आज प्रकाश दाहालको ३८ औं जन्मजयन्ती, प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता प्रकाश दाहालको ३८ औं जन्मजयन्ती भव्यताका साथ मनाईंदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको ह््दयघातका कारण डेढ वर्ष अघि निधन भएको थियो ।
प्रकाशको ३८ औं जन्मजयन्तीका अवसरमा आज प्रकाश दाहाल फाउण्डेसनले साहसिक सगरमाथा आरोही सम्मान वितरणको कार्यक्रम गरेको छ ।
आज अपरान्ह १२ बजेबाट राष्ट्रिय सभा गृह काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सगरमाथा आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुर थापालगायतको उपस्थिति रहने आयोजकले जनाएका छन् ।
उक्त अवसरमा अध्यक्ष प्रचण्ड र नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
युवाहरुमाझ अत्यधिक लोकप्रिय प्रकाश दाहालको गत आम निर्वाचनको समयमा निधन भएको थियो ।
प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
‘होटल याक एण्ड यति’ बाट १२ जना भारतीय नागरिक पक्राउ
काठमाडौं, वैशाख २८ । दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, केन्द्रीय अनुन्धान ब्यूरो र महानगरीय प्रहरी वृत्तको संयुक्त टोलीले सूचनाको आधारमा नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् । यस्तै भारत उ१र प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम पक्राउ परेका हुन् । उनीहरुले होटलको रुम लिएर लिएर शुक्रवार ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिइरहेका थिए । उनीहरुले प्रशिक्षणको लागि भनेर भारतबाटै २ सयजना भन्दा बढिलाई नेपाल ल्याएका थिए ।
देशभर मौसममा बदलीः मध्य र पूर्वका कतिपय ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना
काठमाण्डौं, चैत २६ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्छ । त्यसपछि रोकिए पनि मंगलबार काठमाण्डौसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ । मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । तर नजिकै परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उहाँले बताउनुभयो । पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो ।
विप्लव निकट शिक्षक संगठनका अध्यक्ष प्रहरीको नियन्त्रणमा
बुटवल, चैत १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले कञ्चन गाउँपालिकास्थित निवासबाटै पक्राउ गरेको हो। आचार्य सूर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन्। संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले आचार्यलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे। उनी पक्राउ परेको कुरा प्रहरीले भने अझै पुष्टि गरेको छैन। प्रहरीले रुपन्देहीमा विप्लव नेतृत्वको पार्टीका गतिविधि गर्नेमाथि कडा निगरानी गरिरहेको छ। यसैबीच संगठनका केन्द्रीय अध्यक्ष पाठकले सामाजिक सञ्जालमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै पक्राउ गरिएका आचार्यलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्। उनले ट्रेड युनियनका व्यक्तिलाई बिना कारण पक्राउ गर्न नपाइने भन्दै रिहा गर्न माग गरेका हुन्। सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएपछि उनको पार्टी निकट संगठनका पदाधिकारीमाथि प्रहरीले निगरानी बढाएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो।
शनिबार विप्लव नेकपाको बन्द
काठमाडौं, चैत १२ । नेत्रविक्रम चन्द नेतृत्वको अनौपचारिक राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टीले आउँदो चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका क्रियाकलापमाथि सरकारले प्रतिबन्ध लगाएपछि सोको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा पनि गरेको छ । नेकपाद्वारा जारी विज्ञप्तिअनुसार चैत १३ गते चोक जुलुस, १४ गते कोणसभा, १५ गते मशाल जुलुस र चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरिएको छ । पार्टीले चैत १९ गते देशभर अन्तरक्रिया गर्ने, २१ गते जनवर्गीय संगठनहरुको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन गरिने छ भने २४ गते देशभर जनसभाको आयोजना हुने पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।लजारी एसइइ परीक्षालाई प्रभाव नपरोस भनेर शनिबार नेपाल बन्दको कार्यक्रम राखिएको उल्लेख गरिएको छ ।
प्रतिव्यक्ति सरकारी ऋण ३३ हजार
काठमाडौं, चैत १२ । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ । आन्तरिक ऋण ३ खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ । यस्तै, वैदेशिक ऋण पाँच खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ । यो ऋण आवको कुल गार्हस्थ उत्पादनको ३१।६८ प्रतिशत हो । त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८९६७ प्रतिशत छ । गत आवको प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार ७ सय ७५ रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो । यसले ऋणको भार थपिँदै गएको देखाएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।
किन गरिन्छ कस्मेटिक सर्जरी ?
एस्थेटिक सर्जरी प्लास्टिक सर्जरीको एउटा अंग हो । यसलाई आमभाषामा कस्मेटिक सर्जरी भन्ने गरिन्छ । पछिल्लो समयमा युवापुस्तामाझ कस्मेटिक सर्जरी लोकप्रिय बन्दै गइरहेको छ । यसका लागि नेपालमा पनि दक्ष जनशक्ति उपल्ब्ध छन् । जो आफ्नो सुन्दरतामा अलि धेरै नै ध्यान दिन्छन्, उनीहरूका लागि प्लास्टिक सर्जरी बढी उपयोगी हुन्छ । जसमा विशेषगरी, मोडेल, कलाकार आदि पर्छन् । कस्मेटिक सर्जरी गर्नुको कारण शरीरका बाहिरी अंगमा कुनै कमजोरी भएमा वा सुन्दर देखिन कस्मेटिक सर्जरी गरिन्छ । विशेषगरी, अनुहारमा नमिलेको भाग मिलाउन, चाउरिएको छाला तन्काउन, आँखाको साइज ठिक बनाउन, नाक, छाला, कान, गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन सर्जरी गर्न सकिन्छ । आगोले पोलेको ठाउँ, चोटपटक वा अन्य दुर्घटनाबाट परेको घाउ हटाउनसमेत एस्थेटिक सर्जरी आवश्यक हुन्छ । स्तन सानो वा ठूलो बनाउन र मोटोपन घटाउन पनि यसको आवश्यकता छ । यसको किसिम ब्लेफारोप्लास्टी आँखामा गरिने सर्जरी हो । यसको माध्यमले आँखा सानो भएमा ठूलो वा आर्कषक बनाउने तथा ठूलो भएमा ठिक्कको बनाइन्छ । खासगरी मंगोलियन समुदायका मानिसले यसलाई बढी प्रयोग गर्छन् । ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन राइनो सर्जरी गरिन्छ । त्यस्तै, चिक अयुग्मेन्टेसनबाट गालासँगै अनुहार मिलाउन सकिन्छ । सिलिकन ब्रेस्ट इम्प्लान्टबाट स्तनको साइज मिलाउन र हिप इम्प्लान्ट सर्जरीबाट मोटोपन घटाउन सकिन्छ । यसरी शरीरका भिन्न–भिन्न अंगमा फरक–फरक तरिकाले सर्जरी गर्न सकिन्छ । यसका सावधानी कस्मेटिक सर्जरीपछि अंग र अवस्था हेरेर सामान्य अवस्थामा आउन समय लाग्न सक्छ । जस्तै, छाला टाइट गर्ने, पेट र हिप घटाउने खालका शल्यक्रियापछि सामान्य अवस्थामा आउन बढी समय लाग्छ । जुन तुलनात्मक रूपमा बढी खर्चिला पनि हुन्छन् । कहिलेकाहीँ शल्यक्रियाबाट सुन्दरतामा निखार ल्याउने भएकाले संक्रमण हुने सम्भावना रहन्छ । त्यस्तै, औषधिको सेवन र आराम गर्नुपर्ने भएकाले आफ्नो हेरचाहमा ध्यान पुर्याउनुपर्छ । नेपालमा एस्थेटिक सर्जरी सर्वसुलभ भए पनि महँगो पर्छ । त्यसैले, यसमा सबैको पहुँच भएको पाइँदैन । सर्जरीका दौरान सिलिकन एम्प्लान्ट आदि प्रयोग गरिने भएकाले पनि महँगो पर्ने गरेको हो । नयाँपत्रिकाबाट
चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त
काठमाडौं, चैत ७ । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरिएको छ । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरे । भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् । उनले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ । यसअघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो । त्यसपछि पौडेलले माघ २२ गते मन्त्री समक्ष राजीनामा बुझाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् ।
गजलः नारी दिवस
मणिकुमार श्रेष्ठ ‘सिजन’ नारी दिवसको नाममा यहाँ केक काटिदैं छ विकसित मानवको नाममा यहाँ पेट साटिदैछ । मणिकुमार श्रेष्ठ ‘सिजन’ विभेदको अन्य गर्न जुर्मुराउने आवाजहरु एकल अधिकारको नाममा यहाँ सेट फाटिंदै छ । एकलवादी सोचहरु समाजमा फैलिएपछि विवेकहीन स्वतन्त्रताको नाममा यहाँ भेट डाटिंदै छ समानता र समता विचको मिलन विन्दु नखोजिँदा अन्त्यहिन यात्राको नाममा यहाँ डेट खाटिदैछ साल्पासिलिछो गाउँपालिका, भोजपुर
२ वर्षे छोरीलाई विष खुवाएर सीमाले गरिन आत्महत्या, पढनुस के थियाे दुख ?
जनकपुरधाम – जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शमौले दुई बर्षे शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए । प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन् ।
भरतपुर महानगरमा पाकिस्तानी राजदूत, मेयर रेणु दाहालले गरिन् भव्य स्वागत
चितवन, पौष २३ । नेपालका लागि पाकिस्तानी राजदुत डा. मजर जाबेद लगायतको प्रतिनिधि मण्डललाई भरतपुर महानगरपालिकामा सोमबार स्वागत गरिएको छ । महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रदेश सांसद गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले प्रतिनिधि मण्डललाई स्वागत गरेका हुन् । कार्यक्रममा महानगर प्रमुख दाहालले नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदुत डा. मजर जाबेदलाई भरतपुर महानरपालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । नेपाल र पाकिस्तानकाबीच मैत्री सम्बन्ध कायम भएसँगै मित्रराष्ट्र पाकिस्तानले नेपालको भौतिक, सामाजिक र साँस्कृतिक विकासका साथै प्राविधिक विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग आइरहेको जानकारी गराउँदै उनले आगामी दिनहरूमा पनि निरन्तरताको अपेक्षा रहेको बताए । आफ्नो सहयोगलाई निरन्तरता दिंदै पाकिस्तानी दुतावासले भरतपुर महानगरपालिकाभित्र रहेका नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरलाई सुविधासम्पन्न कम्प्युटर ल्याब स्थापनार्थ सहयोग गरेकोमा राजदुत जाबेदलाई धन्यवाद व्यक्त गरिन् । उनले यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटरको अधिकतम उपयोग गरी ज्ञान र सीप हासिल गर्न आग्रह गरिन् । महानगर प्रमुख दाहालले यस्ताखाले सहयोगले नेपाल र पाकिस्तानबीच कायम रहेको सुमधुर सम्बन्धलाई अझै जनस्तरमा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले पाकिस्तान सरकारको सहयोगमा भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेको भरतपुर आँखा अस्पताल देशकै नमुना अस्पतालको रूपमा संचालनमा रहेको बताइन् । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाले यसको समुचित विकासको लागि योजनावद्ध ढंगले कार्यक्रमहरु अगाडि बढाइरहेको बताउँदै उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका कामहरु भइरहेको बताइन् । पाकिस्तानी राजदुत डा. जाबेदले पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध कायम गर्न गर्नु भएको प्रस्तावले आफूलाई उत्साहित बनाएको महानगर प्रमुख दाहालले बताए । प्रमुख दाहालले मैत्री सम्बन्ध कायम गर्ने प्रकृयालाई अगाडि बढाउने बताइन् । प्रदेश सांसद गीता वाग्लेले राजदूतलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पाकिस्तानले नेपाललाई विगतदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । सो अवसरमा राजदुत लगायतको प्रतिधि मण्डललाई भरतपुर महानगरपालिकाको वर्तमान अवस्था र यसका सम्भावनाहरूको बारेमा जानकारी गराइएको थियो । राजदुत डा. मजर जाबेदले आफू र आफ्नो प्रतिनिधि मण्डललाई न्यानो आतिथ्यता दिएकोमा धन्यवाद दिँदै नेपाल पाकिस्तानको असल मित्र भएको बताए । डा. जाबेदले नेपाल र पाकिस्तानबीच मैत्री सम्बन्ध कायम भएसँगै पाकिस्तानी जनता र नेपाली जनताबीच अत्यन्तै हार्दिकतापूर्ण सम्बन्ध रहेको बताए । डा. जाबेदले पाकिस्तान सरकारले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रविधि आदानप्रदानका कार्यक्रम अगाडि बढाउन लागेको बताउँदै यसले दुई देशको आपसी हितमा सहयोग गर्ने बताए । राजदुत जाबेदले नेपाल र पाकिस्तानको भौगोलिक अवस्था समेत मिल्दोजुल्दो रहेको बताउँदै नेपाल र पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउन भरतपुर महानगरपालिका र पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गरे । यसका लागि आफूले प्राथमिकताका आधारमा प्रकृया अगाडि बढाउने बताए । कार्यक्रममा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले स्वागत मन्तव्य राखेकी थिइन् ।
चलचित्र आरोपको ‘फुरुङ फुरुङ’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, पुस २० । दिलासा क्रियसनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आरोप’को ‘फुरुङ फुरुङ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिवाको आवाज रहेको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । विजय पाठक र दिनेश राउतले निर्माण गरेको यस फिल्मलाई खिचेका छन् वीरेन्द्र भट्टले । सानूकुमार महर्जनको द्वन्द रहेको छ । चलचित्रमा कमल राईको नृत्य रहेको छ भने एसके अधिकारीको गीत तथा संगीत रहेको छ र उनलाई संगीतमा साथ दिएका छन् गणेश चौधरीले । चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, ऋचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ। हेर्नुहोस् भिडियो-
कंसाकार भन्छन्, ‘पैसा मागे नदिएपछि कालो मोसो दलेर भागे’
काठमाडौं, पुष २० । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि कालोमोसो दलिएको छ । उनलाई वैद्य माओवादी निकट बताउने विद्यार्थी संगठनले कालोमोसो दलेका हुन्। कार्यालयमा बसिरेको बेला दुइजना आएर कालोमोसो दलेको कंसाकारले जानकारी दिए । ‘दिउँसो चार बजेको समयमा दुई जना व्यक्ति मेरो कार्यकक्षमा आए, वैद्य समूहको विद्यार्थी संगठनका नेता बताउने उनीहरुले म सँग आर्थिक सहयोग माग गरे,’ कंसाकारले भने, ‘मैले पैसा कहाँबाट दिने भनेर जवाफ दिएपछि कालोमोसो दलेर भागे ।’ बाहिर बसेको सुरक्षा गार्डले समाउन खोज्दा खोज्दै भागेर दौडेको उनले बताए। कंसाकारलाई वाइडबडी जहाज खरिदमा अनियमितता गरेको संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आरोप लगाएको छ।
सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पुर्याउन माग
काठमाडौं, पुस १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ-सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पु¥याउन माग गरेका छन् । हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ । सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा आठौँँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा आयुर्वेद विज्ञको दरबन्दी कायम गर्न, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ११ औँ तहको आयुर्वेद विज्ञको व्यवस्था गर्नुपर्ने रहेका छन् । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई तीन निकायका उच्च पदाधिकारीले आइतबार भेट गरी आफ्ना माग पूरा गर्न आग्रह गरे । स्वास्थ्य सचेतना कार्यक्रम ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो वार्षिकोत्सवका अवसरमा काभ्रे जिल्लाकोे बनेपामा विशेष स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ । आइतबार सम्पन्न सो सचेतना कार्यक्रममा अस्पतालका उपनिर्देशक तथा अर्थोपेडी–स्पाइन सर्जन डा विनोद विजुक्छे, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा समीरा शफी खान, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा सन्देश पन्थीलगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए । अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य जनचेतनाका सचेतना कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा स्थानीय समुुदायको उल्लेख्य सहभागिता रहेको जानकारी दिए । मानिसका हुने ढाडको समस्या र समाधानका उपायमा डा विजुक्छे, महिलाको पाठेघरको मुखमा हुने क्यान्सर र जोगिने उपायमा डा खान तथा थाइराइड हर्माेनका कारण हुने समस्यामा डा पन्थीले चेतनामूलक प्रस्तुति दिएका थिए। रासस
बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको पार्टी भारी बहुमतसहित विजयी
काठमाडौं । बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग भारी बहुमतसहित विजयी भएको छ । अवामी लिगले ३५० संसदीय मध्ये २८१ सिटमा जित हासिल गरेको छ । योसंगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल भएकी छिन् । बंगलादेशको इतिहासमा निरन्तर तेस्रो कार्यकाल कोही पनि प्रधानमन्त्री बनेका छैनन् । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गर्दै निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेको छ । विपक्षीको पार्टीले जम्मा ७ सिट जितेको छ । मतदानका क्रममा विभिन्न जिल्लामा हिंसात्मक घटना भएका थिए । उक्त घटनामा सत्ताधारी र विपक्षीका गरी १७ जनाको ज्यान गएको थियो । प्रमुख विपक्षी दलकी नेतृत्व बेगम खालिदा जिया जेलमै भएका बेलामा निर्वाचन भएको हो । हसिना सन् २००९ देखि सत्तामा छिन् ।
अभिनेत्री शिल्पा र मनिशको ‘मैले माया’ गीतको भिडियो सार्वजनिक
गायक प्रमोद आवाजमा रहेको ‘मैले माया’ बोलको गीतको भिडियो युट्युबमा सावर्जनिक भएको छ । गीतमा प्रेमको शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । रमेशराज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ । शिशिर श्रेष्ठले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका छन् । गीतमा मनिशको भुमिकालाई आमदर्शकले निकै मन पराएका छन् । ‘मैले माया’ को हेर्नुहोस भिडियो–