हाजिर नहुने २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो समय तल्लो तह प्रहरी जवानदेखि हवल्लारसम्मका प्रहरी कर्मचारी बिनासूचना सेवाबाट हट्ने क्रम बढेको छ ।

उकालो लाग्यो नेप्से, ६ अंकले बढेर बन्द

काठमाडौं। साताको शेयर कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार नेप्से उकालो लागेको छ । अघिल्लो कारोबारको दिन २ अंकले बढेको शेयर बजार आज ६ अंकले बढेको छ । आज ६ दशमलव ५५ अंकले बढेको शेयर बजार १९९४ दशमलव ६० विन्दुमा पुगेको छ । बिहीबार ३०० कम्पनीका ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकममा केही गिरावट आएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव ०६ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७६ दशमलव ३६ विन्दुमा पुगेको छ ।

एउटै पुस्तामा लिम्चुङबुङ समृद्ध बनाउने महाअभियान : यस्ता छन् मुख्य मुद्धा

काठमाडौं । कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित लिम्चुङबुङ गाउँपालिकाले एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महाअभियानकाे सुरूवात गरेको छ । पालिका अध्यक्ष मेजर राईले एउटै पुस्तामा गाउँ समृद्ध बनाउने गरी महाअभियानको सुरुवात गरिएको जानकारी दिए । एउटै पुस्तामा गाउँ समृद्ध बनाउनका लागि पक्की सडक निर्माण, कृषिमा आधुनिकिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरउन्नति र पर्यटनको विकासको मुद्धा तय गरिएको र विकासका निम्ति तीनै मुद्धालाई प्राथमिकता दिइने उनले जानकारी दिए । बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको गाउँपालिकाको कुल क्षेत्रफल १०६।८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ ।

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन काठमाडौंमा गरिनेछ । यसअघि, माघको १४–१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री स्वदेश फर्किने समय साँझ ६ः३० बजे पत्रकारहरूलाई समाचार संकलनका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा निमन्त्रणा गरिएको छ ।

वन्दुकसहित युवाहरू पक्राउ

सप्तरी । सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर पतारीका १९ वर्षका धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ वर्षका हरिशंकर यादव रहेका छन् । जिल्लाको खडक नगरपालिका वडा नं ११ बनौलीस्थित हुलाकी सडक खण्डबाट विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए । धर्मजितको साथबाट ५ राउण्ड राइफलको (३०३) गोली फेला परेको र निजको साथमा रहेको हरिशंकरलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए । दुवैजनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजाना सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

नियन्त्रणमा रहेका १३ जना बन्दी हमासले शुक्रबार रिहा गर्ने

काठमाडौं । हमासको नियन्त्रणमा रहेकामध्ये १३ जना बन्धक शुक्रबार रिहा हुने भएका छन् । उनीहरूलाई स्थानीय समयअनुसार अपराह्न ४ बजे रिहा गर्ने कतारले जनाएको छ । कतारले इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । रिहाइ हुने बन्दीबारे कुनै जानकारी दिइएको छैन । तर, उनीहरू महिला र बालबालिका हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । बन्धकलाई सुरक्षितरूपमा गन्तव्य देशमा पुर्‍याउन रेडक्रसलाई हस्तान्तरण गरिने छ । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेबाट हुने छ । चारदिने युद्धविरामका क्रममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । अर्कोतर्फ इजरायलले १५० जना प्यालेस्टाइनीलाई रिहा गर्ने छ । बीबीसीबाट ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर ६ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विनिमय दर

राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरूले समवेदना सन्देश पठाएका छन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमेइर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान डेर बेलेन, निकारागुआका राष्ट्र ड्यानीयल ओर्टेगा साभेद्रा, कतारका अमिर शेख तमिम विन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देशको पठाएका हुन्। उनीहरूले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारतर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनःस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यसअघि राष्ट्रपति पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाएका थिए ।

युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको छ : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन् । नास्टको ४६औँ प्राज्ञसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री प्रचण्डले नेपाली युवाहरूको अनुसन्धान क्षमता विकासका लागि अनुकूल वातावरण निर्माणका लागि चालु आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । ‘आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको हो । देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति रहँदैन’, नास्टका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तासँग सहयोग र सहकार्यमार्फत विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्द्धन गर्दै जे–जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा धन्यवाद व्यक्त गर्दछु ।’ उनले आफू पनि विज्ञानको विद्यार्थी भएको नाताले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र योगदानबारे अनभिज्ञ नरहेको उल्लेख गरे । नवप्रवर्तनलाई प्राथमिकता दिई स्वदेशी प्रविधिको विकासमा धेरै काम गर्न नसके पनि अभिलेखीकरण गर्न र त्यसैका लागि केन्द्रित प्रयोगशाला स्थापनाका लागि गरेका प्रयास अनुकरणीय रहेको उनको भनाइ थियो । ‘नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्नुपर्ने आजको आवश्यकतालाई आत्मसात गर्दै नेपाल सरकारले नास्टमार्फत नानो स्याटेलाइट प्रक्षेपण गरिसकेको छ भने भारतीय अन्तरीक्ष अनुसन्धान संस्था (इस्रो) को सहकार्यमा मुनाल स्याटेलाइट प्रक्षेपण गर्ने तयारीमा युवा वैज्ञानिकहरूलाई समेट्दै अन्य संघरसंस्थासँग सहकार्य गर्दै वैज्ञानिकहरू जुट्नुभएको थाहा पाउँदा खुसी लागेको छु,’प्रधानमन्त्री प्रचण्डले भने । उनले विज्ञान प्रविधिलाई प्रदेशस्तरमा प्रवर्द्धन गर्न नास्टबाट सबै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भइसकेको बताउँदै विज्ञान तथा प्रविधिलाई प्रदेशको आवश्यकता बमोजिमको विकासमा थप मद्दत पुग्न आशा गर्न सकिने धारणा व्यक्त गरे ।   कर्मचारी र वैज्ञानिकहरूका गुनासा बिस्तारै सम्वोधन हुँदै गएको देखेको बताउँदै उनले नाष्ट फेरि पनि फरक प्रकृतिको काम गर्ने उद्देश्यले स्थापना भएको विशिष्ट संस्था भएको उल्लेख गरे । ‘जसको नेतृत्व भर्खर आएको छ, आशा छ लामो समयदेखि यसै संस्थासँग आबद्ध हुनुहुन्छ, कर्मचारीको वृत्तिविकास, पूर्वाधारको निर्माण, प्रयोगशालालाई जीवन्त गराउनुपर्ने दायित्व, राष्ट्रिय आवश्यकताअनुसार तपाईंहरूको क्षमता विकासमा यथेष्ट ध्यान जानेछ भन्ने विश्वास नेपाल सरकारले राखेको छु,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले ४० वर्षमा जम्माजम्मी चार अर्बको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भएको तर पर्याप्त नभएको उल्लेख गर्दै राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन नसकेको स्वीकार गरे । उनले प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्न निर्देशित गरे । सो अवसरमा उनले आफूले हालैको मित्रराष्ट्र चीनको भ्रमणको क्रममा विज्ञान तथा प्रविधिको विकासका लागि पनि आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा त्यहाँका समकक्षी र अन्य नेताहरूसँग महत्वपूर्ण विचार विमर्श भएको जानकारी गराए । त्यसका लागि नेपाललाई अहिलेको परिप्रेक्ष्यमा विज्ञान प्रविधिको विषय विधामा बढी जोड दिनुपर्ने उनले बताए । यसको स्पष्ट अवधारणापत्र भएमा सहकार्य लागि उचित पहल नेपाल सरकारले गर्ने विश्वास दिलाउँदै उनले वैज्ञानिकहरूले देशको आवश्यकतालाई समेट्ने खालका परियोजना प्रस्तावहरू तयार गर्न जागरूक हुन आग्रह गरे । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति प्रचण्डको सम्बोधनको पूर्णपाठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ४६ औं प्राज्ञसभाको अध्यक्षको हैसियतमा केही कुरा राख्ने मौका पाउँदा मलाई खुशी लागेको छ ।आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको युग हो । देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति रहँदैन । नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै राष्ट्रको ध्यान यसतर्फ आकर्षित गर्न तपाईंहरूले जुन सत्प्रयासको प्रारम्भ गर्नुभएको छ, विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्धन गर्दै जे–जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने देखिएकोले यसतर्फ पनि तपाईंहरू सचेत भई अगाडि बढ्नुहोला भन्ने ध्यानाकर्षण गराउँछु । वैज्ञानिकहरूको मनोबल र क्षमता बढाउँदै युवा वैज्ञानिकहरूलाई काम गर्ने स्थलमा उत्प्रेरणा थप्दै नास्ट स्थापनाको ४० वर्ष पार गरिसकेको छ । यस अवधिमा देशमा विज्ञान तथा प्रविधिको विकास गर्नमा के–कति योगदान नास्टले दियो । अब कुन कुन क्षेत्रमा केन्द्रित भई योजनावद्धरूपमा अवधिलक्षित कार्यक्रमका तर्जुमा गरी कार्यान्वयनतर्फ पनि तपाईंहरूको ध्यान जानेछ भन्ने विश्वास लिएको छु । म आफै पनि विज्ञानको विद्यार्थी भएको नाताले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र तपाईंहरूले पु¥याउनुभएको योगदानको बारेमा अनभिज्ञ छैन । नवप्रवर्तनलाई प्राथमिकता दिई स्वदेशी प्रविधिको विकासमा धेरै काम गर्न नसके पनि अभिलेखीकरण गर्न र त्यसैको लागि केन्द्रित प्रयोगशाला स्थापनाको लागि गरेका प्रयास अनुकरणीय छन् । नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्नुपर्ने आजको आवश्यकतालाई आत्मसात गर्दै नेपाल सरकारले नास्टमार्फत नानो स्याटेलाइट प्रक्षेपण गरिसकेको छ भने भारतीय अन्तरीक्ष अनुसन्धान संस्था ९इस्रो० को सहकार्यमा मुनाल स्याटेलाइट प्रक्षेपण गर्ने तयारीमा युवा वैज्ञानिकहरूलाई समेट्दै अन्य संघ÷संस्थासँग सहकार्य गर्दै वैज्ञानिकहरू जुट्नुभएको थाहा पाउँदा खुशी लागेको छ । विज्ञान प्रविधिलाई प्रदेशस्तरमा प्रवद्र्धन गर्न नास्टबाट सबै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भइसकेकोले विज्ञान तथा प्रविधिलाई प्रदेशको आवश्यकता बमोजिमको विकासमा थप मद्दत पुग्न आशा गर्न सकिन्छ । चालु आर्थिक वर्षदेखि नेपाली युवाहरूमा अनुसन्धान क्षमताको विकास गरी योगदान दिने अनुकूल वातावरण सिर्जना गर्न युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम नास्टमार्फत सञ्चालनमा ल्याइएको छ । नेपाली जनताको तपाईंहरूप्रति बढी अपेक्षा रहेकोले यदाकदा गरिएका गुनासाहरू स्वाभाविकझैं लाग्छ । विश्वास छ, ती गुनासालाई तपाईंहरूले विश्वास र भरोसामा रूपान्तरण गर्नु हुनेछ र देशका लागि अनुसन्धान र नवप्रवर्तनमार्फत उपयुक्त प्रविधि विकास एवं परिमार्जनमा परिमाणात्मक प्रभाव देखाउन सक्षम हुनुहुनेछ भन्ने विश्वास पनि मैले लिएको छु । नेपाल सरकार तपाईंहरूबाट चमत्कार मात्रै खोज्दैन, जीवनमा सुधार ल्याउन, श्रोत र साधनलाई केन्द्रमा राखेर तपाईंहरूका अनुसन्धानका विषय बनोस् भन्ने पनि चाहन्छ । कर्मचारी र वैज्ञानिकहरूका गुनासा बिस्तारै सम्वोधन हुँदै गएको देखेको छु । नाष्ट फेरि पनि फरक प्रकृतिको काम गर्ने उद्देश्यले स्थापना भएको विशिष्ट संस्था हो, जसको नेतृत्व भर्खर आएको छ, आशा लामो समयदेखि यसै संस्थासँग आबद्ध हुनुहुन्छ, कर्मचारीको वृत्तिविकास, पूर्वाधारको निर्माण, प्रयोगशालालाई जीवन्त गराउनुपर्ने दायित्व, राष्ट्रिय आवश्यकताअनुसार तपाईहरूको क्षमता विकासमा यथेष्ट ध्यान जानेछ भन्ने विश्वास नेपाल सरकारले राखेको छ । ४० वर्षमा जम्माजम्मी ४ अरबको बजेटबाट गरिएका विज्ञान, प्रबिधि र प्रवर्धनात्मक कार्यहरू प्रशंसनीय छन्, तर पर्याप्त छैन । राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन सकेको छैन, प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धि विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्दै जान निर्देशित गर्दछु । देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको पनि यहाँहरूलाई जानकारी गराउँछु । मेरो हालैको मित्रराष्ट्र चीनको भ्रमणको क्रममा विज्ञान तथा प्रविधिको विकासका लागि पनि आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा त्यहाँका समकक्षी र अन्य नेताहरूसँग महत्वपूर्ण विचार विमर्श भएको थियो । त्यसका लागि नेपाललाई अहिलेको परिप्रेक्ष्यमा विज्ञान प्रविधिको विषय विधामा बढी जोड दिनुपर्ने हो । यसको स्पष्ट अवधारणापत्र भएमा सहकार्य लागि उचित पहल नेपाल सरकारले गर्नेछ । यसर्थ वैज्ञानिकहरूले देशको आवश्यकतालाई समेट्ने खालका परियोजना प्रस्तावहरू तयार गर्न जागरूक हुन आग्रह गर्दछु । अन्त्यमा ४६ औं प्रज्ञासभाका निर्णयहरू गम्भीरताका साथ बोध गर्दै दृढ कार्यान्वयनमा लाग्नुहुनेछ भन्ने विश्वासका साथ व्यक्त गर्दछु । धन्यवाद ।

खेलाडिलाई पुरस्कार रकम वितरण गर्दै प्रधानमन्त्रीले भने -‘क्रिकेट रंगशाला निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गर्छौं’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका हुन् । प्रधानमन्त्रीले भने “सबैभन्दा पहिला तपाईहरुलाई बधाइ छ। तपाईहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ। १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईहरुले राम्रो गर्नुहोला।” “क्रिकेट मैले हेर्दै आएको छु। क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ। यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु। क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ” प्रधानमन्त्रीले भने, “यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ। खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो।” प्रधानमन्त्रीले भने “क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ। क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं।” “हामीले घोषणा गरेको पुरस्कार बितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ।” प्रधानमन्त्रीले भने “हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन्। त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ। टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै बितरण गरिनेछ।” कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताए । क्याप्टेन पौडेलले भने, “यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं। कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ। सरकारको पहलप्रति आभारी छौं। बाँकी रहेका कामहरु पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं।”

जलविद्युत्मा लगानी बढाउन अन्तर्राष्ट्रिय लगानीकर्तालाई राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अबको लगानी जलविद्युत्केन्द्रित हुनुपर्ने बताएका छन् । नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात हुने भन्दै उनले यो क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी बढाउन सक्ने उल्लेख गरे । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘३७औँ क्यासी कन्फरेन्स’मा उनले जलविद्युत्सँग आईटी र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आह्वान गरे । भारत र चीनका बीचमा नेपाल हुनु व्यापारका निम्ति अवसर भएको भन्दै राष्ट्रपति पौडेलले उद्योगमा लगानी बढाएर यसको फाइदा लिन आग्रह गरे । कन्फरेन्समा दुई दर्जनभन्दा बढी लगानीकर्ता सहभागी छन् ।

आममाफी बदर : रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने

काठमाडौं । रिगल डन भनिने योगराज ढकाललाई बाँकी कैद भुक्तानका लागि कारागार चलान भएका छन् । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालगञ्जबाट पक्राउ परेका रिगललाई प्रहरीले आज बाँके जिल्ला अदातमा उपस्थित गराएको थियो । जिल्ला अदालत बाँकेले रिगललाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको हो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनको आममाफीविरुद्ध रिट निवेदन लिएर भारती मानन्धर सर्वोच्च गएकी थिईन् । उक्त रिट निवेदनको सुनुवाइ गर्दैै सर्वोच्चको पूर्ण इजलासले रिगलको आममाफी बदर गरिदिएको थियो । सर्वोच्चले रिगललाई अब ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न भनेको छ । सर्वोच्चको सोही आदेश बमोजिम जिल्ला अदालत बाँकेले कैदी पूर्जीसहित रिगललाई कारागार पठाएको हो ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो । आजको बैठकमा चाल्र अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची छ । यसैगरी, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीको आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको छ । अमेरिकमा प्रधानमन्त्री १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन तथा सम्बोधन गर्ने छन् । भ्रमणमा प्रधानमन्त्री सहितको नेपालका प्रतिनिधिमण्डल रहने छ । भ्रमण टोलीमा फस्ट लेडि गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्।यो अहिले सम्मकै सबैभन्दा सानो भ्रमण टोलि हो । न्युयोर्कमा नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको समूह एलडीसीको अध्यक्षता गर्नेछ। अध्यक्ष देशका तर्फबाट प्रचण्डले सम्बोधन गर्नेछन्। यो फोरममा दिगो विकासका लक्ष्य एसडीजीमा चर्चा गर्ने कार्यक्रम रहेकाे छ। यस्तै प्रचण्ड अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्रीको साथमा फस्ट लेडिको रुपमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली भने न्यूयोर्क पुगिसकेको छ। राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै असोज ५ गते चीन जाने कार्यक्रम छ।

बालेनविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट दर्ता भएको उक्त मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ । शुक्रबार अधिवक्ता झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गराएकी थिइन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए । “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । जसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ ।