कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई पठाइन् पत्र

काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् ।

अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

राष्ट्रपतिको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन् । उक्त भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए ।

जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको दूतावासले जनाएको छ ।

अमेरिकाले चाँडै विभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपाललाई दिन पत्रमा आग्रह गरिएको छ ।

यसअघि राष्ट्रपति भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए ।

एकैदिनमा ४ हजार सङ्क्रमितको मृत्यु हुने भारत तेस्रो राष्ट्र

काठमाडौं । भारतमा कोरोना सङ्क्रमणबाट हुने मृत्यु नयाँ उचाइमा पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । एकैदिनमा चार हजार सङ्क्रमितको मृत्यु भएको अमेरिका र ब्राजिलपछि भारत पहिलो राष्ट्र हो । यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी १२ मा अहिलेसम्मकै सबैभन्दा बढी चार हजार ४९० जना सङ्क्रमितको एकैदिनमा मृत्यु भएको थियो । भारतमा सो अबधिमा चार हजार १८७ जना सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतमा पछिल्लो चौबीस घण्टामा चार लाख एक हजार ७८ जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । एकैदिनमा चार लाख बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो । भारतमा हालसम्म दुई करोड १८ लाख सङ्क्रमित सङ्ख्या पुगेको छ । दुई लाख ३८ हजार २७० जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणबाट हुने मृत्यु दर एक प्रतिशत माथि पुगेको छ । हालसम्म एक करोड ७९ लाख सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल ३७ लाख २३ हजार ४४६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

आरसीबीले पायो विशाल लक्ष्य, कप्तान राहुलकाे उत्कृष्ट पारी

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको २६ औँ म्याचमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ८० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो । उसका लागि कप्तान केएल राहुलले उत्कृष्ट पारी खेले । उनले ५७ बलमा पाँच छक्का सात चौकासहित अविजित ९१ रन बनाए । त्यस्तै, क्रिस गेलले पनि आज आक्रामक पारी खेले । उनले २४ बलमा ६ चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए । हरप्रीत बारले अविजित २५ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कायल जेमिसनले दुई, डानियल साम्स, युजवेन्द्र चहल र साहबाज अहमदले एक/एक विकेट लिए । आरसीबीले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले वासिङ्टन सुन्दरको स्थानमा साहबाज अहमदलाई मौका दिएको छ । पञ्जाबले भने प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ । उसले मोइसेस हेनरिक्स, मयंक अग्रवाल र अर्शदीप सिंहलाई आराम दिँदै रीलि मेरिडिथ, हरप्रीत ब्रार र प्रभुसिमरन सिंहलाई मौका दिएको छ । जारी संस्करणमा आरसीबीले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार ब्यहोरेको छ । पञ्जाबले भने ६ खेलमा दुई जित र चार खेलमा हारको सामना गरेको छ । पछिल्ला पाँच खेलमा आरसीबीले पञ्जाबलाई तीन खेलमा पराजित गरेको छ । गत सिजनका दुवै खेलमा भने पञ्जाबले आरसीबीलाई हराएको थियो । पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान/विकेटकीपर), क्रिस गेल, प्रभुसिमरन सिंह, दीपक हूडा, निकोलस पूरन, रिले मेरीडिथ, शाहरुख खान, क्रिस जोर्डन, रवि विश्नोई, मोहम्मद शामी र हरप्रीत ब्रार । आरसीबी प्लेइङ-११ : विराट कोहली (कप्तान), देववदत्त पाडिक्कल, रजत पाटीदार, ग्लेन मैक्सवेल, एबी डिभिलियर्स, सहबाज अहमद, काइल जेमिसन, डानियल साम्स, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

सरकारद्वारा ३८१ जनालाई ‘लोकतन्त्र योद्धा सम्मान’ प्रदान

काठमाडौं । सरकारले लोकतन्त्र प्राप्तीको आन्दोलनका ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । माओवादी जनयुद्द, २०६२–६३ को जनआन्दोलन तथा मधेस आन्दोलनमा ज्यान गुमाएका परिवार, घाइते तथा अपाङ्गगलगायत १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मानित गरिएको हो । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिएका हुन । सरकारले यो सम्मान ७७ वटै जिल्लामा गरिने जनाएको छ । जिल्लाहरुमा सिडिओको नेतृत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको र सो समितिको सिफारिसका आधारमा लोकतन्त्रका योद्धाहरुलाई सम्मान गरिनेछ ।

सर्वोच्च अदालतको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए । यसपटक दुवै न्यायाधीश न्याय सेवाबाटै आएका छन् ।  

मेयर्स कप : विनोदको आक्रामक शतकीय पारी, टिम भने १० रनले पराजित

काठमाडौं : काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लब १० रनले पराजित भएको छ । बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनायो । उसका लागि विनोद भण्डारीले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ११४ बलमा सात छक्का र आठ चौकासहित १ सय १४ रन बनाए । त्यस्तै, लोकेश बमले ४६, करण केसीले २४ र रोहितकुमार पौडेलले १५ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा अरियो पौडेल एक्लैले पाँच विकेट हात पारे । उनले ८.१ ओभरमा ४६ रन दिएर पाँच विकेट हात पारेका हुन् । त्यस्तै, राम नरेश गिरीले दुई, नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले एक/एक विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बागमतीले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६६ रन बनायो । उसका लागि पारस खड्काले शतकीय पारी खेले । उनले १३३ बलमा ११ चौका र दुई छक्कासहित ११९ रनको पारी खेलेका हुन् । त्यस्तै, नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा सोमपाल कामीले १० ओभरमा ६५ रन दिएर पाँच विकेट लिए । त्यस्तै, करण केसी, साहब आमल, जितेन्द्र मुखिया र बिक्रम सोबले एक/एक विकेट लिए । आर्मीलाई हराए पनि बागमती फाइनल पुग्न अससफल भयो । बागमतीले चार खेलमा दुइमा जित र दुई खेलमा हारको सामना गर्न पुग्यो । आर्मीले भने चारमध्ये एक खेलमा मात्र जित हासिल गर्न सक्यो ।

दैलेखमा बस दुर्घटनाः २ को मृत्यु, १६ जना घाइते

दैलेख । आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए । बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ । सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्वरको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ ।

हुलाकी राजमार्गमा क्रोनिक ठेक्का तोडिँदै

काठमाडौंः हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ । निर्माण सुरु भएको १० वर्षसम्म सम्पन्न नभएका ५ पुलमध्ये ३ को ठेक्का तोडिसकिएको छ भने २ पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ । आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो । एक दशक पहिले निर्माण सुरु भए पनि अघि नबढेका पुलको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । गत वर्षसम्म यस्ता क्रोनिक ठेक्का १० वटा रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । उनका अनुसार निर्देशनालयले २ को ठेक्का तोड्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा गएकाले मुद्दा विचाराधीन भएको उनले बताए । उनले भने, ‘अदालतबाट निर्णय आएपछि मात्रै नयाँ ठेक्कामा जान सकिन्छ ।’ आयोजनाअन्तर्गतका ५ पुलमा भने निर्माणको काम भइरहेको छ । १०/११ वर्ष पुरानो पुलमा अहिले निर्माण भइरहेकाले अवधि थप भएको छ । कमला र दलान नदीमा पुल सम्पन्न क्रममा रहेको छ । यी दुवै पुलको लम्बाइ ५०० मिटर छ । उनले भने, ‘यही वर्ष नै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’ आयोजनाअन्तर्गत अहिलेसम्म २ सय ४५ पुल रहेका छन् । अहिलेसम्म ७५ पुल सम्पन्न भएर प्रयोगमा आइसकेका छन् । पचहत्तर पुल डिजाइनका क्रममा र ९५ पुल निर्माणाधीन छन् । सडक बने पनि कतिपय स्थानमा पुल नबनेकाले सो सडकको प्रयोगकर्तालाई आवतजावत सजिलो भएको छैन । कतिपय स्थानमा पहिले भएका साँघुरा पुलमा पनि सवारीसधन र पैदलयात्रु आवतजावत गरिरहेका छन् । ती स्थानमा पुल निर्माणपछि आवतजावत सहज हुने अपेक्षा गरिएको छ । आयोजना आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सोही अवधिसम्ममा नै निर्माणाधीन र निर्माण सुरु नभएका पुलसमेत सम्पन्न गर्नुपर्ने चुनौती छ ।

५० हजार घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित दुई पक्राउ

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित २ जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै रु ५० हजार घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका-३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित २ जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै रु ५० हजार घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका-३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

एकैपटक ३१ सहसचिवको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं : सरकारले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । अन्य सहसचिवको सरुवा कहाँ? सूची : 

भारत र पाकिस्तानका सेना गोली हानाहान रोक्न सहमत

काठमाडौं । भारत-पाकिस्तानका सेनाबीच भएको वार्तामा दुवै पक्ष फेब्रुअरी २४ मध्यरातदेखि सीमाक्षेत्रमा गोली हानाहान रोक्न सहमत भएको बीबीसी न्यूज हिन्दीले जनाएको छ। दुवै देशका सेनाका डीजीएमओबीच हटलाइनमार्फत वार्ता भएको थियो। सो वार्ता दुवै देशबाट सीमामा रहेको बुरी गाउँ नजिक लगातार गोली हान्ने काम भएपछि भएको थियो। भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रमा ३,३२३ मिटर लामो सीमा रहेको छ। वार्तापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ: ‘दुवै पक्षले सीमारेखा र अन्य क्षेत्रमा पूर्वसहमति, आपसी समझदारी र युद्धविरामलाई फेब्रुअरी २४-२५ रातिदेखि पूर्ण रूपमा पालना गर्ने छ।’

कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय

सुर्खेत : कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । उनीसहित आयोगमा नियुक्त सदस्यहरू वसन्तीकुमारी शाही र भक्तबहादुर शाहीलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले बिहीबार पद तथा गोपनियताको शपथ खुवाएका छन् । आयोगको अध्यक्षमा नियुक्त उपाध्याय साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक (सहसचिवस्तरका अवकाशप्राप्त कर्मचारी) हुन् । आयोग गठनका लागि मुख्यमन्त्रीको अध्यक्षमा गठित सिफारिस समितिले फागुन २ गते ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा सभामुख राजबहादुर शाही र प्रमुख विपक्षी दलका नेता जीवनबहादुर शाही सदस्य थिए । कर्णाली प्रदेशसभाले प्रदेश लोक सेवा आयोग ऐन-२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक-२०७६ गत फागुन २ गते पारित गरेको थियो । आयोगमा नियुक्त तीनैजनालाई बिहीबारै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अस्थायी रुपमा पदवहाली गराइएको कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले बताए ।

अफगानिस्तानमा रक्षामन्त्रीका सवारी चालक र ५ वर्षीय छोराको हत्या

काबुल  : अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरूको हत्या भएको अधिकारीहरूले जनाएका छन् । देशमा शान्ति स्थापनाका लागि प्रयास भइरहेका बेला दर्दनाक हिंसात्मक घटना जारी नै रहेको छन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयास भइरहे पनि सफलता मिल्न सकेको छैन । एएनआई

निर्मला र भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै प्रचण्ड–नेपाल पक्षका नेताको धर्ना

भर्नामा बसेका प्रचण्ड–नेपाल पक्षका नेता । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका नेताहरूले बालिका तथा किशोरी बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । आज काठमाडौंमा हुने सभामा सहभागी हुने क्रममा नेताहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र महेश्वर गहतराजलगायतका नेताहरू कालो ब्यानरसहित त्रिपुरेश्वरमा धर्नामा बसेका हुन् । उनीहरूले बलात्कार र हत्या गरिएका निर्मला पन्त र भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । सो क्रममा निर्मला र भागरथीका हत्यारालाई कारबाही गर, महिला हिंसा अन्त्य गरलगायतका नारा लगाइएको थियो । प्रचण्ड–नेपाल पक्ष प्रदर्शनः ५ स्थानबाट जुलुस शुरु, केहीबेरमा विरोध सभा हुँदै

सल्यानबाट चार महिनामा २२ करोडको कृषिजन्य वस्तु निर्यात

सल्यान। सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा रु २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट रु २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । यस आवमा रु. नौ करोड ८३ लाख ३६ हजार बराबरको तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । चार महिनाको अवधिमा तीन हजार ५०० मेट्रिक टन तरकारी निर्यात गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । यसैगरी रु चार करोड १२ लाख बराबरको अदुवा र रु सात करोड ६७ लाख ७० हजारको बर्खे आलु निर्यात भएको बस्नेतले जानकारी दिए । “गत चार महिनाको अवधिमा दुई हजार ५५९ मेट्रिक टन आलु र ८२५ मेट्रिक टन अदुवा निर्यात भएको छ”, बस्नेतले भने । यस्तै ९२ मेट्रिक टन कागती, निबुवा, अम्बा, नास्पातीलगायतका फलफूलबाट रु ४८ लाख ७१ हजार जिल्लामा भित्रिएको बस्नेतको भनाइ छ । उनका अनुसार ४६० मेट्रिक टन तरकारी जिल्लाभित्र खपत भएको छ । “जिल्लामा पाँच मेट्रिक टन अदुवा, ७३१ मेट्रिक टन आलु जिल्लामै खपत भएको छ, यसले सल्यान जिल्ला कृषिजन्य उत्पादनमा आत्मनिर्भर छ भन्ने देखाउँछ”, बस्नेतले भने । सल्यान जिल्लामा बेमौसमी तरकारीका लागि प्रख्यात भएको तथा कृषिले राम्रो मूल्य पाएको कार्यालयको भनाइ छ । यो वर्ष लकडाउनका कारण भारतबाट समेत तकारी आउन समस्या भएकाले किसानले राम्रो मूल्य पाउन सफल भएको कृषि विकास कार्यालयले जनाएको छ । “कृषकले लकडाउनको समयमा तरकारी बिक्री हुँदैन भनेर धेरै जमिनमा अन्नबाली लगाए तर भारतबाट तरकारी नआएपछि किसानले राम्रो मूल्य पाए”, सूचना अधिकारी बस्नेतले भने । जिल्लामा तरकारी खेतीका लागि उपयुक्त जलवायु भएको कारणले किसानले यसलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारमा गएर आएका युवासमेत व्यावसायिकरूपमा कृषि पेशामा आकर्षित हुन थालेका छन् । जिल्लाको शारदा नगरपालिका, शिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्केर युवाले व्यावसायिक कृषि शुरु गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

काठमाडौंः बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरिन् । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन् । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन् । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चाै‌थो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमापछि परेको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए । उनले १३औँ सागमा भने म्याराथनमा स्वण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।