एमाले ज्ञानेन्द्र पथमा, जनतामा भ्रमको विष छर्दै: बाबुराम भट्टराई

काठमाडौं, पुस १३ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले ज्ञानेन्द्र पथतर्फ गइरहेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई विदेशीका एजेण्डा भनेर एमाले प्रतिगमनकारीहरुको स्वार्थ पुरा गरिरहेको बताए ।

“दलहरुबीच संविधान संशोधन कि निर्वाचन ? भन्ने मुद्दामा ध्रुवीकरण देखिनु नै दुर्भाग्यो भयो” भट्टर्राले भने, “अन्तराष्ट्रवादको खेती गर्दै विपक्षी दल जनताको कमलो मनमा आशंकाको बिष बृक्ष रोपिरहेको छ ।’ आशंकाको प्रचारवाजीले तत्काल उनीहरुलाई राजनीतिक फाइदा भएपनि देशको भावनात्मक एकीकरण नगर्ने भट्टराईको जिकिर थियो “बरु विखण्डनको वीऊ रोपिन्छ । तराई मधेसका जनताको निष्ठालाई शंका गरेर हामी कतै पनि पुग्दैनौं ।’

डा. भट्टराईले छिमेकी हस्तक्षेप र राष्ट्रवादको बहानामा एकल जातीय अहंकारलाई एमालेले प्रश्रय दिइरहेको बताए । बाबुरामले प्रश्न गर्दै भने– के लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सबै अरुकै मुद्दा हुन् रु के त्यसो भए विगतका आन्दोलनहरु फगत भ्रम थिए ? आन्दोलनका उपलब्धिहरु जोगाउनुपर्नेमा उनको विशेष जोड थियो ।

प्रदेशको सीमांकनको विषयमा एमालेले गलतरुपमा जनताको मनमा आशंका सिर्जना गरेको उनको भनाई थियो । संघीयताको मूल मर्म एकातिर राखेर जनताको सोझो चित्तलाई गलतरुपमा उपयोग गरेर समथर भूभागलाई मात्र राखेर प्रदेश बनाउनै हुँदैन, यसले बिखण्डन निम्त्याउँछ भन्ने भ्रम फिँजाएको उनले बताए । “यो नियोजित भड्काव हो । यस्तो गलत विचारलाई सडक संघर्षमार्फत साथीहरु प्रोत्साहित गरिरहेका छन् ।’ भट्टराईले भने ।

संविधान संशोधन र निर्वाचन एक अर्कासँग अभिभाज्य भएकोले यसलाई अलग गर्नासाथ परिस्थिति उल्टो दिशामा जाने भट्टराईको ठहर थियो । ‘दीगो समस्या समाधानका लागि संविधान संशोधन र निर्वाचन नै मुख्य सूत्र हो’ उनले भने, यसकालागि राजनीतिक सहमतिका आधारमा परिमार्जन सहित संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजानु र पारित गर्नु वाहेक अर्को विकल्प छैन ।’

सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन वा परिमार्जन आवश्यक रहेको भन्दै उनलृे सम्भव भएसम्म साझा बनाउन प्रस्ताव गरे । आवश्यक परे नागरिक अगुवाहरुलाई मध्यस्थताको लागि सहयोग माग्न सकिने भन्दै उनले भने, खुल्ला संवादमा अहिले जे जति गर्न सकिन्छ गरौं । त्यसलाई हार वा जीतको बिषय नभई जीत(जीतको बिषय बनाऔं ।’

आन्दोलनरत पक्षहरुलाई संशोधन विधेयकमा आलोचनात्मक समर्थन गर्न प्रेरित गर्न सकिने र यसले आफ्ना मुद्दाहरुलाई लिएर निर्वाचनमा जाने विकल्प खुल्ने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, यसरी संविधान संशोधन र तीनवटै निर्वाचनको घोषणा एकैपटक गर्न सकिन्छ । यसो गर्दा पक्ष(विपक्षमा होईन राष्ट्रको हितमा निर्णय हुन्छ ।’

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बङ्ग्लादेशसँग विद्युत् व्यापार कार्यान्वयन गर्ने अन्तिम तयारी

काठमाडौं ।नेपाल र बङ्ग्लादेशबीचको विद्युत् व्यापार कार्यान्वयन गर्ने अन्तिम तयारीमा सरकार जुटेको छ । नेपालले बङ्ग्लादेशसँग विद्युत् व्यापार गर्ने बहुप्रतीक्षित योजना अन्तर्गत पठाइएको बोलपत्रको टुङ्गो ढिलोमा अबको दुई साताभित्र हुने र बर्खा अगावैबाट विद्युत् बाङ्लादेश पुग्ने सरकारले जनाएको छ । ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले विद्युत व्यापार सम्बन्धि सम्झौता कार्यान्वयनको अन्तिम चरणमा बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापारको दरभाउ समेटिएको सिलबन्दी प्रस्ताव ढाका पठाएको हो। नेपालले एकल रूपमा प्रस्तुत गरेको यस बोलपत्रमा दरभाउ र सर्तहरू समेटेको छ । सो बोलपत्र दुई देशबीचको छलफल पछि टुङ्गिने छ ।तत्कालका लागि ४० मेगावाट बाङ्ग्लादेशलाई बेच्ने दुई देशबीचको समझदारी छ जुन नेपालमा चाहिनेभन्दा बढ्ता उत्पादन हुँदासम्म बाङ्ग्लादेशलाई बेच्न सकिने छ।

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे बोलाइएको छ । हिजोबाट सुरु भएको संसद्को अधिवेशनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् । हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्याउने गरी सदनमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका थिए । प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।

जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित थापा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित नारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो । चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलोमतो रहेको आरोपमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

न्यूनचापीय प्रणाली नेपाल प्रवेश : केही भू-भागमा वर्षा र हिमपातसँगै शुक्रबारसम्म थप चिसो बढ्ने

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात, वर्षा हुने भएकाले शुक्रबारसम्म चिसो थप बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने भएको हो । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्नेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि तापक्रम घटेर हल्का चिसो बढ्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ । “पश्चिमी न्यूनचापीय प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ,” विभागले भनेको छ, “आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।” आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा बिहान पौने ६ बजेको तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । आज दिउँसो धेरै स्थानमा बदली हुने भएकाले चिसो महसुस हुने उनको भनाइ छ । “दिउँसो बदली हुने भएकाले दिउँसोको न्यूनतम तापक्रम घट्दा जाडो हुनेछ । पश्चिमी भू–भागमा बिहानको तापक्रम पनि घट्ने सम्भावना छ,” मौसमविद् अधिकारीले भने । वर्षा र हल्कादेखि मध्यम हिमपात हुने भएकाले स्वभाविक रुपमा चिसो बढ्ने उनको भनाइ छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मौसमविद् अधिकारीका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको अधिकारीले जानकारी दिए ।

उच्च अदालत पाटनका हृदयघातबाट न्यायाधीश मरासेनीको मृत्यु

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो ।

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।” आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए। पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए । सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध ससक्त कदम चालेको भन्दै उनले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिए । यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।” सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भैरहेको बताए । उनले भने, “सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै महनेत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’

अधिकांश चालक लापसे र मापसे गरेर गाडी चलाउछन्

काठमाडौं । ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालक पक्राउ पर्ने क्रम जारी रहेको बताउँछन् । “यसरी सवारी चालउँदा आफू त जोखिममा पर्छन् नै उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ”, भट्टले भने, “गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन ।” लामो समयदेखि जाँच अभियान तीव्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुःखद् विषय भएको प्रहरीको भनाइ छ । काठमाडौँको नागढुङ्गामा गरिएको जाँच अभियानका क्रममा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका सात जना चालकलाई शुक्रबारमात्रै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि पनि पटकपटक चालकलाई नियन्त्रणमा लिएर कारबाही भएको थियो । तर यो क्रम रोकिएको छैन । बा२ख ४०१७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका–१७ का २४ वर्षीय मिलन गिरी, ग१ख २९७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका–१ का ३५ वर्षीय मीनबहादुर तामाङ, बा३ख २१९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइराला लागू पदार्थ लिएर गाडी चलाइरहेका बेला पक्राउ परेका छन् । यस्तै बा५ख २३७ नम्बरका बस चालक गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय भुवन सुर्खेती, ना७ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटकबहादुर मगर र लु२ख ३३५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ का ३३ वर्षीय पवन थापा र ना५ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेँसी नगरपालिका–८ का ३० वर्षीय प्रजय कार्की पनि पक्राउ परेका भट्टले बताए । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ । पछिल्लो समयमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागू औषध नियन्त्रण ब्यूरोले उक्त अभियान चलाइरहेको छ । यात्रु बोक्नेजस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायण अधिकारी बताउँछन् । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्छ । त्यसैले आफू सवार सवारी साधनका चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

पर्वत र म्यादी रिटर्नी सेन्टर नेपालको जिल्ला भेला सम्पन्न

पोखरा । रिटर्नी सेन्टर नेपाल पर्वत र म्याग्दीको प्रथम जिल्ला भेला बुधबार सम्पन्न भएको छ ।पर्वत जिल्ला भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष शंकर गिरीले विदेशबाट फर्किएका युवाहरु विकास र परिवर्तनको मेरुदण्ड भएकोले जति सक्दो छिटो पालिका स्तरमा पुगेर उत्पादन कार्यमा जोड्न आग्रह गरे । पर्वत जिल्लाको प्रथम भेलाले राजु न्यौपानेको संयोजक र अभिनास गिरी सचिव हुने गरि पत्येक पालिकाबाट समावेश गरि ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यस्तै आजै भएको म्याग्दी जिल्ला भेलाले नीलकण्ठ रेग्मी को संयोजकत्वमा रिटर्नी सेन्टर नेपाल म्याग्दी जिल्ला कमिटी गठन गरेको छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेलले खाना लाउन पुग्ने,सबै सहज हुंदाहुदै पनि अभिभावकले विदेश पठाईरहेको अवस्थामा विदेशबाट सिकेर आएको सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपालले अभियान थाल्नु सुखद भएको बताए ।” अब गफ गर्न होईन उत्पादन मै जुट्नुपर्छ ।” पौडेलको आग्रह थियो । रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक ईश्वरी प्रसाद ढकाल , केन्द्रीय सचिवालय सदस्य बालकृष्ण मरासिनी , गण्डकि प्रदेशका सह(संयोजक भूवन गुरुङ, प्रदेश सदस्य हिरा बहादुर रेग्मी,रेशम केसी समेतको उपस्थितीमा भेला सम्पन्न भएको थियो । कार्यक्रम गण्डकि प्रदेश कमिटी संयोजक ईश्वरी प्रसाद ढकालको अध्यक्षमा सम्पन्न भएको थियो । रिटर्नी सेन्टर मुस्ताङको भेला भोलि पोखरामा गरिने रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले जनाएको छ ।

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ । आजै प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड हिजो बिहान युगान्डा गणतन्त्र प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

गभर्नर अधिकारीको फोटो राखेर राष्ट्र बैंककै कर्मचारीसँग रकम ‘असुली’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गरेर रकम ‘असुली’को घटना सार्वजनिक भएको छ । अधिकारीको फोटो राखिएको ह्वाट्एपमार्फत राष्ट्र बैंककै एक अधिकारीसँग रकम मागेको तथ्य खुलेको हो । यो घटनापछि राष्ट्र बैंक नेपाल प्रहरीको साइबर ब्युरो गुहार्न पुगेको छ । ९८१४४८६४४९ मोबाइल नम्बर भएको ह्वाट्सएप आईडीमा गभर्नर अधिकारीको फोटोसहितको नाम राखेर दुरुपयोग गरिएको भन्दै राष्ट्र बैंकले सचेत रहन समेत आग्रह गरेको छ । अधिकारीको फोटो दुरुपयोग गरी रकम माग्नेमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिएका छन् ।उनले भनेका छन् “यो सिरियस इस्यु छ, हामी अनुसन्धानमा जुटेका छौँ ।”

मुखमा टेप टासेर निषेधित क्षेत्र पुगेका डाक्टर गोविन्द केसी प्रहरी नियन्त्रणमा

काठमाडौं । डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले आज प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पनि केसीसहित उनका समर्थक गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । आज पुनस् निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केसीलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । केसीले सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी अपराधका दोषीलाई कारबाही गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आएका छन् ।

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्यका लागि उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित)बाट घनश्याम रिजाललाई टिकट दिएको छ । कर्णाली (महिला) तर्फ सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ ।

अधिकारी र चौधरी गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त

काठमाडौं। रामकृष्ण अधिकारी र सुशीला चौधरी गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ र चौधरीलाई कानुनी सल्लाहकार नियुक्त गरेको हो। नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका अधिकारी लामो समयदेखि पत्रकारितामा सेवामा सक्रिय छन् । उनी राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट दैनिक, रेडियो मिर्मिरे र मेरो न्युज डटकममा काम गरिसकेका छन् । पत्रकारिता विषयमा स्नातकोत्तर अधिकारी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत रहेका हुन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ घर भएकी चौधरी लामो समयदेखि कानुन व्यवसायमा सक्रिय छिन्। राजनीतिशास्त्रमा स्नातकोत्तर चौधरीले कानुन विषयमा एलएलबी गरेकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा (१) बमोजिम अधिकारी र चौधरीलाई सल्लाहकारमा नियुक्त गरेको हो।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस ११ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर