फत राना बचाउ अभियानका संयोजक कृष्णप्रसाद ढकालको रोहबरमा रानाकी श्रीमती अम्विका मगरलाई रहकम हस्तान्तरण गरेको छ । मञ्चले राना बचाउ अभियानका लागि हिजो (बुधबार) ८७ हजार आर्थिक सहयोग गरेको हो ।  यस्तै, दिल बहादुर र कुमार राना रिहाई समितिका संयोजक हुम सुनारी मगरले मंचको पहलमा तीन हजार साउदी रियाल सहयोग गरेका छन् । मञ्चका महासचिव बाबुलाल बुढाले साउदीमा जेल जीवन बिताइरहेका कुमार राना र दिल बहादुर घर्तीको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यावद व्यक्त गरेका छन् । केही महिना अघि दिपेस पुनको संयोजकत्वमा बनेको दिल बहादुर रिहाइ समिति बिदेश बिभागमा रहेका महासचिव बुढा दुई वर्षदेखि दिलबहादुर घर्तीको रिहाइको लागि दूतावास मात्र नभएर तत्कालिन सभामुख ओनसरी घर्ती, बर्तमान उर्जा मन्त्री बर्षमान पुन, सभामुख कृष्णबहादुर महरा देखि उपराष्टपति नन्द किशोर पुनसम्म धाएका छन् । यसअघि पनि नेपाली जन प्रगतिशील मञ्चले थुप्रै सकारात्मक काम गरेको छ । उसले दिल बहादुरको रिहाइको लागि चाहिने रकम ६७ लाख रुपैयाँ परराष्ट मन्त्रालयमा जम्मा गरि सकेको छ । साथै, मञ्चले साउदी अरबका पीडित श्रमिकहरुलाई सहयोगलगायत विभिन्न राम्रा काम गरेको छ ।

अन्तराष्ट्रीय नेपाली कलाकार समाज (ईनास) रसअल खेमाको अध्यक्षमा पुन निर्वाचित

युएई । अन्तराष्ट्रीय नेपाली कलाकार समाज, युएई (ईनास) क्षेत्रीय समिती रसअल खेमाको अध्यक्षमा नीलम पुन निर्वाचित भएका छन् ।  शुक्रबार १० तारिक सम्पन्न अधिबेशनले पुनको नेतृत्वमा २१ सदस्यीय समिती चयन गरेको छ । समितीको बरिष्ठ उपाध्यक्षमा संकल्प चन्द, प्रथम उपाध्यक्षमा प्रकाश सुबेदी र द्वितीय उपाध्यक्षमा अमर सिंह खत्री रहेका छन् । महासचीबमा सुरज खत्री, सचीबमा दिल बडुवाल, कोषाध्यक्षमा शोभा परियार र सहकोषाध्यक्षमा प्रतिक्षा शर्मा रहेका छन् ।  सदस्यहरुमा भक्त तुम्बाहाम्फे लिम्बु, प्रदीप लिम्बु, मनिष जीएम, प्रबिण गुरुंग, सुबास घिसिंग, माया नेपाली, रबिन केसी, संगिता मगर, अनिता घलान, रेशम मल्ल, रंजिता बिक, सपना राई र दिपक गिरी रहेका छन् ।  अधिबेशनले जनार्दन सुबेदी, सन्तोष अधिकारी, गणेश शाहीलाई संरक्षकमा चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा जिएन शर्मा, दिपक बिष्ट, धन बहादुर चन्द, राजेन्द्र रोस्यारा, गुन्ज बस्नेत र ईन्द्रराज पौडेल रहेका छन् ।  एनआरएन युएईको पुर्ब महासचीब सन्तोष प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकार महासँघ युएईका सचिब मेघराज सापकोटा, इनास महासचीब राम तामाँगको बिशेष अतिथ्यता रहेको थियो । त्यसैगरी दैलेख सेवा समाजका अध्यक्ष धन बहादुर चन्द, गणेश शाही, नेपाली जनप्रगतिशील मंच राकका अध्यक्ष दीपक बिष्ट, एनआरएन राकका अध्यक्ष जनार्दन सुबेदी, अर्घाखाँची सम्पर्क समिती राकका गुन्ज बस्नेत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम ईनास राकका निबर्तमान अध्यक्ष केबिन जंग शाहीको सभापतित्वमा सम्पन्न भएको थियो । 

आफ्नो निर्णयबाट पछि हट्यो वीरगञ्ज महानगर

वीरगञ्ज, साउन १५ । उद्यागी–व्यवसायीको चर्को विरोधपछि वीरगञ्ज महानगरपालिका अघिल्लो गरेको कर बृद्धिको निर्णयबाट पछि हटेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिक दल र अन्य सरोकारवालाको चर्को विरोधपछि महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी यसअघिको निर्णय केहीमा हटाउने र केही बस्तुमा कर घटाउने तयारी गरिएको जनाइएको हो । पत्रकार सम्मेलनमा महानगरका मेयर विजय सरावगीले केही कर हटाइने, केहीमा संशोधन गरी घटाइने जानकारी दिए । मेयर सरावगीले वातावरण प्रदुषण तथा सडक मर्मत सुधार शुल्क, डिजेल र पेट्रोलमा लगाइएको शुल्क, डण्डी र सिमेन्टमा लगाइएको शुल्क, कुखुरामा लागेको शुल्क फिर्ता गर्न तयारी भएको जानकारी दिए । यस्तै कवाडी निकासी शुल्कको सन्दर्भमा कवाडी संघले दिएको सुझावलाई कार्यपालिका बैठकमा लैजाने, घरजग्गा तथा एकीकृत सम्पत्ति करलाई मालपोत कार्यालयले तोकको मुल्याङ्कन र मापदण्ड अनुसार नै गरिने तथा व्यवसायिक करलाई पनि परिमार्जन गर्न कार्यपालिका बैठकमा पेश गरिने मेयर सरावगीले बताए । महानगरपालिका कार्यपालिकाले गएको साता पारित गरेको कार्यविधिमा विभिन्न क्षेत्रमा कर लगाउने गरि व्यवस्था गरेको थियो । कार्यविधि पारित भएसँग वीरगञ्जका उद्योगी–व्यवसायी चरणबद्ध आन्दोलनमा थिए ।

३६ महिला र बालबालिका आइएसको अपहरणमा

बेरुत, साउन १५ । इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा ३६ जना महिला र बालबालिका अपहरण गरेको छ । मानव अधिकारवादी समूहले ३६ महिला तथा बालबालिका आइएसको अपहरण गरेको सोमबार जानकारी दिएको छ । केही दिनअगाडि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २५० भन्दा बढीका मृत्यु भइसकेको छ । यी आक्रमणहरूमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताएका थिए। सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा प्रान्तका केही दिनदेखि लगातार आत्मघाती आक्रमण, गोलाबारी र अपहरण जस्ता घटना जारी रहेको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि शुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट तीन लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मकरूपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो । सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो । विश्वका महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरू र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो । गृहयुद्धको चपेटामा परेर लाखौँको सङ्ख्यामा मानिस घाइते हुनाका साथै लाखौँ सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य भएका छन् । रासस÷एएफपी

आज साउन पन्ध्र, खीर खाएर मनाइँदै

काठमाडौं, साउन १५। आज साउन १५ गते अर्थात् खीर खने दिन । आज घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ । दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेला अनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री

काठमाडौं, असार ३२ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेताजीहरुले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एक खालेको प्रदूषण भित्रिन थालेको छ ।” उहाँले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई स्तरोन्नति गर्न प्रशस्त स्रोत दिएर मात्र नहुने त्यसका लागि अस्पताल टिमको प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले अस्पताल प्रशासन स्वयम्ले अग्रसरता नलिँदा मन्त्रालयबाट दिइएको बजेटको उपयोग हुन नसकेको टिप्पणी गर्नुभयो । धेरै मेडिकल कलेज खोल्नुभन्दा भएका सरकारी अस्पतालको गुणस्तर, उपकरण, विशेषज्ञ सेवा विस्तार, ग्रामीण जनतालाई उपचारमा पहुँच पु¥याउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उहाँको जोड थियो । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा दीपकप्रकाश महराले तीन वर्षदेखिको प्रयासपछि कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अन्तिम तयारीमा पुगेको बताउनुभयो । उहाँले पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा कलेजो प्रत्यारोपणका लागि बजेट विनियोजित भएपछि भौतिक पूर्वाधार तयारीको अन्तिमचरणमा रहेको र आफ्नै जनशक्तिबाट नियमित प्रत्यारोपण सेवा उपलब्ध गराउने गरी कार्य थालनी गरिएको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तयार गर्न स्वास्थ्य मन्त्रालयले अस्पताललाई रु ११ करोड विनियोजित गरेको थियो । आज उद्घाटन गरिएको अत्याधुनिक सघन उपचार कक्षसहित कलेजो प्रत्यारोपणका लागि आवश्यक उपकरणलगातका लागि रु आठ करोड खर्च भएको अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपण टिमका संयोजक कजेलो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले सेवा शुरु गर्न कम्तीमा दुई महिना लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सबै प्रक्रिया सकिएपनि सरकारले सञ्चालन गर्न लाइसेन्स दिनुपर्छ, त्यस लागि मन्त्रालयमा एक डेढवर्षदेखि प्रत्यारोपण समिति छैन, मन्त्रालयमा भनिरहेका छाैं, स्वास्थ्यमन्त्रीले बनाएको भन्नुभएको छ ।” नेपालबाट हरेक वर्ष करीब चार सयबढी बिरामीलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सक बताउछन् । वर्षेनी नेपालबाट भारतमा कलेजो प्रत्यारोपणका लागि रु ६० लाखसम्म बाहिरिने गरेको छ ।

ट्रम्पले सार्वजनिक गरे किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी !

अमेरिका, असार २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी सार्वजनिक गरेका छन् । उनले किमले लेखेको चिट्ठी ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेको चिट्ठी ट्रम्पले सार्वजनिक गरेका छन् । ट्रम्पले यो चिट्ठीलाई निकै उत्कृष्ट भनेका छन् । तर यो चिट्ठीमा उत्तर कोरियाले परमाणु हतियार निशस्त्रिकरणका लागि गरिरहेको वा गर्ने कामका बारेमा केही उल्लेख गरिएको छैन । गएको महिना अर्थात जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक ट्रम्प किम वार्ताको मुख्य मुद्दा नै उत्तर कोरियाको परमाणु कार्यक्रम र त्यसको निशस्त्रिकरण रहेको थियो । उत्तर कोरियामाथि अमेरिकाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले चिट्ठी सार्वजनिक गरेका हुन् । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले विभिन्न देशबाट तेल ल्याउने गरेको आरोप अमेरिकाको छ । गएको डिसेम्बरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि वर्षको पाँख ब्यारेल तेल मात्रै निर्यात गर्न पाउने गरी प्रतिबन्ध लगाएको थियो । किमले पठाएको चिट्ठीको अंग्रेजी अनुवाद गरी ट्रम्पले ट्वीट गरेका हुन् । चार पेजको चिट्ठी ट्वीट गरिएको हो । चिट्ठीमा किमले सम्बन्ध सुधारका लागि ट्रम्पले गरेको प्रयासको प्रशंसा गरेका छन् । यस्तै उनले अमेरिका र उत्तर कोरियाबिचको विश्वासको वातावरण थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।  दुई देशबिचको सम्बन्ध हुँदै गएको महत्वपूर्ण सुधारले आफूहरुबिचको आउँदो बैठक थप प्रभावकारी हुने अपेक्षा किमले व्यक्त गरेका छन् । चिट्ठी सार्वजनिक गर्दै ट्रम्पले ठूलो प्रगति भएको उल्लेख गरेका छन् तर त्यसबारे विस्तृतमा केही खुलाइएको छैन । -एजेन्सी 

बागमतीको पानी धोविखाेलामा उर्लिएपछि…

काठमाडौं, असार २७ । लामो समयदेखि मेलम्ची खानेपानीको प्रतिक्षारत् उपत्यकावासीले अब मेलम्ची आउँदैन कि भनेर शंका नगरे हुन्छ । मेलम्ची खानेपानीलाई सुन्दरीजलबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार निर्माणको जिम्मा पाएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले पाइप पखाल्न सुरु गरेको छ । सुन्दरीजलदेखि चावहिलको धोविखोलासम्म बिछ्याइएका मुख्य पाइप सफा गर्ने काम गत सोमबारबाट सुरु भएको हाे । पाइप पखाल्नका लागि सुन्दरीजलस्थित बागमतीको मुहानबाट पानी ल्याइएकाे छ । र याे पनि नजिकिंदै मेलम्ची खानेपानी, पाइप परीक्षणकाे काम सुरू मेलम्ची खानेपानीका लागि पाइप फ्लसिङ सुरू [फाेटाेफिचर] लामो समयदेखि जमिनमा बिछ्याइएका पाइपमा जमेको माटो र अन्य फोहोर सफा गर्ने काम सम्पन्न भएपछि बागमतीको पानी नयाँ प्रविधि अनुसार सुन्दरीजलमा रहेको प्रशाेधन केन्द्रमा प्रोशाेधन गरि उपभोक्तालाई वितरण गर्ने लक्ष्य पिआइडीले लिएको छ । यसै सन्दर्भमा हामीले सुन्दुरीजलबाट पठाएको पानी चावहिलस्थित धाेवीखोलामा झारिएको दृश्यलाई तस्वीरमा कैद गरेका छौं ।

तङ्ग–इल मो–दो संघको नेतृत्वमा पौडेल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघको दोस्रो राष्ट्रिय महाधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्षद्वयमा ईश्वर भट्ट र प्रकाश श्रेष्ठ, महासचिवमा विष्णु गिरी ‘निश्चल’, सचिवमा रवि पराजुली, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सदस्यहरुमा लीलानाथ घिमिरे, दिपक बास्तोला, सुनिता चौधरी, सरिता पौडेल, दिपा पुरी, अशोककुमार चौधरी, हेमराज अधिकारी, राजेन्द्रमुर्ति पन्त, केशव श्रेष्ठ, ढुण्डीराम खनाल र ज्ञानेन्द्र श्रेष्ठलाई चयन गरेको छ । निर्वाचित पदाधिकारीलगायत सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले शपथ खुवाएका थिए । अधिवेशनको उद्घाटन राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले गरेका थिए । सांसद बिडारीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएकोमा गर्व गरे । उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यमबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा आफूले खेलसम्बन्धी नीति निर्माणमा पहल गर्ने बताए। कार्यक्रममा पूर्वसांसद मिलन कुमारी राजबंशीले तङ्ग ईल मोदो खेल विश्व प्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताईन् । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । महाधिवेशन उद्घाटनको अवसरमा तङ्ग–इल मो–दोका खेलाडीहरुले खेल कौशल पनि प्रस्तुत गरेका थिए । महाधिवेशन देशभरका १७ जिल्लाबाट ५४ जना प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।

नेइमारको बहिनी राफेला दाइकाे खुसीयाली मनाउँदा मनाउँदै घाइते !

ब्राजिल । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २-० हरायो । यो खेलमा ब्राजिलका स्टार फुटबलर नेइमारले यस प्रतियोगितामा पहिलो गोल गरेका थिए । उनले गरेको यो गोलले उनलाई मात्रै होइन दुनियाभरलाई खुशी मिलेको थियो । उनको गोलले धेरैलाई रोमाञ्च बनायो । यसैविच नेइमारकी बहिनीले पनि दाइले हानेको जारी प्रतियोगिताको पहिलो गोलको रोमाञ्चक तरिकाले खुसीयाली मनाइन् । नेइमारको बहिनीले खुसीयाली त धेरै मनाइन्, तर आफूलाई घाइते पनि बनाइन् । यसरी घाइते भएकी थिइन् राफेला- कोस्टारिकाविरुद्ध नेइमारले जति बेला गोल गरे खेल हेरिरहेकी उसकी बहिनी राफेला सन्तोस त्यतिबेला ऊ निकै एक्साइटेड भइन् । यसैक्रममा खुसीयाली साँट्ने बेला नेइमारको बहिनी खेल हेरिरहेका साथीसँग टक्रिन पुगिन्, र उनलाई काँधमा चोट लाग्यो । राफेलाले बिहिबार आफ्नो सामाजिक सञ्जालमा फोटो सेयर गर्दै खुसीयाली मनाउने बेला आफूलाई चोट लागेको बताएकी छन् । उनले अपलोड गरेको फोटोमा राफेलाको बायाँ हातमा स्लिंग बाधेको जस्तो देखिन्छ । -एजेन्सी

मिनी ट्रक खोलामा खसेर आगो लग्दा एक जनाको मृत्यु, १० घाइते

बनेपा, असार ११ । काभ्रेको बनेपा – ५ रबिओपीमा मिनी ट्रक सडकबाट खोलामा खसेर आगो लाग्दा एकको मृत्यु भएको छ । भने घटनामा अन्य १० जना घाइते भएका छन् । सोमबार बिहान काभ्रेको बनेपा ५ रबिओपीमा बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोलामा खसेको हो । मृत्यु हुनेमा ट्रकमा सवार मण्डन देउपुर नगरपालिका १२ की ४० वर्षीया लालिमाया तामाङको उपचारका क्रममा मृत्यु भएको र अरू १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट खोलामा खस्दा दुंगामा बजारिएर आगो लागेको थियो । स्थानीय र प्रहरीको सहयोगमा ट्रकको आगो नियन्त्रणमा लिएको र घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने

काठमाडौं, असार ५ । प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बठैकले हिजो निधन भएका डा देवकोटालाई राजकीय सम्मान गर्ने निर्णय गरेको हो । नेपाली चिकित्सा क्षेत्रमा देवकोटाले गरेको योगदानको सम्मान गर्दै सरकारले यस्तो निर्णय गरेको हो । डा. देवकोटाको दाहसंस्कार आज हुँदै छ । न्युरो अस्पताल बाँसबारीका अनुसार उनको विद्युतीय मेसिनबाट दाहसंस्कार हुनेछ । श्रद्धाञ्जलीका लागि अहिले उहाँको पार्थिव शरीरलाई न्युरो अस्पतालको परिसरमा राखिएको छ । अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राती नै बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । यस्तै, पूर्वप्रधामन्त्री प्रचण्डले देशले ठूलो क्षती बेहोरेको भन्दै डा. देवकोटालाई श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । यस्तै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी तीव्र

काठमाडौं, असार ४ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मनसुनको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारका सरोकारवाला मन्त्रालय, प्रदेशस्तरका मन्त्रालय र स्थानीय सरकार आपसमा समन्वय गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३ बमोजिम प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेशका मुख्यमन्त्रीसहित आज सिंहदरबारमा बसेको बैठकलेसरोकार भएका सबै मन्त्रालयले समयमा आवश्यक पर्ने अत्यावश्यक उपभोग्य वस्तु, उपकरण, औजार, डुङ्गा, औषधिलगायत पर्याप्त व्यवस्थासहित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले बाढीपहिरो, आगलागी, भूकम्प, महामारीजस्ता विपद्का घटना र सोबाट हुने क्षतिका सम्बन्धमा जनचेतना फैलाउनाका साथै सम्भावित जोखिम न्यूनीकरणका लागि सबै मन्त्रालय, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकाय सबैले समन्वय गरी आआफ्नो कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सबै जिल्ला विपद् व्यवस्थापन समितिले आआफ्ना जिल्लामा रहेका स्थानीय विपद् व्यवस्थापन समितिलाई समन्वय गरी विपद्पूर्व, विपद् र विपद्पछि स्वतः परिचालन हुन अनुरोध गर्ने र सो कार्यका लागि नेपाल रेडक्रसलगायत मानवीय सहायतामा काम गर्ने गैरसरकारी संस्थाले आवश्यक सहयोग पु¥याउने निर्णय गरेको छ । नेपाली सेनाले विपद्मा हुने जनधनको क्षति ध्यानमा राखी तत्काल परिचालन हुन सक्ने गरी प्रदेश नं १ मा इटहरी, प्रदेश नं ४ पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्धार टोली तयारी अवस्थामा राख्ने निर्णय आजको बैठकले गरेको छ । परिषद्को बैठकले मनसुनमा हुन सक्ने सम्भावित सडक अवरोधलाई तत्काल समाधान गर्न हेभी इक्युपमेन्टसहितको आवश्यक जनशक्ति रणनीतिक स्थानमा राख्न आवश्यक व्यवस्था भौतिक योजना तथा निर्माण मन्त्रालय र अन्य सम्बद्ध निकायले मिलाउने निर्णय गरेको छ । बैठकले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५ र विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८–२०३०) लाई परिमार्जनसहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ५ को (क) बमोजिम स्वीकृति गरेको छ । जल तथा मौसम विज्ञान विभागले जल तथा वर्षा मापन केन्द्रमा रहेका उपकरणलाई चालू अवस्थामा राख्ने, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन उक्त विभागबाट प्राप्त हुने सूचनालाई मोबाइल सेवा प्रदायक नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक र सञ्चारमाध्यममार्फत जनसमक्ष पु¥याउने व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने जिम्मा बैठकले दिएको छ । यसैगरी प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सबै प्रकृतिका विपद् पूर्वतयारीका लागि आश्यक सामग्री तथा औजार खरिद गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र सोका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिलाई शीघ्र पूर्णता दिई क्रियाशील बनाइने, प्रदेशस्तरमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति गठन गरिने तथा स्थानीय निकायका प्रमुखको संयोजकत्वमा स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी ती समितिलाई क्षमता, स्रोतसाधन र अधिकारसहित सक्रिय बनाइने निर्णय बैठकले गरेको छ । सरकारी निकाय, राजनीतिक दल एवं सोसँग सम्बन्धित संगठन, गैरसरकारी संघसंस्था एवं निजी क्षेत्र र नागरिकको समेत सहभागिता एवं सहकार्यमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ । विकासका लागि अवरोध भएका र प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेका मानव बसोवास एवम् बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतापूर्वक अगाडि बढाइने निर्णय बैठकले गरेको छ ।