आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ–गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।
दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए । “कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले सो कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने छ”, उनले भने । पशुपतिमा रहेका दुई वटा विद्युतीय शवदाह गृहमध्ये एउटाको यन्त्र बिग्रिएको छ । हाल एउटा शवदाह गृह मात्र सञ्चालनमा रहेको सदस्य सचिव थापाले बताए । सोही स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ । इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ । थप विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट रु आठ करोड छुट्याएको छ । शवदाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषले रु एक करोडको अक्षय कोष स्थापना गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बैठकको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीले गरेका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीकोसमेत उपस्थिति थियो ।
यात्रीलाई दर्ता गर्ने पहल सुरु, सरोकारवाला सबै निकायसँग आज छलफल हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा अगाडि बढाउन निर्देशन दिएपछि सरोकारवालासँग छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले यात्री विद्युतीय मोटरसाइकल उत्पादन गर्ने कम्पनीका प्रतिनिधि र सरकारी निकायसँग आइतबार साँझ छलफल गरेको हो। सोमबार सरोकारवाला सबै निकायसँगको बैठक बोलाइको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उद्यमशीलतालाई प्रोत्साहन हुने गरी कानुनी तथा अन्य विषयमा छलफल भएर निकास निकालिने उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान नेपालमा बनेको सवारी साधनलाई प्रोत्साहनको गर्ने नीति ल्याउन पनि उनले निर्देशन दिए । मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेको सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिए । प्रधानमन्त्रीले यात्रीलगायतका नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनी आएका गुनासाप्रति आफू गम्भीर रहेको भन्दै आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पु¥याउन मुख्यसचिवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवद्र्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता हुन नसकेपछि उत्पादित सवारीसाधन थन्किएका छन् भने लगानीकर्ता समस्यामा परेका छन्। नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता कानुनी रूपमा व्यवस्था नभएकाले समस्या भएको छ। विद्यमान कानुनी व्यवस्थाले नेपालमा सवारीसाधन उत्पादन हुन्छ भन्ने कल्पना पनि गरेको छैन। सवारी ऐन २०४९ अनुसार नेपालमा सवारीसाधन दर्ता गर्न भन्सार कार्यालयबाट सवारीसाधनको च्यासिस वा इन्जिनबारे प्रज्ञापनपत्रमा उल्लेख भएको र भन्सार तिरेको कागजात हुनुपर्छ। तर नेपालमा उत्पादित सवारीसाधनका हकमा त्यस्ता काजगात नै बन्दैनन्। त्यसैले हालकै कानुनी व्यवस्थाअनुसार दर्ता गर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए । यो गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकासित समाचार हो ।
सामाजिक सञ्जाल निर्देशिका ल्याउने सरकारको तयारी
काठमाडौँ । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ । हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो । स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीका सामाजिक सञ्जालका आधिकारिक पेज सञ्चालनमा पनि व्यक्ति परिवर्तन हुँदा समस्या आउने गरेको छ। केही समयअघि राष्ट्रपति परिवर्तन हुँदा पनि त्यस्तै ट्वीटर ह्यान्डिल सञ्चालनमा समस्या आएको थियो । त्यस्तै समस्या रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज दुई वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन। शनिबार मात्र उक्त पेज सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए । यस्तै समस्या मन्त्रालय, विभाग वा कार्यालयका तर्फबाट सञ्चालन गरिने सामाजिक सञ्जालमा समेत रहेको छ। यीलगायतका समस्या समाधानका लागि अब सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना दिन निश्चित प्रक्रिया पूरा गरेर मात्रै सामाजिक सञ्जाल सञ्चालन तथा प्रयोग गर्न पाउने भएका छन् । यो गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित समाचार हो ।
राजनीतिमा ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिनुपर्छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिएर आउट गर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेललगायत सबै क्षेत्रमा अनुशासनको आवश्यकता औँल्याए । फउल गरे राजनीतिमा समेत ‘रेड कार्ड’ दिनुपर्ने उनको भनाइ छ । अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने उनले उल्लेख गरे । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफूले सरकारसँग आग्रह गर्ने उनले बताए। नयाँ खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने उनले बताए । कार्यक्रममा ओलीले केही बेर टेबलटेनिस खेलेका थिए । खेलाडीहरूले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए ।
एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं । विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नागरिकले नेपाल ल्याउने मोबाइलमा गरिएको कडाइ हाललाई रोक्दै पुरानै प्रक्रिया रहन दिन निर्देशन दिएका हुन्। आज (पुस १५) देखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने जनाइएको थियो। साथै ,भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ गर्ने बताएको थियो। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने बताएको थियो। विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध भइरहेको छ। विदेशमा रहेका नागरिकको भावनालाई संवोधन गर्ने गरी तत्काललाई सो निर्णय गरिएको प्रधानमन्त्री सचिवालयको भनाई छ । प्राधिकरणले गत शनिबार सूचना जारी गरी विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको थियो। यस्तै,नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि एमडिएमएस प्रणाली तत्कालको लागि कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।
विश्वकप फुटबलमा आज दुई खेल हुँदै, फ्रान्ससँग पोल्यान्ड भिड्ने
काठमाडौं । विश्वकप फुटबलमा आज दुई खेल हुँदै छ । आजको सेमिफाइनल खेलमा पोल्यान्ड फ्रान्ससँग भिड्दैछ। अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फ्रान्स क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता विजेता फ्रान्स आजको खेलमा जित निकाल्दै यो संस्करणको उपाधिमा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पोल्यान्ड पनि आजको खेलमा सजह जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ । आज नै हुने विश्वकपको दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । इङ्ल्यान्ड आजको खेमला जित निकाल्दै आफूलाई उपाधि दावेदारको स्थानमा राख्ने योजनामा छ । यता सेनेगल पनि सोही योजनामा हुनेछ ।
१३२ केभीको सुनवल सबस्टेसन निर्माण एक महिनामा सक्ने लक्ष्य
काठमाडौं । निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । १३२ केभीको सुनवल सबस्टेसन निर्माण एक महिनामा सक्ने लक्ष्यका साथ काम भइ रहेको विद्युत प्राधिकरणले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसन त्यस क्षेत्रमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्नेगरी एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । १३२–३३–११ केभी सबस्टेसनमा ६३ एमभीएका दुईवटा, २२.५ एमभीएको एक वटा पावर ट्रान्सफर्मर रहने छन् । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने बताइएको छ । हाल सञ्चालनमा रहेको पूर्व पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिने तयारी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ । ‘परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, घिसिङले भने । यो सबस्टेसन चालूसँगै विद्युत समस्या हट्नै साथै प्राविधिक चुहावट पनि घट्ने उनले बताए ।
डेंगुको संक्रमण तीव्र,उपत्यकामा १,४१० जना संक्रमित
काठमाडौं । डेंगुको संक्रमण यो वर्ष सुरुवाती समयमै बढेको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढेपछि अस्पतालका इमर्जेन्सी वार्ड भरिन थालेका छन् । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म एक हजार चार सय १० जनामा संक्रमण देखिइसकेको छ । लामखुट्टेको टोकाइबाट फैलिने डेंगु सामान्यतया भदौबाट देखिने भए पनि यो वर्ष सुरुवाती समयमै अत्यधिक देखिएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म देशभर दुई हजार पाँच सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा सन् २००४ देखि पुष्टि भएको डेंगु सन् २०१९ मा आएर अत्यधिक बढेको थियो । पछिल्लो दुई वर्षमा संक्रमण नियन्त्रणमा रहे पनि यो वर्ष अत्यधिक बढिरहेकाले सजग रहनुपर्ने चिकित्सकको सुझाव छ । १० जिल्ला बढी प्रभावित देशभरि नै डेंगुको संक्रमण देखिए पनि बागमती, लुम्बिनी र प्रदेश १ का १० जिल्लामा अधिक छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै ललितपुरमा आठ सय ५८, रुपन्देहीमा तीन सय ६३ र काठमाडौंमा पाँच सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, भक्तपुरमा २०, संखुवासभामा ५१, अर्घाखाँचीमा ५० र गुल्मीमा ४९ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग नियन्त्रण प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु नियन्त्रणका लागि अति प्रभावित एक सय ४९ वटा स्थानीय तहमा बजेट छुट्याइएको छ । ‘लामखुट्टे नियन्त्रणमा नल्याउँदासम्म डेंगु नियन्त्रणमा ल्याउन सकिँदैन । यो वर्ष डेंगु संक्रमण अत्यधिक देखिएकाले नियन्त्रणका लागि बजेट छुट्याइएको छ,’ उनले भने । पछिल्ला चार दिनयता टेकुमा दैनिक सयजना डेंगुका बिरामी पछिल्लो दुई महिनायता उपत्यकामा मात्रै एक हजार चार सय १० जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ । ललितपुरमा आठ सय ५८, काठमाडौंमा पाँच सय ३२ र भक्तपुरमा २० जनामा संक्रमित भइसकेका छन् ।यस वर्ष ललितपुरमा ९ असार, काठमाडौंमा २३ असार र भक्तपुरमा १ भदौदेखि संक्रमण देखिएको थियो । पछिल्लो समय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, टेकु अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतमा डेंगुसँग मिल्दाजुल्दा लक्षणसहित आउने बिरामीको संख्या बढेको छ । टेकु अस्पतालको इमर्जेन्सी वार्डमा शनिबार ८५, शुक्रबार ६८, बिहीबार ६५ र बुधबार ५९ जना उपचारका लागि पुगेका छन् । इमर्जेन्सीका सबै बेड भरिएपछि आइतबार कुर्सीमा राखेर बिरामीको उपचार गरिएको थियो । टेकुमा मात्रै दैनिक सय जना डेंगुको आशंकासहित परिक्षणका लागि बिरामी आउने गरेका छन् । जसमध्ये करिब ८० प्रतिशतमा डेंगु पुष्टि भइरहेको अस्पतालले जनाएको छ । हाल गम्भीर लक्षणसहितका २२ जना अस्पतालमा भर्ना छन् । जसमध्ये चारजना आइसियूमा छन् ।काठमाडौंको टेकु, त्रिपुरेश्वर, वसन्तपुर, शंखमूल, नयाँ बानेश्वरलगायतका क्षेत्रबाट आउने बिरामी बढी छन् । ‘डेंगु अप्रत्यासित रूपमा बढिरहेको छ,’ शुक्रराजका मेडिकल प्रमुख डा। विमल चालिसेले भने, ‘पछिल्लो चार दिनमा सोचेभन्दा बढी बिरामी आइरहेका छन्, यससँग सम्बन्धित लक्षण बोकेर आउनेको संख्या पनि धेरै छ ।’ उनले डेंगुबाट जोगिन आफैँले ख्याल गर्नुपर्ने र विशेषगरी घरवरपर पानी जम्न नदिन विशेष ख्याल राख्नुपर्ने बताए । टेकुको इमर्जेन्सी वार्डमा शनिबार ८५, शुक्रबार ६८, बिहीबार ६५ र बुधबार ५९ जना उपचारका लागि पुगेका छन् । आइतबार इमर्जेन्सीका बेड भरिएपछि कुर्सीमा राखेर केही बिरामीको उपचार गरिएको थियो । ललितपुरमा पनि संक्रमणदर अत्यधिक देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १२ बिरामीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कतिपय इमर्जेन्सीमा आउनेहरू डेंगु वा कोभिड लागे–नलागेको पुष्टि गरेर फर्कने गरेका छन् । ‘उपत्यकाभित्र ललितपुरमा डेंगुका बिरामी धेरै हुनुको कारण हामीले राम्ररी परीक्षण गरेका छौँ भन्ने पनि हो, त्यस्तै लक्षण देखिएका प्रायः बिरामी अस्पताल आइरहेका छन्,’ स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक सतिश विष्टले भने, ‘पहुँचमा नआएका बिरामीको संख्या अझ धेरै पनि हुन सक्छ ।’ भक्तपुरमा भने हालसम्म करिब २० जनामा डेंगु संक्रमण भएको छ । भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक रत्नसुन्दर लासिवाले संक्रमण बढ्ने डरले नियमित एन्टिजेनमार्फत परीक्षण भइरहेको र जनचेतनामूलक कार्यक्रम सुरु गरिएको बताए । ‘हामीकहाँ थोरैलाई संक्रमण देखिएको छ, तर संक्रमण बढ्ने सक्ने डरले हामीले नियमित परीक्षण र जनचेतनाका कार्यक्रम गरिरहेका छौँ,’ उनले भने । चिकित्सकको सुझाव डा. विमल चालिसे, टेकु अस्पताल डेंगु संक्रमण लामखुट्टको टोकाइले एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले भिडभाड रहने स्थानमा छिटो फैलिन्छ । लामखुट्टेमा भाइरस पुस्तान्तरण सजिलै हुने भएकाले पनि मानिसमा संक्रमण बढ्ने गरेको छ । निरन्तर बान्ता हुनु, पेट धेरै दुख्नु, रक्तस्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स र सेता रक्तकोषको संख्या तीव्र गतिमा घट्नुले जटिलता निम्त्याउने गर्छ । यसबाहेक आधा प्रतिशतभन्दा बढीमा पखालाको समस्या पनि देखिन थालेको छ । अधिकांशमा संक्रमण सजिलै निको हुने भए तापनि यस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिन आवश्यक छ । घरमा राखिएका गमला वा भाँडाकुँडा, बोतल, बिर्को, टायर, सानोतिना खाल्डाखुल्डीजस्ता स्थानमा लामखुट्टे लामो समयसम्म बस्न सक्ने भएकाले घरवरवर सफा राख्न आवश्यक छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने यो संक्रमण डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ सेरोटाइपका कारण हुने गर्छ । नेपालमा सेरोटाइप १ र २ फैलिने गरेको पाइए पनि यो वर्ष फैलिइरहेको लामखुट्टेको सेरोटाइप पुष्टि भइसकेको छैन । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ भने सफा पानीमा फुल पार्छ । नयाँ पत्रिकामा खबर छ ।
समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सहित दर्जनौं विद्यार्थी अखिल(क्रान्तिकारी)मा
काठमाडौं । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यको नेतृत्वमा दजनौं युवा विद्यार्थी माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)मा प्रवेश गरेका छन् । आज अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा एक कार्यक्रममा नवप्रवेशीहरुलाई संगठनकी केन्द्रीय अध्यन पंचा सिंहले स्वागत गरिन् । अध्यक्ष सिंहले नवप्रवेशीहरुलाई संगठनमा स्वागत गर्दै युवा विद्यार्थीहरु क्रान्तिकारी विद्यार्थी संगठनमा गोलब्ध हुन ढिलो गर्न नहुने बताइन् ।
काठमाडौंबाट फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकिए
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध पार्टीहरुले विज्ञप्ती नै निकालेर फोहोर फाल्न नदिने भनेका थिए । धुनीबेंसी नगरपालिका वडा नम्बर १ का नेकपा एमाले र राप्रपा सहितका सत्ताधारी दलहरु समेतको संलग्नतामा गाडि रोकिएको काठमाडौं महानगरले जनाएको छ । आज सोमबार बिहान काठमाडौंबाट फोहोर लिएर गएका कुनै पनि गाडीलाई फोहोर विसर्जन गर्न दिइएको छैन् । स्थानीय बासिन्दाले स्थानीयको समस्या पहिले समाधान गर्नुपर्ने बताएका छन् । उनीहरुले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत ल्याण्डफिल साइटमा प्रवेश गर्न रोकेका छन् ।
उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई शुभकामना
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्। उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना दिएका हुन्। उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।
प्रचण्ड र सत्ताधारी दलका पूर्व महासचिव निकेइबीच भेटवार्ता हुने
जापानमा भ्रमणमा शनिबार जापान आईपुगेका नेकपा माओवादि केन्द्रका अध्यक्ष एवं पूर्व प्रम प्रचण्डले सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने भएका छन । शनिबार विहान नारिता आईपुगेका अध्यक्ष प्रचण्ड नारितामा केहि समयको विश्राम पछि सिधै नेपाल फेष्टिवल उदधाटनका लागि फुकुओका गएका थिए । फुकुओका पछि आईतबार विहान अध्यक्ष प्रचण्ड हिरोसिमातर्फ लागेका छन् । आइतबार नै जनप्रगतिशिल मंच जापानले आयोजना गर्ने ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुल्ला अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि जापानमा भईरहेको विकासहरु, कृर्षि क्षेत्रको विकास लगायतका क्षेत्रहरुमा अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ । अध्यक्ष प्रचण्डले अगष्ट ९ तारिक जापानको सत्ताधारी दल एलडिपिका पूर्व महासचिव तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । टोकियोमा हुने उक्त भेटवार्ताका लागि नेपाली दूतबास टोकियोले पूर्व तयारी शुरु गरिसकेको र भेटवार्तामा छलफल हुने विषयहरुका बारेमा तयारीमा जुटेको जनाएको छ । तोसिहिरो निक्केई सत्तारुड दल एलडिपिका प्रभावशाली नेता मानिन्छन, निक्केई सेन्सेईको नामले जापानमा परिचित उहा जापान- नेपाल संसदिय समितिका सभापित पनि हुन ।
प्रेस युनियनको महासचिवमा उम्मेदबारी दिएका अर्याल को हुन् ?
काठमाडौं । नेपाल प्रेस युनियनको महासचिवमा पत्रकार नकुल अर्यालले दावेदारी पेश गरेका छन् । डेढ दशकदेखि व्यवसायिक पत्रकारितामा सक्रिय अर्याल नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं प्रेस युनियन काठमाडौं शाखा पूर्व अध्यक्षसमेत हुन् । चुनावका बेलामा मात्रै अधिकारका कुरा नगरी पत्रकारको हकहितका लागि सधै सक्रिय रहने प्रतिवद्धतासहित अर्याल महासचिवको उम्मेदवार बनेका हुन् । लोकतन्त्रवादी पत्रकारहरुको संस्था युनियनको नवौं महाधिवेशन यही साउन ६ र ७ गते हेटौंडामा हुँदैछ । आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको समाधानका लागि सक्रिय हुनु नै आफ्नो उम्मेदवारीको कारण रहेको अर्यालको भनाई छ । ‘डेढ दशक लामो पत्रकारिताका दौरान देखे भोगेका समस्याहरुको समाधान गर्न प्रेस युनियनलाई सक्रिय राख्नु नै मेरो उद्देश्य हो । यही उद्देश्यभित्र निहित सबै लक्ष्य हासिल गर्न महासचिवका रुपमा काम गर्न चाहन्छु’, अर्यालले भनेका छन् । प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षाका लागि प्रेस युनियनले महत्वपूर्ण ट्रेड युनियन संस्थाको रुपमा काम गर्नुपर्ने अर्यालको भनाई छ । पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा अर्यालले पहिलो बैठकमै महासंघको सदस्यता शुद्धिकरण, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पक्षमा सशक्त आन्दोलन लगायतका विषयमा लिखित एजेण्डा प्रस्तुत गरेका थिए । महासचिका बलियो दाबेदार उनलाई अध्यक्षका सबै उम्मेदबारले आफ्नो टिममा राखेर अघि बढ्न चाहेका छन् । पत्रकारिता क्षेत्रमै देखिएका विकृतिहरुलाई निर्मूल पार्न पनि युनियनजस्ता संस्थाहरु सक्रिय हुनुपर्ने अर्याल बताउँछन् । युनियन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध नेपालकै अग्रणी संस्थाको रुपमा रहेकोले सदस्यहरुको वृत्तिविकास र अवसर वृद्धिमा युनियनले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा अर्यालको जोड रहेको छ । सरकारी स्वामित्वका सञ्चारमाध्यमका सेवाहरु निःशुल्क हुनुपर्ने एजेण्डा पनि पत्रकारिता क्षेत्रमा प्रवेश गराउने अर्याल नै हुन् । उनले महासंघको केन्द्रीय सदस्य छँदा राज्यले सूचनाको बिक्रीवितरण गर्न नमिल्ने भन्दै राष्ट्रिय समाचार समिति लगायत सरकारी स्वामित्व रहेका सेवा निशुल्क गर्न लिखित प्रस्ताव गरेका थिए । प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् । चितवनको कायाकैरन राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले चितवनकै सिनर्जी एफ।एम। र आक्रमण साप्ताहिकमा पनि काम गरेका थिए । काठमाडौंमा एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, हिमालय टेलिभिजन, एपीवान टेलिभिजन र योहो टेलिभिजनमा काम गरेको अनुभव अर्यालसँग छ । उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक र देशान्तर मिडिया ग्रुपमा पनि काम गरेका छन् । रेडियो नेपालको चर्चित कार्यक्रम ‘घटना र विचार’को सञ्चालक रहीसकेका अर्याल हाल नेपाल प्रेसको समाचार संयोजक रहेका छन् ।
चीनद्वारा एन्टि ब्यालेष्टिक मिसाइलको परीक्षण
काठमाडौं । चीनले एन्टी ब्यालेष्टिक मिसाईल परीक्षण गरेको दावी गरेको छ । चीनको रक्षा मन्त्रालयले जमिनमा आधारित मध्यमकोर्सको मिसाइल परीक्षण गरेको जनाएको हो । मन्त्रालयले यो परीक्षण रक्षात्मक र कुनै पनि देशप्रति लक्षित नगरिएको जनाएको छ । एन्टी ब्यालेष्टिक प्रणाली भनेको बाहिर प्रहार भएर आउने मिसाइलहरुलाई बाटोमा आक्रमण गरेर नै रोक्ने प्रत्याक्रमणकारी प्रविधि हो । यसले इन्टर कन्टिनेन्टल ब्यालेष्टिक मिसाईललाई समेत रोक्न सक्छ । भविष्यमा कुनै देशसँग युद्ध हुने अवस्थामा यो सिष्टमले बाहिरबाट मिसाइल प्रहार भएको खण्डमा त्यसको पहिचान गरी त्यसलाई आकाशमा नै निस्क्रिय पार्ने गर्दछ । चीनले सन् २०१० देखि यो प्रणालीको परीक्षण गर्दै आएको छ । यो उसको छैठौं परीक्षण हो । पछिल्लो समयमा चीन र अमेरिकाबीच ताइवानलाई लिएर तनाव चुलिएको छ । कतिपयले अमेरिकाले ताइवानलाई युक्रेन बनाउन खोजको आरोप समेत लगाएका छन्
पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण, सुरक्षा गार्डको मृत्यु
पेरिस — फ्रान्सको राजधानी पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण हुँदा एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजे दूतावासभित्र एक जना संदिग्ध व्यक्ति पसेका थिए । त्यसपछि उनी दूतावासका गार्डलाई आक्रमण गरेका थिए । आक्रमणमा परी गार्डको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण आतंकवादी घटनासँग नजोडिएको पनि प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारी राजदूतावासले ट्विट गर्दै उक्त घटना ‘जघन्य र अक्षम्य’ भएको बताएको छ । फ्रान्सेली पत्रिका ला पेरिसियनले आक्रमणमा संलग्न ३८ वर्षीय व्यक्ति मानसिक रूपमा ठीक नभएको बताएको छ । पत्रिकाले लेखेको छ, ‘सेभरानका स्थायी बासिन्दा उनी प्रहरीविरुद्ध नै हिंसा भड्काउने खालका व्यक्ति हुन् । घटनाका बेला उनले कोकिनसमेत सेवन गरेका थिए । उनको स्वास्थ्य परीक्षण भइरहेको छ ।’