घाँस होइन कुखुराका चल्ला खाँदै बाख्रो ! (भिडियाे मै हेराैँ )

बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ ।

यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो ।

सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ । -अनलार्इन जमानाबाट

सप्तरीमा बाढीपछि सात सयमा कुपोषण, छ सयको अवस्था गम्भीर

सप्तरी, भदौ ९ । हालै आएको भीषण बाढी र पहिरोका कारण खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन्। बाढीले घरमा रहेको अन्नपात बगाएको, घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६१२ जना गम्भीर कुपोषणको शिकार भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सर्वेक्षणअनुसार सप्तरीका ५८ गाविसमा कुपोषण अत्यधिक देखिएको बताइएको छ। सप्तरीका दिघवा, लोनिया, तिलाठी, सकरपुरा, विषहरिया, डुमरी, मैनाकडेरी, देउरी भरुवा, हरिपुर, मुसहरनिया, फर्सेठ, कोइलाडी, बसाइन, बर्दाही, बनैनियालगायतका बाढीपीडित ग्रामीण क्षेत्रमा कुपोषितको संख्या बढी पाइएको छ। खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी, पौष्टिक आहारबाट वञ्चित हुँदा समस्या देखिएको हो। बाढीपीडितका लागि सरकारी तथा गैरसरकारीतर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको मात्र राहत आउने गरेको बताइएको छ। सप्तरीका बाढीपीडितको खाद्य सुरक्षासम्बन्धी जिल्ला कृषि विकास कार्यालयमा आयोजित खाद्य सुरक्षा कार्यदल बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारीले कुपोषणको सम्बन्धमा जानकारी गराएका थिए। बैठकमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले बाढीपहिरोले सप्तरीमा करिब १८ करोड रुपैयाँ बराबरको धानबाली, माछा र तरकारी नष्ट भएको जानकारी दिए। उनका अनुसार सप्तरीको कुल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर जमिन क्षतिग्रस्त भएको, अधिकांश बालुवाले पुरिएको, खेत बगरमा परिणत भएको र नहरहरु क्षतिग्रस्त भएको छ। रासस

बाढीपीड़ितलाई भेटदा सबैलाई हसाऊँने धुर्मुस आफै रोएपछि

बर्दिबास : हाँस्यकलाकार सिताराम कट्टेल (धर्मुस) एक आगलागी पीडितको पीडामाथि फेरी बाढीको पीडा थपिएको घटनाले विहिबार भकानिएका छन् । काठमाण्डौबाट मधेशका बाढी पीडितको राहत तथा उद्धारको लागि मधेस झरेका उनी सर्लाहीको लालबन्दीको माझी परिवारका एक महिलाको आगलागीमा परेर शरिर जलेको र उपचारको अभावमा जीवन मरणको दोसाँधमा रहदैं गर्दा बाढीबाट थप पीडामा परेपछि धुर्मुस भक्कानिदै ती महिलाको उपचारमा जुटेका छन् । ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई धुर्मुसले उद्धार गरेर अस्पताल पु¥याएका छन् । तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् । राहत सामाग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पीडितलाई राहात वितरण गरेका छन् ।माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पीडितहरु राहत लिनबाट बञ्चित भएको हुनसक्ने भन्दै बस्ती घुमेका धुर्मुसले रत्नेदेवीलाई भेटेका थिए । राहत सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झेको धुर्मुसले बताए । ‘आगोले पोल्दाको पिडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पु¥याएको हुँ ,’धुर्मुसले भने । ६ महिना अघि लुगाबाट सल्किएको आगोले रत्नेदेवीको पुरै शरिर डढेको थियो । चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टा नशा समेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पतालमा लगेको हो । अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ्याउन भने अपरेशन गर्नु पर्ने चिकित्सकले बताएका छन् । त्यसका लागि उनलाई केहि दिनपछि काठमाण्डौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताएका छन् । अन्नपूर्ण पोस्टबाट

मन्त्री साहले भने–तपाइको जग्गा अतिक्रमण गरे खाली पत्र काटेर बस्नुहुन्छ ?

काठमाडौं, साउन २३ । संयुक्त राष्ट्रसंघ (युएन) पार्क काठमाडौं र ललितपुरको सीमानामा पर्दछ । राजधानीको मुटुमा पर्ने पार्कले सहरी सौन्दर्य वृद्धि गर्ने अपेक्षा लिइएको थियो । तर, अहिले पार्कले त्यस अनुरुपको प्रतिफल दिन भने सकिरहेको छैन । पार्कले सहरको सौन्दर्य बढाउनु त परको कुरा आफ्नै स्वामित्वको जग्गा पनि पूर्ण रुपमा उपभोग गर्न सकिरहेको छैन । संयुक्त राष्ट्रसंघ पार्क विकास समितिको जग्गामा कबाडी, खेतिपाती, सुकुम्बासी बस्ती जस्ता समस्या अझैसम्म पनि कायमै रहेको देखिन्छ । सहरी विकास मन्त्री प्रभु साहले पार्कको जग्गमा भएको अतिक्रमण हटाउन यसअघिनै निर्देशन दिएका थिए । तर, त्यसो हुन सकेको छैन । समितिले आफ्नो स्वामित्वमा रहेको जग्गा अझै पनि पूर्ण रुपमा प्रयोग गर्न सकिरहेको छैन । अहिले पार्क बनेको ठाँउ मात्रै पार्कको जग्गा होइन थप अरु जग्गा पनि पार्कको स्वामित्वमा छ । तर, आफ्नो जग्गामा भएकोे अतिक्रमण हटाउन समितिले सकिरहेको छैन । सोमबार सहरी विकास मन्त्री प्रभु साहले समितिका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर पार्कको सौन्दर्य बढाउने गरी योजनाबद्ध रुपमा कार्य गर्न निर्देशन दिए । उनले यसको लागि पार्कको जग्गामा भइरहेको अतिक्रमण हटाउनु पहिलो कार्य भएको स्पष्ट पारे । समिति पार्कको जग्गा खाली गराउन सक्रिय भएर लागेको नदेखिएकाले कडाईका साथ लाग्न निर्देशन पनि मन्त्री साहले दिए । ‘अरुको जग्गा पनि होइन, त्यो जग्गा समितिकै हो ।’ मन्त्री शर्माले भने, ‘आफ्नै जग्गा खाली गराउन पनि तपाँईहरुलाई के को अप्ठेरो ?’ एकीकृत रुपमा मोडेल तयार पार्न जोड दिदै उनले भने, ‘जग्गा खाली भएपछि के गर्ने ? त्यस ठाँउमा के बनाउने ? तपाँईहरुले त्यो नै देखाउन सक्नुभएको छैन त कसरी जग्गा खाली हुन सक्छ ?’ समितिले आफ्नो स्वामित्वको जग्गा रक्षा गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । अझै पनि किन खाली हुन सकेन त ? समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरी आफूले कसरी खाली गराउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको र खाली गराउन पत्र काटेको बताए । तर, मन्त्री साहले छलफलले मात्रै नहुने भएकाले निष्कर्र्ष निकाल्नु पर्नेमा जोड दिए । ‘छलफल माथि छलफल कतिन्जेल चल्ने हो स्पष्ट हुनुप¥यो तपाँइहरुलाई निजी घर भत्काउन भनेको होइन आफ्नो जग्गामा आफ्नो स्वामित्व स्थापित गर्नुहोस् मात्रै भनेको हो’, उनले भने, ‘त्यति पनि गर्न सक्नुहुन्न भने के अपेक्षा गर्न सकिन्छ ?’ मन्त्री साहले समितिको जग्गा त्यसरी निजी प्रयोजनका लागि उपयोग भइरहनु नहुनेमा जोड दिए ‘जग्गा जसको हो उसैले उपभोग गर्न नपाउने पनि हुन्छ ? हामीले अरुको जग्गामा पार्क बनाउनुस् भनेको होइन आफ्नै जग्गा काबाडी लगायतले उपभोग गरिरहेको छ त्यसैलाई खाली गराउन पनि किन समस्या भएको हो ? स्पष्ट हुनुप¥यो ।’ पार्कको जग्गालाई आफ्नै जस्तो महत्व दिन निर्देशन दिनुहुँदै मन्त्री साहले भने,े ‘तपाईहरुको जग्गा यसरी अतिक्रमण भए के गर्नुहुन्छ, खाली पत्र काटेर बस्नुहुन्छ ?’ आफूले कानून भन्दा बाहिर गएर कुनै कार्य गर्न प्रेरित नगरेको भन्दै कानून अनुसार कडाइपूर्वक अगाडि बढ्न मन्त्री साहले निर्देशन दिए । अहिले स्मार्ट सिटी, ग्रीन सिटी जस्ता कुराहरुले प्रमुखता पाइरहेको सन्दर्भमा यी र यस्ताखाले पार्कको विशेष महत्व रहन्छ । त्यसैले काठमाडौंको सहरी सौन्दर्यका लागि संयुक्त राष्ट्रसंघ पार्क पनि महत्वपूर्ण छ । खासगरी सहरी सौन्दर्य र प्रदषण कम गर्नका लागि यस्ताखाले पार्कको महत्व हुने गर्दछ ।

गोर्खाल्यान्ड आन्दोलन : ब्रा फ्याँकेर विरोध

साउन १८ । अलग प्रान्त गोर्खाल्यान्डका आन्दोलनकारीले अनौठो आन्दोलनको कार्यक्रमको सुरुवात गरेका छन् । केही दिनअघि मिरिकका आन्दोलनकारी नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकारविरुद्ध प्रतिकात्मक आन्दोलन गरेका थिए । त्यस्तै खुकुरी जुलुस गर्दै अन्य विरोधका कार्यक्रमहरु पनि चलिरहेका बेला कालिम्पोङका आन्दोलनकारी महिलाहरुले सरकारविरुद्ध भित्री वस्त्र (व्रा) फ्याँकेर आन्दोलन गरेका छन् । ब्रा बोकेर आएका सयौंको संख्यामा रहेका ती महिला आन्दोलनकारीको जुलुसलाई सुरक्षाकर्मीले जिल्लापालको कार्यालय अघि रोकेको थियो । उनीहरुले त्यही ब्रा फ्याँकेर विरोध प्रदर्शन गरेका थिए । अनिश्चितकालीन बन्दको ५० दिन बित्न लाग्दा पनि केन्द्र र राज्य सरकारले चासो गुनासो आन्दोलनकारीहरुले गरेका छन् ।

९ महिनाको सन्तान छाडेर आमा टाप कसेपछि

प्रेम सुनार/ गुल्मी, साउन १८  । गुल्मीको दर्लामचौर गाउँमा गत  चार  दिन देखि नौ महिनाको दुधे वालक आमाले छाडेर अन्यत्रै टाप कसेपछि ति वालक र अन्य दुई नावालकहरु  विचल्लीमा परेका छन् । ईस्मागाउँपालिका वडा नम्वर ३ , दर्लामचौर सिमपानीका  वावुराम घर्ति  थापा की ३० वार्षिया  श्रीमति बिना घर्ति रोका साउन–१५ गते विहान देखि घरबाट हिडेर सम्पर्कविहिन बनेपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा हामा खोजेर रोई रहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् । उनि घरबाट हिड्नुको दुई दिन अघि मात्र उनका श्रीमान घर्ति घर आएका थिए । त्यसको पनि तिन दिन अघि उनै श्रीमतिले घरमा परपुरुष संग लसपस  गरेको आरोपमा उनकी सासुले गाउँवासी गुहारेकी थिईन् । श्रीमतिको त्यस्तो यौन चर्तिकलाको खवर पाएर घर आएका घर्तिलाई श्रीमतिले ४ लाख रुपैयाँ तम्घासको बैंकमा राखेकी छु झिकेर आउँछु भनेर आईतवार विहानै घरबाट हिडेको तर तम्घास पुगे पछि सम्पर्क विहिन भएको उनले बताए । तिन वर्ष अघि वावु आमा संग छुट्टाएर बेग्लै घर बनाएर राखेकी उनकी श्रीमतिले पाँच दिन अघि  गाउँवासीको नजरमा अपरिचीत युवालाई घरमा ल्याएर राखेको र उनकी सासुले आशंका गरी चियो गर्दा अर्धनग्न अवस्थामा बुहारी र पलङ्गमुनी लुकेर वसेको अवस्थामा निज युवालाई फेला पारको  उनकी सासुको आरोप छ  । भारतमा कमाएको न पैसा भयो न श्रीमति  उनका श्रीमानको पिडा यस्तो छ –‘वाल्यपन देखि मजदुरी गर्न भारतका विभिन्न शहरमा पुगेको थिएँ ।  गाडी चलाउन थालेको करिव २३ वर्ष भयो । करिव १९ लाख श्रीमतिबाट अहिले सम्म  हिनाविना भएको छ । चार लाख केहि समय अघि पठाएको थिएँ । त्यो पैसा खोई भन्दा बैंकमाछ झिकेर आउँछु भनेर हिडिन् ।  घरका भैसी बाख्रा बेचिएको छ । दुई तोला सुन, अन्य जिन्सी र महत्वपुर्ण कागज पत्र पनि लगेर हिडेकी छन् । तिन वर्ष अघि सम्म बुढो घरमै बस्थीन र कुनै शंका लाग्दो ब्यबहार पाएको थिईन । जव घर देखि माथी एक्लो ठाउँमा घर बनाएर राखे तव देखि श्रीमतिको खर्च र रवाफ बढ्दै गयो । दशैमा आएर गएको थिएँ  । त्यो श्रीमति संग बस्यो भनिएको केटा को हो रु गाउँवासीले चिन्दैनन । तम्घासबाट गाडी चढेर हिडे भन्ने सुईको पाएको छु । उसको खुशीका लागि वावु आमाको मन दुखाएर भए पछि छुट्टाएँ , अहिले न श्रीमति न पैसो भएँ । पुम्पुरोमा हात लगाउँदै र सुस्केरा फेर्दै घर्तिले भने हामी जस्ता मुग्लानीको पसिनाको मोल उसले नबुझे पनि अरु महिलाले बुझी देउन भन्ने कामना गर्दछु ।  वालवच्चको विचल्ली र घरको विल्लीफाँट देखेर चिन्तामा डुबेका घर्तिलाई भित्र पसेर चुलो जलाउने जाँगर छैन् । अरु भन्दा पनि ति दुधेवालकको आमा खोजाईको रोदनले त्यहाँ पुग्ने धैरैले आँशु बगाउँछन् । कस्तो बैश होला त्यस्तो दुधेवालक पनि छोडेर हिड्ने भन्दै ति महिलाको सत्तोसराप गर्नेहरु पनि छन् । ति महिला संग भने टेलिफोन सम्पर्क हुन सकेन् । घर्तिले खोजतलासका लागि ईस्मा प्रहरी चौकीमा उजुरी दिएको र गाउँ प्रमुख लक्ष्मण बिष्ट संग पनि गुनासो पोखेको बताए । स्मरण रहोस  गुल्मीमा बिदेशमा रहेका कतिपय पुरुषका श्रीमतिहरु यसरी परिवारको सल्लाह विना घर छाडेर हिड्ने  र एकादुई वर्ष पछि फर्केर आई श्रीमान संग अंशको दावी गर्ने गरेका केहि घटना  रहेको अधिवक्ताहरु बताउँछन् ,।  उनिहरुका अनुसार यस्ता विषयमा पुरुषका लागि कानुन कम्जोर छ ।

कुचो लिएर सरसफाइमा नगरप्रमुख

जाजरकोट, साउन १ । त्रिवेणी नलगाड नगरपालिकालाई सफा र सुन्दर बनाउन नगरप्रमुख टेकबहादुर रावल आफै दैनिक बिहान बजार क्षेत्र कुचो समातेर सरसफाई जुटेका छन् । हरेक दिन बिहान नगरप्रमुखको नेतृत्वमा  नपाका दल्ली, कालीमटी ,बगारालगायका मुख्य बजारमा सरसफाई हुँदै आएको छ । जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक नमानेमा जरिमाना गर्ने लगाएका कारबाही हुने गरेको मेयर रावलले बताए् । सम्वृद्धी र विकास खोज्न बाहिर जानु पदैन,आफैबाट सुरु गर्नुपर्छ भन्दै यहाँको नगरपालिकाले त्यसको अगुवाई गरेको नपाका कार्यक्रारी प्रमूख सुरेन्द्र सिंहले बताए । दैनिक मेयर र कर्मचारीहरु कुची समातेर सडक, बजारमा सरसफाईमा व्यस्त देख्दा स्थानीयहरु पनि स्वतस्र्फुत तरिकाले सरसफाई अभियानमा सहभागी हुने गरेका छन् । अहिले बजारमा प्लास्टिक लगायत अन्य फोहोर वस्तु कसैले पनि जथाभावी फाल्न बन्द गरेको कार्यकारी प्रमुख सिंहले बताए । ‘हामी हाम्रो नपाबाट अरुले सिकुन भन्ने चाहान्छौँ’ सिंहले भने । त्यस्तै भेरी नपाले बातावरण हराभरा बनाउन अभियान थाल्ने भएको छ । राजनीतिमा आउनु अघि शिक्षक र जनसरकार प्रमूख भइसकेका रावल अत्यन्त महेनती र मिलनसार व्यक्ति हुन ।

यू–२३ च्याम्पियनसिप छनोट खेलमा नेपालको फराकिलो हार

काठमाडौं, असार ३१ । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएइसँग पराजित भएको छ । शनिबार साँझ भएको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ५–० को फराकिलो गोल अन्तरले पराजित भएको हो । युएईको तेह्नान विन मोहमद रंगशालामा भएको खेलमा नेपाल सुरुदेखि नै युएईका अगाडि कमजोर देखिएको थियो । कमजोर डिफेन्सका कारण नेपाल पहिलो हाफमै युएईसँग ४ – ० ले पछि परेको थियो । नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ७१ औं मिनेटमा नेपालका सुमन लामाले गरेको गोललाई रेफ्रीले अफसाइड दिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल युएईले ५ – ० ले जित्यो ।

अमेरिकी दावीः चीनलाई ध्वस्त पार्न सक्ने परमाणु हतियार बनाउँदै भारत

न्यूयोर्क, एजेन्सी । भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको बेला अमेरिकी वैज्ञानिकहरुले डरलाग्दो कुरा सार्वजनिक गरेका छन् । भारतको परमाणु शक्ति नामक लेखमा अमेरिकाका दुई वैज्ञानिकले भारतले चीनको सम्पूर्ण क्षेत्र कभर गर्न सक्ने क्षमताको परमाणु हतियार बनाउन थालेको दावी गरेका हुन । संसारमा परमाणु हतियार नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्र संघको अभिसन्धी अनुसार, कुनै पनि देशले परमाणु हतियार निर्माण गर्न पाउँदैन । इराकमाथि यही विषयमा अमेरिकाले आक्रमण गरेको थियो । अमेरिकी वैज्ञानिक हेन्स क्रिस्टेन्सन र रोबर्ट नोरीले चीनलाई नियन्त्रणमा लिन सक्ने मिसाइल बनाइरहेको दावी गरेका हुन । तर यो मिसाइल परमाणु मिसाइल रहेको उनीहरुले उल्लेख गरेका छन् । हालसम्म भारतसँग २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने अग्नी मिसाइल रहेको छ । तर अब भने ५ हजार किलोमिटरसम्म हान्न सक्ने मिसाइल बनाउन थालेको लेखमा उल्लेख छ । भारतसँग १५० देखि २ सय परमाणु हतियार बनाउने प्लुटोनियम रहेको उनीहरुले बताएका छन् । परमाणु बम बनाउन यूरेनियम र प्लुटोनियम नाम पदार्थ आवश्यक पर्दछ । लेखमा उल्लेख भए अनुसार, यतिखेर भारतसँग ७ वटा परमाणु सक्षम सिष्टम रहेका छन् । यसमा चार ब्यालेष्टिक मिसाइल, दुई एयरक्राफ्ट र एउटा समुन्द्रमा आधारित ब्यालेष्टिक मिसाइलर रहेका छन् । वैज्ञानिकको दावी अनुसार, भारतले कम्तीमा दुई अन्य यस्तै सिष्टम बनाइरहेको छ । फिचर तस्वीरः भारतको अग्नी मिसाईल

भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

भक्तपुर, असार २९ । मध्यपुर थिमि–१ लोहकिल्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा गत असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए । ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको जोर्नीबाट अचानक आगोको झिल्को निस्केपछि पम्पमा आगलागी भएको थियो । आगलागीबाट सोही पम्पमा कार्यरत रामबहादुर तामाङको दाहिने कुहिना र दाहिने खुट्टा जलेको थियो भने सोही स्थानमा खुद्रा पसल गरी बस्ने प्रतिमा तामाङको अनुहार, ढाड, घाँटी पछाडिको भाग र दुवै खुट्टा जलेर घाइते भएकी थिइन् । ८ महिनाको गर्भवतीसमेत रहेकी तामाङको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, मध्यपुर थिमि–३ चारदोबाटोस्थित साझा पेट्रोल पम्पको दुईतल्ले पक्की घरको भूमिगत कोठामा २०७२ माघ ५ गते आगलागी हुँदा सँगै रहेको गौरीशंकर ट्रेडर्स हार्डवेयरको करिब रु १० लाख बराबरको धनमाल जलेर क्षति भएको थियो । सो भवनमा रहेको टायर रिसोलिङ पसलको हावा भर्ने पाइप फुटेर अचानक आगलागी हुँदा तीनजना घाइते भएका थिए । भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा भएको सो आगलागीका बेला साझामा पेट्रोल वितरण भइरहेको थियो । पम्प परिसरमा रहेको पसलमा आगलागी भएपनि समयमा नियन्त्रण भएकाले ठूलो क्षति हुनबाट जोगिएको थियो । भक्तपुरमा रहेका पेट्रोल पम्पहरुमा पटकपटक आगलागीका घटना हुँदा पनि पेट्रोल पम्पलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पम्पको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनीजन्य वस्तु लिएर र धुमपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले भक्तपुरका पेट्रोल पम्पहरु जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन् । पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थको कारोबार स्थल असुरक्षित र मापदण्ड विपरीत सञ्चालन भइरहँदा पनि त्यसलाई व्यवस्थित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन । भक्तपुरमा सञ्चालित अधिकांश पेट्रोल पम्प मानव बस्तीको बीचमा रहेका छन् । थिमिको जगुलु पम्प चाणक्य कलेज र विद्यालयसँग जोडिएको छ । पम्पमा हुने सानो दुर्घटनाले पनि मानवीयलगायत ठूलो क्षति हुनसक्ने खतरा रहेको छ । भक्तपुरमा सञ्चालित १८ वटा पेट्रोल पम्पमध्ये अधिकांश पेट्रोल पम्पमा सुरक्षाको बन्दोबस्त छैन । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको गुह्येश्वरी फ्यूल स्टेसन, भक्तपुर फ्युल सेन्टर, न्यू महेश्वरी फ्युल स्टेसनलगायत केही पम्पमा मात्र सुरक्षाका लागि पर्खाल र गेटको व्यवस्था गरेको छ । थिमिको साझाले २०७२ साल माघको आगलागीपछि पम्प क्षेत्रभित्र जो कोही जान नसक्ने गरी बार लगाएको छ भने लोकन्थलीस्थित सिद्धार्थमा हाल बार लगाउने कार्य भइरहेको छ । पेट्रोल पम्प सञ्चालनसम्बन्धी पुरानो मापदण्ड र निर्देशिकामा एक पम्पदेखि अर्को पम्पको दूरी न्यूनतम ५०० मिटर हुनुपर्ने उल्लेख छ । तर भक्तपुरमा कतिपय पम्पको दुरी २०० मिटरको हाराहारीमा रहेका छन् । लोकन्थलीदेखि साँगा चोकसम्मको करिब १० किलोमिटर बाटोमा मात्र १५ वटा पम्प सञ्चालनमा छन् । निर्देशिकामा १० किलोका तीनवटा अग्नि नियन्त्रक ग्यास सिलिण्डर, न्यूनतम एक हजार लिटर पानी, बालुवा, साबेल, पिग, बाल्टिन लगायतका सामग्री हरदम तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ । तर भक्तपुरका अधिकांश पम्पले त्यस्ता सामानको व्यवस्था गरेको पाइँदैन । बाग्मती अञ्चल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले पेट्रोल पम्प व्यवस्थित नभएको स्वीकार गर्दै नयाँ मापदण्डअनुसार पम्प सञ्चालन गर्न नसकिने बताए । नयाँ मापदण्डअनुसार पेट्रोल पम्प सञ्चालन गर्न पाँच रोपनी जग्गा, पानी ट्याङ्की, दुई शौचालय, एकवटा हात धुने बेसिन, २० देखि २२ फिटको जस्ताको छत बनाउनुपर्ने व्यवस्था गरेको जानकारी दिँदै खड्काले भक्तपुरमा सो सम्भव नभएको बताए । उनले नयाँ खोल्ने पम्पलाई भने नयाँ मापदण्डअनुसार मात्र खोल्न दिने तयारी भइरहेको बताए  । पम्प सञ्चालनमा लापरबाही गरेकै कारण सङ्घले नै हाल दुईवटा पम्प सञ्चालनमा रोक लगाएको पनि उनले जानकारी दिए  । वाणिज्य विभाग, नापतौल विभाग र आयल निगमले बेला बेलामा पम्पको अनुगमन गरे पनि नापतौल पुगे-नपुगेको र पेट्रोलियम पदार्थको गुणस्तरका बारेमा मात्र अनुगमन गर्ने गरेकाले पनि पम्प सञ्चालनमा सुरक्षाको बारेमा सञ्चालकहरुकै चासो कम भएको एक पम्प सञ्चालक नाम नबताउने सर्तमा बताए । उनले सम्बन्धित निकायले बेला बेलामा पम्पको सुरक्षा व्यवस्थाका बारेमा पनि अनुगमन गर्नुपर्ने बताए । यसैबीच, जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत असार १४ गते आयल निगमलाई एक पत्र पठाई मध्यपुर थिमि–१, लोकन्थलीस्थित सिद्धार्थ पेट्रोल पम्पमा प्राविधिक निरीक्षण गर्न अनुरोध गरेको छ । गत असार १३ गते सो पम्पमा आगलागी भएर केही व्यक्तिसमेत घाइते भएपछि तत्काल पम्प सञ्चालनमा रोक लगाई निगमको प्राविधिक निरीक्षणको प्रतिवेदन आइसकेपछि मात्र सञ्चालन गर्न दिने सो पत्रमा उल्लेख गरिएको छ ।

७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा

सोलुखुम्बु, असार २३ ।  सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ । नवनिर्वाचित मेयर नाम्गेल जाङ्बु शेर्पासहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पु¥याएर उपचारसेवा दिने निर्णय गरेको हो । वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको छ । यो निर्णय कार्यान्वयनका लागि चाँडै कार्यविधि बनाइने नगरप्रमुख शेर्पाले बताउनुभयो । सो नगरपालिकाको तथ्यांकअनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको संख्या ४६९ छ । उनीहरुले यसअघि उपचार खर्चबापत मासिक एक हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए । योसँगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको शेर्पाले बताउनुभयो । घरमै उपचारसेवा पाइने भएपछि नगरभित्रका वृद्धवृद्धाले खुशी व्यक्त गरेका छन् ।

मुग्लिन–नारायणगढ सडकखण्ड रातमा बन्द

काठमाडौं, असार २१ । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भएको सडक विभागले जनाएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिने भन्दै रात्रि समयमा आवागमनमा रोक लगाइएको हो । ‘चितवन प्रशासनसँग यस विषयमा छलफल सुरु गरिएको छ, भोलि वा पर्सिदेखि रात्रि यातायात सेवालाई पूर्ण रूपमा बन्द गरिनेछ,’ विभागका उपमहानिर्देशक तथा मुग्लिङ–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले भने । भदौको पहिलो सातासम्म राति सवारीसाधन सञ्चालनमा रोक लगाउने विभागको योजना छ । हाल सडक निर्माणलाई तीव्रता दिने भन्दै दैनिक ६ घन्टा यातायात सञ्चालन गर्न बन्द गरिँदै आएको छ । गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न गर्ने गरिएको छ । त्यसअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सडक बन्द गरिन्थ्यो ।, नयाँ पत्रिकामा खबर छ । ६ जनाको मृत्यु, ४० घन्टा सडकमै बास सो सडकखण्डमा पहिरोका कारण यो वर्षको तीन महिनामा ६ जनाको ज्यान गइसकेको छ । देशकै सबैभन्दा धेरै ट्राफिक हुने यो सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । यात्रुले ४० घन्टासम्म सडकमै बिताउनुपर्ने बाध्यता पनि छ । मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले नियमितजसो पहिरो गइरहेको छ । यसकारण दैनिक रूपमा आवतजावत गर्ने करीब १४ हजार सवारीसाधन प्रभावित हुने गरेका छन् । राती सडक बन्द गर्न विकास समितिको निर्देशन  संसद्को विकास समितिले मुग्लिन–नारायणगढ सडक डेढ महिनासम्म राति बन्द गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले राति बैकल्पिक मार्गको प्रयोग गर्न, सम्भव भएसम्म राति पनि सडक विस्तारको कार्य गर्न तथा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न वा तत्काल बैकल्पिक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो ।  

बराबर मत आएपछि पुन : मतदानको माग

असार २०- अध्यक्षमा बराबर मत आएपछि दुबै उम्मेदवारले फेरी मतदानको व्यवस्था गर्न माग गरेका छन । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस–एमालेको बराबर मत आएको हो । कांग्रेसका हुकुमरसिंह राई र एमालेका मेनुका काफ्लेको बराबर ८ हजार २ सय ७५मत पाएका छन् । उपाध्यक्षमा भने एमालेका बेणु सिवाकोटी निर्वाचित भएका छन् । उनले ९ हजार ४ सय १६ मत पाए भने कांग्रेसका दीपा गौतमले ४ हजार ९ सय ९२ मत पाएकी छन् ।

एमाले बीरगञ्ज मेयरका सम्भावित उम्मेदवार उपेन्द्र यादवको फोरममा प्रवेश

पर्सा, असार १४ । निर्वाचनको दिन एमालेलाई ठूलो झटका लागेको छ । एमालेले बीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा प्रचार गरिएका सुन्दर कुर्मी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन । एमाले जिल्ला पार्टीले कुर्मीसहित अन्य तीन जनाको नाम मेयरका लागि सिफारिस गरेको थियो । नाम सिफारिस हुनेमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारी समेत थिए । अन्सारी टिकट पाउने शर्तमा नै एमालेमा प्रवेश गरेपछि असन्तुष्ट बनेको कुर्मीले पार्टी परित्याग गरेको बुझिएको छ । कुर्मीले एमाले पार्टी र पार्टी कार्यकर्ता मधेस र मधेसीप्रति इमान्दार रहेपनि नेतृत्व वर्गमा इमान्दारिता नदेखिएको टिप्पणी गरेका छन् । । उनले, ‘पार्टीमा योगदान भएकाहरुको रायलाई नजरअन्दाज गर्दे वीरगञ्जमा पैसा लिएर मेयरको टिकट दिने काम भयो । जसले एमालेबाट हाम्रो मोह भंग भएको छ’, भनेका छन् ।  

दोलखामा पहिरो जाँदा एकको मृत्यु अन्य तीन वेपत्ता

दोलखा, असार १४ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ कुटकुटेमा गएराति पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । राति करिव साढे १ बजे आएको उक्त पहिरोले घर बगाउँदा ३५ वर्षीया शान्ति थामीको मृत्यु भएको हो । उनको शव आज बिहान फेला परेको हो । पहिरोले ७९ वर्षीया लाटी थामी, शान्ति थामीका १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी सन्तोषी थामी बेपत्ता भएका हुन् । शान्तिका छोरा मंगले थामी भने पहिरो जाने समयमा शौचालय गएका कारण बाँच्न सफल भएका छन् । गाउँमा ठूलो पहिरो गएपछि कुटकुटेका स्थानीयले सुर्के मावि भण्डारेमा पुगेर रात बिताएका छन् । पहिरोले त्यहाँका १८ घर उच्च जोखिममा परेका छन् ।

भेरी–बबई डाइभर्सनकाे सुरुङ कार्तिकबाट खन्न शुरु हुने

काठमाडौँ, असार १४ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम कात्तिक  महिनाबाट सुरु गरिनेभएको छ । भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालेर सिँचाइ तथा जलविद्युत् निकाल्ने बहुउद्देश्यीय लक्ष्य राखेको यो आयोजनामा हालसम्म १५० मिटर सुरुङ मानिसले हातले खनेका हुन्  । आयोजनाको सुरुङ खन्नका लागि मेसिन राख्ने ठाउँ बनाउन यो १५० मिटर सुरुङ खनिएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, सुरुङ खन्ने मेसिन राख्नका लागि हामीले हातले (म्यानुअल)  १५० मिटर जति सुरुङ खनिसकेको छौँ । त्यो  ठाउँमा मेसिन राखेर धमाधम सुरुङ खन्ने काम आगामी कात्तिक महिनाबाट सुरु हुनेछ । टनेल बोरिङ मेसिन (टीबीएम) विदेशबाट आयात गरिँदै छ । सो मेसिन नेपालमा आइसकेपछि फिटिङ गर्न कम्तीमा अढाई महिना लाग्ने आयोजनाले बताएको छ । आयोजनाका डिभिजनल इन्जिनियर मिनराज ढकालका अनुसार सो मेसिन चीनको साङ्घाईबाट कलकत्ता बन्दरगाहका लागि लोड भइसकेको छ । कलकत्ता बन्दरगाहबाट आयोजनास्थलसम्म ल्याई पु¥याउने बित्तिकै जडानको काम सुरु गरिने भएको छ । आधुनिक टनेल बोरिङ मेसिनका अधिकांश भाग चीनमा बनेको भए पनि केही पार्टपुर्जा अमेरिकी कम्पनीले बनाउने भएकाले मेसिन खरिदका लागि अग्रिम जानकारी गराउनुपर्ने र केही समय लाग्ने भएको आयोजनाले जनाएको छ । सो मेसिनले सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ ब्यास (डाइमिटर) को १२ किलोमिटर सुरुङ खन्ने काम गर्नेछ । चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको टनेल खन्नेलगायतका अन्य संरचना आगामी सन् २०२० को मार्चसम्म  सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।  यो कार्यका लागि वि.सं. २०७१ साल माघ १५ गते सरकारले यो कम्पनीसँग सम्झौता गरेको थियो । सो चिनियाँ कम्पनीले चार वर्ष १० महिनामा कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्झौतापत्रमा गरेको छ । आयोजना निर्देशक बस्नेतलका अनुसार बहुउद्देश्यीय यो योजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने भएको छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन हुनेछ । सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा दुई अर्ब र सिँचाइतर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ । आयोजनाले काम गर्न थालेको छोटो अवधिमा आयोजना निर्माणस्थलसम्म पुग्ने पहुँच मार्ग झण्डै अढाई किलोमिटर निर्माण भइसकेको छ । आधुनिक टनेल बोरिङ मेसिन राख्नका लागि १५० मिटरको सुरुङ पनि निर्माण भइसकेको छ । मेसिन फिट गर्दा चाहिने प्लेटफर्मको समेत निर्माण भइसकेको आयोजना निर्देशक बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, भूकम्पले गर्दा एक÷दुई महिनाबाहेक अरू बेला द्रुत गतिमा काम भइरहेको छ । निर्माण कम्पनीको हालसम्मको काम हेर्दा निर्धारित समयमा तोकिएको काम सम्पन्न हुनेमा आशावादी भएका छौँ । टनेल बोरिङ मेसिन जडान भएपछि प्रतिदिन कम्तीमा १५ मिटरका दरले खन्ने अनुमान गरिएको छ । कुनै बाधा व्यवधान र अवरोध नआएमा करिब पाँच वर्षभित्र टनेलको काम पूरा हुने बताइएको छ । आयोजनाका डिभिजनल इन्जिनियर ढकालले भन्नुभयो, पहाडभित्रको भौगर्भिक अवस्था यस्तै छ भन्न त सकिँदैन तर पनि काम गर्दै जाँदा भित्र कमजोर भू–भाग नपरेको खण्डमा निर्धारित समयमा काम पूरा गर्न सकिन्छ । सुरुङ निर्माण गर्नका लागि काम सुरु भइसकेको भए पनि विद्युत् उत्पादन आयोजनाका लागि हालसम्म ठेक्कापट्टा हुनसकेको छैन । पावर हाउस र हेडवक्र्स निर्माणका लागि छुट्टै ठेक्कापट्टा गर्ने तयारी सरकारले गरिरहेको छ । आयोजना निर्देशक बस्नेतका अनुसार विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनको पुनरावलोकन गर्ने कार्य हाल भइरहेको छ । यसका लागि सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेको छ । सन् २०११ तिर पावरहाउस र डाइभर्सन हेडवक्र्सका लागि भएको सम्भाव्यता अध्ययनलाई  पुनरावलोकन गरेर अन्तिम रूप दिने तयारीका साथै आगामी आर्थिक वर्षमा ठेक्कापट्टा गरिनेभएको छ । प्रभावितलाई सुविधासम्पन्न बस्ती विकास आयोजनाबाट प्रभावित सुर्खेतको हात्तीखालका परिवारलाई आयोजनाले सुविधासम्पन्न बस्ती विकास गर्ने योजना पनि बनाएको छ । आयोजना निर्देशक बस्नेतका अनुसार ‘भेरी–बबई डाइभर्सन आयोजना भिलेज’ नाम दिइने सुविधासम्पन्न बस्तीमा एउटै आकार र डिजाइनका घर निर्माण गरिनेछ । जसका लागि आयोजनाले काम सुरु गरिसकेको छ । यो बस्तीमा सिँचाइ सुविधा, खानेपानी, बिजुली तथा बाटोघाटोको व्यवस्था गरिनेछ । आयोजनाबाट प्रभावित सुर्खेत र बर्दियाका आठवटा साविकका गाउँ विकास समितिमा सिँचाइ पोखरी, खानेपानीका लागि सौर्य प्रणाली जडानजस्ता कार्य पनि सञ्चालन भइरहेका आयोजनाले जनाएको छ । त्यसैगरी यो आयोजनाबाट प्रभावित सुर्खेत र सल्यानका २६ साविक गाउँ विकास समितिमा सिँचाइ पु¥याउने लक्ष्यसहित भेरी–बबई सहायक आयोजनाका रूपमा भेरी करिडोर आयोजना  सुरु गरिएको छ । प्रभावित ती क्षेत्रका खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन सोलार लिफ्ट तथा सतह सिँचाइ र सिँचाइ पोखरीजस्ता  कार्यक्रम सुरु भइरहेका आयोजनाले जनाएको छ । गोर्खापत्र दैनिकबाट