प्राथमिक उपचार सम्बन्धि निः शुल्क तालीम नेपालका थप ८ जिल्लामा
युएई, वैशाख ८ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी को सहयोगमा दोस्रो चरण अन्तर्गत नेपालका ८ जिल्लामा एकै पटक निशुल्क प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिने भएको छ ।
शुक्रबार युएईको दुबईस्थित सिल्भर स्पोन रेस्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्बेलनमा गैरआवासिय नेपाली सघ (एनआरएनए) युएईका एनसीसी सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक ओम उप्रेतीले तालीम सम्बन्धि जानकारी दिएका हुन ।
एनआर एनए युएईका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा गरिएको उक्त पत्रकार सम्बेलनमा युएईस्थित विभिन्न संघसंगठनका प्रतिनिधिहरु ,पत्रकार तथा व्यावसायीहरुको ठूलो उपस्थिति रहेको थियो ।
बहोश(Faint)हिस्टेरिया (Seizure)अंगभंग भएमा (Fracture)निस्सासिएमा (Choking)विद्युत प्रबाह घात (Electronic shock) सर्पको टोकाई (Snake bite) रक्तस्राव (Bleeding) आगोले पोल्नु (Burn बिष सेवन (Poisson) हृदयघात (Heart attack) किराको टोकाइ (Insect bite) दम (Asthma)लु लाग्ने (Heat stroke)घात (Shock)स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली (CPR) जस्ता महत्त्वपूर्ण उपचार विधि सम्बन्धि जानकारी सैद्धान्तिक र प्रगोगात्मक रूपमा प्रस्तुत गरिने उप्रेतीले एभरेस्ट दैनिक लाई बताएका छन ।
स्वास्थ्य सम्बन्धी सामन्य ज्ञान समेत नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यसलार्इ केहि हदसम्म न्यूनीकरण गर्दै हरेक गाउँ टोलमा प्राथमिक उपचार गर्न सक्ने स्वयंसेवकको उत्पादन गर्नु मुख्य तालिमको मुख्य उदेश्य रहेको उप्रेतीको भनाइ छ ।
यसअघि पहिलो चरण अन्तर्गत नेपालका विभिन्न ७ जिल्लामा भब्य रूपमा सम्पन्न भै सकेको तालीमबाट ९५० भन्दा धेरै स्वयंसेवक उत्पादन गर्न सफल भएको भन्दै तालीम लाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गरिने उनको भनाइ छ ।
तालिमका लागि दोस्रो चरण अन्तर्गत स्याङ्जामा असोज १३ गते सनिवार ,पाल्पामा असोज १४ गते आइतबार ,गुल्मीमा असोज १५ गते सोमबार ,रुपन्देहीमा असोज १६ गते मंग्लवार ,धनकुटामा असोज १९ गते शुक्रबार ,सुनसरीमा असोज २० गते सनिवार ,मोरङमा असोज २१ गते आइतबार र तालिम समापन झापा बाट असोज २२ गते सोमबार हुने आयोजकले जानकारी दिएका छन ।
प्रत्येक जिल्लाबाट बढिमा ७० जनाको उपस्थिति रहने तालिममा १८ देखि ५० बर्ष उमेर समुहका प्रतिक्षार्थीले भाग लिन पाउने छन। भने प्रतिक्षार्थीको छनोट गाउँ पालिका वा नगरपालिका भित्रका बिध्यालय , क्याम्पस तथा गा।पा। को प्रत्येक वडा बाट बढिमा ५ जना ३ पुरुष र २ महिला सहभागी हुने गरि छनौट गरि पठाउन गापा सङ आबश्यक समन्वय गरिने बताएका छन ।
तालिम सम्पन्न पश्चात् सहभागी प्रशिक्षार्थीलाई अन्तरास्ट्रिय (ISO) मान्यता प्राप्त सर्टिफिकेट प्रदान गरि तालिममा सिकेको ज्ञान सीप लाई व्यबहारमा लागू गर्न प्रशिक्षार्थीलाई प्रेरित गरिने उप्रेतीले जानकारी दिएका छन ।
बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजनालाई जेल चलान
काठमाडौं, चैत २८ । बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले काठमाडौँ जिल्ला अदालतको मंगलबारको आदेशानुसार जेल चलान गरिएको जानकारी दिए । (रासस)
यी चर्चित कलाकार जो बाल्यकालदेखि अहिलेसम्म उस्तै देखिन्छ, फोटोफिचर
काठमाडाैं । केही चर्चित भारतीय कलाकार जाे बाल्यकालदेखि अहिलेसम्म उस्तै देखिन्छ । हेर्नुस् केही तस्वीर
काठमाडौं र महेन्द्रनगरबीचको खेल बर्षाका कारण प्रभावित
कैलाली, चैत २५ । धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचको खेल बर्षाका कारण प्रभावित भएको छ । गएरातिदेखि लगातार भइरहेको भारी बर्षाका कारण आजको पहिलो खेल प्रभावित भएको हो । अहिले पनि धनगढीमा सिमसिम बर्षा भईरहेको छ । प्रतियोगितामा दुबै टिम प्लेअफमा पुगिसकेका छन् । काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । काठमाडौं लगातार ४ खेलमा जित निकाल्दै एक खेल अगाडि नै प्लेअफमा पुगेको छ । महेन्द्रनगर पनि चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो । शनिबारको पहिलो खेल पनि पनि बर्षाका कारण प्रभावित भएको थियो । खेल हुन नसक्दा शनिबार महेन्द्रनगर यूनाईटेड र सिवाईसी अत्तरीयाले अंक बाँढेका थिए । जसका कारण महेन्द्रनगर यूनाईटेडलाई प्लेअफमा स्थान बनाउन सहज भएको हो । आज नै विराटनगर किङ्स र सिवाईसी अत्तरीयाबीच खेल हुनेछ । यो खेलको विजेताले प्ले अफमा स्थान बनाउने छ । यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाईटेड र टिम चौराहा धनगढीले प्लेआफमा स्थान बनाईसकेका छन् । आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सिवाईसी अत्तरीयाबीचको विजेता हुने प्लेअफमा पुग्नेछ ।
४०० बर्ष पुराना गीतहरु सार्वजनिक
काठमाडौं, चैत २५ । कवि राजा सिद्धिनरसिंह मल्लले सृजना गरेका ३२ गीत सार्वजनिक गरिएको छ । ललितपुर संस्कृति सम्वर्द्धन केन्द्रको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्कृतिविद् वाङमय शताब्दिपुरुष सत्यमोहन जोशीले उक्त सृजना संग्रहित सिडी ‘३६ सङ्स अफ पोएट किङ सिद्धिनरसिंह मल्ल’ सार्वजनिक गरेका हुन् । उक्त ऐतिहासिक सांस्कृतिक महत्वका गीतहरुको सिडी विमोचन गर्दै शताब्दिपुरुष जोशीले सांगीतिक सांस्कृतिक परम्परा अमूर्त सम्पदा भएको र अन्तर्राष्ट्रिय भाषासमेत रहेको संगीतको सांस्कृतिक परम्परा संरक्षणमा ती गीत लिपिवद्ध हुनु र सुन्नका लागि सिडीको रुपमा सार्वजनिक हुनु महत्वपूर्ण भएको बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन विशेष अतिथिको रुपमा उपस्थित थिए । नेपाल सम्वत ७२० ताकाका यी गीत ललितपुर नगरका विभिन्न दाफा भजनहरु, नसंचागुथि, ताम्रकार समाजद्वारा निरन्तर रुपमा दैनिक भजन, रातो मच्छेन्द्रनाथको जात्रा, ज्येष्ठ पूर्णिमाजस्ता विशेष पर्वहरुमा गाइदैं आएका छन् । विभिन्न राग तथा तालमा आधारित यी गीत आर्टोम्यूज रेकर्डिङ स्टुडियोले संगीत निर्देशक जुगल डंगोलको संयोजनमा तयार गरेको हो भने यी गीत अन्तर्राष्ट्रिय समुदायले समेत बुझ्ने गरी पाश्चात्य र पूर्वीय दुवै स्वरलिपिमा लिपिवद्ध गरिएका छन् । खोज अनुसन्धान गरी २ बर्ष लगाएर उक्त पुस्तक तयार पारिएको संगीत निर्देशक जुगल डंगोलले जानकारी गराए । लोपोन्मुख यस्ता अमूर्त संस्कृतिको संरक्षणका लागि गीतको सिडी तथा लिपिवद्ध गर्ने कार्यमा सघाउने ब्यक्तिहरु संस्कृतिविद् छत्रबहादुर कायस्थ, संगीत निर्देशक जुगल डंगोल, गुरु रामकृष्ण ताम्रकार, गुरु केशवकृष्ण श्रेष्ठ, गायक तथा सगीतकारहरु रुद्र ताम्रकार, श्यामगोविन्द ताम्रकार, काजीबाबु महर्जन, बाबुकाजी महर्जन, सनलाल ताम्रकार, ज्ञानलाल अवाले, बाबुकाजी महर्जन, तह्रिबाबु महर्जन, मलिक ताम्रकारलाई सम्मानसमेत गरिएको थियो । संग्रहित गीतहरुमध्ये विभास राग तथा धरन्जती तालमा आधारित ‘शंकर पञ्चमाः’, ‘असिक रसिक’तथा ‘रागआशावरी तथा च्व तालमा आधारित ‘छु यात मन्मथ्व’गीत प्रस्तुतसमेत गरिएको थियो । ज्येष्ठ नागरिकहरुको सहभागिता र सक्रियतामा परम्परागत रुपमा गाइदैं आएको यो परम्परामा युवापुस्ताको रुचि कममात्र देखिएको छ । यी गीतको संरक्षण तथा युवापुस्तामा हस्तान्तरणको लागि ज्येष्ठ नागरिकहरुकै सक्रियतामा ४ बर्ष अघि स्थापित ललितपुर संस्कृति सम्वर्द्धन केन्द्रले यो कार्य गरेको हो । यस कार्यका लागि ललितपुर महानगरपालिकाअन्तर्गत विश्व बैंकमार्फत जापान सामाजिक विकास कोषबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ । यूनेस्कोका अनुसार यी अमूर्त कला नेपालको मात्रै नभइ विश्वको सम्पदा हो भने यी सम्पदा संरक्षणको पहिलो दायित्व स्थानीय समुदायको हुन्छ । यसको प्रमुख दायित्व सरकारको हो । तर संरक्षण तथा विस्तारमा सरकारको चासो निकै कम भएको स्थानीयको गुनासो छ । विश्वकै एउटै मात्र लामो समयसम्म चल्ने नाट्य परम्पराको दावी गरिएको कार्तिकनाच, दशैंताका नचाइने गंप्याखं (गणनृत्य) लगायतअमूर्त संस्कृति सृजनामा अग्रणी मानिने मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले पाटन दरवार क्षेत्रमा निर्माण गरेको २१ गजुरको ढुंगैढुंगाले बनेको कृष्ण मन्दिर उल्लेखनीय छ । कलात्मकयस मन्दिरमा महाभारत तथा रामायण कुँदिएको छ ।
स्वस्थ जीवनका लागि योग साधना
काठमाडौं, चैत २४ । मानिसले स्वस्थ जीवन जीउनका लागि योगसाधना गर्नु आवश्यक रहेको बताइएको छ । पतञ्जली योग साधना केन्द्र, महर्षिको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज महर्षि विद्यालय सामाखुशीमा आयोजित कार्यक्रममा पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्रले प्रत्येक व्यक्तिलाई स्वस्थ जिवन बाँच्नका लागि हरेक घरलाई योगशाला बनाउनुपर्ने बताउनुभयो । “बच्चालाई पनि योग अभ्यास गराई स्वस्थ जीवन बाँच्न सिकाउनुपर्छ,”– उहाँले भन्नुभयो । गोरखा क्षेत्र नं २ प्रदेश ९ख०का सांसद प्रकाशचन्द्र दवाडीले योगले मानिसको स्वास्थ्यलाई राम्रो राख्दै औषधिको प्रयोग गर्न नपर्ने अवस्था ल्याउने भएकाले सबैलाई यस क्षेत्रमा आकर्षण गर्नु आवश्यक रहेको बताउनुभयो । विसं २०६९ मा स्थापना भएको योग केन्द्रले योग प्रशिक्षण, रक्तदान कार्यक्रम, वृद्धाश्रमलाई सहयोग, गरिबलाई सहयोग गर्दै आएको केन्द्रका संयोजक सुवर्णलाल चित्रकारले जानकारी दिनुभयो । सो अवसरमा योग दर्शन, अष्टाङ्ग योग र साधना विधि, आयुर्वेदिक जडिबुटी, सामान्य घरेलु विधि एवं विषय विज्ञ तथा साधकको अनुभवसम्बन्धी लेखरचनाको संगालो ‘योग दर्पण’ लोकार्पण गरिएको थियो ।
त्रिवि सुधारका लागि उपकुलपति समक्ष क्रान्तिकारीको १६ बुँदे माग
काठमाडौं, चैत्र २० । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय सुधारका लागि उपकुलपति तिर्थ खनियाँलाई १६ बुँदें मागपत्र बुझाएको छ । शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरिनुपर्ने, प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरिनुपर्ने लगायतका १६ बुँदे माग राखेको छ । मागपत्र बुझ्दै उपकुलपति खनियाँले विषयहरु व्यवहारिक र महत्वपूर्ण रहेको बताए । उनले त्रिविको आफ्नो आम्दानी नभएकोले सेमेष्टर सञ्चालनमा कठिनाइ आएको बताएका छन् । पुसमा सम्पन्न भएको प्रथम सेमेष्टरको परीक्षा फल अहिलेसम्म सार्वजनिक नभएको बारे विद्यार्थीहरुले प्रश्न राख्दा चाँडै नतिजा सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । महेश श्रेष्ठ, संघर्ष दाहाल, हेमराज शर्मा लगायतले खनियाँसमक्ष मागपत्र बुझाएका थिए । क्रान्तिकारी मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकटको विद्यार्थी संगठन हो । त्रिवि सुधार्नुपर्ने क्रान्तिकारीको माग यस्तो छः १. शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरियोस् । प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरियोस् । २. हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरियोस् । ३. हरेक सेमेस्टरका विद्यार्थीलाई स्थलगत कार्य गराउने व्यवस्था अनिवार्य लागू गरियोस् । ४. सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको प्राध्यापकलाई मात्र सो विषयको अध्यापन गराउने व्यवस्था कडाइकासाथ लागू गरियोस् । ५. विज्ञान संकायका सबै विभागमा आवश्यक प्रयोगात्मक सामग्री उपलब्ध गराइयोस् । ६. प्राध्यापक तथा कर्मचारी कार्यालय समयमै कार्यालयमा उपस्थित भइ आफ्नो जिम्मेवारी पूरा गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस् । ७. हरेक विभागको पुस्तकालय हप्ताको ६ दिन खोल्ने व्यवस्था गरियोस् । ८. त्रि।वि। केन्द्रिय पुस्तकालय हरेक दिन कम्तिमा १२ घण्टा खुल्ला रहने व्यवस्था गरियोस् । र त्रिवि केन्द्रिय पुस्तकालयको आवश्यक भौतिक संरचना नेपाल सरकारकै लागतमा तत्काल निर्माण थालनी गरियोस् । ९. छात्रारछात्रवासमा बस्न बनाइएको मापदण्ड कडाइका साथ लागू गरियोस् र नतीजा प्रकाशनमा समावेशीको सिद्धान्तलाई आत्मसात् गरियोस् । विद्यार्थी संगठनहरुलाई दिइएको अघोषित भागवण्डा तत्काल खारेज गरियोस् । १०.छात्रारछात्रवासमा इन्टरनेटको व्यवस्था, फोहोर व्यवस्थापन, विजुली बत्तिको व्यवस्था, झ्याल ढोकाको मर्मत सम्भार तथा निर्माण, सफा पिउने पानीको व्यवस्था गरियोस् । ११. विद्यार्थीको लागि खेलकुद सामग्रीहरु उपलब्ध गराउँदै खेलकुद प्रतियोगीता सञ्चालन गरियोस् । १२. हरेक विभाग अन्तर्गत कम्तिमा एक फोहोर राख्ने बास्केटको व्यवस्था गरियोस् । शौचालय, कक्षा कोठाका झ्याल–ढोकाको मर्मत तथा निर्माण गर्नुका साथै उच्छृंखल तथा अनैतिक काम क्रियाकलाप नियन्त्रण गरियोस् । १३. त्रिवि परिसरलाई काँडेतार वा पर्खाल लगाएर घेरियोस् । त्रिवि परिसरभित्र सार्वजनिक तथा अनावश्यक निजी सवारी साधन प्रवेशमा रोक लगाइयोस् । १४. हेल्थ सेन्टरलाई व्यवस्थित गरियोस् । १५. डिर्पाटमेन्ट अघिको खाली जग्गामा बगैंचा निर्माण गरियोस् । १६. विभिन्न विभागले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरियोस् ।
गाईघाट-दिक्तेल सडकमा २३ वर्षपछि कालोपत्रे शुरु
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ । तेइस वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ । गाईघाट—दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पहिलो चरणमा उदयपुरको गाईघाटस्थित त्रियुगा पुलदेखि गाईघाटको मुख्य चोकसम्मको सडक कालोपत्रे र बृहत् नाला निर्माण कार्य औपचारिक रुपमा शुरु भएको हो । पहिलो चरणमा गाईघाटको त्रियुगा नदीदेखि गाईघाट बजारको ट्राफिक चोकसम्मको एक किलोमिटर लम्बाइ र २५ मिटरको चौडाइ सडकसहितको नाला निर्माण र सडक कालोपत्रे कार्य शुरु भएको गाईघाट—दिक्तेल सडकखण्डका प्रमुख इञ्जिनियर निज्जल श्रेष्ठले बताउनुभएको छ । नेपाल सरकार सडक विभागको रु ११ करोड ९८ लाख बराबरको आर्थिक लगानीमा पहिलो पटक सो सडकखण्डको नाला निर्माण र सडक कालोपत्रे गर्ने कार्य औपचारिक रुपमा शुरु भएको कुरा गाईघाट दिक्तेल सडक कार्यालय बताउँछ । सूर्य कन्ट्रक्शन प्रालि निर्माण कम्पनीले २०७५ को कात्तिकभित्र काम सम्पन्न गर्ने गरी आफूहरुले कार्य थालेका कुरा सो कम्पनीका सञ्चालक प्रदीपकुमार कार्कीले बताउनुभयो । अब क्रमशः उदयपुरदेखि खोटाङको दिक्तेलसम्म १५८ किलोमिटर सडकखण्डमा सडकको नाला निर्माण र कालोपत्रे गर्ने कार्य अभियान शुरु भएको पनि गाईघाट—दिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा गाईघाट—दिक्तेल सडकको औपचारिक शिलान्यास गरेपछि उक्त सडक निर्माण कार्य शुरु भएको थियो । अहिले २३ वर्ष बितिसक्दा पनि उक्त सडकखण्डमा सडक ग्राभेलिङ हुननसकेको र सडकका नाला निर्माण तथा कालोपत्रे कार्यसमेत हुन सकेको छैन । यस्तै, सडकखण्डअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा अहिले पनि स्थायी पुल निर्माण हुन नसकेको यातायात व्यवसायी बताउँछन् । ढिलै भए पनि २३ वर्षपछि पहिलो पटक कछुवाको गतिमा सो सडकखण्डमा नाला निर्माण र सडक कालोपत्रे औपचारिक कार्य शुरु भएको हो । रासस
इयुको निर्वाचन प्रतिवेदनप्रति संसदमा चर्को विरोध, कसले के भने…
काठमाडौं, चैत १२ । प्रतिनिधिभसाको सोमबारको बैठकमा सांसदहरुले युरोपियन युनियन (इयु) को निर्वाचन पर्यवेक्षण प्रतिनिधि मण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हँुदैन । नेपाल लोकतन्त्रमा विश्वास गर्ने राष्ट्र हो ।” नेपाल अन्तरराष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भएअनुसार अन्तरराट्रियस्तरमा राम्रो सम्बन्ध राख्न चाहन्छ भन्दै उहाँले नेपालको संविधान समानुपातिक समावेशीताको दृष्टिकोणबाट कुनै पनि देशको भन्दा कम नरहेको दाबी गर्नुभयो । संविधानसभाबाट लेखिएको संविधानलाई समानुपातिक समावेशीताको अभ्यासद्वारा समृद्ध मुलुक बनाउने अभियानमा नेपाल रहेको बताउँँदै सांसद रावलले भन्नुभयो, “अप्ठ्यारोमा परेका बेलामा मित्र राष्ट्रहरुले हाम्रो देशमा सहयोग गर्न सक्नुहुन्छ तर, संविधान, सार्वभौमसत्तालाई आघात पु¥याउने काम गर्नु गलत हो ।” बैठकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं ४ मा गत शनिबार आगलागीबाट भएको क्षतिको बारेमा जानकारी गराउँदै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद्मा जनताको जीवन र सम्पत्ति रक्षाका लागि विशेष व्यवस्था गर्न संसद्मार्फत सरकारसँग माग पनि गर्नुभयो । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल सार्वभौम राष्ट्र भएको र आन्तरिक मामिलामा कसैले गरेको हस्तक्षेप सह्य नहुने बताउनुभयो । उहाँले इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अपमानजनक भएको पनि बताउनुभयो । राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णले मधेशी, थारु र मुस्लिमलगायत अल्पसंख्यक जनता अझै विभेदमा रहेको बताउँदै समानुपातिक समावेशी व्यवस्थामा रहेका कमजोरी सच्याई कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप नस्वीकार्ने बताउनुभयो र नेपालको संविधान संघीयता, गणतन्त्र, र समानुपातिकको मामिला हिजोको भन्दा एक कदम अघि रहेको दाबी गर्नुभयो । नेपाली काँग्रेसका प्रदीप गिरीले संविधान जारीपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । संविधान कार्यान्वयनमा आउने सबै खालका चुनौतीको सामना गर्नुपर्ने उहाँको भनाइ थियो । माओवादी केन्द्रका शशी श्रेष्ठले मुलुकभर महिला हिंसाका घटना बढिरहेको भन्दै यस्ता खालका घटना नियन्त्रण गर्न देवानी र फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सोही पार्टीका सुदन किरातीले सीमा क्षेत्रमा नेपालीले आवतजावत गर्दा भोग्नुपरिरहेका कष्टप्रति सरकारको ध्यानाकर्षण गर्नुभयो । एमालेका विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा छलफल हुनुपर्ने बताउनुभयो । बैठकमा नियमापत्ति गर्दै उहाँले यो भनाइ राख्नुभएको हो ।
शेयर बजारमा भारी गिरावट, लगानी कर्ता निराश
काठमाडौं, चैत १२ । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज रु ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ । आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून बिन्दु हो । आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ । आज बैंकिङ ४१.९८, होटल ८१.३४, विकास बैंक ५१।२७, जलविद्युत् ६९.४९, फाइनान्स ४.७२, बीमा ३८३.९२ उत्पादन समूह ६०.९५, अन्य २१.९४ र माइक्रोफाइनान्स ७५.५२ बिन्दुले ओरालो लागेको छ । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारको तर्फबाट बजारको बारेमा सकारात्मक पहल आवश्यक भएको बताउनुभयो । धितोपत्र बजारमा आएको कमीका बारेमा जानकारी दिँदै उहाँले शेयर बजारका लगानीकर्ता ठूलो मारमा परेको भन्दै सरकारको तर्फबाट सकारात्मक पहल जरुरी रहेको बताउनुभयो । जिम्मेवार निकायमा रहेका व्यक्तिले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै उहाँले अनावश्यक हल्ला र बजार प्रभावित पार्ने काम कोही कसैले पनि गर्न नहुने स्पष्ट पार्नुभयो । रौनियारले अनलाइन कारोबार, वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लाबाट कारोबार गर्न पाउने व्यवस्था गरिए कारोबार बढ्ने र लगानीकर्तामा समेत विश्वास पैदा हुने सुझाव दिनुभयो । इन्भेष्टर्स फोरमका अर्का सदस्य केशव भण्डारीले लगानीकर्ता नराम्ररी प्रभावित भएको बताउनुभयो । सरकारले लगानीकर्ताको भावना सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यार्थी, गृहिणी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले गरेको सानो सानो लगानीको पनि सुरक्षा जरुरी रहेको बताउनुभयो । बजारमा करीव १५ लाख लगानीकर्ता रहेको इन्भेष्टर्स फोरमले दाबी गरेको छ । बजार परिपक्व नभएका कारण सानोतिनो हल्ला र प्रभावले बजार प्रभावित हुने भएकाले त्यसतर्फ ध्यान दिन लगानीकर्ताले आग्रह गरेका छन् । बजारमा बैंक तथा वित्तीय क्षेत्रको चाप परेको छ, ब्याजदरमा परिवर्तन भएको, हकप्रद, बोनस शेयरको समेत चाप परेका कारण बजार प्रभावित भएको छ । बजार निरन्तर ओरालो लाग्दा साना लगानीकर्ता मारमा परेको उनीहरुको टिप्पणी छ । आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले मुनाफा गरेका छन् भने राष्ट्रिय बीमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।
कांग्रेस बैठक: मर्यादाक्रममा श्रेष्ठलाई अगाडि राख्दा सिंह रिसाए
काठमाडौं । कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । यसअघि मर्यादाक्रम नमिल्दा पूर्वउपसभापति गोपालमान श्रेष्ठ केन्द्रीय समितिमा उपस्थित भए पनि उपस्थितिपुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । मर्यादाक्रम मिलाउन बनेको ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको समितिले शनिबारबाट उनलाई पदाधिकारीको लहरमा राखेको छ । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवपछि श्रेष्ठको कुर्सी राखिएको छ । उनलाई आफूभन्दा मर्यादाक्रममा अगाडि राखिएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आपत्ति जनाए । आफू पनि उपसभापति भइसकेको भन्दै अगाडि हुनुपर्ने उनको माग छ । कांग्रेस फुटेका बेला प्रजातान्त्रिक कांग्रेसमा श्रेष्ठसँगै सिंह पनि उपसभापति थिए । तर, मर्यादाक्रममा श्रेष्ठ अगाडि थिए । पार्टी एकीकरणपछि पनि श्रेष्ठभन्दा सिंह पछाडि नै थिए । सुशील कोइराला सभापति भएपछि महामन्त्री भएका सिंह गोपालमानभन्दा अगाडि भए । यो क्रम १३औँ महाधिवेशनपछि पनि कायम हुन पुग्यो । वरिष्ठ र उपसभापति पनि भइसकेकाले अगाडि हुनुपर्ने उनको माग थियो । उनी बैठकमा उपस्थित भए पनि पछाडि राखिएको भन्दै उपस्थितिमा हस्ताक्षर गर्दैनथे । १३औँ महाधिवेशनलगत्तै श्रेष्ठलाई पदाधिकारीपछि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाभन्दा पछि सातौँ नम्बरमा राखिएको थियो । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।
माध्यमिक शिक्षा परीक्षा एसईई शुरु, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी
काठमाडौं, चैत ८ । माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन्। जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । यस वर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । परीक्षा नियन्त्रक रेग्मीले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् । शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खर पुग्ने काम जोकोहीले गरेमा १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । परीक्षाको अनुगमन गर्न, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ । यस वर्ष १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले गे्रड पद्धतिमा नम्बर पाउने छन् । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म परीक्षा संचालन हुने बोर्डले जनाएको छ । आगामी वर्षदेखि भने प्रदेशस्तरमा एसईई परीक्षा संचालन गर्ने तयारी छ ।
उपसभामुखको मनोनयन आज हुँदै, वाम गठबन्धनमा उम्मेदवारबारे अझैं अन्यौल
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । कार्यतालिका अनुसार आज दिउँसो २ बजेभित्र उम्मेदवारी मनोनयन गर्नुपर्नेछ । मनोनयन दर्ताका लागि नेपाली कांग्रेसले पुष्पा भुषाललाई अगाडि सारेपनि वाम गठबन्धनमा उम्मेदवारबारे अन्यौल कायमै रहेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार उपसभामुख एमालेले पाउने भनिएपनि संघीय समाजवादी फोरम समेत सरकारमा सहभागी हुने भएपछि फोरमलाई उपसभामुख दिने चर्चा समेत चलेको थियो । वाम गठबन्धनले दिउँसो १२ बजेसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले वाम गठबन्धनका उम्मेदवार नै विजयी हुने निश्चित छ । एमाले नेता सुवास नेम्वाङले उम्मेदवारबारे पार्टीमा छलफल भइरहेपनि टुङ्गो लागि नसकेको बताए । नेम्वाङले छलफलपछि समयमै उम्मेदवारी दर्ता गर्ने बताए । यसैबीच, सभामुखमा उम्मेदवारी नदिएको कांग्रेसले भने उपसभामुखमा उम्मेदवारी दिने भएको छ । कांग्रेसले उपसभामुखमा पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको हो । उम्मेदवारी दर्ताका लागि संसद सचिवालयमा पुगेको भुसालले बताइन् । उम्मेदवारी दर्ताका लागि फर्म ल्याएको बताउँदै भुसालले भनिन्, ‘प्रस्तावक र समर्थकका विषयमा छलफल हुँदैछ ।’ भुसाल समानुपातिक सांसद भुसाल अर्घाखाँचीवासी हुन् । उनी ०६४ को संविधानसभामा पनि सांसद थिइन् । सभामुखमा भने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका थिए । उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।
गाउँमा डोजर पुगेपछि अबिर जात्रा
काठमाडौं, फागुन २९ । कर्णाली करिडोर हुँदै नेपाली सेनाले सडक नानीकोटको घाटपारी चौरसम्म पुर्याएपछि पलाता गाउँपालिकाले गाउँमा सडक खन्न कर्णाली नदी तारेर डोजर थिर्पु पुर्याएको छ । कान्तिपुरका अनुसार डोजर गाउँ पुगेपछि स्थानीयले अबिर जात्रा गरेर खुसियाली मनाएका छन् । गाउँमा पहिलोपटक डोजर पुगेपछि खुसी हुँदै स्थानीय कमला बमले पलातावासीको सडक सपना पूरा हुन थालेको बताइन् । उनले गाउँमै डोजर आएपछि थिर्पुबाट धौलागोह र खिन पुग्ने सडक खन्न पनि सहज हुने बताइन् । गाउँपालिकाले सर्वे गरेको सडक (मुनाल मार्ग) निर्माण सुरु गरेपछि थिर्पु गाउँ सडकसँग जोडिएको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताए । उनले गाउँमा डोजर पुगेको खुसीयालीमा रातभर गाउँलेले नाचगान गरेको सुनाए ।
कारितास नेपालद्वारा शत्रु जीव व्यवस्थापन पाठशाला समापन कार्यक्रम सम्पन्न
सुनकोशी गाउँपालिकाको १, २ र ३ वडामा भूकम्प पीडितहरुको निजी आवास निर्माण लगायत जीविकोपार्जन तथा विपद् जोखिम न्यूनिकरण, खानेपानी, सरसफाई तथा स्वच्छता र संरक्षण तथा मनोसामाजिक सहयोगको जिम्मा पाएको कारितास नेपालले साविकको कालिकामा २०७४ साउन २७ गतेदेखि माघ ३ गते र ठोकर्पामा २०७४ साउन २४ गतेदेखि माघ १२ गतेसम्म भूकम्प प्रभावित तथा साना किसानहरुका लागि सृजनशील र एकिकृत शत्रु जीव व्यवस्थापन कृषक पाठशाला सञ्चालन गरी मिति २०७४ साल फागुन २३ गते समापन कार्यक्रम सम्पन्न गरेको छ । विश्वव्यापीरुपमा बढिरहेको हानीकारक विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको अवस्थामा कारितासले भूकम्प प्रभावि ततथा साना किसानहरुको मागलाई मध्यनजर गरी जैविक प्रविधि अपनाएर कम जग्गामा धेरै र स्वस्थ बाली उत्पादन गरी राम्रो आम्दानीमा वृद्धि गर्न जीविकोपार्जनमा सहयोग पु¥याउने हेतुले एकिकृत शत्रु जीव व्यवस्थापन आई.पी.एम.पाठशाला तरकारी बाली काउलीमा सञ्चालन गरेको हो । समापन कार्यक्रममा स्थानीय सरोकारवाला, अगुवा कृषक र दुईवटा पाठशालाका ५२ जना कृषक सहभागी गरी १२५ जनाको सहभागिता रहेको र जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । आई.पी.एम. पाठशालाका सहभागीहरुले आफूले हासिल गरेका ज्ञान र सीपको प्रतिवेदन, नाटक र गीतहरुमार्फत आई.पी.एम. तरिकाबाट खेती गर्नाले हुने फाइदा र बेफाइदाबारे सन्देशमूलक प्रस्तुति गरेका थिए । कार्यक्रममा उपस्थित स्थानीय सरोकारवालाहरु मध्य उच्च माविका प्रअ, वडा सदस्यहरुले आफ्नो मन्तव्यको क्रममा यस आई.पी.एम. कार्यक्रमले खाद्य सुुरक्षामा टेवा पुग्ने र किसानहरुको मुख्य मागलाई सम्बोधन गरी एकिकृत शत्रु जीव व्यवस्थापन पाठशाला किसानहरुलाई राहत हुने किसिमको रहेको बताउनुभयो । यसैगरी कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यलय चौताराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले नेपाल कृषिप्रधान देश भएकोले कृषि पेशालाई आधुनिकिकरण गर्नको लागि र पर्यावरण संरक्षणका लागि पनि आई.पि.एम.प्रविधि अपनाउनु अत्यन्तै आवश्यक भएको बताउँदै भूकम्पपछिको तत्कालिन अवस्था र हालको अवस्थामा पुनःनिर्माणको कार्यक्रमले आकाश–पातालको फरक भएको बताए र कालिका र ठोकर्पामा कारितासले पुनःनिर्माणको जिम्मा लिई पारदर्शी ढङ्गबाट कार्यक्रमगरिरहेकोले कारितास नेपाललाई मुरीमुरी धन्यवाद दिएका थिए । पुनःनिर्माणको कार्यक्रमलाई प्रकाश पार्दै कारितास नेपालले सुन्दर तथा नमुना बस्ती बनाउने संकल्पका साथ खाद्य सुरक्षामा ध्यान दिई स्वस्थ बाली उत्पादन र वातावरण संरक्षणको लागि भूकम्प पीडित तथा स्थानीयहरुको चहराइरहेको घाउमा मल्हम पट्टी लगाउन प्रयास गरिरहेको र धानबालीमा पनि आईपीएम पाठशाला सञ्चालन गर्ने योजना रहेको कारितास नेपालका जिल्ला कार्यक्रम संयोजक झग्गु चौधरीले बताए ।
शैक्षिक प्रदर्शनी
काठमाडौँ । सीपमूलक र व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक प्रदर्शन भएको छ । एपेक्स लाइफ स्कुलले आज चाबहिल, सरस्वतीनगरमा आयोजना गरेको एकदिने शैक्षिक प्रदर्शनीको नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले उद्घाटन गर्दै दक्ष विद्यार्थी उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले परीक्षामा मात्र सफल बनाउनुभन्दा असल विद्यार्थी निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेले विसं २०४० मा स्थापित विद्यालयले सैद्धान्तिकका साथै व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विभिन्न समयमा यस्ता प्रदर्शनी गर्दै आइरहेको बताउनुभयो । प्रदर्शनीमा विद्यार्थीले बनाएका विज्ञान, प्रविधि र सामाजिक क्षेत्रका वस्तु राखिएका छन् । विद्यालयले पूर्वीय दर्शनलाई विशेष जोड दिई विभिन्न पाठपूजा गराउँदै आएको छ । विद्यालयमा काठमाडौँका बालाजु, रविभवन, कपन, बूढानीलकण्ठ र थापाथलीका साथै भक्तपुरका ठिमी, बालकोटलगायतका ३५० विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयका लेखाप्रमुख विन्दु अधिकारीले जानकारी दिनुभयो । रासस