देवघाट र लोथरमा गोही गणना

चितवन । अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ ।

करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०५५÷५६ सालतिर सो क्षेत्रबाट पनि गोहीको अण्डा संकलन हुन्थ्यो । त्यसपछि विस्तारै गोही हराउँदै गयो । अहिलेको अवस्था पत्ता लगाउन स्थान थप गरेर यस पटक गोहीको गणना गरिएको अर्याल बताउनुहुन्छ ।

विगतमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासको क्षेत्रमा गोही गणना गर्ने गरिए पनि यसपालि भने क्षेत्र विस्तार गरेर देवघाट र लोथरमा समेत गणना गरिएको हो ।

यसअघि फागुन ११, १२ र १३ गते राप्ती र नारायणी नदीको विभिन्न ११ वटा ब्लकमा गोहीको गणना गरिएको थियो । तर अन्य सम्भावित क्षेत्रमा गोहीको अवस्था के छ भनेर पत्ता लगाउन क्षेत्र थप गरी देवघाट र पूर्वी चितवनको लोथरमा यही फागुन १८, १९ र २० गते गोही गणना गरिएको हो ।

गणनाका लागि नारायणी नदीमा देवघाटदेखि मझुवा सामुदायिक वनको सिख्रौलीघाट र पूर्व राप्ती नदीमा लोथरदेखि जिन्दगानी घाटसम्मको क्षेत्र थपिएको हो ।

देवघाट र नारायणगढ क्षेत्र गोहीका लागि राम्रो वासस्थान भए पनि मानवीय चापले गोही बस्न सक्ने अवस्था नदेखिएको अनुगमनमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताउनुभयो । नारायणगढबाट केही किलोमिटर तल शिवघाटमा भने एउटा गोही भेटिएको उहाँको भनाइ छ । यता पूर्वी राप्ती नदी क्षेत्रमा भने चार–पाँच वटा गोही फेला परेको जनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषले जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरसँग मिलेर गोही गणना गरेको हो । आइतबारसम्म गणनाको फिल्डको काम भएकाले आजदेखि डाटा संकलन र व्यवस्थापनको काम शुरु भएको छ ।

गोही छुट्न सक्ने भएकाले हरेक ब्लकमा तीन दिनसम्म दोहो¥याएर गणकहरु नदीमा खटिएका थिए । चितवनको राप्ती र नारायणी नदीमा कूल १६६ वटा गोही छन् ।

सन् २०१६ को गणनाअनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा एक गरी नेपालमा कूल १९८ गोही छन् । प्राकृतिक वासस्थानमा घडियाल गोही लोप हुँदै गएको छ । रासस

पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, फागुन १७ । सहभागितात्मक कृषि व्यवसाय तथा साना कृषकलाई बजारसँग जोड्ने, कृषि बजारलाई पोषण संवेदनशील बनाउने र पोषण संवेदनशील कृषिसम्बन्धी अभ्यासलाई दिगोपना दिने निष्कर्षसहित पहाडी क्षेत्रमा पोषण संवेदनशील कृषिसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतमा कार्यरत सेवा प्रदायकहरुले पशुमा आधारित कृषि प्रणाली, ग्रामीण सेवा प्रदायकहरुको अन्तर्राष्ट्रिय पहाडी कृषि पारस्थितिकीय प्रणाली कार्यगत सञ्जालमार्फत ग्रामीण क्षेत्रका महिलाको पोषण, स्वास्थ्य तथा आम्दानी अवस्था सुधार गर्न भएका पहलका साथै मानव पोषण सुधारका लागि माटोको अवस्था सुधार्नु पर्ने पक्षका साथै संरक्षित खेतीपातीका बारेमा पनि जोड दिइएको छ । सम्मेलनका सहभागी कार्यपत्र प्रस्तोताहरुले स्वास्थ्य तथा पोषण क्षेत्रमा कार्यरत सेवा प्रदायकले सो कार्यक्रमले गर्दा पोषण र कृषिलाई हेर्ने आफ्नो धारणामा परिवर्तन आएको महसुस भएको विचार व्यक्त गरेका थिए । उनीहरुले ग्रामीण क्षेत्रका जनताको पोषण सुधारका लागि कृषिको भूमिका झन महत्वपूर्ण भएको र आगामी दिनमा पोषण तथा स्वास्थ्य सुधारका लागि कृषिलाई पनि सँगसँगै अगाडि लैजाने धारणा राखेका थिए । पहाडी क्षेत्रका समुदायको पोषण सुधारका लागि माटोका उर्वराशक्ति सुधारमा पनि उत्तिकै ध्यान दिनुपर्ने पक्षमा शत्रमा सहभागी सेवा प्रदायकको भनाइ छ । सम्मेलन समापनका क्रममा पूर्व सचिव आत्माराम पाण्डेले बृहत्स्तरमा प्रभाव ल्याउनका लागि पोषण संवेदनशील कृषि अभ्यासको स्थानीयकरण गरिनुपर्नेमा जोड दिनुभयो । हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालका राष्ट्रिय निर्देशक डा भरतकुमार पोखरेलले खाद्य विविधता र पोषण एक अर्कामा सम्बन्धित भएकाले पोषणलाई एकीकृत रुपमा व्याख्या गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । पोषणको अवस्था सुधार गर्नका लागि उक्त क्षेत्रमा कार्यरत सेवा प्रदायकहरु सामूहिक रुपमा समन्वयात्मक ढंगले अगाडि बढ्न सकिने उहाँको भनाइ थियो । सोही संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम सल्लाहकर्ता डा जेन कार्टरले स्थानीयस्तरमा ग्रामीण समुदायको पोषण सुधार गर्न स–साना प्रयासको महत्वपूर्ण योगदान हुने र झन प्रभावकारी हुने पक्षमाथि प्रकाश पार्नुभएको थियो । उहाँले पोषण मानव संस्कृतिसँग सम्बन्धित भएको र पोषण संवेदनशील कृषि शहरी कृषि प्रणालीमा पनि समाहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आइफोम अर्गेनिक्स इन्टरनेशनल, जर्मनीका कार्यकारी निर्देशक मार्कस आर्वेञ्जले पहाडी क्षेत्रका ग्रामीण समुदायको कुपोषणको अवस्था सुधार गर्न कृषिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । हेल्भेटास, एफआइबिएल र आइएफओएम अर्गान्स इन्टरनेशनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, कीर्गिस्तान, जर्मनी, स्विजरल्याण्ड र हल्याण्डका गरी करिब १५० विज्ञको सभागिता थियो । यसअघि यस किसिमको सम्मेलन सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।

नेपाल-भारत सीमाको दशगजा डम्पिङ साइट बन्दै, भारतीय पक्षले चासो दिएन

कपिलवस्तु, फागुन ९ । नेपाल–भारतको सीमा नाका कपिलवस्तुको कृष्णनगरस्थित दशगजा क्षेत्र डम्पिङ साइटको रुपमा परिणत हुन थालेको छ । कृष्णनगर र बढनी बजारको सीमा क्षेत्र दुवै देशका नागरिकको फोहोर फाल्ने थलो बनेको छ । खुला सिमानाका कारण दुवै देशका नागरिकले यो स्थानमा फाहोर फाल्ने गरिरहे पनि सम्बन्धित निकायले चासो दिएका छैनन् । यसले गर्दा दुवै देशका बजार दुर्गन्धित मात्र बनेका छैनन् यहाँ आउने पर्यटकसमेत प्रभावित हुँदै गएका छन् । फोहोर व्यवस्थापनमा नगरपालिका उदासिन देखिएको बजारबासीको गुनासो छ । फोहोर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन । नेपाली पक्षबाट पटक-पटक फोहोर व्यवस्थित गर्ने प्रयास गरे पनि भारतीय पक्षले चासो नदेखाउँदा फोहोर व्यवस्थापन गर्न नसकिएको अधिकारीहरु बताउँछन् । बार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन हुने यो नाकाबाट दैनिक सयौं सवारी साधन र हजारौं नागरिक आवतजावत गर्ने गर्दछन् । गौतम बुद्धको जन्मस्थलको भ्रमणमा नेपाल आउने कतिपय पर्यटकले यही नाकाको प्रयोग गर्दै आएका छन् ।

राजीनामा दिने कर्मचारीको लर्को – ईन्जिनियरदेखि कार्यालय सहयोगीसम्म

काठमाडौं, फागुन ४ । नुवाकोट जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय प्रमखु ईन्जिनियर सुनीलराज गिरी, कारागार कार्यालयका प्रमुख टंकराज चिमोरिया, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, मेघाङ गाउँपालिकामा कार्यरत लेखापाल खगराज ढंगाना, सचिवहरु रामकृष्ण श्रेष्ठ र किरणमणि श्रेष्ठ, प्राविधिक कार्यालयका सहयोगी सौदा तामाङ छन् । यो संख्या अझै बढ्छ होला, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले भने ।, – कान्तिपुरमा खबर छ ।

एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली बन्नेमा कुनै विवाद छैन : विडारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अधिवक्ता रामनारायण विडारीले एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने बताएका छन् । साथै अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्नेमा कुनै विवाद नरहेको उनको दावी छ । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै विडारीले भने, ‘सकेसम्म सरकार गठन सँगसँगै नभए सरकार गठनको एक–दुई दिनपछि पार्टी एकता हुन्छ, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुहुन्छ।’ नेता विडारीले दुवै पार्टीको एउटै सिद्धान्त र विचार भएकोले परिवर्तनका संवाहकद्धय नेता ओली र प्रचण्ड एकरएक पदमा बस्ने भएकोले आली प्रधानमन्त्री बन्दा प्रचण्ड अध्यक्ष बन्ने विश्वास दिलाए । एकता प्रक्रिया आँफैमा गाह्रो काम भएकोले समय लाग्नु स्वभाविक भएको उनको स्पष्टोक्ति थियो । यद्यपी उनले पार्टी एकताको विषयमा दुवै पार्टीका अध्यक्षद्धय ओली र प्रचण्डले धेरै पटक वान–टु–वान भेटवार्ता गरेको र दुवै पार्टीका दोस्रो तहका नेताहरुवीच पनि धेरै पटक सामूहिक वार्ताहरु भैरहेको जनाए । एमाले र माओवादी अब एउटै पार्टी भैसकेकोले घोषणा गर्न मात्रै बाँकी रहेको विडारीको भनाई थियो । अब बन्ने सरकारसामू अवसरसँगै चूनौतिहरु पनि प्रशस्तै रहेको उनले बताए । अझैपनि एक सयजति कानून निर्माण गर्न बाँकी रहेको उनले  जानकारी दिए । उनले भने, ‘प्राकृतिक स्रोत तथा वित्त आयोगसम्बन्धी कानूनहरु बनाउन बाँकी छ, संघीयता नेपालको लागि नयाँ हो, त्यसैले अवसरहरु धेरै छन्, यो सँगै चूनौतिहरु प्नि छन्, यी सबैलाई हल गर्नुपर्छ।’ विडारीले फागुणको १५ गतेभित्रै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने विश्वास दिलाए ।

विज्ञापन खर्च कटौतीले युनिलिभरको बिक्री घट्यो, प्रतिसेयर आम्दानी खस्कियो

काठमाडौं । शेयरबजारमा सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा नाफा घटेको वित्तीय विवरण प्रस्तुत गरेको छ । कम्पनीले गतबर्षको दोस्रो त्रैमासको तुलनामा यो बर्षको नाफा १८।५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीको उत्पादनहरुको बिक्रीमा आएको कमी र संचालन आम्दनाीमा ह्रास आएपछि नाफा घटेको हो । चालु आवको दोस्रोे त्रैमासमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ७८ लाख रुपैयाँ थियो । गत आवको तुलनामा यो आवमा युनिलिभरको नाफा ३ करोड ४८ लाख कम हो । कम्पनीको उत्पादन बिक्रीमा गतबर्षको तुलनामा ३।६ प्रतिशतले घटेको छ । यसअवधिका कम्पनीको विज्ञापन खर्च समेत घटेको छ । गतबर्ष १७ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको कम्पनीले यसअवधिमा १३ करोडमात्र खर्च गरेको छ । समीक्षा अवधिमा युनिलिभरको आम्दानी घटेको छ । यसअवधिका कम्पनीले दश अर्ब २ करोडको उत्पादन बिक्री गरेको छ । गतबर्ष यस्तो कम्पनीले १० अर्ब ५ करोडको उत्पादन बिक्री गरेको थियो । विज्ञापन खर्च कटौती गरेपनि कम्पनी अन्य संचालन आम्दानी उच्चदरले घटेको छ । कम्पनीले यसअवधिमा अन्य संचालन आम्दानीबाट ३ करोड ३९ लाख मात्र आम्दानी गरेको छ । जबकी गतबर्ष उसको यस्तो आम्दानी १५ करोड ८६ लाख थियो । कम्पनीको नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर १६६ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा युनिलिभरको प्रतिसेयर आम्दानी २०४ रुपैयाँ थियो । यद्यपी युनिलिभर सबैभन्दा बढी ईपीएस भएको कम्पनी हो । युनिलिभरको अहिले दोस्रो बजारमा प्रतिकित्ता सेयर २८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३।६८ गुणा रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभरले जगेडाकोषमा १ अर्ब २६ करोड रुपैयाँ राखेको छ । मेरोलगानीबाट साभार

प्रदेश न‌ं.४ मा राष्ट्रियसभा सदस्य निर्वाचन

पोखरा । प्रदेश नं. ४ को पोखरास्थित लोकसेवा आयोगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमाबुधबार बिहान १० बजेदेखि सुरु भएको मतदानमा परिचयपत्र देखाउँदै लामबद्ध भएका मतदाताहरु । केही तस्विरहरु- निर्वाचन क्षेत्रका केही तस्विरहरु-   तस्वीरः नारायण न्यौपाने  

सलमानको ‘टाइगर जिन्दा हे’ को कमाई ३ सय ४० करोडको नजिक

काठमाडौं, माघ २४ । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा यति धेरै कमाई गर्यो, जसको कीर्तिमान तोड्न अन्य फिल्मलाई लामो समय कुर्नुपर्ने देखिन्छ। बलिउड इतिहासमा ३ सय करोड कमाई गर्ने फिल्मको सूचीमा सबैभन्दा बढी फिल्म नै सलमान खानको छ। सलमानको ‘बजरंगी भाईजान’, ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ ले ३ सय करोडभन्दा बढी व्यापार गरेको थियो। बक्स अफिसमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्ममा आमिर खानको दुईवटा फिल्म छ, जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन्। आमिरको फिल्म ‘पिके’ ले घरेलु बक्स अफिसमा ३ सय ४० करोडको आम्दानी गरेको थियो। जुन रकमको नजिक सलमानको फिल्म पुगेको छ। ‘टाइगर जिन्दा हे’ ले ३ सय ३८ करोड भारु कमाई गरिसकेको छ। अब ‘पिके’ को कमाईको कीर्तिमान तोड्न ‘टाइगर जिन्दा हे’ लाई गाह्रो पर्ने देखिन्छ। किनभने पछिल्लो साता यसले २ करोड ६३ लाख रुपैयाँ मात्र कमाई गर्यो। बक्स अफिसबाट बाहिरिनुअघि यो फिल्म ‘पिके’ को कीर्तिमान नजिक पुग्छ कि भन्ने आशा सबैलाई छ। -नुवाकाेटएक्सप्रेसबाट

प्रदेश ५ मा सरकार गठनको दौड शुरू, को को छन मन्त्री बन्न लागेकाहरू?

बुटवल, २३ माघ (रासस) ः प्रदेश नं. ५ को पहिलोे प्रदेशसभा बैठक सकिएसँगै दलहरु अब प्रदेश सरकार गठन तथा सभामुख, उपसभामुख चयन लगायतका विषयमा केन्द्रित भएका छन् । संसदीय दलका नेताका लागि पनि पार्टीहरुमा प्रदेश सदस्यहरुको चर्चा शुरु भएको छ । प्रदेशसभाबाट निर्वाचित जनप्रतिनिधिले माघ ३ गते शपथ लिएपछि यस प्रदेशमा नेकपा (एमाले) बाहेक अन्य दलले संसदीय दलको नेता चुनेका छैनन् । यस प्रदेशमा नेकपा (एमाले)का ४१, माओवादी केन्द्र २०, नेपाली काँग्रेस १९, संघीय समाजवादी फोरम पाँच, राष्ट्रिय जनता पार्टी एक र राष्ट्रिय जनमोर्चा एक गरी ८७ जना प्रदेशसभा सदस्य छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिसकेका छैनन् । बुधबारको राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित हुनु परेकाले पनि यसतर्फ अझै ध्यान पुग्न नसकेको दुवै दलका नेताले बताएका छन् । नेपाली काँग्रेसका केन्द्रय सदस्य तथा प्रदेश नं ५ को राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा संसदीय दलका नेता लगायतका विषयमा टुंग्याउने जिम्मेवारीमा रहनुभएका बालकृष्ण खाँणले संसदीय दलका नेता तथा सचेतकलगायत अन्य विषयगत समितिको चयनको विषय एउटा बैठकमा विषय प्रवेश गरेको तर राष्ट्रियसभाको निर्वाचन सकिएपछि सहमतिबाट नभए प्रक्रियामा टुङ्ग्याइने जानकारी दिनुभयो । उहाँले संसदीय दलका नेता तथा अन्य पदका लागि अहिलेसम्म आफूसँग कसैले दाबी नगरेको बताउँदै प्रक्रियामा जाँदा स्वभावैले धेरै आकांक्षी देखिने भएकाले यसको छिट्टै टुंगो लगाइने बताउनुभयो । नेपाली काँग्रेस यो प्रदेशमा प्रमुख प्रतिपक्षी रहने हुनाले संसदीय दलको नेता नै विपक्षी दलको नेता हुने व्यवस्थाअनुसार काँग्रेसमा पनि धेरै आकांक्षीको चर्चा छ । यस प्रदेशमा काँग्रेसबाट संसदीय दलको नेताका लागि दाङका डिल्ली चौधरी, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, रुपन्देहीका अष्टभुजा पाठक लगायतको चर्चा छ । प्रदेश नं ५ को सरकार बनाउने स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनले सरकार गठनबारे औपचारिक गृहकार्य शुरु नगरे पनि अर्को महिनाको पहिलो सातासम्म प्रदेश सरकार बनिसक्नेछ । यस प्रदेशबाट सरकारको नेतृत्व एमाले नेता शंकर पोखरेलले गर्ने चर्चा पनि त्यतिकै छ । नेकपा (एमाले)को यही माघ ३ गते बसेको प्रदेशसभा सदस्यहरुको बैठकले सर्वसम्मत रुपमा नेता पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । नेकपा एमालेलाई मुख्य मन्त्री दिएपछि माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको छ । सभामुखका लागि रुकुमका पूर्ण घर्तिमगर, गुल्मीका सुदर्शन बराल, प्यूठानका कृष्णध्वज खड्का र रोल्पाका कुलप्रसाद केसीले कसरत गरिरहेका छन् । माओवादी केन्द्रले सभामुख लिएपछि एमालेबाट उपसभामुख हुने चर्चा छ । मन्त्रीका बन्ने दौडमा रहेका प्रदेशसभा सदस्यहरुमध्ये एमाले वैजनाथ चौधरीको नाम अग्रपंक्तिमा देखिएको छ । उहाँलाई मन्त्री बनाउँदा मधेश र थारू समुदायको समेत प्रतिनिधित्व हुने र यसअघि संविधानसभामा रहेर केन्द्रीय सांसदको जिम्मेवारी निर्वाह गरिसकेकाले पनि उहाँलाई मन्त्रीका बनाउन एमालेमा दबाब बढेको छ । यता रुपन्देहीबाट लिला गिरी र भोजप्रसाद श्रेष्ठ दुवैले मन्त्री बन्ने इच्छा देखाएर लाग्नुभएको छ । एमाले नेता श्रेष्ठले पार्टीले मूल्याङ्कन गरेर जस्तोसुकै जिम्मेवारी दिए पनि आफूले सकेसम्म निर्वाह गर्ने बताउनुहुन्छ । माओवादी केन्द्रबाट भने रुपन्देहीका दधिराम न्यौपाने पनि मन्त्री बन्ने दौडमा हुनुहुन्छ । पार्टी पोलिटब्यूरो सदस्य न्यौपाने सभामुख नपाए राम्रो मन्त्रालयका लागि पहल गरिरहनुभएको छ । मन्त्री हुने लाइनमा महिलामा माओवादी नेता दामा शर्मा, बाँकेबाट प्रत्यक्षमा चुनाव जितेकी कृष्ण केसीको पनि दाबेदारी छ । सभामुख नपाएको अवस्थामा गुल्मीका सुदर्शन बराल, प्यूठानका कृष्णध्वज खड्का र रोल्पाबाट निर्वाचित कुलप्रसाद केसी पनि मन्त्री बन्ने चर्चामा हुनुहुन्छ । माओवादी केन्द्रका नेता न्यौपानेले अहिले पदमा पुग्नका लागि चाहना हुनु स्वाभाविकै भएको बताउँदै अहिलेसम्म कुनै पनि पदका लागि कसैको पनि टुंगो लागि नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाको भोलि मतदानपछि मात्र औपचारिक छलफल गरी टुङ्ग्याउँछौँ ।” कानूनतः सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्नेछ । प्रदेश नं ५ ले नौभन्दा नबढ्ने गरी मन्त्रिमण्डल बनाउने तयारीमा एमाले माओवादी गठबन्धनमा रहेका छन् । सरकारमा जाने तयारी गरेको माओवादी केन्द्रले संसदीय दलको नेता र प्रमुख सचेतक छानिसकेको छैन । यसले गर्दा पनि मसिनो छलफल र गृहकार्य हुन नपाएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो । माओवादी केन्द्रले संसदीय दलको नेता चयनपछि दुवै पार्टीका संसदीय दलका नेताले आफूहरुसँग सरकार गठनका लागि बहुमत रहेकाले सरकार गठनको आह्वानका लागि प्रदेश प्रमुखलाई निवेदन दिने बताउँदै उहाँले भन्नुभयो, “भोलि बुधबारको राष्ट्रियसभाको निर्वाचनपछि सबै विषय अगाडि बढनेछ ।” कानूनतः यस प्रदेशमा मुख्य मन्त्रीसहित सात मन्त्रालय रहने व्यवस्था छ । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन तथा वन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय छन् । संवैधानिक व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश प्रमुखले बहुमत प्राप्त दललाई सरकार गठनको आह्वानका लागि गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रमुख सचिव सनतकुमार दवाडीले प्रदेश प्रमुखले सरकार गठनको आह्वान संवैधानिक व्यवस्थाभित्र रहेर निश्चित समयमै गर्न विभिन्न तहमा छलफल र परामर्शमा रहनुभएको बताउनुभयो । –––

चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने : वरिष्ठ नेता खनाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ । इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले अब नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता कायम गरेर अगाडि बढ्नेसमेत धारणा व्यक्त गर्नुभयो । रेमशमार्गसम्बन्धी आइक्यापको बैठकमा एशिया, युरोप, अफ्रिकालगायत २४ मुलुकका ३८ राजनीतिक दलका नेता सहभागी थिए । सो बैठकमा वरिष्ठ नेता खनालले रेशम मार्गमा राजनीतिक पार्टीहरुको भूमिकाकाबारे चर्चा गर्नुका साथै विभिन्न देशका राजनीतिक पार्टीका नेताहरुसँग भेटघाटसमेत गर्नुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । वरिष्ठ नेता खनाल यही माघ १७ गते सो. बैठकमा सहभागी हुन इरान जानुभएको थियो ।

पाँचथरमा बाली उपचार तथा माटो परीक्षण शिविर संचालन

पाँचथर, माघ २३ । पाँचथरको फालेलुङमा अलैंची कृषकलाई लक्षित गरेर चार दिने बाली उपचार तथा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरबाट ४ सय ५८ जना कृषक लाभान्वित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यान्वयन इकाइ पाँचथरले जनाएको छ । परियोजना र क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको संयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा अलैंचीमा लाग्ने गानो कुहिने, छिर्के, फुर्के, ढुसी रोग लाग्दा गरिने उपचार विधि र अलैंचीलाई विभिन्न रोग किराबाट बचाउन बिषादी समेत वितरण गरिएको थियो ।

प्रदेश ७ को प्रदेश सभाको पहिलो वैठक शुरु

धनगढी, २१ माघ । प्रदेश ७ को प्रदेश सभाको पहिलो बैठक धनगढीस्थित जिल्ला समन्वय सिमितकाे हलमा शुरु भएकाे ५ । प्रदेश ७ मा ५३ जना सांसद रहेका छन् । पहिलो बैठकमा सम्पूर्ण सांसदका साथै नेकपा एमालेका उपाध्यक्ष भीम रावल, माआवादी केन्द्रका नेता लेखराज भट्ट लगायत बिभिन्न पार्टीका निर्बाचित प्रतिनिधि सभा सदस्य पनि अतिथिका रुपमा सहभागी भएका छन् । ताेकिएकाे समय भन्दा ३५ मिनेट ढिलाे गरी १ः३५ बजे वैठक शुरु भएकाे हाे । ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहकाे अध्यक्षतामा वैठक शुरु भएकाे छ । अाजकाे वैठकले कार्यविधि पारित गर्नुका साथै सभामुखकाे  निर्वाचनकाे मिति ताेक्ने जनाएकाे छ ।

सांग्रीला डेभलपमेन्ट र प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद भर्न छुट्यो !

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बिक्रीमा ल्याएको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने म्याद ७ दिन थप गरेको छ भने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । प्रुडेन्सियले गत पुस १६ गते तथा सांग्रीलाले गत पुष १७ गतेबाट हकप्रद शेयरको आवेदन खुलाएका थिए । सांग्रीला डेभलपमेन्ट बैंकले गत पुस १७ गते सोमबारदेखि ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले १० बराबर आठ अनुपातमा एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो । यसअनुसार मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ । बैंकले समय थप गरेसँगै अब सेयरधनीले माघ २९ गतेसम्म आवेदन गर्न सक्नेछन् । प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद भर्ने अाइतबारज अन्तिम दिन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो । हकप्रद जारी गर्न इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते सेयरधनी किताब बन्द गरेकाले मंसिर १४ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउने छन् । एनआईसी एशिया क्यापिटल हकप्रद सेयरको विक्री प्रबन्धक रहेकोे छ । हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्ने छ । मेरोलगानीबाट साभार

एमाले–माओवादीबीच पद वाँडफाँड टुंगियो, २ मुख्यमन्त्री र २ सभामुख माओवादीलाई

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेश अन्तर्गतका प्रमुख पदमा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । तर, उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ । स्रोतका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ । प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरुले नेतृत्वलाई चर्को दबाव दिएका थिए । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् । मुख्यमन्त्री र सभामुखलगायत पदका लागि व्यक्तिमा पनि सहमति भइसकेको बताइए पनि अहिलेसम्म औपचारिक रुपमा नाम भने सार्वजनिक गरिएको छैन । तर मुख्यमन्त्रीका रुपमा प्रदेश नं १ बाट एमालेका शेरधन राई र भीम आचार्य, प्रदेश ३ तीनबाट एमालेका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापित, प्रदेश ४ बाट किरण र पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ बाट एमालेका शंकर पोखरेल, प्रदेश ६ बाट माओवादीका नेरश भण्डारी र महेन्द्रबहादुर शाही र प्रदेश ७ बाट माओवादीका विरमान चौधरी र झपट रावलको नाम चर्चामा छ । उच्चस्रोतका अनुसार अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र वीरमान चौधरीको नाममा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ ।

सेंचुरियन टेस्टको पाँचौँ दिन, यस्तो छ भारतको दुर्दशा

दक्षिण अफ्रिका विरुद्ध सेंचुरियनमा जारी टेस्टको पाँचौँ दिन दुई सय ८७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय इनिंग आजको खेलमा नराम्ररी लडखडाएको छ । नेपाली समय अनुसार सवा दुई बजे सुरु भएको आजको खेलमा भारतले तीन विकेटको क्षतिमा ३५ रनको स्कोरबाट खेल्न सुरु गरेको थियो । समाचार तयार हुँदासम्म ऊ ४६ ओभरको समाप्तिसम्म एक सय ४२ रनमा संघर्षरत छ । उसका महत्वपूर्ण विकेट हरू पतन भइसकेका छन् र अहिले रोहित शर्मा ३५ र मोहम्मद सामी २४ को स्कोरमा क्रिजमा रहेका छन् । लुंगी एनगिडीले भारतका चार विकेट ढालिदिए पछि भारतको यो दुर्दशा भएको हो ।

नेपालकाे पहिलाे अाठ लेनकाे कलंकी–कोटेश्वर सडकखण्ड पूरा हुँदै

ललितपुर, पुस २८ । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट मुक्ति पाउनु हुने भएको छ । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ । यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केहि ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ । कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, उहाँले भन्नुभयो, “तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ ।” चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ । भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो, इञ्जिनियर अर्यालले भन्नुभयो, “अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ ।” यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् । यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन्, उहाँले भन्नुभयो, “हामीले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेका छौँ ।” पाइप लाइन, विद्युत्का पोल, सडक छेउका घर टहरालगायतका कारणले गर्दा काममा भने केहि ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । आठ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न सकेको छैन, इञ्जिनियर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन् ।” मुख्य लेन, सहायक मार्ग र सर्भिस मार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो । चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखण्डमा पर्छ । यी सडकमा चक्रपथ बाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन । परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन । यी सडक नसुुध्रँदा त्यसको असर सडक निर्माण पछि पर्नेछ, उहाँले भन्नुभयो, “यी सडक कच्ची हुँदा नयाँ सडकमा समेत धुलो र हिलो फैलनेछ ।” यो सडकको रु एक अर्ब लगानीमा यो सडकको निर्माण कार्य भइरहेको छ ।