गोदावरीलाई पर्यटकीय आकर्षकणको केन्द्र बनाउँछुः राज घिमिरे
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका राज घिमिरेलाई ‘चपली हाइट’ चलचित्रको नायकको रुपमा चिनिने गरिन्छ । उनी आफ्नो कलाकारिताको यात्रालाई थाँती राखी राजनीतिमा होमिएका छन् ।
वाइसीयल ललितपुर जिल्लाका सह–संयोजक, गोदावरी नगरका ईञ्चार्जका साथै गोदावरी नगरपालिका वडा नं.३ का अध्यक्षको रुपमा सक्रियताका साथ काम गर्दै आएका छन् ।
स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा गोदावरी नपा.३ नम्बरको वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उनले उम्मेदवारीको टिकट पाइसकेका छन् । स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएको घिमिरेको भनाई छ ।
यस वडामा हुँदै आएको भ्रष्टाचारलाई निर्मुल गर्ने आफ्नो पहिलो काम हुने उनले वताए । उनले आफूले गरेका विभिन्न कामहरुको जानकारी गराउँदै आफ्नो प्रतिवद्धता समेत सुनाउन भ्याए । उनी भन्छन्– ‘१२ वर्षे मेलामा मेरो संयोजकत्वमा संघर्ष गरेर ८४ लाख रकम संकलन गर्न सफल भयो । भूकम्पको बेलामा राहत वितरणदेखि भूकम्प पीडितहरुलाई अस्थायी आवासको ब्यवस्था, पीडितले पाउनुपर्ने राहत रकम उपलब्ध गराउनका लागि कसरत गर्ने काममा पनि अग्रसर भएर काम गरें ।
पीडितलाई राहत उपलब्ध गराउने क्रम जारी नै छ ।’ उनले वडामा खाने पानीलाई सहजै उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै मर्मतदेखि लिएर नयाँ पाइप पिछ्याउने, स्रोत संकलन जुटाउने काम लाग्ने वताए ।
उनले वडाध्यक्षमा म आफू विजयी भएपछि गर्ने कामहरुको बारेमका समेत जानकारी गराए । उनले भने– ‘मासिक तलब र सुविधाको रकम यसै नगरका विपन्न, दलीत तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सो रकम सुविधा उपलब्ध गराउने छु ।
यस नगरमा पुराण लगाई संकलन भएको गुमनाम ५५ लाख रुपैयाँलाई जनचाहना अनुसार कै अस्पताल बनाउन पहल गर्नेछु ।
स्थानीय तहमा उपलब्ध हुने रोजगारीमा दक्ष तथा अनुभवी व्यक्तिहरुलाई रोजगारी दिलाउने, फुल्चोकीमा केवलकार सहितको विकास योजना ल्याउने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्ने र महिला, दलीत, आदिवासी जनजाति, सिमान्तकृत वर्गहरुलाई माथि उठाउनका निम्ति पहल गर्ने, गोदावरी पर्यटकीय स्थालको रुपमा देशकै नमुना बनाउने, गोदावरी कुण्ड तथा नौ धारालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गराउनेछु ।’
साथै पुष्पाञ्जली स्कूलमा अप्रत्यासित रुपमा दुर्घटना हुँदा विद्यार्थीको उद्धार, उपचार तथा भावि शिक्षा तथा क्षति समेत दिलाउनका लागि अग्रणी भूमिका निभाएको र यही नगरमा सामाजिक तथा राजनीतिक कार्यमा अहोरात्र खटिदै आएको पनि उनले बताए ।
राज घिमिरे एक जोशिला युवा हुन् । उनीसँग विकासको स्पष्ट खाका छ । विकास गर्ने क्षमता छ । यसैकारणले उनीबाट विकासको आश गर्न सकिन्छ ।
उम्मेदवार बन्न एक दर्जन शिक्षकले दिए राजिनामा
खोटाङ, वैशाख १३ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका एक दर्जन शिक्षकले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखका लागि उम्मेदवार बन्न १२ जना शिक्षकले राजीनामा दिएका हुन् । कतिपय शिक्षकले उम्मेदवार पाउने निश्चित भएपछि राजीनामा दिएका छन् भने कतिपयले पदबाट राजीनामा दिएर टिकटका लागि कसरत गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार सिम्पानी क्याम्पसका प्रमुख राजनप्रसाद ढकाल, माक्पा माविका शिक्षक विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क छितापोखरीका शिक्षक केशवराज कार्की, जनता मावि बतासेका शिक्षक वसन्त राई, पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका शिक्षक विमल खड्का, सरस्वती प्रावि पौवासेराका शिक्षक हरिकुमार राई, हीरा प्रावि महेश्वरीका शिक्षक राजेशकुमार राजभण्डारी, राष्ट्रिय मावि बास्पानीका शिक्षक खगेन्द्रबहादुर गुरुङ, प्रतिभा प्रावि मात्तिमका शिक्षक रोहित राई, शारदा मावि हौंचुरका शिक्षक यज्ञनारायण श्रेष्ठ, चन्द्र प्रावि सिमखर्क सुङ्देलका शिक्षक कालिकाप्रसाद रिजाल र डाँडाखर्क प्रावि बराहपोखरीका ढकबहादुर कार्कीले राजीनामा दिएका छन् । अस्थायी शिक्षकका रुपमा कार्यरत केशवराज कार्की, रोहित राई र यज्ञनारायण श्रेष्ठको भने विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गरेर जिल्ला शिक्षा कार्यालयमा जानकारी पठाएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिए । अन्य स्थायी शिक्षकको भने राजीनामा स्वीकृतिका लागि शिक्षामा फायल आएको नेपालको भनाइ छ । उम्मेदवारका इच्छुक कतिपय शिक्षकले वैशाख ३ गतेअघि पनि राजीनामा दिइसकेको शिक्षा कार्यालयले जनाएको छ । पारिवारिक, घरायसी र व्यक्तिगत कारण देखाउँदै शिक्षकको राजीनामा आएको भएपनि अधिकांशले गाउँपालिका र वडा प्रमुखमा उठ्नका लागि राजीनामा दिएका स्रोतको दाबी छ । सरस्वती मावि डाँडाखर्क छितापोखरीको प्रधानाध्यापकबाट राजीनामा दिनुभएका कार्र्की र जनता मावि बतासेको जागीर छाड्नुभएका राई दिप्रुङ गाउँपालिकाको प्रमुखको टिकट हात पार्ने दौडधुपमा रहेका छन् । पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका प्रअबाट राजीनामा दिनुभएका खड्का एमालेका तर्फबाट दिप्रुङ गाउँपालिका–५ छितापोखरीबाट वडा प्रमुखमा उठ्ने तयारीमा रहनुभको स्रोतले जनाएको छ । स्रोत व्यक्तिको पद छाडेर ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा उठ्ने तयारी गर्नुभएका निरौला नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुन् । दिप्रुङ गाउँपालिकाको प्रमुखको दौडमा लाग्नुभएका कार्की हाल काँग्रेसका महासमिति सदस्यको भूमिकामा छन् ।
पूर्वमा टेलिकमको सेवा अवरुद्ध
तेह्रथुम, वैशाख १३ । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन् । पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुरलगायतका जिल्लामा नेपाल टेलिकमको सो सेवा अवरुद्ध छ । यी जिल्लामा पछिल्लो केही महिनायता निरन्तर सेवा अवरुद्ध हुने गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ । टेलिकमको सेवा भरपर्दो नभएपछि प्रयोगकर्तालाई निजी कम्पनीका सेवा लिनुपर्ने बाध्यता छ । टेलिकम बाहेकका मोबाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका छन् । पटक-पटक नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदासमेत दिगो व्यवस्थापनको बाटो नरोेजिएको म्याङलुङका रोशन श्रेष्ठले बताउनुभयो । नेपाल टेलिकमको इन्टरनेट, फोन र जिएसएम मोबाइल सेवा अधिक समय अबरुद्ध हुने गरेको उहाँको गुनासो छ ।
स्थानीय निकायको चुनावमा कसलाई भोट दिने ?
वैशाख १२ । स्थानीय चुनाव २० बर्ष पछि हुँदैछ भन्नु भन्दा पनि राज्य पुन:संरचना पछि अथवा राजतन्त्रात्मकबाट मूलुक गणतन्त्रात्मक व्यवस्थामा परिणत भए पछि हुन लागेको स्थानीय निकाय अथवा सरकारको चुनाव पहिलो पटक हुँदैछ भन्दा सान्दर्भिक होला। विगतमा जिल्ला प्रशासन र सिंहदरबारबाट प्राप्त गर्न पाईने सेवा र सुविधा अब गाउँपालिका कार्यालयबाट नै सर्वसाधारण सेवाग्राहीले प्राप्त गर्ने भएको हुँदा यो हुन लागेको स्थानीय निकाय/सरकारको चुनावलाई २० बर्ष अगाडिको चुनावसँग तुलना गर्नु मिल्दैन। स्थानीय निकायको चुनावमा कस्तो नेता/उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा आम सर्बसाधारण नेपाली जनता अब सचेत र चनाखो हुनु अत्यन्तै जरुरी छ। राष्ट्र परिवर्तन, समृद्धि र विकासका लागि कुशल, इमान्दार, योग्य र दक्ष राजनीतिज्ञको आवश्यक पर्छ। त्यस्तो नेता चुन्ने अवसर र माध्यम नै चुनाव हो। आम सर्वसाधारण जनताले इमान्दार, कुशल र दक्ष नेता/उम्मेदवार चिन्न सकेन भने समाज र सिङ्गो राष्ट्रले नै दु:ख पाउँछ। आम सर्वसाधारण नेपाली जनता विगतका चुनावहरूबाट अनुभवी भएका छन्। विगतका अनुभवलाई ध्यानमा राखेर अबको चुनावमा खसी-बोका जस्तै सिमित पैसामा बिक्नु हुँदैन। क्षेणिक आनन्दका लागि एक गिलास रक्सीमा बिक्नु हुँदैन। एक छाक मिठो खाने निहुँमा कुनै पनि नेताले आयोजना गरेको भोजभतेरमा सरिक हुनु हुँदैन। नेताले उपलब्ध गराएको १-२ लिटर पेट्रोलको प्रलोभनमा पर्नु पनि हुँदैन। र, नेताका गुलिया र बनावटी भाषण प्रति बिश्वस्त हुनु पनि हुँदैन। विगतमा हामी नेपाली आम जनताहरूले नेताहरूका यी सबै गतिविधिहरूलाई नजिकबाट बुझ्न र चिन्न नसक्दा नै आज नेपाल विश्व कै अति गरिव र बिपन्न राष्ट्रको सूचीमा दर्ज भएको छ। यसको जिम्मेवार आम नेपाली जनताले पनि लिनुपर्छ। किनकि, गलत, बेइमानी, अयोग्य, अदक्ष, भ्रष्ट र असक्षम नेतालाई चुनेर पठाउँने हामी आम जनता नै हौँ। ४० बर्ष अगाडि, थाईल्याण्ड, सिंगापुर, दक्षिण कोरिया र नेपालको आर्थिक अवस्था समान थियो। आज ति देशहरू विश्व कै अति विकसित मूलुकको सूचीमा दर्ज भईसकेका छन् । तर, नेपाल आजसम्म विश्व कै अति गरिब राष्ट्रको सूचीमा छ। यस्तो किन भयो ? के नेपालमा विकासका लागि श्रोत र साधन नभएर हो ? होइन, नेपाल एक यस्तो राष्ट्र हो जहाँ प्रकृतिले सबै भन्दा बढी श्रोत र साधन दिएको छ । ८४ हजार मेगावाट उर्जा उत्पादन गर्न सक्ने नदिनाला छन्, नेपालमा । तर, हामी नेपालीहरू पर्याप्त विधुत बिना बाँचिरहेका छौँ । हामी आम नेपाली जनताले सक्षम र इमान्दार नेता र नेतृत्व चुन्न सके हजारौं मेगावाट उर्जा उत्पादन गर्न सक्छौं । देशलाई आवश्यक उर्जा (बढीमा तीन हजार मेगावाट) राखेर हजारौं मेगावाट उर्जा अन्य देशलाई बेच्न सक्छौं। त्यसबाट मात्रै नेपालले मासिक खर्ब भन्दा बढी आम्दानी गर्न सक्नेछ। आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्ने हो भने देशमा १० करोड मानिसले खान पुग्ने जमिन हामीसँग छ। तर, जम्मा पौने तीन करोड नेपाली जनताले पनि भएको आफ्नो जमिन बाँझो छाडेर खाद्यान्नमा भारतसँग निर्भर हुनु परेको छ। विकसित राष्ट्र, जस्तै: खाडी राष्ट्रहरूका मरुभूमि जमिनमा युरोपबाट पिट्मोस (उर्वरा माटो) र फ़र्टिलाइजर (मल) निर्यात गरि आधुनिक प्रविधिद्वारा खेती गरेर कृषिमा चमत्कार गरिसकेका छन् । तर, हाम्रो देश नेपालको भूमिमा न त विदेशबाट पिट्मोस नै ल्याउनु पर्छ न त रासायनिक मल नै। आधुनिक पशुपालन तथा फार्म खोलि लाखौं टन प्रांगारिक मल उत्पादन गरेर आधुनिक प्रविधिद्वारा देशमा कृषि क्रान्ति गर्न सक्ने अवस्था छ। अमूल्य जडिबुटी नेपालमा छन्। त्यसलाई संरक्षण, संवर्द्धन र विदेश निर्यात मात्र गर्न सके खरबौं रुपैयाँ स्वदेश भित्र्याउन सकिन्छ। प्रसस्त नगदेवाली जस्तै अदुवा, अलैंची, चिया, कफी, स्याउ, सुन्तला उत्पादन गर्न सकिने जमिन प्रकृतिले दिएको छ। त्यसलाई परम्परागत रूपमा भन्दा आधुनिक प्रविधिद्वारा कृषि गरेर बढी भन्दा बढी उत्पादन गरि विदेश निर्यात गरेर खरबौं रुपैयाँ नेपालमा भित्र्याउन सकिन्छ। अन्तर्राष्ट्रिय पर्यटन बोर्डले पर्यटन क्षेत्रमा नेपाललाई विश्व कै दश उत्कृष्ट गन्तब्य राष्ट्रमा सूचिकृत गरेको छ। तर, देशमा भौतिक पूर्वाधार विकास कै अभावले गर्दा नेपालमा प्रयाप्त पर्यटक भित्र्याउन सकेको छैन। मूलुकमा स्थायी शान्ति कायम गरेर भएको भौतिक श्रोत र साधनलाई व्यवस्थित गर्ने लगायत विश्व कै शान्तिका अग्रदूत भगवान बुद्धको जन्म स्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन मात्र गर्न सके करोडौं पर्यटक नेपाल भित्र्याउन सकिन्छ र देशमा खरबौं डलर भित्र्याउन सकिन्छ । नेपालको समृद्धि र विकासका लागि माथि उल्लेखित प्रचुर सम्भावनाहरूलाई कसले पहल र कार्यन्वयन गर्ने ? त्यहि राजनीतिक दल र तिनका नेताहरूले होइन ? देशमा प्रजातन्त्र स्थापना भएको आज ७० बर्ष हुन लागिसक्यो। तर, देशको विकास हुन सक्दैन, किन ? विश्व विज्ञान र प्रविधिले चल्ने आधुनिक संसार भईसक्यो। तर, नेपाल आजसम्म बिना खाद्यान्न र बिना उर्जा बाँच्नु पर्ने वाध्यता छ, किन ? के यो राजनीतिक दल र तिनका नेताहरू कै असक्षमता, बेइमानी, अदुरदर्शिता, तिनीहरूबाट नै चरम भ्रष्टाचार र अदक्षता कै कारणले होइन ? फेरी भन्छु, यसको जिम्मेवार तपाई हामी आम नेपाली जनता पनि हौँ। किनकि तिनीहरूद्वारा विगतका चुनाव ताका हामी पैसामा बिकेर असक्षम नेतालाई जिताएर पठायौं। तिनीहरूले आयोजना गरेका भोजभतेरमा सरिक भएर तिनीहरूलाई नै मतदान गरि जिताएर पठायौं। तर, हामीलाई बाँडेका ति पैसा र खिलाएका भोजभतेरको खर्च ति नेताहरूले राज्यको ढुकुटी रित्याएर देश र जनतालाई लुटीरहेको कुरा हामीले कहिल्यै थाहा पाएनौं। अब, हामी कुनै प्रलोभनमा नफसौं। खसी-बोका जस्तै पैसामा नबिकौं। नेताहरूले आयोजना गरेका कुनै पनि भोजभतेरमा पनि सरिक नहोऔं। जाँड-रक्सि र पेट्रोल बाँड्ने नेताहरू देखि पनि टाढा होऔं। र, दक्ष, इमान्दार, सक्षम, योग्य र प्रष्ट राजनीतिक दर्शन (भिजन) भएको/बोकेको उम्मेदवारलाई जिताऔँ। हाल साउदी अरेविया
युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप
काठमाडौं, वैशाख १० । नेपाली काँग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापालाई भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य व्यवसायीहरुले मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले मन्त्री थापाले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउँदा पनि मन्त्री थापा चुप लागेर बसेको आरोप लगाए । ‘स्वास्थ्य क्षेत्रमा भइरहेको नीतिगत भ्रष्टाचारमा मन्त्रीको मौनता देख्दा हामीलाई शंका लागको छ।’ उनले मन्त्री थापाकै संलग्नता भ्रष्टाचार भइरहेको समेत आरोप लगाए । शनिबार राजधानीमा सो संघले एक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री थापा भ्रष्टाचारबारे चुप लाग्दा स्वास्थ्य क्षेत्र नै डामाडोल र बद्नाम हुने गरी भ्रष्टाचार मौलाइरहेको बताए । अध्यक्ष बस्नेतले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने बाहानामा ठूलो रकम विचलन गर्ने गरेको बताए । बस्नेतले अनावस्यक सामाग्रीको खरिद बिक्रि गर्ने काम भइरहेको र मन्त्री थापा चुप लागेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो भ्रष्टाचार भइरहेको बताए । सामाग्री खरिद बिक्री प्रक्रियामा कमसल खालका किन्ने तर, सयौं गुणा बढी मूल्यमा बिक्री गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशतभन्दा बढी बजेट भ्रष्टाचारमा लागानी भईरहेको छ ।’ नले भरखरैमात्र वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको दाबी गरे। ‘पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ’, उपकुलपति, निर्देशक, लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले चाँसो दिएका छैनन् ।’
जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्रगतिमा, भारतले दुई अर्ब सहयोग
जनकपुर, वैशाख ८ । जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्रगतिमा भइरहेको छ । भारत सरकारको २ अर्ब रुपैंयाँको सहयोग र नेपाल सरकारको अनुगमनमा व्रोडगेज रेल सेवाको निर्माण भईरहेको हो । भारतको जयनगरदेखि नेपालको जनकपुर बर्दिबाससम्म ७१ किलो मिटर दूरीमा व्रोडगेज रेल सेवा निर्माण कार्य जारी रहेको नेपाल रेल कम्पनीले जनाएको छ । अहिले रेल गुड्ने ठाउँमा पुल, टेरक, स्टेशन भवन सहितको निर्माण कार्य भइरहेको छ । रेल संचालनमा आएपछि जनकपुरमा पर्यटक बढ्ने समेत अपेक्षा स्थानीयले गरेका छन् । ऐतिहासिक जानकी मन्दिरको दर्शन गर्न बर्षेनी हजारौं भारतीय पर्यटक जनकपुर पुग्ने गरेका छन् ।
एक करोडको अक्षयकोष स्थापना
बागलुङ, वैशाख २ । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका- ५ र ६ बिहुँकोट्बासीले गाउँमा एक करोडको अक्षयकोष स्थापना गरेक छन् । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए । सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गरे । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । ‘शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पुर्याउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भने, ‘जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ ।” बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताए । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ । ‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ ।’ कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउँको विकासमा सक्रिय रहनु प्रशंसनीय कार्यभएको बताए । ‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उनले भने, ‘यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ ।’ रासस
टोखामा बिस्केट जात्रा
काठमाडौँ, वैशाख १ । काठमाडौँको टोखामा आजदेखि बिस्केट जात्रा सुरु भएको छ । प्राचीन संस्कृति, सभ्यता र मौलिकताले भरिएको नगरका रुपमा मानिने टोखाको बिस्केट जात्रामा स्थानीय कुमारी र गणेशलाई जात्रामा सहभागी गराइएपछि जात्रा सुरु भएको हो । प्रत्येक वर्ष वैशाख १ देखि ४ गतेसम्म सञ्चालन हुने सो जात्रामा स्थानीय ठनेलाछी टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दुर हालेर जात्रा निकालिनाका साथै स्थानीय विभिन्न देवदेवीको पूजा गरिन्छ । मौलिक परम्पराका साथ मनाइने उक्त जात्राका लागि अघिल्लो दिन स्थानीय देवदेवीलाई खुसी पार्न पञ्चबलिसमेत दिइन्छ । यसो गर्दा जात्रा अवधिभर बिघ्नबाधा नआउने जनविश्वास छ । यहाँको जात्रामा जिब्रो छेड्ने परम्परा भने छैन । सो जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिनका साथ भन्न नसकिए पनि प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न दानवीय शक्तिले सर्वसाधारणलाई दुःख दिन थालेपछि जनतालाई सुरक्षित बनाउन सो जात्राको प्रचलन सुरु गरिएको जात्रा व्यवस्थापन समितिका प्रतिनिधि देवराज डङ्गोलले जानकारी दिए । जात्रामा मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजनको सहभागिता छ । मेलामा सहभागी भक्तजनको व्यवस्थापनका लागि सुरक्षाकर्मीसहितको सहयोगमा स्थानीय क्लब तथा स्थानीय सङ्घसंस्थाको सहभागितामा स्वयंसेवक परिचालन गरिएको छ ।
जापानमा नेवारी भाषाको चलचित्र ‘तुयुमती’
काठमाडौँ, चैत २९ । सोमबार जापान टोकियोमा नेपाल (नेवारी) भाषाको चलचित्र ‘तुयुमती’ को प्रदर्शन भएको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको नेपाल भाषाको चलचित्र्र तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले बताए । साथीहरुको लहैलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनुपरेको कथावस्तु भएको तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीको सहभागिता थियो ।
सरकारद्वारा डिआइजी अर्याललाई महानिरिक्षकमा नियुक्त,आजै पदबहाली
काठमाडौं, चैत २८ । सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको आधारमा पहिलो नम्बरमा रहेका अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सरकारले फागुन १ गते आइजिपीमा बढुवा गरेका डिआइजी जयबहादुर चन्दको बढुवालाई सर्वोच्च अदालतले बदर गरेपछि सरकारले नयाँ आइजिपी नियुक्त गर्न चारजना डिआइजीको कार्यसम्पादन मूल्यांकन गरेर नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्यालको आइजिपीमा बढुवा भएको हो । कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ । अर्का दावेदार नवराज सिलवालको १५२.४ मात्र अंक छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ । ८ चैतमा सर्वोच्चले आइजिपी नियुक्तिमा कार्यसम्पादन मुल्याकंनकै ख्याल नगरी मन्त्रीपरिषद्ले गरेको नियुक्ती विधीसम्म नभएको ठहर गर्दै कार्यसम्पादनका आधारमा आइजिपी नियुक्त गर्न आदेश दिएको थियो । त्यसपछि सरकारले प्रहरी नियमावली संशोधन गरेर निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्राविधिक तहका एआईजी दिनेशचन्द्र पोख्रेललाई दिएको थियो । नवनियुक्त महानिरिक्षक अर्याललाई आजै फूली लगाउने भएका छन् । गृह मन्त्रालयले गृहका उच्च अधिकारी लगायत नेपाल प्रहरीका उच्च अधिकारी, सशस्त्र प्रहरीका उच्च अधिकारी र राष्ट्रिय अनुसन्धानका उच्च अधिकारीलाई मन्त्रालय बोलाएर उनलाई फुली लगाएको छ । महानिरिक्षकको नियुक्ती पाएका ५३ वर्षे अर्याल दाङ त्रिभुवन नगरपालिका वडा नम्बर ११ मा जन्मेका हुन् । २०६९ पुष ४ मा डिआईजीमा बढुवा भएका अर्यालले पछिल्लो समय महानगरिय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय उनले अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।
बुटवलमा पहिलो पटक सेयर खरिद बिक्री सुरु
रुपन्देही, चैत १९ । बुटवलमा पहिलोपटक सेयर खरिद बिक्री सुरु भएको छ । आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नं ५७) बुटवल शाखाले मङ्गलबारदेखि यहाँ सेयर खरिद बिक्री सुरु गरेको हो । सो कम्पनीको बुटवल शाखाले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सेयर खरिद बिक्रीका लागि काठमाडौँ पुग्नुपर्ने समस्या अब हल भएको बतायो । प्रालिका सञ्चालक रामचन्द्र भट्टराईले बुटवल आसपासका क्षेत्रमा रहेका सेयर लगानीकर्तालाई छिटो र सरल तरिकाबाट सेयर खरिद बिक्री गर्न दिने उद्देश्यले बुटवलमा पनि सेयर खरिद बिक्री कार्यको थालनी गरेको बताए । विसं २०६३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सेयर बिक्री गर्ने अनुमति पाएको प्रालिले बुटवलका लागि २०७३ चैत १३ गते सेयर कारोबारको स्वीकृति पाएको थियो ।
कविता : शहर
जब हुन्छ गोधूलि साँझ तब हुन्छ सुरू कथा सहरको अनेक अनेक शीर्षकमा । बिहानको नानी घामसँगै एकातिर गुडाउछन् अभाब पूर्तिका लागि आ आफ्नै ठेलागाडी कपडा बेच्नेहरू तरकारी बेच्नेहरू फलफूल बेच्नेहरू उठाएर दुबै हत्केलामा ठेलाका पर्वतहरू अर्कातिर फुकालेर इज्ज्तको ओहदा तोडेर सामाजिक संरचना थुप्रै थान नरनारीहरू गर्छन बिज्ञापन शरीरको र फाल्छ्न बेश्या आकर्षण ग्राहकहरुको भिडमा । म दर्शक हुँं मानौं नाटक हेर्दैछु निस्शुल्क टुँडिखेलमा बसेर संगती नमिलेका अलपत्र सहरका मान्छेहरूको छटपटीको ह्यामलेट र हेर्दैछु रत्नपार्कका पेटीमा बेच्न राखिएका दुला परेका जुत्ताहरू अनि म भन्न हुन्छु बाध्य सूर्योदयदेखि सूर्यास्तसम्म कमसल मालको प्रचारमै सहर सक्छ भुक्न,भुकिरहन सहरको कथा हेरिरहेको घण्टाघरले कहिले लेख्ला महाकाब्य रु लागेन मलाई सहरमा मुटु हुन्छ र त मान्छे पथर भए सतरीका हजुरबाहरू भन्दैनन् सात वर्षकी नातिनी गर्छन् बलात्कार मझेरिमै र लगिन्छ बालिकाहरुलाई होस फर्काउन अस्पतालको शैयामा साँच्चै सहर पेडोफाइल हुर्काउने कारखाना हो कोही भोकले मरोस कोही शोकले मरोस कोही रोगले मरोस सहरको आँखाले चुहाउदैन आँसु बरू साँघुरिन्छ मन जसरी दुर्गन्धले साघुरिएको छ टुकुचा खोला । मैले बुझेको यति हो सहरमा रक्सी बिक्छ,शरीर बिक्छ त्यो भन्दा अझ धेरै बोकाको टाउको झुन्डाएर पसल थापे कुकुरको मासु बिक्छ तर बिक्दैन गरिबको आँसुको काव्य बुझिदैन परिश्रमको त्रिशूली । मेरो गाउँमा धान फल्थ्यो र बेचिन्थ्यो आलु फल्थ्यो र बेचिन्थ्यो भटमास फल्थ्यो र बेचिन्थ्यो सहरमा भ्रम फलाउछ्न एकथरी त्यही भ्रमको दलदलमा डुबेर मर्छन अर्काथरी साँच्चै सहरको मुटु नै हुँदैन अझ भनौँ मुटु नै भएपनि संवेदना नै हुँदैन म यही संवेदनाहीन सहर भोगिरहेछु।
तीन वर्षीया बालिका बलात्कृत
धनगढी, चैत्र १७ । आफ्नै घरमा खेली बसेकी एक तीन वर्षीया बालिका बलात्कारको शिकार बन्नपुगेकी छिन् । धनगढी उपमहानगरपालिका–५, हसनपुर बस्ने १७ वर्षीय महेश्वर शर्माले ती बालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार दिउँसो घरमा एक्लै खेलीरहेको अवस्थामा शर्माले बालिका बलात्कार गरेको बताइएको छ । घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोराले बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए । मल्लले भने, ‘अहिले धेरै कुरा भन्न सकिँदैन बलात्कार गर्ने युवक महेश्वर शर्मालाइ प्रहरीले बुधवार नै प्रक्राउ गरी अनुसन्धान गरिरहेको छ ।’ जानकारी पाउने बित्तिकै युवकलाई प्रहरीले धनगढीको चटकपुरबाट पक्राउ गरेको हो । निरीक्षक मल्ले भने, ‘बालिकाको अस्पतालमा उपचार भइरहेको छ ।’ उनकाे स्थिती गम्भिर रहेकाे छ ।
खुमबहादुरले लगे केन्द्रिय समिति बैठकमै हिन्दुराष्ट्रको प्रस्ताव
ललितपुर, चैत १३ । जारी केन्द्रिय समिति बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्काले हिन्दुराष्ट्रको प्रस्ताव पेश गरेका छन् । आइतबारदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा खड्काले संसदमा अहिले संविधान संशोधनको प्रस्ताव अड्किरहेको भन्दै अब संशोधन गर्दा हिन्दुराष्ट्र कायम गर्नुपर्ने प्रस्ताव राखेका हुन् । खड्काले यसबारेमा छलफल गरेर पार्टीको केन्द्रिय समितिबाटै निर्णय गर्नुपर्ने माग गरेका छन् । तर, यसमा बैठकका अध्यक्षता गरिरहेका सभापति शेरबहादुर देउवाले कुनै प्रतिक्रिया नजनाएको केन्द्रिय सदस्य पार्वत चौधरी डिसीले जानकारी दिनुभयो । कांग्रेसको बैठकमा बैठकको अध्यक्षता गर्नेले नै बैठकका एजेण्डा राख्ने परम्परा छ । त्यो परम्परा अनुसार सभापति देउवाले यो बैठकमा छलफलका लागि ९ वटा एजेण्ड पेश गर्नुभएको छ । तर खड्काले हिन्दुराष्ट्रको छुट्टै एजेण्डा बैठकमा राखेका छन् । खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै जेल सजाय दिएको थियो । सर्वोच्चले तोकेको सजाय पुरा गरेपछि खड्का फेरि पार्टीमा क्रियाशिल रहँदै आएका छन् । तर उनले सुरुदेखि नै हिन्दु राष्ट्रको पक्षमा वकालत पनि गर्दै अाएका छन् ।
देशभर स्वास्थ्य सेवा सर्वसुलभ हुनेछ : थापा
काठमाडौँ, चैत १२ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने सरकारी प्रयास भइरहेको बताएका छन् । रत्नश्री महिला समूहले आयोजना गरेको ‘महिला सशक्तीकरण’ सम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रममा मन्त्री थापाले देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताएका हुन् । स्वास्थ्यमन्त्री थापाले पाठेघरको मुखको अर्बुदरोगको परीक्षण ७५ वटै जिल्लामा निःशुल्क गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार लागिपरेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका १३ स्थानमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना भइरहेको जानकारी दिए । मन्त्री थापाले भने, “राजधानीका केही स्थानमा त्यस्ता केन्द्र स्थापना भइसकेका छन्, अन्य ठाउँमा पनि शीघ्र स्थापना हुनेछन् ।” सहरी क्षेत्रका सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने सरकारी नीति कार्यान्वयन आइसकेको उनले बताए । मन्त्री थापाले एउटा कार्यक्रमबाट मात्र महिला सशक्तीकरण नहुने बताउँदै यसका लागि महिला स्वयम् जागरुक हुनुपर्नेमा जोड दिएका छन् ।
भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै
काठमाडौँ, चैत १२। भारतीय सेनाध्यक्ष विपीन रावत नेपाल भ्रमणमा आउने भएका छन् । यही चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन । नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ । भारतीय सेनाको २७ आैं सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएको थियो । उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत गर्ने कार्यक्रम रहेको छ ।