पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण, सुरक्षा गार्डको मृत्यु
पेरिस — फ्रान्सको राजधानी पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण हुँदा एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजे दूतावासभित्र एक जना संदिग्ध व्यक्ति पसेका थिए । त्यसपछि उनी दूतावासका गार्डलाई आक्रमण गरेका थिए ।
आक्रमणमा परी गार्डको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण आतंकवादी घटनासँग नजोडिएको पनि प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारी राजदूतावासले ट्विट गर्दै उक्त घटना ‘जघन्य र अक्षम्य’ भएको बताएको छ ।
फ्रान्सेली पत्रिका ला पेरिसियनले आक्रमणमा संलग्न ३८ वर्षीय व्यक्ति मानसिक रूपमा ठीक नभएको बताएको छ । पत्रिकाले लेखेको छ, ‘सेभरानका स्थायी बासिन्दा उनी प्रहरीविरुद्ध नै हिंसा भड्काउने खालका व्यक्ति हुन् । घटनाका बेला उनले कोकिनसमेत सेवन गरेका थिए । उनको स्वास्थ्य परीक्षण भइरहेको छ ।’
पार्टीलाई धोका दिइ पदकै लागि बादलहरू एमाले भए: देवेन्द्र पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा भएको बताएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । “बादल, टोपबहादुर,लेखराज,प्रभु साहहरुलाई पार्टीले सरकारमा पठाएको थियो,” मन्त्री पौडेलले भने “पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा गए, अहिले माओवादीलाई सरापदै हुनुहुन्छ ।” आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताए । “आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,” मन्त्री पौडेलले भन्नुभयो, “आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।” देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धन गरेको बताए । माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उनले बताए । उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरुले रजाई गरेको बताए । “माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलव्धी भए, उपलव्धीहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो” मन्त्री पौडेलले भने “माओवादीकै उपलव्धीमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कुँ गर्न मिल्दैन दुई–दुई पटक संविधान मिचेर संसद अन्तय गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउदैन ।”
खेल क्षेत्रमा व्यावसायिक रुपले लाग्नसक्ने वातावरण बनाउनुपर्छ : प्रचण्ड
चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल क्षेत्रमा व्यावसायिक रुपमा लाग्न सक्ने वातावरण राज्यले निर्माण गनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राज्यले गर्व गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने भन्दै राज्यले खेलकुदको विकासमा धेरै गर्नु बाँकि रहेको बताए । अखिल नेपाल फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको मुख्य प्रयोजनमा तथा चितवन जिल्ला फुटबल संघको स्थानीय आयोजनामा संचालन हुन गइरहेको “राष्ट्रिय महिला फुटबल लिग–२०७८” को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेल स्वास्थ्यको लागि राष्ट्रको लागि र संमृद्धिको लागि हुनुपर्ने बताएका छन् । खेलकुद क्षेत्रको विकासमा आफ्नो सधै जोड रहने उनको भनाई छ । उनले भने “मैले पहिलोचोटी गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा मेरो ध्यान र जोड खेल क्षेत्रलाई संस्थागत रुपमा विकास गर्ने प्रयत्न थियो।” आफु पनि विद्यार्थी कालमा फुटबलको खेलाडी भएको स्मरण गर्दै उनले फुटबल क्षेत्रको विकासको निम्ति पनि पहल गरेको बताए । अध्यक्ष प्रचण्डले स्वास्थ्यको लागि खेल, राष्ट्रकोलागि खेल र संमृद्धिकोलागि खेल भन्ने मान्यता भित्र रहेर पहिलो र दोस्रो कार्यकालमा खेल क्षेत्रको विकासमा योगदान पु्र्याउन महत्वपुर्ण भुमिका निवाह गर्दै आएको बताए । उनले महिला खेल क्षेत्रमा योगदान गर्ने खेल क्षेत्रका अगुवा खेलाडी र प्रशिक्षकहरु र खेलाडीलाई धन्यवाद दिएका थिए । राज्यले खेलाडीहरुलाई खेल क्षेत्रबाट नै व्यावसायीक रुपमा लाग्न सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले भरतपुरमा क्रिकेट रंगसाला निमार्णको दाइत्व राज्यले लिने समेत बताए । अध्यक्ष प्रचण्डले चितवनमा खेल पर्यटनको राम्रो सम्भावना रहेको भन्दै त्यसको निम्ति सबैको ध्यान जानुपर्ने बताए ।
स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश
प्रदेश संचालन अस्थायी राजधानी बुटवलबाट स्थापना दिवस स्थायी राजधानी देउखुरीबाट दाङ। लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउने भएको छ । प्रदेशले आज दाङ देउखुरीको राप्ती उपत्यकामा एक कार्यक्रम गरेर प्रदेश स्थापना दिवस मनाउन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउन लागिएको सरकारले जनाएको छ । सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ । सो अवसरमा प्रगति प्रतिवेदन, प्रदेश डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ । प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । सत्र महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले काम गर्दै आएको छ । विसं २०७७ असोज २० गते प्रदेशसभाको बैठकको दुई तिहाइ बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो । राजधानी व्यवस्थापन र प्रदेशसभाको बैठक सञ्चालनका लागि राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकार मातहतमा ल्याउने पक्रिया अन्तिम चरणमा छ । प्रदेश सरकारले आज फागुन ३ गते स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
लमहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एकजना गम्भीर घाइते
काठमाडौं । दाङको लमही नगरपालिका–६ बलरामपुरमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तुलसीपुर उपमहानगरपालिका–१२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार चितवनको भरतपुर महानगरपालिका–७ का ३५ वर्षीय राम प्रसाद सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
२० अंकले बढ्यो नेप्से, बजारमा खरिदकर्ता हावी
काठमाडौं । हुने साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । दिनभरीको तिव्र उतारचढावका बीच यस दिन नेप्से २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपछिको समयमा खरिदकर्ता हाबी भएपछि बजार उकालो लागेको हो। सोमबार २०.६४ अंकले नेप्से बढ्दा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.७ अंकले बढेर ५ सय ४६ पुगेको छ । कारोबार भएका १३ समूहका उपसूचकमध्ये पाँच समूह राताम्मे रहँदा बाँकी हरियो रह्यो । विकास बैंक, फाइनान्स, व्यापार, माइक्रोफाइनान्स र व्यापार समूह ओरालो लागेको छ भने बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, म्युचल फण्ड र अन्य समूह उकालो लागेको हो । कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स, नेपाल टेलिकम र अपर तामाकोशीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। सोमबार पनि मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ ७० पैसा बढेर ४५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। यसदिन २ सय २४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यो रकम हिजोको भन्दा केही कम हो ।
१२ देखि १८ वर्षका लागि ६० लाख खाेप किन्न सम्झौता
काठमाडौँ — सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ । किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख भने कोभ्याक्सको समन्वयमा ल्याउने तयारी भएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए । ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो,’ उनले भने, ‘थप ४० लाख डोज भने कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ ।’ खोप आउन ६ देखि ९ महिना लाग्ने देखिएको छ । सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ । फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको छ । यसको अधिकार स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । खरिद सम्झौतामा अर्थ मन्त्रालय समेत सहमत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विश्व बैंकसँग सम्झौता गर्न महानिर्देशकलाई अधिकार दिने निर्णय गराएका छन् । विभागले खोप खरिद गर्न अन्य कम्पनीलाई पनि पत्राचार गरेको थियो तर फाइजर सकारात्मक भएपछि प्रक्रिया अघि बढेको हो । कान्तिपुरबाट
२० मन्त्रीका लागि सय बढीको दौडधुप, शीर्ष नेताहरु तनावमा
आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका दुई गरी चार जनालाई मन्त्रीमा नियुक्त गरे । देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बागडोर सम्हाल्दै आएको १३ दिन बितिसकेको छ । तर, पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा समग्र सरकारको कार्यसञ्चालन प्रभावकारी बन्न सकेको छैन । संविधानतः मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन पाइँदैन । हाल देउवासहित पाँच जना मन्त्रिपरिषद् रहेकाले उनले अब जम्मा २० जना मन्त्री मात्रै नियुक्त गर्न पाउँछन् । त्यसमा पनि मन्त्रालयको संख्या २१ मात्रै रहेकाले फुल मन्त्री १७ जना मात्रै नियुक्त हुन सक्छन् भने बाँकी चार जना राज्यमन्त्री बनाउनुपर्छ । नयाँ मन्त्री नियुक्त गर्न नसक्दा प्रधानमन्त्री देउवा आफैं १७ वटा मन्त्रालयको जिम्मेवारी लिन विवश छन् । मन्त्रालयमा मन्त्री नहुँदा नीतिगत निर्णय लिन निकै कठिन भइरहेको छ भने प्रशासनिक कामकाजमा समेत उल्झन आइपरिरहेको सरकारी अधिकारीको भनाइ छ । मन्त्रीको अभावमा मन्त्रालयको कुनै नीतिगत निर्णय सम्बन्धमा छलफल गर्नुपरेमा सचिव फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउनुपर्ने वाध्यतामा छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
नेपालमा पनि देखिएको डेल्टा भेरिएन्ट विश्वका ९६ देशमा देखियो, द्वारा चेतावनी जारी
काठमाडौं । नेपालमा पनि भेटिएको कोरोनाका डेल्टा भेरिएन्ट संसारभरी फैलिन थालेको छ । अहिलेसम्म यो भेरिएन्टको संक्रमण ९६ देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले डेल्टा भेरिएन्टले विश्वमा नयाँ खतरा थपेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ । संगठनका अनुसार, आगामी केही महिनामा भाइरसको असर झनै बढ्न सक्छ । बेलायतमा भेटिएको अर्को अल्फा भेरिएन्ट भने अहिले सम्म १७२ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्टले अर्थतन्त्रमा समेत खतरा उत्पन्न गरेको भन्दै रोकथामका लागि स्थानीय उपायमा जोड गर्न अपील गरेको छ । लामो समययसम्म सुरक्षा उपाय अपनाउनुपर्ने संगठनको सुझाव छ ।
हतियार देखाएर जबर्जस्ती करणी र लुटपाट गर्ने युवा पक्राउ, २ फरार
लमही, दाङको लमहीमा एकजना महिलामाथि हतियार देखाएर जबर्जस्ती करणी गर्ने एकजना युवक पक्राउ परेका छन् । घटनामा संलग्न रहेका दुईजना भने भाग्न सफल भएका छन् । प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय किरण बुढा नाम गरेका युवा पक्राउ परेका हुन । निजहरुले गएराति कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजेको समयमा एक टिप्परलाई रोकी धारिलो हतियार देखाउँदै टिप्पर चालकलाई लुटपाट गरि टिप्परमा रहेका चालकका श्रीमति र आफन्तलाई जवरजस्ती करणी गरेको पीडितको भनाई रहेको छ । पीडितहरुका अनुसार, रोल्पाको होलेरीबाट सिमेन्ट कम्पनीका लागि कच्चा पदार्थ लिएर आएका पीडितहरु सिमेन्ट कम्पनीमा सामान झारेर लमही फर्कने क्रममा ती युवाहरुले बाटोमा मोटर साइकल लिएर तेर्साएको पीडितले बताएका छन् । ‘त्यसपछि धारिलो हतियार देखाउँदै सुनका गरगहना ,मोबाइल र नगद ४५ हजार लुटे । र, महिलाहरुलाई जवरजस्ती गरे ।’ प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार
विपक्षी दलहरुले लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक बहिस्कार गरेका छन् । अल्पमत परेको सरकारले ल्याएको बजेटको बिरोध गर्दै गठबन्धनमा रहेका दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए । आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।
तनहुँमा मोटरसाइकल दुर्घटना हँदा नेपाली सेनाका एक जवानको मुत्यु
तनहुँ : पृथ्वीराजमार्ग खण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका-७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनामा कार्यरत एक जवानको मृत्यु भएको छ । पोखरा महानगरपालिका २४ घर भै झापाको ११ नम्बर बाहिनीमा कार्यरत २८ वर्षीय प्रदीप भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराबाट दमौली जाँदै गरेको भट्टराई सवार ग. १४ प ७२०१ नं को मोटरसाइकललाई विपरीत दिसाबाट आउँदै गरेको ना. ७ ख ११६८ नं को कन्टेनरले सोमबार दिउँसो ठक्कर दिँदा घाइते भएका थिए । घाईते सिपाहीको स्थानीय जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक डोलिन्द्रबहादुर हमालले जानकारी दिए। कार्यालयमा हाजिर हुनका लागि मोटरसाईकलबाट भट्टराई जाने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनाको अनुसन्धानको लागि चालक र कन्टेनरलाई नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ ।
उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने , १ गतेदेखि सुरुङ निरीक्षण
काठमाडौँ उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो । सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।” उहाँका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ । सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको हो । यस अघि महाधिवेशनको मिति भदौ ७ लाई तय भएको थियो । असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्ताव गरिएको सहमहामन्त्री प्रकाशशरण महतले बताए । यो प्रस्तावलाई केन्द्रीय समितिमा लगिने छ ।
नेपाल एयरलाइन्सका अध्यक्ष घिमिरेले दिए राजीनामा
काठमाडौं : नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजिनामा दिएका छन्। पूर्वपर्यटन सचिवसमेत भइसकेका सुशील घिमिरेलाई सरकारले २०७७ वैशाखमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। योगेश भट्टराई मन्त्री हुँदा अध्यक्ष नियुक्त घिमिरे भानुभक्त ढकाल मन्त्री हुँदा पनि निरन्तर थिए। हालैमात्र जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष)बाट उमाशंकर अगरिया पर्यटनमन्त्री हुनेवित्तिकै घिमिरेले राजिनामा दिएका हुन्। यद्यपी घिमिरेले भने मन्त्रीसँग कुनै पनि विवाद नरहेको प्रष्ट पारेका छन्। उनले नितान्त व्यक्तिगत कारणले नेपाल एयरलाइन्स छोड्न चाहेको प्रष्ट पारेका छन्। पर्यटनमन्त्री अगरियाले भने आफू मन्त्री हुनुपहिले नै घिमिरेको राजिनामा आएको र आज आफ्नो टेबलमा पत्र आएको जानकारी दिए। उनले पहिले नै राजिनामा पत्र दिनुभएको रहेछ। आज मेरो टेबलमा आएको छ। उनले पारिवारिक कारणले आफै छोड्न चाहनुभएको रहेछ। उनीसँग कुरा बुझेरमात्र स्वीकृत गर्ने वा नगर्ने निर्णय हुन्छ मन्त्री अगरियाले भने।
कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई पठाइन् पत्र
काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । राष्ट्रपतिको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन् । उक्त भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए । जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको दूतावासले जनाएको छ । अमेरिकाले चाँडै विभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपाललाई दिन पत्रमा आग्रह गरिएको छ । यसअघि राष्ट्रपति भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए ।